Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः नियति

Posted on May 11, 2013May 11, 2013 by mysansar

-जलेश्वरी श्रेष्ठ-

आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए।

श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो।

त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा आफूले दिएका भएभरका गहना लगाउन दिई मान्छे बोलाएर खिच्न लगाएका थिए। ती गहनाहरु छोराको अध्ययनका लागि एक-एक गरी उनको शरीरबाट रित्तिएका थिए।

रामदेवी मरिसके पनि छोरा विपिनको मायाले अदृश्य आत्माको रुपमा त्यहीँ उपस्थित भएको भान हुन्थ्यो।

सबै जनाले रामदेवीकी बुहारी सुनिताको प्रशंसा गर्दै भनिरहेका थिए, “धन्य सुनिता ! सासुलाई तार्नको निम्ति कस्तो भव्य सामग्री तयार पारेकी ! उसकी सासु स्वर्गमा आनन्दसँग बस्न पाउने भई। दान लिने बाहुन बाहुनीहरु धेरै खुशी देखिएका थिए। खुशी पनि किन नहुनु ? दान दिने सामग्रीहरु सबै मूल्यवान् थिए। ती सामान आधा मोलमा बेचे पनि लाख रुपियाँभन्दा बढी नै आउँथ्यो।”

रामदेवी जिउँदै हुँदा थोत्रो एउटा खुट्टा भाँच्चिएको इँटा राखेर मिलाएको खाटमा मैलो ओछ्यानमा बसिरहन्थिन्।

अहिले त्यही खाटलाई मर्मत गरी रङ्गरोगन लगाई नयाँ ओछ्यान, नयाँ महँगो सिरानी, बाक्लो सिरक, असल मलमलको खोल राखेको, खाटको स्ट्यान्डमा झूल झुन्ड्याइएको थियो। यो खाट त रामदेवीको होइन मानौँ एउटी दुलहीको लागि सजाइएको हो। खाटको तल एउटा कार्पेट ओछ्याइएको थियो। साइड टेबलमा एउटा पङ्खाबाट सर्रर हावा आइरहेको थियो। जुन पङ्खा पहिले बिग्रिरहेको थियो। सँगै एउटा टिभी राख्ने दराजमा श्यामश्वेत टिभी खोलि नै रहेको थियो।

रामदेवी छँदा १४ इञ्चको त्यो टिभी झ्यारझ्यार गर्थ्यो। बिग्रेको टिभी बनाइदेऊ भन्दा पनि बनाइदिएका थिएनन्। दान गर्ने बेला त्यो टिभी नयाँ जस्तै बनेर आयो।

खाटमाथि दुई तीन जोर नयाँ लुगाका सेट, सुनको चुरा, औँठी, टप पनि दान दिन तयार पारिएको थियो।

कुनामा एउटा सोफासेट, स्टिलको दराज राखिएको थियो। दैनिक जीवनमा प्रयोग हुने राइस कुकर, प्रेसर कुकर, ग्याँस चुलो, सिलिन्डर, थाल, कचौरा, कराइ, डाडुपन्यु सबै चीज सजाएर राखिएको थियो।

दैनिक खानामा प्रयोग हुने चामल, पीठो, बिस्कुट, तरकारीहरु, गेडागुडी, आलु, हर्लिक्स, सबै चीज दानका लागि तयार थियो।

रामदेवी हुँदा त्यस कोठामा मैली अशक्त रामदेवी, उसको वरिपरि बिग्रेको पङ्खा, च्यातिएको तन्ना, डल्ला-डल्ला परेको ओछ्यानमा बसेको दृश्य ताजा नै भई आइरहेका थिए।

रामदेवीलाई बिहान सबेरै एक गिलास तातो पानी खानसम्म कुरिरहन पर्थ्यो। भोक लाग्दा पनि समयमा खान पाउँदिनथिन्। मीठो कुरा त के तातो भात खान पनि गाह्रो थियो।

अहिले सजिएका खानाहरु त्यस बेला रामदेवीले खान पाएको भए उसको आत्मा कति सन्तुष्ट हुन्थ्यो होला तर आज उसको लागि गरेको दान उसले खान पाउँलिन् त ?

एक जोर सुकिलो लुगा लगाउन र आरामसँग सुत्न आरामदायी ओछ्यानसम्म थिएन।

स्वयंवरमा लोग्नेले लगाइदिएको चार तोलाको सुनको सिक्री उनले संगालेर राखेकी थिइन्। त्यही सिक्री आफूले मन लाग्दा पनि सँधै नलाई राखेकी थिइन्।

त्यसैबाट आज दान गर्न गहनाहरु बनाएका होलान्। रामदेवीले अलिकति पैसा साँचेर राखेकी थिइन्। त्यही पैसाबाट नै सबै दान गर्ने सामान किनेका थिए।

सुनिताले भनिरहेकी थिइन्, “मैले सासुको गहना, पैसा, केही पनि लिइनँ, सबै दानदक्षिणाको लागि नै प्रयोग गरियो र गरिनेछ। ”

रामदेवी छँदै छोरा र बुहारीले न राम्ररी औषधी गरे न राम्ररी खान, लाउन दिई हेरविचार गरे।

कानमा मुन्द्रा, गलामा मोटो सुनको सिक्री, असर्फीको माला, हातभरी चुरा, औँलाभरी सुनको औँठी लगाएर भित्रिएकी थिइन् रामदेवी।

उनीहरुको सडक छेउ ठूलो घर र कपडाको पसल थियो। व्यापार पनि राम्ररी चलेको थियो। तर राममायाको भाग्यमा धेरै समयसम्म त्यो सुखभोग गर्न लेखेको रहेनछ। उनको जीवनमा छोरा ६-७ वर्षको हुँदा लोग्नेको मृत्युले भाग्यमा अँध्यारो छायो।

आमाछोराको जीवन तहसनहस भयो। पसलमा भएका कपडाहरु साहूहरु आई पैसा लिनुछ भन्दै लगे। ठूलो घर पनि दाजुभाइले दावी गरी टुक्राटुक्रा छुट्याई लिए। बिचरी सीधासादा रामदेवी आफ्नो अधिकारको लागि लड्न असमर्थ थिइन्। आफ्ना सपनाहरु चकनाचूर भएको टुलुटुलु हेर्नबाहेक कुनै विकल्प नै थिएन।

चारैतिर लोभीपापी मान्छेहरुले लोग्नेले कमाएको सम्पति लुट्न सक्ने जति लुटे। उसको भागमा त एउटा बालक, सानो टुक्रा घर, केही गहना र फुटेको कर्मबाहेक केही भएन।

फुटेको कर्मलाई बोकेर त्यस सानो घरको सानो ठाउँमा पूजाको सामान राखी व्यवसाय सुरु गरिन्। फुर्सदमा बत्ती र धूपहरु पनि बाट्न थालिन्।

सानातिना गहनाहरु पनि अलिअलि गर्दै बेच्नुपर्ने अवस्था आयो। यस्तै आफूले दुःख गरे पनि छोरालाई दुःखको महसूस हुन दिइनन्। छोरालाई पढाएर ठूलो मान्छे बनाउने इच्छाले एउटा स्कूलमा भर्ना गरिदिइन्।

छोराले पनि ध्यान दिई राम्ररी पढ्न थाल्यो। एसएलसी पास गरेपछि छोराको इन्जिनियरिङ पढ्ने इच्छा पूरा गर्न केही गहना बेची इन्डिया पठाएकी थिइन्।

छोरा इन्जिनियर भएर आएपछि आफूले गरेका सबै दुःख भुलेकी थिइन्। छोराको वियोग पीडा भुली उनलाई लाग्यो- उनले गरेको त्याग र तपस्याको फल भगवानले छोरालाई सफल बनाई उनलाई वरदान दिए।

छोराको सफलतामा उनले सुखद सपनाहरु गाँस्न थालिन्। अब उनको सङ्घर्षका दिनहरु गए। उनको वरिपरि सबै वसन्तका बहार आउन थाले।

अब उनको एउटा धोको थियो। छोराको विवाह गरी घरको व्यवहारर छोराबुहारीलाई सुम्पी आफू धर्मकर्ममा लाग्ने।

उनले छोरालाई विवाह पनि गरिदिइन्। छोराको विवाहको दिन उनले आफू संसारकै भाग्यमानी ठानिन्। उनको अनुहारमा आनन्द र सन्तुष्टि झल्किरहेको थियो।

अब उनलाई लाग्यो, आफूले पहिले भोगेका सबै कष्ट र पीडा सकियो।

बुहारीलाई घरका सबै कामहरु सुम्पी आफू सत्सङ्गमा गई समय बिताउन पाउने भएँ भनी हर्षले गदगद भइन्। तर विधाताको नियति अर्कै थियो।

उनको भाग्यरेखामा सुखको अनुभूति गर्न धेरै लेखेको रहेनछ। बुहारी उनको निम्ति वरदान नभई अभिशाप जस्तै बनिन्।

अब उनले बुहारीको निम्ति पनि झन् मीठा मीठा खानेकुरा बनाउनु पर्ने भयोर छोरामा यति परिवर्तन आयो कि केही काम बिग्रे पनि आमालाई नै दोष दिन थाल्यो।

यसैगरी उनी दुःखमा पिल्सिँदै गइन्। छोराबुहारीको अपमानले उनको सपना चकनाचूर भयो र उनी शिथिल हुँदै ओछ्यान परिन्।

उता छोराले उन्नति गर्दै गयो। आयआर्जन पनि धेरै हुँदै गयो। छोराले गरेको उन्नतिको श्रेय बुहारीको भागमा मात्र पर्‍यो। उनको भागमा केही परेन।

उनीहरुले पुरानो घर बेचेर राम्रो ठाउँमा ठूलो घर पनि बनाए। त्यस घरमा उनलाई थोत्रो अक्षर, उडेका पुस्तक जस्तै एउटा कुनामा थन्क्याए। त्यस पुस्तकको कथा सुन्न र हेर्न कसैलाई फूर्सद नै भएन।

उनले छोराका लागि गरेको त्याग, तपस्या, पीडा, वियोगको कुनै मूल्य नै रहेन।

यस्तै एउटा नियतिले ठगेको एउटी नारीको देहान्त भयो। रामदेवीको तेह्रौँ दिनको पुण्यतिथि आज भव्य समारोहका साथ मनाइरहेका छन्। (साभारः गरिमा, असार २०६९)

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा वा यहाँ क्लिक गरी पठाउनुस्]

11 thoughts on “कथाः नियति”

  1. Sandesh says:
    May 14, 2013 at 12:40 am

    यो कथा भए पनि सत्य घटनामा आधारित हुनुपर्छ. यस्ता घटानाहरु धेरै सुन्न पाइन्छन र घटी पनि रहेका छन्. आमाबाबुको कमाइ भए देखि एस्तो हुने थिएन तर हाम्रो समाजमा बाबु आमा छोराबुहारीको शरणमा पर्छन किन भने उनिहरुको कमाइ लगन सबै छोराछोरी हुर्काउन, पढाउनमा जान्छ, बुढेशकालको लागि केहि सोच्दैनन् र राख्दैनन् पनि, छोरो छ पाली हाल्छ्नी भन्ने हुन्छ. जसको फल रामदेवीको जस्तो हुन्छ. बाबुआमा बुढाबुढी हुदा छोराबुहारी आधुनिक भैसकेका हुन्छन. आधुनिकताले बुढा आमाबाबुलाई पिर्छ. सब बिधिको बिडम्बना हाम्रै देशमा छ!

    Reply
  2. Hari Gautam says:
    May 12, 2013 at 2:55 pm

    कथा ठिकै छ | अ है मैले धेरै नौलो कुरा थाहा पाए भनेर खुसि हुने ठाउँ कहिँ पनि छैन | जे होस् हामी आज भन्दा ४०/५० वर्ष पहिले का पाठक भएको भए चाही एकदम राम्रो अनि संदेश दिएको छ भनेर भन्ने ठाउँ रहने थ्यो कि?

    Reply
  3. raj kunwar LONDON says:
    May 12, 2013 at 10:59 am

    कुनै नया कुरा छैन यो कथा मा ,एस्तो कथा त हामी हरुले क , ख जान्ने भय देंखी नै पडन शुरु गरेको हो ,कति पडियो कति , ,,,,,,,? बुढेस कालमा सबैको नियति रमा देवी नै हो , हाम्रो पनि तेस्तै होला .

    Reply
  4. Bibek Dhakal says:
    May 12, 2013 at 10:10 am

    कथा राम्रो हो तर बीचतिर नै लगभग गेस हुने कसरि अन्त्य हुन्छ भनेर! कथा अहिले पनि उतिकै सान्दर्भिक नै छ तर यहि विषयमा सैयौं कथाहरु लेखि सकिएहोलन, कम्तिमा २० 2५ वटा त प्रकाशित नि भैसके होलान ! अब अलिकति ढर्रा परिवर्तन गर्नुपर्यो, थोरै “क्रिएटिभिटि” मिसाएर …

    Reply
  5. Bibek says:
    May 12, 2013 at 8:56 am

    This story is the extreme case of negative imagination and only suitable for primary level school students to educate them to take care of parents in their old age.

    Reply
  6. Bewafa Gurung says:
    May 12, 2013 at 8:56 am

    समग्रमा कथा मन छुने खालको छ, केहि यस्ता घटना जुन हाम्रो समाजमा घटित अनि सत्य छन्, यो कथाको भावमा डुब्दा आशु आयो, बाचुन्जेलको सेवा नै उत्तम सेवा हो आफ्नो बाबु आमा प्रतिको माया र आमा बाबुले छोराछोरीबाट गर्ने आशाको प्रतिबिम्ब झल्किएको छ !

    Reply
  7. मणि says:
    May 12, 2013 at 6:36 am

    खै किन हो किन, यहाँ हुने धेरै जसो कथाहरु उदेकलाग्दो हुन्छन! पढ्दा पनि डिप्रेसीभ| कहिले कहिँ मोटिभेट गर्ने कथा भए नि हुन्त्यो जस्तो लाग्छ|

    जे होस् राम्रै प्रयास छ|

    Reply
  8. uttam says:
    May 12, 2013 at 6:17 am

    सामाजिक यथार्थता ……….!!!!!!!

    Reply
  9. Bishnu Adhikari says:
    May 12, 2013 at 3:54 am

    कथा कि रामदेवी लाइ मेरो पनि हार्दिक श्रदान्जली / यहाँ रामदेवी जस्ता दुखिद आमा धेरै छन् / अधिकांश आम हरुले छोराको बिबाह पश्यात रामदेवी को जस्तै नियेत भोग्न बाध्य हुनु परेको छ / आखिर दोषी को हो त ? म पनि कसैको छोरा हुँ र बिबाह पश्यात आमालाई हेला गर्ने को दोष बुहारी लाई भन्दा छोरालाई नै बढी जान्छा जस्तो लग्दछ मलाई त/ येदि बिबाह पश्यात छोराले आफ्नी नव श्रीमती लाई आम भन्दा महान कोहि छैन येदि तिमीले आमालाई हेला गरेको पाएमा तिमि पनि अपहेलित हुनु पर्नेछ भनि राम्रो संग सम्झायेमा उसले तेस्तो ब्यबहार गर्ने सोचेको भए पनि आँट आउदैन/ र नव बिबाहित बुहारीले पनि म पनि भविष्यमा आम हुन्छु भन्ने कुरा सोचेका हुँदैनन् / त्यो बेलामा सायद सोच्दा हुनकी सधै सदाबहार हुन्छु भनेर / जे होस छोरा छोरी जति सुकै ठुला हौ ठाने पनि आम भन्दा ठुला कहिल्ये ठुलो हुन सक्दैनन् / अस्तु
    बिष्णु अधिकारी

    Reply
  10. rupa says:
    May 12, 2013 at 2:06 am

    यो कथा होइन सत्य घटना हो ,आधुनिक घर घरको घटना हो ,सारै चित्त बुज्यो,

    Reply
  11. Pokhrel Keto says:
    May 12, 2013 at 12:03 am

    सायद नियति कै खेल होला ! “आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगा माथि” भनेको सायद यस्तै व्यवहार गरिने भएकोले होला | सबैका छोराछोरी यस्तै हुन्छन त ? आफ्नी आमालाई बाचुन्जेल वास्ता नगर्ने तर देहान्त भए पछि ‘लोक’का लागि देखावटी नै भए पनि राम्रो व्यवहार गर्ने गरेको भनेर देखाउन खोज्ने ? हामी पनि आफ्नी आमा बुढी भए पछि यस्तै गर्छौं होला त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme