Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : साथीको लोग्ने

Posted on January 19, 2013 by mysansar

– सुनिल सङ्गम –

आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।

अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ।
अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। 1-2 पटक त उनले मलाई सम्झाई पनि सकिन्। तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन्। मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन्। उनी सोझी , जेहेन्दार ,इमान्दार ,सरल र राम्री पनि छिन्। उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन्। वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु। तर पनि हामी असाध्य मिल्छौं।
चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो। सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! उ पनि त अचेल अलि चाँडो आउन थालेको छ। कति सुन्दर मान्छे ! अग्लो , गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो , कति मायालु अनुहार ,चौडा छाती , टम्म मिलेको खाइलाग्दो जीउडाल , देब्रे तिर लरक्क लर्किएको केश ,जति हेरे पनि नघाउने रुप ! मिल्ने भए देखि त म आँखै भित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऎना भित्र हेर्ने थिएँ !
के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस। भत्किने छैन पनि। काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला। नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला। मान्छे त त्यति राम्रो छ। सँधै 10.00 बजे आएर 05.00 बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ। सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ। प्राइभेटमा भए कहा 10.00 बजे गएर हुन्छ ! यी हाम्रो त 09.00 बजे नै खुल्छ। बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई। अँह कुनै हालतमा नि छोड्दिन। बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु। साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ? हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ?
अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु। जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु। उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म। उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु। सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन। उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ। बिहे पछि पनि म जागिर छोड्दिन। पोलिक्ल्निक बाताबरण पनि राम्रो छ। कोही बिरामी पर्दा पनि त सजिलो। तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ। उसको त पुरै जोगिन्छ। बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ। घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ। भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ। जोडा पनि असाध्य मिल्छ हाम्रो। धन्य छ भगवान तिमीलाई पनि। सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो।
मीराको पनि उ जस्तो राम्रो त पक्कै छैन होला। उ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो। मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे। आ होस् ! डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन। मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले। बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु। बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने !
ठिकै हुने भो। 25 बर्ष काटे पछि हामी केटीहरुको बिहे गर्न हतार नै गर्नु पर्छ। हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ। के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो उ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद ! सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त !
अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ। मलाई हेरेर नहाँसेको त दिनै छैन। मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरु सजाएको हुनु पर्छ। बिचरा …………..! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि ! कति निष्ठुरी छुच्चो कहीको ! आ होस एकदिन मै बोलाउँछु। समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन। अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन। मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ। अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ। सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं।जिन्दगीका खाली पानाहरु सबै मायाले कोरिने छ। अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं। फर्किए पछि सबै कुरा एकएक मीरालाई सुनाउने छु। उनी दंग पर्नेछिन्। डाहा/इष्या पनि गर्नेछिन्। अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु। मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन्।
खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ। आजभोलि मनमा यस्तै-यस्तै कुराहरु मात्र खेली रहन्छ। उ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरु खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु। के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु। कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ ! तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ ! तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति !
आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर,त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ। मीरा भने भित्र काममा व्यस्त छिन्। त्यो मान्छे आउने बेला नि भै सक्यो। न भन्दै उ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! उ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन। खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ। के गरूँ कसो गरूँ म आत्तिएँ। होस सबै हरायो। तै पनि क्षण भरमा आफुलाई सम्हालें। उ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो। म पनि उ जसरि नै हाँसें। उ नम्र भएर भन्न लाग्यो – ” मीरा कहाँ छिन् ? म मीराको श्रीमान। आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है।” खै त्यस पछि के के भन्यो उसले केही थाहा भएन। केही बेरमै उ हिड्यो। म हेरेको हेरेकै भएँ। मुहार रातो भयो। मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो। यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् -” खै त् तेरो राजकुमार आज आएन ? ” मेरो बोलि ठप्प रोकियो। केही बोल्नै सकिन। अनुहार रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको चाबीको झुत्तामा एकोहोरो हेरिरहें – हेरिरहें …………..!

41 thoughts on “कथा : साथीको लोग्ने”

  1. ankita kandel says:
    February 4, 2013 at 3:25 pm

    यक्दमै राम्रो कथा

    Reply
  2. Bharat kshetri says:
    January 27, 2013 at 7:43 pm

    मलाई त यो कथा सारै मन पर्यो

    Reply
  3. Raut kaji says:
    January 25, 2013 at 2:28 am

    सुनिल जि हजुर को कथा पढेर धीरै खुशी लाग्यो! कथा धेरी राम्रो अनि मर्मिक र राम्रो लाग्यो औत केटी को मनोबल लाई समेती लेखिएको रैछ एस्तो कथा हरु फेरी फेरी पनि पढ्न पाइयोस् सुनिल ज्यु फेरी पनि एक चोटि मिठो कथा को लागि धन्यवाद जहेर गर्दछु!

    Reply
  4. laxmi says:
    January 24, 2013 at 10:41 am

    सरल अनि सबल कथा निकै रोचक प्रस्तुति अनि भावमय निकै पछि एउटा मनछुने कथा पढ्न पाइयो | नबुझ्नेहरुले जे पनि कमेन्ट गर्छन गर्दा रहेछन |

    Reply
  5. yam pun says:
    January 23, 2013 at 8:47 pm

    खोइ…………??? कथा हो कि होइन भन्ने भनेर किटान गर्न सकिन! लेखक ज्यूँ ले कथा भने पछि कथा नै त होला!

    Reply
  6. shyam gahatraaj says:
    January 23, 2013 at 6:13 pm

    सुनिल जी कथा एउटा साहित्यको महत्वपुर्ण विधा हो,कथा लेख्दा समय सन्दर्भ,शिर्षक,त्यसको नैतिक शिक्षा,शब्द,भाब, अनि लेखनशैली र पाठकको रुचि यी कुराहरुलाइ मध्यनजर गर्दै लेखिनु पर्छ,मलाई तपाईं रहरले लेख्दै हुनुहुन्छ जस्तो लाग्यो,वा त साथिभाइको अघि साहित्यकार hu भन्ने भ्रम पार्न मात्र,
    आजको शिक्षितवर्ग कस्तो कथा पढ्न रुचाउछ त्यो बारे हेक्का राख्नुस नत्र साहित्यको खिल्ली उडाउन यस्तो नगर्नु होला मेरो बिनम्र अनुरोध यद्धपि तपाइको सिर्जनालाइ हामीले सम्मान garnaii पर्छ माने मिहेनतको अर्थमा मात्र
    हैन भने तपाईं अरु साहित्यकारको कथा पनि पढ्ने बानि बसाल्नुस,
    अर्को कुरा यो ब्लग संचालक ज्यु आफ्नो ब्लगलाइ सामग्री पायो भन्दैमा ब्लगको स्तर खस्काउने काम नगर्न अनुरोध गर्दछु/
    साहित्य पारखी

    Reply
  7. bishnu says:
    January 22, 2013 at 7:51 pm

    सुनिल जी!
    कथा को लागि दुंखागर्नु भयेछ तर एश्को बेअर्थ लाग्छकी जस्तै
    -केटि भन्सार मा घुसखाने को पछाडी लाग्छन
    -केटालाई चिन्नु भन्दा अगाडी लाखौ सपना देख्छन
    यो कथा त मा १६ वर्ष हुदा ठिक थियोहोला (५० वर्ष पछि) अलि सुहाएन
    यो मेरो मात्र विचार हो सहि नहुन पनि सक्छ

    Reply
  8. sabu bhattarai says:
    January 22, 2013 at 11:06 am

    राम्रो छ कथा अझै मेहेनत गर्दै जानु होला येही सुभकामना छ

    Reply
  9. योगेश आदी says:
    January 22, 2013 at 5:19 am

    कथासार त राम्रै हो तर लेखनशैली र शब्द संयोजन कच्चा लाग्यो ! Better luck for the next time !!

    Reply
  10. Deepak says:
    January 21, 2013 at 4:58 pm

    एकदमै प्रसंसनिय . धेरै पछि एउटा राम्रो कथा पढेको भान भो

    Reply
  11. hemanta rana says:
    January 21, 2013 at 7:58 am

    मनोबादमा उनिएको अति नै सुन्दर कथा बरु शिर्षक चाहि अरु नै भैदेको भए सुनमा सुगन्द हुन्थियो | सुनिल संगमका गीतहरु मैले धेरै सुनेको छु निकै राम्रो गीतकार हुन् कथा पनि उत्तिकै राम्रो लाग्यो बधाई तथा शुभ-कामना

    Reply
  12. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    January 20, 2013 at 11:49 pm

    भन्न त मन थिएन तर कथा त झूरै हो !

    Reply
  13. kiran sharma says:
    January 20, 2013 at 4:03 pm

    यो मेरो संसारमा कमेन्ट हेर्न मज्जा आउछ तर कहिले कहिँ आफु पनि लेख्न नजान्ने अरुले लेख्न प्रयास गरेको बिसयालाई प्रोत्साहन दिन नजान्ने उपबुज्रुक खाते हरुको टिप्पणी हेर्दा वाक्क लाग्छ

    Reply
    1. sagar says:
      January 21, 2013 at 8:00 am

      कुरा सहि गर्नु भो साथी ले
      यहाँ कम नपाएका झुण्ड हरु को मेला नै लाग्ने गर्छ

      Reply
  14. raj says:
    January 20, 2013 at 2:54 pm

    खासै राम्रो भन्न मिल्दैन होला ! पहिलो त कथा को शिर्षक बाट guess हुन्छ , के हुदै छ , ! अनि over thinking जस्तो लाग्यो!

    Reply
  15. radhikasanjel says:
    January 20, 2013 at 1:45 pm

    यो कथाः धेरै राम्रो छ तर के टिको मनमा चल्ने मनोबाद ठिक हो माया गर्नु त एशोरिया उपहार हो यो नि स्वोर्थ भैदियाको भय राम्रो हुन्थियो यसमा धन दौलतको कुरा ले गर्दा क ति लै अलिक हेपेको जस्तो लग्यो किन ki सबै केटि उस्तै नहुन पनि सक्छन कसैले नि स्वोर्थ प्रेम पनि गर्न सक्छन . कुनाही राम्रो कुरालाई राम्रो मान्नु नराम्रो पनि त हैन नि के तले जस्तो झोट्टै क तीले भन्न सक्दैनन् . यो सोच मा भर पर्ने कुरा हो . कथा राम्रो छ . तर नारि पुरुस मा भेद नराखे राम्रो हो .

    Reply
  16. chiran says:
    January 20, 2013 at 11:31 am

    बिसय बस्तु र girl’स को कल्पना एकदम मीलेको छ
    चिरनजीबी

    Reply
  17. Ramesh says:
    January 20, 2013 at 11:19 am

    कमेन्ट हरु देख्दा, बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको बिंड जस्तो लग्यो| कथा उत्क्रिस्त छ| सायद पोषण पाण्डे ले लेखेको भए पनि यस्तै लेख्नु हुन्थ्यो होला|

    Reply
  18. hari says:
    January 20, 2013 at 11:13 am

    कथाको सिर्शक अरु नै केहि राख्नु पर्ने अनि पढ्न पनि रमाइलो हुन्थ्यो. ..

    Reply
  19. shiva hari says:
    January 20, 2013 at 8:09 am

    मलाई त यक्दम राम्रो लाग्यो त मित्र हरु एस्तो भयकै छ त धरै ठाउँमा यौटा प्रमाण म पनि हु

    Reply
  20. लक्ष्मी खनाल says:
    January 20, 2013 at 7:47 am

    मनोबाद भित्र मजाले जमेको सुन्दर कथा कथाकारलाई बधाई छ |

    Reply
  21. Binod says:
    January 20, 2013 at 12:49 am

    नराम्रो भन्न मिल्दैन ! तर needs improvements….If its a first try I would appreciate…keep on writing time will guide you further. Good luck!

    Reply
  22. शिव says:
    January 19, 2013 at 10:11 pm

    यस कथामा शहर बजारको केटीहरुको मनोविज्ञान दर्साउन खोजेका छन् / हाम्रो देशमा सबै भन्दा danger केटीहरु भनेकै सहर बजारका पढे लेखेका जाने बुझेकाहरु हुन् / यिनीहरुलाई लाज, शरम, इज्जत, धर्म, सस्कृति भनेको सबै बिर्सी सकेका छन् / यिनीहरुको दिमागमा खाली पैसा पैसा र मोजमस्ती मात्र गर्न पाउने मात्र भए तिन चोटी बिहे गरिसकेका र ३-४ जना छोराछोरीहरुको बाऊ भए पनि पोइलो जान वा बिहे गरी राखेको देखेको सुनेका छौं / अझ युरोप अमेरिका भने पछि जस्तो सुक्कै लफंगा केटा भए पनि अभिभाबक देखि केटीको भुइंमा खुट्टा हुँदैनन् /

    Reply
    1. om says:
      January 20, 2013 at 6:26 am

      गत्त न पत्तको कमेन्ट. कमसे कम कथा त राम्रोसंग पड्नुस केहि लेखिहाल्नु भन्दा पहिला. साउनमा आँखा फुटेको गोरुले सधैं हरियो मात्र देख्ने जस्तो कुरा भो नि यो त.

      Reply
  23. Damodar Dhungel says:
    January 19, 2013 at 8:37 pm

    म चिन्छु यी कथाकार लाई. कविता र गीत राम्रै लेखथे तर कथा नलेखे पनि हुने रहेछ जस्तो पो लागो बाकी उहा को तजबिज . हैत सुनिल जी .

    Reply
  24. Lal shrestha says:
    January 19, 2013 at 8:32 pm

    Title “साचो को झुप्पा” रख्येको भए ….

    Reply
    1. नरेश says:
      January 20, 2013 at 11:46 am

      म लाल सर सग १००% सहमत छु,किन कि यस कथा को शीर्षक ले कथा यसरि टुंगिन्छ भनेर पहिले नै कथाको मिठास भंग गरेको जस्तो लाग्छ मलाई …..

      Reply
  25. chatur rai says:
    January 19, 2013 at 8:27 pm

    फुर्सदमा पढ्ने कथा ,

    Reply
  26. murari says:
    January 19, 2013 at 8:23 pm

    पुरुष भएर स्त्री मनोबाद मा आधारित कथा लेख्नु औता चुनौती हो र यस चुनौती लै लेखकले पुरा न्याय गरेका छन् / एकदम राम्रो लेखाई / लेखक लै धेरै धन्यबाद!

    Reply
  27. Guru Gopal says:
    January 19, 2013 at 7:24 pm

    वाइयात मनोबाद ,,,,,,

    Reply
  28. Sujan Babu Simkhada says:
    January 19, 2013 at 3:35 pm

    वोहियात कथा

    Reply
  29. ashish says:
    January 19, 2013 at 3:09 pm

    4th ग्रेड मा पदने बचा ले जस्तो लेखेको कथा नि छापी दिने मित्र? तट

    Reply
  30. Shyam says:
    January 19, 2013 at 2:52 pm

    !!!!!!.दामी !!!!!

    Reply
  31. Nischal timila says:
    January 19, 2013 at 2:46 pm

    ramro छ .अर्काको लोग्नेमाथि आखा गाड्ने लै येस्तै हुनुपर्छ !तेसैले कसैलेपनि कसैमाथि नासोचिनबुझी विश्वास गर्नुहुदैन,तेसैले उखानै छ आस त् गर तर भर नपर !!!

    Reply
    1. om says:
      January 20, 2013 at 6:30 am

      उसलाई कहा था थियो त नि त्यो मान्छे अर्काको लोग्ने भनेर …. वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु। तर पनि हामी असाध्य मिल्छौं।
      के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस।

      Reply
  32. sunil sharma says:
    January 19, 2013 at 2:18 pm

    पुरै सडक छाप कथा. बेकार को. झन् अलिअलि रहस्य पनि त्यो टाइटल ले गर्दा शुरुमै हट्यो . लेखक लाई केटीहरुले कहिले आफै प्रस्ताव राख्दैनन् भन्ने समेत हेक्का रहेनछ . 🙂

    Reply
  33. Bishnu Chapagai says:
    January 19, 2013 at 12:58 pm

    निकै राम्रो तर पनि के हुन्छ भन्ने कुरा title बाट सजिलै अन्दाज़ लगाउन सकिने भयो| अलिक फरक title राख्न सकेको भए बढी रोचक हुने थियो|

    Reply
  34. Dev Dangi says:
    January 19, 2013 at 12:29 pm

    राम्रो लाग्यो | thoughtful lagyo…… देव

    Reply
  35. roshan says:
    January 19, 2013 at 11:40 am

    स्साला यो वोन साईड लभ पनि द्यंजर नै हुने रहिछ …केटी लै मात्र होइन केटा लाई पनि हुने गर्छ,म नै छू क्या प्रमाण !!

    Reply
  36. anrup says:
    January 19, 2013 at 10:01 am

    सपनाको को संसार मा खरानी को घर बनाउने येस्तै हुन्

    Reply
  37. bibek dhakal says:
    January 19, 2013 at 9:54 am

    अती उत्कृष्ट! धेरै पछि रेउत राम्रो कथा पढ्न पाइयो . एकदमै यथार्थपरक मनोवाद
    सुनिलजी पक्कै पुरुष हुनुहुन्छ होला तर जुन हिसाबले तपैले एक महिला सुत्रधारको रुपमा कथा प्रश्तुत गर्नुभको छ ,साचैं नै पारिजातको उपन्यास याद दिलाउछ. यदि नितान्त ओरिजिनल हो भने ( यति राम्रो लाग्यो कि ओरिजिनल हो हैन संकै लाग्यो 😀 ) लेख्दै जानु होला! फेरी पनि, मैले एग्ज्याज्रेट गर्या हैन, धेरै राम्रो लेख्ने क्षमता रहेछ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme