Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अधुरो सपना

Posted on April 6, 2013April 6, 2013 by mysansar

-राजन-

टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी हेरेको भरखर बेलुकाको ४ मात्र बजेको रहेछ। बत्तीको स्वीच अन गरेर हेरें, पक्का लोडसेडिङ नै हो रहेछ। बाहिर हेरें हल्का पानी परिरहेको थियो। यो हिउँदको अन्तिम वर्षाले वातावरण चिसो बनाएर मलाइ सिरकबाट बाहिर ननिस्कन उत्प्रेरित गरिरहेको थियो। बत्ती पनि गयो, अब के गर्ने? निराशाको बिच झुल्कने झिनो आशामा रमाउने यो मनले तुरुन्तै लोडसेडिङ नामको महामारीमा पनि एउटा आशाको त्यान्द्रो देखिहाल्यो।

“ल बुढी, आज बेलुका हामीले स्पेसल भोजन गर्ने है !” मैले झ्वाट्ट भनिहाले। “के के न स्पेसल भोजन पो हुन्छ र हाम्रोमा ? बढी भए त्यो वर्ड फ्लु त होला नि?”, ब्रोइलर कुखुरा तिर इशारा गर्दै मेरी श्रीमतीले जवाफ फर्काइहाली। एउटा “इच्छा अनेक तर रुपैयाँ एक” मात्र भएको मध्यम वर्गीय परिवारको वाध्यता मेरी श्रीमतीले स्पष्ट पारी। “त्यसो भए आज चार–खुट्टे ल्याउँ त?”, मैले विकल्प दिँदै भने। “भैगो, धेरै खर्च गर्न पर्दैन”, उनले तुरुन्तै जवाफ दिइन्। “ल त्यसो भए, आज धेरै अघि देखिको तिम्रो एउटा इच्छा पुरा हुने भयो”, मैले भनिहालें।

विदेशबाट फर्के पछि मेरी श्रीमतिले मलाइ त्यहाँको खानपिनको बारेमा धेरै सोध्ने गर्थिन्। उनको सबैभन्दा कौतुहलको विषय चाहिँ सधै रक्सी हुने गर्दथ्यो। उनका अधिकांश जिज्ञासाहरु यस्ता हुन्थेः विदेशमा त परिवार सँगै बसेर रक्सी खान्छन् रे, हो? तपाँइले चाहिँ के–के खानुभयो त? ह्वीस्की, वियर, वाइन भनेको एउटै हो? कस्तो हुन्छ त? आदि आदि। हुनत अचेल नेपालमै पनि परिवारमा बसेर वियर, वाइन खाने प्रचलन फैलिसकेको छ तर पनि आफूले यो प्रचलन अपनाउन सकिरहेको थिएन। तर आज श्रीमतीको वाइन चाख्ने सपना पुरा गर्ने विचार मैले गरिसकेको थिँए। “ल आज हामीले पनि भ्यालेन्टाइन डे मनाउने है!” मैले उत्सुकताका साथ भनें।

“आज के को भ्यालेन्टाइन नि?”

“अब हामी बुढा–बुढीले भ्यालेन्टाइन मनाउन पनि किन १४ फेब्रुरी कुर्नु प¥यो र? म कुखुरा किनेर ल्याउँछु, तिमी अरु चीज तयार पार, आज वाइन चाखेर भ्यालेन्टाइन डे मनाउने हामी पनि।”

“ल ठीक छ”, उत्सुकताका साथ उनी भान्छा भित्र गइन्।

बेलुकाको ४.३० भैसकेको थियो। म बजार जान निस्किएँ। मेरो मनले आज वाइनको साथमा क्यान्डल लाइट डिनर गर्ने विचार गरेको थियो। अँध्यारोले बाटो छोप्ने बेला भैसकेको थियो। म हतार हतार एउटा पसलमा गई क्यान्डलहरु हेर्न थालें। अब वाइनको चुस्की लिँदै खाना खान त पक्कै अलि धेरैबेर बल्ने क्यान्डल चाहिन्छ। मैले एउटा राम्रो बुट्टा भएको ठूलो क्यान्डल उठाएर मूल्य सोधें। ए गाँठे एउटा क्यान्डललाई २५०, झन्डै दिमागले कामै गर्न छोडेको। लौ त नि एक चोटि लाई ठिकै छ, जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको भनेर मन थामें। अरु १० वटा स–साना रंगी चंगी सस्तो क्यान्डलहरु सहित म वाइन शप तिर लागें।

हुन त देशले प्रगति त गरेकै हो नि, केहि वर्ष अघि सम्म वाइन भनेको एअरपोर्टमा पाइन्छ भन्थे, आज मेरो टोलमा ४ वटा वाइन शप छन्। म एउटामा छिरें। हुन त आफू वाइन पारखी नभएकोले कुन वाइन राम्रो भन्ने छुट्टाउन गाह्रो परिरहेको थियो, तर रुल अफ थम्ब अपनाउँदै प्राइस ट्याग हेरेर यो वाइन राम्रो होला भनेर निकै विचार विमर्श गरें। महंगो पनि कति हो कति, ६०० देखि २५०० सम्मका। अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको भनेर १४०० पर्ने एउटा बोतल किनेर सिधै मिट शप तिर लागें।

“मलाई आधा किलो दिनुस्…” भन्ने मुखबाट के निस्कन लागेको थियो मैले फेरी सोचें “अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको, टाइम पनि धेरै भएको छैन, मासुको दुई थरी परिकार बनाएर टन्न खाउँला नि…”, “हैन, मलाई एक किलो दिनुस् न”। केही बेरको प्रतिक्षा पछि मेरो उत्साहजनक पाइलाहरु सबै सर–सामान लिएर घर तिर लागे।

श्रीमति अझै भान्छा मै व्यस्त थिइन्। म आएको थाहा पाएर दौड्दै कोठा तिर आइन्। “खै, के के ल्याउनु भो?”, उनले प्रश्न नभ्याउँदै मेरो हातको झोलाहरु खोतल्न थालिन्। “कति पर्दाे रहेछ यसको ?”, उनले वाइनको वोतल नियाल्दै सोधिन्। मैले फेरी पनि उही उत्तर दिएँ, “अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्दै वाइन खान आँटेको, जति परे पनि छोड्देउ, एक पटक त हो नि। सधै खर्च गर्न सकिन्न क्यारे।” उनको मन अन्तै लाने हिसाबले मैले मासुको पोको दिँदै भनें, “एक किलो ल्याएको छु, दुई थरी बनाएर खाने है”।

उनी भान्छामा व्यस्त भइन्। म टेबुल सजाउन तिर लागें। टेबुलको बिचमा ठूलो क्यान्डल राखें, अरु स–साना क्यान्डलहरु टेबुलको वरिपरि राखें। एकचोटि सबै क्यान्डल बालेर हेरें, अध्याँरो कोठाको बीचमा टेबुल झलमल्ल देखियो। यस्तै त हुने होला नि क्यान्डल लाइट डिनर भनेर एक्लै रमें। टेबलमा प्लेट, गिलास, वाइन, पानी सबै राख्दै गएँ। श्रीमतीले भान्छाबाट पाकेका खानेकुराहरु दिँदै गइन्, मैले टेबुलमा राख्दै गएँ। लगभग ८ बज्न थालेको थियो, हाम्रो डिनर शुरु हुने अवस्थामा पुग्यो। क्यान्डलले कोठाको चमक नै वेग्लै बनाएको थियो। मैले वाइन गिलासमा हाल्न थालें। उनी मासु चाख्दै थिइन् वाइनको गन्धले नाक खुम्चाइन्। मैले यसको गन्ध यस्तै हो, अब चाखेर हेर भनेर दुई वटा गिलासमा वाइन भरें। एउटा गिलास उनीतर्फ बढाँए। उनले पिउनै आँटेकी थिइन्, मैले रोकें। “रक्सी त्यसै पिउनु हुँदैन रे क्या”, मैले उनलाई सम्झाएँ, “पहिले गिलास जुधाएर चियर्स भन्नुपर्छ”। उनले टाउको हल्लाइन्।

हामीले गिलास जुधाएर “चियर्स” मात्र भन्न के भ्याएका थियौं। मेरो आँखा अगाडि अखण्ड ज्योति प्रज्जवलित भएजस्तो भयो, सूर्य देवले रिसाएर मलाई घुरिरहेको जस्तो भान भयो, निद्रामा कसैले मेरो कानमा ठूलो स्वरमा “शीला की जवानी” भन्ने गीत बजाएजस्तो भयो, म एक्कासी एउटा लोक बाट अर्को लोकमा पुगे जस्तो लाग्यो। मेरो मुखबाट मात्र अंग्रेजीका ३ शब्द निस्किए, जसको नेपाली अनुवाद यस्तो थियो “थूइक्क मोरो प्राधिकरण”, एघार बजे आउनुपर्ने बत्ती आठै बजे आएर मरेछ, मेरो जीवनको पहिलो क्यान्डल लाइट डिनरको सत्यानाश गर्न ?

14 thoughts on “अधुरो सपना”

  1. Gaurav says:
    April 7, 2013 at 8:45 am

    जहिले लोड सेडिंग हुने भएकोले switch राखेको थिएन होला नि त, अनाबस्यक खर्च कसले गर्ने ? तेती पनि नबुझ्ने नेपाली पाठक

    Reply
  2. chandra says:
    April 7, 2013 at 2:00 am

    एस्तो पनि सपना हुछ र ..?ह..हा ..but राम्रो लागेयो शोर्ट स्टोरी …कथाकार जी ले हाम्रो देश को बिजुली वावयस्था (लोअड शेदिंग)लाई indicate ,पोइन्ट out गर्नु खोज्नु भयेछ कि..thanx

    Reply
  3. nishant says:
    April 7, 2013 at 1:59 am

    नेपालमा लॉद्शेदिङ्गले गर्दा राजनजी ले टुकी निभाएको जस्तै बिधुत पनि निभाउन मिल्छ भन्ने कुरा बिर्सनु भयेछ. जे होस् बत्ती जाने भएर हामीले बत्ती आउदा कहिले कहिँ आउने बत्ती के निभाउनु हैन त राजन जी

    Reply
  4. Abhinav says:
    April 6, 2013 at 11:25 pm

    बिना लाइट डिनर
    टुकी लाइट डिनर
    लालटिन डिनर
    हुने देशमा क्यान्डल लाइट डिनर
    गर्नु पर्ने नै येही हो
    थालनी गर्न लग्नुभयेछ बधाई छ
    हामी नेपालीको खप्परमा यिनै डिनर छन्

    Reply
  5. murari says:
    April 6, 2013 at 10:36 pm

    कथा पढ्ने अधुरो सपना ……………………………..

    Reply
  6. sanjay says:
    April 6, 2013 at 7:48 pm

    हरेक को सपना सपनामै सिमित रहेका छन्. यस्तै लग्थियो भने त कोठाको light बन्द गर्दा पनि हुन्थियो नि…..

    Reply
  7. nisha says:
    April 6, 2013 at 7:01 pm

    सुन्दर अभिबक्ति का साथ छोटो मिठो कथा राजन जी धन्न्यबाद बधाई ६ सुन्दर सिर्जना को लागि आगामी अंक मा पनि येस्तै रचना पढ्न पाइओस जदो ……..

    Reply
  8. Parikalpana says:
    April 6, 2013 at 6:59 pm

    सपनालाई अधुरो बनाउने त बुज्रुक कथाकार नै रहेछन switch off गरेर आफ्नो सपना पुरा गरेको भए भैहाल्थियो नि

    Reply
  9. Bishnu Adhikari says:
    April 6, 2013 at 6:28 pm

    कथाकार राजन जी कथाको लागि धन्यवाद / नेपाल जहाँ ज्यादा जस्तो समय लोडसेदिंग हुन्छ, क्यान्डल लाइट डिनर तपाइको जीवनमा धेरै चोटी भै सके होलान, तपाइलाई हेक्का न भएको मात्र हो/ र फेरी पनि पटक पटक तेस्तो अवसर आउछन/ मात्र तपाई कि श्रीमती लाई wine खाने मुड आउछ कि आउदैन तेती मात्र हो / फेरी तेतिका तयारी भै सकेपछि बत्ति आएपनि स्विच अफ गरेर चिरिप्प परेका भए सब कुरा खलास हुन्थियो /
    बिष्णु अधिकारी

    Reply
  10. Damodar Dhungel says:
    April 6, 2013 at 5:40 pm

    बिहानै आज कथा पढ्नु पर्यो भनेर पढेको खै के खै के पिलित भयो अरु त कथाको सिर्सकै काफी छ ” कथा पढने अधुरो सपना” .

    Reply
  11. Bikash says:
    April 6, 2013 at 5:38 pm

    त के भयो त बत्ति निभाएरै मज्जा लिएको भए भै हाल्थियो नि त कि कसो ?

    Reply
  12. Prince says:
    April 6, 2013 at 5:34 pm

    बत्ति निभाएर Candle Light continue गरेको भए भैहाल्थ्यो नि !!!

    Reply
  13. Hari Gautam says:
    April 6, 2013 at 3:22 pm

    ब्यङ्ग हो कि रहर हो बुझ्न नै सकिएन? यदि क्यान्डल लाइट डिनर नै गर्ने तेस्तो रहर भए लाइट अफ गरेर सुरु गरे भै हाल्थ्यो नि ???

    Reply
    1. Vijay says:
      April 7, 2013 at 12:32 am

      लाइट अफ गर्न नि मिल्थ्यो होला नि तर, बाहिर सारा दुनियाँ झलमल्ल, आफ्नो कोठा मात्र कृत्रिम अध्यारो…, नसुहायर पनि होला ! अर्को कुरा, अध्यारोमा ‘मैनबत्ती प्रकाशित बेलुकाको खाना’ खाएर अरु प्राधिकरण लाइ सराप्दै बसिरहेका छिमेकी लाइ जिल्ल पर्ने उद्धेश्य चकनाचुर भएर पनि होला यसरि लेखक ज्यु चुक्चुकाउनु भाको !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme