Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँले किताव निकालेको छ?

Posted on April 15, 2013 by mysansar

-चर्चित ढुंगेल-

केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले आफैँलाई चिनाइदिएँ। उनी दुवइबाट फर्किएर नेपाली साहित्यको सेवा खातिर एउटा प्रकाशन संस्था दर्ता गर्न लागिपरेका रहेछन्।

केही समय आत्मियता साटासाट गरियो। उनले हातमा समातेर यसबर्षको मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ उपन्यासका लेखक अमर न्यौपानेसँग भेटाइदिए। चिनाइदिए। मलाई चिनाउँदा ‘उहाँ राम्रो ब्यंग्य लेख्नुहुन्छ’ भने। यती सुनेपछि अमरले ‘तपाईँले किताव निकालेको छ?’ भनेर सोधे। मैले ‘छैन’ भनेँ। मरुभुमिमा कनिकुथी ब्यंग्यको बोक्रा उकाउने मलाई चुरो सम्झेर उनले कुरो गरेका थिए। तर आफु ‘ज्ञानीले नलेखेपछि अल्पज्ञानीले चानस पाएको मान्छे’ परेकाले कितावको ‘क’ त के ब्यंग्यको ‘ब’ समेत राम्ररी नछिचोलेको यथार्थ तिनलाई भन्नुमा भन्दा नभन्नुमै कल्याण देखेँ। ‘कहाँ राजाको सवारी, कहाँ जँड्याको जुहारी।’

अलिपछि चियापानमा कवि सिमा आभास, कवि राजु थापालगायतका साथीहरुसँग भेटघाट भयो तर मैले आफुलाई चिनाउन खासै रुचि राखिँन। चिनाएको भए तिनले पनि मलाई उही मर्ममा हान्थे होला ‘तपाईँले किताव निकालेको छ?’ भनेर। कहिलेकहीँ नचिनारु भइदिँदा पनि फाइदै हुने रहेछ। उहिलै एकजना बिद्धानले भनेका थिए, ‘लोकप्रियताबाट बच।’ यो भनेको चिनारीबाट बच्नु पनि हो। चिनारी लुकाउनु र चिनारीको प्रसंग नउठ्नुमा फरक छ। उठेन र खुसी भएँ।

अलिअघि कतारमै एकजना मित्रले ‘तपाईँले ब्यंग्यको किताव निकाल्नुपर्छ’ भनेर भने। एउटा श्रमिकको बर्षभरिको कमाइले कभर डिजाइन गरेको खर्चिन नसक्ने अवस्थामा मलाई उनको भनाइ गज्जवको ब्यंग्य लाग्यो। मनमनै आफैँलाई भनेँ, ‘तँ नाथेले के ब्यंग्य लेखिटोपल्छस्, ब्यंग्य त यि बिद्धानले तँलाई गरेर गए। त्यो पनि थोरै शब्दमा, एकै सासमा।’ अझै पनि उनले ब्यंग्य गरेको सम्भि्कँदा म हायलहायल हुन्छु। तर खुसीको कुरो पछिल्ला भेटमा उनले सोधेका छैनन् ”तपाईँले किताव निकालेको छ?’ भनेर।

मेरा सहसाहित्यिक मित्रले एउटा कार्यक्रममा आफ्नो किताव ‘पुस सेल’ गरिरहेको देखेर छेवैमा बसेका एक समाज सेवीले मलाई कोट्याउँदै भने, ‘तपाईँ चैँ किताव ननिकाल्ने?’ मलाई उनको यो प्रश्न कुनै प्रलयकारी भुकम्प भन्दा कम लागेन। कुनै रुखै हान्ने शक्तिशाली चट्याङ्ग भन्दा कम गह्रुंगो लागेन। चट्याङ्गले हानेको घरमा छाती चिरेर भुईँचालो गए झैँ भयो मलाई। उनको मन्द मुस्कानमा कुटिल सुनामी देखेँ मैले। पानी परेर रोकिएको आकास झैँ शान्त भएर भन्दिएँ, ‘तपाईँले स्पोन्सर गर्नु नभएर किताव गर्भमै छ।’ यो सुनेपछि उनी बाह्र हात पर तर्किए। ति महाशयलाई आनन्द अधिकारीले लेखेको गीत सुनाउन मन भयो, ‘भन्न सजिलो, कस्ले पो बु¤छ र मनको पहिरो, दैव छोडेर…दैव छोडेर।’

मेरा आधा दर्जन मित्रहरुले किताव–कृति कतार बसेरै निकालेका छन्। मभन्दा पहिले र मभन्दा पछि लेख्न थालेका मित्रहरुले पनि किताव निकालेका छन्। उनीहरुको आर्थिक हैसियत वा स्पोन्सर मिलनले त्यो सम्भव भएको म ठान्छु। आफु त जातै नहुने, दिनदुःखी परियो कसरी किताव निकाल्ने। त्यसैले कतिपय भेटमा मेरो ब्यंग्यका फ्यान, एसी, कुलर र फ्रिजहरुले कितावबारे कुरो निकाल्दा निन्याउरो अनुहार लाउनु मेरो विवशता हो। र तिनको यो उराठलाग्दो प्रश्न मलाई ‘टाउकामा टेकेर नाकमा हान्ने’ शैली झैँ लाग्छ। ‘मान्छेलाई अरुको मर्ममा लात हान्न कति मज्जा हुँदो हो होकी?’ भन्ने नलागेको दिनै हुँदैन।

केहीअघि एकजना खुंखार कविले एउटा शोक–कविता संग्रह निकाले। उनको त्यो कविता संग्रह चार कक्षाको विद्यार्थीले सिकेको खेस्रा जस्तै थियो। एकजना भुमिका लेखकले महिना दिन लाएर हेर्नसम्म हुने बनाइदिएका थिए। बास्तवमा भन्ने हो भने अकविता संग्रह थियो त्यो। स्वयं भुमिका लेखकले पनि यो कुरो भेटमा भनेका छन्। उनलाई भुमिका लेख्दा ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भएको रहेछ। धर्म थाम्नुपर्ने बाध्यताले भुमिका लेखिदिएको उनले एक भेटमा भनेका थिए।

अर्का एकजना आख्यानकारले उनैलाई हेरिदिन र भुमिका लेखिदिन एउटा कृतिको ‘झण्डुलिपी'(पाण्डुलिपी भन्दा अन्याय हुने भएकाले) दिएका रहेछन्। त्यो हेरेपछि मलाई शहरमा ‘कुकुरदेखि सावधान’ लेखेको देखेजस्तै ‘कितावदेखि सावधान’ भयो। ति भुमिका लेख्दिने मित्र त झन् लल्याकलुलुक भए। छेउ न टुप्पाको ‘झण्डुलिपी’का हरेक पन्ना उनलाई बिझाउने रहेछन्। सम्पादन पनि कतिसम्म गर्ने? उनी दिनभरि हलो जोतेर थाकेको गोरुकै हैसियतमा पुगेछन्। एक साँझ भेटमा उनले गुनासो पोखे, ‘अव मैले भुमिका लेख्नुभन्दा भुमिगत हुनु बढि श्रेयस्कर छ।’ बिचारा उनले पनि सग्लो किताव निकालेका छैनन्।

किताव निकालेर जैदाह पार्क, तरवारगेट वा ट्याक्सी पार्कमा ‘पुस सेल’ गर्न गाह्रो छ। किताव निकाल्ने आफैँले ‘मेरो किताव किनिदेउ’ भन्न पनि गाह्रो छ। नेपालमा पचास रुपैँया दाममा पाइने पुस्तकलाई यहाँ पच्चिस रियाल ठटाउँछन्। यो एकप्रकारको ‘पुस्तक आतङ्क’ हो। गुदी नभएको पुस्तकलाई महङ्गोमा किनेर पढीनसक्नु भएपछि बिस्तारै पुस्तक किन्ने जमात पातलिँदै गएको छ कतारमा। स्तरहिन पुस्तकले बजार सखाप पार्दैछ। ल्याकत नहुनेले नछपाए पनि हुने हो तर लहड र रहरमै धेरैले किताव निकालेका छन्। हो, त्यही स्तरको किताव हुने देखेर मजस्ता धेरैले किताव निकाल्ने आँट नगरेको हो। यसरी अरुले बुझिदिए कति गज्जब हुने थियो।

कृपया मलाई कसैले कहिलै पनि नसोधे हुन्थ्यो, ‘तपाईँले किताव निकालेको छ?’ भनेर। नत्र मलाई यो प्रश्न ‘गरिबका घरमा प्रधानमन्त्री पाहुना’ जस्तै हुनेछ ।

20 thoughts on “तपाईँले किताव निकालेको छ?”

  1. jit says:
    April 25, 2013 at 8:01 pm

    रमेश दुबाईबाट होइन होला. बेल्जियमबाट होला.

    Reply
  2. Damodar Dhungel says:
    April 17, 2013 at 6:04 pm

    नाम नै चर्चित छ तपाई को . बिर्शनुहोस किताब निकाल्ने . लेखतई जानुस एक दिन तपाई को अगाडी रकमी मान्छे आएर सोध्ने छ किताब निकाल्ने हो ?

    Reply
  3. योगेश आदी says:
    April 17, 2013 at 8:24 am

    चर्चितजी, अब तपाइलाई थर्काउने बाक्य भेट्यौ हामीले; “के तपाइले किताब निकाल्नु भएको छ ?”
    खैर, राम्रो लेख्नु भएको छ / तपाइको सबै अभिलेख किताब भन्दा कम छैन /
    भगवान गौतम बुद्ध, जिसस क्राइस्ट तथा कृष्ण भगवानदेखि ठुला ठुला कयौं मानिसहरूले किताब निकालेका छैनन्, बरु उहाँहरुको अनुयायीहरुले दिब्यबाणी संकलन गरेर किताबको रुप दिएको मात्र हो /
    किताब लेख्नु भन्दा पनि तपाइले लेख्दै गर्नु भएको लेखहरूले किताबको रुप लिनु ठुलो कुरा हो /

    Reply
  4. bhisma raj sitaula says:
    April 16, 2013 at 11:49 pm

    चर्चित जी को यो ब्यङ्ग लेख चै मलाई एकदमै समय सापेक्ष लाग्यो ….. येस्तै येस्तै अन्य बिसयमा कलम चलाउदै जानुस नया बर्षको शुभकामना.

    Reply
  5. SASANG LAMA says:
    April 16, 2013 at 6:06 pm

    तपाईँले किताव निकालेको छ? शिर्षक आफैमा व्यंगात्मक छ| प्रश्नकर्ताको सोधाइ नै निर्लज्ज छ, किताबप्रति हेय दृष्टि छ| चर्चितको चर्चा जायज छ| खल्तीबाट पैसा निकालेको जस्तो हो र किताब निकाल्नु????

    Reply
  6. bishnu pd subedi says:
    April 16, 2013 at 9:42 am

    हुन पनि हो आजकाल लेखक बन्ने चलन निकै चलेको छ……………किताब त लेख्छन् तेइपनि अरु संग चन्दा मागेर ………. म एक ताका धनकुटा मा जागिर खाँदा अफिसमा नै आएर रकम तोकेर चन्दा मागेर हैरान पार्थे,त्यो पनि किताब प्रकासन गर्नलाई / यो कुरा बुझ्न जरुरि छ कि आफुले सकेको काम मात्र गरौँ, अरुको मुख ताकेर काम नगरौ, र आफ्नो काम बाट अरु लै दुख दिने कोसिश नगरौ….. लेखक भनेको एउटा बिध्वान्ले गर्ने काम हो, आफ्नो नाम कमाउन अरु संग हात पसार्ने काम नगरौं…………………..यो लेख बाट लेखक ले उठाउन खोजेको कुरा निकै जाएज छ, म येस्मा सहमत छु……………..

    Reply
  7. resham says:
    April 16, 2013 at 9:21 am

    तेही त हौ औता किताब निकाल्न नसक्नुको पीडाले यति धेरै तनाब झेल्नु पर्छ नि त है/ के गर्ने कति गजल कविता अनि अन्य रचनाहरु कोरेयो येसो साना तिना पत्रिकामा छापायो . / किताब निकाल्न नसकिने/ तेस्तै प्रश्न आफुलाई पनि सोधिदा ग्लानी हुन्छ नि / हाम्रो पनि त दिन आउला नि कि कसो?

    Reply
  8. पुष्प says:
    April 16, 2013 at 8:30 am

    शताब्दीअगाडी ‘एकीकरण’ गरी डाँडाकाँडा खेदिएका जातिहरूलाई नानाभाँती भन्दै किताब लेख्नेहरूले तिनै खेदुवाहरूका नाउँमा स्थापितहरूको पुरस्कार पाउँछन् अहिले पनि । पुरस्कार समारोहमा भन्न नसकिने शब्दहरू थुपारेकै भरमा वाहवाही र पुरस्कृत हुन्छन लेखकमहाशयहरू । किताब निकालेर यिनको ‘जात’मा दरिनुको साटो गुमनाम बस्नु नै जाति चर्चितजी ।

    Reply
    1. jeevan verma says:
      April 17, 2013 at 3:33 am

      पुष्प जी हरेक कुरा मा राजनीति र जात जति को कुरा नल्याउनुस है please

      Reply
  9. arun khatri says:
    April 16, 2013 at 8:13 am

    राम चन्द्र जी इसरायलका युनिटी राहुले त किताब मात्र हो र गजलको सिडी नै निकालेर विडियो नि आफै खेलेका छन् रे !

    Reply
  10. jeevan verma says:
    April 16, 2013 at 7:19 am

    नेपालमा यस्ता कुरा को ख्याल गर्ने हो भने पागल होइञ्छ – किन भने यहाँ लेख्न नजान्ने हरु लेखक हुन्छन ( किन भने उनिहरु सित लेखक बन्न चाहिने बाताबरण बनाउन समय हुन्छ ), नाच्न नजान्ने चर्चित कलाकार हुन्छन , राज नीति नजान्ने नेता हुन्छ, math नजान्ने अर्थ शास्त्र को प्राध्यापक हुन्छ ( मेरो एक जना गुरु यस्तै थिए ),, बुध्धी नहुने बिध्वान हुन्छ, भ्याट छल्ने ठुलो ब्यापारी हुन्छ, भ्रस्ट चरी संथाका प्रमुख हुन्छन , गुण्डाको नाइके गृह मन्त्रि हुन्छ| त्यस्तै सब भन्दा भ्रस्टचारी संस्था मानब अधिकार को वकालत गर्छ यसका हाकिम अरब पति हुन्छा स्रोत देखाउनु पर्दैन |कम्प्युटर एसोसियन को चुनाब निस्पक्ष्य गराउन नसक्ने व्यक्ति प्रमुख निर्बाचन आयुक्त हुन्छ, राम्ररी कान नसुन्ने व्यक्ति न्यायाधिसको असनमा बिराज मन हुन्छ, भर्खर पदी सिद्याएर जागिर खाने ब्यबस्थापनको प्रसिक्श्यक हुन्छ, क्राइस्ट को बारमा राम्रो ज्ञान नहुने christian हुन्छ, र पार्टी को झोले पत्रकार हुन्छ | अब भन्नोस् चित्त कहाँ र किन दुखाउने ?

    Reply
  11. jeevan verma says:
    April 16, 2013 at 5:09 am

    चर्चित जी,

    नेपाल को कुरा हेर्ने हो भने तपाई पागल हुनु हुन्छ – लेख्न नजान्ने लेखक हुन्छ ( किन भने उ संग समय हुन्छ लेखक बन्न तयार हुन् ), नाच्न नजान्ने चर्चित कलाकार हुन्छ , राज नीति नजान्ने नेता हुन्छ, math नजान्ने अर्थ शास्त्र को प्राध्यापक हुन्छ ( मेरो एक जना गुरु यस्तै थिए ),, बुध्धी नहुने बिध्वान हुन्छ, भ्याट छल्ने ब्यापारी हुन्छ, भ्रस्ट चरी प्रमुख हुन्छ, गुण्ड को नाइके गृह मन्त्रि हुन्छ| त्यस्तै सब भन्दा भ्रस्टचारी संस्था मानब अधिकार को वकालत गर्छ यसका हकिन अरब पति हुन्छा स्रोत देखाउनु पर्दैन |कम्प्युटर एसोसियन को चुनाब निस्पक्ष्य गरौन न सकक्ने प्रमुख निर्बाचन आयुक्त हुन्छा, राम्ररी काँ नसुन्ने न्यायाधिस असनमा बिराज मन हुन्छ, बिद्यार्थी ब्यबस्थापनको प्रशिख्स्यक हुन्छ, क्राइस्ट को बारमा राम्रो ज्ञान नहुने christian हुन्छ, र पार्टी को झोले पत्रकार हुन्छ | अब भन्नोस् चित्त कहाँ र किन दुखाउने ?

    Reply
    1. buddhi bhattarai (malaysia) says:
      April 16, 2013 at 6:18 pm

      चर्चितजीले गरेका व्यंग्यमा तपाइको कमेन्ट सुनमा सुगन्ध भयको छ
      jeevan verma जी ,,,,,,,,,,

      Reply
  12. harikrishna says:
    April 16, 2013 at 4:29 am

    कृपया मलाई कसैले कहिलै पनि नसोधे हुन्थ्यो, ‘तपाईँले किताव निकालेको छ?’ भनेर। नत्र मलाई यो प्रश्न ‘गरिबका घरमा प्रधानमन्त्री पाहुना’ जस्तै हुनेछ ।…..वास्तब मै यी वाक्य खुबै मन पर्यो………सायद अब देखि गुलियो मिठो हुन्छ भन्दैमा चिनी मात्रैको लड्डु बनाउन छाड्लान कि ???

    Reply
  13. Bhadra says:
    April 16, 2013 at 3:36 am

    सासै ‘नरोकी’लाई ‘नफेरी’ भन्नु पर्ला

    Reply
  14. Bhadra says:
    April 16, 2013 at 3:30 am

    शुरु देखि अन्त्य सम्म सासै नरोकी पढियो / तपाईंको शैली , शब्दको चयन र बिषयको प्रस्तुतिले मनै छोयो / किताब ननिकाले पनि लेख्दै गर्नु होला/ एकदिन त्यो दिन पनि आउला / नव बर्षको शुभ कामना !

    Reply
  15. bimal says:
    April 16, 2013 at 12:14 am

    अगाडी “तपाईं” लेखे पछि “निकालेको छ ?” को सट्टा “निकाल्नुभएको छ ?” लेखिदिनुभएको भए भाषिक शुद्दताका साथै सम्बोधन पनि सभ्य देखिन्थ्यो कि ?

    Reply
    1. राजेन्द्र says:
      April 16, 2013 at 7:29 am

      मलाई पनि तेस्तै लागेको थियो, तर यो वाक्य कोट ” भित्र भएकोले यो वाक्य बोल्नेलाई नजान्ने देखाउन व्यंङ्य स्वरूप जानी जानी बिग्रेकै रूपमा राखेको हो कि ॰

      Reply
    2. suzee says:
      April 16, 2013 at 2:31 pm

      अब बिमल जी पनि , सोध्ने मान्छेले तेसरी नै ##तपाई## अनि ## निकालेको छ????###
      सोधाई नै तेस्तो असभ्य भएपछि के को भाषिक सुद्दता अनि सभ्यता देखैरख्नू पर्यो नि!!!

      त्यो सोध्ने मान्छे ले चाही कमेन्ट हेरे हुन्थ्यो.

      Reply
  16. Ramchandra Sapkota says:
    April 15, 2013 at 11:05 pm

    यहाँ Israel मा पनि युनिटीको नाममा हजारौ श्रमिकहरुको करोडौ रुपया ठगेर स्वनामधारी गजलकारहरुले किताब पो निकालेका छन् रे नि .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme