Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कल्चरल फ्युजन र कन्फ्युजन

Posted on May 1, 2013May 2, 2013 by Salokya

mehandi_web १५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्‍यो, त्यही ठाउँको संस्कृतिसँग त्यहाँ बस्नेहरुको कल्चर फ्युजन हुँदो रहेछ। यही फ्युजनले कन्फ्युजन बनाउने रहेछ। यस पटकको पोखरा यात्रामा यही सांस्कृतिक पक्ष बुझ्ने मौका पाइयो। त्यही तपाईँहरुसँग सेयर गर्न चाहन्छु।

dd गोडा धुने चलन
विवाहको दिन बेहुलीको गोडा आमा, बुबा, दाजुभाउजु, भाइबुहारी, आफन्तले धोएर पानी खाने (छर्कने) गर्दा रहेछन्। यो मलाई अनौठो चलन लाग्यो। काठमाडौँमा नेवार परम्परा अनुसारको कति वटा विवाह समारोहमा सहभागी भइसकेँ, अहिलेसम्म यस्तो देखेको थिइनँ। यहाँ पनि परिवार नेवारै थियो। अझ दुलहासमेत नेवार परिवारकै ! पछि बुझ्दा काठमाडौँबाहिरका अरु केही ठाउँमा पनि यस्तै परम्परा रहेको जानकारी पाइयो। बाहुन क्षेत्रीहरुको विवाहमा मात्र यस्तो हुने गरेको सुनेको थिएँ, तिनै समुदायनजिक बस्दा हो कि कर्मकान्डका लागि नेवार परम्परा बुझेको पुरेतको अभावले हो- सांस्कृतिक फ्युजन हुन गएछ।

सिन्दूर हाल्ने चलन
फ्युजन मात्र भए त ठीकै थियो, फ्युजनले निम्त्याउने कन्फ्युजनले पो आपत पार्दो रहेछ। बेहुली पोखरा बस्ने, बेहुला काठमाडौँको भक्तपुर बस्ने। एउटै जाति भए पनि कल्चर फरक ! फरकमात्र हैन, एकापसमा बाझिने खालको पनि। काठमाडौँमा नेवार परम्परा अनुसार बेहुला पक्षले सुपारी लग्ने बेलामा पूजाआजा गरी बेहुलीलाई सिन्दुर लगाइदिने गर्छन्। दोस्रो पटक स्वयंवरमा र तेस्रो पटक नजिकैको गणेश मन्दिरमा लैजाँदा। यता पोखरामा भने स्वयंवरका बेला पनि सिन्दूर लगाइनदिने रहेछ। सिन्दूर लगाएको त माइती पक्षले हेर्नै पो नहुने रे ! भोलिपल्ट दुलहाले मन्दिर लैजाँदा त्यहाँ मात्रै सिन्दूर लगाइदिने रे।
काठमाडौँमा बेहुलीकहाँ सुपारी ल्याउने बेलामा सिन्दुर लगाइदिने चलन भए पनि भक्तपुरतिर त्यस्तो चलन थिएन कि कुन्नि, सिन्दूर लगाइएन। स्वयंवरमा माला लगाउने, औँठी लगाउने र ढोग्ने काम सकिएपछि पुरेत बाजेले ‘सकियो’ भन्दा दुलहा पक्षले सोध्यो- सिन्दूर नि ? हाम्रो चलनमा त लाउने हो भनेपछि उनीहरुले लगाइदिए। यताको चलनमा भने सिन्दूर हेर्नै नहुने रे माइती पक्षले। सिन्दूरै छोप्ने कुरा पो आयो। तर अप्ठेरो भएपछि त्यसो गरिएन।

यस्तो किसिमले कन्यादान गर्ने चलन पनि काठमाडौँमा हाम्रो छैन
यस्तो किसिमले कन्यादान गर्ने चलन पनि काठमाडौँमा हाम्रो छैन

बाजाको चलन
काठमाडौँतिर ब्यान्डबाजाको चलन छ। कानै चर्कने कर्कश ध्वनि। रामेछाप ससुरालीमा बिहेमा जाँदा त्यहाँ ट्रकमा चढेर जन्तीले ‘ल्यायो बेहुली ल्यायो’ भन्दै चिच्याउने र डम्फुरे बजाउने चलन थियो। उता, विराटनगरमा स्पिकर जोडेर गीत गाउँदै बाजा बजाउने चलन थियो। यता भने पन्चे बाजाको चलन रहेछ। ब्यान्ड बाजाको चलन यहाँ पटक्कै छैन रहेछ।

भोजको चलन
काठमाडौँतिर छोरीको बिहे होस् या छोराको- भोज राति हुने गर्छ। तर यहाँ भने बिहानै पो भोज हुने रहेछ छोरीको बिहेमा। कार्डमा प्रीतिभोज बिहान ९ बजे लेखिएको थियो। मैले ‘अलि सबेरै पाल्नुस्, चियाको पनि व्यवस्था छ लेख्नुपर्ने नि’ भनेर जिस्क्याउँदा झण्डै पिटाइ खाइनँ। यता यस्तै चलन रहेछ। अफिस जानु पर्ने मान्छेहरु भए बिहान आउने, भोज खाने र यतैबाट अफिस जाने !

जुत्ता लुकाउने चलन
पछिल्लो समयमा नेपालीहरुको संस्कृति बनिसकेको छ बिहेमा दुलाहाको जुत्ता लुकाउने चलन। दुई दशकअघिसम्म यस्तो चलन सुनिँदैन थियो। अहिले भने जुनै जातिको बिहेमा पनि जुत्ता लुकाइन्छ। खासमा यो फिल्मको प्रभाव हो- हिन्दी फिल्मको। सलमान खान र माधुरी दीक्षित अभिनित फिल्म हम आपके है कौनमा जुत्ता लुकाउनेदेखि जुत्ता लुकाउनेसम्बन्धी गीत समेत रहेको छ। त्यसैको देखासिकी जुत्ता लुकाउने चलन यता पनि बढेको हुनुपर्छ। नत्र पहिले यस्तो हुँदैन थियो। अहिले पनि बूढापाकाहरु जुत्ता लुकाउने हाम्रो चलनै हैन भन्दै कराउने गर्छन्।

जसरी हिन्दी फिल्मको प्रभावले यहाँको विवाहमा एउटा नयाँ संस्कृति नै जन्म भयो, त्यसैगरी जुन ठाउँमा बस्दै आएको हो, त्यही समुदायका प्रभावशालीहरुको संस्कृतिको प्रभावले मौलिक संस्कृतिमा परिमार्जन हुँदै गएको हुनुपर्छ। नत्र एउटै जातिको संस्कृतिमा ठाउँ फरक हुँदैमा यति अन्तर त पक्कै हुँदैन थियो।

समजातीय विवाहमा समेत यस्तो अन्तर हुने रहेछ भने आफ्नो त अन्तरजातीय विवाह ! पूरै फरक संस्कृति हेर्न/बुझ्न पाइन्छ।

63 thoughts on “कल्चरल फ्युजन र कन्फ्युजन”

  1. Basanta Thapa,Maryland,USA says:
    May 5, 2013 at 10:02 am

    म थापा मगर क्षत्रिहरु को बाहुल्य भएको काठमान्डू नजिक को ठाउ ,श्रीमती काठमाण्डौ को नेवार \ घर तिर मगर र क्षेत्री हरुको चलन ,सस्कृति अनुरुप भने ससुरालीमा नेवारी चलन र सस्कृति अनुरुपको आइ पर्ने सामाजिक कार्य ,मिलेको छ ,बिबादरहित ,खुशी छौ दुवै तर्फ को परिबार ,रमाइलो र चाख लाग्दो हुदो रहेछ भिन्नता बिचको मिलन मात्र सहनशीलता र उदार मन र ब्यबहार चाहिदो रहेछ \ यसपाली यता पनि नेवार र क्षेत्री बिचको बिबाह कार्यक्रममा सहभागी हुने मौका मिलेको थियो ,जुत्ता लुकाउने खेल पनि भएको थियो ,सार्है रमाइलो त्यो क्षण दुलाहा दुलही पट्टिका सहभागी पैसा दिने र लिने बार्गेनिङ्ग गरिरहदा बाताबरण निकै रमणीय र उत्तेजक भएको थियो ,कराउने ,हास्ने र उफ्रने गरिरहेकाहरु लाइ वरिपरी बसेका हरुले थपडी बजाई हौसाइ रहेको त्यो क्षण म पनि चिच्याई रहेको थिय \ समय अनुसार रमाइलो र जिबन रम्ने चलन चलाउनु ,स्वीकार गर्नु , भिन्नै स्वाद लिनु खुसीकै कुरा हुनु पर्छ \ चाहे त्यो कुनै फिल्म ,जाती,क्षेत्र ,सस्कार बाट किन नआओस \

    Reply
  2. Limbu nYn says:
    May 4, 2013 at 3:44 pm

    सालोक्य जी, धन्यवाद; माथिको सन्दर्भमा लेखिएको लेख, विचार पढेर अरुले गरेका कमेन्ट पढेर म पनि पागल झन्डै! मेरो विचार:-“संस्कृति सेभ गर्नु पर्छ, पोजिटिभ मात्रै/ अरुको सिको पनि गर्न मिल्छ/ ति सब सबैका लागि उचित नहुन सक्छ/ परिबर्तन हुनु पर्यो/”

    Reply
  3. बेखालाल नेपाल says:
    May 4, 2013 at 11:11 am

    कल्चरल फुजनको कुरा सब कोरा मात्रै हुन् ! मनौ तराईको यादव थरका युवाले पहाडी कि शर्मा थरकि युवती बिहे गर्यो| अब यो जोडीको बीचमा कुन थरको के के कल्चर फुजन होला? मलाई त के लाग्छ भने यो जोडीले दुवै कल्चर भुल्छ ! र साथै यी जोडीको सन्ततिले पनि दुवै कल्चर मान्ने छैन!

    Reply
  4. rubi says:
    May 3, 2013 at 12:17 pm

    हाम्रो समाजको हरेक समुदायको संस्कारमा कतिपय अप्ठ्यारा रीतिरिवाजहरु छन् / त्यसैले फ्युजन नै भए पनि राम्रो रीतिरिवाज अपनाउने र गाह्रो, अप्ठ्यारो रीतिरिवाजहरु हटाउनु नै समाज को लागि हितकर होला जस्तो लाग्छ /

    Reply
  5. Bijaya says:
    May 3, 2013 at 10:35 am

    Cultural fusion र confuson हेर्न त अझ बिदेसतिरका नेपालीहरुको बिबाह पो हेर्नुपर्छ झन्! सबै ठाउमा नेपाली पण्डितहरु नपाइने हुदाँ भारतको जुन प्रान्तको पण्डित उपलब्ध हुन्छ उसैले बिबाह सम्पन्न गरिदिन्छ र त्यो आ आफ्नै ढंगका हुने गर्छन| त्यसैले बिबाहमा संलग्न दुवै पक्ष खुसि भए भोज खान जानेहरु cultural fusion मा confusion नहुने पो हो कि!

    Reply
  6. saurav ojha says:
    May 3, 2013 at 9:59 am

    येस्तै बेग्ला बेग्लै जाति, धर्म अनि संस्कृति को मिश्रण ले गर्दा नै संसार रमाइलो छ |
    सबै ठाउं एउटै जस्तो हुने भए सारै खल्लो नै हुन्थ्यो होला !

    Reply
  7. dhan says:
    May 3, 2013 at 9:54 am

    बिबाहको कुरा उठी हाल्यो, म पनि लेखौ है त २ ४ कुरा,
    हाम्रो समाजको सब भन्दा नराम्रो चलन भनेको दाइजो प्रथा हो. बिबाहको बेला वा अलि वर्ष पछि ढोग भेटको नाममा दुलहीको घरबाट जिन्सी नगद दिने अनि दुलहाले लिने चलन चै पक्कै आयातित हो. मेरो आमाले भन्नु भए अनुसार पहिले पहिले दाइजो भन्ने थिएन, बिशेस गरि जनजातिको संस्कारमा. खाली एउटा पछेउरि ओडायो टिका लगायो अनि विदा गर्यो, कति सजिलो सस्तो अनि राम्रो उपाए!! मेरो बिचारमा. दाइजो प्रथा भनेको आयातित संस्कृति हो भारतबाट. सक्नेले बस र तेक्सिको लाइन लगाएर सयौ जन्तीको बिचमा टन्न जिन्सी र नगद दिने चलन बन्द गर्नु पर्छ. अनावस्यक तडक भडकले नराम्रो संस्कृतिको जन्म गराउनु बाहेक अरु केहि फाइदा गर्दैन. जुत्ता लुकाउने कुरा पनि उठ्यो, यो पनि भारतीय संस्कृतिक उपहार नै हो भन्नु पर्यो जहिले बाट सुरु भएको भए पनि. समाज र व्यक्तिलाई गाह्रो नपर्ने संस्कृति अप्नौदा भने केहि फरक पर्दैन जस्तो लाग्छ.

    Reply
  8. pratik says:
    May 3, 2013 at 5:37 am

    ओहो!! पोखराको नौमती बाजा पो सम्झाउनु भयो.. पढदै नाचन थाले म त !!

    Reply
  9. शशांक लामा, न्युयोर्क says:
    May 3, 2013 at 12:02 am

    अति नै सान्दार्भीक लेख ! सांस्कृतिक र धार्मीक कुराहरु मानिसको स्वेच्छामा छोडि दिनुपर्छ | धर्म र संस्कृति रोज्न पाउनु व्यक्तिको नैसर्गिक अधिकारको कुरो हो| धेरै पहिलेको कुरो हो, मेरा एकजना बाहुन मित्रको बिहेमा मा जन्ती भएर भैरहवा पुगेको थिए| पुजापाठको मामिलामा दुलाहाको पुजारी र दुलहीको पुजारीले आ-आफ्ना पुजा विधिबारे अडान लिए | त्यहाँ उपस्थीत भद्र भलाद्मीले दुवै पुजारीलाई वल्लो पल्लो कुनामा राखेर आ-आफनै पाराले पुजा गर्ने अनुमति दिएर बढो सुझबुझ देखाएका थिए| हाम्रा दुलाहा साथी राती अबेर गोड धुवाई कार्यक्रम सकेर हामी बसेको कोठामा आइ गुनासो पोखे: “जनताहरुले हिङ्ग हाल्यो नि! कमसेकम पानी अलि तताउनु पर्थ्यो नि! चीसो पानी खुट्टामा धेरैबेर हालेर मेरो औंलाहरू नै लाटो बनाइदियो” भन्दै औंला माडन थाल्यो| मध्य जाडोको समय थियो | संस्कृति र चालचलन मानिसलाई सास्ती दिने किसिमको हुनु हुँदैन| बौद्व संस्कारमा पनि थुप्रै अमिल्दा चलनहरु छन्|

    Reply
    1. nitesh says:
      May 5, 2013 at 7:45 am

      शशांक जी,
      खुट्टामा चिसो पानी खन्यायर मानिसलाई सास्ती दिन खोजेको कदापि होइन | यसको अर्थ तपाई वा तपाई का ति दुलहा साथीले बुझ्नु भयको थियो वा थियन त्यस बेला कि आम नेपाली संस्कृतिमा कसैको खुट्टा छुनु वा धुनु भनेको ठुलो सम्मान हो त्यसैले दुलाहालाई पनि सोहि सम्मान दर्शायर तपाईका ति साथीका ससुराली खलकले जुवाई लाइ त्यो दिन त्यो पनि एकैछिन उनका खुट्टा धोयका थिय तर त्यो चलन लाइ सास्ती दिनेमा बदलिदिनुभो | | अब यो जीवनमा हुने एक पटकको अनुभवलाई त्यो पनि एकैछिनको त्यो पानीको चिसो उनि खप्न सक्दैनन भने त्यो ति दुलहा हुने मान्छेको कमजोरी हो चलनको होइन |

      Reply
      1. sandip sharma says:
        May 5, 2013 at 2:49 pm

        एकातिर खुट्टामा धोई ज्वोइ को ठुलो सम्मान दिने, अर्को तिर जुत्ता लुकाई पैसा मा बार्गेनिंग गर्ने यो कस्तो सम्मान ?
        फेरी पैसा मा बार्गेनिंग , येतिले पुगेन , भाउ कसले निर्धारन गर्ने?
        उपासक उदास जी गर्नुपर्ने तपाई ले लेख्नुभय जस्तै हो, जुत्ता लुकाई येति पैसा चहियो उति चहियो भनि कचकच गर्ने लै

        Reply
  10. मन says:
    May 2, 2013 at 6:36 pm

    यो लेख साह्रै मनपर्यो| तीन चोटी पढी सके र सेभ पनि गरेर राखेको छु| फोटो पनि मनपर्यो|
    हातमा मेहन्दी र हेन्ना लाउने चलन ठेट नेपाली होइन होला तर सबै ठेट हुन् पर्छ भन्ने छैन|
    मानी आएको संस्कृतिको चाँजो पाँजो र चलन चल्तीको मर्यादा राखेर समयानुकुल हुनु नै परम्परा हो जस्तो लाग्छ|
    बाँदरबाट उन्नत हुँदै मनुवा भएको हो भनेर डार्विनले भनेका हुन्| अहिले पुच्छर र रौँ हराए पनि हाम्रा अधिकतर नेताहरुले र कतिपय विकृत मनस्थिति पाल्नेहरुले पुच्छर भएकाले जस्तै व्यवहार गर्दै आएका छन्| भोलि हाम्रो परम्परा उन्नत हुँदै हुँदै कंहा पुग्ने होला|

    Reply
    1. Jyoti from CANADA says:
      May 3, 2013 at 7:18 am

      Good point in some ways but here the topic is “culture” . the word “netaharu” is not related.it’s not a political talk..hope you are getting it right.

      Reply
  11. Rishi Ram Gautam (Banepa) says:
    May 2, 2013 at 5:16 pm

    ” बाहुन क्षेत्रीहरुको विवाहमा मात्र यस्तो हुने गरेको सुनेको थिएँ, तिनै समुदायनजिक बस्दा हो कि कर्मकान्डका लागि नेवार परम्परा बुझेको पुरेतको अभावले हो- सांस्कृतिक फ्युजन हुन गएछ। ”

    हैन आहिले सम्म बाहुन को बिहेमा जाने मौका पाउनु भएको छैन, कि भोज खाने बितिकै टाप कसेको हुनाले संस्कार कुरा राम्रै थाहा भएन ?

    Reply
  12. Deepak GC says:
    May 2, 2013 at 3:35 pm

    जहाँ सम्म मलाइ थाहा छ जुत्ता लुकाउने चलन हाम्रो समाजमा पहिल्यैदेखि थियो…किनकि हाम्रो हजुरआमा हजुले पनि उहिल्ल्यै जुत्ता लुकाउने कुरा गर्नु हुन्थ्यो…तर जुत्ता फिर्तागर्न पैसा तोक्ने चलनभने पछि बिकास भएको हो | बाग्लुंगमा अझै बिहेमा सालीखास्टो (सल) किन्ने चलन छ जुन जुत्ता लुकाएपछि फिर्ता गर्दा दिन्छन |

    Reply
    1. parkash joshee says:
      May 3, 2013 at 2:57 am

      जहाँ जुत्ता लुकाउने चलन, दहेज चलन छन् ति राम्रो संस्कृति रहेको नराम्रो चलन जस्तो लाग्दछ, जुन चाए बाहिर बाट भित्रियको हो बा पहिले देखि नै हाम्रो समाज मा रहकोहोस्| उछ बर्गीय बिबाह मा खै मैले त तेती देखे को छैन|

      Reply
  13. उपासक उदास says:
    May 2, 2013 at 2:19 pm

    उहिले मनोरन्जन को साधन केहि नभएको बेला मा यो चलन ठिकै होला . तर अहिले को युगमा यो पटक्कै सुहाउने कुरो होइन. थोरै लाइ मात्र थाहा होला , यसले गर्दा कैयन पटक अप्ठ्यारो मात्र होइन केटि को जिन्दगी नै बर्बाद भएका घटना पनि भएका छन :
    एक जना ठट्टा मन न पराउने दुलहाले आफ्नो जुत्ता नपाउने बितिक्कै कुनै सोधपुछ बिना नै जुत्ता मात्र होइन दुलहीलाई समेत त्यही ‘ससुराली’मा छोडेर फटाफट आफ्नो घर फर्केको थियो. हाल वहाँ एक प्रगतिशील नेता हुनुहुन्छ . केटीले अर्को केटा नखोजेको ले ‘विवाहित कन्या’ भएर माइती-घर मै शेष जीवन बिताउनु पर्यो !

    Reply
    1. parkash joshee says:
      May 3, 2013 at 3:03 am

      एकदम ठिक हो तपाई को विचार | घर मा पहिलोपटक आयको जोई लै स्वागत गर्नु कता कता जुत्ता लुकाउने हो त? कसै को घर मा आयको बेक्त्यी को जे पनि गर्न सकिन्छ, के यो राम्रो चलन हो त?

      Reply
    2. शैलेन्द्र ढकाल (म्याउ) says:
      May 3, 2013 at 6:04 am

      जुत्ता लुकायो भन्दैमा बेहुली छोडेर हिड्ने त सन्काहा मात्र हुन्छ ,बिहे गर्न मन नालागीरको बेलामा बहाना पारेछ, बिचारीको जिन्दगी मात्र बर्बाद भो तेतिकै

      Reply
  14. Dilip Suwal says:
    May 2, 2013 at 12:25 pm

    शालोक्य जी, रमाईलो लेखका लागी तपाईलाई मुरीका मुरी धन्यबाद ।
    जो सुकैको कल्चर जुनसुकै जात जातीसंग फ्रयुजन होस केहि फरक पर्ने वालामा छैन, बस् शिक्षित होस, समझदारीमा दुबैपक्ष कम्जोर नहोस, यति भएमा यो जतिको राम्रो फ्रयुजन यो संसारमा अरु कुनै राम्रो हुने छैन भन्ने मलाई लाग्छ है शालोक्य जी । आफु भक्तपुर वासी नेवारको छोरो भएनि यस पालिको फागुनमा जोरपाटी वाली जैशि बाहुनसंग बिवाह गर्ने सोच बनाएको छु । आशा छ पक्कै पनि एउटा राम्रो फ्युजन बन्नेछ ।

    Reply
    1. bibek dhakal says:
      May 2, 2013 at 8:58 pm

      अग्रीम शुभकामना छ सुवाल जी ! पक्कै पनि राम्रै फ्युजन बन्छ – अझ हाइब्रिड छोरा छोरी हरु राम्रा र ट्यलेण्टेड हुन्छ भन्ने त कतै पढेको पनि हो 🙂
      तपाइँ जस्तै सोच राख्ने हरु प्रत्येक जात जाति मा भैदिए नेपाल को जातिय द्वन्द को समस्या सायद सधै लाइ टरेर जान्थ्यो 🙂 किनकि दुइ जाति बीच सम्बन्ध गासिएपछि खोक्रो राजनीतिक स्वार्थको लागि झगडा त पक्कै हुदैन होला ! त्यसैले अन्तरजातीय विवाहलाई मेरो फुल सपोट !

      Reply
      1. rajesh says:
        May 3, 2013 at 1:35 pm

        गफै हो ब्रो talent बैज्ञानिक हरू सबै mix सन्तान हुन् होइन ?त्यहि भयर बैज्ञानिक हरू talnet भयको ….अति रुदिबदी हुनु र mix क सन्तान talnet हुन्छ भन्नु eutai स्तरका सोचाई भएको जन्तु हुन् mix होइन कत्तिको healthy र कत्तिको gurastarka छन् त्यो हेरौ साथी भ्रामक सोचाई राखेर मुर्गा नबनौ

        Reply
        1. bibek dhakal says:
          May 3, 2013 at 5:48 pm

          खै अब रुढिबादी नै सोच राख्यो भन्नुस वा अन्धविस्वासी भयो भन्नुस, यदि सो विस्वास मा लागेर राम्रै नतिजा निस्किन्छ भने त्यस्तो “भ्रम” लाइ अंगाल्नुमा कुनै नराम्रो देख्दिन म. पढे लेखेका संसार देखेका मान्छेहरुले समेत बिना कुनै “लजिक” आफ्ना छोरा छोरीलाई सकेसम्म अर्को जातको बिहे गर्न नदिने समाजमा आफु यस्तो सोच राखेर रुढिवादी देखिन केहि लाज छैन !!!!
          अनि जाहा सम्म लाग्छ अन्तरजातीय बिहे गरेर “मुर्गा” चाही पक्कै बनिन्न – केहि समय को लागि समाज वा परिवार मा अप्ठेरो सहनु पर्ला, बस!
          र बाइ द वे, त्यो “हाइब्रिड” हुँदैमा सबै राम्रो हुने “धुर्व सत्य” को रूपमा भन्या हैन…खाली कहीं पढेको आधारमा भनेको हूँ

          Reply
  15. Toyannath Dahal says:
    May 2, 2013 at 12:22 pm

    अलग राजा रजौटाहरु भएको ईतिहास छ हाम्रो यस मानेमा ठाउँ एउटै नभए पछि देश पनि बेग्लै थियो भन्ने विर्सन हुदैन । राजा नै अर्को कानून नै अर्को र देश नै अर्को भएको ईतिहासलाई हेर्ने हो भने यो खासै अनौठो मान्न सकिन्न । अहिलेको नेपाललाई हेरेर सँस्कृति एउटै भएन भन्नु ईतिहासलाई नबुझ्नु पनि हो नी होईनर ?

    Reply
  16. पुष्प says:
    May 2, 2013 at 11:44 am

    गोडा धोएको पानी पिउनेजस्ता चलन गर्नेहरूले त हटाउनुपर्ने बेलामा चलनै नभएकाहरूले समेत यस्ता कुरा गर्नु उचित होइन । त्यसमाथि हिन्दि फिल्मी धुनमा ब्याण्डबाजा बजाएर आफ्नो मौलिकता नामेट गरझकेर कस्तो संस्कृतिको विकास गर्ने हो !

    Reply
    1. shailen says:
      May 3, 2013 at 6:09 am

      पुस्पजीको यो कमेन्टमा रातो थिच्नेहरु कुन श्रेणीका माइसंसार पाठक होलान? पक्का हिन्दि फिलिम अनि साहरुखका फ्यानहरु होलान!

      Reply
      1. देवेन्द्र कार्की says:
        May 3, 2013 at 5:11 pm

        पुष्पजीको कमेन्ट पड्दै नपढी रातो थिच्ने मित्रहरु माइसंसारमा निकै भेटिनु हुन्छा|नाममा होइन लेखकको बिचारमा रातो /हरियो थिच्नु पर्ने होइन र??

        Reply
      2. bibek dhakal says:
        May 3, 2013 at 8:51 pm

        यसलाई भनिन्छ ” कपी फेलियर” ….साथीले युट्युब्को फर्मुला यहाँ लाउन खोज्या होला :p
        ए बाबा सबैलाई सबै कमेन्ट मन पर्नु किन पर्यो भन्या? तपाइलाइ मन परे तपाई हरियो ठोक्नुस न भएन?
        हुन त पुष्प जी को त्यो ब्याण्ड वाला कुरा चाही मलाइ नि चित्त बुझ्यो! अप्ठेरो, अव्यहारिक , समय अनुसार फिटिक्कै नसुहाउने चलन हरुलाई पो बिस्थापित गर्दै लाने त – त्यति राम्रो अनि “एक्जोटिक फ्लेभोर” भाको त्यो पन्चे बाजाको चलन ब्याण्ड बाजाले गर्दा छायामा परेको देख्दा खल्लो लाग्ने !

        Reply
  17. द्रोण says:
    May 2, 2013 at 9:53 am

    आनौठो बिबाह परम्परा हरु
    १) हिमाली भेग मा कुनै जातिमा दाइ ले बिहे गरेर ल्याएको स्वास्नी सबै भाइ हरुले भोग गर्न पाउछन |

    २) तिब्बती हरुको बिहेअगि दुलाह लाइ भकुर्ने चलन छ |

    ३) नागा हरुको जसले धेरै मान्छे मारेको छ त्यो चै योग्य बर हुन्छ |

    ४) आसाम तिर कुनै जातिमा दुलाह बिहे गरेर दुलाई को घर जान्छ |

    ५) बन्गालिको कुनै जातिमा बिहे गरेर ल्याएको श्रीमती पहिले रात पुरेत सग सुत्न पठाउने चलन छ |

    Reply
    1. शशांक लामा says:
      May 2, 2013 at 9:54 pm

      द्रोणजि ! हिमाली भेगमा बहुपति एकाध घरमा आपसी सहमतिमा हुन्छन | यसमा जोरजबर्जस्ती छैन | जहाँसम्म दुलाहालाई भकुर्ने कुरो छ, त्यो हावादारी कुरो हो| म हिमाली,र मेरो बिहे पनि तिब्बती परम्परानुसार नै भएको हो | खोइ मलाइ कसैले भकुरेनन त ! पुजा सकेपछी छिल्लिएका सालीहरुले चाहिं मेरो अनुहारमा बेस्मारी पिठो दलेका थिए |

      Reply
  18. kusum says:
    May 2, 2013 at 9:49 am

    हाम्रा बाजेका -बराजुका पाला देखि चलेको हो..के हिन्दि फिल्म लाई दोष?? मेहन्दी चै नया हो नत्र पन्चे बाजा बजाउदै गोडा धुनु र कन्यादान हुनु त बडो पुण्य हो.

    Reply
  19. कुशुम कुञ्ज says:
    May 2, 2013 at 9:38 am

    ठाँउ अनुसार भाषा र संस्कृति फरक हुने त भईहाल्यो । पुर्वतिर नेवारी समुदायमा बेल विवाहमै बेलले सिन्दुर हाले पछि फेरि दुलाहाले सिन्दुर नहाले पनि हुन्छ भन्ने मान्यता थियो । अहिले अलि परिवर्तन हुँदैछ । ब्राम्हण क्षेत्रीको विवाहमा स्वयंवरमा सिन्दुर हाल्ने चलन छैन । ब्राम्हण क्षेत्रीको बाहुल्यता भएको भएर संस्कृति परिवर्तन भएको त भन्न मिल्दैन । किन की लिम्बु गाँउमा एक घर ब्राम्हण भए पनि उसले लिम्बु परम्परा अनुसार विहे गर्दैन र ब्राम्हण गाँउमा एकै घर, राई, लिम्बु, शेर्पा जुन जाती भए पनि उसले ब्राम्हणहरुले गरे जस्तो विवाह गर्दैनन् । केही प्रक्रियाहरु उस्तै उस्तै हुन सक्छन् ।
    काठमाण्डौको विवाह संस्कृति नभई विकृति हो जस्तो लाग्छ मलाई । दुई आत्माको मिलन भन्दा पनि सम्पत्ति देखाउने होडबाजी । व्याण्डबाजाको होहल्ला, कपडा र गहना प्रदर्शन । कसार बटार्ने दिन देखिको जन्तेबाख्रो खाने दिन सम्म भनेर चुले निम्तो दिइन्थ्यो पहिला पहिला, सबै हराए अब । कसार त देखिनै छोड्यो विहेमा । पहिला पहिला दिउँसोको विवाह एकदमै कम हुन्थ्यो । अहिले राती त विवाह नै हुदैन भने पनि हुन्छ ।

    Reply
  20. Kamal says:
    May 2, 2013 at 9:36 am

    मेरो लागि तपाई ले लेखेका कुनै पनि चलन न त फ़िउजन नै हुन् नाता कनफुजन नै, जहाँ सम्म जुता लुकाउने चलन को कुरा छ, आज भन्दा २७ वर्ष अगाडी मेरो ममी र ड्याडी को बिहा मा पनि थियो, प्रमाण स्वरुप मेरी कान्छी सानिमा ले जुता दिदै गरेको फोटो हरु छन्, त्यति बेला हम आप के हैन कुन कसले देखैदियो कुन्नि,

    Reply
  21. Shyam says:
    May 2, 2013 at 7:57 am

    काठमाडौँ कै बाहुन छेत्रीहरुको बिबाह भोजमा जाने मौका पाएको थिएँ / वहाँहरु आफु र छोराहरु पढे लेखेका पनि थिए / वहाँहरु संग दुइ चार वर्ष संगत गर्दा रेष्टुरेन्टमा मासु चिउरा र जाँड रक्सि पनि धोकेको पाएँ / दशैँ तिहारमा खशी बोका पनि ढालेको देखें / त्यही दुइ दाजुभाइको एकै चोटी बिबाह गरेका थिए / बिबाहमा मारकाट गर्नु हुँदैन भनेर बिहे भोजमा पुलाऊ भनेर बेसार भात र आलु र गोलभेडामा झोल बाजे झोल बनाएर ख्वाएर पठाए /

    Reply
  22. xyz says:
    May 2, 2013 at 7:42 am

    The basic fact is that marriage is the PUBLIC DECLARATION of PRIVATE MATTER. Forget about these fusions and confusions.

    Reply
  23. bibek dhakal says:
    May 2, 2013 at 7:19 am

    कमेण्टर हरुलाई धन्यबाद!
    म जहिलेपनि यो जुत्ता लुकाउने चलन हिन्दि चलचित्र , विशेष ” हम आपके है कौन!” बाट आयातित भन्ठान्थे, तर ४० ५० वर्ष अगाडी देखि को रहेछ भनेको सुन्दा अचम्म लाग्यो! खैर जे होस्, यदि आफ्नो संस्कृति को मूल मर्म नामासिने गरि अलि अलि चलन आयात गर्दा खासै केहि बिग्रिदैन जस्तो लाग्यो! अब हाम्रो बाजेको पालामा मोटर गाडीमा दुलाहा दुलही लाने चलन थिएन, बिहेमा सूट लाउने चलन थिएन ; अलि अगाडी सम्म पनि क्याटरिङ्ग मा भोज गर्ने चलन थिएन …समय अनुसार अलि अलि परिवर्तन आउनु ठिकै हो नि! मुख्य कुरा मूल मर्म मर्नु भएन….अनि त्यो चलन बेलायत बाट भित्रियोस वा बिहार बाट राम्ररि ब्लेण्ड हुन सक्छ भने सायद “फ्युजन” नै हुन्छ….अलि नसुहाउदो नमिल्ने भए मात्र “कन्फ्युजन” हुने हो कि?

    Reply
  24. neeroz says:
    May 2, 2013 at 5:38 am

    सालोक्य जी, अन्तिमको जुत्ता लुकाउने चलन त हाम्री हजुरआमाको पालीमा पनि थियो भन्नु हुन्थ्यो त मलाई त हजुरआमाले , खोइ त्यो बेला मा हिन्दि चलचित्र हेरे जस्तो लागेन हजुरआमाले…

    Reply
    1. Gopal says:
      May 2, 2013 at 6:39 am

      तपाइको हजुरआमा कति तेस्तै सत्र – अठार बर्षको हुनुभो?

      Reply
    2. पारंगत राई says:
      May 2, 2013 at 1:13 pm

      निरोज जी, चलन त पहिले देखि नै थियो होला, तर व्यापकता पाएको चैं हिन्दी फिल्म ‘हम आपके है कौन’ पछि नै हो।

      Reply
    3. शरद-क्षितिज पारीबाट says:
      May 2, 2013 at 2:26 pm

      सालोक्य जी म पनि यहि गोडा धुने, सिन्दुर हालेको माइतीले हेर्न नहुने संस्कारको मान्छे तर मेरो पनि बिबाह भिन्नै संस्कारमा हुर्केकी युवती संग भएको हो ! यो संस्कार यसै गरि चल्थ्यो,चलेको छ अनि चल्ला सायद ! यहाँ भित्रेका कैयन सांस्कारीक परिवर्तन यस्तै पोखरेली र भक्तपुरे जस्तै अन्य थुप्रैको आपसी मिलनले पनि हो जसले संस्कारलाई नयाँ रुप दिंदा कैयन संस्कार थोरै रोमान्चक पनि भए होलान ! जहाँ सम्म यो जुत्ता लुकाउने चलन त मैले सुदुरका जिल्ला देखि दाङ्,गुल्मी,अर्घाखाँची,कपिलबस्तु , रुपन्देही,बाग्लुङ्ग, स्याङ्जा आदिमा पनि त्यो तपाइले भनेको सिनेमा’हम आपके है कौन’ आउनु पुर्व नै देखेको हुँ ! र तपाइले त त्यो संस्कारलाई थोरै जातीय रंग दिनु भयो अन्त्यमा राजनीतिक दलले जस्तै तर मलाइ हाम्रा बिगतका दिनको मिठो सम्झना भयो ! किनकी हामि एकै समाजमा काल-गोरा, बाहुन,क्षेत्री,बिश्वकर्मा,परियार आदि गज्जबले मिलेर बसेका थियौं हो त्यहाँ केहि जातीयताका विभेद थिए जुन आज भाषणमा हराए पनि समाजमा बि ध्यमान नै छन् थोरै परिवर्तन भएका मात्र हुन् ! तर सायद तपाईं लाइ थाह नहोला सालोक्य जी अनि कैयन क्रान्तिकारी,परिवर्तनकारी, राजनीतिक क्षेत्रका साथीहरुलाई अपत्यारिलो लाग्ला तर हिंजो त्यो उत्पीडनमा केहि विभेद छाडेर अधिकांश रुपमा हेर्ने हो भने त्यो परियार-बिश्वकर्मा अनि ति बाहुन-क्षेत्रीलाई यहि संस्कारले आपसमा बाँधेर राखेको थियो ! बिहेका जन्ती अनि मर्दाका मलामी सबै हुन्थे ! अहिले जस्तो हरेक लासले पार्टीको झण्डाको कात्रो अनि पार्टीका कार्यकर्ता रुपी मलामी कुर्नु पर्दैन थियो ! त्यसैले हरेक जातको बेग्ला-बेग्लै संस्कार भएको समाज भन्दा अधिकांश संस्कार मिल्ने, सिंगो समाजले मान्ने एउतै संस्कार भएको तपाइले भर्खर देखेको त्यो समाज निक्कै आपसी सद्भावले बाँधिएको हुन्छ !तर यसको मतलव यो पनि होइन कि १००% एकै संस्कार केहि फरक त हुन्छ तर समग्र यसरि सबै अट्ने थियो हाम्रो संस्कार तर दुर्भाग्य यहाँ त हरेक चिजमा राजनीतिक स्वार्थ, हिंजोको जातीय विभेद हटाउने नाममा झन् ठुलो जातीयताको खाडल खनेर समाजको संरचना नै बिगारे !

      ********* जे होस् तपाइलाइ चित्त नबुझेको हामि सबै जातले मिलेर मानेको त्यो हाम्रो संस्कृति नै हाम्रो आपसी सद्भावको कडी हो *************

      Reply
    4. jeevan verma says:
      May 2, 2013 at 5:14 pm

      कुरा सहि हो| साली हरुले खस गरेर यसो गर्ने गर्छन| अरुको त थाहा भएन, तर क्षेत्री बाहुन हरु बिबाह मा यो चलन धेरै पहिला देखि छ |

      Reply
  25. jiwa says:
    May 2, 2013 at 5:30 am

    यो सबै हिन्दि फिलिम को कमाल हो !

    Reply
  26. pasang says:
    May 2, 2013 at 5:29 am

    यसको साथमा हाम्रो शेर्पाहरुको पनि चलन सुनाउन मन लग्यो | हाम्रोमा केटि माग्ने चलन चाही दुइ चोटी हुन्छ | सुरुमा केटिको बुवा आमाले मन्जुर गरे पछि, केटा पट्टिका परिवारले ५, १० जना पाठाउछन केटि माग्न, तेस बेलामा केटाक बुवा आमा भने जादैनन् र जानेहरु पनि आफ्नो बुवा र आमा दुवै भएकाहरु मात्र जान्छन | तेस पछि एउटा राम्रो तिथिमा देम्जंग भन्ने हुन्छ, त्यो चाही अब छोरि हाम्रो पक्का हो भनेर जाने हो केटा पट्टिको मान्छेहरु केटिको मा | त्यो बिबाह चाही होइनन तर केटि माग्ने भाग २ भन्दा हुन्छ | तेस बेला पनि दुवै घरले आफ्नो नजिकका हरु बोलाउछन र एउटा घर बाट २ जना भन्दा धेरै जानु हुदैन भन्छन किन हो थाहा छैन | तेस पछि चाही पति पत्नीको सम्बन्द जस्तै हुन्छ तर केटि आफ्नै घरमा बस्छन | नानी जन्माउन पनि पाउछन तेती बेला | सुन्दा हासो लाग्छ तर पराए शेर्पाहरुले आफ्नो बाउ आम को बिहे देखेको हुन्छन | र पछि जन्ती लिएर बाजा बजाएर केटि बित्रौनी अर्को मूल बिबाह हुन्छन अन्तमा | हाम्रोमा दाइजो दिने खुब चलन छ | दाइजो आफ्नो बुवा आमाले मात्र दिदैनान आफ्नो नाता गोता सबैले दिन्छन् | र बिबाहको दिन दाइजो कति दियो भनेर सुनाउछ एक जनाले जुन मलाई पिटिक्कै मन पर्दैन |
    अर्को कुरा तपाई नाम्चे बजारको ज्याई पर्नु भयो भने दाइजो चाही खुब पाउनु हुन्छ | नाम्चे बजारका प्राय जस्तो सबै एकदम सम्पन्न हुन्छन | नाम्चे बजार भनेको सोलुखुबूको दरबार मार्ग जस्तै हो |

    Reply
    1. Dilip Suwal says:
      May 2, 2013 at 1:38 pm

      पासाङ्ग जी, बहुत राम्रो चलन रैच तपाईहरुको । यो आधुनिक समयको समाजमा पनि मैतिमै बसेरनि नानी बाबु पाउन मिल्ने रैच, (मैतिमै बसेरनि नानी बाबु पाउन मिल्ने भएता नि के का लागी दाईजो साईजो चाहियो भनेको) अनि पछि त्यहि नानी बाबुहरुले आफ्नै बाबाको बिहे हेर्न पाईने । वा गज्जबको चलन रैच । आहा हा ।

      Reply
  27. Shanker says:
    May 2, 2013 at 4:30 am

    धेरै समय पछि “माई संसारमा ” हाम्रो मौलिक संस्कृति बारेमा पढ्न पाउदा धेरै नै खुसि लाग्यो भबिष्यमा पनि येस्तै खालको जानकारी हामीलाई पस्किदिनु होला भन्ने आसा गर्दछु अनि यसै गरि जहाँ सम्म जुत्ता लुकाउने चलन को प्रसङ्ग येसरी उल्लेख गर्नु भएको सलमान खान र माधुरी दीक्षित अभिनित फिल्म हम आपके है कौनमा जुत्ता लुकाउनेदेखि जुत्ता लुकाउनेसम्बन्धी गीत समेत रहेको छ। त्यसैको देखासिकी जुत्ता लुकाउने चलन यता पनि बढेको हुनुपर्छ। नत्र पहिले यस्तो हुँदैन थियो। अहिले पनि बूढापाकाहरु जुत्ता लुकाउने हाम्रो चलनै हैन भन्दै कराउने गर्छन्।
    तर खासमा एस्तो हैन यो परापूर्व बाट हाम्रो संस्कृति मा चल्दै आए को हो किन कि मेरो उमेर पनि ५० को हाराहारी मा छ अनि एस्तो चलन भोगी सके देखि सके

    Reply
  28. prabhat says:
    May 2, 2013 at 4:15 am

    हाम्रो देश मा प्रतेक जाति को आफ्नै प्रथा हरु छन्. अत; पारम्पारिक कर्म काण्ड मा समिश्रण हुनु नौलो कुरो होइन. मुख्य कुरो त एक अर्को को परम्परा प्रति सहिस्नुता र सम्मान नै हो.

    Reply
  29. Tika Ram Pokharel says:
    May 2, 2013 at 4:10 am

    यो भनाइ सत्य होइन, “सलमान खान र माधुरी दीक्षित अभिनित फिल्म हम आपके है कौनमा जुत्ता लुकाउनेदेखि जुत्ता लुकाउनेसम्बन्धी गीत समेत रहेको छ। त्यसैको देखासिकी जुत्ता लुकाउने चलन यता पनि बढेको हुनुपर्छ। नत्र पहिले यस्तो हुँदैन थियो। ”

    म बच्चा हुँदा ४० बर्ष अघि पनि देखेको छु . सालीहरु ले लुकाउने हो . यो रमाइलो चलन हो . सालीहरु लै चिन्ने राम्रो मौका हो . मलाई त ठिक लाग्छ. पोखरा मा लन्च भन्ने हुन्न . बिहान खाने बेलुका खाने दिउसो त खाजा खाने हो , मित्र सालोक्य जी. तपाई काठमाडौँ को दिदि पोखरा को कसरि मिल्यो . आफ्नै होइन है ?

    Reply
  30. baral says:
    May 2, 2013 at 3:32 am

    काठमाडौँ को नेवार जाति बढी मगोलियन रेस हो भने पोखराको नेवार जाकि आर्यन रेस हो/ त्यस कारण फरक छ जस्तो लाग्छ.

    Reply
    1. krishna says:
      May 2, 2013 at 12:48 pm

      साचै हो र? यो त मैले पहिलो चोटी सुने|

      Reply
    2. prabin says:
      May 2, 2013 at 10:36 pm

      बराल जी,
      मेरो विचार मा, नेवार न मोंगोलियन हो न आर्यन. अनी नेवार जात होइन, यो त एउटा सिस्टम हो जसको भाषा तिब्बेत- बर्मेली परिवार पर्छ र ईनीहरु को रगत मिश्रीत. यहाँ त सालोक्य जी ले नेवार एउतै समुदाय भयर पनी फरक फरक स्थान (भक्तपुर-पोखरा) मा केहि फरक फरक रितिरिवाज को कुरा उठाउनु भा को हो जुन स्थान, समय र समुदाय बिशेष को कारण ले हुने सांस्कृतिक प्रभाव (fusion हो की confusion) हुन सक्छन.

      Reply
  31. krishna'nz' says:
    May 2, 2013 at 3:12 am

    हाम्रो पश्चिम तिर येही नै चलन छ सदियौ देखि ……

    Reply
  32. Dipak, Sydney says:
    May 2, 2013 at 3:05 am

    सालोक्य जी हजुरलाई नौलो लाग्नु केहि अनौठो कुरा भएन! हजुरले भने जस्तो कुनै धोति फिल्म बाट प्रभाभित भएर जुत्ता लुकाउने चलन आएको हैन येहा! यो चलन हजुर हामी जन्मे भन्दा धेरै पहिले देखिको हो खाली हजुर मात्र अनविज्ञ हुनु भएको बरु काठमाडौँको ब्याण्ड बाजा र बिराटनगरको स्पिकर लगाउने चाही आयातित कुरा हरु हुन्! पन्चे बाजा हाम्रो सस्कृतिको पहिचान हो! एउटै जातिको पनि ठाउँ र परम्परा अनुसार धेरै नै फरक हुन्छा रितिरिवाज कृपया इतिहास पढ्नुहोस राम्रो संग!

    Reply
  33. kedar says:
    May 2, 2013 at 2:03 am

    संस्कृति कसैको पेवा भएर संधै एउटै जाती, क्षेत्र र धर्मको भएर बसी रहंदैन र कसैको तात् तातो क्रान्तिले पनी राता रात परिबर्तन हुँदैन | यो त एउटा निरन्तर प्रक्रिया हो जहाँ थप घट भैरहन्छ | संस्कृति संधै प्रगतिशील र परिबर्तनशिल हुन्छ |
    १. हाम्रै मधेश तिर पहाडेहरुले पनि हेर्दा हेर्दै छट पर्ब मज्जाले आफ्नै जसरि मनाउन थाले हिजो आज, सानामा हामि तेही छट पर्ब खोला नदि छेउ छाउ मनाएको देख्दा छक्क परेर हेर्ने गर्थ्यो गाउँ नै |
    २. मेहेन्दीले त छपक्कै परेको छ मधेसलाइ अझ नेपाल लाइ नै भनौं, हाम्रा दिदि दाजु हरुको बिहेमा हामीले सुन्न सम्म पाएका थिएनौं |
    ३. तिहारमा लक्ष्मी पुजाका दिन बाटो बाट घरको मुलढोका अथवा भण्डारकोठा सम्म लक्ष्मी बोलाउनका लागि बनाइने कलात्मक बाटो बनाउने चलन पनी पहाडेहरुले मधेसी बाटै सिके |
    ४. मधेसीहरुले प्रयेश प्रायोग गर्ने ब्याण्ड बाजा अलिक पहिले सम्म पहदेहरुले पनि मनग्गे गर्थे तर हिजो आज पन्चे बाजा मा फेरी रमाउन थालेका छन् , खै किन हो को नी ?
    ५. टाई शुटको पश्चिमा संस्कृतिले छपक्कै पारेको हाम्रो बिहाबारी संस्कृतिलाई फेरी दौरा सुरुवालले नै छोप्न थालेछ तेस्माथि भारतीय बिहाबरिमा प्रयोग हुने केटाहरुको ड्रेसको चलन पनि बढ्दो छ |
    ६. राखी बाध्ने चलन नै पनी छिर्न थालिसकेछ हाम्रा तिर |
    ७. नेपालमा गाइखानेको पर्ब भन्ने हरु युरोप अमेरिका पुगेर new year र mery Xmas दशैँ नै बनाउँदैछन र फर्केर आउँदा भित्र्याउन्दै पनी छन् |
    ८. येस्ता कति छन् छन् उदाहरण …………………

    Reply
  34. BIBEK SHARMA says:
    May 2, 2013 at 1:55 am

    पहिले पहिले काठमांडू का मान्छेले त नेपाल भन्या काठमांडू लाई मात्र भन्थे रे
    अनि काठमांडू बाहिरको याने समग्र रुपमा नेपालमा चलेको यो संस्कृति बारे अझै अनबिज्ञ देखिनु के नौलो मानौ र खै? हामीले त सुनी जानी देखि बुझी राख्या चलन हो /

    Reply
    1. राम बाबु श्रेष्ठ says:
      May 2, 2013 at 8:37 am

      काठमाडौंकाहरुले उपत्यकालाई नेपाल भन्ने होइन, उपत्यका बािहरकाले नेपाल जाने भन्ने हो ।

      Reply
  35. ranzeet says:
    May 2, 2013 at 1:30 am

    मैले ‘अलि सबेरै पाल्नुस्, चियाको पनि व्यवस्था छ लेख्नुपर्ने नि’ भनेर जिस्क्याउँदा झण्डै पिटाइ खाइनँ। यो त अतिरन्जित कुरो भएन र आफ्नै दिदि को बिहा मा पनि एस्तो हुन्छ र बरु ठुलो बडा ले राम्रो मानेन होला. जहाँसम्म दिवा भोज को कुरा छ यो त माओबादी को जनयुद्द को बेला दिवा भोज दिने चलन बस्यो जुन अहिले सबै लै सजिलो पनि भाको छ किन भने छोरि दिंदा गोंदा नाधुन्दा सम्म अन्न पानि खाने चलन थिएन जो चलन दिवा भोज ले सजिलो गरिदेको छ. जहासम्म पन्चे बाजा त काठमाडौँ मा पनि गर्छन नि होइन र. अब आयो जुत्ता लुकाउने चलन यो हिन्दी फिल्म को कारण होइन जस्तो लाग्छ मलाई त्यो सलमान खान को फिल्म आउन भन्दा अघि नै हाम्रो तिर जुत्ता लुकाउने, बेहुला ले बेहुली लै पिर्का सार्ने र कतै कतै त बेहुला र लोकनते लै बेहुली को साथि हरु ले सियो ले घोच्ने काम पनि गर्थे पश्चिम तिर को बिहा मा बेहुला र लोकंता को हात धुने बहाना मा ढुंगा ले रगदिदिने अनि खुर्सानी पानि ले हात धोई दिने गर्थे तर यो चाहिने रात्री बिहे हुँदा हुन्थ्यो. सलमान खान को फिल्म ९४ मा आको मैले १० पास ९१ मा गरेको र १० पास गर्नु अघि पाल्पा, बुटवल, स्यांग्जा पोखरा मा धेरै बिहे जन्ती कतै चेली भएर बिहे खाएको अझै याद छ.

    Reply
  36. Saru says:
    May 2, 2013 at 1:13 am

    हो सलोक्याजी, ठिक भन्नु भो संस्कृतिक अल्मलाई अचेल धेरै नै देखिन्छ विभिन्न जातिधर्म र क्षेत्र अनुसारको फरकले गर्दा काम गराइमा पनि फरकपना त हुनेनै भयो तर अचेल केहि पुगिसरी आउने मान्छेहरु लाइ अरुले गरेको केहि कुरा राम्रो लग्यो कि उनीहरु पनि यो हाम्रो चलन होइन यो हामीले गर्नु पर्दैन भन्ने नसोचीकन त्यहि गरिदिनाले अनि अलिअलि गर्दै समाजमा त्यस्तै चलन बस्न गयको छ | |अर्को कारण मान्छे लै जता छिटो र सजिलो राम्रो लग्यो त्यतै तिर लागेका देखिन्छन | यो किन र के को लागि गरिन्छ र यसको महत्व के हो भन्ने तिर बुझ्ने प्रयास नै नगरी अर्काको देखासिकी गर्नेहरु पनि प्रशस्त छन् |

    उदाहरण दिन थालौ भने हजारौ छन् तापनि एउटा सानो भनि हालौ | मैले देखेको अचेको ब्याप्त बिषय: हामी हिन्दु होइनौ, हामी बौद्ध मार्गी हौ भन्छन तर दशैँ तिहार मनौछन त्यो पनि सेतो टिका लगायर | अर्को कुरा अचेल राम्रो काममा आशिर्बाद वा बधाई दिदा खेरि टिका माला लगाईदिनु को साटो टिका र सेतो सिल्क कपडाको खादा लगाई दिन्छन र आफ्नो भावी सन्तानको लागि कल्चरल कन्फ्युजन आफैले सिर्जना गर्दै छन्| आशिर्बाद वा बधाई दिदा खेरि कि तालुमा चौरीको घिउ दलेर खादा ओढाईदियर दिनु पर्यो कि त निधारमा रातो अक्षताको टिका र फूलको माला लगाईदियर हातमा शगुन दियर दिनुपर्यो |
    यस्तो कन्फुजिंग काम किन गरेको हो कुनी ?

    Reply
    1. तेन्जिंग गाबा says:
      May 2, 2013 at 9:34 am

      सरु जी,
      भाषा, सस्कृति, धर्म जस्ता अबयबहरु “प्रचलित मान्यता” हरु हुन् यिनीहरु सदैब गतिशील हुन्छन / त्यो गतिले यस्ता मान्यताहरुमा परिबर्तन र परिमार्जन आउनु स्वाभाविक नै हो/
      सरु जीले उठाउनु भएको ज्वलन्त उदाहरणको बारेमा केहि कुरो:
      # सेतो र रातो टिको प्रकरण:
      परापुर्ब कालदेखि नै गैरआर्य समुदायले “सेतो चामल” को टिको लगाउने गर्दथे भने तागाधारी समुदायले “सिन्दूर-चन्दनको रातो टिको” लगाउने प्रचलन थियो / समय क्रम संग-संगै यी २ समुदायहरु मिलेर बस्न थाले / तागाधारीहरुलाई चामलको टिको लगाएको मन पर्यो भने गैरआर्यहरुलाई “सिन्दूर-चन्दनको रातो टिको” मन पर्यो अनि मिसाए २ प्रकारको टिको र जन्म भयो “रातो चामलको टिको” / यो हाम्रो नेपालको सामाजिक-सम्मिलन (assimilation) को बेजोड नमुना हो / यहा निर सबैले बुझ्नु पर्ने कुरो “सेतो चामलको टिको” र “रातो टिको” दुबैलाई यहाँ समान अनि आत्मसाथ गरिएको छ त्येसैले कसैले “सेतो टिको” मात्र लगाउदा वा “रातो टिको” मात्र लगाउदा अन्यथा सोच्नै पर्दैन “दुवै हाम्रो” हो “दुवै राम्रो” हो /

      # खादा प्रकरण :
      परापुर्ब कालदेखि नै गैरआर्य समुदायले कसैलाई सम्मान गर्न परे “खादा” लगाई दिने प्रचलन थियो भने परापुर्ब कालदेखि नै गैर समुदायले “फूलको माला” / हिमाली प्रदेश तिर “फूलको माला” उपलब्ध नै थिएन भने दक्षिण तिर “सिल्कको खादा” पाइन्न थियो / त्येसैले उपलब्ध श्रोत-साधनबाट उनीहरुले काम चलाउने गर्दथे / तर कालान्तरमा दुवै बस्तु दुवै तिर उपलब्ध भयो अनि “रातो-टिका + खादा” को प्रचलन बढ्यो “सेतो टिका+फूलको माला” त् सामान्य नै थियो भैसकेको छ / अब खादा संग “चौरीको घिउ” नै दल्नु पर्छ वा “रातो टिका ” लगाए पछि “धोती” नै गाठो परेर हिड्नु पर्छ भन्नु कत्तिको जायज छ आफै एक पटक मनन गर्ने कि ?

      Reply
      1. तेन्जिंग गाबा says:
        May 2, 2013 at 10:49 am

        भन्न त् फ्याट भनि हाले भाषा, सस्कृति, धर्म सबै गतिशील हुन्छन भनेर
        तर पनि धेरै जस्तो नेपाली FM Radio वाट बज्ने बिज्ञापनहरु जस्तो ” ,,,,,,,,सुन्दर मुलायम त्वचा को नमि को लागि फलाना-फलाना क्रिम ,,,,,, ” भनेको सुन्दा कम्ता कन्पारो तात्दैन बाई /

        Reply
  37. प्रवेश लामा says:
    May 2, 2013 at 12:31 am

    _______________म बेहोला हुने बेला चितवन को घटना ___________________

    मेरो घर मकवानपुर हो,केटि सँग बिहे छिने पछि जन्ती लियर केटीको घर चितवन पुग्दा …..
    मेरो बिहेमा जुत्ता लुकायारा कस्तो बेजेत भयो ! आऊने बेलामा जुत्ता लुकायर मलाई ५,००० मागेको थियो तर मैले ५,००० दिनको सट्टा मेरो साथीलाई १,००० दियर बाईक मा पठायर नया जुत्ता किन्न लगायो यो चितवन को गटना हो!!! आज तपाइले मेरो बिहेको दिनलाई याद दिलायकोमा दन्ने बाद …………

    प्रवेश लामा

    Reply
    1. xyz says:
      May 2, 2013 at 7:46 am

      This is not marriage, this is lootantra.

      Reply
      1. सुबोध says:
        May 2, 2013 at 11:11 pm

        मैले त्यो कुन चाई हो हिन्दि फिलिम हेरेको छैन तर जुत्ता लुकाएको चाई धेरै पटक देखिसक्या छु .

        Reply
    2. तेन्जिंग गाबा says:
      May 2, 2013 at 3:31 pm

      माइसंसारमा प्रतिक्रियाहरु पढ्दा
      कहिले साह्रै रीस उठ्छ,
      कहिले पेट मिची मिची लडिबुडी गरेर हास्नु मन लाग्छ,
      कहिले धुरु धुरु रून मन लाग्छ
      तर
      आज चहि हरिबंश आचार्यको पुरानो गीत गाउनु मन लाग्यो :

      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
      हाम्री आमा साह्रै नै बाठी छिन
      चामलसंग पिठो पो साटीछिन
      हाम्रो बाउ साह्रै नै चलाख
      घर बेचेर हात पारे २० लाख
      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme