– चर्चित ढुंगेल –
सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो। विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए। संयोगले मेरो कविता प्रथम भयो। जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ। मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने कविता ‘सपनाको अवसान’ यतिखेर आएर ‘मैले नलेखेको भए हुन्थ्यो’ भन्ने लागेर आएको छ। जीवनको कुनै कालखण्डमा मान्छेले राखेको धारणा वा विचार समयको अर्को कालखण्डमा परिवर्तन हुने रहेछ। आफैँले लेखेको कुनै सदाबहार गीत समयको अर्को कुनै कालखण्डमा ‘यस्तो लेखेको भए हुने’ वा ‘नलेखेको भए हुने’ भन्ने विचार आउने रहेछ। हो, मलाई अहिले ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागेर आएको छ। सन् २०१२ सेप्टेम्बर ४ तारिकको एउटा घटनाले गर्दा मलाई ‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो भन्ने लागेको हो। कवितामा ‘एउटा गाउँले ठिटो शिक्षा लिन शहर पस्छ। शहरमा उच्चशिक्षाको प्रमाणपत्र नबिकेपछि/ठूलो मान्छे हुने सपना नटिकेपछि हरियो बाँसजस्तो पासपोर्ट बोकेर खाडी आउँछ। खाडीको कमाइले ऋणपान तिरेर घरमा राडी नहाल्दै उसको सुतेकै अवस्थामा प्राणपखेरु उड्छ। उसँगै उसको परिवारले देखेको सपना टुट्छ।’ ठ्याक्कै त्यस्तै भवितब्य जानेरै लेखे झैँ मैले भोग्नु परेको छ।
सन् २००६ डिसेम्बर १५ तारिकमा मेरा ससुराबा कतार आउनु भएको हो। यताको एउटा जोड्नी कम्पनीमा ‘अलराउण्डर हेल्पर’को काम गर्ने उहाँले मेरा कान्छा सालालाई सन् २००९ अगष्टमा र मलाई सन् २०१० फेब्रुवरी ४ तारिकमा आफु कार्यरत कम्पनीमा क्रमशः ड्राइभर र डिजाइनरमा तान्नु भएको थियो। जेठो सालो यताको एउटा कम्पनीमा चित्त नबुझेर भागेका रहेछन्। उनी भर्खर जेल बसेर गएकाले दुई वर्ष आउन नपाउने भए। त्यसैले तिनलाई साउदी पठाउन सफल भएका ससुराबाको योगदान अमूल्य छ।
दुई छोरा र ज्वाईँलाई खुट्टो टेकाएपछि घरैमा बसेर केही गर्ने उहाँको चाहना थियो। अबको चोटी जाँदा ‘फिनिष्ट’ जाने उहाँको विचार थियो तर त्यो अधुरै रहेर उहाँ त यो संसारबाटै पो ‘फिनिष्ट’ जानु भयो।
कन्टेनरको पेन्टिङका लागि दिनहुँ उहाँलगायत अरु केही साथीहरु रास्लाफान जानुहुन्थ्यो। एकदिन काम सकेर गाडी चढ्ने बेलामा ‘पेट दुख्यो’ भन्नु भएछ। नेपाली ड्राइभर भाइले हमद हस्पिटल ल्याउँदै गर्दा गरफामा ‘उल्टी गर्छु’ भनेर भन्नु भएछ। ती भाइले गाडी रोकिदिएपछि उत्रिएर बाटाको किनारमा जानु भएछ। उल्टी गर्नु भएछ र फेरि गाडीमा फर्किनु भएछ। गाडी चढेको केही मिनेटमै सिटैमा गर्ल्याम्म ढल्नु भएछ। अरु साथीहरुले उठाउँदा चेत हराइसकेको रहेछ। भाइले हतारहतार हमदतिर गाडी दगुराएछन्। गराफाबाट हमद आउन १५/२० मिनेट लागेछ। हस्पिटल आउँदासम्म होस आएनछ। हस्पिटलमा एडमिट गरेपछि ती भाइले मलाई फोन गरे। म र मेरो कान्छो सालो सँगै गयौँ हेर्न।
सुरुमै डाक्टरले भनिहाल्यो ‘उल्टी गरेकाले खानाको टुक्रो श्वास नलीमा छिरेकाले अक्सिजन नपाएर अचेत’ हुनु भएको कुरो। ती डाक्टरका अनुसार ‘एउटा स्वस्थ मान्छेले नौ मिनेटसम्म अक्सिजन पाएन भने उसको दिमाग मर्छ’ रे। डाक्टरले अनेक प्रयास गरेपछि मुटु चल्ने भयो तर अर्थोक केही नचल्ने। मुटु चल्न थालेपछि मैले डाक्टरलाई सोध्दा उनले भने, ‘यस्तो प्रकृतिले अचेत भएका बिरामीको फर्किने सम्भावना दस प्रतिशत हुन्छ, फर्किहाले पनि मानसिक सन्तुलन ठिक हुँदैन। कोमामा जाने सम्भावना पन्चानब्बे प्रतिशत हुन्छ।’
अठार दिनको ‘विश्वस्तरीय उपचार’ गराउँदा पनि उहाँको स्थितिमा सुधार भएन। बरु दिनदिनै खराब हुँदै गयो। दिमाग फर्किएन। किड्नीले पिसाब बनाउन छोड्यो। हेर्दाहेर्दै शरीरले औषधी लिन नसक्ने भयो।
यसैबीच सेप्टेम्बर ४ तारिक हस्पिटलबाट फोन आयो र हामी हेर्न गयौँ। भारतीय एक डाक्टरले ‘अब अन्तिम अवस्था’ भएको बताए। मुटु चल्न बन्द हुँदै गएको बताए। हामीले देख्दादेख्दै एकपटक मुटु चल्न छोड्यो र केही डाक्टर भेला भएर छाती थिचथाच पारेर फेरि चल्ने बनाए। त्यसको दस मिनेटमा मैले मेरै आँखाले देखेँ, उहाँले अन्तिम श्वास लिनु भयो र छोड्नु भयो। यत्ति भएपछि उहाँको छाती हल्लिन छोड्यो। मैले यति नजिकबाट कसैले अन्तिम श्वास छोडेको भोगेकै थिइँन। भोगेँ। अलिपर बसेर चिन्तित साला भाइलाई ‘बुवा रहनु भएन’ भनेर सुनाइ दिएँ। साउदीमा हुने जेठा साला भाइलाई पनि सुनाइ दिएँ। रास्लाफानमा कार्यरत मेरा दाजुलाई पनि सुनाएँ। तर ससुरालीघरमा सुनाउने हिम्मत भएन। दाजुलाई बुवालाई ‘के गरुँ?’ भनेर सोध्न लाएँ। बुवाले ‘सत्य कुरा भन्दा केही हुँदैन, सुनाइदिनु। केही समय रुन्छन्, कराउँछन् र शव ल्याउञ्जेलमा थाक्छन्’ भन्नु भएछ। कुरो ठिकै लाग्यो र ससुरालीका बन्धु/छिमेकीलाई सुनाइदिएँ। धन्न मेरा साला भाइहरुको मुटु दह्रो रहेछ, होस हराएनन्। बरु संयमता अपनाएर सत्यलाई स्वीकार गरे।
मान्छे भएर होला ज्यान गए पनि आस त हुन्छ नै। कहीँकतै इन्सुरेन्स पाइन्छ कि भनेर कम्पनीको मालिकलाई सोधेँ। जवाफमा उसले सन् २००९ देखि कम्पनीमा कार्यरत कुनै पनि कामदारको बिमा नगरेको बतायो। बिमा गरेकै भए पनि हस्पिटलमा बितेकाले र मृत्युको कारण हृदयघात भएकाले बिमा रकम नपाइने प्रावधान रहेको बतायो। मलाई चित्त नबुझेर कागजपत्र बनाउन दुतावास जाँदा द्वितीय सचिव जयबहादुर राईलाई सोधीहेरेँ। उहाँले पनि ‘जोर नगर्नु, केही नपाइने भएकाले कोर्टकचहरी नधाउनु। ड्युटी सकिएर फर्केपछि अफ ड्युटी हुने भएकाले बिमाको नियमले नै नपाउने छ। तपाईँको क्लेम गर्दा पैसा मात्रै खर्च हुन्छ तर पाउने केही होइन’ भन्नुभयो। हामीले पनि आस मारिदियौँ।
चार दिन कागजपत्र बनाउन दौडधुप गरेपछि हामी शव लान सफल भयौँ। शवलाई लगेज सँगसँगै उता हुने आफन्तले बाहिर निकाले। झापाबाट तीन वर्षअघि ससुराली नगरकोट सरेकाले होला सबै आफन्त दाहसंस्कारमा सहभागी हुन आर्यघाट आएका थिए। सासुआमा र मेरी श्रीमतिको दोहोरो रुवाइसँगै मैले पनि आँसु थाम्न सकिन, लुकेरै रोएँ। बिछोडको बादलले मनको भित्तो हानेपछि आँखाको डिलमा बलेँसी झर्ने रहेछ। झरिरह्यो।
यो घडी मलाई एउटा कुरो साह्रै सम्झनामा आएको छ। दुई छोरालाई ससुराबाले ‘ऋण तिरेर मेरा लागि दुई लाख जम्मा गरिदियौ भने जान्छु’ भन्नु भएको थियो। करिब तीन लाख ऋण तिरेर दुई भाइले दुई लाख जम्मा गरिदिएर ‘अब जानु’ भन्दा उहाँले अर्को अड्को थापेर थप दुई लाख राखिदिन भन्नुभयो। तर केटाहरुले त्यो सपना साकार पारिदिन नपाउँदै बुवाले धर्ती छोड्नु भयो। रेगिस्तानमा आएर मैले लेखेको कविता उहाँमा लागू भएकोमा मलाई ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागिरहेको छ। कता कता म आफूलाई दोषी ठानिरहेको छु।
ससुराबाकै जस्तो वार्षिक सयौँ नेपालीले यहाँ जीवन गुमाइरहेका छन्। ती र तिनका परिवार अल्पकालीन बिमाका कारण सित्तैमा ज्यान गुमाए जस्ता भएका छन्। चाँडै दीर्घकालीन बिमाका लागि नेपाली नियोगले कदम चालोस्। म राजदुत मायाकुमारी शर्माज्युलाई विभिन्न संघसंस्थाका कार्यक्रमको प्रमुख अथिति हुनुभन्दा चार लाख नेपाली श्रमिकको हकहितका लागि योजना बनाउन र कार्यान्वयन गर्नतिर लाग्न हार्दिक आग्रह गर्दछु। ताकि अर्को कुनै कविले फेरि ‘सपनाको अवसान’ नलेखोस् र लेखे पनि त्यो कसैको जीवनमा मेल नखाओस्।
कतै न कतै मेरै कविताको भाव जस्तो भएर ‘जीवनकै अवसान’ भोग्ने ती सबै मृतात्माप्रति मेरो हार्दिक श्रद्धाञ्जलि!
नेपाली नियोग र बैदेशिक रोजगार बिभाग हरुका लागि संदेश
“ससुराबाकै जस्तो वार्षिक सयौँ नेपालीले यहाँ जीवन गुमाइरहेका छन्। ती र तिनका परिवार अल्पकालीन बिमाका कारण सित्तैमा ज्यान गुमाए जस्ता भएका छन्। चाँडै दीर्घकालीन बिमाका लागि नेपाली नियोगले कदम चालोस्। म राजदुत मायाकुमारी शर्माज्युलाई विभिन्न संघसंस्थाका कार्यक्रमको प्रमुख अथिति हुनुभन्दा चार लाख नेपाली श्रमिकको हकहितका लागि योजना बनाउन र कार्यान्वयन गर्नतिर लाग्न हार्दिक आग्रह गर्दछु। ताकि अर्को कुनै कविले फेरि ‘सपनाको अवसान’ नलेखोस् र लेखे पनि त्यो कसैको जीवनमा मेल नखाओस्।”
“सपनाको अवसान”
*चर्चित ढुंगेल*
जसरी गोधुलीको पूर्व सन्ध्यामा
झुल्किन्छन् एक हूल ताराहरु
ठिक त्यसै गरि-
मान्छे नजन्मिदै जन्मिन्छ सपना
बाबुआमाका रहर र चाहनासँगै
बर्षहरु खाएपछि हुर्किन्छ सपना
क्रमशः बालक किशोर र जवान भएर
तन्नेरीसँगै कलेज जान्छ सपना
कुनै सपना अधुरै हुन्छ र रहन्छ
दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो ।
कुनै उच्चतहको प्रमाणपत्र बोकेर
लाग्छ जुत्ता खियाउँदै शहरतिर सपना
शहरमा सपनाले हाल्छ हांगा र पात ।
शहरमा प्रमाणपत्र नबिकेपछि
शहरमा सपना नटिकेपछि
अन्तिम बिकल्प रहन्छ सपनासँग
र लाग्छ हरियो बाँस जस्तै
हरियो पासपोर्ट बोकेर
ल्याकत अनुसारको देश
अमेरिका बेलायत अष्ट्रेलिया
जापान िसंगापुर मलेशिया
वा म जस्तै रेगिस्तानतिर
आफ्नै पैसाले बेचिएर
आफ्नै मलामी बन्न ।
रेगिस्तानमा आएको सपना
बर्षै पिच्छे सपनामै सिमित हुन्छ
दशैँ, तिहार, तीजमा,
ल्योछार, फगुवा, इदमा,
साकेला, उँभौली र उँधौलीमा
डाको छोडेर रुन्छ सपना
मुलुक सम्झेर रुन्छ सपना ।
कति सपना सवारीमा किचिएर मर्छन्
कति सपना टोपी खस्ने टावरबाट खसेर मर्छन्
कति सपना मर्छन् समुन्द्रमा डुबेर
तातो घाममा रन्थनिएर मर्छन् कति सपना
मर्छन् कति सपना विजुली लागेर
तर पनि किन देख्न छोड्दैन मान्छेले सपना ?
दिनहरु महिनामा फेरिन्छन्
सपना सपना नै रहन्छ
महिनाहरु बर्षमा बद्लिन्छन्
सपना फेरि सपना नै रहन्छ
बर्षहरु दसक दसकहरु रतज
र रजतहरु शताब्दीमा फेरिन्छन्
तर पनि सपना सपनामै सिमित रहन्छ
कसले देखायो यस्तो सपना
जो भत्किन्छ खोलाका किनार जस्तै भएर
र एकदिन मर्छ सपना विपना नभइ
सुतेको सुत्यै भएर ।
“सपना को अवसान” पडन पाएको भए राम्रो हुने थियो तर पनि लेखक को सार,लेख को बर्णन ले दुख दायी समाचार हेर्न पाइयो/साएद उहा को ४ लाख समय मै साथ मा भएको भए नेपाल मा आउदा उहा को मृत्यु लाई टार्न सकिन्थ्यो कि?
यो शायद सत्य हो , तपाई को अबचतेन मनलाइ यो घटना को पुर्बानुमान थियो जस्तो छ ,तेसैले एस्तो कविता फुरेको होला एस्तो मैले कुनै बुक मा पनि पढेको थिय .जे होस् लेखको कुरा कैले नि मेट्न सकिदैन
तपाई को ससुरबुबा को आत्मा को चीर शान्ति को कामना गर्दछु
मुलत ब्यङ्ग लेख्न रुचाउनुहुने चर्चितजीको यो लेखले हामीसबैलाइ झक्झक्याउछ . यसमा सपनाको अवसानको कुनै गल्ति देख्दिन मा, त्यो फगत एक संयोग हुनसक्छ . जन्म र मृत्यु हामि मानवको बसको कुरा होइन बरु त्यसलाई सहजरुपमा स्विकार्नु नै बुद्धिमानी हुनजाला . हामीसबैलाइ कुनै न कुनै दिन आइलाग्ने ध्रुवसत्य हो यो मृत्यु . यो अकाट्य छ . नेपालि कुटनीतिक नियोग या दुताबासले आफ्ना नागरिकको सुरक्षाकोलागी यथाशिघ्र पहल गर्नु पर्छ
मृत आत्माले चिर शान्ति प्राप्त गरोस, र सबैलाई यो पिडामा धैर्य धारण गर्ने शक्ति मिलोस |
तर मलाई उहाको को मृत्यु प्रस्तुत गर्नुभएको वाक्य पटक्कै मन परेन !
“….अबको चोटी जाँदा ‘फिनिष्ट’ जाने उहाँको विचार थियो तर त्यो अधुरै रहेर उहाँ त यो संसारबाटै पो ‘फिनिष्ट’ जानु भयो।…..”
संसारबाटै पो “फिनिस्ट” जानुभो भन्दा धेरै नै हलुका भयो |
“अब को चोटी नेपाल जादा नाफर्किनी गरेर जाने उहाको विचार थियो तर त्यो अधुरै रहेर उहा संसारमा फेरी नाफर्किनी गरेर जानुभयो ” जस्तो वाक्य अलि बोझिलो हुन्थ्यो होला |
फेरी पनि , यो दुखद घटना मा हार्दिक समबेदना |
मित्र साहित्यकार ढुंगेल जी,
प्राकृत साहित्य भनेको मानब समाजका घटना परिघटनासंग पृथक र अप्रासंगिक रहदैनन यसर्थ तपाइको साहित्यिक रचना त्यसबाट बिमुख रहेन | त्यतिमात्र हो मित्र, संयोगबस तपाइको साहितिक सृजनाले बिम्बित गरेको परिघटना तपाइकै परिवारमा घट्नुले तपाइँ
अलिक बिचलित र पाठक वृन्दमा आश्चर्यको तरङ्ग उठ्नु अस्वभाविक होइन | साहितिक सृजना बाट बिचलित नहुनुहोस किनकि यथार्थपरक साहित्यिक सृजनामा बास्तबिकता बोधको शक्ति हुन्छ त्यसले समाजलाई डोर्याउने काम गर्छ | तपाइँ माथि परेको शोक युक्त पिडामा मेरो हृदय स्पर्सि सहानुभूति छ भने मृत आत्माले चीर शान्ति पाओस |
आर के कश्यप
बेलायत
सार्है दुख लाग्यो,हर्दिक श्रदान्जली,
हार्दिक समवेदना !!!!!!! उस बेला तपाई ले लेखेको मन को भावगंगा थियो जस संगै तपाइको ‘सपना को अवसान ‘ रुपी डुंगा सयेर गरिरहेको थियो, तर जब त्यो किनारा लग्यो त्यहाँ पुगेर मुर्त रुप पायो येस्लाई संयोग सम्झनु भयो भने छानिक भए पनि आढेस लाउने चौतारी भेटे को महसुस हुने छ / तपाइको यो मुर्त कथा ले सचि नै मन छुयो / लेखाई यात्रा अविरल अविरल अघि बढी रहोस ………/ रवि बुढाथोकी tinian cnmi usa //
बस्तिबक घटना मा आधरित यो लेख ले मन छोयो ,,,,
सधै रमाइलो लेखेर हसाउने अनि समाज को लागि नया संदेश दिने चर्चित जी अहिले को यो article ले त साचै नि खाडी तिर को अरु दाजु भाई तथा दिदि बहिनि को लागि र त्यहाँ काम गर्ने नेपाली deplomat को लागि सहि सूचना दिए जस्तो लाग्यो . धेरै धेरै धन्यवाद
सर्ब प्रथम, एउटा अर्को मन छुने रचना को लागि धन्यबाद, ससुरा गुमाउनु भएकोमा हार्दिक समबेदना र मृत आत्मा को चिर शान्ति को कामना |
जहाँ सम्म किन यस्तो रचना गरेछु भन्ने तपाई को कुरा छ मेरो धारणा यस्तो छ | कुनै पनि राम्रो रचना एकाग्र मनले मात्र गर्न सक्छ | अनि जब मन बास्तबमै एकाग्र हुन्छ, यसले भुत भबिष्य सबै देख्छ | त्यसकारण दोष तपाई को होइन, तपाई ले एउटा भबिष्य मा घट्ने वास्तविकत लाई लिपि बध्ध गर्नु मात्र भएको हो |
मैले कतै पढेको थिए, यो संसार मा घट्ने जुन सुकै घटना को पनि केहि उद्देश्य हुन्छ | अर्थात्, हरेक घटना केहि उद्देश्य ले घटेको हुन्छन | तपाइको लेख लाई यस अर्थ मा लिनु भयो भने चित्त बुझाउन सजिलो होला |
मन परे हरियो नपरे रातो
कहिले कहिँ भनेको लाग्छ भन्छ