Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा: कुकुरको पुच्छर

Posted on December 15, 2012December 15, 2012 by mysansar

-उत्तम पौडेल-
स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके|

दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने कति दुख सहेर, चिसोले कठ्याँन्ग्रिदै हिमालयको काखमा कस्तो न सुन्दर देश बनाइयो भनेर घोर्ले नाक पारियो, अहिले आएर यस्तो पो भयो ।”

यहि मौकामा भुँडे गणेशले सुँड हल्लाउँदै जिस्काए – ” हिस्स बुढा हरिया दाँत।”

विष्णुले गणेश तर्फ हेर्दै भने – ” पोलेको घाउमा नून नछर्किनुस् न गणेश जी, बरु यो तोरीलाउरे रिपोर्ट सीता बैनीलाई पो कसरि देखाउने हो ? माइतीको यो हालत देखेर बिचरी कति रोलिन्”। उनले फेरी थपे -” होइन यो नेपालको उँधो गति उँधै मति भाको किन होला ? संबिधान बनाउँछु भनि टोपल्थे , नयाँ नेपाल हो यो भन्थे, इ….स् !! नयाँ नेपाल।” उनको रिस अझै मरेको थिएन।

चारैतिरको खबर बुझेर आफुलाई अपडेट राख्ने नारदमुनि बिचमा प्वाक्क बोले-” नेपाल बिग्रेको नेपालीको अल्छी बानी र आफ्नै मूर्खताले गर्दा हो हजुर। रामचन्द्रजी ससुराली जाँदा दरबारको सुसारेलाई चिया लिएर आउ भन्नुभएछ। हातमा चिया आउँदा त सेलाएर सर्बत भैसकेछ।दरबारको त यो हाल छ, झुपडीमा झन् के होला ?”

ब्रह्मा- ” दरबार भित्रैका ले त सबै बिगारेका हुन् नि नारद जी। पहिले एउटा दरबार हुन्थ्यो, अहिले दशौ दरबार भए। बरु रामचन्द्र जी ले राजा जनक लाई अबगत गराउनुभयो त ?”

नारद – ” जनक दाइ दरबारमा बसे पो !! कत्रो पुत्रीमोह छ उँहालाई अझैपनि, तपैलाई के था ? बिहान जुरुक्क उठ्यो, चट्ट हलो बोक्यो, अनि खेततिर टाप।”

कुनामा बसेर सबैको कुरा सुनेरहेका महेश्वर बल्ल बोले- ” हेर्नुस, आफ्नो त घर भने पनि, जे भने पनि त्यै हिमालयको कैलाश पर्बत हो …. जतिनै धोइसिन्ग्रे-फ़ोईसिन्ग्रे भएपनि मेरो प्यारो मन्दिर पनि त्यै कांठमान्डूमा नै छ। बरु हामीले नै केहि गरेर भए पनि यो पुन्टे देशको उद्दार गरिदिनु पर्यो।”

मठ-मन्दिरले भरिएको नेपाल सबै देबी- देउतालाई उत्तिकै प्यारो थियो। नेपालको मुहार कसरि फेर्ने भनेर निकै गम्भीर छलफल भयो, तर अँह देउताहरुको दिमागमा समेत झट्ट कुनै बत्ति बलेन।

धेरैबेरको मन्थन पश्चात नारद ले उपाय निकाले – ” हेर्नुस, हामीले नै २०-३० वटा फटाफट सब काम गर्नसक्ने यन्त्रमानब ( रोबोट ) हरु स्वर्गबाटै तयार परेर नेपाल पठाईदिउँ। यिनीहरुको कार्यकौशल र क्षमता देखेर नेपालीले पक्कै केहि सिक्छन्।”

ज्ञानकी देबी सरस्वतीले शंका देखाईन् – ” जालो दिनुभन्दा माछो दिनु अलि प्रत्युतपादक हुन्छ की त नारद जी ?”

नारदले फेरी थपे – ” हुदैन होला। नेपालीहरुलाई पनि रोबोट संगै काम गर्न लगाउँ। अनि रोबोटहरु निश्चित समय सम्म मात्र नेपालमा बस्नेछन् भनेर अग्रिम सुचना दिँउ । कक्षामा जान्ने बिधार्थीको संगतले लद्धु र अल्छीको पनि बुद्दी आएजस्तै नेपालीले पनि यी रोबोटहरुबाट पक्कै थुप्रै कुराहरु सिक्लान् । ”

नारदको बिचारसंग सबै सहमत भए। नेपालमा पठाउने यन्त्रमानब तयार पार्न पृथ्वीतलबाट मरेर स्वर्ग आएका बैज्ञानिकहरु जम्मा पारियो। आइन्स्टाइन र न्युटनको निरिक्षण रहने गरि एउटा टोली उतिन्खेरै गठन भयो। बैज्ञानिकहरुले बनाउने उक्त यंत्रमानाबलाई फाइनल टच चैं ब्रह्माले दिने भए।

यन्त्रमानबहरु तयार भए, ब्रह्माले पारित गर्नु बाँकी थियो । हेर्दा अलिअलि मान्छे जस्ता तर शक्ति भने सय हातीको शक्ति भएका भीम भन्दा पनि शक्तिशाली। बुद्दी र चेतना भनौ भने लाखौ ज्ञानी, बैज्ञानिकहरुको दिमागलाई एकैठाउमा मिसाए जस्तो। यंत्रमानबलाई संचालन गर्न पनि धेरै सजिलो थियो, मात्र दुइवटा बटन थियो। एउटा रातो, अर्को हरियो, दुवै बटन छातीमा। हरियो बटन थिचेर ” फलानो काम गर्” भन्नेबित्तिकै रोबोटले फटाफट काम गर्थ्यो, त्यो पनि प्रकाशको गतिमा।रातो बटन थिचेपछी रोबोट बन्द हुन्थ्यो।

फाइनल टचको को लागी रोबोटहरुलाई ब्रह्माको प्रयोगशालामा पठाइयो। ब्रह्माले छातीको हरियो बटनलाइ नाइटोमा सारे, नाइटो ब्रह्मालाइ प्यारो थियो। अनि केहि दिन रोबोटहरुमै ब्यस्त रहे।यन्त्रमानबको अन्तिम रुप तयार भयो। फाइनल प्रोडक्ट देखेर ब्रह्मा समेत हर्षले गद्गद भए।यहि खुशीमा जिन्दगीमा पहिलोपटक आफ्नो दाह्री पनि खौरे।नेपालको लागि केहि गर्न पाएकोमा ब्रह्मा खुशी थिए, किनकि उनले बुझेका थिए सक्कली प्रभुको ठुलै कृपाबिना नेपालको मुहार फेर्न सम्भव थिएन।

रोबोटहरुलाई राबणबाट खोसेको पुष्पक विमानमा लगि प्यारासुट लगाई खासाईयो। रोबोटहरुले नेपाल खसेको भोलिपल्टै देखि छु-मन्तरको शैलीमा चमत्कार देखाउन थाले:-

– बराजुको पालादेखि थाङ्नामा सुतेको कुलेखानी-अरुणलाई लात हानेर दौडाए, लोडसेडिंग ‘पत्तासाफ’।

– फोहोरको पर्बतलाइ कन्टेनरमा लागे, मल बनाए,कृषक मालामाल। लाखौं झिंगा,मुसा, सांङ्लाहरु ‘ठहरै’।

– पृथ्वी राजमार्गको दुवै छेउमा पर्खाल, कृष्णभिरमा जामको ‘सफाया’।

– देशैभरि सुरुंगमार्ग। बिहान मनांग, हेलम्बुमा टिपेको स्याउ बेलुका चितवनको बालखाले कुटुक्क। नक्कली प्रभुको दुतहरुको धन्दा ‘चौपट’। आदी……..

चिप्लेकीराको गतिमा घस्रेको नेपालको बिकाशले चितुवाको गति पकड्यो। रोबोटहरु रातारात लोकप्रिय भए। अन्धकारमा चारैतिरबाट ठगिएर, चुसिएर भुत्ल्यायको भाले जस्ता भएका नेपालीहरुको मुहारमा कान्तिको सुर्यमुखि फक्रियो। रोबोटहरुबाट भएको देशसेवाको उच्च मुल्यांकन गर्दै, NRN लाइ तिरिमिरिझ्याँई पार्दै, नेपाल सरकारले रोबोटरुलाई नागरिकता पनि प्रदान गर्यो। यी रोबोटहरु रास्ट्रपती- प्रधानमन्त्री भए भने देशले ‘अग्रगामी छलांग’ मार्छ भन्दै जनताले तिनीहरुको नाम पनि राजाराम, रामप्रसाद,रामहरी, रामकुमार… आदी राखे।

……… केहिमहिना देखि अविछिन्न रुपमा बेपत्ता दौडेको नेपालको बिकाश अचनाक टक्क रोकियो।पहिलेजस्तै फोहोरको चुलि लाग्न थाल्यो, उपत्यकामा झाडा-पखाला चल्यो।बिजुली बत्ति पनि झ्याप-झ्याप हुँदै लोडसेडिंग सुरु भयो …।

कतै रोबोट पो बिग्रियो की भनेर कुरा बुझ्न ब्रह्माले आफ्नो दूतलाई नेपाल पठाए।

दूत फर्केर आयो। पिर मान्दै डाडू जत्रो मुख बनाएर ब्रह्मालई भन्यो-” नेपालीहरुको मुर्खता र अल्छि गर्ने बानी त कुकुरको पुच्छर जस्तै रैछ हजुर।”

ब्रह्मा – “म बुढो भैसकें, राजनीति पनि नगरेको मान्छे, यस्ता बाँगा-टिङ्गा कुरा बुझ्दिन बाबु।”

दूत – “बरु कुकुरको पुच्छर ढुँग्रोमा हाले सोझिंन्छ होला। त्यतिले नपुगे आरनमा चुटे त पक्कै सोझिंन्छ। तर नेपालीको मुर्खता र अल्छीपना कहिल्यै हट्ने भएन।”

ब्रह्मा – “अझै बुझिन।”

दूत- ” नेपालमा केहि बिदेशी नागरिकहरु बस्दा रैछन्। डीसेम्बर लाग्यो, अनि क्रिसमस मनाउन आफ्नै देश फर्केछन्। रोबोटको हरियो बटन थिच्ने ठेक्का समेत तिनै विदेशीलाई दिइएको रहेछ।”

ब्रह्माले पिच्च थुक्दै भने -” थुइक्क नेपाली !!” अनि ट्ँवा परेर धेरैबेर सम्म आफ्नो चिण्डे गाला मुसारिरहे।

तर दुत भने डाँको छोडेर रुँदै भन्यो – ” ति त जति रोबोटहरु बचे तिनीहरुको कुरा हो, धेरैजसो रोबोट त परमधाम भए।”

ब्रह्मा छाँगो बाट खसे जस्तै भए। मन थाम्दै सोधे -” कसरी?”

दुतले सुक्सुकाँउदै, रुन्चे आँखा पुछ्दै भन्यो – ” आफुमा भएको मुर्खता र रिसको आगोले बिनाकारण अरुलाई झोस्नुलाई नेपालमा ‘बन्द/चक्काजाम’ भनिंदो रहेछ।एउटाको स्वास्नी भागीछे, अर्कोको कुखुरालाई गाडीले किचेछ, एउटा उग्र समुहको अगुलालाई अर्को उदण्डले चड्काइदिएछ अनि बन्द भएछ हजुर। हाम्रा रोबोटहरुलाइ बन्दको दिन किन काम गरिस् भनेर एकदमै निर्मम तरिकाले हत्या गरेछन्।रोबोटहरु बाटो-पुल निर्माण गर्दै रहेछन् त्यो दिन।”

ब्रह्माले आफ्नो रसिलो आँखा पुछ्दै सोधे- ” कसरी मारेछन् पाखण्डीहरुले मेरो रोबोटलाई ?”

दुत – ” सुरुमा हँसियाले कोपेर अन्धो बनाएछन्, हतौडाले टाउको फोरेछन्, हलोको फालीले हात-खुटा काटेछन् अनि भुइँमा छट्पटाएर लडिबुडी गर्दा बुडो रुखको सुकेको हाँगाले पिटेर अंग-भंग परेछ्न्।”

ब्रह्मासंग अरु सुन्ने ताकत थिएन। तैपनि सोधे – ” त्यसपछि ?”

दुत -” त्यसपछि रोबोटलाई टुक्रा टुक्रा परेर, पारीबाट एट्लस साइकलमा आएको भाइको तराजुमा जोख्दै बेचिदिएछन्।”

चोटले बिक्षिप्त भएका ब्रह्माले सिनेमाको शैलीमा आदेश दिए -” अबको २४ घण्टाभित्र मेरा सबै बचेका रोबोटलाई जसरि पनि स्वोर्गमा हाजिर गराउ।”

पुष्पक बिमान रोबोट टिप्न नेपालतिर झर्यो।

…………पर बादलको कुनाबाट लुक्दै यी सब दृश्य चियाइरहेका नक्कली प्रभुहरु खुशीले मुसुक्क मुस्कुराए।

34 thoughts on “कथा: कुकुरको पुच्छर”

  1. रुपक says:
    December 20, 2012 at 8:25 am

    हेर्नुस, आफ्नो त घर भने पनि, जे भने पनि त्यै हिमालयको कैलाश पर्बत हो …. जतिनै धोइसिन्ग्रे-फ़ोईसिन्ग्रे भएपनि मेरो प्यारो मन्दिर पनि त्यै कांठमान्डूमा नै छ। बरु हामीले नै केहि गरेर भए पनि यो पुन्टे देशको उद्दार गरिदिनु पर्यो।”
    सारै मर्मस्पर्सी सुद्ध नेपाली पारा को लेख पढ्न पाइयो. पौरादिक पात्र र वर्तमान नेपाली पात्र बीच को उत्कृस्ट संयोजन

    Reply
  2. B. Adhikari says:
    December 20, 2012 at 4:59 am

    समालोचना

    कथा लेखनमा नया नया प्रयोगहरु हुनु अति नै राम्रो कुरा हो। तपाँईले यो कथामा नया प्रयोग गर्नु भएको जस्तो लाग्यो। परम्परागत शैली भन्दा यो कथा फरक छ तर सुन्दर छ। यो कथाका विशेषताहरु-
    १ कथा सलसल बगेको छ
    २ कथा नसकिए सम्म यसले कथा भित्र नै रहन पाठकलाई बाँधि राख्छ
    ३ कथामा नवीन प्रयोग भएको छ- मानव र देवता बीच सम्पर्क
    ४ कथाले व्यंगको राम्रो गरी प्रयोग गरेर समाजलाई सचेत पार्ने प्रयास गर्छ
    ५ कथामा मौलिकता छ, कथाकारको
    ६ कथा छोटो भए पनि गहिरो अर्थ बोकेको छ यसले
    ७ यथार्थ र सन्देशमूलक छ
    ८ व्यंग भएता पनि कथाको विशेषता बोकेको छ
    ९ कथाले समदृष्टि राखेको छ, एक पक्षीय छैन

    भविष्यमा यस्तै कथा लेख्नु होला भन्ने शुभकामना सहित धन्यवाद।

    बी अधिकारी

    Reply
  3. shakti magar says:
    December 19, 2012 at 8:24 pm

    बड़ो गजब्को कथा पढ्न पाईयो गाठे,,,,योता सोराई आना ठीक हो नेता जनता ठ्याक्कै यो कथाले भानेजस्तई छ हो बादरको देस भन्दा BEST होला हो

    Reply
  4. suman says:
    December 18, 2012 at 10:19 pm

    nice superb…

    Reply
  5. DEEPAK SHRESTHA says:
    December 17, 2012 at 6:27 pm

    वा वा वा …. राम्रो छ हजुर … अझै जावोस है राम्रा राम्रा….

    Reply
  6. Krishna poudel says:
    December 17, 2012 at 10:31 am

    उत्तम पौडेल ले ख्नु यो कथा सार्है राम्रो लग्यो धन्यवाद छ अझै राम्रो लेख्दै जानु शुभकामना .

    Reply
  7. jay says:
    December 16, 2012 at 9:46 pm

    सबै कुरो त ठिक हो तर बिष्णु ले सीता लाइ बहिनि भनेको चाही अलि मिलेन कि? तै पनि कथा चाही रमाइलो छ. …. फेरि पनि लेख्दै गर्नु होला.

    Reply
  8. Tulasi Wosti says:
    December 16, 2012 at 8:46 pm

    धेरै नै राम्रो कथा लेख्नु भयछ, कता कता मन पनि कुटुक्क कुडियो हाम्रो बास्तबिकता देख्दा, i am truly, deeply, inner heartly & passionately in love with this story……………………………….

    Reply
  9. shyam says:
    December 16, 2012 at 8:19 pm

    अति सरल अनि शिस्य तरिकाले लेख्नु भहेको रहेछ देरै समय पछि पदन पाहियो अज लेख्दै गर्नुस हुन् त नेपालका नेता हरुलाई यो कुराले छुन् तर पदन अति नै रोचक लाग्यो
    समय दिहेर लेख्नु बहेकोमा मा जस्ता पदन मात्र जाने लेख्न चाहि नज्जाने लाइ अति नै राम्रो हो

    Reply
  10. Ananda Thapa says:
    December 16, 2012 at 3:26 pm

    सार्है मार्मिक र काल्पनिक भए नी यथार्थपरक छ हजुरको यो कार्यको लागि भित्री मनदेखि शुभकामना र अझ अरु प्रगतीको कामना गर्दछु धन्यबाद |

    Reply
  11. uttam poudel says:
    December 16, 2012 at 2:39 pm

    आफ्नै कुरा

    ————————-

    माथिको कथाको लेखक म नै हुँ | मेरो कथालाई यहाँहरु धेरैले धेरै माया गर्नुभयो, खुशी लाग्यो | सोचें, यहिँबाट म तपाईहरु सबैप्रति धन्यबाद र आभार प्रकट गरुँ र आफ्ना पनि केहि गन्थन पोखुँ |

    – परिभाषाले कथा लेख्नेलाई ‘कथाकार’ भन्ला, तर म आफुलाई कथाकार मान्दिन | यो शब्दको गहिराइ र तौल मेरो क्षमताले नाप्ने हैसियत राख्दैन |

    – यो मेरो जिन्दगीकै पहिलो लामो कथा हो | यसअघि करिब १० वटा लघुकथा हरु ( ३०० शब्दभित्र) लेखेको थिएँ, सबै पछिल्लो २ महिना भित्र | कलम धेरै ढिलो समातेको भए पनि किताब छोडेको थियिन |

    – म धेरै सिकारु हुँ, सिक्दैछु | यो कथा पोस्ट भएपछि पुन: पढें, लग्यो ‘हत्या’ शब्दको प्रयोग नगरेको भए हुनेथियो | धेरै विभत्स र डरलाग्दो लाग्छ मलाई यो शब्द | नेपाली जनजिब्रोमा झुन्डिएको ‘ तोडफोड’ शब्द सायद उपयुक्त हुन्थ्यो कि ? ” अगुवा” लेखुपर्नेमा ” अगुला” भएछ | दगुर्नेहरू सायद यसरीनै चिप्लदै, उठ्दै गरे होलान् |

    – म कथा र मुक्तकमा बिशेष रुची राख्छु | ब्यङ्ग कथा लेख्न रमाइलो लाग्छ |

    – नेताहरुलाई गालि गरेर केहि कथाहरू लेखें, ति कथाहरुको लागि तालि र गालि दुवै भेटेँ | फेरी मनमा लाग्यो, नेताहरु भन्दा त हामी जनतानै दोषी छौं | यदि सागर कन्चन र निर्मल छ भने जतिसुकै फोहोर नहर किन नमिसियोस्, फोहोर बाहिर देखिदैन, सागरभित्रै बिलिन हुन्छ | हिजो मालपोतमा मैले घुष दिएँ, लिने तपाइँको काका हुनुहुन्थ्यो | रगत पसिना एक गरेर, रुपैया-रुपैया जोडेर तपाइँको दाइले भट्भटे र माइक्रो बस किन्नुभो | अस्ति त्यो जलाउने अरु कोहि नभएर म नै थिएँ किनकि मलाइ रिस उठेको थियो, आफैसंग, बिनाकारण | “कुर्सीमा टाँसिने अनि रगत चुस्ने जुको” भनेर त्यो दौरा-सुरवाल धारीलाई हामीले निकै गाली गरेउँ | तर जब उ गाँउमा आयो हामी सबै उसैका पछी लागेम् | हामीमध्य कसैलाई छोरो विदेश पठाउन थियो, कसैलाई छोरीलाई जागिर खुवाउन थियो | समस्या तपाइँ र म मा छ, तपाइको र मेरो परिवारमा छ | तपाइँ, म अनि हाम्रो-हाम्रो-हाम्रो परिवारले त आखिर नेपाल बनेको छ |

    – केहि मित्रहरुले आगामी दिनमा पनि तपाइँलाई पढीरहन पाउँ भनेर/भन्ने आशयका टिप्पणीहरु लेख्नुभएको रहेछ | यो पढ्दा धेरै खुशी लाग्यो | सालोक्य जी ले माया गर्नुभएको खण्डमा मेरा कथाहरु फेरिपनि पक्कै आँउछन् |तर मेरा बिगतका कथाहरु भने तलको लिंकमा पढ्न सक्नुहुन्छ |

    https://www.facebook.com/groups/shortshortstories/doc/444355448945146/

    – म सोच्ने गर्थे, “जुनकिरीको संगीत” जस्तो उच्चतम पुस्तक लेख्ने खगेन्द्र संग्रौलाले किन यसरि अरुलाई गालि गर्ने होला ? दिमागमा पारो चढेपछी कलमको टुप्पोबाट तुप्प चुहिदो रहेछ |

    – फेरिपनि माइसंसार र तपाईहरु सबैलाई धन्यबाद भन्दै बिदा माग्ने अनुमति चाहेँ |

    Reply
  12. Suman says:
    December 16, 2012 at 1:42 pm

    खुशीको कुरो, ब्रह्मको दरवारमा खाइस्योस र लाइस्योस भन्ने कान्छी साली हजुरलाई सुकला गराइसिने नक्कली चिप्लो भाका नबोलिदोरहेछ|

    Reply
  13. Raman says:
    December 16, 2012 at 1:05 pm

    हामी नेपालीलाई, बिशेष गरी राजनीति र सरकारी जागिरको पहिलो पंक्तिमा भएको लागि, जत्तिनै घोचे पनि केही हुने होइन|
    स्वास्थ्य मन्त्रालयलाई हेर्नोस| खालि कर्मचारीको नियुक्ति, सरुवा बढुवा र भ्रमण र तलब भत्ताको मन्त्रालय भएको छ| सेवा केही छैन, गुणस्तर हेर्ने र बढाउने कुरै छैन| सबै विदेशीलाई दिएका छन्|
    बिदेशी परियोजना चलायो, भ्रमण र भत्ता लियो अनि हैकिमी देखायो|
    बिदेशी परियोजना संचालन गर्नेहरुले पनि बुझेका छन्, मन्त्रालयका कर्मचारीहरुलाई भ्रमण र भत्ता अनि होटेलमा सेमिनार वर्कशप गरेर भोज र भत्ता दिए पुगो| यस्ता दिने र लिने दुवैलाई भाटा दिनपर्ने| कसरि हुन्छ देशको प्रगति?
    हामी नेपालीहरु आफैं अल्छी भयो अनि सतिले शरापेको देश भन्दै आफ्नो अल्छेपन स्वीकार गर्यो|
    कृषि, परराष्ट्र, गृह, शिक्षा अरु मन्त्रालयले बिदेशी परियोजना वाट कति भ्रमण भत्ता लिन्छ त्यो लेखाजोखा गरेर त्यही अनुपातमा कति काम प्रगति भएको छ त्यो हेर्न्पर्छ|
    उत्तमजीको व्यंग्य राम्रो छ| कता कता लागेको थियो अब त्यो रोबोट पनि नेपालीले विदेशीलाई बेचेको पढ्न पर्ने होला भनेर डर लागेको थियो तर त्यसो भएन रहेछ, राम्रो हो| हिन्दु देवदेवीको मुर्ति लानेले किन रोबोट लगेन भने उनीहरुको देशमा मान्छेले नै रोबोट भएर काम गर्छन|

    Reply
  14. Rajeev GC says:
    December 16, 2012 at 12:09 pm

    एकदमै यथार्थपरक र बास्तबिक लाग्यो काल्पनिकतामा आधारित भए पनि | पात्रहरुको बार्तालाप अनि भिन्न भिन्न परिस्थितिमा उल्झेको समस्या र सुझेको उपाय ….सार्है नै रमाइलो पाराले प्रस्तुत गर्नु भाको छ लेखकजी ले …..धेरै धेरै बधाई अनि शुभकामना पनि आउदा दिनहरु मा पनि यस्तै किसिमको लेख रचनाहरु पढ्न पाइयोस ….
    जय होस् !

    Reply
    1. mahesh says:
      December 16, 2012 at 2:18 pm

      “नेपालमा केहि बिदेशी नागरिकहरु बस्दा रैछन्। डीसेम्बर लाग्यो, अनि क्रिसमस मनाउन आफ्नै देश फर्केछन्। रोबोटको हरियो बटन थिच्ने ठेक्का समेत तिनै विदेशीलाई दिइएको रहेछ।”

      यो भनाइ अति नै मन पर्यो.

      Reply
  15. hari says:
    December 16, 2012 at 11:17 am

    Short fiction with amazingly comprehensive coverage to the reality. keep on going. good luck.

    Reply
  16. gopi karki says:
    December 16, 2012 at 10:17 am

    कथाकार उत्तम पौडेल तपाइलाइ मुरी मुरी धन्नेवाद,
    यति मिठो र सरल कथा सायेदै धेरै दिन पछि पदना पाइयो , मेरो देशको यथार्थ यो कथामा उतारिएको छ. बादरले आफ्नो पनि घर बनाउदैन अरुले बनाएको पनि देखि सहदैन,……………. थप यस्तै सिर्जनाको प्रतिक्छामा

    Reply
  17. Adwait Sharma says:
    December 16, 2012 at 9:44 am

    यो कथा पढ्दा मित्र राष्ट्र चीन ले बनाई दिएका भौतिक संरचना , उद्योग , कलकारखाना हरु लाई तत्कालिन नेपाली कांग्रेस को सरकार ले कौडी को मूल्य मा इन्डियन हरु लाई बेचेको सम्झना आयो …./ राम्रो लाग्यो कथा / लेखक ज्यू लाई धन्यवाद ……../

    Reply
  18. Ramesh Koirala says:
    December 16, 2012 at 8:18 am

    कथा अति रोचक लग्यो , नेपाली बस्तुस्थिति मा वर्तमान को कटु यथार्थता लाई समेट्दै गरेको प्रस्तुति उत्कृष्ठ छ / आगामी दिन हरु मा पनि यहाँ को कथा हरु प्रस्फुटित हुदै जावोस मेरो हृदय देखि कामना !!!!

    Reply
  19. मदनमणि says:
    December 16, 2012 at 8:01 am

    प्रहारले घोचक बनेको यथार्थवादी कथा।

    Reply
  20. chitra says:
    December 16, 2012 at 7:39 am

    कथा निकै राम्रो र रोचक अनि सटिक लाग्यो. कथाकार लाइ निरन्तरताको लागि शुभकामना …

    Reply
  21. keshab karki says:
    December 16, 2012 at 5:54 am

    एकदमै घतलाग्दो कथा!! सबै नेपालीहरु त तेती अल्छि छैनन् तर जो अल्छि छन् उनीहरु को बहुमत छ!! कुनै त बाँदर जस्ता छन् जसले आफ़्नो घर पनि बनाउने छेमता राख्दैनन् अरुलाइ पनि बनाउन दिदैनन!! खुट्टा तान्ने प्रबर्ती हाबी छ!! कुनै पनि सर्बसाधारण कि त राजनैतिक दल को कार्यकर्ता छ कि त डनहरुको सहयोगी!! निस्पछ्य भएर बस्ने आँटनै गर्न सक्दैन!! तलदेखि माथिसम्म भ्रस्टाचार ब्याप्त छ!! घुश नभई सिन्को पनि भचिदैन!! सबैजना नेता, सरकारको मुख हेरीरा छन्!! नेता हरु छिमेकि देशहरुको मुख हेरीरा छन्!! देश अस्तव्यस्त छ!! गुन्डा हरु को अत्याचार जताततै छ!! महंगीले नेटो काटिरहेको छ!! न धारोमा समयमा पनि आउछ, न बिजुली बल्छ!!! केटा केटि बुढा बुढी मात्र गाउँमा छन्!! काम गर्नसक्ने विदेश जानु परेको छ!! लोद्सेदिङ्गले फ्याक्ट्री धमाधम बन्द भै रा छन्, अलि अलि बचेकाहरु पनि मजदुर समस्याबाट ग्रस्त छन्!! नेपाल अरब, दुबई, मलासिया आदिको लेबर फ्याक्ट्री बनेको छ!! उत्तम पौडेल जी राम्रो कथा लेख्नु भएको मा धन्यबाद!!

    Reply
  22. Raj says:
    December 16, 2012 at 5:50 am

    मन पर्यो !!! तर देस का नेता भनाउदा चोर हरुले कहिले यो कुरा बुझ्लान !!!!

    Reply
  23. Random says:
    December 16, 2012 at 5:36 am

    यो एथार्थ परक ब्येंगे हो ! पढ्दै जादा रमाइलो लाग्यो !

    Reply
  24. निपेश अधिकारी / मियुनिख , जर्मनी says:
    December 16, 2012 at 5:09 am

    कस्तो राम्रो, सललल बगेको कथा, अनि आज को नेपाल को येथार्थथा

    Reply
  25. DP Dhakal, Boston USA says:
    December 16, 2012 at 5:05 am

    यो कथा असाध्यै रोचक लग्यो / कथाकार -उत्तम पौडेल ज्युलाई धेरै धेरै धन्यबाद र बधाई दिन चाहन्छु / कथामा भनिए जस्तै नेपाली नेताज्यूहरुमा जुन जोगी आए पनि खरानी घसेक्कै र कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राखेपनि बंगाको बांगगइ भन्ने उखान चरितार्थ भएको छ / तर सबै नेपालीहरु अल्छी छन् भन्ने भावलाई कथाकार ज्युओको दृस्टी गोचरमा कमि भयो कि भन्ने लग्यो / नेपालीहरु आल्छी र बैमानी छैनन् मात्र देशभित्रका केहि धमिराहरु बदमास भएका हुन् कि जस्तो लग्छ /

    Reply
    1. jeevan verma says:
      December 16, 2012 at 6:45 am

      नेपालीहरु आल्छी र बैमानी छैनन् मात्र देशभित्रका केहि धमिराहरु बदमास भएका हुन् कि जस्तो लग्छ /

      Reply
      1. Ekaraj Agasti says:
        December 17, 2012 at 1:24 am

        हो नेपाली हरु अल्छि होइनन, मात्र सही नेत्रित्वो नपाएर बिलख्बन्द मा परेका मात्र हुन, नेपाल मा महा अल्छि कहलाईयको लन्ठुराम यहाँ खाडी मा मरी मरी काम गर्छ, अझ पाये सम्म ओभरटाइम गर्ने गर्छ, अरु ले लाई अर्हाएको काम लुरु लुरु गर्छ भने समस्या अल्छिपन होइन, सही नेत्रित्व को अभाब हो, अनी हामी नेपाली हरु जोखिम मोल्न नचाहने स्वोभाब पनि हो, कुनै नयाँ केही गरेर जोखिम मोल्न नचाहने, अरुको नेत्रित्व मा अरु को खटन मा काम गर्न रुचाउने नेपाली हरु को बानी नै सबै भन्दा कम्जोरी पक्ष हो जस्तो लाग्छ।
        अलिकती सक्षम सरकार, कानुनी शासन मात्रै हुने हो भने देश बिकास हुन धेरै कुर्नु पर्दैन, तेही नेपाली बिदेश मा बस्दा जागरिलो, अनी नेपाल मा बस्दा अल्छि कसरी हुन सक्छ??? मलाई लाग्दइन कि खाडी लगायत कुनै पनि अरु देश मा काम गर्ने नेपाली हरु अल्छि छन भनेर कसैले भन्छ। नेपालमा दिनरात पसिना बगाउने हरु धेरै छन, तर नपुङ्सक राज्य, अन्धो कानुन र बलत्कारी नेताले गर्दा मात्रै यो हबिगत भएको हो जस्तो लाग्छ है मलाई चै।

        Reply
  26. Sara says:
    December 16, 2012 at 4:22 am

    Wow……, amazing!!!! Mind blowing article……so true!!!I’ve no sufficient word to praise the writer.

    Reply
  27. purushotam showchhanda says:
    December 16, 2012 at 3:17 am

    राम्रो संदेश विद्वान नेपाली देश भक्तहरु lai

    Reply
  28. Naresh says:
    December 16, 2012 at 2:57 am

    Very interesting fiction, I liked it very much. Continue writing and this style. +++ for your work .

    Reply
  29. pooja says:
    December 16, 2012 at 12:59 am

    कस्तो राम्रो …….

    Reply
  30. sabita paudel says:
    December 15, 2012 at 11:22 pm

    तिखो व्यंग्य को प्रहार सरल र रमाइलो संग गर्न सफल छ यो कथा..सटिक कथा को लागि धन्यवाद!

    Reply
  31. Akash says:
    December 15, 2012 at 11:22 pm

    यो कथा ज्यादै वास्ताबिक्ताको नजिक छ छ येदि साछी नै ब्रम्ह ले रोबोट पठाए नै भने पनि हबिगत हुने चै येही हो !जति सुकै बिदेशी ले अनुदान र सहयोग गरे पनि सदुपयोग हुदैन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]r.com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme