-देवेन्द्र भट्टराई-
कुमारमणि आचार्य दीक्षितको ९० बर्षको उमेरमा पुस १५ गते बिहान निधन भयो।
तर कुमारमणिको निधनबारे धेरै शुभेच्छुक र आफन्तले समेत पत्तो पाएनन्।
कुमारमणि आचार्य दीक्षित प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी
कोइरालाका निजी सहायक एवं निष्ठावान प्रशासकका रुपमा चिनिएका पात्र हुन्।
विगत १२ बर्षयता निमोनिया बिग्रेर हुने ‘ग्यास्ट्रोस्टोमी’का कारण सिधै
पेटमा प्वाल बनाएर झोला खाना ख्वाउनुपर्ने अवस्थामा पुगेका कुमारमणिको
बिहान ४ बजे निन्द्रामा रहेकै बेला निधन भएको थियो। ‘तर यो उमेर र
अवस्थामा पनि काकाको दिमागी सक्रियता उत्तिकै थियो,’कुमारमणिका भतिज
साहित्यकार कमल दीक्षितले भने—‘उहाँ आइतबार(पुस १४ गते) राती ११ बजेसम्म
पनि भारत–पाकिस्तान क्रिकेट–म्याच हेरिरहनुभएको रहेछ।’
नेपालमा क्रिकेट खेल भित्र्याउनेका एक अग्रणी पात्र समेत रहेका कुमारमणि पंचायतकालमा
उद्योग–बाणिज्य सचिव, शाही नेपाल वायुसेवाका अध्यक्ष समेत रहेका थिए।
परराष्ट्र सचिव नरेन्द्रमाणि आदिका छोरा कुमारमणि २०१५ सालदेखि १४
महिनाजति प्रधानमश्न्त्री वीपी कोइरालाका निजी सहायक रहेका थिए।
दीक्षितको ‘फाटफुट सम्झना’ पुस्तकमा वीपी कोइरालासँग अन्तरंग सम्बन्धबारे
धेरै कुरा उल्लेख गरिएको छ।
उनका बारे २०६२ साल चैत ११ गते कान्तिपुरमा प्रकाशित एक सामग्री यहाँ प्रस्तुत छ-
२०१५ सालमा नेपालमा पहिलो जननिर्वाचित सरकार प्रतिस्थापित भएका बेला कुमारमणि आदी योजना मन्त्रालयमा काम गर्थे। उनका पिता परराष्ट्र सचिव नरेन्द्रमणि आदीसँगको चिनारी आधारमा कुमारमणिलाई प्रधानमन्त्री वीपी कोइरालाले आफ्नो निजी सहायक बन्न अनुरोध गरेका थिए। यो सिफारसिमा तारिणीप्रसाद, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्यायसमेतको हात हुन सक्ने सम्भावना देख्छन् कुमारमणि। ‘झन्डै १४ महिना वीपीसँग रहेर काम गर्दाका अनुभव यति बग्रेल्ती छन् कि यसको सिलसिला मिलाउनै सक्दिन’,४७ बर्ष पुराना दिनहरू सम्झँदै नक्सालभित्रको पुरानो घरबाट भनिरहेका छन् कुमारमणि—’समुद्रमा तैररिहेको माछाले कुनबेला र कति पानी खान्छ भन्ने पत्तो नभए झैं अवस्था भयो मलाई पनि। धेरै कुरा भयो तर कति भयो भनेर भन्न गाह्रो छ।’ सम्झनाहरू बग्रेल्ती छन् तर ती सिलसिलेवार छैनन्। यात्रा क्रममा आफू पुगेका चीन, बेलायत, अमेरिका, इजरायल, जर्मनी, न्युजिल्यान्ड, जापान, बैंकक, भारतदेखि ‘बेबी किङ’ ज्ञानेन्द्रसम्मका सम्झनाका खातहरू पत्रे चट्टान बनेर बसेका छन्। तीमध्ये केही भने १० बर्षअघि छापिएको ‘फाटफुट सम्झना’ पुस्तकमा समेटिएका छन्।
प्रधानमन्त्री वीपी कोइरालासँग भावनात्मक रूपमा पनि निकटस्थ बनेका थिए कुमारमणि। जिल्लाहरूको भ्रमण र देश-विदेशमा समेत उनी साथै हुन्थे। तर वीपीले साहित्य लेख्नेबारे कुमारमणिलाई पत्तो थिएन। प्रधानमन्त्री कार्यालयमा रहेका बेला कुमारलाई एकदिन ‘दोषी चस्मा’ कथा संग्रह देखाउँदै वीपीले सोध्नुभएको थियो—यो किताब पढ्या छ ?’अहँ, छैन। ए, तपाई लेख्नु पनि हुन्छ ?’ कुमारमणिको जिज्ञासा थियो। ‘पढेर त हेर,’वीपीले भनेका थिए।
तर उपहार वा कुनै कुरामा पनि हत्तपत्त दस्तखत गर्न नमान्ने बानी थियो वीपीमा। अमेरिकामा खिचेको वीपीको एउटा तस्बिरमा कुमारमणिले हस्ताक्षरसमेत मागेका थिए तर पाएनन् जुन् तस्बिर अहिले पनि कुमारमणिको बैठक कोठामा छँदैछ। ‘एकपटक टोनी हेगन आएका थिए। उनले प्रधानमन्त्रीको हस्ताक्षर चाहेका थिए। मैंले बारम्बार अनुरोध गरेपछि वीपीले ‘नेपालभर यत्तिको घुम्ने नेपाली पनि छैन’ भनेर हस्ताक्षर गरिदिनुभएको थियो’,उनी सम्झन्छन्।
राजा महेन्द्रसँग वीपीको सम्बन्ध कस्तो थियो होला ? जिज्ञासामा जवाफ दिनका लागि उत्तिकै उत्साहित बन्दै ८२ बर्षीय कुमारमणिले सुनाए—’सुरुमा राजालाई कंग्रेस मन पर्दैनथ्यो, पछि वीपीसमेत मन पर्न छाडेको थियो।’ जिल्ला-जिल्लामा विकास अधिकृत राख्न थाले पछि राजाले पनि एक/दुई आफ्ना मान्छेको नाम सिफारिस गरेका थिए। तर गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले राजाले भनेका नभइ अरू नै व्यक्तिलाई अधिकृत खटाएपछिको स्थिति झन् अर्कै बन्यो। एकदिन राजाले प्रधानमन्त्रीलाई यसबारेमा गुनासो गरेछन्। त्यसपछि राँकिदै प्रधानमन्त्री कार्यालय आएका वीपीले ‘तुरुन्त गृहमन्त्रीलाई बोलाउन’ कुमारलाई अराएका थिए।’
तपाईंको काम मलाई खालि राजासँग लड्न लगाउने मात्रै हो ?’,प्रधानमन्त्री अघि परेका सूर्यप्रसादलाई वीपीले झोक्किँदै भनेका थिए।
यस्ता व्यक्तिगत ‘टक्कर’हरू एकपछि अर्को गर्दै थुपि्रँदै गएपछि स्थिति असहज बनेको कुमारमणिको मूल्यांकन छ। उनका बुझाइमा २००७ सालदेखि नै हक/अधिकार तोक्ने कुरामा राजनीतिक दलबाट गल्ती सुरु भएको थियो। ‘राजा त्रिभुवनले संविधान सभा दिने भनेका थिए तर कंग्रेसले संसदीय प्रजातन्त्र मात्रै भए पुग्छ भन्यो। राणाका सन्तान-दरसन्तान रहेका सैन्य दस्तालाई हटाएर बेग्लै पुलिस दल स्थापना गर्नुपर्छ भनेर राखिएको प्रस्तावमा पनि सहमति भएन। यसमा जातीय विद्रोहको सम्भावना देखेर जवाहरलाल नेहरुले विरोध गरेका थिए’, कुमारमणि भन्छन्। पछि ०१७ सालमा पनि प्रधानमन्त्री सबैलाई बढी नै ‘विश्वास गर्ने’ भएका कारण आफूविरुद्धको घेरासमेत थाहा नभएको उनको मूल्यांकन छ। त्यसबेला राजा र प्रधानमन्त्रीको आ-आफ्नै महत्वाकांक्षाको ‘टक्कर’ त थियो नै, त्योभन्दा बढी प्रजातन्त्रका कुरामा भने राजाले गल्ती गरेको उनको बुझाइ छ। राजनीतिक गह्रौं कुराहरूसँगै मीठा र आनन्दी कुरा पनि छन् कुमारमणिसँग।
नेहरुले खोजतलास गर्दै आफूबाट ‘माउन्टेन इज योङ’ पुस्तक लगेर पढेको र पछि ‘यो नेपालीका लागि अनुपयुक्त पुस्तक’ भनी फिर्ता दिएको प्रसङ्ग पनि कम्ती रमाइलो छैन। राजा र प्रधानमन्त्रीसँगको भ्रमण क्याम्पमा आ-आफ्ना रचना सुनाउनुपथ्र्यो। वीपी कोइराला भने राजालाई अक्सर जोन किट्सका कविता सुनाउँथे। एकपटक हङकङ जाँदा वीपीले दाह्री बनाउने सेभर र सुर्ती हालेर खाने पाइप कुमारमणिलाई उपहार दिएका थिए। त्यहीँबाट कुमारले पाइप खान सुरु गरेका हुन्। वीपीलाई अरूभन्दा बढी कलामा रुचि थियो। सात्र र कामुका पुस्तक खुबै पढ्थे उनी। जहाँ, जुन सहरमा पुगे पनि आर्ट ग्यालरी गइहाल्ने बानी थियो। वीपी थोरै मात्रामा ब्रान्डी पिउँथे। तर ह्वीस्कीसहितका अरू उपहार भने साथीभाइमा बाँड्नु भनेर कुमारमणिलाई बुझाउँथे। कतै सभासमारोहमा राम्री केटीहरू देखेमा वीपी ‘यु आर भेरी प्रिटी’ भनेर फुक्र्याउनसमेत पछि पर्दैनथे।
एकपटक भूमिसुधारसम्बन्धी अमेरिकी विशेषज्ञ उल्फ ल्याडजिन्स्कीले आफ्नो छोटो बसाइमा वीपी कोइरालाको प्रभावको तारिफमा भनेका थिए—’यत्तिको स्पष्ट सोच भएको नेता मैंले अरू कोही भेटेको छैन।’ एकदिन कुमारमणिले यो तारिफ उद्धृत गर्दै सुनाएका थिए, वीपीको जवाफ थियो—’मेरो यो प्रशंसा त मलाई भन्नुको साटो मेरी श्रीमती र राजालाई पो सुनाउनुपर्छ।’
‘फाटफुट सम्झना’ भित्र कुमारमणिले राजा त्रिभुवनले राजगद्दी त्याग गरेर सधैंका लागि स्वीट्जरल्यान्ड गएर बस्न चाहेको सन्दर्भ पनि उठाएका छन्। पछि राजा त्रिभुवनको स्वर्गारोहण हुँदा चिता बनाउन श्रीखण्डको दाउरा यहाँ नभएकाले भारत सरकारले ४५ हजार रुपैयाँ बराबरका दाउरा ल्याइदिएको थियो। तर ‘श्रद्धास्वरूप ल्याइएको’ भन्दै भारत सरकारले पछि त्यसको पैसा लिन मानेन।
कुनैबेला कुमारमणिका मनपर्ने मान्छे थिए—तुलसी गिरी। प्रधानमन्त्री वीपीलाई समेत सबभन्दा मन परेका दुई युवक तुलसी गिरी र विश्वबन्धु थापा नै पछि गएर वीपीलाई धोका दिने पहिलो कांग्रेसी भएर निस्केका थिए। ‘राजा महेन्द्र समेतले छोरो वीरेन्द्रलाई भनेका थिए—तिम्रो पालामा पनि तुलसी गिरीलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिनु ! तर पछि वीरेन्द्रदेखि ज्ञानेन्द्रका पालासम्म उनै तुलसी गिरी हर्ताकर्ता छन्,’कुमारमणि भन्छन्—’यी तुलसी कहिल्यै आफ्नो कुरा र आफू बोलिरहेका हुन्न्न। यी राजाले जे भन् भन्छन्, त्यही बोलिरहेका हुन्छन्।’ राजाले पनि ‘दललाई सजिलै लात मार्न सक्ने’ गिरीलाई नै आपmनो कदममा साथ दिन सक्ने सबैभन्दा विश्वासिलो पात्र ठानेको ठहर छ उनको।
चार बर्षदेखि कुमारमणि शारीरकि रूपमा समेत अशक्त बनेका छन्। निमोनिया रोग बिग्रेर ‘ग्यास्ट्रोस्टोमी’ भएपछि सिधै पेटमा दुलो पारेर पाइपबाट तरल पदार्थ खाएर मात्रै उनी बाँचिरहेका छन्। श्रीमती गीतासहितको परविारको आड पाएर उनी बाँचेका हुन्। ‘तर देशको अवस्था र राजहठ देखेर म आत्तिएको छु’,उनले सुनाए—’कतै यो देश चीन र भारतको अंश बन्ने त होइन भन्ने पनि लाग्छ।’ यही असहज र डरलाग्दो अवस्थाप्रति सचेत बनाउँदै उनले आफ्ना विदेशमा रहेका पाँच नातिनातिनालाई यता नफिर्न अराएको समेत सुनाए। ८२ बर्ष लामो जीवन आफूलाई मिलिक्क बितेजस्तो लाग्छ भन्छन् कुमारमणि। आफ्ना बा नरेन्द्रमणि साढे बयासी बर्षको उमेरमा बितेकाले ‘आफ्ना पनि अब जाने दिन आएका हुन् कि’ भन्ठान्छन् उनी।
बीचमा सन् १९६९ देखि ८९ सम्म कुमारमणि बैंककस्थित राष्ट्रसंघीय क्षेत्रीय कार्यालयमा कार्यरत थिए। त्यहीबीचमा बैंककमा उपचारमा आएका वीपी बाबुलाई उनले अस्पतालमा भेटेका थिए। ‘आँखैसामु सिंगो शताब्दी समय देख्न पाइरहेका कुमारमणि हुनलाई ‘सामान्य मान्छे’ हुन् तर इतिहासका एक असली साक्षी ! शनिबार बिहान बातचित भइरहेका बेला झोल खानेकुरा लिएर सामुमा आइन्—नर्स शारदा कपाली। त्यसबेला कुमारलाई पेटको पाइपबाट खाना ख्वाउने समय भएको थियो। त्यहीबेला सम्झना भयो, इतिहासका साक्षीको दस बर्ष पुरानो ज्योतिषी भनाइ जुन उनले ‘फाटफुट सम्झना’मा निचोड बनाएर लेखेका छन्—’०१७ सालमा राजा महेन्द्रबाट एक प्रतिगामी कदम चाल्दा ३० बर्ष देश पछाडिको पछाडि रह्यो जस्तो लाग्छ। देशको जीवनमा भने यी बर्षहरू क्षणिक हुन्। अब सबै मिलेर प्रजातन्त्रको विकासद्वारा गरबि जनताको उत्थान गरी देशलाई बलियो गर्ने समय छ। प्रजातन्त्रका नारा दिनेहरूले ससाना कुरामा झगडा गरी सडकमा ओर्ली ढुङ्गामुढा गर्ने समय अहिले छैन। यस्तै अवस्था भए पुनः ३०/३२ बर्ष राजालाई घेरामा राखी आफ्नु फाइदा गर्ने कमिसन, घूस, नातावाद, कृपावाद, गर्ने/गराउनेहरूको मनोबलमा बृद्धि भईर् पुनः इतिहास दोहोर्याउन खोज्लान् तर यिनीहरूले पनि यो बिर्सनुहुन्न कि अहिलेको हाम्रो देश २०१७ सालको जस्तो छैन। यस्तो हीन विचार राख्नेहरूले मनमा याद राख्नुपर्ने कुरा अब गडबडी भएमा उनीहरू मात्र सखाप हुँदैनन्, देशमा आवश्यक सम्मानित र संवैधानिक राजतन्त्रलाई समेत सङ्कट आउन सक्छ, देश नै ध्वस्त हुन सक्छ। सबै कुरा राम्ररी विचार गरी पाइला चाल्न हामी सबैलाई श्री पशुपतिनाथले सद्बुद्धि दिई रक्षा गर्नुहुनेछ भन्ने आशा गर्नु सिवाय अरू उपाय देखिँदैन।’
कुमार मणि दिक्षित ज्यु को बि. पी. देखि हालसम्मको नेपालको मुल्यांकन लाइ छोटो र बडो सरल भाषामा प्रस्तुत गर्नु भयकोमा धेरै धन्यवाद | स्वर्गीय कुमार मणि दिक्षित ज्युको आत्माको चीर शान्तीको कामना गर्दछु |
निमोनिया बिग्रेर gastrostomy हुदैन.
gastrostomy भनेको कुनै कारणबस खाना खान सकेन भने pipe बाट सिधै पेटमा झोल खाना हाल्न पेटमा बनाइएको प्वाल हो.