Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : नियति

Posted on April 20, 2013 by mysansar

– दीपा राई पुन/बोस्टन-

समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई उभिएको छ। ऊ फर्किएको छैन। यस बर्ष त फर्कन्छ होला -भन्छिन्। भनिरहन्छिनमन भित्रको भरोसाहरु नमर्दा सम्म! फेरि जिउने सहारा ,बुढेसकाको लौरो केहि दिन भयो घर आएको छैन। छोरा -छोराहरु जङ्गलतिर लाग्यों रे। छोरा -छोराहरु मुग्लान दौड्यो रे। घरबाट पलायन नदी भएर बगी रहेछ सलल….!

विहानीको झिसमिसे उज्यालोबाट ऊ कसैको प्रतिक्षामा रहन्छिन। पर कोही आउँदैछ। आँखाले धोका नदिए सम्म स्नेहका झोकाहरु स्पर्श बनी पीडालाई सुम्सुमियाउन आफ्नो मान्छे आउँदैछ। हरेक दिन हरेक छाँयाहरु नजिक हुँदै ढाकिन्छ। धमिलिन्छ आँखाहरु अँध्यारोमा। सपना मलाई नै गाँज्न आइरहेछ। म भाग्दैछु -आँखाहरु लखेटी रहेछन्!चिसो मुटुमा चिमोटेर छामे -बाँचेकै रहेछु। दृष्टि दुख्छ ,चेतना दुख्छ। छाति भित्र गुम्सिएको मन कति कति दुखेर पुरिन्छ। प्रत्येक रहर,प्रत्येक सपना,प्रत्येक जीवनहरु बीच टुसाएर ओइलाएको छ। दुखै दुख बाँचेर मर्ने लाशहरु,सुखै सुख भोगेर मर्ने लाशहरु,दुख र सुख खेपेका लाशहरु,मात्र स्वाभाविक लाशहरु। लाश लाशमा टेकेर, म त उसैको लाश खोजी रहेको रहेछु-जमीन,आकाश र पानीमा। अकस्मात मेरो नजर एउटा लाशमा अड्कन्छ -दुख र सुख नभोगेको -भोग्नै नभ्याएको बबुरो लाश कस्तरी छताछुल्ल भएछ …..

मध्यरात जाग्छ। सपना टुक्रन्छ बीचैमा सधै,सधै झैँ निन्द्रा नपर्नु बानी भइसक्यो!ओहो। सपनाका त्यत्रा लाशहरु -मान्छे त्यहिँ लाश भएर लाश नहुँदा सम्म कत्रो हुँकार?एउटा मात्र लाशको लागि लाशको बिस्कुन सुकाइनु-समाचारको अघिल्लो पातामा मुख्य समाचार बन्छ। कोही गर्वसाथ बोल्छ। यसैमा कतिको गुजारा चल्छ। श्रेणी बढ्छ -फूलीचढ्छ। समय हो समय -आफै सहज बन्दै जान्छ।

मध्यरातमा घोकेको पाठ मन्त्र जस्तै फलाक्दै थिए नेताहरु!हिजोको भोटको बाटाहरुमा लौरो टेक्दै, बामे सर्दै आएर शिक्षा,विजुली पानी बाँड्दै थिए। एक गाँसको अध्यारो गोजीमा। हरेक भोटहरु विकासको मूल भएर आउँछ। भोट सकिएको दिन मूल पनि सुक्छ। नियति यस्तै नभए विजुली पानीको पैसा कसरी तिर्नु ?त्यो पनि त गाँसै काट्नु हो। कस्ट -कस्ट भोगेर शिक्षित हुनुको दशामा -महादशा ब्यर्थ के थप्नु। धन्य बुद्दिजीविहरु हो सुल्टालाई उल्टा,उल्तालाई सुल्टा भन्न जान्दछौ!मरे पछि बाँचिने देशमा ,बाँच्दा मरेतुल्य हुनु के अनर्थ भयो र।

सत्य बोल्न बौलाहा नै हुनुपर्छ। बौलाहा स्वतन्त्र दिमाग बोल्छ। नभए काँटछाँट हुँदै हुँदै बुद्दिमा खिया परेर तपतप चुहिन मात्र पाउँछ -ऊ भन्ने गर्थियो। उसलाई विदेश पटक्कै मन नपर्ने। अर्काको लागि रगत र पसिना सिचेर आफू आफ्नै माटोमा विरानो भई कसरी बाँचू ?तिमीलाई, परिवारलाई सुविधा सम्पन्नमा हुर्काउँला। सबै राम्रै देखिएला लिपपोतको जिन्दगी!तर म भित्रको मान्छेले पटक्कै मान्दैन। म मरेको कसले देख्ने ?तिमी त बुझ्छौ नी!म गजक्क पर्थे उसको त्यहिँ आफ्नोपनमा। कसैले थाहा नपाएको उसको राष्टिय भावनाहरु मलाई मन पर्थ्यो!मन परिराख्न पाएको भए के हुन्थियो कुन्नी। सर्टिफिकेटहरु सधै फाइलबाट उम्कनै पाएन -चेप्टीदै चेप्टीदै मनहरु पनि त्यसरी नै ओसिएर खुम्चिएको थियो। अनुभव खोज्नेहरुले अनुभव गर्नै दिएन आफ्नै माटोमा। अभाव बढ्दै गयो।

विवशतामा मान्छे केवल विवशता बोल्छ। छोरालाई राम्रो शिक्षा पनि दिन नसकिने भइयो’ले उसलाई बिस्तारै मुग्लानले तान्यो। त्यहिँ मुग्लानाले पनि २/४ बर्ष मात्र यो झोपडीको कथा बिर्सेन। या त सम्झी सम्झी सम्झनाहरुमा पेलिदा आऊ नै पो पेलियो …!कि बाँच्नु एकैक्षण त होनी भनेर ढुक्कले बाँच्नु थाल्यो ?जीवन व्यस्तताहरुमा,दुई छाकको ढुक्कमा तिमी ढुक्कैलेकहिँ बाँचेको छौ भने,तिमी -तिमीहरु बाँचेकै छौ ?म सपना भरि तिम्रो लाश खोज्छु र विपना पर्खन्छु अनिश्चितकालको कथा भिरेर। बिरानो भूमिमा म तिमीलाई हराउन चाहन्न। एकै क्षणको साइनोले तिमी आफ्नोलाई विरानो पार्न सक्छौ -लाग्दैन। लागेर के गर्नु ?लाग्दैमा के हुन्छ ?हिजोको एउटै आँगन जस्तो हाम्रो गाउँ,बुढाबुढीको मृत्यू कुर्ने ओडार भएको छ। दाइले भाईलाई भाइले दाईलाईदिन र रात पर्खिरहेका छन्। कोहिँ रातमा झपड मार्छन्,कोहिँ दिनमा तलासी गर्छन्। मर्नु र मार्नु भाँडाकुटी खेले जस्तै भए पनि कसको लागि के को लागि हँ ?बताउँदै बताउदैना। आफ्नो विरानोहरु,विरानो आफ्नोहरु,कसले कसलाई भरोसा साँच्ने ?होश सधै बेहोश छ। त्रासै त्रासमा अल्झेको स्वास कति खेर फुस्स जान्छ थाहा छैन।

आँखा भरि आँसू भरिएर सुस्तरी बोल्छिन्-हिजो उसले विश्व घटना सुनाउँदा म कसरी कालिनिली हुन्थे। विचराहरु लाग्थ्यो। आज आफै विचरा लाग्छ ,विना दोष,विना कारण। गाउँको मर्म बुझ्न सक्ने केहीविदेशमा नै श्रमबेच्दैछन्!मेशिनमा पेलिएर होस् या अर्काको भूमि जित्न ज्यान गुमाएर। अब यिनीहरुले बुझ्ला लाग्थ्यो -त्यो पनि ….कहिले कताको पीरले,कहिले कताको तिरले मनहरु सधै वेस्वाद्को खल्लो भइरहन्छ।

छोरा आइ ए,बि. ए पढेकै थियो। पढेर जागीर खाउँला, आमालाई सुख दिउँला,सधै भन्ने गर्थ्यो। परीक्षा सकेर घरमा बस्दा अब यसो गर्छु अब उसो गर्छु भनी भनी दिक्क लगाउँथ्यो। रिजल्ट भएर प्रथम हुँदा काम खुशी भएको हो र ?कत्रो विश्वाश र घमण्ड साथ जागीरको लागि पढेर जांच पनि दियो। फर्म भर्न लिएको ऋण बढ्दै गयो। छोरा कहिले जागीरको जाँचमा नै फेल,कहिले अन्तर्वार्तामा। दिन, महिना,वर्ष बित्यो। ऊ पनि विस्तारै ओइलाएको मैले आफ्नो हातले सुम्सुमाए। हाम्रो जीवन यस्तै हो आमा ?तिमीले मलाई दुख र कष्ट भोगेर नपढाएको भए नै वेश हुन्थ्यो। (हिक हिकाउँदै रोएको म कसरी भुलु ? )
खबर त आउँदै होला नी भनेर कसैले सोधे उनी झस्किन्छिन र बरबराउँछिन। खबर आएर के ,खबर नआएर के। म उसैको लागि,कसैको लागि ,केहिगर्नै नसक्ने सानो मान्छे। सानो मान्छेले संसार देख्नुहुदैन,बुझ्नु हुदैन। बाँच्नुको लागि पनि।

तल छिमेकी बज्यै नातिनीलाई कराउँदैछिन्। पर बारीमा गएर विरुवाहरु छाँटनलाई। रोग लागेको ,बढ्न नभ्याएको जति उखालेर नै फ्यालि दे भन्दै। ठूलो हुनेहरुलाई बढ्न दिनुपर्छ। राम्रो हुनेलाई अझ राम्रो बनाउँनु पर्छ। !ख्याउटेहरुलाई यहाँ के नै बाँच्नु छ र ? भने जस्तै लाग्छ। बिग्रनुबाट त हामी फ्यालिएको झारपात पनि सपार्नै लाग्दो रहेछौ। सप्रदा जहाँ पनि कमजोरहरु नै फ्यालिन्छन्। कसैले किन बारीको मूलासम्म पनि ठूलो जति फ्यालेर सानालाई गोडमेल गर्दैनन् ?झिनो जति उखलेर फ्याक्ने हतारो हुन्छ,सोच्छु -गलामा बाँध्ने र बाँधिने हामी ,चाबुक घुमाउँने देखि घुत्रुक्क पर्ने हामी,चेतना र चेतनाशून्य हामी। यथार्थमा केही हौ र पनि होइनौ ,केहि होइनौ र पनि सबथोक हौ -लागिरहन्छ।
उमेरसंगै उनी धेरै सोच्न थालेकी छिन। धुप्पी सल्लाको टुक्की देखि बिजुलीको खम्वासम्म,चिलगाडी देखि अन्तरिक्षसम्म। जति सोच्यो त्यति सामान्य लाग्छ।

स्वाभाविक लाग्छ। परिवर्तनहरु बढ्दै जान्छ -बढ्नु पर्छ। जीवन रित्तिने क्रम लगातार हुँदैमा रोकिएकै कहाँ छ र ?ब्रहमाण्ड घुमी रहेकै छ, जीवन भोग्दै। यहिँ परिवर्तनहरु नै ब्रहमाण्डको जीवन हो। आश्चर्य केही लाग्दैन,समय आफै स्वाभाविक बग्छ निरन्तर ….!
सुनसान वस्तीहरुमा उनी कहिले पुछारमा पुग्छिन् कहिले सिरानमा। बम बर्षा र वारुदको हल्ला देशमा होस् या विदेशमा चिसो हुने उनी,सहज मान्न थालेकी थिइन। फेरि कसरी घुत्रुक्क मरिछिना एक रातमा नै। छोराहरुले बलिदानको इतिहास जति लेखे पनि झोपडीमा आगो बलेको छैन। राम्रोलाई जोगाउन ख्याउटेहरु नै फ्यालिएका छन् यताउता जताततै। क्रमस :जीवन उस्तै छ ,जस्तो थियो। ब्रहमाण्ड सपना भई बोल्छ -जीवन चोटै चोटले झिनो भै सक्यो। पानी भएर जन्मिएको मलाई आगो किन बनायौ ?बिपना उस्तै छ –
झोपडीमा आगो बलेको छैन।
मुखमा माड पसेको छैन।

13 thoughts on “कथा : नियति”

  1. सार्थक says:
    April 24, 2013 at 8:46 pm

    वर्तमान जीवन र जगतको यथार्थ बोकेको कवितात्मक कथा । दीपा जीको लेखन शैली नै सारो मीठो छ । निरन्तर लेखी रहनुस् भन्ने कामना छ ।

    Reply
  2. उत्सव says:
    April 24, 2013 at 2:48 am

    दिपा राई पुन कथाकार मात्र नभैइ एक शसक्त कवयित्री पनि हुन । त्यसैले होला म कहिले कहि उनका कथा पनि कवित्वपूर्ण पाउछु । यो अर्को यस्तै समय सान्दर्भिक तेजस्वी कथा । बिषय वस्तु-सामाजिक लाग्यो । मन परेको बाक्य ‘”सत्य बोल्न बौलाहा नै हुनुपर्छ ।”

    Reply
  3. jeevan verma says:
    April 22, 2013 at 7:04 am

    मानिस भन्ने जन्तु अचम्म को छ बुझेर बुझी सकन्नु | थुप्रै उदाहरण मध्ये यहाँ एक दुइ प्रस्तुत गर्न जादैछु |

    पहिलो दुइ जना राज नितिग्य ( जे भन्नुस नेता, वा राज नीति गर्ने मान्छे ) लै लिदैछु – गिरिजा प्रसाद कोइराला र प्रचण्ड उर्फ पुष्प कहल दाहाल |जनता ठुलो आशा गरेको व्यक्ति, केहि गरौ भनेर चाहेको भए गर्ने सक्ने व्यक्ति किन सगुरो घेरा मा बसेर भ्रस्ट चार मा लिप्त भएर भिलेन को जस्तो जिन्दगि जिउन पुगे ?

    जगदीश घिमिरे, एक जना मृत्यु सितसंघर्स गरेर बाची रहनु भएको मान्छे किन एउटा यौन को बारेको लेखिएको किताब लाई उच्चकोटी को साहित्य भनेर भूमिका लेखिदिनु भो ?

    यी र यी जस्ता धेरै उदाहर्ण छन्, हाम्रा अगाडी जसलाई हामी ब्याख्या गर्न सक्दैनौ | मलाई लाग्छ Eric Berne को games people play ले पनि नेपालीको व्यवहार को ब्याख्या गर्न सक्दैन होला|

    Reply
  4. शशांक लामा, न्युयोर्क says:
    April 21, 2013 at 10:55 pm

    दिपा राइ पुनको यस्तो मिठो लेख पढन छोडेर बाबुरामबारे डबलशास्त्रिले लेखिऎको पुङ्ग न पुच्छरको लेखमा सबैजना धुइरेको देख्दा उदेकै लाग्यो !!!

    Reply
  5. GOKUL says:
    April 21, 2013 at 6:48 pm

    धेरै राम्रो दीपा जी सारै मन पर्यो ,फेरी फेरी पनि हजुरको कथा पढ्न पाउ

    Reply
  6. raj kunwar LONDON says:
    April 21, 2013 at 5:18 am

    संसार को चलन नै येही हो , बुढेश कालको शाहारा भनेको लौरो नै हो ……………..

    Reply
  7. om says:
    April 21, 2013 at 1:49 am

    धेरै पछि येत्ति मिठो कथा पढ्न पाइयो …धन्यबाद दीपा जी.. निरन्तरता नटुटोस है | कलम मा मिठास र गाम्भीर्यता छ तपाइको | अझै खारिदै गैराखोस | शुभकामना मेरो |

    Reply
  8. Deepa Rai Pun, Boston USA says:
    April 21, 2013 at 12:19 am

    कथा पढेर मन पराई दिनुहुने र कमेन्ट गर्नुहुने सम्पूर्ण पाठकहरुलई मुरी मुरी धन्यबाद \ यहाहरुको यस्ता हौसलाहरुले पुन लेख्न रहर जागेको छ \

    Reply
  9. शशांक लामा, न्युयोर्क says:
    April 20, 2013 at 8:59 pm

    “बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ…….

    ” दुखै दुख बाँचेर मर्ने लाशहरु,सुखै सुख भोगेर मर्ने लाशहरु,दुख र सुख खेपेका लाशहरु…

    “सानो मान्छेले संसार देख्नुहुदैन,बुझ्नु हुदैन। बाँच्नुको लागि पनि….

    ” छोराहरुले बलिदानको इतिहास जति लेखे पनि झोपडीमा आगो बलेको छैन। राम्रोलाई जोगाउन ख्याउटेहरु नै फ्यालिएका छन् यताउता जताततै। क्रमस :जीवन उस्तै छ ,जस्तो थियो। ब्रहमाण्ड सपना भई बोल्छ -जीवन चोटै चोटले झिनो भै सक्यो…….

    दीपा राइ पुनका मिठा अभिव्यक्तिहरु पढिरहुँ जस्तो लाग्छ| जीवनबारे तिनले गरेको घोत्ल्याइंको शैली बिछट्टै राम्रो छ !

    Reply
  10. Bishnu Adhikari says:
    April 20, 2013 at 7:52 pm

    दीपा जी कथा/लेखको लागि धन्यवाद / लेखन शैली राम्रो छ/ लेख का केहि बाक्य हरु मर्मस्पर्सी छन्/ “सत्य बोल्न बौलाहा नै बन्नु पर्दछ” , सबैले सप्रेका लाई मात्र स्यहार गर्दछन कम्जोर हरु नै फालिन्छन’/ येदि समान किसिमको स्याहार र बाताबरण पाएमा सबै मुलाहरु समान हुन्छन/ कमजोरलाई फाल्ने होइन कि बढी स्याहार गर्ने बानी बसालौ तेसैमा सबैको कल्याण हुनेछ, कसो को त?
    बिष्णु अधिकारी

    Reply
  11. Damodar Dhungel says:
    April 20, 2013 at 7:28 pm

    लाखे है, मैले त यो कथा बुजिना पोत.

    Reply
  12. Mukti Narayan Rai says:
    April 20, 2013 at 7:01 pm

    हाल मुलुकभित्रको वास्तविक जनजीवनमा घटिरहेको घटनाक्रमलाई सम्बोधन गरिएको लेख ज्यादै मन पर्यो ! यस लेखका लेखिकालाई मुरी मुरी धन्यबत !

    Reply
    1. jeevan verma says:
      April 21, 2013 at 6:54 am

      कथा हैन र भन्या ? शिर्षक ले त यो कथा हो भन्छ ——-कथा : नियति

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme