Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुमार्गीको चर्तिकला एनसेललाई निल्नु न ओकल्नु

Posted on January 2, 2013January 2, 2013 by Salokya

अजय सुमार्गीले प्रचण्ड प्रधानमन्त्री भएका बेला कौडीको भाउमा फ्रिक्वेन्सी हात पारेर खोलेको हेलो मोबाइल गएको वर्ष एनसेल साहु युरोपको टेलियासोनेरालाई महँगोमा बेचे। त्यसपछि आफ्ना प्राविधिक कर्मचारीहरुलाई धम्क्याएर जबर्जस्ती निकाले। अब उनीहरु वैद्य माओवादीको शरणमा गएर कडा आन्दोलनतर्फ अघि बढिरहेका छन्। एनसेलका टावरहरुलाई नै क्षति पुर्‍याउँदै अघि बढिरहेको यो आन्दोलनले एनसेलका हजारौँ निर्दोष ग्राहक बित्थामा प्रभावित हुने स्थिति आएको छ। अहिलेसम्म वैद्य माओवादीले १३ वटा टावरमा प्रत्यक्ष क्षति पुर्‍याइसकेको छ।

१३ वटा टावर भए पनि टेलिकमका टावरहरु एउटासँग अर्को जोडिएको हुने हुनाले एउटामा क्षति पुर्‍याएर विच्छेद गरिएपछि त्योसँग जोडिएका अरु सबै पनि स्वतः विच्छेद भई काम नगर्ने हुन्छन्। टावर बिग्रेपछि त्यस क्षेत्रका मोबाइल चल्दैनन्। एनसेलले आफ्नो प्रभाव देखाएर मूलधारे मिडियामा यससम्बन्धी समाचार आउन रोके पनि बिचरा ग्राहक भने बिनसित्तिमा पीडित हुनुपर्ने स्थिति छ।

कहाँ कहाँ टावर बिगारियो ?

पुस ४ गते बानेश्वर, बुद्धनगरको केएटी ९०८/२०८ नम्बरको टावरमा क्षति पुर्‍याएर (तार काटेर) वैद्य माओवादीको अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदूर संघले क्षति आन्दोलन सुरु गरेको थियो। त्यसपछि स्वयम्भू, सानो भर्‍याङको तीन वटा, नयाँ बजारको दुई वटाको सम्पर्क विच्छेद गराइयो।

काठमाडौँका तीन ठाउँमा टावरमा क्षति पुर्‍याएपछि उनीहरुले बनेपाको बीएजी००१ नामको ६ वटा अरु टावर जोडिएको हब साइटमा पनि क्षति पुर्‍याए। यी टावर बिगारिएको खबर मूलधारे मिडियामा आउन दिइएन।

टावर नबनाउनसमेत धम्की !

एनसेलले कुनै पनि (मर्मत तथा नयाँ जडान) को काम आँफै गर्दैन, सबै ठेक्कामा दिएको छ। मर्मतको जिम्मा मोबिकन टेलिनेटवर्कले पाएको छ। त्यो कम्पनीले भने अर्को भारतीय कम्पनी जामिल प्रा.लिलाई जिम्मा दिएको छ। काठमाडौँका जति पनि मर्मतको काम छ, त्यही जामिल कम्पनीले गर्ने गर्दछ।

टावरमा क्षति पुर्‍याउनुको साथै वैद्य माओवादीको मजदुर संगठनले त्यस्ता टावरमा मर्मत नगर्न कडा शब्दमा ‘अपिल’ भन्दै धम्की पत्र टाँसेको हुनाले मर्मत गर्ने कम्पनीहरु समेत थर्कमान भए। बुद्घनगरको टावर ठेकेदार कम्पनीले मर्मत गरेतापनि बाँकी टावरहरुमा सुरक्षाको कारण जनाउँदै ठेकेदार कम्पनीहरुले मर्मत गर्न इन्कार गरेका थिए।

सुरक्षाको जिम्मा हामी लिन्छौँ भनेर एनसेलले भन्यो। तर ठेकेदार कम्पनी जामेलका इन्जिनियरहरुले सोधे- टावर मर्मतको बेलाको मात्र होइन, अफिस जाने, घर आउने अनि छुट्टीको बेलाको सुरक्षा कसले दिन्छ ? मर्मत गर्न जान इन्कार गरेपछि एनसेलले उक्त कम्पनीका इन्जिनियरहरुलाई जागिरबाट निकाल्न र मर्मत समयमा नगरेकोले पेनाल्टी तिर्न दबाब दिएको थियो। तर सम्पूर्ण ठेकेदार कम्पनीका इन्जीनियरहरुले जागीरबाट निकाले पनि निकाल, हामी पनि आन्दोलनमा जान्छौँ भनेपछि ठेकेदार कम्पनी र एनसेलको प्रशासन हच्किन बाध्य भयो।

हेलो नेपालबाट निकालिएका इन्जिनियर विरोध कट्टेलका अनुसार त्यसपछि एनसेलका इन्जिनियरहरुले पुलिसको सहयोग लिएर टावरबाहिर प्रहरी तैनाथ गरेर आफै मर्मत गरेका थिए। तर बनेपाको टावर सोमबारसम्म मर्मत हुन नसकेको बुझिएको छ ।

एनसेलमा किन आक्रमण ?

यदि हेलो नेपालले कर्मचारी निकालेको हो भने अहिले एनसेलको टावरमा किन आक्रमण त ? कट्टेल भन्छन्, ‘टेलियासोनेराको वक्तव्य अनुसार सन् २०११ मा नै उसले हेलो नेपालमा लगानी गरिसकेको छ। तर हामीलाई २०१२ मा मात्र निकालिएको हो। हामीलाई निकाल्ने काम हुँदा कम्पनीको मालिक टेलियासोनेरा भइसकेको थियो।’

‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै अजय सुमार्गीले खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको दावी गर्छन् उनीहरु। निकालिएका अर्का कर्मचारी सोमन्त भट्टराईका अनुसार जुन वर्ष हेलो नेपालका कर्मचारी निकालियो, त्यही वर्ष (सन् २०१२) मा नै टेलियासोनेराले एनसेलका ७२ कर्मचारी निकाल्दा गोल्डेन ह्यान्डसेक भन्दै २१ देखि ४१ लाख रुपियाँसम्म दिएको थियो। ‘तर हामीलाई भने न्यूनतम रकम थमाएर जबर्जस्ती निकालिएको छ। एउटै कम्पनीले आफ्ना कर्मचारीहरुप्रति यसरी भेदभाव गर्न कहाँ पाइन्छ ?’, उनी सोध्छन्।

बाल दिएका छैनन् मागप्रति

निकालिएका कर्मचारीहरुले पुनर्बहालीको मागसहितको अल्टिमेटम पत्र मुक्ति टावरमा हेलो नेपालकी अध्यक्ष रहेकी सुमार्गी पत्नी श्रीमति अस्मिता सुमार्गीलाई बुझाएर डिसेम्बरदेखि सुरु गरेको आन्दोलनप्रति सम्बन्धित पक्षहरु उदासिन छन्। न उनीहरुलाई वार्ताका लागि बोलाइएको छ, न अरु केही प्रस्ताव गरिएको छ। सुमार्गीलाई नेताहरु आफ्नै पक्षमा रहेकोले पेलेरै सबैलाई ठीक लगाइदिउँला भन्ने लागेको हुनसक्छ। टेलियासोनेरा पनि यो टेन्सन अजय सुमार्गीको हो, उसैले सिर्जना गरेको समस्याको हल उसैले निकाल्छ भन्ने पक्षमा रहेको देखिएको छ। तर यसरी टावरै क्षति पुर्‍याएर आन्दोलन हुन थालेपछि टेलियासोनेराले केही विकल्प सोच्छ कि सोच्दैन, क्रिसमस र न्यु इएरको लामो विदापछि काममा फर्कने विदेशी व्यवस्थापकहरुमा भर पर्छ।

कसले कसबाट फाइदा उठाउने ?

यो पूरै प्रकरण कसले कसबाट फाइदा उठाउने भन्नेमा छ। टेलियासोनेरा पनि आफूलाई फाइदा लिने काममा नियमकानुन केही नभनेर अस्वस्थ अभ्यास गर्न कतिसम्म उद्दत हुन्छ, उज्बेकिस्तानमा आफ्नो फाइदाका लागि नै त्यहाँका तानाशाह शासककी छोरीसित मिलेर के गरेको थियो, युरोपका पत्रिकाहरुमा छ्याप्छ्याप्ती आइसक्यो। नेपालमै पनि यसले एनसेल किन्न कस्ता हत्कन्डा अपनाएको थियो, पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहलाई कसरी उपयोग गरेको थियो, त्यो पनि सार्वजनिक भइसकेको छ।

मजदूरहरुको हकहितका लागि सुरु भएको यो आन्दोलनमा पनि कसले कसबाट फाइदा उठाउने भन्ने प्रश्न छ। प्रचण्डपक्षीय माओवादी र वैद्यपक्षीय माओवादीबीचको फुट देखेर त्यसको फाइदाले आफ्नो माग पूरा गराउन सहयोग होला कि भनेर कर्मचारीहरु वैद्य माओवादीको शरणमा लागेका हुन्। उता, वैद्य माओवादीलाई प्रचण्डनिकट रहेका अजय सुमार्गीलाई चेताउने मौका यही हो भन्ने लागेको हुनसक्छ।

स्रोतहरुका अनुसार अहिलेसम्म मागहरु प्रति बाल नदिएकोले वैद्य माओवादी एनसेल र सुमार्गीप्रति निकै आक्रामक भएका छन्। भारतीय गाडी र हिन्दी फिल्म रोक्ने आन्दोलनपछि वैद्य माओवादीले हात हालेको यही सबैभन्दा ठूलो र धेरैको चासोको विषय हो। भलै यसले पहिलो आन्दोलनको दाँजोमा मिडिया कभरेज पाएको छैन। यत्रो दिनसम्म मागबारे कुनै सुनुवाई नभएपछि माथिल्लो तह (वैद्य, बादल, विप्लव)मा पनि के गर्ने भन्ने बारे छलफल भइसकेको बुझिएको छ। अब त उनीहरुको पार्टीको इज्जतै दाउमा परिसक्यो। किनभने जति र जस्तो आन्दोलन गरे पनि न सुमार्गी, न टेलियासोनेरा, दुवैले कानमा तेल हालेर बसेकै स्थिति छ।

आन्दोलनरत कर्मचारीहरुले सुनेको कुरा भनी बताए अनुसार एनसेल बरु वैद्य माओवादीलाई पैसा (चन्दा) दिने तर कर्मचारीहरुलाई पुनर्बहाली नगर्ने सोचका साथ रणनीति बनाउँदैछ। यसले भविष्यमा पनि एनसेललाई फाइदा हुनेछ। वैद्य माओवादीलाई पनि पार्टी चलाउन पैसा त चाहिन्छ। उसले आफ्नो फाइदा हेर्छ कि आफ्नो शरणमा आएका कर्मचारीहरुलाई हेर्छ, त्यो भने आउँदा दिनहरुमा देखिनेछ।

अन्तर्राष्ट्रिय चासो

दुई वटा उस्तै प्रविधिको मोबाइल सेवा चलाउन नपाइने नेपाली कानुनलाई उल्लङ्घन गर्दै भएको हेलो नेपालमा टेलियासोनेराको लगानीबारे छानबिन, कारबाही सुस्त छ। यो पूरै प्रकरणमा नेपाली मूलधारे मिडिया मौन रहे पनि अन्तर्राष्ट्रिय चासो भने बढ्दो छ।

हेलो नेपालको आन्दोलनलाई स्वीडेनका मिडियाले कभरेज गरेका छन्। बलजफ्ती निस्कासित कर्मचारीहरुले अन्तराष्ट्रिय श्रम संगठनहरुलाई न्यायको लागि पहल गरिदिनको लागि याचना गरेपछि एक अन्तर्राष्ट्रिय टोली छानबिन र अध्ययनको लागि नेपाल आइसकेको छ। सोमन्त भट्टराईका अनुसार उक्त टोलीले हेलो नेपालबाट बर्खास्त गरिएका करिब १५ जना कर्मचारीहरुसँग प्रत्यक्ष बयान लिएको थियो तर टेलियासोनेराले भने प्रतिक्रिया दिन चाहेन।

नेपालका दुई कानुन व्यवसायीहरुको सहयोगमा गरिएको उक्त अध्ययनबाट टोलीले बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले श्रम ऐनको खिलापमा नै कर्मचारी बर्खास्त गरेको निष्कर्ष निकालेको भट्टराईको कथन छ। क्रिसमस र नयाँ वर्षको विदाको कारणले गर्दा प्रतिवेदन सार्वजनिक हुन ढिला भइरहेको बुझिएको छ। प्रतिवेदन सार्वजनिक गरे लगत्तै यो मुद्दालाई विदेशी अदालतमा लैजानेबारे छलफल गरिने उनले बताए। टेलियासोनेरा स्विडेन र फिनल्यान्ड सरकारको समेत स्वामित्व रहेको अन्तर्राष्ट्रिय कम्पनी हो।

‘ऐन विपरीत कर्मचारी निकाल्ने प्रक्रिया टेलियासोनेराको स्वामित्वमा आइसकेपछि भएको हो। टेलियासोनेरा सिस्टममा चल्ने मल्टिनेसनल पब्लिक कम्पनी हो। उसले यसको समाधान सिस्टम अनुसार नै गर्नुपर्छ’, भट्टराई भन्छन्।

यो प्रकरणबारे थप बुझ्न
सुरुमा आश देखायो, बीचमा फकायो…अन्त्यमा फँसायो

24 thoughts on “सुमार्गीको चर्तिकला एनसेललाई निल्नु न ओकल्नु”

  1. Pratik says:
    January 5, 2013 at 1:18 am

    What you ( sacked employees) are doing is wrong. We expected better behaviour and discipline from you guys.

    Your first mistake was to use political connection to get the job and yet another mistake is to use another violent political party in order to get justice. In my eyes, your current avticities such as vandalism and threatening behaviours are ciminal activities.

    You are a group of educated people. You do not need to go down this route.Be civilised and take your matter forward on legal and formal way.This might be slow and tough but two wrongs do not make things right.

    Use brain power not muscle power!!! After all, you are educated people.

    Reply
  2. kanxa says:
    January 4, 2013 at 9:42 pm

    @Mantra ji,
    (“बैद्य बा लाइ पनि सजिलै किन्छ त्यसले…कर्मचारीले
    जागिरको पुनर्बहाली को आशगर्नु
    अगेनामा पोलेको लोहोरो पाक्छ र खान पाउँला भन्ने
    आश जस्तै हो……पार्टी फुटाएपछि चलाउनु पनि परो…
    पैसा चाहियो नै….एन्सेलले मुद्रा टक्र्याउछ…. बैद्य,
    बादल र विप्लब सबै चुप……कर्मचारी हरु
    हेर्याहेर्यै……”)

    तपाईले के भन्नु’भा हाम्रा कर्मचारी नि त्यती लाटा छन् र हेर्याहेर्यै गर्नलाई ? पैसा लिएर बैद्य चुप लागे मधेसी दल छैन् र? जय मधेस भन्ने फोरम तिर लाग्ने 😉

    Reply
  3. Bandana Sharma says:
    January 3, 2013 at 1:52 pm

    टेलियासोनेराले हेलो नेपाल किन्यो भन्दैमा एनसेलमाथी आक्रमण गरिनु न्यायोचित लाग्दैन । मुक्ति टावरको दोष कृष्ण टावरमा थोपर्नु त बाउसँग रिस उठ्दा छोरोलाइ भकुरेको जस्तो हो । यो गलत हो ।

    Reply
  4. गणेश घिमिरे says:
    January 3, 2013 at 12:27 pm

    yasta यस्ता जनता र देश को लागि केहि गर्छु भन्ने ले नै देश र जनता लुटी रहेका हुन्छन किन कि नेपाल मा कानुन भन्ने पैसा नभयका जनता लाइ मात्र हो

    Reply
  5. योगेश आदी, न्यूयोर्क says:
    January 3, 2013 at 9:42 am

    सुमार्गी जस्तो अब्यापारिक गतिबिधि गर्ने र कानूनबाट बच्न नेताहरूको संरक्षण लिने ब्यापारीलाइ त घोक्रेठ्याक लाउनु पर्ने !!

    Reply
  6. sambhu says:
    January 3, 2013 at 9:02 am

    यो सव वाध्यता हो विचरा कर्मचारीहरुको !!!! तोड फोड नगरी केही नसुन्ने ब्यवस्थापन भए पछी के गरुन्?

    Reply
  7. bimal says:
    January 3, 2013 at 1:54 am

    तोडफोड गर्दै हिडने लाई सार्बजनीक कानुन लाग्दैन यो देशमा की माओबादी भनेर जे गरे नी हुन्छ , थुक्क राज्य सयन्त्र ।

    Reply
  8. बिस्वाश says:
    January 3, 2013 at 1:39 am

    यस्ता अबैध रूपमा छल छाम गरि सुरु गरिएका कम्पनिको उठिबास भए पनि केहि छैन | कम से कम आगामी दिनमा नेपालमा लगानी गर्ने कम्पनीहरुले त सहि पाठ सिक्नेछन |

    Reply
  9. yash says:
    January 2, 2013 at 10:09 pm

    भनेपछि कुरा बुझियो , कसले कती फाइदा लुड्याउने भन्ने दाउ हो यो आन्दोलन |
    ”एनसेलका ७२ कर्मचारी निकाल्दा गोल्डेन ह्यान्डसेक भन्दै २१ देखि ४१ लाख रुपियाँसम्म दिएको थियो।” यहि छ कुरोको चुरो |
    कट्टेल जी ,को लेख पढ्दा तपाईहरुको आन्दोलन प्रति नैतिक समर्थन गरेको थिएँ , अहिले फिर्ता लिदैछु | किनकि सर्बसाधारणलाइ मर्कापर्ने गरेर वहाहरु आफ्नो नितान्त फाइदाको लागी लड्दै हुनुहुदोरहेछ | एन्सेलले आफ्ना कर्मचारीहरु प्रतिस्प्रधाबाट छानिएर आएका थिए र पो गोल्डेन ह्यान्डसेक गर्दै २१ देखि ४१ लाख दियर बिदा गर्यो , सम्झिनुस त तपाईहरु कसरि हेलो नेपालमा छिर्नु भएको थियो ? | त्यहि प्रचण्ड र सुमार्गीको चाकडी र भनसुन गरेर होइन ? | आफ्नो क्षमता र बुताले भन्दा भनसुन गरेर जागिर लुड्याएकोले तपाईहरुको यो हबिगत भएको हो | कानुनी उपचारबाट मुद्दा नलडेर (अन्तरष्ट्रिय टोलि छानबिनको लागि आइसकेका रहेछन त , किन र कानुनि लडाइमा बिस्वास लागेन ?) , भत्काउने , बिगार्ने ,उही निरिह सर्बसाधारणलाइ दुखदिने अनि धम्कि दिने पुरानो बादरे सोचबाट ग्रसित तपाईहरुको यो प्रवृत्तिलाई कसरि समर्थन गरूँ ? |

    Reply
    1. balaram says:
      January 3, 2013 at 8:35 am

      मैले त पहिला को ब्लग मै चिनी सक्या थे कट्टेल जी हरु को “न्याय पूर्ण आन्दोलन”
      खोइ अन्जली हरु कहा हराउनु भो कुन्नि ? कि गोल्डेन हेन्ड सेक को अलि कति राप र ताप
      पाइने आशा मा मोबाइल टावर फुटाउनै मा व्यस्त हुनुहुन्छ !

      हिन्दि मा उखान छ “मान या नमान मै तेरा मेहमान ” २० -४० लाख पाइन्छ गरि खाओ नया डन हरु हो !

      Reply
  10. madan bajracharya says:
    January 2, 2013 at 10:01 pm

    के गर्ने जो नियम र कानुन भंग गर्ने हुन्छ तिनै व्यक्ति नेता हुने नेपालमा नेता सिट नजिकियका नोकर र मालिक दुबैले संस्थाहरु त् डुबाउने भै हाल्यो/ नेताको आडमा अपराध गर्नेहरु मात्र हतियारहरु हुन्/ हतियारलाई सजाय दिनु भन्दा तेस्ता हतियार चलाउने नेताको हात काट्न सकिने कानुन बन्नु पर्छ तव मात्रै देसमा अपराध उन्मुलन हुन् सक्छ/

    Reply
  11. Damodar Dhungel says:
    January 2, 2013 at 8:15 pm

    हे भगवान पशुपतिनाथ अब तिम्रो हात मा छ हाम्रो देश नेपाल . कता मात्र मिलाएर सक्नु यी हाम्रा देश का नेता भनौदा ले . पहिले त उनीहरुकै धेरै समस्या छ बाकी कुमार्गी सुमार्गी हरु मार्ग मा आएर तगारो लगाछां . जय शम्भु .

    Reply
  12. kedar says:
    January 2, 2013 at 5:59 pm

    प्रचन्डले एकलौटी पारेको एमाओबादिले कुम्ल्याको पैसामा लडीबडी गर्न नपाएर फुटेको यो बैद्ध माओबादि १००% बिक्छ / हेर्दै जानुस माइका लालहरु /

    Reply
  13. Bhanu, Malaysia says:
    January 2, 2013 at 4:14 pm

    आन्दोलन गर्नु आफ्नो ठाउँमा ठिकै होला, तर टावरमा आक्रमण गर्नु मुर्खता हो! माओवादी नाम सुहायन बादर नाम राखे हुन्छ !!!

    Reply
  14. Mantra says:
    January 2, 2013 at 12:42 pm

    बैद्य बा लाइ पनि सजिलै किन्छ त्यसले…कर्मचारीले जागिरको पुनर्बहाली को आशगर्नु अगेनामा पोलेको लोहोरो पाक्छ र खान पाउँला भन्ने आश जस्तै हो……पार्टी फुटाएपछि चलाउनु पनि परो…पैसा चाहियो नै….एन्सेलले मुद्रा टक्र्याउछ…. बैद्य, बादल र विप्लब सबै चुप……कर्मचारी हरु हेर्याहेर्यै……

    Reply
  15. sulav says:
    January 2, 2013 at 11:47 am

    नेपालीहरु किन यस्ता बाँदर जस्ता भएका होलान ? नभत्काई, नबिगारी, अरुलाई (हामी जनतालाइ) दुख नदिए कानुनी मध्येम बाट अघि बढ्नै नजान्ने हुन् कि क हो ? जता पनि राजनीतिले छुनै पर्ने ? आफ्नो घर नि नबनाउने अरुको बनिरको घर पनि बिगार्न खोज्ने ? . जता पनि खुट्टा तान्ने पर्ने ? केके हुन लागेको हो हाम्रो देशमा पनि ? . हाडीगाउँ भैसक्यो कि के हो हाम्रो देश ? कहिँ नभाको जात्र हुने पर्ने सधैँ ? क को गाइ जात्रा हो एता ? हामी जनता मा पनि दिनदिनै आशारुपी बत्ति निव्दै छ / निराशा छौदै छ दिन्नाहू / 🙁 आफ्नो देश को घास सुक्दै छ अन्त तिर झन् हरियो हुदै गेरको छ / एता चायेर पनि की गर्न नसकिने / एकदमै नराम्रो संयन्त्रमा चलेको छ देश / के गर्नु ? आफुले गरेर की हुने होइन / बाँदरको प्रबित्री एता क जनता मा फैलाउने कम पनि येही नेता हरुकै हो / राम्रो बनि सिकयेपो देश बन्छ / उफ दिक्क लग्यो /

    Reply
  16. balaram says:
    January 2, 2013 at 11:19 am

    धैर्य राखोउ त्यो द्रिस्य को जुन दिन एन सेल का लगानी कर्ता हरु हाम्रो राम्रो र सु – ब्यबस्थित बिमान स्थल बाट बाहिरिदै गरेको ! साएद त्यसै दिन हामीहरु को न्याय पूर्ण आन्दोलन ले न्याय पाउने छ !

    Reply
  17. पुष्प says:
    January 2, 2013 at 10:50 am

    जबर्जस्ति निकाल्यो भन्ने, नियक कानूनको दुहाइ दिने अनि आफै कानून हातमा लिने !
    संबिधानसभालाई समेत विघटन गर्न बाध्य पार्ने अदालत हुँदाहुँदै नेताको शरणमा पुग्ने !
    वाह इञ्जिनियर साप ! वाह !

    Reply
    1. Vijay says:
      January 2, 2013 at 9:48 pm

      अदालत आजकल त्यति सक्रिय र निस्पक्ष नभएतापनि केवल त्यो औपचारिकता को लागि मात्र रिट हालेर कानुन को मर्यादा राखेकोभए उत्तम हुनेथ्यो ! तोडफोड ले कसैको भलो हुदैन !

      Reply
    2. murari says:
      January 3, 2013 at 7:28 am

      तिम्रो प्रचण्ड भनेको नै चल्त पुर्जा कानुन हो नत्र विविन्न थरि अपराधी हरु धक फुकाएर खुल्लम, खुला हिड्न सक्ने थिएन अनि अदालतमा मुद्धा हल्लन भनेर पहिला नि धम्कि पुर्बक कागजमा सहि गराई सके पछि कसरि अदालत मा जाने हो पुष्प जी ? अझै पनि कति माओबादी ले कालो भने कालो अनि गोरो भने गोरो भनेर हिन्दछौ कम से कम कालो लै कालो भन्न सिक पहिला अनि मी संसार मा कमेन्ट गर्नु

      Reply
      1. पुष्प says:
        January 3, 2013 at 11:55 am

        निकाल्ने माओवादी नराम्रो, तोडफोड गर्ने माओवादी चाहिं गर्दा राम्रो ! कस्तो धर्मसंकट !

        Reply
  18. Sisir says:
    January 2, 2013 at 10:31 am

    प्रचण्ड , कृष्ण महरा र सुमार्गीलाई समाएर पाता कसे सबै कुरा दुधको दुध पानिको पानि हुनेछ . सधै सुशाशनको गफ हान्ने हाम्रा लेन्डुप दोर्जे संग छ त्यो ल्याकत, कि सबै ठाउमा आफ्नो आर्थिक लाभको हिस्स खोज्ने नब-राजकुमारी हिसिलाको पनि येस्मा मिलि भगत छ ?? यो माओबादीको पार्टीगत लगानी भएको काण्ड हुनाले तेती सजिलै निकाश आउने वाला छैन , बैद्य बाको चुरी फुरी पनि सुमार्गीबाट पैसा नझरुञ्जेल मात्र त होला नि !!
    होइन हाम्रो मूल धारे मेडिया र तिनका पत्रुकारहरुलाई के भाको , सबै ncell को पैसामा बिकेका रहेछन .. एस्तो समाचार त हेडलाइनमा आउनुपर्ने होइन र ?

    Reply
    1. RIjan Thapa says:
      January 3, 2013 at 6:28 am

      कस्तो होला यो सिसिरे को बुद्धि || खाली पाता फर्काउने मात्रै कुरा गर्छन || कहिले तिमि ले कहिले अरुले तिमि लाइ पाता फर्काउने हो, बदला लिने अनि रिस ले आगो हुने काम गर्ने हो भने त कहिले तिम्रो पालो कहिले मेरो पालो भने जस्तो भैहाल्यो नि || अलि राम्रो कुरो सोच्न सकिन्न || कानुनी उपचार छैन र सबै विकृत नेता तथा अपराध गर्ने हरु लाइ ||

      Reply
      1. Sisir says:
        January 3, 2013 at 10:14 am

        यो सिसिरेको कुबुद्धि सुबुद्धि येस्तै हो .. यहाँ पाता कस्ने भनेको कानूनको दायारामा ल्याएर अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने भन्न खोजेको हो, येदि हामी कानुनि शाशनमा विश्वास राख्छौ भने .. अहिलेलाई थापा जी येति बुझी राख्नु .. तपाइको जानकारीको लागि म हिम्षा र प्रति हिम्षामा बिस्वाश राख्ने प्राणी भने होइन .. येश्मा तेस्तो नराम्रो सोच छ र ??

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme