Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्रोइलर – लोकल संवाद

Posted on March 30, 2013March 30, 2013 by mysansar

-रोहिणीशुक्र-

नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ।

उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। टिनको छाना सूर्यको प्रकाशमा टलक्क टल्किरहने हुदाँ वरपर सबैतिरबाट कुखुरा फार्म सहजै देख्न सकिन्छ। अझ फार्म गाउँको पश्चिम भएर बग्ने खोलाको किनार छेउ अलि उठेको भुभागमा अवस्थित भएकोले त्यसको ठ्याक्कै पूर्वपट्टि रहेको बस्तीमा त यस्तो भ्रम पर्न जान्छ कि मानौं घाम नै त्यो खोलाको किनारतिरबाट उदाइरहेछन्। त्यसैले त गाउँमा बूढापाकादेखि केटाकेटीसम्म जो कसैले बताउन सक्छ कुखुरा फार्म कहाँ पर्छ भनेर।

हुनत गाउँमा भाले बासेमा प्रष्टै सुनिने दुरीमा भएको फार्म घामले मात्रै चिनिनु भन्ने पनि भएन। गाउँबाट खेतीपाती, मेलापात, गाईवस्तु चराउने, घाँसदाउरा गर्नेहरू दिनकै आउजाउ गरिरहन्छन्। कतिले त खेतीको समयमा गोठ सारेरै फाँटमा लग्ने गर्छन्। लाग्दछ, कतिपय गाउँलेका गाईवस्तु, भेंडाबाख्रा र कुखुराहरू पनि अभ्यस्त भइसकेका छन् यी प्रक्रियाहरूसित। त्यसैले कुखुराहरु कीरा-फट्याङ्ग्रा, धानका गेडाहरू र झारपातको खोजीमा गोठबाट परपरसम्म पनि पुगेका भेटिन्छन्।

यस्तैमा एउटा कुखुरा चर्दा-चर्दै फार्मछेउ पुग्छ। धन्य शरद् ऋतु, फार्ममा पनि प्राकृतिक तापक्रम नै कायम भएको हुनुपर्छ आजकाल। त्यसैले त भित्रको ब्रोइलर कुखुरो र बाहिरको लोकल कुखुरोबीच तारजालीको आमनेसामने भई कुरा गर्ने साइत जुरेको छ।

लोकु: हेल्लो बोकु, सञ्चै?

बोकु: सञ्चै। अनि तिमीलाई नि?

लोकु: ठिकै छ। यस्तो रमाइलो मौसम छ। मलाई त यो शरद् ऋतु अति नै मनमोहक लाग्छ। न जाडो, न गर्मी, फेरि हिलो मैलो पनि हटेर औधि रमणीय हुने। मान्छेहरूले पनि सायद यही मौकाको फाइदा उठाएर होला, यसै बेला पारेर दशैं मनाउँछन्। आफन्त, नलनाता भेटघाट हुने, देश-परदेश पुगेकाहरू पनि फर्की आउने, दुखम-सुखम गर्ने, घुमघाम, नाँचगान गर्ने, मिठो खाने, राम्रो लाउने गर्छन्। दशैंको चहकको त के कुरा गर्नु र? हाम्रो लागि पनि दशैं नै आउँछ यो बेला – कीरा-फट्याङ्ग्राको कमी नहुने, झारपात पनि रोजी-रोजी खान पाइने र वर्षामासाजस्तो स्यालहरूको डर पनि नभएकोले उन्मुक्त भएर घुम्न पाइने।

अनि तिम्रो खानपिन भयो त?

बोकु: एकछिन अघि लन्च भएको हो। टन्न छु। हाम्रो त तिमीजस्तो चर्न जानु पर्दैन क्यारे। माछा, मासु, अन्न, सागसब्जी मिलाएर तयार पारेको सन्तुलित आहार घडीको तालमा आइरहन्छ। टन्न खायो, पियो, मस्ती गर्‌यो। तिम्रोजस्तो टन्न खान दशैं कुर्नु पनि पर्दैन। फेरि तिमीले जस्तो काँचोकचिलो र माटैसितको खानु पनि पर्दैन। हामीले त मेशीनबाट प्रशोधन भएको दाना खान्छौं।

“ए! हामी त बाहिरै बस्छौं, यता उता चर्न गयो। मौसम पनि कहिले शरद्, कहिले शिशीर अनि वसन्त। त्यहाँभित्र कस्तो छ नि बस्नलाई?”

“बसाइ त स्वर्गै छ नि। त्यही तारजालीभित्रको जीवन भन्ने मात्र हो। नत्र तापक्रम पनि मिलाइदिन्छन्। शिशीर लागेपनि जाडोको अनुभूति गर्नुपर्दैन, बाहिर हिउँ नै परेपनि हामीलाई प्रवाह हुन्न। चिसो-तातो मिलेको। पानी पनि तापक्रम मिलाएर खान पाइन्छ।”

“ए, त्यस्तो सुविधा हुन्छ है।”

“त्यति मात्र हो र? तिमीहरू झैं छरपष्ट शौच गर्न जानुपनि पर्दैन। हामी बस्ने तला सफा हुन्छ। शौच गर्‌यो, तल झरिहाल्छ। सरसफाईको राम्रो प्रवन्ध हुन्छ।”

“अनि अरू दिनचर्या कस्तो हुन्छ नि?”

बोकु: हामीले सुनेको, तिमीहरू त राति अँध्यारोमा बस्छौ रे। उज्यालोको लागि सूर्यको भर हो रे। कतिबेला बिहान होला भनेर खटपटी हुन्छ रे। बिहान हुने बेलामा खुसीको सीमै हुन्न रे तिमीहरूको। टाठो-टाठो गरी बास्ने त्यही भएर हो रे त साथी, यहाँ हामीलाई समेत जगाउने गरी।

लोकु: हो त। के वयान गर्नू र उषाकालको? सूर्यका सुनौला कीरणहरूको प्रतिक्षाको पल कम्ता मिठो हुदैंन। साँझ परेपछि सबै परिवार भेला भयो, दिनभरका क्रियाकलापको बेलीबेस्तार बाँडिचुँडी गर्‌यो, रातभर एकअर्काको तातो बाँडेर मज्जाले सुत्यो, अनि बिहान भएपछि सबै परिवारलाई “अब जाग, सूर्यदेवको स्वागत गर, रमाइलो बिहानीको आगमन हुनै लाग्यो” भनी जगाउनु त हाम्रो एक किसिमको उत्सव नै हो। बाजे बराजुदेखि चलेको यो उत्सव हाम्रो अभिन्न परम्परा बनी आएको छ। हाम्रो कुखुरा जातिको पहिचानको रूपमा स्थापित यो परम्परालाई निरन्तरता दिन पाउँदा गर्व लाग्छ। सुनिन्छ, मान्छेहरूले समेत हाम्रो भालेबासाइलाई बिहानीको संकेतको रुपमा उपयोग गर्छन् रे।

बोकु: कसले सम्झोस् सुर्योदय कतिबेला हुन्छ भनेर। हामी त त्यस्ता कुराको बोझ दिमागमा राख्दैनौं। घडीको भरमा चल्छौं। उठ्न परेपनि घडीले संकेत दिइहाल्छ। फेरि तिमीजस्तो अँध्यारोमा बस्नु पर्दैन। मालिकले चौबिसै घण्टा झलझली पारिदिन्छन्। त्यसैले होला, हामीलाई के रात के दिन, आकाशमा घाम हुन् वा जून खासै चाख हुन्न। उज्यालोमै सुत्न पुग्छ हामीलाई त। त्यसैले सूर्यप्रति पनि त्यस्तो विधि श्रद्धा छैन हामीलाई त।

“स्वास्थ्यको अवस्था कस्तो छ नि? त्यस्तो वातानुकुलित अवस्थामा त बिरामी पर्ने संभावना पनि हुन्न होला।”

“हाम्रो स्वास्थ्य उपचार गजबको र भरपर्दो छ। प्रथम रोगै लाग्दैन। लागिहाले पनि, तिमीहरूले जस्तो रोग दबाएर बस्नु पर्दैन। तिमीहरूको त कतिपय बेला रोगको सुइँको पनि हुन्न रे। हामीलाई त बेलैमा सबै खोपहरू दिइन्छ। नियमित स्वास्थ्य जाँच गरिन्छ। सानातिना रुघाखोकीलाई त खोपले पहिल्यै रोकथाम गरिएको हुन्छ। फेरि हाम्रा मालिक त कस्ता भने कम्प्युटर चलाउँछन् रे, फोनले पनि नपुगेर स्मार्टफोनबाट कुरा गर्छन् रे। कम्प्युटर प्रयोग गरी हाम्रो स्वस्थ्य र सुविधाबारे नयाँ-नयाँ कुरा पत्ता लगाउँछन् रे। अहोरात्र हाम्रो भलाइको लागि खट्छन् रे। रोग फैलिहाले पनि त्यसको तुरुन्ता-तुरुन्ती जाँच पड्ताल गर्छन्। मालिकलाई नजिकबाट देख्न त पाइएको होइन, तर मालिकले त हाम्रो साह्रै हेरविचार पो गर्छन् त।”

“त्यही त।

हाम्रा मालिक त घाँस काट्ने, गोबर फाल्ने गर्छन्। त्यति पढालेखा पनि होइनन् रे। खोप-सोप त परैको कुरा, बिरामी भए पनि औषधी खान पाइने ठेगान हुन्न। बरू हामीले नै विभिन्न जडीबुटीहरू चिनेका छौं, बिमार पर्दा परिवार अनि छिमेकका सदस्यहरूले सहयोग गर्छन्। जडीबुटी खोज्छन् र खुवाएर निको पार्छन्।”

बोकु: के तिमीलाई थाहा छ? हाम्रा मालिक त अति दयावान् छन् रे। तिमीहरूको ब्यथा देखेर हाम्रा मालिकले तिमीहरूलाई पनि हामीजस्तै बनाउने पद्धतिको विकाससमेत गरिसके रे, तिमीहरूको उद्वार गर्नलाई। दुईचार जना नयाँ साथीहरू हाम्रो फार्ममा आएका छन् हालसालै। भन्दै थिए, तिमीहरूकै समूहबाट प्रशोधन भएर हाम्रो रुपमा विकसित भएका रे। तरह-तरहका कुरा गर्छन्। तिमीहरूको बारेमा धेरै कुरा जान्न पाइएको छ। कुरा सुन्दा दया लाग्छ तिमीहरूको। बरू तिमीहरू पनि कसरी हुन्छ, तिनीहरूकै बाटो अनुशरण गर। त्यस्ता निरिह साहुजीसित के बस्छौ? यहाँ धेरै कुराको सुविधा छ। अर्काले तयार पारेको खायो, मज्जाले सुत्यो, शोक न सुर्ता, भोक न भकारी। देशविदेशका उत्पादन आउँछन् यहाँ। थाइलेण्डका फलफूलदेखि मेक्सिकोका तरकारी अनि चीन, भारततिरका अन्नहरू मिसाइएका हुन्छन् हाम्रो दानामा। छानी-छानी मीठा-मीठा परिकार खान पाइन्छ। तिमीले कहिल्यै खाएका छौ त्यस्ता खाना?

लोकु: कहाँ पाएर खानु? हामी त खेतबारीमा जे पाइन्छ, त्यही खाने हो। जति खोस्रन, पौरख गर्न सक्यो, त्यति बढी खान पाइने हो। सके खायो, नसके चित्त बुझायो।

बोकु: त्यही त। खाएको भए त्यस्तो हुन्थ्यो र ज्यान? खानाको बेठेगान, फेरि चारो खोज्न नङ्ग्रा खियाउनु पर्ने, माटो-ढुङ्गो खोस्रनुपर्ने, उकाली र ओराली गर्नुपर्ने, कम सास्ती होला त है। तिम्रो त मांशपेशी पनि अति चाम्रो भएको हुन्छ रे धेरै परिश्रमले गर्दा। ज्यान पनि सारङ्गीजस्तो।

बिचरा तिम्रो हालत देखेर टीठ लाग्छ। तर के गर्नू? तारभित्र छु, मैले केही गर्न सक्ने पनि होइन। हाम्रा मालिकको नजर परे त हुन्थ्यो। ए बरू, त्यतातिर तोएफल भन्ने एउटा बुटी पाइन्छ रे। हाम्रा नवआगन्तुकहरूले भनेका, त्यो खायो भने बास्ने बानी छुटाउँछ रे। बास्न बन्द भएका कुखुरालाई ब्रोइलरमा बदल्न धेरै सजिलो हुन्छ रे। सके संगत र अभ्यासले केही समयमा आफै बदलिन्छन् रे, होइन भने पनि जिरे, पिरे भन्ने सुई लगाएर सहजै बदली गर्न मिल्छ रे।

लोकु: दु:खजिलो गर्नुपरे पनि मलाई त यही नै जीवन हो भन्ने लागेको छ। चरेरै भएपनि एकपेट खान पुगेकै छ। आकलझुकल अन्न पनि टिप्न पाइन्छ। फेरि, मेरा मालिक गरिब नै भएपनि निर्दयी त छैनन्। चर्न नपाएको बेला, ओथारो पर्दा वा त्यस्तै बेलाबखत चारो खान दिन्छन्।

आमाले भन्नुभएको, भएको बेला त मनकरी थिए रे हाम्रा मालिक। राम्रो चारो दिन्थे रे। तर पाल्नु पालेर ‘अब प्रतिफल देलान्’ भन्ने बेला हुलका हुल कुखुरा हराउन थाले रे। आमा सम्झनुहुन्छ- जस-जसले बाहुबलले होस् कि लोभी भएर होस्, धेरै चारो खाइ छिटोछिटो बढ्थे, उनीहरू नै छानिई-छानिई गायब हुन थाले। आमाहरूलाई त अलिअलि नालीबेली पनि थाहा छ रे, तर ‘मनको बह कसैलाई नकह, हामी निर्धाको बोली कसले सुन्छ र?’ भन्नुहुन्छ। ‘सबै आफ्नै भाइसाथी, छोराछोरी समान, अब बोलेर के फाइदा?’ भन्दै भक्कानिनुहुन्छ।

भन्नुहुन्छ – ‘तिनीहरूले नहसुरेको भए हाम्रा छोरानातिले भरीपेट चारो भेट्टाउँथे होला। ती भगुवाहरूले अरू प्रतिफल त दिएनन् नै, खाएको चारोको मूल्यमात्रै खेर नगएको भए पनि हाम्रा मालिकको हालत उहिल्यै माथि उठ्थ्यो। बिचरा मालिकले थोरधेर गरेका छन् । छोरा, दु:खजिलो नै गरेर भएपनि जीवन जीउनू, तिमीले बेइमान नगर्नू। हाम्रो पालाभन्दा तिमीहरूले धेरै राम्रो सुविधा पाएका छौ। तिमीहरूले भर नकाटेमा अहिल्यै नभएपनि आउने पिंढीले पक्कै राम्रो जीवन पाउलान्। म बूढी आमालाई छोडेर जता गएपनि तिमीलाई मनमा शान्ति हुने छैन। बहिनीले दाइको कति माया गर्छे। सुनपङ्खीले तिमी चर्न गएको बेला खालि तिम्रै गुणगान गाउँछे। आखिर बा-आमा, दाजुभाइ, दिदीबहिनी, माया गर्ने पत्नी, परिआए ज्यान दिने साथी, यिनै होइनन् र सम्पत्ति, जीवन जिउन चाहिने प्राप्तिहरू?’

घुम्यो, बस्यो। परिवारमै रमायो। प्रकृतिको नजिक बस्यो। घामपानी जिन्दगानी। घाम लागे घामै रमाइलो, पानी परे झरी नै रमाइलो लाग्छ। खोइ किन हो कुन्नि? एउटालाई गर्मी हुदाँ अर्काले पसीना काढ्नेसम्मको आत्मीयता छ हाम्रोमा। परिवार छोडेर कतै जान पनि मन लाग्दैन। चर्न निस्कने पाखोभरि आफ्नोपनको गन्ध आउँछ। चर्न अलि पर पुग्दा पनि कस्तो-कस्तो भइहाल्छ। पल्तिर जाऊँ, सिउरे साथी छ, तल्तिरकी सप्तरङ्गी, माथ्लाघरे लोर्के दाइ, पाल्तिरको वायुपङ्खे, सबैतिर मनमिल्ने दौंतरीहरू छन्। फेरि बा-आमाले कुन दु:खले हुर्काएहुनन्, अब उनीहरूलाई छोडी हिंड्दा आत्माले श्राप पनि त देला। हामीले खुवाउनु पर्ने होइन; बरा आफैं चर्छन्। उल्टै गोब्रेकीरा, गँड्यौला भेटे भने छोरो भनी सम्झिहाल्छन्। बाहिर हिंड्दा तन्नेरी नै भन्ठानिन्छ, तर बा-आमाले सानै सम्झी दिने अर्ती, ज्ञानगुनका कुरा, स्याल गिद्दबाट बँच्ने कला, शिलोक र शास्त्र सुन्दा त असीम आनन्द लाग्दो रहेछ। हामीले दिन त के पो सकिन्छ र, सँगै बसेर मनको सन्तोष मात्रै भए पनि त दिन सकिएला। मलाई त यहीं हुर्कें, बढें, अब मरे पनि यहीं मरम् जस्तो लाग्छ।

बोकु: हेर साथी, तिनी कुरा त्यत्कै राख। त्यस्ता कुराले खान दिने होइनन्। यताको संसारको सुखको चमक नै बेग्लै छ। टन्न खान पिउन पाइन्छ। मालिकले हेरचाहको जिम्मा लिने भएपछि परिवार र साथीभाइ त्यस्तो विधि किन चाहिए र? मालिकले हाम्रो सुरक्षाको पनि उत्तिकै व्यवस्था गरेका छन्। बन्दुक र गोलीका चाङ राखेका छन्। अस्ति साथीहरूले तिम्रो गाउँतिर देखाएर भन्दै थिए, गाउँतिरबाट केही खतरा आयो भने सिङ्गो गाउँ नै खरानी बनाइदिने बन्दुक पनि छन् रे। गाउँ नै उजाड भए त हामी पो कसरी बाँचम्ला र? खै र, त्यो हामीलाई के चाँसो? हाम्रो अन्नपानीको राम्रो प्रवन्ध गरिहालेका छन्, मालिकले गर्ने गहन कुरामा हामीले के टाउको दुखाउनु पर्‌यो र?

अनि परिवार, बा-आमा सम्झेर खान पुग्ने होइन। इतिहासका किताब र पुर्खाका गाथाले दाना दिंदैनन्। बा-आमाले हुर्काउनु हुर्काइहाले। बूढा भएका बा-आमाले अब के पो दिन सक्छन् र? फेरि, जति नै दिएपनि त्यसले पुग्ने होइन। बरू, सन्तानले सुख पाएको खबरले उनीहरू खुसी हुन्छन्। ‘छोराछोरी ब्रोइलर भए भनी सुन्न पाए खान लाउन पनि चाहिन्न’ भन्छन् रे त धेरैका बा-आमाले त! यहाँ हामी मस्ती गर्छौं, भोलि हाम्रो अर्को पुस्ता आउँछ, उसले यस्तै मस्ती गर्छ। थोडा हामीलाई सम्झन्छ र? उनीहरूलाई हाम्रा बारे कुरा गर्ने, सम्झनुपर्ने जरुरत नै किन परोस् र? यस्तै हो दुनियाँ, बेलैमा बुझ। हेर साथी, अर्को पुस्तालाई हामीले शुभेच्छा राख्ने हो, भोलि अझै अत्याधुनिक खोरमा जिउन पाऊन्, बस् त्यत्ति हो।

ए, यता हाम्रो चारो आएछ साथी, दगुर्नु पर्ने भयो, अहिलेलाई यत्ति। यही पेटका लागि के-के गरियो, अब तिमीसित कुरा गर्नलाई चारो छुटाउने कुरो पनि भएन। ल भेटे पछि कुरा गरम्ला।

[तपाईँको पनि यस्तै कथा छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा अथवा यहाँ क्लिक गरी पठाउनुस्।]

17 thoughts on “ब्रोइलर – लोकल संवाद”

  1. शशांक लामा, न्युयोर्क says:
    March 31, 2013 at 7:17 pm

    कथाकार रोहिणी शुक्रको प्रतीकात्मक कथामा बोकु र लोकु को जिन्दगानी दांजीएको छ | जिन्दगीलाई ठिक र बेठिक भनेर कुनै मापदण्डमा राखेर तराजुमा तौलिने कुरो भएन क्यार !कारण लोकु र बोकु दुवै पछुताएको देखेको छु |

    Reply
  2. पुष्प says:
    March 31, 2013 at 11:47 am

    यथार्थमा आधारित सम्बाद; बडो गज्जब लाग्यो ! धन्न बोकु भैएनछ भन्ने लागिराछ ।

    Reply
    1. तेन्जिंग गाबा says:
      March 31, 2013 at 2:55 pm

      हुनत “Pizza” भन्दा त् “चटामरी” नै मिठो लाग्छ मलाइ पनि
      तर,,,,,,,,,,,,,,,,,,,,,, दुवै खानु पाए किन Pizza छुटाउनु नि ?

      जदौ

      Reply
    2. murari says:
      March 31, 2013 at 7:17 pm

      बिचरालाई अंगुर निकै अमिलो लागेको रे छ भन्ने हामीलाई लाई रा छ

      Reply
    3. balaraam says:
      March 31, 2013 at 7:46 pm

      !!!!सरि मुस्तफा !!!!
      *****************

      सरि मुस्तफा …
      तिम्रो हैसियत को मापन मा
      साएद मेरो खोट होला
      तिम्री ति कारबाही कर्ताकी
      बिना कारबाही को साएद यो चोट होला
      या उनको कारबाही को यो अन्धो
      लंगडो र नाङ्गो भोट होला
      तर पनि सरि मुस्तफा
      मा उनको रतिराग युक्त
      उनको निश्चल
      अटुट अनि अविरल
      कारबाही को
      पर्खाई मा छु !
      सरि मुस्तफा …..
      तिमि जति नै मुस्तंड मुस्तफा होउ
      या एक भयानक उस्ताफा होउ
      “हम तो वह रेगिस्तान कि रेत हैं –
      जो हवा कि एक झोके से
      तुम्हारी वह मन्जर –
      एक पल मे तबाह कर देते है”
      सरि मुस्तफा !

      हम तो एक बेजान ओर एक बन्जर हैं
      जो हमसे टकराए साएद उस खुदाको
      भी नापसंद है !
      अर्जी आपको सिर्फ यहि है !!!
      मिन्नत आपका अगर यहि है
      तो हम टकराने के लिए
      साल दर-ए -साल हम आप कि
      इन्तजार करते है !
      ये तो सिर्फ मुस्तफा के हजुमत मे !
      XXXXXXXXXXXXXXXXXXXXX

      मर्दा एउटा कात्रो को नसिब नहुने ठाउँ
      बाट के फलाक्छोउ मुस्तफा ?
      हैसियत को मापन गर्छोउ भने
      त्यो तिम्रो र मेरो मीर्तु को दिन
      आखा बाट आसु खसाल्ने को संख्या ले
      नाप्ने छ !

      Reply
  3. Nisha says:
    March 31, 2013 at 12:31 am

    भलै लोकल हुन् वा बोइलर झन् विदेशमा त चिकन बिनाको जिबन कल्पना पनि गर्न सकिन्न दिनभर duty गर्यो घर मा आयो भात पकायो मस्ती चिकेन मा झोल हाल्यो मस्त खायो धन्न chicken !!! जय बोइलर माता कि !!!!!!

    Reply
  4. द्रोण says:
    March 30, 2013 at 11:19 pm

    विदेश जानु थोरैको लाइ रहर धेरैको को लागि बाध्यता पनि हो,छोरा मान्छे ले विदेश जानुपर्छ्ह जिबन मा एक चोटी भन्ने मान्यता पनि छ हामि काहा |एक चोटी बाहिरियेपछी फस्ने कुरा पनि आफ्नो ठाउमा छदैछ |
    यो देश बाहिर बस्दैमा देश लाइ माया मारेको ,देश भित्रका लाइ फुर्ति देखाएको भन्ने आसय
    लघुता भास पिडित सोचाई हो |साचै भन्ने हो भने नेपाल आमालाई चाया ले भन्दा जुका ले धेरै दुख दिएको छ |

    Reply
    1. neerose says:
      March 31, 2013 at 4:24 pm

      त्यो त होला तर अमेरिका कोइ बाध्यताले गया होलान भनेर म मान्न तयार छैन साथि!
      अम्रिका क्यानडा बेलायत आदि चाहि रहर र सपनाले नै हो!
      हो विदेश भनेर कतार दुबई मलेसिया आदि जस्तो देशको कुरा बेग्लै हो!

      Reply
  5. kedar says:
    March 30, 2013 at 9:18 pm

    बोकु = ब्रोइलर = अम्रिका गाका नेपाली

    लोकु = लोकल = डीभी नपरेका र अम्रिका जान नपाका नेपाली

    Reply
    1. Bibek Dhakal says:
      April 4, 2013 at 9:27 am

      अनि जान नखोजेका, गएर पनि फर्केका ( भगवान कोइराला , महावीर पुन ) जस्ता नि?

      Reply
  6. Bishnu Adhikari says:
    March 30, 2013 at 6:03 pm

    आर्थिक उन्नति नै राजनैतिक उन्नतिको पुर्बाधार हो भन्ने कुरालाई आत्मसात गर्न खोजेको हो जस्तो लग्छ लेखकले / सम्बादमा जस्तै आर्थिक उन्नति अर्थात् गाँस बाँस र कपासको व्यवस्था नभए सम्म ब्रोइलर भएर बाँच्न सिक र तेस्को व्यवस्था भएपछी स्वतन्त्र हुनको लागि जाली बाट बाहिर निस्की लोकल भएर बाँच्न सिक / अनि मात्र जीवनको सार्थक हुनेछ /
    बिष्णु अधिकारी

    Reply
  7. Hari Gautam says:
    March 30, 2013 at 5:31 pm

    एकदम राम्रो लाग्यो |

    Reply
  8. Prakash says:
    March 30, 2013 at 3:04 pm

    २ पैसा को पनि छैन कथा…. काम न पाएर कस्तो कस्तो कथालेक्चन बा…..

    Reply
  9. तेन्जिंग गाबा says:
    March 30, 2013 at 2:16 pm

    तारजाली भित्र जीवन बिताउनु भन्दा खुल्ला स्थानमा नै जीवन बिताउनु उचित हो
    तर
    खुल्ला ठाउमा पनि किरा-फट्यांग्राको जनसंख्या अलिक बढाएर स्याल-फ़्याउरोको संख्या चाही अलिक घटाउने तिर सबै लागम भन्ने हाम्लाई लाइराछ /
    ************************
    अनि अर्को कुरो छुसुक्क :
    तारजाली बाहिर भन्दा तारजाली भित्र अझै फराकिलो छ चेतना भया !!!!
    ***********************
    र अन्तमा :
    त्यो तारजालीमा ठिक्क मिलाएर प्वाल पार्नु पर्छ ता कि ति दुवै लोकु-बोकु निर्धक्क भित्र-बाहिर गर्न सकुन

    कुखुरी-काँ (जदौ)

    Reply
    1. पुष्प says:
      March 31, 2013 at 11:58 am

      रोहिणीजीले कथ्न नसक्नुभएको बोकु सम्बाद । यो सम्बाद सुनेर लोकुले भन्दा हुन्, “कुवाँको भ्यागुतालाई कुवैं संसार । कुवाँको बाहिर पनि संसार छ, तर त्यो भ्यागुतोले बाहिरको संसार देख्न पाउने होइन क्यार ! यता उफ्र्यो कुवाँ, उता उफ्र्यो कुवाँ ! बरु कुवाँ बाहिर बसे मनलागी जाने, खाने, रमाउने मौका त रहन्छ ।”

      Reply
  10. raj kunwar LONDON says:
    March 30, 2013 at 12:55 pm

    कथा को चुरो के हो ? …….कथा ले के भन्न खोजेको हो एक रत्त्ति बुझेको भयत कथा कार जी प्रस्ट पर्नु हुन्छ कि !

    Reply
    1. kedar says:
      March 31, 2013 at 3:40 am

      बोकु लाइ अम्रिकाने र लोकुलाइ नेपाली बनाएर कथालाइ एक पल्ट फेरी पढी हेरौं त मित्र, तेसी बुझिन्छ, कथा साहित्य भनेकै सांकेतिक लेखाइ र सांकेतिक बुझाइको भाषा हो /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme