Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : माइली मात्र रोएकी होइनन्

Posted on March 9, 2013March 9, 2013 by mysansar

– दीपा राई पुन-

कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले कोही सन्तुस्ट बन्दैन। यसैले होला सोच्दा अनौठो लाग्ने तर जीवनले भोगी लिनु पर्ने असहाय ब्यथाहरु क्रमस :थपिने क्रममा कहिले पूर्णबिराम लाग्न सकेन।

उनी असंख्य मान्छेको भीडमा हिँड्दै थिइन्। हिँड्दा हिँड्दै दुई रुपैया झिकेर भिक्षुणीलाई थमाइन्। भिक्षुणी फलाक्दै थिइन्। सुखी सुखले जीवन भरिपूर्ण होस्, दुख कहिले नहोस्। ईश्वरले सधै साथ दिउन्। भिक्षुणीको आशिर्वाद सुनेर एकपल्ट फर्केर हेरिन् र मनमनै भनिन्। मलाई सुख होइन्, दुख झेल्ने साहस चाहिएको छ। जीवन दुख र कष्टपद हुनुमा मलाई केही गुनासो छैन।


गुनासो त मलाई आफूले सहन नसक्नुमा लाग्छ। यहाँ मन जहाँ जति पटक भाँचिए पनि के भएको छ र ?आफूलाई दरो बनाउनु सक्नु ठूलो कुरा हो जुन म यस घडी सकि रहेको छुइन। हिड्दा हिड्दै पनि आँशुलाई थाम्न गार्ह्रो भएको बुझ्थे। मन कतै चसक्क दुखेको छाम्थे। एक्लै थिए, मनको उकाली ओरालीमा। सत्य पनि यहिँ थियो मेरो लागी। प्रत्येक मान्छे एउटा भ्रम पालेर बाँचेको हुन्छ। मलाई पनि जीवन जिउनुको अर्थमा यसरी त्यसरी बाँचेको छु भन्ने भ्रमले कहिले छाडेन। जन्म र मृत्यु धुर्व सत्य हो भने भ्रम एउटा अर्को सत्य हो। यहिटुट्नु पहाड भत्किनु जस्तै हुँदो रहेछ।

माइली गाउँको सरल र सोझी ठिटी हुन। सानैमा बाबा आमाले पराई घर सुम्पिएको बिहान उठेबाटघाँस -दाउरा,खेतीपाती गर्न सिवाय केही आउदैन। उनीले जानेको नै घाम डुब्नु भन्दा पहिले काम सक्नुपर्छ। बाहिर काम सकेर घर धन्ना पनि भ्याउनु, परिवारलाई खुशी पार्नु सके उनी मख्ख पर्छिन। बिबाह १५। १६ बर्ष कै उमेरमा भए पनि केही बर्ष नबित्दै उनको श्रीमान घरको समस्याले बिदेसिनु परयो। विदेश गएको केही समय सम्म चिट्ठी लेखि रहन्थियो। सन्चो बिसन्चो लेखि पठाऊ थ्यो। आफूले मन पराएर गाउँको सब भन्दा राम्री ठिटीलाईआफ्नो जीवनसाथी बनाएको, किन बिर्सन्थ्यो ऊ। माइली चिठ्ठी पाउँदा हर्ष र खुशीले विभोरहुन्थिन। सिरानीमा चिठ्ठी राखेर मीठो सपना देख्ने विश्वासले आनन्दित हुन्थिन। माइलाले पैसा कमाएर ल्याउनेछ। साहूकोऋण तिरे पछि सानो घर बनाउने, परिवार हाँसी खुशी बाँच्ने परिकल्पनाले तानाबाना बुन्थिन। यसैले जाडोको चिसो ठिही र गर्मीको हपहपलाई पनि सजिलै पचाउथिन।
कामबाट समय निस्कनु साथ मेरोमा चन्चल मृग जस्तै दौडेर आऊथिन, चिठ्ठीको उत्तर लेखि माग्नुलाई। म प्राय उसलाई जिस्काई रहन्थे। माया प्रीतिको कुरा मलाई आउदैन, के लेखिदिउ माइली ?उनी लाजले रातोपिरो हुन्थिन। म उनीलाई बुझ्थे, यसैले पत्रयूतर आफै कोरिदिन्थे।
माइलीको पत्र पदने र लेख्ने जिज्ञासा देखेर उनीलाई साँझ पख साधारण पढाउन शुरु गरे, उनीले चाडै जानिन पनि। प्रयत्नले मान्छेलाई के बनाउदैनर, बुद्दु पट मुर्ख कालिदास त विद्वान बने भने माइली डालामा बसेर फेद काट्ने खालकी चाँहि थिइन्न नै।

कथाको किताबहरु पढन दिन्थे। पढेर थुप्रै प्रस्नहरु सोधिरहने गर्थिन। कहिले रुन्चे अनुहारले कथाको पात्र यस्तो हुनु पर्ने यस्तो भएछ, मलाई त मनै परेन भन्थिन। उनी सारै सोझी र कोमल थिइन। पानी जस्तै निर्मल सरल उनीमा कुनै कुठराघात नपरोस म कामना गर्थे।
विदेश लागेको ३। ४ बर्ष देखि माइलाले चिठ्ठी लेख्ने छाडिदियो माइलीलाई। बाबा आमा र दिदीलाई लेखे पनि त्यहाँ माइली कस्तो छ ?के गर्दैछिन सम्म सोधेको हुन्नथियो। उनको मायामा फक्रेकी माइली बिस्तारै मुर्झाउन थालि, बैशका उमेरहरू पनि मैला कै नाममा गई सकेको थियो। माइलाले यसरी चट्टै कसरी माया मारयो?माइलाले समयसंगै बिर्सेको कुरा माइलीले शंका सम्म गर्दिन थिई बरु बिदेशमा अर्काको काम बिचरा चिट्टी लेखनु पनि भ्याउदैनाहोला। आफ्नो गाउँ फर्के पछि माइलालाई केही काम गर्न नलगाउने सबै आफै गर्छु भनेर सोच्थिन। कतै माइला आई हाल्छ कीभनेर घाँस दाउरा जता गए पनि देउरालीमा बिसाएर बाटो हेर्न कहिले छाडिन्। उनको हेराइ र पर्खाइले एक -दुई चार आठ दश बर्ष बित्यो।

हिजो साँझ पख बाहिर पिढीमा कोहीसुक सुकाएको जस्तो लागेर निस्के, माइली रहेछिन्। किन के भयो भन्दा पनि पटक्क बोलिनन उनी। अझ बेशी रोइन्। बर्षाले फोहोर मैला पखाले झैँ उनी भित्रको पीडालाई आँशुले धुनदिए मैले। रोएर शान्त बने पछि सुस्तरी भनिन। माइलालाई छोडपत्र दिनु रे मैले।

तिमीले …?किन छोडपत्र दिने, के भयो ?..म अंग्रेजी बोल्न जान्दिन रे, राम्रो लुगा लगाउन पनि आउदैन रे, म जस्तो पाखेसँग माईला नबस्ने भनेर घरमा चिट्टी लेखेको रहेछ।
सासु ससुरा के भन्नु हुन्छ त ?।

उनीहरुले के भन्ने र, माइलाले जे भन्छ त्यहि त भन्छ नी। तँलाई पैसा दिन्छ छोडपत्र डे भन्छन्। दुई लाख दिने रे। माइला चाडै आएर अंग्रेजी बोल्ने केटी बिबाह गरि हङ्कङ् किकता हो जाने भन्थ्यो रे। म उसको कुरा सुनेर अवाक बने, शब्दहरु केही भेटिन। के भनेर सम्झाऊ ?जसले जीवनको सब भन्दा महत्वपूर्ण बर्षहरुलाई माइलाको नाममा तिलान्जली दिएको छ। माइला फर्केर जीवन बाँच्ने आशामा दिन दिन मरेर पनि बाँचेकी छ। उसलाई स्नेहले थमथमाए अनि माइलाले भनेर मात्र हुदैन, निर्णय तिम्रो हातमा हुन्छ। फेरि माइलाले अंग्रेजी बोल्नु नजान्दा र लुगा लगाउन नजान्दा त भनेको रहेछ नी। त्यो सबै तिमी गर्न सक्छौ। तिमी हामीले बोले जस्तै एउटा अर्को भाषा हो अंग्रेजी। साँझ परिसक्यो तिमी अहिले जाउ, पीर नलेउ है, सबै ठिक हुन्छ।

उनी गए पछि म निदाउने तरखरमा लागे तर पटक्कै निन्द्रा लागेन। विबाहभएको दश बर्ष पछि कसैले दोष थुपारेर त्यो पनि माइली जस्तोलाई छाड्नु, कत्ति मुर्ख बनेछ माइला र माइला जस्ता प्रवासीहरु। सभ्यताको नाममा पदार्थ बनेछन हिमालका छोराहरु। राम्रो आँखामा खोज्ने माइलासँग साह्रै चित्त भाँचिएर आयो। निन्द्रा पटक्कै लागेन, वत्ति बालेर खुला पत्र लेख्न बसेको छु।
भाइ माइला,
तिम्रो मानसपटलमा ओझेल परिसकेको दिदीको आशिष। तिमीलाई लामो समय पछि भए पनि पत्र लेख्दैछु, अन्यथा नसोच। बरु कामको ब्यस्तामा समय निकालेर राम्ररी पढ। तिमीले घरमा पठाएको पत्र माइलीले सबै बताइन्। तिमीले त्यसरी किन लेख्यौ ?म जान्दिन, तर जे निर्णय गर्दैछौ,ठिक गरेको छैनौ।

हेर तिमीले बिदेशमा जति दुख गर्छौ नी त्यो भन्दा कम चाहिँ माइलीले गर्दिनन यहाँ। बिहान देखि साँझ नपरे सम्म स्वास फेर्ने फुर्सद हुदैन। बाहिर काम भ्याएर पनि भित्र धन्न गर्नु परयो। तिमी यतिका बर्ष बाहिर रहँदा एक पल्ट उफ ! सम्म गरेकी छैनन। घरमा सबैलाई खुशी बनाएर अहिले सम्म तिम्रो प्रतिक्षामा आज भोली भन्दै त्यो चुलबुले माइली परिपक्व माइली भइसकी। त्यो परिपक्वतामा उसलेआफ्नो बैशकारहरहरुलाईगुमाएकी छ, मनको चाहनालाई मारेकी छ। तिमी आफै सम्झ त, माइलीको निमित्त तिमीले एक क्षण, एक पल कुनै दिन साचेऊ ?तिमीले उसको खातिर कुनै रहरलाई गला घोटेउ?साँच्चै मर्नु र बाँची बाँची मर्नुमा आकाश पाताल फरक हुन्छ। माइलीलाई बुझ्नु तिमीले एक पल्ट मरेर हेर्नु पर्छ। माइली भएर सोच्नु पर्छ।

पैसा दिएर छोडपत्र मागेको रहेछौ। विदेश बसेर कति पैसा कमाएको छौ ?लाख ?करोड ?अरब ?खरब ?खै यतिमा त माइलीको दश बर्ष फर्किन्छ जस्तो लाग्दैन। अलिकति स्नेहमा रमाउने माइलीलाई त्यत्रो पैसा पनि के गर्नु ?सक्छौ भने उसको दश बर्ष फर्काइदेउ। म साक्षि छु, तिमीलाई माइलीले आफ्नो दश बर्ष भन्दा अरु केही माग्दिनन।
भाई दिदीको एकोहोरो गनथनले रिसाएको त छैनौ ?तै तिमी बुझ्छौ भन्ने विश्वासले मन जितेर लेख्दैछु। हामी नजान्दा र नबुझ्दा नै बढीगल्तीगर्छौ तर गल्तीलाई सच्चाउने ध्यान कमै जान्छ। मैले तिम्रो निर्णयमा त्यहि भूल भेटे। माइलीले अंग्रेजी जानेकी छैन, राम्ररी लुगा लगाउन जान्दिनन। त्यसलाई म सरासर झुट भन्दिन, सत्य त्यहि हो, तर कहिले जान्ने छैनन यो चाहिँ म मान्दिन। अंग्रेजी एउटा भाषा हो। माइलीलाई सिक्नको लागीतिमीले कहिले भनेउ ?उनलाई सिक्ने समय देऊ। केही नजान्ने माइलीले तिमीलाई चिट्ठी लेख्न जसरी नेपाली भाषा जानिन उसरी नै अंग्रेजी जान्नेछिन,लुगा भन्ने कुरा त्यस्तै हो, लगाउदै गए पछि आफै सिक्नेछिन। तिम्रो परिकल्पनामा नअटाएकी माइलीलाई एकपल्ट साकार रुप दिएर त हेर। तिमीले देखेको सुन्दरता भन्दा अझ बडीचमक पाउँने छौ उनीमा।

माथिको सबै त बाहिरि कुरा भए। एउटा मान्छे सुन्दर हुनुलाई यति मात्र पूर्ण हुदैन। भित्रि सौदर्य चाहिन्छ। स्वभावैले असल हुनुपर्छ। त्यो माइलीमा स्वत छ। तयारी खोज्नु भन्दा आफ्नोलाई बनाउनु, खार्नु सिक्नु पर्छ हामीले। यहाँ जन्मदै लिएर आउने कोही छैन। बिस्तारै बुझिने सिकिने कुराहरु हुन। बाहिरि सौन्दर्यमा मख्ख हुनेहरुको दशा थाह छैन तिमीलाई। तिमीसंगै पदने राम ब .ले बिदेशमा विबाह गरेथ्यो। बर्सौ कमाएको सम्पति पनि उसको श्रीमतीकै नाममा रहेछ, एककौडी नदिई फर्काइ दिएछ बिचरालाई। यहाँ आएर फेरि आफ्नो खेतीपाती सम्हाल्दैछ। पहिलेको श्रीमति पनि अर्कै सँग पोइला गैसक्यो। तलको गठठेले पनि पल्टनबाट छुट्टी आउनु साथ कताको केटी हो घर ठेगान थाहै नभई राम्रो देखेर घरमा नै ल्याएर विबाह गरि छाडेथ्यो। भए भरको सम्पति गुट्मुटाएर भागीछे संसार गोलो छ, राम्रो खोज्ने भ्रममा परेकालाई मुक्का दिने राम्रीहरुको पनि कमी छैन यहाँ। अरुको कुरा छोडौ, हामी आफू असल बन्ने प्रयत्न गर्नु पर्छ। आफ्नो खुशीमा कसैलाई चोट पुराउनु चाहिँ मुर्खता हो।
संसारकै सबभन्दा बिकशित देशमा यतिका बर्ष बसेको तिमी धेरै कुरा जानि सक्यौ होला हैन ?तिमीले जानेको कुरा माइलीलाईपनि लेखि पठाउ। तर राम्रो लुगा लाउदैमा मान्छे सभ्य हुन्छ भन्ने चाहिँ नलेख है। सभ्यपन मान्छेको बोलीर ब्यबहारमा हुन्छ। असभ्य र पाखे हामी होइनौ। सोझो र सरल छौ त्यसैले असभ्य देखिन्छौ मात्र। त्यसै भूपी शेरचन भन्दैनन हामी बीरछौ र त बुद्दु छौ, बुद्दु छौ र त बीर छौ। मैले भन्नु पर्दा तिमी त्यस्तो ठाउँमा छौ, जहाँ बाट तिमी देश बिकाशको थुप्रै शिपहरुल्याउनु सक्छौ, बुद्दी र बिबेकको सिंचाइको खाँचो छ यो देशलाई। तिमी लगाएत सबै मिलेर शिप, जाँगर इमान्दारीता,राष्टिय भावना अलि अलि पोल्टामा हालेर ल्याऊहै। अनि मात्र तिमीले केही जानेछौ, सिकेछौ भनेर सभ्यपनकोगर्व गरुला।
प्रवासी भाई, पत्र पढेर आफ्नो सोचाइलाईसुधार गर्नेछौ म पूर्णत बिश्वस्तछु। तुरुन्त माइलीलाई पत्र लेखि भूल प्रति क्षमा पनि माग्ने छौ। म उनीलाई सम्झाउने छु र मैले सकेको सहयोग गर्दै रहनेछु। मैले पत्र लेखेको तिमी माइलीलाई भन्ने छैनौ किन भने प्रतेक नारी आफ्नो जीवन साथीले हृदयबाट माया गरोस, स्व:स्फुर्त मायाको आसा राखेकी हुन्छे। दिदीले भनेको मान्छौ भने अब चाडै फर्क। तिमीहरुको अनुपस्थितिमा गाउँघरहरु शत्रुसँग पराजय भएर लाठेहरूध्वस्तभई सुनसान भए जस्तै भएको छ। तिम्रो बा आमालाई पनि भेटि रहने गर्छु। कतै छोराको मुख हेर्नु नपाई मरी हाल्ने हौ कि भन्ने डरलेमृत्यु झन बोलाइ रहेछन। कुन मोक्ष प्राप्तिलाई तिमी पलायन भईरहेछौ। विदेश नजानु भन्ने मेरो अर्थ होइन भोली छोराछोरी जान नपरोस भन्नलाई बेलैमा यहाँ पनि केही गर भन्ने सोचहो। आर्थिक थुप्रोले पेट मात्र भरिन्छ मन भरिदैन। मनको संतुस्तिलाई हामी संसारको एक कुनामा जन्मेको थियौ परिचयलाई पनि शिलान्यास गर्न नभुल।

चिट्ठीको बीट मार्नु भन्दै थिए, धेरै बर्ष अगाडिको तिमीलाई पो सम्झे। त्यसताका तिमी एकता र मुक्तिको कुरा खुब गर्थेउ। गर्दा गर्दै यति सम्म कि भरखरै युद्द भूमिमा जान लागेको सिपाही झैँ हुन्थ्यौ। तिमी अल्लारे ठिटो, हरेक कुरामा बल लगाएर जितिन्छ भन्ने भ्रम थियो क्यार। मैले हाँसी दिदा झनै रिस उठ्थ्यो हगी ?म किन हाँस्थे तिमीले बुझेउ बुझेनौ कुन्नी। यति लामो समयमा तिम्रो सोचाइमापरिवर्तन पनि भएको हुन सक्छ। भाई आज भोली पनि एकता र मुक्तिको कुरा गर्छौ भने, तिमी त्यहाँ एकता त गोलबद्दभएरै हुन्छौ होला तर मुक्तिको लागिजहाँ जंजिर छ त्यहि तोड्नु पर्छ। हरेक साङ्ला बलैले तोडिदैन पनि। हामी बलको मात्र अगाडि हुन्छौ यसैले सधै पछि पर्छौ। बुद्दि हुनेहरु एक खुड्किला माथि नै हुन्छन। हाम्रा तल्ला घरे, माथिला घरे ठूल दाईहरु आज भोली हाम्रो अशिक्षा र कमजोडीको लामो भाषण दिदै शिक्षा र प्रगतिको आशा देखाएर नाम दाम सबै कमाउदैछन। यसैले माइला भाई, अलिकति अक्ष्र्र चिनेको तिमी, साँचो झुटो खुट्याई दिनलाई भए पनि तिमीले अब फर्कनु पर्छ। यहाँ सबै तिम्रो बाटो हेरेर रोएका छन्। यहाँको नदी नाला, गाउँपाखा र सिंगो देश।

तिम्रो शुभचिन्तक दिदी
दीपा
बोस्टन, अमेरिका

[तपाईँसित पनि कथा, लघुकथा वा माइसंसारलाई उपयुक्त कुनै सामाग्री छन् भने यहाँ क्लिक गरी पठाउनुस्]

32 thoughts on “कथा : माइली मात्र रोएकी होइनन्”

  1. ashok says:
    March 13, 2013 at 6:13 pm

    धेरै राम्रो कथा! एकदमै खुशी लग्यो/

    Reply
  2. krasang lama says:
    March 12, 2013 at 2:04 am

    कथा साह्रै राम्रो लाग्यो . मैला र माइली दुबैले सकारात्मक रूपमा अगाडी बढ्न जरुरि छ .
    यस्तै लेखको अपेछा गर्छु .
    कर्संग लामा बोस्टन , स रा. अमेरिका

    Reply
  3. Birkhe says:
    March 11, 2013 at 1:12 pm

    “मलाई सुख होइन्, दुख झेल्ने साहस चाहिएको छ।”- साह्रै मन छोयो.

    Reply
  4. yam pun says:
    March 11, 2013 at 12:56 pm

    कथा सन्देशमुलक छ अनि लेखनशैली पनि राम्रै लाग्यो! हरेक माइलाहरुले आफ्नै माइलीमा खोजेको कुरा पाउन सकुन् र कुनै माइली पनि पाखे, कोदेको आरोप लागि कहिल्यै रुन नपरोस! लेखिका दीपा जी लाई धन्यवाद अनि उहाँको उत्तोरत्तर प्रगतिको कामना गर्दछु!

    Reply
  5. alis says:
    March 11, 2013 at 9:32 am

    कस्तो राम्रो मन छुने कथा फेरी फेरी पनि येस्तै कथा पदना पैयोस दिप जी बधाई तथा सुव्कमाना छ है

    Reply
  6. yamnarayan ( Dubai ) says:
    March 10, 2013 at 10:51 pm

    कथा सार्है मर्मस्पर्शी लाग्यो लेखिका लाई धन्यवाद |

    Reply
  7. bm says:
    March 10, 2013 at 9:10 pm

    दिन भरि को थकान पसचात रूम मा आइ यो कथा पढ्दा एक किसिम को स्वोर्गीय आनन्द को अनुभूति भयो ,हृदय देखि सुभ कमना को साथै धन्यबाद टकर्यौउछु

    Reply
  8. Prem Tamu says:
    March 10, 2013 at 7:42 pm

    आहा कति मिठो सुन्दर कथा दिपा जी/ मनै छुने लेख/ यस्तै लेख हरु फेरि फेरि पस्किन्दै गर्नु होला / धेरै धेरै धन्न्यबाद तपाइलाई /

    Reply
  9. keshar mangyung subba says:
    March 10, 2013 at 6:40 pm

    माइली मात्र रोएकी होइनन् यो कथाले मनको भित्रि तह छोयो कथाकार दिज्यु दिपा जी लाइ सलाम हो साँच्चै यहाँ माइली मात्र रोएको छैन बास …………………….

    Reply
  10. raj kunwar LONDON says:
    March 10, 2013 at 5:01 pm

    कथा निकै राम्रो लाग्यो बरु यो कथा नै होकी वास्तविक हो मलाई त छुटाउन निकै गार्हो लग्गो ………..? बिष्णु अधिकारी को COMMENT हेर्दा यो त REAL घटना जस्तो लाग्गो , , कृपया प्रस्ट पार्नु हुन्छ कि ………?

    Reply
  11. manee gurung says:
    March 10, 2013 at 10:46 am

    कथा यथार्त जस्तै लग्यो दीपा दिदि लाई धन्यवाद ** मुक्तिको लागिजहाँ जंजिर छ त्यहि तोड्नु पर्छ** यो बाक्य निकै मार्मिक छ

    Reply
  12. धौलबीर राई says:
    March 10, 2013 at 9:29 am

    कथा समसामयिक तथा संदेशमूलकछ / आशा गरौ यसले हामी माइलहरुलाइ सुबुद्धि मिलोस ताकी सधै बाटोभरी आँखा बिक्ष्याएर बस्ने माइलीको आधरभरी मुश्कान खिलोस, मन खुशीले पुलकित होस् माइलको आगमनले /
    मर्मस्पर्शी कथाको लागि कथाकार चेलीलाई हार्दिक बधाई, यस प्रकारको सृजनाले निरन्तरता पवास /

    Reply
  13. shiva hari says:
    March 10, 2013 at 8:12 am

    कहिले काही बिदेस मा पेपर बनाउन को लागि पनि यस्तो गरेको देखियको छ वास्तविक माया माहिली लाइ नै हुन्छ र हुनुपर्छ जे होस् कथा यक्दम राम्रो लाग्यो लेखन सैली र सब्द मिठो लाग्यो लेखक दीपा जी लाई धन्देबाद usa colorado

    Reply
  14. दीपा राई says:
    March 10, 2013 at 7:27 am

    कमल जी ,कथा पढिदिनु भएकोमा धन्यबाद /म ब्यबहारगत र लेखकीय हिसाबले तपाईको कुरामा सहमत छु /माइलीहरुलाई पनि सकारात्मक भावले जीवनको सदुपयोग गराउन सकू सब्दबाट, निरास बनाउँने छुइन तपाईलाई/म पूर्ण मानवबादी हू /

    Reply
  15. Dhan Nirdosh Subba says:
    March 10, 2013 at 7:15 am

    कथा सुसुन्दर लग्यो

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 7:30 am

      धन्यबाद धन जी

      Reply
  16. DP Dhakal, Boston USA says:
    March 10, 2013 at 6:28 am

    ठिक्कै हो कथा आजको नेपाली समाजको यथार्तता हो \ असाध्य मिठास्ता छ लेखाईमा \ कथाले आजको नेपालको चित्रण गरेको छ \ आजको नेपालको यथार्ताले गर्दा धेरै मानिस बिदेशिएका छन् \ कतिको घरबार बिग्रिएको छ \ यो वा त्यो नाममा यहाँ कति माईलाहरुले धेरै मईलीहरुलाई रुवाएका छन्, धेरै माईलिहरु रोएका छन् \ माईलिहरु मात्र नभएर कयौ माईलीहरुबाट धेरै माईलाहरु समेत रुवाईएका छन् \ कथा शन्देश मूलक लाग्यो, कथाकारलाई धन्यवाद स्वादिलो परिकार पस्कनु भएकोमा \

    Reply
  17. lok nath sigdel elmhurst newyork usa. says:
    March 10, 2013 at 12:26 am

    गज़बको लेख तिर्सुली बगे जस्तो सलल बगेको कतै नरोकियेर ! आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। लेखकको भावना कस्तो राम्रो सफा अविरल बगेको पानी जस्तो !!!

    Reply
  18. abhin thapa says:
    March 9, 2013 at 11:49 pm

    कथा राम्रो छ शब्द चयन अनि बगाई सललल नै छ तर दिपा दिदीले लास्ता बोस्टन लेख्दियेर खिसिरिक्कै पार्दिनुभो सबैलाई … नेपालकै कुनै एउटा ठाउँ लेख्दिये नि हुनी बल्ल हो रैछ है हुन्थो मनमा.

    तै नि धन्यबाद कथाको लागि कलमको मसि अझै धेरै सक्कियोस!

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 6:55 am

      धन्यबाद अभिन भाई,कथा पढेर मन पराई दिनु भयो,खुशी लाग्यों /म बोस्टन भरखर आएको हू सन्तान भविष्यलाई/जीवनको उदेश्य यहिँ होइन /

      Reply
      1. abhin thapa says:
        March 10, 2013 at 9:14 am

        सबैले भन्ने नै सन्तान भाबिस्स्य हो, सजिलो र भरपर्दो जवाफ
        सन्तान भबिस्य भन्दै जेठा जेठी भास्सिए, माहिला माहिली भास्सिए तेस्पछि साहिला साहिली अनि काईला राईला थाईला कान्छा सबै त्यसपछि छोरा छोरि कोहि अमेरिकन कोहि यूरोपियन त कोहि ब्रिटिश त्यसपछि उही तपाइले भनेजस्तै घरगाउमा त बुढा भैसकेका बाउ आमा न रहने हुन्
        अनि छोरा छोरी हरुलाई भोलिपर्सि बाजेबजै चिनाउन लादा उही पाखे र नेपाली नजाने पुअर पिपल डर्टी पिपल हंग्री पिपल खै केके नभन्ला भन्न सकिन्न
        आजभोलिको तितो सत्त्यको कुरा गर्या
        दिदीलाई नै भन्न खोज्य चाहि हैन है अन्न्यथा नलिनुहोला

        Reply
  19. ishwor says:
    March 9, 2013 at 9:42 pm

    राम्रो कथा
    मन परो

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 6:57 am

      धन्यबाद इश्वोर भाई

      Reply
  20. कुमार राई says:
    March 9, 2013 at 9:20 pm

    कथा मन छुने खालको छ, समय अनुसार र हिजो आजको कुरालाई समाबेश गरेर लेखिएको छ कथाकारलाइ धन्यवाद .

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 7:00 am

      धन्यबाद कुमार जी ,,समय अनुसार लेख्ने कोशिश सधै गर्नेछु /

      Reply
  21. nisha says:
    March 9, 2013 at 9:02 pm

    टुप्पो मा पुगेपछि फेद बिर्सनी प्रबृत्ति माथि को सहि रुप मा चित्रण गरिएको एउटा एथार्थ परक कथा मेरो त मनै छोयो .. लेखिका लै साधुबाद . कामना गर्छु कलम ले अझै निखारता पाओस …..

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 7:02 am

      निशा जी धन्यबाद, तपाईको कामनाहरुले म हौशी रहू /

      Reply
  22. murari says:
    March 9, 2013 at 8:16 pm

    धेरै राम्रो कथा! एकदमै खुशी लग्यो/

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 7:03 am

      मुरारी जी ,धेरै धेरै धन्यबाद,कथा मन पराइ दिनु भएकोमा /

      Reply
  23. Bishnu Adhikari says:
    March 9, 2013 at 7:36 pm

    बोस्टन कि दीपा दिदि
    नमस्कार
    तपाइको पत्र पाए पत्रमा माहिली को बारेमा लेखिदिनु भएकोमा ज्यादै खुसि लग्यो सायद तपाई बोस्टन तिर रुमलियर होला मेरो र महिलिको बारेमा बास्तबिकत थाहा नपाउनु भएको आज म नेपाल फर्कियको पनि १० बर्ष भैसक्यो म र माहिली अहिले उही तपाइले छोडेको गाउमा जीवनका बाकी सुखमय क्षण हरु आफ्नै जन्मभूमिमा बितिरहेका छौ हामी बाट एक छोरा र एक छोरी समेत जन्मिसकेका छन् हामी दुवै अहिले एउटा सामाजिक संस्था संचालन गरेर जनताको सेवा गरिरहेका छौ माहिली पनि अहिले फरर अंग्रेजी बोल्न सक्छिन मैले महिलिलाई तेस्तो कुनै किसिमको पत्र लेखेको पनि थिइन तर तपाई जस्तो बुजक्कड़ मान्छेले सोझी महिलिलाई कसरि तेस्त खाले कुरा लगाएर धन्नै धन्नै बहकाई दिनु भएको जे होस् तेस्ले गर्दा हाम्रो प्रेम झन् प्रगाढ बनेर आयो बरु माहिली दिदि अब कहिले फर्किने हो त भन्दै छन् माहिली
    उही तपाइको माहिला

    Reply
    1. दीपा राई says:
      March 10, 2013 at 7:20 am

      मेरो माइला भाई
      आशिर्वाद /सम्झेर चिठी लेखेछौ /कति कति खुशी भइ दिए तिमी र माइलीलाई साथै पाउँदा /अझ सन्तान भएको सुन्दा त हर्षले उफ्रिए यो एकलास प्रवासमा /तिम्रो प्रगतिको खबरले त्यसै त्यसै रमाए /खै १० बर्षमा मलाई भेटेको ? म त भरखर सन्तानको भबिस्यले तानेर ल्याएको मात्र हू /बोस्टन न मेरो जीवन न उदेश्य /ति निश्चल माइलीलाई मेरो धेरै माया भनिदिनु /अनि दिदी हराउँनेमा पर्दिनन,फर्किनेछिन भनिदिनु /बिदा,सधै माया गर्ने दिदी

      Reply
  24. कमल थापा(साउदी अरब) says:
    March 9, 2013 at 5:47 pm

    लेख ठीक छ/ समय र समाज सुहाउदो भए पनि बढी नारी प्रधान मात्र भएको हो की/ समाजमा हाल विदेशको कमाइमा मोज मस्ती गर्ने धेरै महिला नै छन्/ तर पनि शिर्षक अनुसार ठीक छ, आसा गरौँ, बेग्रेका माइलालाई जस्तै बिग्रेकी माइलीलाई पनि लेखिकाबाट यस्तै लेखको अपेक्षा…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme