Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारिताको बहस शुरु गरौँ

Posted on January 28, 2013 by mysansar

-शिरीश खरेल-

चार/पाँच साल अगाडिको एउटा प्रसंग। त्रिभुवन बिश्वविद्यालयको एउटा कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई जान नदिन एमाले अखिलका विद्यार्थीले नाराबाजी गरे। तनावपूर्ण अवस्थामा एकजना माओवादी अखिलका कार्यकर्ता फुत्त निस्केर आन्दोलनकारीको प्रतिकार गर्न थाले। दिक्दार मानेका प्रहरीले ती कार्यकर्तालाई पछि हट्नुस् मात्रै भनेका थिए, तिनले घाँटीमा भिरेको कार्ड अगाडि तेर्स्याएर भने – म पत्रकार, किन पछि हट्ने?

डेकेन्द्र थापाको हत्याकाण्ड र त्यसको न्याय प्रक्रिया माथिको बहस यो होइन, तर यो काण्डले नेपाली पत्रकारिता वर्गभित्र जुन आपसी गाली गलौज र हैसियत नसियतको बहस निकालेको छ, यसलाई सकारात्मक रुपमा अहिल्यै अगाडि बढाउनुपर्छ। पेशागत हैसियतको आधारमा पत्रकारले जुन अधिकार र छुटको प्रयोग गर्छन्, त्यो अनुसार तिनले आफ्नो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् भनेर मुल्यांकन गर्ने यो दुर्लभ अवसर हो।

अधिकार र दायित्वका प्रश्न दैनिक कार्यसन्चालन देखि ठूला नीतिगत कुरासम्म आउँछन्। कुनै कार्यक्रमको अगाडि उभिएर मञ्चमा आसीनहरुको तस्वीर खिच्नु पत्रकारको अधिकार हुनपर्छ, तर मञ्च अगाडि ढसमस्स उभिएपछि आफु पछाडिका आम पात्रले चाहिँ के हेर्लान् भनेर सोच्नु पत्रकारिताको अलिखित दायित्व हो। यी कुनै कितावमा पढाउन पर्ने र नियम कानुनले बाँध्ने कुरा होइनन्, आफैले बुझ्नुपर्छ। यो दैनिक कार्यसम्पादनमा हुने दायित्वबोधको उदाहरण हो।

राज्यका कुनै निकायले सूचना दिएनन् भने गुहार माग्न सूचना आयोग र अदालत छन्, तर कुनै पत्रकारले गलत सूचना दियो भने त्यसको बारे बोल्नुमात्रै पनि नेपाली पत्रकारिताविरुद्धको अपराध हुन्छ। कानुनको किताबमा लेखिएको एउटा प्रेस काउन्सिल नामको संस्था छ, जो हदै गर्‍यो भने सम्पादकका नाममा नियम कानुन मानिदेउ है प्रभु भन्ने भाकाको बिन्ती बिज्ञप्ती निकाल्छ र त्यही माथि ती महामहिमहरु रिसाए कि भन्ने डरले दुईचार दिनमै चिया चमेनाको ब्यवस्था गर्छ। आज निस्केको समाचारको कारण कसैलाई करोडौको क्षति भयो भने नेपालको कानुनले उसलाई सय रुपैयाको क्षतिपुर्ति दिन्छ, आठ/दश बर्षपछि।

दुर्भाग्य, हाम्रो पत्रकारिताभित्र नैतिकताको प्रश्न उठायो भने त्यो प्रेस स्वतन्त्रता विरोधी खुंखार आतंककारी ठहरिन्छ। किनभने हामी यति धेरै बिशेषज्ञ छौँ कि कसैलाई चोर, डाका, लोभी, अपराधी, पापीको उपाधि दिन हामी आफै सक्षम छौँ। सानातिना रेडियो/पत्रिकामा होइन, मुलधारका मानिएका म्यागेजिन देखि ब्रोडसिट दैनिकसम्मका खबरमा हाम्रा कुनै न कुनै नेतागण लोभीपापी र अपराधी घोषित हुन्छन्, कुनै बिश्लेषक र विशेषज्ञले लेख्ने लेखमा होइन, पहिलो पृष्ठको मुल खबरमा। जुन पत्रकार अरुलाई चर्को गाली गर्न जान्दछ, उही सबैभन्दा खरो र विशेषज्ञ मानिन्छ। को को शान्ति प्रक्रियाका बिरोधी, भारतपरस्त, कठपुतली, दलाल, गद्दार, निरंकुश, र सामन्ती छन् भन्ने कुरा हामी बुझ्छौँ र हाम्रा सञ्चार माध्यममा त्यही लेख्छौँ। ती किन र कसरी कठपुतली, दलाल र गद्दार भए भन्ने कारण पनि प्रष्ट छ, किनभने हामीलाई त्यही लाग्यो। कसैले हामीलाई यी शब्दको प्रयोग गर्न रोक लगाओस्, त्यो प्रेस स्वतन्त्रता बिरोधी अपराधी ठहरिने छ। सर्वमान्य अपराधी।

यथेष्ट उदाहरण छन्, अघिल्लो दिन कसैलाई गम्भीर आरोप लगाएर लेखेको समाचार भोलिपल्ट सोह्रैआना झुठो ठहरिएपनि पत्रकारले माफी माग्न पर्दैन। उल्टो भोलिपल्ट ती आक्षेपित पक्षले गलत समाचार नलेखिदिनुस् है भनेर बिन्ती गरे भने पत्रकारलाई तिनको कान समात्ने अधिकार छ। हाम्रो पत्रकारिताले बुझेको छ, पत्रकार र पत्रकारिताको नैतिकताको प्रश्न उठाउनु प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता बिरुद्धको षड्यन्त्र हो। पत्रकार महासंघ र पार्टीगत पत्रकार संगठनलाई लाग्छ, बर्षेनी करोडौँ कमाउने मिडिया (संस्था)लाई करको दायरामा ल्याउन खोज्नु, तिनको नियमसंगत लाइसेन्स नवीकरणको रकम खोज्नु जघन्य अपराध हो, तर पन्ध्रबर्ष सम्म त्यही संस्थामा काम गर्दापनि पत्रकारको छाक नटर्नु नेपाली पत्रकारिता अझै शैशवकालमा रहनुको उपज हो।

आजकलका पत्रिका र विद्युतीय सञ्चारमाध्यमका कार्यक्रम समाचार अलिकति र अर्ती उपदेश धेरै दिन्छन्। कुनै बेला आफ्नो पत्रिकामा माओवादीबारे जघन्य झुट छापेका सम्पादकले एकपटक क्षमा याचना गर्न आफ्नो नैतिकता सम्झेनन्, अहिले माओवादीलाई नैतिकताको पाठ पढाउने अग्रमोर्चामा देखिन्छन्। आफूले पाएको करोडौको विदेशी रकम भित्रभित्रै कुम्ल्याएर बाहिर चाहिँ संस्था घाटामा देखाउने सम्पादक अरुका संस्था र संगठनको आर्थिक पारदर्शिता खोज्दै आवरण गाली छाप्छन्। नेपाली पत्रकारितामा नैतिकता र सेल्फ सेन्सरशीपको बहस यस्तो देखिन्छ कि मानौँ त्यो एउटा सुनामी हो र त्यसले नेपाली पत्रकारितालाई सर्लक्कै बढारेर लैजाने छ।

प्रश्नहरु धेरै छन् र ती बढ्दै छन्। पत्रकारका आन्दोलन र समारोहका सुची कुनै पार्टी कार्यालयमा बसेर किन बनाइन्छन्? राज्यको लागि काम गर्ने गुप्तचरहरुले प्रेस पासको दुरुपयोग गरे भनेर हल्ला मच्चाउनेहरुले आफ्नो नाकको टुप्पोमा पोतिएको कालो किन नहेर्ने? फेरि पनि यो बहसको अवसर हो। पत्रकार महासंघ फुट्ला, पत्रकारिताको काम्लो ओढ्नेहरु कतिपय विस्थापित होलान्, केही सञ्चार संस्था बन्द होलान्, तर त्यसपछि जे आउनेछ, त्यसले नेपाली पत्रकारितामा फेरि यस्ता विवाद गर्नपर्ने अवस्था अन्त्य गर्नेछ। आउनुस् पत्रकार मित्रहरु, झगडा गरौँ।

उमेशजी,
तपाईलाई ठीकै लागेमा प्रकाशित गर्नुहोला। मेरो नामका दुवै श मोटो श नै हुन्, कृपया पेटफारो नबनाइदिनुहोला। (अरुले त्यसो गरिदिने (शिरीष) बनाइदिने भएकोले लेखेको)

21 thoughts on “पत्रकारिताको बहस शुरु गरौँ”

  1. Pankaj says:
    January 30, 2013 at 4:33 pm

    मैले वहाहरुले माओबादीको बारेमा एकदमै राम्रो र कांग्रेसको बारेमा एकदमै नराम्रो लेखेको पढेको छैन.

    त्यसैले नेपालका यी महत्वपुर्ण सम्पादक र पत्रकारहरुलाइ म अत्यन्त कांग्रेसी निकट भन्छु:

    कनक दिक्षित, नारायण वाग्ले, अमीत ढकाल, प्रतीक प्रधान, अजय भद्र खनाल, दमाकान्त जैशी, किरण नेपाल, कृष्ण ढुंगाना,

    अरु, र अरु पार्टीका पनि धेरै होलान यस्ता. लौ अब यस्तोमा स्वतन्त्र पत्रकारिताका हौवा कस्तो होला, सोचौंत.

    Reply
  2. Suresh Ranabnhat says:
    January 30, 2013 at 1:48 pm

    नेपालमा अहिलेसम्म कुन पत्रकार समाचार लेखेकै कारण मारिएको छ ? मारिएको छ भने कुन समाचार लेखेका कारण मारिएको हो ? झुटको खेति गर्नेले यो झुट पनि बोल्न अपरिहार्य छ, समयमै कि प्रमाण खोज वा लुकाउ, इतिहासले तिमीलाई छोड्ने छैन………

    Reply
  3. Saru Ghimire Pokhara says:
    January 30, 2013 at 1:30 pm

    पत्रकार डेकेन्द्र थापा मारिनु प्रिय कुरा हुँदै होइन, राज्यले कुनै पनि नागरकिलाई मार्ने होइन बाच्ने अधिकार दिने हो , कुन समाचार लेखे वापत डेकेन्द्र थापा मारिएका हुन ? डलरमणि र गाउँलेहरुले जवाफ दिनु पर्दैन , डेकेन्द्र त पत्रकार भएर मारिए मैना सुनार के भएर मारिएकी हुन् ? म जवाफको प्रखाइमा छु .

    Reply
  4. बिक्रम नेपाली says:
    January 29, 2013 at 10:46 pm

    शेरबहादुर देउवाले छाती ठोकेर कृष्ण सेनको हत्यामा आफू संलग्न रहेको सार्वजनिक स्वीकारोक्ति गरिसकेका छन, यिनलाई चाहिं किन कारवाही नहुने? शिव गाउँले, दीक्षितहरु कृष्ण सेनलगायत 24 जना गणतन्त्रवादी पत्रकारहरुको हत्याराहरु विरुद्ध किन चुप छन्? पत्रकारिता जस्तो पेशा यति विध्न पक्षपाति भएको शायद नै कहिँ होला !

    Reply
  5. म्हेन्दो says:
    January 29, 2013 at 9:36 pm

    नेपालका पत्रकारहरु राजनीतिक कि गैर-राजनीतिक ?
    नेपाल पत्रकार महासँघको सदस्यता बन्न कुनै न कुनै भात्रुसस्थाको सिफारिस चाहिने रहेछ । यूनियन, चौतारी, क्रान्तीकारी आदी । अब तपाईं पत्रकार बन्ने कि नबन्ने ? कुन पार्टिमा आस्था राक्नु हुन्छ ? त्यही भात्रुसंस्थाको सिफारिस चाहिने रहेछ । जस्तै – यूनियनबाट सिफारिस हो भने कांग्रेस । अब तपाईंलाई पत्रकार महासँगको सदस्यता लिनको लागि एउटा न एउटा पार्टी त चाहिने रहेछ । अनी कहाँको स्वतन्त्र पत्रकार बन्नु ? जुन भात्रुसस्थाले सिफारिस गरेर पत्रकार बनेको हो तेस्को छत्रछायामा त रहीरहने भो । हाम्रो प्रकृया नै गलत छ, राजनैतीक मुखी छ । एउटा पार्टीको कार्यलयमा बहस हुन्छ – हाम्रा पत्रकार कती छन ? लौन त्यो मिडियामा हाम्रो मान्छे हाल्नु पर्‍यो । आदी । महासँघको अधीवेसनमा पत्रकारीता गर्ने पत्रकारहरुको नेत्रित्वको छनौट हुँदैन । हाम्रो पार्टी को यती भोटेर , उस्को यती ।

    अनी कहाँ को स्वतन्त्र ?

    Reply
  6. neerose says:
    January 29, 2013 at 7:50 pm

    नेपालमा मच्चिने पत्राकारको बिल्लाधारी हरु पत्रकार होइन यिनीहरु त,
    पत्रुकार,
    पर्चाकार,
    हुन् यी पत्रकारिताको खकार र बिकार हुन्! नेपालि पत्रकारिता जगतले यी पत्रुकार र पर्चाकार लाइ चिनेर बिकार सफानागरुन्जेल पत्रकारिता दुषित हुन्छ र तेस्ले जगतै दुषित बनाउदछ!
    – कसैको छोराको पास्नीमा होस् या छोरीको बिहेमा यिनीहरुलाई निम्तोंई नचाहिने!
    – कसैको भान्सामा होस् या पाइखानामा यिनीहरुलाई जान बन्देज त कुरै छाडौ रोक्न वा ढिलो गर्न छेक्न समेत हुदैन!
    अरुकोलागि यिनीहरुको मुखले छेर्छ पात्दछ, बांतागर्छ तर कसैले यिनीहरुको छेउमा गइ पाद्नहुन्न!
    यी पत्रुकार हरु बिकार हुन् देशको समाजको र त्यो भन्दापनि पत्रकारिताको!

    Reply
  7. Ananda says:
    January 29, 2013 at 3:39 pm

    आज १ अन्तरबार्ता हेर्ने मौका मिल्यो। यो रिशी धमला भन्ने मान्छे कसरी पत्रकार भयो, न प्रश्न सोध्ने तमिज छ, न त गहकिलो छ । फेरी बिच बिचमा कुरा रोकीदिन्छ । ईन्द्र लोहनी जस्तै बन्छु भनेर आए जस्तै छ। एस्ता ब्यक्ती लाइ कार्यक्रम चलाउन दिनु टेलीभीजन को बेईजत हो । हरेक लाइभ हुॅदा या हरेक नेता को पछाडि लागेर क्यामरा अगाडी जानु उस्को रहर छ । पढेको पत्रकार हो की पावरको ॥॥
    जय पत्रकारिता

    Reply
  8. chatur rai says:
    January 29, 2013 at 2:42 pm

    शिरीश जी, तपाईले उठाउनु भएको कुरा सर ..सर्ती हेर्दा जतिसुकै जायज भए पनि हामीले यहाँ भुल्न नहुने कुरा ….देश समाज ,गुण्डा गर्दी र पत्रकार हाक्ने त राजनेता नै हुन् | पत्रकारहरुमा जति पनि कमि कमजोरीहरु छन त्यसको पछाडी हेर्दै जाने हो भने, ….कुनै न कुनै दल वा गुण्डाहरुको स्वार्थ लुकेको पाउनु हुनेछ | घरको गारजेन नै ठिक नभएपछि अरु सदस्य स्वत : केही खराब हुन्छन नै |

    Reply
  9. मन says:
    January 29, 2013 at 10:26 am

    दुई शब्द नेपाली बंगाई टेढाई लेख्न जान्यो कि बन्यो पत्रकार| अझ घुमाई फिराई भाषामा संस्कृत र उर्दु हिन्दि पनि मिश्रित गरेर लेख्यो अनि कसैलाई आक्षेप गरेर लेख्यो भने बनिहाल्यो वाह पत्रकार|
    फोटो कार्ड बोक्यो अनि आफै गमक्क|
    धेरैले आचार संहितालाई अचार बनेर खाइसकेका छन्| त्यसको मतलब राम्रा पत्रकार छैनन् भन्ने होइन र सबै उस्तै दही चिउरे छन् भन्ने पनि होइन| भोज भतेर र चिया मद् पानको पछि लाग्ने तथाकथित् पत्रकारहरुको जमात दिनहु देखिन्छ| पंचायतको अवसान पछि हामीले पाएको सबैभन्दा ठुलो उपलब्धि नै समाचार स्वतन्त्रता हो| यसको सही उपयोग र उपभोग गरौ| संचारको निरन्तर बिकाश र गतिशीलता संगै समाचार प्रस्तुति र सम्प्रेषणमा बिशाल परिवर्तन आएको छ| धमला पनि पत्रकार, अन्तर्वार्तामा आफुले आफुलाई महत्व दिने विजय कुमार पनि पत्रकार| आंगकाजी शेर्पाको प्रेस सम्मेलनमा आंगमा जर्नलिस्ट छाप लाएको जर्सी लाएर नारा लाउने पनि पत्रकार|
    हाम्रो नेपालमा फलो अप गर्ने र खोज मुलक पत्रकारिता गर्ने छँदै छैन भने पनि हुन्छ| हिमाल, कान्तिपुर, हिमालयन टाईम्स, रेपब्लिका नागरिक जस्ता श्रोत र विवेक भएकाले पनि आजको न्युजमा र राजनैतिक न्युज मात्र पस्कने गर्छन| सकेसम्म आफ्नो राजनैतिक दल प्रतिको लाईनमा मात्र लाग्ने गर्छन|
    हिजाज ब्लगले जनतामा जुन सेवा पुर्याएको छ त्यो उल्लेखनीय छ| ब्लगलाई ठुलो प्रिन्ट गरेर टाँस्ने वा सोझै सबैले देखिने ठाउँमा ठुलो स्क्रीनमा जनतामा राख्न सकियो भने ब्लग जनता माझ पपुलर भएर जानेछन| तर जसले आफुलाई पत्रकार ठान्छन उनीहरु आचार संहिता र उत्तरदायित्वपूर्ण समाचार सम्प्रेषण गर्ने कर्तब्यबाट बिचलित हुन् भएन|
    अब पत्रकारहरुमा घुन र चामल निफन्ने बेला आएको छ| पत्रकार को हुन् र पत्रुकार को हुन् अब खुलासा हुन् पर्यो| अति भयो|
    शिरीशजीका लेखका लागि धन्यवाद|

    Reply
  10. bibek dhakal says:
    January 29, 2013 at 9:38 am

    ” (Quoted)कुनै कार्यक्रमको अगाडि उभिएर मञ्चमा आसीनहरुको तस्वीर खिच्नु पत्रकारको अधिकार हुनपर्छ, तर मञ्च अगाडि ढसमस्स उभिएपछि आफु पछाडिका आम पात्रले चाहिँ के हेर्लान् भनेर सोच्नु पत्रकारिताको अलिखित दायित्व हो। ”
    हाहाहा! डायस छेकिने गरि फोटो खिच्ने पत्रकार को त कुरा छाडौं यहाँ त भाषण चलिरहेको बखत भाषण गर्ने मान्छेलाई छेक्ने गरि को को न जस्तो आफु अगाडी पर्ने (के के न राम्रो अनुहार भाको जस्तो !) photo-manic पत्रकार भनाउदा हरु छन

    Reply
  11. पुष्प says:
    January 29, 2013 at 9:29 am

    हुन त ‘पत्रकारीता’ले पत्रकार र उसलाई रोजगारी दिने संचारमध्यम (कम्पनी) गरी मूलरूपमा दुइ पाटालाई बुझ्नुपर्छ । एउटा संचारमध्यममा त अनेकथरी विचार भएका पत्रकारहरू हुनुपर्ने हो । तर केही दशकअघिदेखि मौलाएको त्यस्ता संचारमाध्यमहरू अहिले पार्टीगत पत्रकारहरूको झुण्डमा परिणत भैसकेको भन हुन्छ ।

    हो, राजनीतिक आस्था राख्ने छूट सबैलाई हुनुपर्छ र छ । तर आफ्नो पेशागत मर्यादा कसैले पनि नाघ्नुहुन्न । तर यहाँ पत्रकारीता मात्र होइन प्रहरी, प्रशासन देखि कर्मचारीतन्त्रसम्म खुला र निर्लज्जरूपमा ‘पेशागत राजनीति’ हावी छ ।

    आचारसंहिता र पत्रकारिताको ‘धर्म’ अनुसार सबै प्रकारका समाचार छाप्नु र अनि सबै प्रकारका विश्लेषकका विश्लेषण छाप्नु पो पत्रकारीता हो । प्रधानमन्त्रीले यो गर् रास्त्रपतीले त्यो गर् भनेर ‘आदेश’ दिनु, थर्कमान लाउनु; यो नेता हिरो, त्यो जिरो; यो रास्त्रबादी, त्यो रास्त्रघाती भनेर ‘प्रस्ट’ पार्नु, ‘दाबी’ गर्नु कुनै पनि हालतमा पत्रकारिता होइन !

    अहिलेको संक्रमणकालीन अवस्थामा शुद्ध पत्रकारीताको महत्व झन् बढी हुन्छ । तर, यहाँ बिल्ला भिरेका १० पत्रकारले कसैले धम्कि दिएको ‘दावी’ गरे, त्यो नै ध्रुबसत्य झैं सम्पूर्ण पत्रकारीता को ध्यान उतै जान्छ र शुरु हुन्छ भ्रममाथि भ्रमको खेती ।

    एउटा सरकारी कारिन्दाले संविधान अनि शान्तिप्रक्रियाको मर्मबमोजिम आफ्नो मातहतका कारिन्दालाई पत्र काट्दा, उसले कुनै नेताको आदेश मानेको ‘ठहर’ गर्दै अपराधी करार दिएर शुरु हुन्छ ‘हेग’ भ्रमको खेती ।

    अरबौं राजश्व छल्ने व्यापारी होस् वा आफ्नो उद्योगमा आगो लगाएर वीमा अनि कर छल्ने उद्योगि होस्, उनीहरूलाई युवाहरूको अगुवा पात्रको रूपमा ubhyaauchhan

    त्यसैले, पत्रकारीताको खोल ओढेर भ्रमको राजनीति नगरौं, राजनीति गर्ने नै भए ‘मैदान’मा गए हुन्छ । होइन भने पत्रकारीताको खोल ओढेर गुण्डागर्दी अनि राजनीति गर्नेहरूले पनि त्यस्तै व्यहारको सामना गर्नुपर्नेछ भन्ने हेक्का रहोस !

    Reply
  12. indra pd thapa says:
    January 29, 2013 at 9:22 am

    बास्तवमा मेरो देखाइमा पनि पत्रकारहरु आफ्नो पेसा भन्दापनि एउटा न एउटा दलसंग आबद्ध रहेका पाइन्छन /यसको उदाहरण त पत्रिकामा आउने समाचारहरुले प्रस्ट पार्दछन /हुन पनि पत्रकारहरुको हैसिएत्भन्दा अरु नै बढी सक्तिशाली भएपछी के गर्ने त ?अनि पत्रकार मित्रहरुलाई समाजमा हिँसा फैलाउने खालका समाचारहरु कम दिंदा राम्रो हुन्छ होला /

    Reply
  13. aasish,switzerland says:
    January 29, 2013 at 5:20 am

    सानोतिनो अनलाइन साइट चलाउने देखि लिएर राष्ट्रिय दैनिक मा काम गर्ने पत्रकार हरु ले यो पेशा को दुरुपयोग गरेका छन् भन्ने कुरा त सर्बबिधितै छ,कसैको आग्रह मा निर्देशन मा वा लोभ र लालच तथा व्यक्तिगत र बैचारिक दुस्मनी ले पनि झुटा समाचार हरु प्रेसित भैरहेका छन्,सायद येसैलाई भन्छन कि क्या हो पित पत्रकारिता,
    शिरिष जी ले उठाउनु भएको कुरा सोर्है आना सहि र समय सान्दर्भिक छ,कतिपय मित्र हरु ले माओबादि को पक्ष पोषण गर्यो जस्तो लाग्यो भन्नु भएको रहेछ,एक चोटी दलीय स्वार्थ लाइ अलि पर राखेर लेख पढौ सबै कुरा बुझिन्छ,लेख को मर्म मा माओबादि देखि लिएर गैह्र माओबादी पनि पर्चन जो पत्रकार को बिल्ला भिरेर पार्टीको नीति लाइ प्रबर्दन गरिरहेका छन्,
    लेख को लागि धन्यबाद
    आशिष
    स्विस

    Reply
  14. saharatimes says:
    January 28, 2013 at 9:55 pm

    पत्रकारितामा मौलाउँदै गएको पैसाकारिता
    मुद्दा र उद्देश्यहीन बन्दै गएको नेपालको पत्रकारिता । यहाँका केही पत्रकारहरू व्यापारीको भुमिकामा देखिन थालेका छन् । समाचार सामग्री मात्रै होइन अखबारको अस्थिपंजर ठानिने सम्पादकीयलाई समेत उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थपर्ूर्तिका साधन बनाउने समेत चुकिरहेका छैनन् । त्यसैले त अन्य मुद्दाहरुलाई छाँयामा पार्ने गरि उनीहरूले महिनौसम्म पनि एउटै विषयवस्तुलाई संपादकीय बनाई रहेका छन् । खासगरि मधेस मुद्दामा क्रियाशिल वा केन्द्रित केही कथित मिडियाहरू एक सुत्रिय मागका रुपमा संचार समावेशिकतालाई अघि बढाएका छन् । नेपालको संचार क्षेत्र र त्योसंग सम्बन्धित संस्थाहरुमा समावेशिकता नरहेको कुरा अब नौलो रहेन । तर पद प्राप्ति र विदेशको भ्रमण टोलीमा आफ्नो सहभागिताकै पत्रकारिता र संपादकीय या प्रेस सामग्री प्रकाशित गरेर संचार क्षेत्रमा समावेशिकरण सम्भव छ त – यो यक्ष प्रश्नबारे पत्रकारहरुले सोच्नै पर्ने बेला आएको छ । नेता, मन्त्री र पार्टर्ीी कार्यरतालाई कामधेनु गाई बनाएकाहरुले मात्रै यस प्रकारको कार्य गर्न सक्छन् । गाईलाई दूध देउञ्जेल घाँसपात, दिन छाँडेपछि मुंग्रो बर्सर्ााे स्थितिले त्यसता पत्रकारिता गर्नेहरुको गलत मानसिकता र दर्रि्र सोचलाई उजागर गरेकै छ । त्यसैले मुलुकलाई वर्तमान जटिल परिस्थितिबाट त्राण दिलाउनका लागि पनि त्यस्ता पत्रकार/संपादक/प्रकाशकले पत्रकारिता गर्दा अनुचित हुनेछैन । जातिगत पत्रकारिता छाँड्दै र्सर्वेतु सुखिनः को भावलाई अनुशरण गर्दै अगाडि बढे पत्रकारहरु देवतुल्य पक्कै हुनेछन् । अमूक मन्त्रिले आफूलाई अमुक निकायमा नियुक्ति गरेन भन्दै अमुक व्यक्तिको खैरो खन्दै हिड्नु कुनैपनि दृष्टिकोणले राम्रो पत्रकारिता मानिदैँन । भनिन्छ, पत्रकारिता जनसंचारको सबैभन्दा सुलभ, सस्तो र सशत्तः साधन हो । नेपोलिन बोनापार्टले पनि भनेका थिए कि चार विरोधी अखबारहरूको मारक क्षमताका अगाडी हजारौं बन्दुकको शक्ति पनि बेकार हुन्छ । यही कुरा भारतका लोकप्रिय कवि अकबर इलाहाबादीले यसरी भनेका थिए, ‘जब तोपको मुकाबिला गर्नु छ भने अखबार निकाल । अमेरिकी पर्ूव राष्ट्रपति ज्याफरले पनि पत्रकारितालाई विश्वमा मन्त्र झै उच्चारण गर्ने गरिएको उल्लेख गर्दै भनेका थिए, ‘स्वतन्त्र प्रेसबिना लोकतन्त्र एक पाइला पनि अघि बढ्न सक्तैन ।’ अतः पत्रकारिता लोकतन्त्र र अधिकार प्राप्तिको लर्डाई लड्नेहरुका लागि प्राणवायु हो । त्यस्तै, पत्रकारिताको मुख्यतः तीन काम हुन्छ- विभिन्न गतिविधिहरूको सूचना दिनु, जनमतलाई अभिव्यत्तः गर्नु र संचित सूचनाहरूका आधारमा जनमत तयार गर्नु । त्यसैले त यसलाई राष्ट्रको तीन स्तम्भहरु ः विधायिका, कार्यपालिका र न्यायपालिकापछि चौथो स्तम्भ भनिएको हो । नेपाली पत्रकारिता कुनै बेला मिशन जर्नलिज्मलाई आफ्नो ध्येय बनाएको थियो भने अहिले विशुद्ध व्यवसायमा परिणत भएको भनिने गरिएको छ । तर केही संचारकर्मीको व्यक्तिगत स्वार्थ, दम्भ र द्रव्य मोह तथा जातिय धङधङतीका कारण पत्रकारिता पेशा बदनाम हुँदै गएको छ । अहिलेका संचारकर्मीहरु संसाधन, सुविधाहरू र ऐशो-आरामलाई बढी रुचाउन थालेका छन् । आफ्नो कामप्रतिको निष्ठा विर्सदै गएका छन् । सही सूचना दिनुको साटो अनाप-सनाप लेखेर अखबारका पन्नाहरु म्ाात्र भर्ने गरेको भान हुन थालेका छन् । केही पत्रकारहरुले आफ्नो हैसियत सरकारी कार्यालयका बाबुसाहेब जस्तो बनाउँदै लगेका छन् या यसका लागि उद्दत देखिएका छन् । सुविधा प्राप्ति, राम्रो जीवनशैली बिताउने अवसरको खोजिले पत्रकारप्रतिको सम्मान जन-जनमा घट्दै गएको छ । बौद्धिक प्रखरता, लेखनप्रतिको इमान्दारिता र अध्ययवसाय जस्तो गुणहरूको क्षयिकरणले पत्रकारिता राम भरोसे चल्ने अवस्थामा पुगेको छ । एक विद्वानले भनेका पनि छन्- पत्रकारहरुको दिमाग प्याराशुट जस्तै हुन्छ, उसले त्यो बेला मात्रै काम गर्छ जब खुला हुन्छ । तर जाति र पार्टर्ीीन्दा माथि उठ्नै सकेका छैनन्, नेपालका पत्रकारहरु । यसमा आफूलाई मधेसी पत्रकारिताको मियो थान्ने केही कथित संपादक/प्रकाशक तथा पत्रकारिताको ‘प’ समेत थाहा नपाएकाहरूको नेतृत्वमा रहेको संचार संस्थाका कारण मधेसीमुलका संचारकर्मी दिनप्रतिदिन बद्नाम बन्दै गएका छन् । यसलाई रोक्न सरोकारवाला सचेत हुनर्ैपर्छ ।
    अतः मधेसी लगायतका सबै संचारकर्मीले के बुझ्न जरुरी छ भने रिपोर्टरहरू पत्रकारिता रुपी रथ हुन भने सम्पादनसँग जोडिएका पत्रकार त्यसको लगाम र सारथी । त्यस्तै, रिपोर्टर अखबारका आखाँ, कान र नाक हुन भने सम्पादकहरु पत्रकारको मुटु र दिमाग । पत्रकारहरुको भाषामा पक्कड, आफ्नो कर्तव्य, समाचार बोधको विकास, शब्दहरूको सामना, राम्रो लेख्ने शैलीलगायतको जानकारी बिनै पत्रकारिता गर्नेहरुको भीडका कारण यहाँ धेरै समस्या सिर्जित हुँदै गएका छन् । त्यसैले त अहिले केही संचारकर्मीहरु पत्रकारिता होइन पैसाकारिता र पार्टर्ीीरितामा जुटेका छन् । फलस्वरुप पत्रकारका नाममा समाजमा केही शैतानहरुको जन्म भएको छ, देश, मधेस र समाजमा ।
    अन्त्यमा, पत्रकारहरुले पत्रकारितालाई गम्भिर र व्यावहारिक बनाउँदै आफूलाई संस्कारयुक्त बनाउन जरुरी छ । उनीहरुले आफ्नो पत्रकारीय गतिविधिहरुबाट देश र समाजलाई जति योगदान पुर्‍याएका छन् या पुर्‍याउनु पर्ने हो, त्यो भन्दा बढी गैर-पत्रकारीय गतिविधि गर्दै हिड्नु उचित होइन । उनीहरुको विवादास्पद गतिविधिहरुले पत्रकारितालाई लान्छनायुक्त उपकरण मात्रै बनाउने छैनन्, मर्यादाहिन, कर्तव्यहीन जमातका रुपमा परिभाषित समेत गर्नेछ, गरेको छ । पछिल्लो समय उनीहरुमा मौलाउँदै गएको बनियागिरी सोचले पाठकलाई मात्रै चिढाएको छैन, पत्रकारितालाई आफ्नो धर्म, कर्म र आस्था ठान्नेहरुलाई हत्तोत्साही समेत बनाउँदै छ । त्यसैले यस्ता कुनैपनि आवाञ्छनीय गतिविधिलाई संचारकर्मीहरुले तत्कालै छाड्नु पर्छ । एक कविले यो भनाई ‘हर्ेनमा यो न गोरो छ न कालो, न उसँग बन्दुक छ न भाला । हुन त बेधडक, निर्भिक फकिरजस्तो जीवनमा, कागत र कलमका धनी अखबार बाला हुन् ।’ यो पंक्तिलाई मनन र चिन्तन गर्दै अघि बढे पत्रकारहरुको कलमकै शक्तिबाट देश र समाजमा परिवर्तनलाई कसैले रोक्ने छैन । यसैलाई मधेसी पत्रकारहरुले वर्तमान पर्रि्रेक्ष्यमा एउटा मिशन बनाएर अघि बढनु पर्छ । जीवनको लक्ष्य आफ्नो समाज र समुदायको उत्थान र अधिकार सम्पन्न बनाउने बनेमा मात्रै सबैको हित हुनेछ ।

    Reply
  15. shreesh thapa says:
    January 28, 2013 at 9:44 pm

    शिरीश खरेल जी ले उठाउनु भएको बिषय गहन र समय सापेक्षित लाग्यो लेख धेरै मार्मिक छ तर कता कता माओवादी पक्ष झल्किएको होकी भन्ने भान हुन्छ अन्यथा नालिनुहोश मेरो बुझाई गलत हुन पनि सक्छ किनकि यो हरफ पढ्दा यस्तै लाग्यो. (अहिले माओवादीलाई नैतिकताको पाठ पढाउने अग्रमोर्चामा देखिन्छन्)
    धन्यवाद ….

    Reply
  16. Rc Bhandari (Journalist) says:
    January 28, 2013 at 8:17 pm

    नेपालमा पत्रकारलाई स्वतन्त्रता नभएको कि बढी भएको ? आफूलाई रिस उठेको मान्छे विरुद्ध रिसिवि साँध्ने सबैभन्दा सजिलो माध्यम बनेको छ, पत्रकारीता । एउटा कलेजका सञ्चालकले गुनासो पोख्दै थिए, “एउटा टिभीले भर्ना सम्वधी विज्ञापन माग्यो, अहिले विज्ञापन गर्ने मनस्थिति छैन भनेर फर्काएको भए नभएका आधारहिन कुरा खोतलेर एउटा कार्यक्रम नै बनाएर बबन्डर मच्चायो ।” अर्का एक व्यवसायीले गुनासो गरे, “उपभोग्य बस्तुहरुमा अखाद्य बस्तु भेटियो भने एकाथरी पत्रकारहरु पहिला बार्गेनिङ गर्न आउँछन्, उनीहरुले भनेको कुरा पूरा गरिदियो भने गुपगुप, होइन भने बबन्डर नै मच्चिन्छ ।” त्यस्तै भनिन्छ पत्रकारीतामा राजनीति स्विकार्य छैन, तर सबैभन्दा बढि राजनीति चल्ने ठाउँनै पत्रकारीता हो । आफूलाई मन परेको कुरालाई नजरअन्दाज गर्दै मन नपरेको वर्गको नराम्रा कुरा के–के छन् भनेर सियो खेजे झैं खोज्यो र बबन्डर मच्चायो । त्यसका लागि ‘स्रोतले बतायो, विस्वश्त शुत्रले भन्यो, एक नेताले जानकारी दिए’ जस्ता शव्दहरु नै काफी छन् । स्रोतलाई गोप्य राख्ने अधिकार कानुन ले दिएकै छ क्यारे । साँच्चै सोच्नुपर्ने बेला आएको छ ……

    Reply
  17. शशांक लामा, न्युयोर्क says:
    January 28, 2013 at 7:02 pm

    पत्रकारको काम समाचार सम्प्रेषण गर्नु हो, समाचारको विश्लेषण गर्ने होइन| विश्लेषण सम्बन्धित ज्ञाताबाट गरिनुपर्छ| त्यसो भन्दैमा पत्रकारले राजनितीक आस्था राख्न पाइन्न भन्न खोजेको होइन| आफु संग्लन पत्रिकालाई कुनै राजनीतिक पार्टिको मुखपत्र बनाइनुहुन्न| समाचार दिंदा देशको सर्वोपरी हितलाइ ध्यानमा राखेर र त्यसैमा टेकेर लेख लेखिनु पर्छ| माओवादी/कांग्रेसी/एमाले पत्रकार भनेर चिनिनु आफ्नो पहिचान गुमाउनु हो|

    Reply
  18. विनेश says:
    January 28, 2013 at 6:58 pm

    सोह्रै आना सही लेख्नुभो शिरीशजी , साह्रै चित्त बुझ्यो ।

    Reply
  19. मदनमणि says:
    January 28, 2013 at 5:06 pm

    कुरा एक दम सही हो। नेपालमा पत्रकारिताकै बारेमा निक्कै कम बहस हुन्छ। मिडियाको लगानी पारदर्शी हुनुपर्छ। भारतका धेरै ठूला र मुलधारका भन्ने मिडियाले आफ्नो वेबसाइटमा नै आम्दानी, खर्च र विज्ञापनको अवस्था साथै भोलीका दिनमा हुनसक्ने सम्भावित नाफा घाटाका बारेमा समेत खुलस्त जानकारी राखेका हुन्छन्।

    Reply
  20. KARAN says:
    January 28, 2013 at 4:58 pm

    कुनै बेला आफ्नो पत्रिकामा माओवादीबारे जघन्य झुट छापेका सम्पादकले एकपटक क्षमा याचना गर्न आफ्नो नैतिकता सम्झेनन्, अहिले माओवादीलाई नैतिकताको पाठ पढाउने अग्रमोर्चामा देखिन्छन्।

    Reply
  21. xyz says:
    January 28, 2013 at 4:42 pm

    There are many brands of journalists in Nepal – starting from a guy called Manjur Ratna Shakya. People like Rishi Dhamala are following his footsteps. In my opinion, may be there are 1% of the journalists who really belong to his/her profession. They are all crap opportunists, party cadres, or a corrupted lot.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme