Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा नेपाली दिदीमाथि श्रम शोषण : तलब र खाना कम, कुकुरको समेत टोकाइ

Posted on February 23, 2013March 21, 2013 by Salokya

अमेरिकामा बालबच्चाको हेरचाह गर्ने घरेलु कामदार नेपाली दिदी पेमा शेर्पामाथि वेस्टचेस्टर बस्ने एक दम्पतीले श्रम शोषण गरेको डरलाग्दो विवरणसहित मुद्दा परेको छ। न्युयोर्क डेली न्युज पत्रिकाले यसबारे विस्तृत विवरण प्राथमिकताका साथ छापेको छ। त्यसमा छापिए अनुसार शेर्पा दिदीलाई प्रति हप्ता १०५ घण्टासम्म काममा दलाइन्थ्यो, कुनै ओभरटाइम दिइन्थेन। त्यतिमात्रै हो र, तीखा तीखा दाँत हुने बुलडग जातको कुकुरले समेत टोक्यो- कहाँ-कहाँ र कुन-कुन ठाउँमा टोकेकोसमेत यादै नहुने गरी।

घरेलु कामदारमाथि हुने श्रम शोषणविरुद्ध मुद्दा लड्ने वकीलहरुको सहयोगमा शेर्पा दिदीले म्यानहाटनमा मुद्दा ठोकेकी हुन्।

कुकुरको टोकाइबाट घाइते भएकी ५० वर्षकी शेर्पा दिदी डाक्टरकहाँ जाँदा घरमा भएको घटनाबारे कसैलाई नबताउन ती ‘मालिक’ दम्पतीले अह्राएका रहेछन्। त्यति मात्र हो र, सुरुमा उपचार खर्च दिन्छु भने पनि उनीहरुले त्यो पनि दिएनछन्। ल हेर्नुस् त, कतिसम्म गरेका !

“उनीहरुका बच्चाहरुलाई मैले माया गरी हेरविचार गरेँ”, न्युयोर्क डेली न्युजलाई उनले बताएकी छिन्, “धेरै घण्टा काम गर्नुपर्थ्यो। यस्तो खाले काममा भावनात्मक रुपमा पनि थकित भइन्छ। मैले साँच्चै आफूलाई अपमान गरिएको महसूस गरेँ। यो ठीक हैन।”

उनले काम गर्ने ठाउँका मालिक हेज-फन्ड रिक्रुटिङ मेनेजर केइथ मेनसित प्रतिक्रिया लिन खोज्दा पत्रिकाले सम्पर्क गर्न सकेन भने कीली मेनले चाहिँ फोनै उठाइनन्।

क्विन्समा बस्ने शेर्पा दिदीले सन् २००९ को डिसेम्बर महिनादेखि इस्ट भिलेज कन्डोस्थित उनीहरुको घरमा काम थालेकी थिइन्। दम्पती त्यसपछि स्कार्सडेलमा घर सरे। त्यहाँ उनले पाँच वटा बेडरुम, सात वटा बाथ हाउसलाई सफा गर्ने र बच्चाहरुलाई हेरविचार गर्ने काम गर्नुपर्थ्यो।

त्यो वापत् उनले पाउँथिन् घण्टाको १५ अमेरिकी डलर। तर उनले काम गर्ने घण्टा र जिम्मेवारी बढे पनि उनको साप्ताहिक चेक भने त्यही अनुसार समायोजन नहुने आरोप मुद्दामा लगाइएको छ।

धेरै समय पार्टीहरुबाट दम्पति फर्केपछि बिहानको २ बजे बल्ल उनी घर छाडेर जान पाउँथिन्। त्यसपछि आफ्नै घर फर्कन उनलाई लामो रेल यात्रा गर्नुपर्थ्यो – कानुनी कागजातमा दिइएको विवरणमा भनिएको छ।

शेर्पा दिदीले अमेरिकामा काम गरेर नेपालमा रहेका आफ्ना पाँच छोराछोरी र दुई नातिनातिनीलाई पैसा पठाएर सहयोग गर्थिन्। एक पटक समरमा उनले यति धेरै घण्टा काम गरिन् कि उनलाई दिइएको रकम न्युनतम तलबभन्दा कम रह्यो र उनलाई ओभरटाइम पनि दिइएन- मुद्दामा दावी गरिएको छ।

राज्यको कानुन अनुसार रोजगारदाताले घरेलु कामदारलाई ओभरटाइम र तलबसहितको विदा दिनुपर्छ। शेर्पाका वकिलहरुले उनले कम्तिमा ९७ हजार डलर ज्यालावापत् नै लिन बाँकी बताउँछन्। त्यसमा क्षतिपूर्तिको हिसाब गरिएकै छैन।

कम तलब र रिसाहा कुकुरको मारमात्रै हैन, शेर्पा दिदीलाई थोरै खाना दिएर समेत अपमान गरिएको थियो। जे खाए पनि हुन्छ भनेर उनलाई भनिए पनि दिदीका अनुसार फ्रिजभित्र केही खानेकुरै हुन्नथ्यो। “सँधै अलिकति सागमात्रै खाने ? वा अलिकति चिज…वा बाँकी रहेको चाइनिज भातमात्रै खाने ?” उनको प्रश्न।

शेर्पाले गएको फलमा विदा माग्दा उनीहरुले एक महिना ब्रेक लिन भने। त्यसपछि उनीहरुले एसएमएस पठाएर कामबाट बर्खास्त गरे।

पेमा शेर्पा (क्यामेरामा पिठ्युँमात्र देखिएकी) आफ्ना वकीलहरु शर्ली लिन (बायाँ) र लुना रञ्जितसित कुरा गर्दै। फोटो साभारः न्युयोर्क डेली न्युज

धेरै नेपाली घरेलु कामदार, न्यानीहरुले यस्तै स्थिति भोग्नुपरिरहेको भए पनि आफ्ना कुरा राख्न उनीहरु हिच्किचाउने गरेको अधिकारवादी समूह ‘अधिकार’ की कार्यकारी निर्देशक लुना रञ्जितले न्युयोर्क डेली न्युजलाई बताइन्। कतिलाई त आफू शोषणमा परेकोसमेत थाहा हुँदैन। केही अघि दर्शन रौनियारको घरमा काम गर्ने एक नेपाली दिदीले यस्तै घटना बताएकी थिइन्। त्यसमा उनले कसैलाई केही आरोपसमेत लगाएकी थिइनन्। मात्र मैले यति समय काम गर्थे, यति रुपियाँ दिन्थे मात्रै भनिएको थियो। घटना माइसंसारमार्फत् सार्वजनिक भएपछि नेपालमा रहेका विभिन्न प्रभावशाली व्यक्तिहरुमार्फत् त्यो ब्लग र भिडियो डिलिट गर्न दबाब दिने गरिएको छ। डिलिट गर्न दबाब दिनुले नै उनीहरु गलत रहेको र तर्सिएको प्रष्ट हुन्छ। ‘डिलिटको दबाब हैन आफ्नो कुरा राख्‍न लगाउनुस्’ भनेपछि दबाब दिनेहरु चुप बस्ने गरेका छन्।

रञ्जितका अनुसार घरेलु कामदारलाई काममा लगाउनेका लागि त्यो उनीहरुको घर भए पनि कामदारका लागि त्यो ‘काम गर्ने ठाउँ’ हो। त्यसलाई सम्मान गरिनुपर्ने उनी बताउँछिन्।

“हामीले प्रति घण्टा १०० डलर खोजेका छैनौँ”, शेर्पा दिदी भन्छिन्, “मैले सम्मानमात्रै खोजेकी हुँ।”

29 thoughts on “अमेरिकामा नेपाली दिदीमाथि श्रम शोषण : तलब र खाना कम, कुकुरको समेत टोकाइ”

  1. Navin says:
    February 28, 2013 at 12:47 am

    सुन्दै हास उठ्दो | low pay रे फेरि घन्टाको $१५ रे | साग मात्र खाएर हफ्ताको १०५ घण्टा काम गर्न सकिन्छ? दलाये पनि हफ्ताको झन्डै १६०० डलर पौने रछ, त्यो कम हो? फेरि कुकुरले थुप्रै ठाउमा टोक्यो रे, तेतिन्जेल सम्म चाही के हेरेर बसी रहनु भाको थियो यी दिदि ? अरु केहि होइन, कामबाट निकालेको लाइ अपमान ठानी तेस्को बदला लिन खोजेकी होलिन यी दिदि , उनीहरुको बेइजत पनि हुने भो , भर्पाइ पनि पाउने भो | फेरि रेलमा यात्रा गर्नलाई किन गारो? समय adjust गर्न नसक्ने हो भने त अमेरिकामा नबसेनि भो | मान्छे रात-बिरात काम गरि समय निकाली सुत्छन | रात भरि दलाये भन्नु नेपालीहरुलै अचम्म लाग्लान तर यहाँ रात-रात भरि काम गर्ने हरुको ठुलै जमात छन् | अब हफ्तई भरि जति दलाये पनि चेक समायोजन नहुने भने पछि त कुरो उही होला , कुर्सि मुनिबाट हातभरी पैसाको मुत्ठो , अलिकति मात्र चेकमा , अनि चेक जस्ताको तस्तै | ति दुइ दम्पति नराम्री संग फसे येदि कुरो तेसो हो भने | कुर्सि मुनि बाट दिएको कसरि भानु, जेल जानु पर्ने डर , नभनु भरपाई दिनु पर्ने |

  2. Grokkhali says:
    February 26, 2013 at 7:14 am

    घण्टा को १५ $ दिएको रहेछ अरू धेरै के खोज्नु

  3. razen says:
    February 25, 2013 at 7:52 am

    $१५?? साच्चै सोसन हो कि वकिलले उक्साएर उल्टै वोकिलले दाम कमाउने बाटो हो?

  4. mahesh says:
    February 25, 2013 at 4:33 am

    अचेल खै किन हो कुन्नि यस्ता घटनाहरु खुबै बाहिर आउदै छन् अनि कै व्यक्तिहरु साहानुभूति देखाउने नाममा धेरैनै जान्ने बुझ्ने र मनाबधिकार को रख्यल जस्तरी कमेन्ट गरेको देख्दा दुख लाग्छ. हामी नेपाली हरु पैसा कमाउन कुनै देशमा जोखिम छ नजानु भन्दा पनि मरिहत्ते गरेर गै राखेकै छौ. त्यो हाम्रो बद्यता हो. तपाइको मेरो हामी सबैको. यहाँ पनि एकजना नारि त्यस्तै आफ्नो बाध्यताले त्यसरी काम गर्नु भएको जस्तो लाग्छ नत्र त्यस्तो जोखिम थियो र सोषण थियो भने धेरै पैलेनै काम छोड्नु हुन्थियो होला. बद्यतामा कस्तो कस्तो जोखिम लिनु पर्छ थोरै पैसाको लागि मलाई पनि परदेशको ६ बर्सले सिकाएको छ. तर पछि गएर कुनै पनि कारणले काम बाट निकलियेपछी अनि बल्ल आफु सोसित भएको भनेर बाहिर निकाल्नु भनेको एउटा लालच मात्र हो, केहि अरु पैसा कुम्ल्याउन. होइन भने काम गरेको यत्रो वर्ष कता गयो त्यो शोषण त्यो पिडा अनि किन त्यति खेर नै त्यो घटनालाइ बाहिर नाल्याको. हामी कि सुरुमै जागरुक हौ होइन भने पछि अरुलाई लुच्न नलागौ. आफ्नो काम बनुन्जेल सबै ठिक अनि बन्न छोडेपछि पुरै इतिहासलाइ कालो धब्बा देखाउने बानि राम्रो होइन. सुरुमा आफै सचेत नभई काम गर्ने अनि त्यै काम अब नभैसकेपछि पुरै काम, मालिक, घरको बाताबरण गलत देखाएर आफु शोषित भनेर बिलौना गर्ने?? यो त सरासर पानि माथिको ओभानो देखाउन खोजे जस्तो भएन र?? यस्तो प्रबिधिले हामीलाई धेरै सस्तो बनाउछ.

  5. Gaurab Nepali "Oodaaseen" says:
    February 24, 2013 at 8:52 pm

    अमेरिका धाम $१५ मा काम त्यो पनि अनपढ को लागि ! कामबाट निकालेको झोंक त होइन ? कानुनले त न्याय गर्ला तर डलर रुखको पात जस्तो गरेर बर्सिन्छ भन्ने आश नगरे हुन्छ! इमान्दार भयो भने कामको बोझ हुँदैन ! बेईमन भयो भने दिनपनि रातमा लगेर गनिन्छ!!

  6. Angish says:
    February 24, 2013 at 3:09 pm

    This kind of thing happened in some houses in UK as well. Recently, I read a news in dailymail which remind me of Darshan Rauniyar.

    http://www.dailymail.co.uk/news/article-2281173/Indian-mother-raped-tortured-worked-domestic-slave-family-paid-just-400-year.html

    http://dawn.com/2012/02/14/pakistani-woman-kept-as-slave-in-uk-cellar/

  7. yam pun says:
    February 24, 2013 at 12:52 pm

    त्रिशुलीमा गिटी फुटाएर पेट पाल्ने श्रमजीवी जनताहरुलाई यो घटना सुनाउने हो भने के भन्लान् कुन्नि??? पत्याउलान् कि नपत्याउलान्???
    श्रम शोषण बाट संसारको कुनै देश पनि अछुतो छैन! यसको बिरोध हामीले आ-आफ्नो ठाउँबाट गरोउ!

  8. Sonam Sherpa says:
    February 24, 2013 at 11:00 am

    सेतो छाला भन्दैमा सबै राम्रा हुन्नन यसर्थ मान्छेको आनिबनिले पनि फरक पर्छ. यस्ता पिसाचलाई कानुनको दायरामा ल्याउनु पर्दछ. सजायको भागिदार बनाउनु पर्दछ हामि प्राकृतिक रुपमा धनि र सम्पन्न भैकन पनि संसारको गरिब देश हुनु नै अभिसाप हो यहाको शासकहरुले देश लुट्न सम्म लुट्छन अनि जनताले संसारको जहा गेनी दुख सास्ती पाई नै रहेका छन् चाहे अरब जाउ चाहे युरोप या अमेरिका बर्मा गए कर्म संगै नेपाल गए कपाल संगै भनेको बुढापाकाले भनेको यहि होलान.

  9. Ang Sherpa says:
    February 24, 2013 at 9:12 am

    अमेरिकामा च्याउ जस्तै पलाएको नेपाली संग्स्था तेसका नेताहरुले यस्त्तो सवालमा केन चू समेत बोल्दैन??…… चाइने नचाइने कार्यक्रम र गोस्टी गर्नु भन्दा यस्तो कुरामा समय दिए नेपालीहरुको भलो र संग्स्थाको प्रसस्तीसंगै बढ्ने थियो/

  10. Ekraj says:
    February 24, 2013 at 6:39 am

    एदी अमेरिका कानुन भएको देश हो र मानब अधिकार को पालना गर्ने देश हो भने पेमा सेर्पा जीले नाए पाउनु हुनेछ|
    नेपाल मा त के कुरा गर्ने कानुन बनाउने र कानुन को संरक्षण गर्ने भन्ने हरुलेनै एस्तो शोसन गरि राखेका छन्|
    यो अमेरिकन दम्पति र दर्शन रोनियर दुवै थरीले कानुन बमोजिम को सजाए पाए राम्रो|

  11. samrat~ says:
    February 24, 2013 at 3:06 am

    यो नियेम नेपाल मा लागु गर्ने हो भने त नेपाल को सबै घर मा काम गर्ने नोकर हरु को मालिक जेल चलान हुन्छ. ७-८ बर्स को बच्चा लाइ गाउ बाट ल्याएर काम गराउछ. त्यो भन्दा ठुलो अपराध के हुन् सक्छ. मालिक ले भनेको टाइम मा उध्नु पर्छ खाना बनाउनु पर्छ सफा गर्नु पर्छ र सुत्नु पर्छ. जोड्ने हो भने हफ्ता मा 115 घण्टा भन्दा बढी काम गराउछ. यो घटना अमेरिका को लागि निउज हुन सक्छ तर नेपाल को पत्रिका र नेपाल को लागि केहि अचम्म मान्नु मर्ने कुरा चाइ हैन है. तेसैले मेरो बिचार मा नेपाल मा गरिने बाल श्रम को बारेमा पनि केहि कुरा यो ब्लग मा राख्ने हो कि.

  12. Nabaraj says:
    February 24, 2013 at 12:46 am

    यस्ता पापी राक्षसि लाई कानुन को कठघरामा उभियाएर दिदि लाई न्याय दिलाउनु पर्छ /

  13. Mk says:
    February 23, 2013 at 11:49 pm

    पुँजीपति देशहरु सबै नै , चिल्लो भासामा -मौकै मौकाको देश तर खस्रो भासामा चाहिं सोसन को देश हुन्, केवल मात्रा मात्रै फरक हुनेहो/ हेर्नोश्न, बेलायेतमा गोर्खालीहरुले तेस्तै सोसन बिरुद्ध मुद्दा लड्दै छन्/

  14. Raj Sharma says:
    February 23, 2013 at 11:47 pm

    Not only that Indian and Nepalese Restaurent is the another example of that………….please someone need to investigate about this ASAP.

  15. Abhi says:
    February 23, 2013 at 10:32 pm

    $15 per hour???? The minimum salary being 7.25 in many states at present, I think $15 is more than the 1.5 times pay for the overtime hours too.

    1. Buddhi says:
      February 24, 2013 at 1:05 pm

      कुरा पैसाको मात्र गरिएको छैन | अतिरिक्त श्रम , खाना नदिने र कुकुरको टोकाईको पनि गरिएको छ |

  16. raj says:
    February 23, 2013 at 9:14 pm

    आफ्नो अधिकार थाहा नपाएर एस्तो भएको हो | खैरे पनि बेकुफ नै रहेछ| कहाँ उता हाम्रो देश तिर जन्मनु पर्ने यता जन्मेछ यो खैरे | अब दोस प्रमाणित भयो भने तेरो खैरिअत छैन बाबु | बाऊ को बिहे देक्लास जस्तो छ है |

  17. Laxman says:
    February 23, 2013 at 7:12 pm

    $ १५.०० प्रति घण्टा, तै पनि शिकायत ?

  18. dipak shrestha says:
    February 23, 2013 at 7:09 pm

    नेपाली चेलीहरुको एस्तो नियतिलाई अधिकार्बदिहरुले एस्लाई आफ्नो कामको थप मशाला प्राप्त भयको नठानेर एस्तो दुर्गतिलाई सदाको लागि लड्न पछि पर्नु हुन्न भन्ने हामीलाई लागिराखेको छ |

  19. गणेश घिमिरे says:
    February 23, 2013 at 6:54 pm

    हामी नेपाली सबै तिर बाट मरिय्का छौ तेस्मा पनि छोरि मान्छे को त कुरै नगरौ पैसा छ भन्ने हरुले त झन् राम्रो सग सासफेर्न समेत दिदैनन.यस्ता सोसन गर्ने हरुलाई फासी दिन पर्छ.

  20. Yash Ghimire says:
    February 23, 2013 at 4:11 pm

    घण्टाको पन्ध्र डलरको दरले पाउदा त आवस्यकता भन्दा धेरै घन्टा काम गर्दा त्यो रकम नपुग भएर श्रम शोषण गरेको ठहरिदो रैछ भने दर्शन रौनियारले बिहान देखि बेलुकीसम्म काम मा लदाएर दस हजार रुपिया दिदा उल्टै ति बिस्त दिदीलाई रौनियारले “गुन” लगाएको कम्मेन्ट गर्ने साथीहरुले यो बिषयमा के भन्नु हुन्छ ? कि उल्टै यी शेर्पिनी दिदि लाइ पनि त्यत्रो पैसा पाउदा पनि नपुग्ने लोभिनी भनेर गालि दिने हो कि ?

  21. mala shrestha says:
    February 23, 2013 at 3:47 pm

    नाम मात्र अमेरिका, बेबाहर गल्फ कन्ट्री तिर जाने नेपाली हरु लाइ सोसन गरे जस्तो हुने रहेछ |

  22. bizaya says:
    February 23, 2013 at 2:12 pm

    अमेरिका को इतिहास देखि आहिले सम्म श्रम सोसन को कर्म दोहोरेको छ. गरिब देश का मानिस लै जनावर को जस्तो व्यवहार गर्नु अमेरिका र american हरु को बन्सानुगत दुस्चरित्र हो.

  23. SURENDRA SUBEDI hongkong says:
    February 23, 2013 at 11:46 am

    “बर्मा गए कर्म सगै,नेपाल आए कपाल सगै” भनेको यही हो /जहाँ पनि नेपाली श्रम शोसन मा परेका छन् चाहे अमेरिका होस् वा अन्य देश /अभागी खप्पर,जता पनि थप्पर………दर्शन रौनियार पछि को यो घटना ले अमेरिकी कानुन को धज्जी राम्रै उडेको देखियो /

  24. Manish Newa says:
    February 23, 2013 at 10:46 am

    माई संसारले कुनै ब्लग छापे पछि त्यसको फलो अप पनि गर्ने गर्नु पर्यो / केही अघि दर्शन रौनियारको घरमा काम गर्ने एक नेपाली दिदीले यस्तै घटना छापियाको थियो. अनि दर्शन रौनियारको रियेक्सन वाला ब्लग छापियो त्यसपछि त्यो घटना को बारेमा के कति प्रगति भयो भन्ने कुरा जान्न पाठकहरु निकै उत्साहित थिए तर त्यो त्यतिकै बिलायर गयो/
    मेरो अनुरोध हाम्रा विद्वान लेखक हरुलाईकि जब कुनै इस्यु उठाउनु हुन्छ त्यो घटना लै सकेसम्म फलोअप गर्ने गर्नु होला नकि माथि उचालेर थेचार्ने /

  25. sujan says:
    February 23, 2013 at 10:27 am

    अस्ति दर्शन रौनियार, अहिले यो ??? भनेसी अमेरिकामा धेरैले लुकी लुकी श्रम शोषण गर्दा रहेछन !!!!

    1. ramesh says:
      February 23, 2013 at 8:42 pm

      सुजन जी,
      यसो Statistics पनि पढ्ने गर्नु न !!! 2 out of 315,550,000 population को case लाई धेरै भन्न मिल्छ ?

      1. sujan says:
        February 24, 2013 at 9:53 am

        यो दुइटा त देखिएको हात्ती को पुछरको रौँ को टुप्पो मात्र हो भन्ने बुझौं कि??

    2. एन गिरी , यू एस ए says:
      February 24, 2013 at 12:16 am

      शेर्पा दिदि र यो मुद्दा लड्ने वकिल हरुलाई यो मुद्दामा सफलता मिलोस भन्ने कामना गर्दछु | अमेरिकामा मात्र होइन , दर्शन प्रबितिका मानिसहरु संसारै भरी लाखौ को संख्यामा पाइन्छ ….अरबमा हजारौ नेपाली चेलीहरु शोषण मा पर्ने गरेको हामीले सुनी र देखि आएकै हो ….अमेरिकामा यस्ता खालका मुद्धामा पिडित ले न्याय पाउने सम्भावना अधिक रहन्छ त्यसैले दर्शन र त्यस प्रबितिका मानिस हरु साचो कुरा बाहिर आएपछि डराउने गर्दछन |

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme