Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः अपूर्ण प्यास

Posted on December 22, 2012December 22, 2012 by mysansar

-अनुपम रोशी-
एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ।
छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे।
ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे।
त्यसैले त अघिदेखि खाना खान आऊ भनेको तिमीहरुलाई, मान्ने होइन, घरको काममा अल्झनु पर्दा दिक्क लाग्छ उसलाई।
अनि जहिले जानु पर्छ त ? छोरी रिसाएकै पारामा बोल्छे।
जानुपर्छ नि, तिमीहरु किन बुझ्दैनौ मम्मीलाई ? ऊ छोराछोरीलाई खाना ख्वाउँदै भन्छे।
मोबाइल बज्छ, हजुर…।
म आउँदैछु साथी, त्यहीँ भेटौँ न हुँदैन ?
यो सुनेर छोरी रिसाउँदै उठ्छे।
वर्षाले फोन राख्दै छिटोछिटो आफ्नो भागको खाना सिद्धयाउँछे।
छोराछोरी, घर समालेर बाहिरी काममा पनि राम्रै सहभागिता छ उसको। ऊ एक शिक्षित नारी हो। उसको लोग्ने पनि राम्रै इन्जिनियरमा गनिन्छ। यत्तिको सम्पन्नतालाई राम्रै मान्नुपर्छ नेपाली समाजमा।

अभाव र आवश्यकता त्यसमाथि पनि लोग्नेकै खटनमा बस्नपुर्ने आम नेपाली नारीहरुको बाध्यता छैन उसलाई। उसको जीवन शैली अरुको भन्दा निकै स्वतन्त्र र सम्पन्न छ। त्यसैले त ऊ जागिर खाँदै खुलेर संघसंस्थामा लागेकी छ। कार्यक्रम र सेमिनार धाएकी छ।
यो समयमा उसलाई चिन्ने निकै भएका छन्। न फेसबुकमा फूर्सद छ, न फोनमा। न अफिसमा फुर्सद छ न घरमा, जहाँ पनि चटारो। एउटै व्यस्तता।

सँधै नटुङ्गिने छटपटी बोकेर ऊ कार्यक्रममा पुग्छे। कसैलाई नमस्कार गर्छे त कसैसँग हात मिलाउँछे। उसको आगमनलाई हार्दिक स्वागत गर्नेहरुको ठूलै भिड छ काठमाडौँमा।

एउटी सम्पन्न देखिने टाठीबाठी, त्यसमा पनि रुपले राम्री भएकी युवती पुरुषहरुको भिडमा आकर्षणको केन्द्रबिन्दु नबन्ने त कुरै थिएन। त्यसमा पनि हरेक मान्छेसँगको फरक फरक र विचित्रको व्यवहारले निकै उत्तेजित छ पुरुष समाज।

उसलाई अर्को कार्यक्रमबाट पनि निम्तो आएको छ। त्यहाँ पनि नगई भएको छैन। कार्यक्रम लम्बिएको देखेर छटपटाउँछ उसको मन।

के गरुँ के नगरुँ भएर उभिन्छे ऊ।

ऊभित्र एक खालको छटपटी बोकेको मन छ, कहीँ गए पनि स्थिर भएर बस्न सक्दिन ऊ, कार्यक्रमको बीचमा पनि धेरैलाई भेटेर कुरा गर्न भ्याइसक्छे ऊ। शायद समयलाई खेर नफाली प्रयोग गर्न जान्ने ऊ नै हो।

अघिदेखि आँखा जुधिरहेको एक नयाँ लोग्नेमान्छेलाई देखेर मुस्कुराउँदै अघि बढ्छे ऊ, नमस्कार म वर्षा।

म फलाना…

नयाँ मान्छेसँग परिचय गर्नु उसको लागि नयाँ होइन। आज परिचय भयो, भोलि सँगै रेस्टुराँमा खाएको देखिनु कुनै नौलो पनि होइन।

उसको फोन नम्बर आफ्नो मोबाइलमा सेभ गर्दै फेरि भेट्ने वाचा गर्छे।

करिब दुई घन्टामा कार्यक्रम सिद्धिन्छ। वर्षाको अघिदेखिको अप्ठ्यारो पन्छिन्छ। उपस्थित सबैलाई मधुर मुस्कान बाँडेर विदा लिँदै ऊ हतार हतार बाहिरिन्छे।

सबलाई नजिक भइदिए हुन्थ्यो भन्ने पुरुषहरु उसको औपचारिकतामै चित्त बुझाउन बाध्य हुन्छन्। ऊ बाहिरिएपछि निराश हुनेहरु पनि कम छैनन्।

बाहिर कारमा टाइसुटवाला एक पुरुषले निकै बेरदेखि पर्खिरहेको थियो उसलाई।

सरी यार, ढिलो भयो। टक्सन कारमा चढ्दै भन्छे उसले।

कति ढिलो गरेकी त ? झन् छिटो गर्नु भनेर उति बेला फोन गरेँ।

के गर्ने, कहिलेकाहीँ कार्यक्रम छाडेर निस्कन अलि मिल्दैन।

अनि जानैपर्छ त कार्यक्रममा ?

जानु त पर्‍यो नि, गाल जोगाउन पनि घरमा कार्यक्रममा जान्छु भनेर निस्केपछि।

बित्थामा कति धाउँछ्यौ ? यो खानु न पिउनुको कार्यक्रम।

खानु र पिउनु मात्रै ठूलो कुरा होइन केहीसँग चिनिनु पनि पर्छ।

ठीकै छ, अब भन कता जाने ? प्रसङ्ग बदल्दै सोध्छ टाइसुटवाला पुरुष।

तिमी नै सोच न।

हिजो गएको ठाउँमा कस्तो हुन्छ ?

हुँदैन, एकै ठाउँमा बारम्बार जाँदा शङ्का हुन्छ।

त्यसो भए कता जाने त ?

काठमाडौँमा होटलको कमी छ र ? हिँड न ठमेलतिर। वर्षा पर्सबाट सानो ऐना निकालेर अनुहारको मेकअप मिलाउँदै भन्छे।

पुरुष दरबारमार्ग हुँदै गाडी ठमेलतिर मोड्छ।

आज त निकै राम्री देखिएकी छौ नि, उसले वर्षाको गाला समात्दै भन्छ।

कहिले थिएँ र नराम्री ? ऐना ब्यागमा राख्दै बोल्छे वर्षा।

त्यो त हो तर पनि आज निकै फ्रेस देखिएकी छौ। पुरुष मस्किँदै भन्छ।

भो धेरै मक्ख नपार, तिमी पनि फ्रेस नै देखिएका छौ, वर्षाले पनि मस्किँदै भन्छे।

गाडी होटल हिमालयभित्र छिर्छ। गाडी पार्किङस्थल पुर्‍याएर वर्षाको शरीरमा हात पुर्‍याउँछ उसले।

कति हतार गरेको ? यताउता हेर्दै अलिक अप्ठेरो माने जस्तो गर्दै बोल्छे वर्षा।

उनीहरुमाथि उक्लिन्छन्।

म्यानेजरको वक्र मुस्कानले वर्षाको अनुहार झुक्छ।

एम नम्बर एक सय एघारको साँचो लिएर वेटरसँगै उनीहरु कोठातिर लाग्छन्। पानी र दुई वटा कफी पुर्‍याएर वेटर बाहिरिएपछि ढोका ढ्याप्प लाग्छ।

कफी पिउँदै पुरुष वर्षाको छातीमा हात फिराउँछ। उसले ब्लाउजको हुक खोलेर भित्र हात पुर्‍याउँदा, कत्ति न कुमारी केटी जस्तो गरी चम्किन्छे वर्षा।

कफीको कप टेबुलमा राख्दै एक बच्चाले चुसे जस्तो गरी तीन वटा बच्चाले लुछेको लाम्टा चुस्छ पुरुष। जति नै राम्रो भने पनि बच्चा जन्माइसकेपछि आइमाईको शरीरका केही अङ्ग स्वभाविक रुपमा खस्किन्छ। तर आफ्नी स्वास्नीको त्यही अङ्ग छुन घिनाउने पुरुषहरु अर्काकी स्वास्नीको सर्वस्व चाट्न थाल्छ।

यो घिनलाग्दो परिवेशको व्याख्या कसरी गर्नु ? स्वास्नीलाई बच्चाकी आमा अर्कैले बनाए जस्तो गरी व्यवहार गर्ने पुरुष बाहिर जे गरेर हिँड्न पनि पछि नपरेको देख्दा आश्चर्य लाग्छ मान्छेको यौनप्रतिको चाहना देखेर।

त्यतिबेला कसरी बिर्सन्छन् होला उनीहरु ? आफ्ना स्वास्नीसँगका प्रेमिल रातहरु।

अनि अर्काको लोग्नेको छातीमा निर्धक्क चल्न सक्ने आइमाईले कसरी बिर्सन सक्छे होला आफूजस्तै आइमाईले त्यही छातीमा टाउको राखेर देखेकी छ जिन्दगीका तमाम सपनाहरु भन्ने कुरा ?

यी तमाम यथार्थहरु भुलेर क्षणिक तृप्तिका लागि लागिपर्ने मानव समुदाय साँच्चिकै विकृत भएको छ। प्राकृतिक भन्दा पनि कृत्रिम अनुभूतिमा तृप्त हुज खोज्नुको भ्रम पाल्ने समुदायप्रति साँच्चिकै हाँस उठ्छ।

एचआइभी र भिरिङ्गी त्यसै लागेको होइन भन्ने स्पष्ट हुन्छ।

उत्तेजना र आवेशमा जे पनि गर्न पछि नपरेपछि तिघ्रामुनि एचआइभी हुर्काउनु कुनै नौलो कुरा होइन। स्वास्नी छलेर अर्काकी स्वास्नी स्वास्नीको गुन्युँमा सुत्ने, लोग्नेलाई ढाँटेर अर्काको लोग्नेसँग निर्वस्त्र हुनु स्थापित पारिवारिक सम्बन्धमा प्रश्न खडा गर्नु हो।

के मान्छेले खोजेको परिवर्तन यही हो त ?

यौन नै मान्छेको सबैभन्दा महत्त्वको विषय बन्नुको कारण के हुनसक्छ ?

विकास र प्रविधि, विज्ञान र चेतना, या अरु केही ? प्रश्न विविध छन्।

यसरी एउटा सम्बन्धमा सन्तुष्ट हुन छाडेपछि मान्छे, अबको समाजमा परिवारको कल्पना गर्न पनि गाह्रो छ।

पुरुष वर्षाको शरीरसँग खेलिरहेको छ, वर्षा वर्षौँ लोग्नेसँग बिछोडिएर तिर्खाएकी युवती जस्तै उत्तेजित हुन्छे। हिजो भेटिएको मान्छे भन्ने पनि बिर्सेर, दुवै निर्लिप्त छन् एकअर्काको अङ्गमा।

यहाँ निर कता चिप्लिए होला मान्छेभित्रका भावुकता, नैतिकता र सामाजिक सभ्यता ?

केही समय मच्चिएपछि उत्तेजनाको आँधी शान्त हुन्छ, पुरुष वर्षाको शरीरबाट बाहिरिन्छ। एकले अर्कालाई हेर्दै दुवै जना निराश हाँसो हाँस्छन्।

तिमीलाई पुगेन हो ? पुरुष वर्षाको अनुहारै नहेरी भन्छ।

हो त, कत्ति छिटो पुगेको तिमीलाई, मेरो बूढाभन्दा कमजोर छौ कि क्या हो, वर्षा पुरुषको छातीमा हिर्काउँदै भन्छे।

तिमीलाई धेरै चाहिँदो रहेछ। मेरी बूढीलाई त पुग्छ त। थाकेको मन र शरीर निचेष्ट हुँदै बोल्छ ऊ।

बूढी भइहोली नि त। आफू पनि आइमाई हो भन्ने बिर्सेर अर्की आइमाईलाई गिराउँदै बोल्छे वर्षा।

तिम्रो बूढा पनि बूढो भएर छिटो नभएको। पुरुष पनि जङ्गिन्छ।

जे भने पनि मलाई पुर्‍याउँछन् क्यारे। वर्षा ठस्किन्छे।

वर्षा ठस्केको देखेर पुरुष चुप लाग्छ। वातावरण मौन हुन्छ।

यौनको तृप्ति र अतृप्तिमा उनीहरुको भनाभनले अघिसम्मको सबै मिठास हराएर जान्छ। एकले अर्कोलाई कमजोर बनाउँदै गरेको वार्ताले दुवैलाई चोट दिन्छ।

अर्काको लोगेनेले जति फुर्क्याए पनि आफ्नो जस्तो नहुँदो रहेछ। निराश हुँदै बोल्छे वर्षा।

त्यो तिमीले सोचेको अन्तर हो। तिमीले मलाई आफ्नै सम्झेकी भए अवश्य पूर्ण हुने थियौँ, तिम्रो मनको अन्तरले नै अपूर्ण पारेको हो, परिवेशलाई सम्हाल्न खोज्दै भन्छ पुरुष।

तिमी आफ्नै हौ भन्ने तिमीले महसूस गराउने कुरा हो।

सबै दोष मेरो नै भो। अब धेरै नरिसाऊ। फकाउँदै भन्छ पुरुष।

अतृप्ति र असन्तुष्टिको आवेश ओकल्छे वर्षा। पुरुष तृप्त भएर पनि वर्षाको कुराले असन्तुष्ट हुन्छ। के के नै गर्न उछिट्टिँदै आइपुगेका उनीहरु सबै कुराबाट बाहिरिन्छन् यतिखेर।

वर्षाले लुगा लगाइरहँदा पुरुष वितृष्णापूर्वक हेरिरहन्छ।

अघिको उत्साह, उमङ्ग सबै हराएर गइसकेको छ। आँधी आएपछि बिग्रेको घरको सौन्दर्य जस्तो विरुप लाग्छ अघि निकै सुन्दर भनिएकी वर्षा।

उत्साह मरिसकेपछिको परिवेशले कसलाई तान्छ र ?

एउटी स्त्रीलाई तृप्त पार्न नसक्नु पुरुषको सबैभन्दा लाचारी र कमजोर पक्ष हो। र पनि बहुस्त्रीगामी हुन पाए के के नै हुने थियो भनेर भट्टीदेखि स्टार होटल पुग्ने कसरत धेरैले गरेको पाइन्छ।

ऊ चुपचाप बसिरहन्छ।

वर्षाको फोन बज्छ ऊ हतारिँदै उठ्छे।

ओहो, साथीको फोन, ऊ ढोका खोलेर बाहिर प्यासेजमा फोन गर्न निस्कन्छे। फोन उठाउने हतारोमा उसले ख्यालै राख्दिन बाहिर उभिएको मान्छेको। एक्कासी प्यासेजमा उभिएर फोन गरिरहेको एक शरीरसँग जोडले ठोकिन्छे ऊ। मोबाइल भूँइमा खस्छ; टिप्न दुवै जना घोप्टो पर्छन्, उठ्ने बेला आँखा जुध्छ। यसले आफ्नो लोग्नेलाई देख्छे, उसको लोग्नेले पनि आफ्नी स्वास्नीलाई देख्छ, एकछिन दुवै हेरेको हेर्‍यै हुन्छन्।

तिमी! शून्यतालाई चिर्दै बोल्छ युवक।

तपाईँ! डराउँदै बोल्छे वर्षा।

किन यहाँ ? आश्चर्य र डरमिश्रित आवाज निस्कन्छ दुवैको मुखबाट एकै पटक। तर जवाफ दुवैसँग हुँदैन। (साभारः गरिमा, असार २०६९)

12 thoughts on “कथाः अपूर्ण प्यास”

  1. Ankit says:
    December 26, 2012 at 5:56 pm

    एक्दम बस्ताबीकता बोलेयाको छ कथा ले

    Reply
  2. dshrestha says:
    December 25, 2012 at 9:08 am

    कथा समय सान्दर्भिक तर अन्त्य िफल्मी छ । कथाले जुन सामािजक िवकृतीलाई उजागर गरेको छ, यो िवकृती टार्न असम्भव छ। यो जारी रहने छ। यस्ता कुराहरु व्यकतीगत हुने भएकोले समयलाई दोष िदनु रामरो होइन।

    Reply
  3. chandra says:
    December 23, 2012 at 5:05 pm

    घर को लोकल कुखुरा… दाल बराबर भयेछ! दुवै जना लाई ही .ही…. तेसै ले दुइजन्ना नै KFC को बोइलएर कुखुरा खान हिनेको होला ..

    Reply
  4. बिशाल क्षितिज says:
    December 23, 2012 at 4:26 pm

    कथा बास्तविक धरातलमा उभिएर लेखिएको छ ,कथाले बास्तविक नेपाली समाजको बिकृति लाइ उजागर गरेको छ

    Reply
  5. prasad says:
    December 23, 2012 at 12:52 pm

    आहिलेको समाजको एथार्थ चित्रण हो केहि हद सम्म …………

    Reply
  6. Bishnu says:
    December 23, 2012 at 5:17 am

    कथा आफैमा नराम्रो होइन तर सामाजिक सिमाको घेरा लाई नाघेको छ .

    Reply
  7. टिकाजी says:
    December 23, 2012 at 1:30 am

    साथिहरूले कथा समय सान्दर्भिक भनेर गर्नु भएको कमेन्ट ब्यर्थ लाग्यो। मलाई त कुनै बि ग्रेड हिन्दी मुभी को कथा जस्तो लाग्यो। सुरुवात राम्रो छ । तर अन्त्य साह्रै नाटकिय छ।

    Reply
    1. jay says:
      December 23, 2012 at 2:40 pm

      मलाई टिकाजिको कमेन्ट ठिक लाग्यो . कथाको सबै पक्ष सबल भैकन पनि अन्त्य बडो फिल्मी छ .

      Reply
  8. mohan bashyal says:
    December 22, 2012 at 11:05 pm

    खुसि लग्यो . धेरै पछि तपाई को कथा पढ्न पाईयो .

    Reply
  9. बि टि मल्ल says:
    December 22, 2012 at 4:50 pm

    कथा मिठो र समय संधर्भिक छ. / कथाकारको यो मात्र कल्पना होला तर आफै ले भोगेको अनुभव लाइ पनि येसरी ब्यक्त गर्न कला नै चाहिन्छा ! लेख्दै गर्नु होला भबिष्य उज्ज्वल छ.!!!

    Reply
  10. kedar says:
    December 22, 2012 at 4:27 pm

    बास्तबिक सम्पन्नतामा कृतिम घोले पछि उत्पन्न हुने घृणित मिश्रण भन्छन एस्लाई |

    Reply
  11. rckaranjit says:
    December 22, 2012 at 1:43 pm

    समाज को तितो सत्य लेख को लागि धन्यवाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme