Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जटामासी खोज्दै रसुवा डुल्दा

Posted on June 5, 2013June 1, 2013 by Salokya

[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-]

IMG_3399 समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै पाइने एक किसिमको जडिबुटीबारे सोध्यौँ, उनीहरुले नकारात्मक भावले टाउको हल्लाउँदै उल्टै प्रश्न गरे- ‘जटामासी ? के हो त्यो भनेको ?’

‘तपाईँहरुको भाषामा ‘लाप्पेय’ भन्छन्,’ जटामासीबारे अध्ययन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज पुगेका त्रिभुवन विश्वविद्यालयका लेक्चरर अच्युत तिवारीले स्थानीय तामाङ नाम बताउँदा पनि उनीहरुले चिन्न सकेनन्। ‘भुत्ले’, अर्को स्थानीय नाम। यो पनि उनीहरुले ठम्याउन सकेनन्।

‘यो फोटो हेरेर चिन्नुहुन्छ कि.’ त्रिविविमा वनस्पति शास्त्र अध्ययन गरी हाल अमेरिकाको म्यासाच्युसेट्स विश्वविद्यालयबाट पीएचडी गरिरहेका उत्तमबाबु श्रेष्ठले एउटा किताब देखाए। ‘फ्लावर्स अफ हिमालयज’ नामको पुस्तकमा भएको नार्डोस्टाकिस ग्रान्डीफ्लोरा (जटामासीको वैज्ञानिक नाम) को फोटोलाई नियालेर हेरिसकेपछि पनि उनीहरुले टाउको हल्लाए, ‘अहँ, थाहा छैन।’

हामीसँगै आएका स्थानीय गाइड कृष्णकुमार तामाङले आश्वस्त पारे, ‘माथि लौरीबिनामा एक जना बूढा बस्छन् सर, उनलाई थाहा हुनुपर्छ।’

IMG_3454
चिन्नै छाडिसके स्थानीयले जडिबुटी

जटामासीको उत्पादन कर्णाली क्षेत्रमा बढी हुने गर्छ। तर अध्ययनका लागि सजिलो हुने भएको काठमाडौँबाट नजिकैको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र पुगेको टोलीलाई जटामासी चिन्नेहरु भेट्टाउन समेत गाह्रो पर्‍यो। हिमाली भेगका ३ हजार देखि ४ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने भनिएकोले जीपीएसले ३ हजार मिटर देखाएको ठाउँदेखि नै हामीले स्थानीय बासिन्दालाई यसबारे सोधिहिँडेका थियौँ। ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने भए पनि यसलाई चिन्ने कोही भेटिएनन्।

‘३६ वर्षअघि राष्ट्रिय निकुञ्ज घोषणा गरी संरक्षित क्षेत्र बनाई संकलन गर्न रोक लगाएकोले उपयोग त परै छाडौँ, चिन्न समेत छाडेका हुनसक्छन्,’ श्रेष्ठले बताए।

के हो जटामासी ?
हेर्दा साधुको जटाजस्तै देखिने भएर नै यसलाई जटामासी भनिएको हो। जमिनभित्र हुने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरुले छोपिराखेको हुन्छ। यही जरा नै औषधिको रुपमा उपयोग हुन्छ।

टुक्रा गरेर सुँघ्ने हो भने यसको गन्ध कडा हुन्छ। यसको पातहरु तलैबाट पलाएको हुन्छ। पातहरु घाँसका पातका आकार तथा भालाका आकार र रौं नभएका हुन्छन्। पातका टुप्पा तिखा हुन्छन्। फूलको एउटै झुप्पा हुन्छ । यो गुलाफी – सेतो रंगको हुन्छ।

यसका औषधीय उपयोगहरु धेरै छन्। यसलाई पानीमा पिसेर लेप लगाउँदा दुखेको निको हुन्छ, विशेष गरी टाउको र छातीको। तागत दिने, पेट दुखेको निको गर्ने, पिसाब गराउने, रजस्वला गराउने औषधीमा पनि यसको प्रयोग गरिन्छ। उच्च रक्तचापका आयुर्वेदिक औषधिमा पनि यसको प्रयोग हुन्छ।

सुगन्धित तेल बनाउन पनि यसको उपयोग हुने गर्छ।

IMG_3463
‘देखेको छु तर के काम लाग्छ थाहा छैन’
३९०० मिटरको उचाइमा अवस्थित लौरीबिनामा होटल गोसाइकुन्ड बेसक्याम्प चलाइरहेका सञ्चालकले बल्ल चिने जटामासीलाई। ‘पछाडि मैले दुई चार वटा रोपेर राखेको छु,’ उनले भने। उनका अनुसार यार्चाबाट आएका केही व्यक्तिले बोकेर आएका बेला देखेर उनले हस्तक्षेप गरी खोसेर निकुञ्जका कर्मचारीलाई जिम्मा लगाइदिएका थिए। त्यसैबेला उनले दुई चार वटा बिरुवा होटलपछाडि रोपेका रहेछन्।

यद्यपि उनलाई पनि यसको के उपयोग हुन्छ भन्ने बारे थाहा रहेनछ। उनीमात्रै हैन, अरु पनि जटामासीको उपयोगबारे जान्न लालायित हुन्थे। उनैले बायाँपट्टीको भिरमा जटामासीका बिरुवा प्रशस्तै पाइने जानकारी दिएपछि अध्ययन टोली त्यतै लाग्यो। नभन्दै त्यहाँ प्रशस्त बिरुवा भेटिए जसले अध्ययनलाई सजिलो बनायो।
IMG_3489
प्रतिबन्धित छ निकासी
जटामासीको संकलनका लागि सम्बन्धित जिल्ला वन कार्यालयबाट अनुमति लिई रोयल्टी तिरी छुटपूर्जी लिनुपर्छ। तर यसलाई विदेश निकासी गर्न भने प्रतिबन्ध छ। सरकारले वन ऐन २०४९ को दफा ७० क ले दिएको अधिकार प्रयोग गरी जैविक विविधता र वातावरण संरक्षणको प्रयोजनका लागि जटामासी लगायतका वन पैदावरलाई विदेशमा निकासी गर्न प्रतिबन्ध लगाएको हो। तर चोरी निकासी भइरहेको तथ्य समयसमयमा प्रहरीले जटामासी बरामद गरेको समाचारबाट प्रष्ट हुन्छ।

संरक्षणका लागि चालिएको कदमसरह यसको प्रवर्द्धन र उपयोगका लागि कुनै पहल नहुँदा स्थानीय बासिन्दासमेत सरल र सुपथ उपचारका लागि प्रयोग हुने जडिबुटीको प्रयोगबाट अनभिज्ञ छन्। त्यसो त बढ्दो पश्चिमीकरण र सरकारको उदासीन नीतिका कारण एलोपेथिक चिकित्सातर्फ बढेको मोहले आयुर्वेद चिकित्सा पद्धतिलाई नै विस्थापित गरिरहेको यथार्थ पनि हामी सामु छ।

10 thoughts on “जटामासी खोज्दै रसुवा डुल्दा”

  1. sujan dhakal says:
    June 11, 2013 at 5:52 pm

    म सानो छदा टाउको दुखायाको बेलामा आमाले जटामसी घोटेर खुवाउनु हुन्थ्यो. लेक बाट आयको मान्छे हरु ले धन,कोदो र मकै संग जटामसी साट्ने गरिन्थियो.

    Reply
  2. Sandesh says:
    June 6, 2013 at 1:02 am

    अब छिट्टै allopathic सिस्टममा पनि होमिओप्यथिक जस्तै ultra low dose औषधिको मिश्रण दिने कुरा हुदै छ, systems medicine concept रे! नेपालका हिमालयमा पाइने जडिबुटी को dose optimize गरि सहि उपयोग गर्नु जरुरी छ.

    Reply
  3. राम चन्द्र says:
    June 5, 2013 at 11:18 pm

    तेही जिल्लामा पाँच छ वर्ष बिताइयो तर एस तर्फा ध्यान नै गएन . अहिले आएर तेस्बेलाको याद आउदछ

    Reply
  4. Raju Rana - Mahendra says:
    June 5, 2013 at 5:57 pm

    आधुनिक उपचार र बढ्दो सहरीकरण को प्रभाब साथ मा स्थानीय जडिबुटी प्रति विश्वास को कमि

    Reply
  5. jimmy says:
    June 5, 2013 at 2:31 pm

    ललितपुर जिल्लाको पहाडी भेगमा पनि हुने गर्दछ यो जटामसी !!

    Reply
  6. द्रोण says:
    June 5, 2013 at 11:19 am

    मैले त् अहिले सम्म नामै सुनेको थिएँन यो जटामासिको ,खयर जस्तै त्यो भन्दा बढी उप योगी लाग्यो |

    किम्बदन्ती अनुसार हिमालय को आसपास मा नै त् हो हनुमान ले मृत संजिबिनी भेटेको |
    औसधि भेटेर मात्र नि हुन्न मात्रा, उचित मिश्रण र प्रयोग विधिको को कुरा पनि आउछ |

    हनुमानले संजिबिनी त् ल्याए , तर चिन्न र प्रयोग को फेरी समस्या आयो रामायण अगाडी लेख्छ ,तत्पश्चात अश्विनी कुमार हरु को आव्ह्वान (टेले प्याथी , यो टेक्नोलोजी आजकाल हराइसक्यो ) गरियो र उनीहरुले संजिबिनी बाट मरेको लक्ष्मण लाइ बचाए आदि आदि |

    Reply
  7. madan bajracharya says:
    June 5, 2013 at 10:06 am

    सालोक्यज्यु र अन्य मित्रहरु
    संयुक्त रास्ट्र सघको युनिसेफले आलोपेथिक औषधि र तेस्को प्रयोग बात गर्न सकिने उपचारको बारेमा जानकारी दिन “डाक्टर नभयको बेला” नामको पुस्तक नेपालमा उहिले वितरण गरेको थियो/ ठिक तेस्तै पुस्तक उतिकै मोटो; नेपालमा पाइने जडी बुटी र तेस्बात गरिन सक्ने उपचारको बारेमा बिस्तृत जानकारी दियको पुस्तक श्री ३ चन्द्र शमशेर रानाले प्रकाशित गरेको थियो/ त्यो किताव अझै हुनु पर्छ कमसेकम केशर पुस्तकालयमा/ सायद तपैन्लाई उपयोगी होला त्यो किताव/ म सिट यक प्रति थियो तर पैचो लगेकोले पचायो/

    नेपालमा सुन भस्ममा नेपालकै जडी बुटी बात बन्ने जवाहर मोहरा नामको मुटुको रोगको औषधि अचम्मै सिट असर गर्ने कुरा म आफैले सन् २००३मा अनुभव गरेको थिय/ डाक्टरको भनाइ अनुशार म ३ महिना पनि बच्न गाह्रो हुने भनेकोमा त्यो नेपाली जडिबुटी बात सुन भस्ममा मिलायर बनायको “जवाहर मोहरा” औषधि ४५ दिन खाय पछि चटक्कै निको भयको देखेर डाक्टर समेत चकित भयको थियो/ अफसोच कुरा के भने अब नेपालमा त्यो औषधि बन्न छोड्यो भनेर मलाई उपचार गर्ने बैद्यले भनेको थियो/ तर भारतको आयुर्वेदिक कम्पनी बैद्यनाथले जवाहर मोहरा इन गोल्ड नाम बात आज पनि त्यो औषधि बनाउँछ/

    Reply
  8. madan bajracharya says:
    June 5, 2013 at 7:30 am

    जटामासी नामनै नसुनेको आयुर्वेदिक औषधि हो भन्ने चाहिं होइन/ मलाई जहा सम्म याद छ यो बुटी र यसको प्रयोगको बारेमा किलागल र पाटन मंगल बजारमा ध्याको पस: भनिने आयुर्वेदिक औशादी पसलमा पाउन पनि सकिन्छ बुझ्न सकिन्छ/ जटामासी निर्यात गर्न बन्देज लगायको सुनेर राम्रो लाग्यो/ किनभने हामि निर्यात त् गर्चाउन तर तेस्को जगेर्ना गर्दैनौ खेति गर्दैनौ/ जसको कारणले यस्ता बुटिहरु मासिन सक्छ/

    जव जटामासी निर्यातमा बन्देज लगायको छ भने हिमाली यौन शक्तिबर्धक मात्र नभैकन मानवीय शरीरमा रोग प्रतिरोधक शक्ति समेत मजबुत बनाउने भनियको यार्सागुम्बा कानुनि बा गैरकानुनी तरिकाले निर्यात गर्न सरकारले किन बन्देज लगाउन्दैन? बिस्व बजारमा यार्सा गुम्बा यक ग्रामको ७०० डलर सम्म पर्ने र यसको बार्षिक ब्यापार ११ अरव डलर भन्दा बढी हुन्छ भनिन्छ (http://www.businessinsider.com/yarsagumba-could-cause-an-eco-disaster-2013-1/ )/ प्रमुख रुपमा नेपालमा मात्रै पाइने यार्सा गुम्बा चीन र भारतमा कौडीको मोलमा छोरि निकासी समेत हुँदै आयको छ/ यौटा वेव साइतमा मैले यार्सागुम्बाको प्रयोग मा भारतले पेटेन्ट राइट लिने प्रक्रिया थालिसकेको पढेको पनि थिय/ सम्भंदित निकाय र मेडियाले यो बारेमा पनि चासो राखे हुन्थ्यो/

    Reply
  9. yukta says:
    June 5, 2013 at 6:25 am

    जटामासी र त्यसको उपयोग बारे स्थानीय जनता हरु ले थाहा नपाउनुको कारण सरकार को कमजोरी हो सरकार र एन जी ओ ले गाउँ -गाउँ मा भोलेण्टिएर खटाएर नेपाल मा पाइने जडिबुटी को पहेचान र त्यसको फाइदा को बारेमा जनचेतना फैलाउन सके टाउको दुख्दा पेमा र डोल्मा जस्ता सोझा गाउले हरु ले सिटामोल लिन सदरमुकाम सम्म धाउनु पर्दैन थियो कि ?

    Reply
    1. bibek dhakal says:
      June 5, 2013 at 12:48 pm

      सायद यसको राम्रो पक्ष भनेको सो जडिबुटि को संरक्षण पनि हो कि?
      जहासम्म सिटामोलको सट्टा सो बुटीको प्रयोग गर्ने भन्ने कुरा छ आफ्नो तरिकाले जडिबूटी वा प्राकृतिक उपचारको भर पर्न गाउलेहरुलाई प्रोहोत्साहन गर्नु ठिक होला जस्तो लागेन!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme