Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न

Posted on December 29, 2012December 29, 2012 by mysansar

– विभोर बराल –

आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी सक्नेछ। काम नलाग्ने भनेर केब्नेकाइसे रअन्य केही ढिस्काहरूमा छाडिएका कपासका अवशेष बाहेक, बाँकी स्विडेन ठूलो हरियो गलैंचाले ढाकिने छ। ठाउँ-ठाउँमा सजाइनेछन् सुगन्धित ‘विल्डकाप्रिफोल’ फूलहरू। फेरि छाउनेछ उही उल्लास अनि न्यानोपन। तर बरफ बनेर जमेको मेरो मुटुलाई यी मौसमी परिवर्तनहरूले पगाल्न सक्ने छैनन्।

शान्ति यति उत्तेजक हुन्छ भन्ने मलाई थाहा थिएन। यसको मौन गर्भमा छटपटी र उकुसमुकुसको आर्तनाद लुकेको हुँदोरहेछ। चित्कारका थुम्काहरू छिचोदै अगाडि लम्किएको बटुवाम, घाँटी तन्काएर जिन्दगीको बिराट पहाडको टुप्पोमा हेर्नखोज्थेँ। अनि, आँखामा नाच्थ्यो एउटा मनोरम दृश्य- आरामकुर्सी, एकान्त र कुर्सीमाथि सुस्ताई रहेको म। परिस्थिति झन्डैकल्पना गरिएकै जस्तो छ। एकान्त छ, कुर्सी छ; छैन त केवल आराम। जीवनभर कल्पनागरेको त्यो शान्त शिखर वास्तवमा संसारभरका क्रन्दनहरूको सघन पिण्ड रहेछ। त्यसपिण्डको टाकुरोमा उपरखुट्टी लगाएर म अहिले गर्न खोज्दैछु जिन्दगीको आत्मसमीक्षा। अन्तरमा आँधी-बेहरी चलेको छ। मनमस्तिस्कमा फनफनी रिंगिरहेका छन् जिन्दगीका एकएकपानाहरू। एउटा प्रश्न हतारमा सोध्छु आफैलाई, ‘के जिन्दगी साह्रै निरस र विकल बित्यो ?’। उत्तर पहिल्यै थाहा छ, पुनः पक्कागर्न मात्र खोजेको हुँ। ‘जिन्दगी वास्तवमा निकै रोमान्चक र बिन्दास रह्यो !’

***

क्रिस्टिना…। हो, क्रिस्टिना नै थियो उसको नाम। मलाई प्रष्टै याद ऊ सँगको पहिलो भेट। ठमेलको चल्तीको होटेलको ‘ब्याकरुम’मा म ब्यस्त थिएँ आफ्नो कार्य-सम्पादन गर्न। मेरोआँखामा झीर रोपेर मजा लिइरहेको घाम अचानक छेलियो। टाउको उठाएर हेरेँ, हिउँ जस्तो मुखमा उस्तै चिसो भाव बोकेकी पहाड जत्री युवती केही भन्दैछे। उसले धेरै कुरा बोली, मैलेएउटा शब्द मात्र बुझेँ- स्कुल। त्यस समय म चौध लागेको थिएँ। मैले माझ्ने भाँडाहरूको राश म जत्रै अग्लो थियो। तीन बर्षअघि सो होटेलमा पहिलो पटक छिर्दा ती भाँडाहरूको थुप्रोमलाई पहाड जत्रै लागेको थियो, गाउँमा छोडेर आएको ढुल्के पहाडकै सानो रूप जस्तो।

ढुल्केकै फेदमा हाम्रो घर थियो। म जन्मिनु र आमाले संसार छोड्नु एकै पटक भएको थियो रे। म बुझ्ने हुँदा हाम्रो घरभित्र अभावको पहाड अग्लिसकेको थियो। बाले कान्छीआमाल्याएपछि त त्यस पहाडमा काँडा उम्रेर आए र मलाई दिनरात मरणासन्न हुनेगरी घोच्न थाले। विशाल ढुल्केको अवरोधका कारण लामो समय मैले त्यो घोचाई सहन बाध्य हुनु पर्यो।एकदिन जब कान्छीआमाले स्कुल जान पूर्णतया बन्द गराईदिइन्, मलाई लाग्यो अब बेला भयो। उमेरसँगै पहाड चढ्न सिकिन्छ। एघार बर्षको उमेरमा गाउँका केही केटाहरूसँगै म पनिढुल्केको ढाड टेकेर काठमाडौँ खाल्डो छिरेँ।

हिउँ जस्तो अनुहार भएकी पहाड जत्री युवती अझै मेरो उत्तरको प्रतिक्षा गरिरहेकी थिई। म भने अरू नै सोचमा डुबेको थिएँ- अजङ्गको ढुल्के त चढियो, तँ कुन चाहीँ नयाँ सगरमाथाहोस् र !

त्यतिकैमा साहु आइपुगे। निकै बिनम्र हुँदै उनले युवतीलाई केही भने। बोल्दा उनले आफ्ना हातहरू मोलिरहेका थिए, मैले साबुन लागाएर हात धुँदा गरे जस्तै। युवतीले एक चिसो दृष्टिमतर्फ फ्याँकी, झन् कठ्याँग्रिई र त्यहाँबाट हिँडी। युवती हिँडेपछि साहुको मुहार परिवर्तित भयो। उनी फत्फाताउन थाले- ‘यो क्रिस्टिनालाई ब्याकरुममा किन आउनुपरेको। कति चासोयसलाई, तँ स्कुल गए पनि नगए पनि यसलाई के मतलब। मैले तँलाई काम दिएकै छु, खानबस्न पाएकै छस्, साथमा महिनावारी तलब पनि।’ उनले आफ्ना बल्ड्याङ्ग्रे आँखालेमलाई हेरे।

मैले हडबडाएर भनें – ‘अम्रिकानेहरू यस्तै हुन्।’

‘यो अमेरिकाकी हैन स्विडेनकी हो’, साहुले भने।

मैले त्यसबखत दुईवटा कुरा थाहा पाएँ- त्यो युवतीको नाम क्रिस्टिना हो र सबै गोराहरू अमेरिकन होइनन्। मैले क्रिस्टिनलाई फेरि भेटें। ऊ उसका साथिहरूसँग थिई। योहाना नामकीअर्की स्विडिस युवती राम्रोसँग नेपाली बोल्दिरहिछे। योहानाको मद्दतले क्रिस्टिना र मेरो लामो कुरा भयो। त्यस दिन क्रिस्टिना पहिले देखिएकी जस्तो चिसी थिइन, न्यानी थिई। उसकोमुहार उज्यालो थियो अनि बेलाबेला उसका आँखा यसरी बल्थे मानौ सलाईको काँटी कोरिएको होस्, झ्यार्र!

क्रिस्टिनाले ममाथि किन त्यति रुची लिइराखेकी थिई मलाई थाहा छैन तर उसले दर्शाई रहेको चिन्ता चाहिँ मेरो पढाईसँग सम्बन्धित थियो। हुन त म पढाई बन्द गरिदिएको झोँकमाघरबाट भागेको थिएँ, तर अब मेरो प्राथमिकताबाट पढाई तल झरिसकेको थियो। क्रिस्टिनाले स्विडेन बच्चाहरूको लागि स्वर्ग भएको कुरा बताई। स्विडेनमा सबैलाई सरकारले पढाउँछभन्दै मलाई स्विडेन आउने निम्तो दिई। मैले पनि हुन्छ भनिदिएँ। तर स्विडेन जानु उसले ‘आऊ’ र मैले ‘हुन्छ’ भनेजति सजिलो थिएन। त्यसमाथि त्यसदिनदेखि क्रिस्टिना नैगायब भई। मलाई भने स्विडेन जाने भूत चडिसकेको थियो।

रोग जस्तो सुकै होस् ठमेलसँग सबको ओखती थियो। चार बर्ष ब्याकरुममा गरेको कर्मबाट आर्जित सम्पतिको बदला मैले पाएँ स्विडेन छिर्ने भरपर्दो मार्गचित्र। म भर्खर अठार लागेकोथिएँ, तर मेरो हातमा रहेको पासपोर्टले भन्थ्यो अठाइस। सोही पासपोर्टको मद्दतले भारत हुँदै म जर्मनी पुगें। मेरो बाटो अलि लामो थियो तर थियो सुरक्षित; मलाई पासपोर्ट बेच्नेलेभन्थ्यो- ‘टेस्टेड!’

म जस्तो गरी जर्मनी पुगेका नेपालीहरू त धेरै रहेछन्। म सानै थिएँ, सबैले माया गरे। त्यहाँ रहेका नेपालीहरूले भेटाई दिएको अरबी दलालको पछि लागेँ। हिउँ परिरहेको थियो।मध्यरातमा हामी सेतो लुगा लगाएर हिंड्दै-हिंड्दै डेनमार्क छिर्यौँ। डेनमार्कबाट भने म एक्लै बस चढेर स्विडेनको राजधानी स्टकहोम आएँ।

स्विडेन त आएँ अब गर्ने के? यत्रो ठूलो देशको कुन कुनामा होली क्रिस्टिना। सात बर्ष बितिसक्यो, उसले त मलाई बिर्सी सकी होली। व्यग्रता धेरै दिन रहेन किनभने मेरोप्राथमिकतामा पुनः परिवर्तन आयो। स्विडेनमा जमेका मधुर दाइको ठेगाना मैले जर्मनीमै पाएको थिएँ। मधुर दाइले मलाई सिकाए स्विडेनमा जम्ने उपाय- डिस्को तथा नाइट क्लबकोभ्रमण। दुर्भाग्यवश त्यो उपाय काम लागेन। प्रायजसो डिस्कोमा मलाई ‘अन्डर एज’को भनेर छिर्नै दिइएन। म एक्काइस बर्षको हुँ भन्थेँ तर उनीहरू कागजी प्रमाण माग्थे। तर मसँगकागज त केही थिएन। भएको एउटा पासपोर्ट पनि जर्मनीमा भेटिएका नेपालीहरूको सुझाबमा त्यहीँ सेलाई दिएको थिएँ।

मधुर दाइ पक्का मान्छे थिए। ‘भाइ तिमीलाई तिम्रो बाहिरी व्यक्तित्वले धोका दियो तर अब यसैलाई हतियार बनाऊ’, उनले अर्को उपाए लगाए। पहिले पुलिस देख्दा परैबाट भाग्ने मआफैँ पुलिस चौकी पुगेर आत्मसमर्पण गरेँ, र भनें, म शरणार्थी, १७ बर्ष, अन्डर एज ! यसरी म स्विडेनको नागरिक बनेँ र साथमा पाएँ फोसाका स्विडिस बाउआमा। दुईबर्ष नियमितस्कुल गएँ, खुब राम्रो सँग पढें। तर पछि स्विडिस अभिभावकसँग कुरो मिलेन। न बाउ पट्टिका न आमा पट्टिका, छोडिदिएँ घर।

मेरो प्राथमिकताको सुचिमा फेरि परिवर्तन आयो। अब मलाई धेरै पैसा कमाउनु थियो, आफ्नै खुट्टामा उभिनु थियो। त्यसको लागि मधुर दाइसँग मिलेर सुरु गरियो व्यापार – ओर्गानिकचिया र कफीको। हाम्रो योजना थियो- नेपालबाट सस्तोमा ल्याउने, यहाँ महँगोमा बेच्ने अनि चाँडै मालामाल हुने। तर स्विडेन सरकार त फटाहा रहेछ, साठी प्रतिशत कर लिएपछिजनता कसरी हुनु मालामाल। आइडिया मास्टर मधुर दाइले तेस्को पनि तोड निकाले। कम्पनी दर्ता गरियो पोल्याण्डमा अनि व्यपार चाहिँ स्विडेनमा। ठूलो रिस्क लिइएको थियो,भगवानप्रति आपसेआप श्रद्धाभक्ति उम्लिएर आयो। साह्रै ब्यस्त दिनचर्‍या सुरु भयो त्यसपछि। पाँच दिन काम, शुक्रबार रातिदेखि शनिबार रातिसम्म जारिरहने स्विडिस रासलीला रआइतबार भजनकिर्तन।

केही बर्षपछि मधुर दाइले भने, ‘भाइ अब यसरी सधैँ बगेर भएन, जम्नु पर्यो।’ उनको संकेत विवाहतर्फ थियो। उनले दुई उपाय बताए- कि कुनै राम्री स्विडिस समात कि नेपाल जाऊ,एउटी सोझी खोजेर ल्याऊ। मलाई दोश्रो विकल्प मनपर्यो। आखिर म नेपाली हुँ, संस्कार परम्पराको त विचार गर्नु पर्यो नि। अरु कुराहरू ठिक छ तर बिहे नै त यहाँकाछिल्लिएकाहरूसँग गर्नुहुँदैन।

अब मसँगै जिन्दगीको पहाड उक्लिन आइपुगिन् पार्वती। यात्राको दौरान सुरुमा उनले मलाई उपहार दिइन् छोरी – क्रिस्टिना। हो मैले नै जोड गरेर छोरीको नाम क्रिस्टिना राख्न लगाएकोथिएँ। पार्वती त मेरो नामसँग मिल्ने नाम राखूँ भन्दै थिई- सरोजकी छोरी शीला। मेरो तर्क थियो- छोरी स्विडिस हो, नामको कारणले उसलाई कुनैपनि किसिमको ह्युमिलिएसनअनुभव गर्नु नपरोस्। पार्वती चुप लागी।

पाँच बर्ष पछि फेरि घरमा खुसियाली छायो। यसपटक छोरो जन्मियो। मभित्रको हिन्दु पिता उफ्रीउफ्री नाच्न थाल्यो। खुल्यो, स्वर्गको ढोका खुल्यो! छोरोको नामकरण गर्ने अधिकार चाहिँमैले पार्वतीलाई दिएँ। उसले पनि राम्रैसँग प्रयोग गरी आफ्नो आधिकार। सरोज र पार्वतीको – ‘सपुत’। सुरुमा त मलाई नाम अलि अचम्मको लागेको थियो तर पछि स्वाभाविक लग्नथाल्यो, मनपर्न थाल्यो। अब मेरो दिनचर्‍या थोरै बदलियो। ब्यापारको झन्झट र भागदौड त छँदैथियो तर जति पनि समय बच्थ्यो म सपुतसँग खेल्न कुदिहाल्थें।

ब्यापार बढ्दै गयो। सरकारले कडा कानुन ल्याउंथ्यो, हामी झन् कडा तोड पत्ता लगाउँथ्यौँ। मेरो प्राथमिकताको सुचीमा फेरबदल भइरहन्थ्यो। उकालो चढ्नु सौख बनिसकेको थियो।नयाँनयाँ चुलीहरू पत्ता लगाउँदै, तिनमाथि विजय प्राप्त गर्दै अगाडि बढ्दै गरियो। कुनै पहाड साना थिए, कुनै मझौला, कुनै हल्का ठूला। तर एकदिन एउटा अजङ्गको पहाड मेरोटाउकोमाथि बज्रियो, म चित्त खाएँ।

‘तिम्री छोरी एउटा अफ्रिकी केटोसँग सल्केकी छे, छिटै केही गरिहाल!’ मधुर दाइले चट्यांग खसाले, म हजारौं भोल्टको करेन्ट लागेको जस्तो भई छटपटाएँ।

मलाई थाहा नै भएन क्रिस्टिना कहिले ठूली भइ भनेर। ऊ पन्द्र कटिसकिछे र सल्किसकिछे कुनै अफ्रिकी केटोसँग। उसलाई स्विडिस नाम दिएर स्विडिस बनाउन खोजेको थिएँ, छोरीसाँचै स्विडिस भएर निक्ली। तर बाउ त उसको नेपालीको छोरो हो। संस्कार, परम्परा, धर्म, समाज, संस्कृति- थाहा छैन अरू यस्ता कति पहाडहरूले किचे मलाई। केही त गर्ने पर्थ्यो,गरेँ। छोरीलाई झापरेँ, पिटेँ र कोठामा थुनिदिएँ। छोरीलाई तह लगाउँदै गर्दा कहाँबाट वर्षौ अघि ठमेलमा सपना देखाएर गायब भएकी क्रिस्टिनाको याद आएछ। त्यो क्रिस्टिनाको भागकोरिस पनि छोरी क्रिस्टिनाले पाई।

घरमा ठूलै होहल्ला भएको देखेर छिमेकीले प्रहरी बोलई दिएछन्। सोचें, एकरात स्विडेनको मामाघरमा बिताउनु पर्ने भो। तर, प्रहरीको योजना अलि लामै रहेछ। छोरीले आरोप लगाइछे-मेरो बाउले मलाई बलात्कार गर्यो। त्यो सुनेर म बेहोश जस्तै भएँ। हातगोडा लल्याक लुलुक भए। कतिसम्म नीच निक्ली मेरी छोरी। आफ्नै बाउलाई यति निम्न स्तरको आरोप लगाउने हो ? घन्टौंसम्म त विश्वास नै लागेन। होइन होला, छोरीले यत्रो ठूलो झुठ त बोलिन होली। तर वास्तविकता त्यहि थियो। पार्वतीको याद आयो, बिचारीलाई कस्तो भइरहेको होला। छोरीको यो घटिया कामले उसलाई कति दुखी पारेको होला। बिचारीले केही गर्न पनि त सक्दिन, केही भनूँ छोरीले अर्को कुनै गम्भीर आरोप लगाईदेली। वर्षौँ अघि क्रिस्टिनालेभनेको सम्झेँ- बाच्चाहरूको लागि स्विडेन स्वर्ग हो। तर बाउआमाको लागि नि ?, मलाई सोध्न मनलागेको थियो।

***

कोठा अलि सानो छ तर राम्रै छ। एउटा खाट, एउटा टेबल, एउटा कुर्सी अनि कोठामा एकजना म। अब दुखी भएर के काम बरू यो समस्याको सर्वोत्तम समाधान के होला त्योपत्तालगाउन तर्फ लाग्नु बेस। मधुर दाइले राम्रो वकिल खोजिहाल्नेछन्, वकिलले मेरो पक्षमा तर्क गरिहाल्नेछ। मुद्दा लामै चल्नेछ। ओहो, क्रिस्टिनाको शारीरिक परिक्षण पनि तगरिने छ। कस्तो लाजमर्दो कुरो। मैले मुद्दा जिते पनि हारे पनि बदनामी त छोरीकै हुनेछ। छोरीको इज्जत जोगाउनु मेरो कर्तव्य हो। तर कुलंगारले यस्तो आरोप लगाई कि उसलाईबदनाम हुनबाट बचाउने उपय नै देखिंदैन। छोरीको शारीरिक परिक्षण गरिनु, आत्मै च्यात्तिने प्रश्नहरू सोधिनु, मुद्दा लम्बिनु अनि बजारभरि हल्ला फैलिनु। यी सब प्रक्रियालाई अगाडिबढ्नै नदिने उपाय के होला? कति राम्रो हुन्थ्यो बरु म ढुल्के नउक्लेको भए; ढुल्के उक्ले पनि ठमेलमा क्रिस्टिनालाई नभेटेको भए; उसलाई भेटे पनि उसको आँखामा बलेको आगोमानसल्केको भए। यस्तो भईदेको भए कस्तो हुन्थ्यो भनेर सोच्नुले अब केही समाधान दिनसक्दैन। यही पहाड चढ्ने नशाले यो अवस्थामा पुर्‍यायो, अब मेरो अन्तिम शिखर आरोहणलेसमस्यामा पूर्ण बिराम लगाई दिनेछ। मलाई चाहिने औजार तयार छन्- कुर्सी, तन्ना अनि ट्वाइलेटको ढोकाको खापा। तर मनमा एउटा सोचले निरन्तर घोचिरहेछ, बिचरी मेरी छोरी-क्रिस्टिना !

13 thoughts on “कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न”

  1. sabita says:
    December 30, 2012 at 3:02 pm

    यो कथा न भै कन सत्य घटना हो, हेर्नुस त सन्तान ले न राम्रो गति लिदा के हालत हुन्छ , सबै ले सोच्नु पर्ने कुरा 1 थुक्क छोरी !!!!!!!1

    Reply
    1. sabita paudel says:
      January 6, 2013 at 1:26 am

      सत्य घटना हो भन्दा झन् कस्तो दुखः लग्यो..धिक्कार लाग्ने भन्या..मानवता, नैतिकता, कृतज्ञता, केवल सब्द मा मात्र सिमित हुन गएको हो कि क्या हो?

      Reply
  2. hari says:
    December 30, 2012 at 2:03 pm

    सुपर लाइकड , तर यो पढ्दा कता कता वास्तविक नै हो कि जतो पनि लागिरह्यो . अरु पनि कथाहरुको लागि सुभकामना

    Reply
  3. Nabin Thapaliya says:
    December 30, 2012 at 1:58 pm

    कथाको सिर्शक र यस्को निचोड्ले अलि मेल नखाएको हो कि ? वास्तवमा बिषयबस्तु सन्देशमुलक अनि वास्तविकताको धेरै नजिक रहेको छ । बिदेशी माटोमा ब्यस्त रहने बाबु आमाले बेलैमा आफ्ना सन्तानलाई राम्रो सन्स्कार दिन नसके दोस्रो पुस्ताका क्रिस्टिनाहरुले आफू जन्मिएको ठाउमा जे देखे ,सिके त्यही गर्नु अस्वाभाबिक पनि हैन ।

    Reply
  4. bibek dhakal says:
    December 30, 2012 at 8:53 am

    कथा को अन्त्य नेपाली सामाजिक द्रिश्टिकोणबाट अलिकति पचाउन गार्हो भएपनि एउटा विदेशको खुला समाजको “पर्स्पेक्तिभ ” मा भने यथार्थपरक नै छ. कथा ले थोरै सब्दमा धेरै संदेश दिएको पाएँ मैले. लेख्दै जानुहोला! शुभकामना ( बैदेशिक नया बर्ष को पनि !)

    Reply
  5. murari says:
    December 30, 2012 at 7:12 am

    हुन त नेपालमा नै बसे पनि यस्ता खालका समस्या नभएका होइनन र अबको समयमा जाति अनि बर्न भेद गर्न कानुनले नै बर्जित गरेको कुरा पनि बिर्सनु हुदैन/ तर पनि विदेश मा बस्ने नेपालीहरु सबैलाई झसङ्ग बनाउने खालको कथा रहेछ/ कति नेपालीहरुले भोगिसकेको नियति अनि अझै कतिले भोग्नु पर्ने व्यथा हो यो / समग्रमा भन्नु पर्दा, कि विदेश नआउनु आइसके पछि यस्तो अबस्थामा मन दरो बनाएर आफ्नो सोचाईलाइ फराकिलो बनाएर विदेश को जीवन पद्दति लाइ स्विकार्नु भन्दा अर्को विकल्प छ जस्तो लाग्दैन//कथा यथार्थ परक र लेखाइ समय संदिर्विक लग्यो/ बरालजीलाइ कथाको लागि धेरै धेरै धन्यबाद/

    Reply
  6. Niran Malakar says:
    December 30, 2012 at 5:47 am

    It’s not Bivor’s Story but It is some one else’s true story. He suicided. He was death. I do not want to mention here any name But THIS IS TRUE STORY. It happened some years ago.

    Reply
  7. Sayapatri says:
    December 30, 2012 at 5:03 am

    राम्रो प्रयास गर्नुभएको छ | अन्त्य पनि त्यहि अनुसारको भएको भए राम्रो हुन्थ्यो | त्यत्रो पहाडहरु चढेर त्यहाँ सम्म पुग्न सफल हुनुभएको मान्छे आफ्नो छोरीको गल्तीमा मैन जस्तै पग्लिएर समाप्त नै हुनु पर्ने सोचाई चाही अलि ठिक लागेन | अरुपनि राम्रा कथाहरु पढ्न पाइयोस, यहि शुभकामना छ |

    Reply
  8. Bishwaraj says:
    December 30, 2012 at 4:20 am

    साह्रै लामो लेख- अहिलेको ब्यास्तता र समयलाई बीचार गरेर छोटकरीमा लेख भए सवैले पद्छन- पहिला जस्तो ३ घण्टा फीलीम हलमा बिताउने समय उपन्यास पड्दै पागल हुने समय अहीले कसैको छैन- ,

    Reply
  9. श्रेय नेपाली says:
    December 30, 2012 at 12:50 am

    कथा ठिकै हो, तर अन्त्य चै अलि कलिउड पाराकै भयो. तर पनि एस्तो अन्त्य पनि हुन सक्छ कहिलेकाही. अब विदेश गएर international environment मा adjust भै सकेपछि छोरा छोरी काले, गोरे तिर लागे भनेर संसारै सिद्दियो कि जस्तो पनि गर्न भएन नि बिसौ वर्ष विदेश बसेको मान्छेले. फेरी आफ्नै पालामा पनि गोरी बिहे गरौ कि भनेर ताक्ने बाउले काले संग छोरी लागि भनेर उही गोर्खे सैलिमा पिट्नु पनि त भएन. येदि कसैको रेअल स्टोरी हो भने नखाको बिष नालागोश, बलात्कारको आरोप खारेज होस्

    Reply
  10. Pratibha says:
    December 29, 2012 at 11:48 pm

    कथा बिस्ताबिकताको नजिक हुनुपर्छ अनि बल्ल पढन मज्जा आउछ, छेउन टुप्पाको कथा मलाई त लेखकले एस्तो मनोदशा प्रति दया लाग्यो, कि लेख्न छोड्नु या मनोदशा परिबर्तन गर्नु बेश

    Reply
    1. Vijay, Finland says:
      December 30, 2012 at 11:19 pm

      तपाई को सोच प्रति दया जागेर आयो !

      Reply
  11. Ashok says:
    December 29, 2012 at 8:42 pm

    धेरै राम्रो साहित्य, तर अन्न्त्यामा मा चै खै के खै के!!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme