Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाघलाई उद्दार गर्न जाँदा ढुँगामुढा! हैन के विधि अराजकता बढेको?

Posted on January 1, 2013January 1, 2013 by mysansar

– बाबुराम लामिछाने –

एउटा संरक्षणकर्मीको हिसाबले समस्यामा परेका वन्यजन्तुको उद्दार गर्नु मेरो लागि कर्तव्य तथा खुसीको कुरा पनि हो। त्यसमा पनि बाघको उद्दार गर्न पाउनु त झन् अहोभाग्य हो। तर वन्यजन्तु र मान्छे दुवैका लागि हित हुने यस्तो काम गर्दा पनि बिनासित्ति ढुँगामुढा खानुपर्दा साह्रै दु:ख लाग्दो रहेछ नेपालमा बढेको अराजकता देखेर। कुरो पुस ८ गतेको हो। एउटा वयस्क पोथी बाघ जंगलबाट बाटो बिराएर नवलपरासीको कावासोती बजारमा छिरेको रहेछ। सायद यो निस्कन नभ्याँउदै उज्यालो भयो, मान्छेहरुको चहलपहल बढेपछि जँगलतिर फर्कन नपाएर उचित आश्रय खोज्दै जाँदा एक स्कूलको कक्षाकोठामा पुगेछ। बाघ राति बढी र दिउँसो कम सक्रिय हुने जनावर हो। सकेसम्म मानवीय क्रियाकलाप (Disturbance) बाट टाढै बस्न रुचाउने हुनाले यो बाघ पनि दिनभर आश्रय लिने हिसाबले बिहान सुनसान रहेको स्कूल परिसरभित्र पसेर कक्षाकोठामा लुकेर बसेको रहेछ।

स्थानीयबासीहरुले यसबारे खबर गरेपछि निकुञ्जका कर्मचारीहरु गएर निरीक्षणपश्चात् बाघ नै रहेको यकिन भैसकेपछि यसलाई दिनभरिको लागि सुरक्षा दिएर त्यहीँ छाडिराख्ने र रातभर पनि ननिस्केमा अर्को दिन बिहानै डार्ट गरी समात्ने कुरा प्रारम्भिक छलफलमा गरियो। प्रायजसो यस्तो अवस्थामा रहेका बाघहरु बाहिरको वातावरण शान्त र सुरक्षित ठानेपछि आँफै आफ्नो बासस्थान (जंगल)मा फर्कन्छन्। तर बाघ रहेको थाहा भएपछि त्यसक्षेत्रमा मेला नै लागेको रहेछ। सुरक्षा तथा भीड नियन्त्रण गर्नका लागि खटिएका पुलिसहरुलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेछ। बाघ बसेको उक्त कक्षाकोठामा सुरक्षा लगायतका कारण देखाउँदै स्थानीयहरुबाट व्यापक दबाब आएपछि बाघलाई नियन्त्रण गर्ने निर्णय भयो। यसै अनुसार चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष – जैविक विविधता केन्द्र सौराहाबाट प्राविधिक टोली वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैह्रेको नेतृत्वमा त्यसतर्फ लाग्यो।

साँझ करिब ५ बजे त्यहाँ पुग्दा बाघ भएको ठाउँबाहिर पुलिसले सुरक्षा दिइरहेको थियो भने वरिपरि करिब दुई हजार जतिको भीडले चारैतिर घेरेको अवस्थामा बाघ स्कुलको कक्षाकोठामा थियो। बाघको अवस्था र आकार अनुमान गरेपछि वरिपरिबाट सेतो कपडाले घेरेर (बाघले सेतो कपडा नाघेर नजाने परम्परागत ज्ञानको आधारमा) डार्ट गर्ने तयारी भयो। स्कूलको कोठाको पछाडिपट्टीको झ्यालबाट डार्ट हानिएको थियो। पहिलो डार्टले बाघ ढलेन, दोश्रो डार्ट हान्ने बेला अँध्यारो भैसकेको थियो र भीड झण्डैझण्डै पुलिसको नियन्त्रणबाहिर गइसकेको थियो। त्यहाँ आउने सबैजना बाघ हेर्न चाहन्थे तर यस क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे सबै अनभिज्ञ थिए। यस्तै ठेलमठेलका बीच हानिएको अर्को डार्टको निशाना चुक्यो। अनि तेश्रो डार्टले भने बाघ बेहोश भयो।

बाघ बाहिरी रुपमा हेर्दा पूर्णरुपमा स्वस्थ वयस्क पोथी रहेको प्रारम्भिक जाँचबाट थाहा भयो। बेहोश भएपछि बाघको शारीरिक अवस्था, स्वास्थ्य तथा नाप जाँच गरेर मात्र खोरमा राखी यसलाई व्युँताउने गरिन्छ। तर त्यहाँ भने बाघ बेहोश हुने बित्तिकै सबै रमितेहरु बाघ हेर्न भनी त्यस सानो कक्षाकोठामा पस्दा बाघलाई सुरक्षित हिसाबले गाडीमा लोड गरिराखेको खोरमा लैजानै पनि प्राविधिकहरुलाई ज्यादै कठिनाई पर्‍यो। त्यसैले नापजाँच लगायतको अन्य परीक्षण गर्न त्यहाँ सम्भव भएन।

आखिरमा पुलिसले लाठीचार्ज गरी भीडलाई यत्रतत्र गरेपछि मात्र बाघलाई खोरमा हाल्न सम्भव भयो। लाठीचार्ज हुनेबित्तिकै भीडबाट ईँटा र ढुँगाको वर्षा हुन थाल्यो। निकुञ्जसँग जनावरको लागि एम्बुलेन्सको कुरै छाडौँ, एउटा पिकअप भ्यान पनि नभएकाले भाडाको गाडीमा बाघको खोर लोड गरेर राखिएको थियो। भीडले हानेको ईँटा लागेर त्यो भाडाको गाडीको अगाडिको शिशा फुट्यो, प्राविधिकहरुमध्येका एकजनाको खुट्टामा र एकजनाको टाउकैमा ढुँगाले लाग्यो। धन्न नजिकबाट हानिएको हुनाले त्यति असर गर्न पाएन। त्यहाँ आफ्नो ज्यान पनि जोगाउँदै बाघको पनि ज्यान जोगाउन परेको थियो। यसरी ढुँगामुढा र लाठीचार्ज भैसकेपछि त्यहाँ बस्नु बाघ र प्राविधिकहरु सबैलाई खतरा देखेर बाघ लोड गरिराखेको गाडीलाई त्यहाँबाट हिँडाउने तात्कालिन निर्णय गरी बाघलाई बेहोशीबाट व्युँताउने एन्टिडोट नै नदिई बाघको ज्यानलाई नै खतरामा पारेर त्यहाँबाट हिडाउनु पर्‍यो। कावासोति बजार कटेर पूर्वतिरको जँगल क्षेत्रमा पुर्‍याई गाडी रोकेर एन्टिडोट दिएर त्यसै राति ९ बजेतिर चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पुर्‍याइयो। आफू र बाघ दुवै सुरक्षित तवरले फर्कन सकेकोमा प्राविधिक टोलीका सबैजना लामो सास फेर्दै थिए।

भीडतन्त्रले गर्दा दु:ख पायो बाघले

कावासोतीमा कक्षाकोठाभित्र रहेको बाघ।

हामी मान्छे बाघको बासस्थानलाई विनाश गरेर, आफ्नो बासस्थान बनाएर बसेका छौँ। त्यतिले नपुगेर अझै अतिक्रमण गरिरहेकै छौँ। हामीलाई घाँस, दाउरा, चरिचरन, मनोरञ्जनको नाममा दिनदिनै बाघको बासस्थानमै गएर बाघलाई असर गरिरहेका छौ। तर पनि बाघले आफ्नो अनुशासन त्यागेर मान्छेलाई जथाभावी आक्रमण र दु:ख दिने काम गरेको छैन (यदाकदा कुनै घाइते, बुढो वा अशक्त बाघले बाहेक)। तर हामी बुद्धि भएका पशुहरु भने बाटो बिराएर आएको बाघलाई एकदिन पनि हाम्रो बासस्थानमा (जुन पहिले उसैको बासस्थान थियो) सुरक्षित हिसाबले बस्न दिएनौ। स्थानीयका अनुसार त्यसै क्षेत्रमा दुईवटा डमरु पनि देखिएका छन् र यो वयस्क पोथी बाघ ती डमरुहरुकी आमा हुनसक्ने सम्भावना पनि छ। एक दिनको लागि त्यहीँ शान्तपूर्वक बाघलाई छाडिदिन सकेको भए सायद फेरि आफ्नै बासस्थानमा सुरक्षित हिसाबले फर्कन्थ्यो होला। विज्ञ तथा प्राविधिकहरुको सिफारिसको बाबजुद नचाहँदा नचाहँदै स्वस्थ तथा तन्दुरुस्त बाघलाई उसको प्राकृतिक बासस्थानबाट अपहरण गरी एक दिनको लागि भए पनि खोरमा थुनेर राख्नुपर्दा हामी सबैको मन खिन्न हुन पुग्यो। उक्त बाघलाई समातेको भोलिपल्ट पुस ९ गते चितवन राष्ट्रिय निकुञ्जको देवीतालनजिकको क्षेत्रमा लगेर छाडिएको थियो। सौभाग्यवश बाघ सुरक्षित हिसाबले प्राकृतिक बासस्थानमै फर्कन पायो तर कतिपय यसरी समातिएका बाघहरु खोरमै बाँकी जीवन बिताउन बाध्य पारिएका पनि थुप्रै उदाहरणहरु हामीसँग छन्।

48 thoughts on “बाघलाई उद्दार गर्न जाँदा ढुँगामुढा! हैन के विधि अराजकता बढेको?”

  1. Pradeep says:
    January 4, 2013 at 1:51 pm

    हाम्रो देशमा बढेको अनुशासनहिनता को जिउदो जाग्दो परिचायक हो यो घटना/ दण्डहिनता र विधिको शासनलाइ नमान्ने मानसिकता आम नेपालीमा पनि बढेको छ भलै हामी नेता लाइ नै सबै दोष किन नलगाउ/ आखिर हामी बाट नै नेता छानिने हुन् / जंगल को राजा मानिएको बाघ सम्म आफ्नो अनुशासन को परिधि बाट बाहिर नगई कसैलाई आक्रमण नगरी लुकेर बस्यो तर हामी कुनै बेला शान्ति प्रेमी मानिएका नेपालीहरु बिचरो सोझो प्राणी को व्यवहार को फाइदा उठाएर रमिते बनेर उसको जीवन लै नै खतरामा पार्न पछि पर्दैनौ/ धन्यवाद छ ति बन्यजन्तुबिद लाइ जसले ढुंगामुडा सहदै त्यो निर्दोष प्राणी को रक्षा गरे/ खेद छ हाम्रा कथित शान्तिप्रेमी नेपाली ले देखाएको ढुंगा मुढा गरेर आनन्द लिने प्रबृत्ति प्रति/

    Reply
  2. Mahendra says:
    January 2, 2013 at 11:31 pm

    सर्बप्रथम त कावासोतीका मध्यवर्ती क्षेत्रका केहि महानुभावहरुले बाघलाई कोठामै थुनेर निकुञ्ज प्रसासनलाई समयमै खबर गरि बाघ र स्थानीय बासिन्दा र रमितेहरुको सम्भावित क्षति हुनबाट बचाएकोमा उंहाहरुको यस्तो निर्णयको सराहना गर्नु आवश्यक ठान्दछु | प्रायजसो यस्तो परिस्थितिमा धन जन र जनावरको क्षति हुने सम्भावना ज्यादै हुन्छ | अनि केहि भएमा निकुन्जबाट सहयोग गर्न आएका टोलि माथिनै खनिञ्छन र उनीहरुको ज्यानको असुरक्षा हुने गर्दछ | यस्तो स्थितिमा स्थानीय जनसमुदायको सहयोग नितान्त आबश्यक हुन्छ| निकुन्ज बाट गएका प्राबिधिक टोलीले त्यस्तो भिडको बाबजुद बाघको सुरक्षाको साथै सम्भावित धन जनको क्षति हुनबाट जोगाएकोमा उहाँहरुको सुझबुझ र निर्णयको कदर गर्नु पर्छ | यसबाट उहाहरुको ब्यबसायिकता र कार्य क्षमता स्पस्ट झल्किन्छ | त्यसो स्थितिबाट बाघलाई बचाएर ल्याई प्राकृतिक बासस्थानमा छाड्न सफल भएकोमा बधाई छ | भविष्यमा हुने यस्तो परिस्थिति के कस्तो तरिकाले सरलताका साथ गर्न सकिन्छ भन्ने बारे स्थानीय बासिन्दा र सुरक्षा निकायहरुलाई तालिम दिनु पर्ने आबश्यक देखिन्छ | नत्र यस्ता भिड अनियन्त्रित भइ दिंदा जनावर लगायत मानिसहरुको पनि ज्यान गएको उदाहरणहरु अन्य देशमा देखिएका छन् |

    Reply
  3. एन पी गिरी , पेन्सलभानिया ,यू एस ए says:
    January 2, 2013 at 9:39 pm

    धन्न बाघ लाइ मरेर काटकुट पारेर एक एक पाउ मासु लग्न पाएन छन् …… दुर्लव भैसकेको बाघ जस्तो प्राणी को ज्यान बच्यो यो नै खुसि को कुरा हो |
    दुर्लव जीव लाइ मर्दा मान्छे मरेको जस्तो सजाए र थप जरिवाना हुनु पर्छ …यदी यसो हुने हो भने बेकुब दुइ खुट्टे जनावरहरु अलि डराउने थिएकी !

    Reply
  4. Rajesh says:
    January 2, 2013 at 2:04 pm

    बल प्रयोग गर्नु हाम्रो सस्कार बन्यो . हरेक समस्याको समाधान बल मै देख्न थालेउ . बाबुराम जी , त्यहि बाघ हात्तीले ल्याउने आम्दानि बाट मक्ख बन्छन . बिघामा बिक्ने जग्गा कट्ठा र धुरामा बेच्दा मख्ख बन्छन . के गर्ने तिनै बाघ हात्ती माथि धावा बोल्छन . दुध दिने गाइको लात्त सहने भन्ने समाज गाइमा मात्र केन्द्रित बनेछ .

    Reply
    1. RIjan Thapa says:
      January 3, 2013 at 6:35 am

      बाबुराम मात्रै होइन राजेश , बाघ रहयो भने हामी सबै को कल्याण हुन्छ भन्ने भुझ्नु पर्यो || फेरि उही राजनीति भाषा नबोलौ न || कमसेकम तिमि लाइ त थाहा होला नि बाघ तथा संसार मा अन्य जीव जन्तु र मानब जाति अनि अरु पर्याबरनिये तत्तो बीच को सम्बन्ध ले नै हाम्रो अस्तित्वो रहन्छ भन्ने कुरा || का बाबुराम को कल्याण को कुरो मात्रै गरेको ||

      Reply
      1. Rajesh says:
        January 3, 2013 at 2:23 pm

        रिजन थापा जी, कमेण्ट राम्रो सग पढ्ने कि ? नेपालिको बानि , राम्ररि नबुझी एक्कासि ठोकी दिने ? हामिमा कुनै कुरा बुझ्नु भन्दा अगाडि निकाल्ने बानि छ , त्यसैले बेला बेलामा दुख पाउदै आएको छौ . राम्ररि पढ्नु , कमाको अर्थ थाहा होला कि नहोला ? यसबाट राम्रो पाठ सिक्नु पहिला बुझ्नु अनि बोल्नु , बुझिएन भने आफु भन्दा जान्ने सग सोध्नु .

        Reply
  5. bishow says:
    January 2, 2013 at 10:48 am

    यहाँ कमेन्ट गर्ने साथी हरु के साँचै तपाइँ हरु ले अरु लाइ भने जस्तो सभ्य, भलाद्मी, अनुशासित हुनुहूञ्छ त ? अरुलाई परिवर्तन देख्नको लागि आफु परिवर्तन हुनुहोस, म त सभ्य नागरिक नेपाली .

    Reply
  6. dipak shrestha says:
    January 2, 2013 at 10:00 am

    बाघलाई सम्रछन गर्न सफल हुनु भयकोमा हार्दिक धन्न्यबाद | अराजक भीडलाई नियन्त्रण
    गर्न लातको मान्छेलाई बाट ले मान्दैन भन्ने सिद्दान्त नलीकन सुखै छैन | अस गरौ भविष्यमा एस्तो हुने छैन |

    Reply
  7. Ramesh says:
    January 2, 2013 at 8:30 am

    यसमा हामीहरुको पनि दोष छ । निकुञ्ज भनेको विषेश क्षेत्र हो । अन्य जंगलभन्दा फरक हो । तर निकुञ्ज नजिक बनेहरुलाई यसका बारेमा ज्ञान दिने कस्ले । सवैले आ आफै बुझ्ने हो कि ? अनि दुर्लभ जनावरहरु बस्ने निकुञ्ज आपासका गाउँलेहरुलाई हिंस्रक प्रवृत्तिका त्यस्ता जनावरको आनिबानी व्यवहार पटक्के थाहा हुँदैन । बुझ्न कसैले खोजेको छैन । बुझाउनु पर्छ भन्ने पनि कसैलाई लाग्दैन । अनि बाघ बाख्रो एउटै देख्छन् । हात्ती र हाँस एउटै लाग्छ । यस्तो बिडम्बना पुर्ण अवस्थामा पनि प्राविधिकहरुले बाघलाई सकुशल उद्धार गरेकोमा धन्यवाद छ । नीति निर्माताहरुको आँखा खुल्ने अपेक्षा छ ।

    Reply
  8. Basanta says:
    January 2, 2013 at 8:22 am

    Discovery and Animal Planet हेर्न लगाउनु पर्छ त्यो भेग का जनताहरुलाई

    Reply
  9. Bipin Tripathi says:
    January 2, 2013 at 8:16 am

    एक बघिनीको उद्धार सम्बन्धि यो यहाको अनुभव पढ्न पाउँदा खुसि लग्यो | हामि आफ्नै व्यवहार हेर्ने हो भने त निकै नै तल झरिसकेका छौं जस्तो लाग्छ मलाई | अनुसासन हीन हुनुमै रमाइलो हुन सक्छ सायद आज हामीले बाच्ने परिवेसमा |

    हामीलाई राम्रो मान्छे बन्ने प्रेरणा सधैं मिलिरहोस | बाबुराम जी अनि सकारात्मक प्रतिक्रिया जनाउने सबैलाई धेरै धन्यवाद !!

    जय मानवता!!!

    Reply
  10. Bhawana says:
    January 2, 2013 at 4:28 am

    यी सबै ब्याबहारिक ज्ञानको अभावले हो ! स्कूलमा ब्याबहारिक सीपको सट्टा किताब पढाएपछि येस्तै हुन्छ ! फेरि तेही किताब पनि पढे त हुन्थ्यो नि पार्टीको झण्डा बोकेर मास्टर र बिध्यर्थिहरु राजनीति गर्न भ्याइनभ्याई भएपछि येस्तै हो ! जतिसुकै शिछ्यामा लगानी गरे पनि न त मान्छेले असुशाशन नै सिकेका छन्, न त सभ्य बनेका छन्, न त रोजगारी नै पाएका छन् ! देशमा झन् झन् अराजकत बढ्दै गैरहेको छ | घरको मुली खराब भयपछी घर बिग्रंछा भन्ने उखानको यो ज्वलन्त उदाहरण हो | येही पाराले त खोइ कहाँ पुग्ने हो कुन्नि ????

    Reply
  11. surya says:
    January 2, 2013 at 4:14 am

    ठगने ,चोर्ने ,अरु लै फसाउने ,अर्को प्रगति देखन नचाहने यो गुण भएका प्राणी नेपाली हुन ,

    Reply
  12. him says:
    January 2, 2013 at 3:55 am

    साच्चीकै नेपालीहरुको ब्यबहार अति नै अराजक पशुको जस्तो भैसक्यो / यो सब नियमक निकायहरुको नालायकी कै परिणाम हो /

    ध्रुबे हात्ती र बालुवाटारे घातीको ब्यबहार नै हेरुम न / केहि फरक छ त? छ – ध्रुबे हात्ती ले त मादीबसिलाई मात्र सताएको छ तर बालुवाटारको घातीले त देसबासीलाई नै रुवाएको छ /

    Reply
    1. Rijan Thapa says:
      January 2, 2013 at 11:06 am

      म गर्छु आग्रा को कुरा हिम गर्छ गाग्रा को कुरा भने जस्तै || के ताल को मान्छे हो यार || कमेन्ट सुन्दा पनि झोंक चलेर आउने || कुरो के भैराछ उ चाही ताल न तुक को कुरो गर्छ यार || हामी नेपाली को अहिले को एकदम राम्रो नमुना रैछ यो हिम त || येस्तै भडुवा भएर त हो नि देश माथि नलाग्ने || जसरि हुन्छ जे मा पनि राजनीति गर्ने || क्या छौ नेपाल आमा क सन्तान तिमि |||

      Reply
  13. बिस्वाश says:
    January 2, 2013 at 2:11 am

    पहिला आफ्नो अस्तित्वलाई संकटबाट जोगाउन सके मात्र बाघको सतित्व संकट मा छ छैन भनेर छलफल चलाउनु पर्ला भनेर हामीलाई लाईरा छ |

    Reply
  14. गगने says:
    January 2, 2013 at 1:03 am

    जे होस् बाघलाई सुरक्षित उद्दार गर्नु भयछ धन्यबाद!
    यो ढुंगा मुढा गर्न निश्चल र अज्ञानी सिधा सोझा गाउले हरुलाई केहि उट्याङ्गा र बाघ अनि संरक्षित जनावरको अबैध धन्धा गर्ने केहि उट्याङ्गा छट्टु हरुले उचालेर यसो गर्न लगायको हुन सक्छ! तेसैले तमाम गाउले वा सोझा साधा हरुलाई सो भिडमा मुछेर आरोपित गर्नु पनि उचित हुदैन!
    हाम्रो सामाजिक मानाशिकता नै यस्तै छ एउटा हल्ला सुन्न हुदैन कुदी हाल्छौ झनै बाघ आछ रे भनेर भन्यो वा सुन्यो भनेत खादाखादै को मान्छे खान छोडेर हेर्न दौडन्छ हग्दा हग्दै को मान्छे चाक पुछ्न छाडेर दौडन्छ! मरेको बाघ देखे भेटाय कसैलाई जुँगा तान्न हतारो हुन्छ कसैलाई दांत र नंग्रा उखाल्न लाइ हत्ते| तछाड मछाड को लडाइ मैदान भन्दा बढी हुन्छ रमिता हेर्नेको भिड पनि उत्तिकै खासमा यो चेतना र शिक्षाकै अभाब हो भन्दा फरक पर्दैन|
    पुलिस हरु पनि यहि सामाजिक मानसिकताको त हुन् ति पनि मौका पाई हाले यसो हात घुमायर बाघको जुँगा तान्न पाय हुन्थ्यो भनेर मौका भेटाउन घोरिरहेको हुन्छ क्यारे!
    आधारण र सोझा सिधा मान्छेमा बाघ हेर्ने र मौका पाय बाघ छुने उत्सुकता त भैहाल्छ तरपनि त्यो अबस्थामा केहि उटुङ्गा र फ़ुट्याइ गर्ने अनि अबैध धन्दामा संग्लग्न भयका हरुको भित्रि स्वार्थको उक्साहटमा भिड प्राय लागेको हुन्छ भने उनीहरुले भिडलाई तेसैको लागि प्रयोग गर्ने नियत बनायको पनि हुन्छ! यदि केहि गरि गाउले आक्रमणमा पुलिस र उद्दार कर्मी बाघ छाडि भागि हालेको खण्डमा उनीहरुको स्वार्थि ब्यापार चलाउन सहायक सिद्द हुन्छ!
    धन्न बाघ बचाउनु भयछ नत्र त यस्तो भिडले त चिमोटी चिमोटी मार्दिञ्छन त हो!

    Reply
  15. bibekanand pandey says:
    January 2, 2013 at 12:13 am

    नेपाली जनता हरुमा पासविकता बढ्दै गैरहेको लग्न थालेको छ /रीस ,घमण्ड ,अहमता बाहेक केहि छैन हिजो आज /

    Reply
  16. Guru Gopal says:
    January 1, 2013 at 9:44 pm

    नेपाली Ta पशु नै वैसके नि केहि गरि टोलि aaunu bhanda अगाडी नै बाग निस्केर मान्छे लाई आक्रमण गरि मरेको भय फेरी यौटा शहिद बढ्ने थियो ,,,, आजकल आगोलागी मा परेर मर्ने त शहिद हुने रैछन ,,,,,,

    Reply
  17. nilam_ma says:
    January 1, 2013 at 9:40 pm

    सचेत नागरिक हरु पनि कम छैन | अहिले सम्म मानवता बाकि छ |नेपाली भनेर गर्ब गर्न सकिन्छ नि! आज हामी जति भाबुक छौ |यति काफी छ | अरुमा पनि मानब चेतना जगाउनको लागि ! कि कसो ??
    आत्मा ग्यान भनेको चेतना जागृत गर्न हो |त्यो चेतना हामीमा भएको हो |त्यसैले हामीमा प्रेम जागेको हो | अहिसक मानिसले ब्यबहार देखाएकोले नै हामीमा यो चेतना आएको हो | कि हामीमा मानवता छ ,चेतना छ |यसमा सबैलाई धन्योबाद !
    हामी सधै चेतना,ग्यान,गुण,मनबता,सदाचार,सकारात्मक कुरा गरु |बिस्तारै सब ठिक हुन्छ |

    Reply
  18. Subba Vishwakarma says:
    January 1, 2013 at 9:26 pm

    मान्छे भन्दा बाग चाई सारै ज्ञानी रहेछ हेर्नुहोस त कसै को घरमा पसेको भा के हुनेथियो तेयो ढुंगा मुडा गर्ने जनता को. बाग को स्कूल पड़ने र मान्छे जस्तो ठुलो भनौदा बन्ने रहर चाई तुहियो .

    Reply
  19. bizaya says:
    January 1, 2013 at 7:43 pm

    नेपाली को जात , कुकुर र जनावर जस्तै हो . धन्न मान्छे को जुनी पाएको छ. मानसिक र आर्थिक हिसाब ले निक्रिस्ता नेपाली हरु ….लाज लग्छ

    Reply
  20. bibek dhakal says:
    January 1, 2013 at 7:02 pm

    हैन यो नेपालीहरुलाई बिनासित्ती ढुंगा मुढा गर्दाखेरी एक किसिमको “अर्ग्यास्मीक ” चरम आनन्द आउने हो कि , कि कुनै अलौकिक प्रकारको उर्जा को संचार हुने हो, कि ठुलै पुरुषार्थ देखाको भान हुनी हो- कहिलेकाही म त ३X२ गुणा (छ)क्क पर्छु बा !!!
    र सम्रक्षणकर्मि लामिछाने सरलाई धन्यबाद. बर्दिया मा बढ्दै गरेको बाघ को संख्या, लगभग रोकिएको बाघ को छोरि शिकारी र लामिछाने सर जस्ता कन्जर्वेस्निस्टको यस्ता उदाहारणीय प्रयासको आधारमा अब दुर्गा मातालाई नेपालमा बाहनको समस्या पर्ला जस्तो लागेन…..अब खाचो रह्यो खाली चेतनाको- “graasroot ” लेभल देखिनै वन्यजन्तु को महत्वको बारे (वातावरनिया महत्व, इकोलोजिकल महत्व, आर्थिक महत्व (eco-trekkers and tourist inflow) ) जनताहरुलाई सिक्षित गर्नुपर्ने आवस्यकता छ . अनि तस्करीलाई पनि निकै कडाइ का साथ् रोक्नु पर्ने हुन्छ.

    Reply
  21. बुद्ध (कोरिया ) says:
    January 1, 2013 at 7:01 pm

    निकै छाडा बन्दै गयो हाम्रो समाज

    Reply
    1. gopal says:
      January 3, 2013 at 4:19 am

      यस्तै हो धेरै अशिक्छित-शिक्छितहरु भएपछी…
      भविष्यमा मेक्सिकोको माया समुदाय हराको जस्तै समयले नै देशलाई लोप गरिदिनेछ.
      पलायन भएकाहरुका तेस्रो पुस्तादेखि नेपाल चिदैनन. अनि यतै बस्नेहरु समय भन्दा धेरै पछाडी पर्नेछन.
      धेरैलाई मन नपर्ला, तर यथार्थ यस्तै हुन सक्ला ….

      Reply
  22. Raj says:
    January 1, 2013 at 6:38 pm

    जबसम्म जनावरलाई मानिसकै अभिन्न अँगको रुपमा बुझ्ने प्रयास गरिन्न तबसम्म यस्ता घटनाहरु भई नै रहन्छ । जनाबरलाई माया गर्नु पर्छ र उनिहरुकै बासस्थानमा बस्न दिनु पर्छ भन्ने चेतना नआउन्जेल यस्ता रमिते बनेर भिड खडा गर्नेहरुको केहि कमि हुन्न । बाघिनिलाई सकुशल घर फिर्ता गर्न सफल हुनु भएकोमा तपाँई लगायत सम्पुर्ण टोलीलाई धेरै धेरै धन्यबाद ।

    Reply
  23. surya says:
    January 1, 2013 at 5:40 pm

    के गर्ने नेपाली भन्न नै लाज लग६ अब त

    Reply
  24. Sudarshan Ghimire says:
    January 1, 2013 at 4:33 pm

    अब सबै नेपाली हरुलाई सामाजिक र मानाबियाताको अनुशाशन सम्बन्धि तालिम
    अनिबार्य हुनुपर्ने भयो .

    Reply
  25. Shailendra Dhakal,kathmandu says:
    January 1, 2013 at 4:24 pm

    तपाइको लेख सारै राम्रो लग्यो.नेपाली हरुको प्रबृत्ति तपाइले बर्णन गर्नु भएको जस्तै अराजक छ.अनि बाघ कस्तो खालको थियो ? कत्रो थियो भन्ने पनि खुलाउनु भएको भए पढ्न अझ रमाइलो हुनेथियो.

    Reply
    1. बाबुराम says:
      January 1, 2013 at 5:45 pm

      शैलेन्द्रजी,
      तपाईँको जिज्ञासाको लागि धब्यवाद! त्यो एक स्वस्थ्य वयश्क पोथी बाघ थियो! लेखमा नै उल्लेख गरिहालेँ बाघको पूर्ण रुपमा नाप जाँच गर्न त पाईएन तर बाघको टाउको देखि पुछ्छर सम्मको लब्बाई २ – २.५ मी. र तौल १५० के.जी. जति थियो होला!

      Reply
  26. bibek sharma says:
    January 1, 2013 at 3:50 pm

    डमरु त आमाको काख देखि टाढा भै हालेछन / बिचराहरु आमाको खोजीमा भौतारिए होलान अहिले / तो भिडतन्त्र जसले आमा र डमरुलाई अलग्याउन बाद्ध्य बनाए तिनीहरुलाई `ध्रुबे` ले ठिक गर्ने छ कुनै दिन /

    Reply
  27. SHREE AUSTRALIA says:
    January 1, 2013 at 3:41 pm

    यो धर्ति सबैको लागि हो यसमा सबैको साझा अधिकार हुनुपर्छ /

    Reply
  28. Ram Thapa says:
    January 1, 2013 at 3:00 pm

    हामी नेपालीले हाम्रो मानसिकतामा जब सम्म परिवर्तन गर्दैनौ सधै नै यी घटनाहरु घटी रहनछ . आफनो सोच परिवर्तन गरौ , अझै ढिलो भएको छैन मित्रहरु
    बाघको उद्दार गर्ने सबै जना धन्यवादको भागीदार हुनुहुन्छा .
    जय देश जय नेपाल

    Reply
  29. Deepak Niroula says:
    January 1, 2013 at 2:56 pm

    के गर्ने हामी नेपाली कहिल्यै दिक्क्षित भएनौ सायद हुदैनौ होला पनि
    किनकि राजनीति हाम्रो रगरग मा बसेको छ … जबसम्म राजनीतिक चेतना, राजनीतिक संस्कार, मान्छे मा हुनुपर्ने आत्मिय ज्ञान (जसले गु लाइ गु र गोबर लाइ गोबर भनेर छुट्याउन सक्दैन )
    तबसम्म येस्ता नालायकी घटना तथा एसका पात्रहरु जीवित नै रहन्छन … तपाइलाई साधुबाद छ .
    दिपक

    Reply
  30. achut says:
    January 1, 2013 at 2:38 pm

    कति अज्ञानी,असभ्य,अनुसासन हिन,अपराधी,अस्लिल……..हुदैछ समाज अनि हामी??के यो बिनास को प्रारम्भिक लक्षण नहुन सक्छ र???

    Reply
  31. Akash says:
    January 1, 2013 at 1:26 pm

    यो नेपाली जति भनेको जिउ मा फलाम को संग्लो लगाएर पछाडी बाट कोर्रा लगाउदै काम लगाए मात्र अनुसासन मा बस्ने जति जस्तो लग्न थालिसको अब त ! नेता हेरो उस्तै जनता हेरो उस्तै अनुसासनहिन छन् सबै ! I

    Reply
    1. यादेश says:
      January 1, 2013 at 8:04 pm

      सही कुरो| कोर्रा लाउने पक्षमा त् छैन तर अरु उपाय रित्तिदै गैरहेको जस्तो छ| राणा शासनमा जनतालाई कोर्रा लाउनु र कोपरा थपाउनु दैनिकी थियो|
      अब आएर कोर्रा लाउनु नै पर्ने हो भने नेपाली जनताले त्यो कोर्रा लाउने काम चाँही पहिले पांच दल वा सात दलका नेताहरु बाट शुरु गरे मात्र सार्थक हुनेछ|
      ल भन्नुस ककसलाई कति कोर्रा?

      Reply
  32. पुष्प says:
    January 1, 2013 at 1:21 pm

    माफ गर्नुस बाबुरामजी, जनावरको त्यतिविधि माया लाग्ने मान्छेले मान्छेहरूलाई ‘भीड’ मात्र देख्नु आफैंमा अराजकता हो । लोपोन्मुख सूचीमा परेको बाघको माया जति तपाईंलाई छ, त्यति नै ती गाउँलेहरूलाई पनि हुनुपर्छ । होइन भने त्यो बाघको दर्शन तपाईंले गर्न पाउनुहुने थिएन । मान्छेको स्वाभाविक प्रतिक्रिया हो जस्तो लाग्छ त्यो ‘भीड’ । झन् गाउँघरतिरको त के कुरा गर्नु ! दोस त सुरक्षा निकायको देखिन्छ यहाँ, जसले समयमै ‘भीड’लाई टाढा राखेन ।

    Reply
    1. yash says:
      January 1, 2013 at 5:22 pm

      पुष्प जी !
      शायद तपाइले लेखकको यो पंक्ति -” हामी मान्छे बाघको बासस्थानलाई विनाश गरेर, आफ्नो बासस्थान बनाएर बसेका छौँ। त्यतिले नपुगेर अझै अतिक्रमण गरिरहेकै छौँ। हामीलाई घाँस, दाउरा, चरिचरन, मनोरञ्जनको नाममा दिनदिनै बाघको बासस्थानमै गएर बाघलाई असर गरिरहेका छौ। तर पनि बाघले आफ्नो अनुशासन त्यागेर मान्छेलाई जथाभावी आक्रमण र दु:ख दिने काम गरेको छैन (यदाकदा कुनै घाइते, बुढो वा अशक्त बाघले बाहेक)। तर हामी बुद्धि भएका पशुहरु भने बाटो बिराएर आएको बाघलाई एकदिन पनि हाम्रो बासस्थानमा (जुन पहिले उसैको बासस्थान थियो) सुरक्षित हिसाबले बस्न दिएनौ। ”’- पढ्नु भएन या जुनसुकै कुरामा पनि प्रदर्शन र बिमती राख्ने ‘बैद्य बा’ को धंगधंगी तपाईमा अझै बाकी छ | बाघको माया गाउलेहरुलाई छ होला मान्छु , तर माया देखाउने त्यै हो त तरिका ? | जेमा पनि सुरक्षा निकायलाइ दोष देखाउने आदतबाट पन्छिनु पर्यो मित्र |

      Reply
    2. बाबुराम says:
      January 1, 2013 at 5:28 pm

      पुष्पजी! तपाईँले भन्न खोज्नु भएको सही हो, धेरै मनिसहरु त्यहाँ बाघलाई माया गर्ने मान्छे थिए तर उनीहरुमा बाघको आनिबानीबारे ज्ञानको कमी थियो र उनीहरुले जुन हिसाबले माया गर्न खोजे त्यो बाघ र उनीहरु दुवैलाई घातक हुन्थ्यो, जुन कुरा बुझाउन त्यहाँ सम्भव थिएन। यहाँ प्रहरी प्रशासनको ठूलो कमजोरी छ, भीडलाई नियन्त्रण बेलैमा गर्नुपर्थ्यो। हामी देखि पनि रहेका थियौ प्रहरीहरू आफै भीड नियन्त्रण गर्न छाडेर बाघ हेर्न लागेका थिए। तर मैले भन्न खोजेको चाहिँ केही उपाय नलागेपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गर्नु अत्यावश्यक थियो अनि त्यसको प्रतिकृयास्वरुप बाघ र प्राविधिकहरुलाई नै असर पुर्याउने गरी जसरी भीडबाट ढुँगामुढा गरियो त्यसको मात्र आपत्ति जनाउन खोजेको हो!

      Reply
      1. यादेश says:
        January 1, 2013 at 8:17 pm

        बाबुराम सर,
        मलाई तपाईको जवाफ मनपर्यो| यस्तो सकारात्मक सोचको खाँचो छ हामी नेपालीहरु माझ|
        मान्छेको तुलनामा विवेक नभएका वा कम विवेक भएका पशुको उद्दार गर्न खोजिदा विवेक भएका पशुहरुले खलल मचाएछन| धन्न कसो पछिल्लो डार्ट ठाउँमा परेछ|
        हाम्रो नेपालमा मान्छेलाई त् पशु सरह व्यवहार गरिन्छन भने जंगली पशुको के वास्ता?
        ज्ञानेन्द्र निकुञ्जको हाकिम हुँदा उनका आसेपासे खासे संग मिलेर लुट र शोषण गर्न सम्म गरे उबेला त्यो डार्ट नेपाली जनतामा प्रहार गरियो र डार्टको प्रतिफल चै उनी आफैले समेत भोग्या जस्तो छ| पुष्पजीको तर्क पनि आफ्नै ठाउँमा ठिकै लाग्यो|
        कमसे कम अर्का बाबुरामले खालि किताबी र theoritician मात्र नबनेर काम गरेका रहेछन भन्ने पनि लाग्यो| धन्नेवाद|

        Reply
      2. पुष्प says:
        January 2, 2013 at 7:41 am

        पहिलो गल्ती गर्नेका विरुद्ध एकशब्द खर्च नगर्नु भएकोमा मेरो आपत्ती हो बाबुरामजी । स्वीकार्नु भो, धन्यबाद । हामी अचेल क्रियामा होइन पनि प्रतिक्रियामा बढी ध्यान दिन थाल्या छौं; यो त झन् बढी अराजकता हो भन्ने मलाई लाग्छ । तपाईंको आक्रोशले त “धान खाने मूसा, चोट पाउने बिरालो” भनी उखान चरितार्थ गरेको छ ।

        Reply
    3. Pradip Shrestha says:
      January 1, 2013 at 9:55 pm

      Always Negative

      Reply
    4. him says:
      January 2, 2013 at 3:57 am

      यो मान्छेको सोंच पशुको भन्दा पनि गएगुज्रेको छ /

      Reply
      1. पुष्प says:
        January 2, 2013 at 10:51 am

        पशुले अरुलाई पनि पशुनै देख्दा हुन् ।

        Reply
      2. niraj says:
        January 3, 2013 at 6:15 am

        कति घत लाग्दो जवाफ दिनुभयो हिम जी ….यी पुष्प नाम भएकाहरु सबै येस्तै हुदा रहेछन कि के हो ?जस्तो लाजिम्पाटको १५ करोडको महलमा बस्ने अर्को पुष्प

        Reply
  33. SURENDRA SUBEDI hongkong says:
    January 1, 2013 at 12:58 pm

    बेरोजगार अनि असिक्क्षित हुनु नै अभिसाफ हो यदी हाम्रो देस मा बेरोजगार र असिक्क्षित मान्छे को हुल नहुदो हो त तपाई हरु लाई काम गर्न सजिलो हुने पक्कै थियो /जे होस् यौटा हिंग्स्रक जनावर लाई पुनर्जन्म दिनु भएको मा हार्दिक सुभकामना/

    Reply
  34. Smriti says:
    January 1, 2013 at 11:39 am

    जनावर प्रति तपाइको भावना पढेर खुशी लग्यो बाबुराम लामिछाने जी । अहिंसक जनावरलाई त बिना कारण मार्ने हाम्रो समाजमा बाघलाई त्यस्तो गर्नु सामान्य जस्तै भइसक्यो । तर पनि त्यस बाघलाई बचाउनु भएकोमा अरु नभए पनि उसका डमरुहरु भने तपाई प्रति आभारी हुने छन् ।

    Reply

Leave a Reply to पुष्प Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme