Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सहमति

Posted on December 4, 2012December 4, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज, भर्जिनिया-

अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति। दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्‍यो सहमति, तल हेर्‍यो सहमति। उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति। दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति। तर सबैको विग्रेको मति। अर्थात असहमति। मति नमिलेपछि केहिलेपनि गति लिन्न। त्यसैले देशलेपनि गति लिएको छैन। जति कराएपनि यी नेताहरुलाई देशले गति नलिएकोमा अति महसुस हुन्न। बरु जनता लाजले भुतुक्क भैसके। यिनको घरमा रहेको श्रीमति आजित भैसके। तर यिनको न मति फिर्छ न देशले गति लिन्छ। मलाई त बरु श्रीमति भेट्न या बनाउन सजिलो होला तर यो सहमति भेट्न यिनकालागी असाध्य कठिन रहेछ जस्तो पो लाग्न थाल्यो।

होइन यि नेताका मतिमा साँच्चै किरा परेको हो ? सहमति त गर्दा रहेछन् तर सहमति कस्तो रे भन्दा सहमति खोज्ने सहमति रे। त्योपनि सात दिनको म्यादभित्र। अनि सात दिनमा नभए तिन दिनको म्याद अरे, अनि त्यसमा पनि नभए दुई दिनको म्याद अरे, अनि त्यसमापनि नभए एकदिनको म्याद अनि त्यसमापनि नभए फेरी अर्को उपाय खोज्ने सहमति रे। ए बाबा ठाकुरे, होइन कस्तो हो यो भेटनै नसकिने सहमति ? अनि भएको सहमति चै त्यस्तो रे।

धन्न यो सहमति राजतन्त्र फाल्ने बेलामा अहिलेको जस्तो दुर्लभ भएन। नत्र त हेर्थे यिनलेपनि बाउका बिहे। त्यतिबेला सजिलै भेटिएको सहमति कसरी एकाएक श्यालको सिँग हराए झैँ भएछ ए बाबा। कसैले बुझ्या छ कुरा ? मलाई चै कताकता यिनिहरुको मति अर्काको मतिको भरमा चलेका छन् कि क्या हो जस्तो लाग्छ। कहिले यिनले अर्कासंग मागेको मति त कहिले अर्काले कोचिदिएको मतिको भरमा। त्यसैले त त्यसरी पैँचोको मति नपाएसम्म यिनिहरु आपसमा गरिरहन्छन् विमति। अनि जब अर्काको मति पाउँछन् सबै चटक गरे झैँ एकाएक सबैले गति पाउँछन्।

सहमति गर्न नसक्नेले हामीले सहमति गर्न सकेनौँ भन्ने सहमति गरे नि त हुन्थ्यो नि। त्यति गर्नेपनि मति छैन यिनका। त्यतिपनि गर्न नसक्ने अगति परेका नेताहरु परेछन् जस्तो छ। जति गरेपनि सहमतिको नाममा देशले गति लिन नसकेपछि रत्ति लाज नमानी अगति पर्नु अगाडि नै छोडे हुन्न ? देशले कति कति खति भोगीसक्यो। जनताले जिउज्यान अनि धनसम्पतिको सुरक्षामा कति क्षति भोगीसक्यो। भन्नलाई हाम्रो देश यतिको भन्छन्। तर यत्तिका समयमापनि कुनै गतिको लक्षण देखिन्न। सतिले सरापेको देशै हो रहेछ त ? अब सरापको मात्रा त्यतिलेपनि नपुगेको हो कि हाम्रा नेताहरुलाई ?

अहिले आफ्नो मनमुटावका सबै कुरालाई थाति राखेर “हाम्रो राष्ट्र् हाम्रो जनता, प्राणभन्दा प्यारो छ” भन्ने नाराकासाथ सहमति गरे पो हुन्थ्यो। देश र जनताकोलागी सहमति विना नै सहमति गरे पो जनताले बत्ति काती काती आरती गर्थे होलान्। तर यिनको पुर्पूरोमा आरती खाने लेख्या छैन जस्तो छ। नत्र त किन यिनले हामीलाई ढाँटी ढाँटी कुरा गरिरहेका छन् त ? त्यसो नभएको भए कति जाती हुन्थ्यो होला हगी ? म बेला कुबेला मनको लड्डु घ्यूसँग खाएर यिनलाई भिमसेनपाती चढाएको सपना देख्छु। तर यस्सो विचार गर्छु ज्या, मेरोपनि मति विग्रिए जस्तो छ। धत्।

कहिले कहिले त यिनको मतिसँग वाक्क लागेर रीसले मनमा यिनलाई तातो तेलमा पत्पति डुबाउने हो कि जस्तो लाग्छ। या कहिले मरुभूमिको तातो बालुवामा खुट्टा भतभति पोल्ने गरी हिँडाउने हो कि जस्तो लाग्छ। कहिले पत्पति उठेको कालो धुँवाको मूस्लोमा हतपति निस्कन नसक्ने गरी कोचिदिउँ झैँ लाग्छ। त कहिले सितिमिति निको नहुने घाउ हुनेगरी टाउकोमा टड्याँग हान्दिउँ कि जस्तो लाग्छ। तपाईलाई चाहिँ यिनको माया लागेको हुनसक्छ। मलाई भने यिनिहरुसँग यति जँग चलेको छ कि यिनिहरुलाई जे भएपनि, भुत्रैसिति भन्ने सूरमा छुँ। किनभने यिनको ताल नै यस्तै छ। हिजोसम्म सडकमा लतपती हिँडेकाहरु आज महलमा बस्ने लखपति बनेका छन्। हिजोको रोडपति अहिलेको करोडपति बनेका छन्। हिजोसम्म श्रीमतिको पतिमात्र भएका यिनिहरु कसरी रातारात सम्पतिकोपनि पति भए ? अनि कसरी आउँथ्यो होला यिनको सहमतिकोलागी मति। घरमा श्रीमति भएपछि त सजिलै मति फिर्नुपर्ने हो नि। यस्तालाई सास्ती नदिए कस्तालाई दिने होला त ? तपाई नै भन्नोस् त।

सडकमा छउन्जेल यिनीहरु अति जाति थिए। मन लोभ्याउने भाँति भाँतिका कुरा गर्थे। बेमेलका सप्पै कुराहरुलाई थपक्क थाति राख्थे। एकार्काका मन साटी दिन्थे। तर त्यसको ठिक उल्टो माथि पुग्नेवित्तिकै जाती जातीको कुरा गर्न थाले। जातिपिच्छे भाँति भाँतिका कुरा गर्न थाले। जनताको दिमाग यिनले चाटि चाटि सक्न थाले। देश र जनताकोलागी खाँटि कुरा त भुसुक्कै विर्सिसके र त हामी जनता आतिई सकेका छौँ। तर यिनको सौभाग्य के हो भने जनता अझै पात्ति सकेको छैन। कुनैदिन जनता पात्तिए भने यिनले आत्तिएर भाग्ने ठाउँ नै पाउने छैनन्। त्यसैले सहमतिकोलागी यिनको मति खुल्ने गति कति ढिलो नगरी बढोस् भन्ने चाहना छ। अर्काको नक्कली मति होइन आफ्नै सक्कली मतिको भरमा सहमति गरोस् भन्ने हाम्रो चाहना छ। यसो भयो भने भिमसेनपाती लिएर हतपति धुपबत्ति गर्नेमा म नै पहिलो हुनेछु। यसमा रति शँका छैन।

7 thoughts on “सहमति”

  1. laxman says:
    December 5, 2012 at 10:03 am

    नेपालमा सहमति भन्ने शब्दलाई नै सबै भन्दा घिनलाग्दो शब्दमा परिणत गरेका छन् यहाका नेताहरुले/ यहाँ विकास को कुरामा कुनै सहमति को खोजि हुदैन/ केवल कुर्सि मा को बस्ने भन्ने कुरा को झगडा लाई सहमिति को खोजि भन्ने नाम दिईनछ/

    Reply
  2. Suraj Shrestha says:
    December 5, 2012 at 7:42 am

    बाह्रे-बुंदे सहमतिको सात बर्ष पुगेको उपलक्षमा सबै खाओ-बादिहरुलाई शुभकामना छ

    सुरज श्रेष्ठ

    Reply
  3. शशांक लामा, न्युयोर्क says:
    December 4, 2012 at 11:00 pm

    अब प्याकेज सहमति हुँदैछ क्या! प्याकेट प्याकेटमा टन्न हालेर सबैलाई भागबण्डा पुग्ने थैलोमा टन्न हाल्न पाउने प्याकेज(थैले) सहमति हुन्छ अरे!

    Reply
  4. Gaurav Nepali "Oodaaseen" says:
    December 4, 2012 at 10:56 pm

    सहमति! सहमतिको सरकार! किन????? जसलाई सहमति चाहियको छ उसलाई प्रधान मन्त्रि पनि ? छोरी पनि दे त सुत्ने पलंग पनि दे भन्या जस्तो भयनर? अनि छोरी पनि पलंग पनि दियो भने दिनेले चाँही सडकमा सुत्न जाने, खोइ बुझ्न सकियन! छोरी पनि दिनु नपर्ने, छोरी देन भनेर चित्त पनि नदुखे र सडक छाप पनि नबन्ने एकै उपाय हो स्वोतान्त्रब्यक्ति को रोहबर मा चुनाब गराउनु ! स्वोतन्त्र व्यक्तिको रोहबरमा चुनाब गरौँ गणतन्त्र नमान्ने कमल थापा अनि गणतन्त्र मान्ने प्रचण्डलाई चाँही हुने ! न यता न उताका घाट को लै चाँही च उसको छोरी पनि चाहिने पलंग पनि!! गजप छ !

    Reply
  5. gobinda says:
    December 4, 2012 at 10:13 pm

    यी गति मति छोडी सकेका ,जनता भूलेका , कुर्सिको लागि सति जान मरिमेटेका नेताहरु
    देखेर मलाई त अब डर लाग्न थालिसकेको छ यी सहमति नभेट्ने नेताहरुको माया भने लागेको होइन ,तर ठुलो दुर्दशा आउछ कि भनेर , यिनीहरुको छातीमा टाउकोमा तातो गोलिले पो चुम्बन गर्छ कि भनेर | अति गर्नु तर अत्याचार नगर्नु भन्छन नि , अनि यिनीहरुले त अत्याचारको सिमा नाघेको पनि अति भै सकेको छ , कतै कोत पर्ब निम्तिन बेर छैन | भलै एस्तो नहोस , मति फिरोस , कुर्सि “मर्ने बेलामा हरियो काँक्रो ” नबनोस , इश्वोरले यिनलाई सद्बुद्धि दिउन , यिनले हराएको” सहमति ” प्राप्त गर्नु सकुन येही कामना |

    Reply
  6. Barsha Bhandari says:
    December 4, 2012 at 9:26 pm

    बुढाले चिया पसलको कुराकानी जस्ताको तस्तै छापेछन् ! :p

    Reply
  7. Adwait Sharma says:
    December 4, 2012 at 7:02 pm

    मैले कतै पढेको थिएँ : संसार मा सबै भन्दा लामो संबिधान र धेरै कानून भारतमा छ रे अनि सबै भन्दा बढी अन्याय अत्याचार पनि भारतमा नै छ रे / त्यस्तै हाम्रो देश को बिगत देखि वर्तमान हेर्दा एउटा मात्रै पार्टी भित्र पनि सहमति भएको देखिदैन / २०४८ सालमा बनेको गिरिजा को सरकार लाई छत्तीसेले ढाले/ शेरबहादुरको त्यसपछि कृष्णप्रसाद भट्टराई को सरकार लाई गिरिजाले ढाले / माधब नेपाल को सरकार लाई झलनाथ र बामदेब हरु ले ढाले / पछि झलनाथ को सरकार लाई ओली र माकुने हरु ले ढाले / यस्तो एउटा मात्रै पार्टी भित्र पनि सहमति बन्न नसक्ने हाम्रो देश को संबिधान मा चाहिं सरकार सबै पार्टी को सहमति मा बन्ने भनेर लेखेछन / धन्य हाम्रो देश “सहमति” भन्ने शब्द छ , अर्थ छैन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme