-सुषमा पाठक थापा-
“हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।”
“मर्निङ वाक जाने गर न”
“यसो एक्सरसाइज गर्नु नि”
“डाइटिङ गर डाइटिङ”
चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। तैपनि आफन्त र साथीहरुले आफ्नै भलाईका लागि भनेका त हुन् भनेर चित्त बुझाउनै पर्यो। के गर्नु!
ज्यान घटाउने सबैभन्दा सजिलो र प्रभावकारी तरिकाको अध्ययन गर्दै जाँदा मर्निङ वाक अलि ठीक लाग्यो। भएन बा! अब मर्निङ वाक चाँही गर्नै पर्यो। आफ्नो ज्यान आफैलाई भारी भएको ब्यथा त आफुलाई भन्दा बढी कसलाई थाहा हुन्छ र। मर्निङ वाक जान थालेर दुब्लाएकाहरु देखेर आफ्नो जीउ पनि त्यस्तै बनाउने मिठो कल्पना आउनासाथ सम्झेँ,”ओहो! मसँग त स्पोर्ट शूज नै छैन पो त।” लौ जा। चप्पल लगाएर कसरी दौडनु, स्यान्डल लगाउन पनि भएन, अब मारेन त। यसो हिसाब गरेँ, महिना त मर्न लाग्यो, तलब आउनासाथ एकजोर स्पोर्ट शूज त किन्नै पर्यो। पैसाले पुगे त ट्र्याक सुट पनि किन्न पाए झन गजब हुनेथियो।
दिन गन्दागन्दै तलब पाइयो। तिरोतारो, बच्चाको स्कुल फी, रासन आदि सबै छुट्याएर ट्याक्कै हजार जति बाँकी रहला, मनमनै हिसाब गरेँ। ठिकै छ, अहिलेलाई स्पोर्ट शूज नै किन्नपर्यो। अर्को महिना ट्र्याक किनौँला। अब फुर्सद हुनासाथ बजार गएर जुत्ता किनेर ल्याइहाल्छु, मर्निङ वाक पनि शुरु गरिहाल्छु। उत्साहित हुँदै घर आइपुगेँ।
“मम्मी, हेर्नुस् न मेरो ब्याग। कस्तो थोत्रो देखिन्छ। सबैको कस्तो नयाँ छ। फेरि यी यतातिर च्यातियो। तपाईंले तलब आउनासाथ किन्दिन्छु भन्नुभएको होइन?” मलाई देख्नासाथ छोरीले सुनाउन थाली। बिचरी, नयाँ कक्षामा थोत्रो च्यातिन लागेको ब्याग बोकेर जान्छे, उसले पनि मलाई नभनेर कसलाई भनोस्।
“ल ल हुन्छ छोरी, भोलि नै नयाँ ब्याग किन्न जाने।” यति भन्दै उसको खुशीले चम्किएको अनुहार हेरेँ। मर्निङ वाकको लागि फेरि अर्को महिनाको प्रतिक्षा गर्दै हातमुख धुन बाथरूमतिर लागेँ। हेरौँ भ्यागुताको धार्नी कहिले पुग्ने हो।
[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा वा यहाँ क्लिक गरी पठाउनुस्]
मेरो छोटो लघुकथा पढ्नुहुने र पढेर कमेन्ट गर्नुहुने सबैलाई मुरी मुरी धन्यवाद……अलि दिन कम्प्युटर खोल्न नपाएको हुनाले धन्यवादका शब्दहरु व्यक्त गर्न ढिलो भएकोमा माफी चाहन्छु….
लौ! म त कथाको भर्खर भूमिका सिध्येको जस्तो मात्र लागेको थियो अन्त्य पो भैसकेछ |
क्या यस्तो पनि कथा हुन्छ कहिँ? अति बिस्वादिलो !
बडी गन्थन गर्नु भन्दा कथाको आसय प्रष्ट हुनुनै कथाको सार्थकता हो. सबैको आवस्यकता पुरा गर्दागर्दै महिलाको व्यक्तिगत आवस्यकता पूर्तिगर्ने श्रोत नै बाकी रहदैन भन्ने मार्मिक आसय प्रष्ट भएको छ .
” लघुकथा = छोटो कथा ” जस्तो लाग्छ मलाइ !!!
धन्यवाद रबि नाथ ज्यु, यहाँको स्वादिलो कमेन्टलाई मनन गरी आउँदा दिनहरुमा रुचिकर र प्रस्तुतियोग्य कथा अवश्य पस्किनेछु….
कति घरको, व्यक्तिको बाध्यताको दर्पण हो / राम्रो लेख्नु भएको छ, तरपनि माइसंसारको पाठकले अलि बढी नै आशा राखेको हुन्छन /
छोटो त लघुकथा छोटै हुन्छ तर कथा को साइज अनुसार माथिको पृष्ठभूमि अलि लामो भो..एक्कासि कथा टुंगेको जस्तो फील भो…कथा को थिम त रमाइलै छ : )
मिठो तर सारै छोटो भो . अरुहरुको पनि सामान किन्दै गएको लिस्ट भए अझ कथा जम्थ्यो कि .
कथा छोटो मिठो बनाउन खोजिएको हो तर सारै छोटो भएकोले कथाको स्वाद लिन नपाउदै कथा सिद्दि हलेछ / स्वाद त कथा सकिए पछि मात्र लिनु पर्ने रहेछ/ जे होस् हामी पाठकले येतिसारो स्वादै लिन नपाई सकिने र स्वाद लिदा लिदा वाक्कै लाग्ने कथा पनि अपेक्षा गरेका हुदैनौ /
बिष्णु अधिकारी
मान्छे संग समय कम छ लामो कथा र नचाहिने लम्बेतान पढन लाई . अब को समय सिर्सक के भन्न खोजेको के छोटो र मिठो तरिका ले पस्कनु पर्छ यो समयेको माग हो सुस्मा पाठक थापा को कथा जस्तै. धन्यवाद बिहानै राम्रो कथा पढने मौका दिनु भएको मा .
राम्रो कथा..असाध्यै मिठो प्रस्तुति सुषमा जी…पहिलो पटक तपाइको कथा माइ संसारमा देखियो…लेख्दै गर्नुहोला…