Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा

Posted on December 4, 2012December 4, 2012 by Salokya

एनसेल साहुलाई कम्पनी बेचेपछि कर्मचारी निश्कासन

प्रचण्डनिकट व्यापारी अजय सुमार्गीले सताएपछि उनको टेलिकम कम्पनी हेलो नेपालका कर्मचारीहरु वैद्य माओवादीको शरणमा पुगेका छन्। ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको भन्दै क्रुद्ध कर्मचारीहरुले वैद्य माओवादीको साथ लिएर आन्दोलन गर्ने भएका हुन्। प्रचण्ड प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री रहेका कृष्णबहादुर महराले कौडीको मोलमा दिएको हेलो नेपालको लाइसेन्स एनसेल साहु टेलियासोनेरालाई बेचेर सुमार्गीले चार अर्ब कमाइसकेका छन्। निश्कासित कर्मचारीहरुले ससम्मान पुनर्बहालीको माग राख्दै आन्दोलन गर्न कमिटी बनाएका छन्। यो कमिटीले अब मुक्ति टावरमा हेलो नेपालकी अध्यक्ष रहेकी सुमार्गी पत्नी श्रीमति अस्मिता सुमार्गीलाई यसै साता ज्ञापन पत्र बुझाएर आन्दोलन सुरु गर्दैछ। उनीहरुले आन्दोलनअघि मिडियामा अपील पनि पठाएका छन्। अपील यस्तो छ-

ajaya sumargi dwara 50 jana karmachari lai jabarjasti niskasan, andolan ko tayari

ajaya sumargi dwara 50 jana karmachari lai jabarjasti niskasan, andolan ko tayari

ajaya sumargi dwara 50 jana karmachari lai jabarjasti niskasan, andolan ko tayari

उपरोक्त सम्बन्धमा हामी नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) मा न्युनतम २ वर्षदेखि ५ वर्षसम्म कार्यरत कर्मचारीहरुलाई जबर्जस्ती धम्कीको भाषा प्रयोग गरी श्रम ऐन विपरित हामी ५० जनालाई उक्त कम्पनीले निष्काशन गरेको छ। ती मध्ये ३५ जना कर्मचारीहरु स्वतःस्फूर्त एकजुट हुँदै न्यायका लागि छटपटाइरहेका छौं। उक्त कम्पनीका मालिक अजयराज सुमार्गीले …नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै २०६९ देखि जबर्जस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीहरुलाई निष्काशन गर्ने क्रम अहिलेसम्म पनि जारी छ। पछिल्लो समयमा मंसीर १० गते ५ जनालाई निष्काशन गरेको उक्त कम्पनीका अध्यक्ष सुमार्गीकी श्रीमति अस्मिता सुमार्गी रहेकी छन्।

न्युनतम २ वर्षदेखि ५ वर्षसम्म उक्त कम्पनीको प्राविधिक तथा अप्राविधिक क्षेत्रमा काम गरिसकेका कर्मचारीहरुलाई २ सय ४० दिन काम गरिसकेकाले स्थायी गर्नुपर्छ भनेर हामीले कुनै राजनीतिक दल सम्वद्ध नरहेको स्वतन्त्र टे्रड यूनियनका नाममा व्यवस्थापनसमक्ष माग राख्यौं। तर त्यही माग राखेकै आधारमा सुमार्गीद्धारा प्रतिशोध साँधेर हामीलाई बन्द कोठामा थुनेर स्वघोषित स्वैच्छिक अवकाशको पत्रमा व्यहोरा पढ्नै नदिई मिति उल्लेख नगरिएको कागजमा जवर्जस्ती हस्ताक्षर गराइयो। उक्त कम्पनी सन् २०११ मै बहुराष्ट्रिय कम्पनी टेलिया सोनेरालाई बिक्रि गरिसकेको र बिदेशी कम्पनीको स्वार्थ पुरा गरिदिन सन् २०१२ मा हामीलाई जबर्जस्त निष्काशन गरेको स्पष्ट छ। प्राविधिक क्षेत्रमा सिकेको सीपलाई हामी सबै कर्मचारीहरुले दिलोज्यानका लागि लगानी गर्दै आएका थियौं। तर पेशागत सुरक्षाको माग राख्दा सुमार्गी मालिक रहेको उक्त कम्पनीले यसरी अन्यायपूर्वक निष्काशन गरेकाले तपाईहरुको सञ्चारमाध्यममार्फत हाम्रा पीडाहरु प्रकाशन प्रसारण गरी न्याय प्राप्तिका लागि वातावरण बनाइ सहयोग गरिदिनु हुन हामी तपसिलका जबर्जस्त निस्काषित कर्मचारीहरु संयुक्त रुपमा विनम्र आग्रह गर्दछौं।

नाम कार्यक्षेत्र

१) सोमन्तराज भट्टराई इन्जीनियरिङ
२) विश्वासजंग राना ”
३) रत्न चुडामणी न्यौपाने ,,
४) केयुर न्यौपाने ,,
५) सुरेश रिजाल इन्जीनियर
६) विरोध कट्टेल ,,
७) तालबहादुर रावत ,,
८) सन्तोष महासेठ ,,
९) मनोज माझी,,
१०) विक्रम सुवेदी ,,
११) प्रविण सापकोटा,,
१२) उज्वल सुवेदी,,
१३) विपिन पोख्रेल ,
१४) मनोज पौडेल
१५) दिपक थापा
१६) शुभ श्रेष्ठ
१७) पुष्प सुनुवार
१८) केशव आगांजा ड्राइभर
१९) अरुण पाण्डे ,,
२०) जनक सुवेदी ,,
२१) रामबहादुर भुषाल ,,
२२) सागर उप्रेती फाइनान्स
२३) संजीव पौडेल ,,
२४) मोहनराज अवस्थी इन्जीनियर
२५) नविन जिसी ,,
२६) रेखा पौडेल ,
२७) निशा तिमिल्सिना ,,
२८) विष्णु खनाल ,,
२९) मदन लामिछाने ,,
३०) अजिता जोशी ,,
३१) राजिव रावत ,,
३२) सागर खनाल,,
३३) बबिन प्रधान मार्केटिङ अफिसर
३४) प्रमिला ढुंगेल प्रशासन

हेलो नेपालको चलखेल
जनआन्दोलन २०६२/६३ पछि राजा फ्यालियो, संविधान सभाको निर्वाचनले माओवादीलाई सबैभन्दा ठूलो दल बनायो। प्रचण्ड प्रधानमन्त्री बने। त्यसै बेला कृष्णबहादुर महरा सञ्चारमन्त्री थिए। उनकै कार्यकालमा प्रचण्ड निकट व्यापारी अजय सुमार्गीलाई निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो। यसले हेलो नेपाल नाममा मोबाइल सञ्चालन गर्दै आएको छ। सस्तोमा मात्र नभई यो कम्पनीलाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको छ। फ्रिक्वेन्सी होल्ड गर्नका लागि पनि यसलाई यति धेरै फ्रिक्वेन्सीको अनुमति दिइएको थियो। जसरी एनसेलले लाइसेन्स पाएपछि यसका वास्तविक मालिकहरुको अनुहार पर्दापछाडिबाट खुल्दै गयो, हेलो नेपालको पनि त्यस्तै भएको छ।

सुमार्गीलाई हेलो नेपाल खोल्न लगानी भने उपेन्द्र महतोले गरेका थिए। गत अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको छ। टेलियासोनेरा आफैले विज्ञप्ति जारी गरी यसको पुष्टि गरेको हो। हेलो नेपालको २५ प्रतिशत सेयर भने अझै सुमार्गी कै नाममा छ। तर यो सेयर खरिदबिक्रीको मुद्दा भने एनसेलको जस्तो मात्र भएको छैन। दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्तै नदिई कम्पनीको स्वामित्व परिवर्तन भएको, हेलो नेपाललाई लाइसेन्स दिँदा अरुलाई जस्तो शुल्क नलिई सस्तोमा दिएको जस्ता विषयमा अख्तियारले छानबिन गर्न थालेको छ। त्यसैगरी राजस्व विभागले पनि यसमा छानबिन थालेको छ।

एउटै बजारमा एउटै प्रविधिका दुई कम्पनी चलायो भने क्रस होल्डिङ हुन्छ। यो प्रतिस्पर्धा ऐनको विपरीत हो। ऐन अनुसार एउटै कम्पनीको ४० प्रतिशत भन्दा बढी बजार हिस्सा हुने गरी कुनै मर्जर र किनबेच गर्न हुँदैन। टेलियासोनेराले यही गरिरहेको छ। यस विषयमा दूरसञ्चार प्राधिकरणले छानबिन अघि बढाइरहेको छ।

प्राधिकरणका कागजातमा भने नेपाल स्याटेलाइटको स्वामित्वको स‌ंरचना अझै यस्तो मात्रै छ- एअरबेल सर्भिस प्रालि, साइप्रस ५० प्रतिशत, मुक्ति श्री टेलिकम ४० प्रतिशत, सम्झना अर्याल (सुमार्गी) ५ प्रतिशत, पाकिस्तान मोबाइल कम्युनिकेसन ३ प्रतिशत र सेवा टेलिकम, बंगलादेश २ प्रतिशत। तर २६ अप्रिल २०१२ मा टेलियासोनेराले एअरवेलको सेयर किन्नका लागि महतोलाई १८ करोड स्वीडिश क्रोनर अर्थात तीन अर्ब ६७ करोड रुपैयाँ खर्च गरिसकेको छ।

अहिले एनसेलका चिफ फाइनान्स अफिसर टोमी होलोपिनले नेपाल स्याटेलाइटको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिरहेका छन्। एनसेलका चिफ कमर्सियल अफिसर अप्टु जाबर पनि उही दर्जामा नेपाल स्याटेलाइटकै काममा छन्। त्यस्तै, एनसेलकी मिडिया अफिसर सञ्जु कोइराला स्याटेलाइट कम्पनीको प्रवक्ताका रुपमा काम गर्दैछिन्।

शंकास्पद काम
हेलो नेपालको लाइसेन्सदेखि टेलियासोनेराले नियन्त्रणमा लिनेसम्मका काम शंकास्पद छन्। हेलो नेपालको लाइसेन्स लिने नेपाल स्याटेलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो। अजय सुमार्गी पनि त्यतिबेला स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक थिए। सुमार्गीले पत्नी सम्झना अर्याल भनिने अस्मिता सुमार्गीका नाममा नेपाल स्याटेलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए। पछि स्पाइस सेलबाट अलग भएर हेलो मोबाइलको लाइसेन्स सस्तोमा लिएका थिए उनले। माओवादी अध्यक्ष प्रचण्ड निकट भएकैले सस्तोमा र धेरै फ्रिक्वेन्सी होल्ड गर्न उनी सफल भएका थिए। अलग भइसकेपछि पनि फेरि टेलियासोनेराले उनको कम्पनी किन्नुले उनी मोहरामात्र भएको स्पष्टै हुन्छ। वास्तवमा यो नेपाल टेलिकमलाई घेर्न र फ्रिक्वेन्सी होल्ड गर्न चालिएको चाल थियो। यो वापत् कति रकम अनियमित रुपमा कसको खल्तीमा गयो? यो अनुसन्धानको विषय हो। नेपाल स्याटेलाइट टेलिकमको स्वामित्व टेलियासोनेराले किनेपछि बिनासूचना आफ्ना ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश दिने निर्णय गरिएको थियो। ती पीडित कर्मचारीको पक्षमा बोल्ने पनि कोही छैनन्। अहिले एनसेल र हेलो नेपाल दुवै कम्पनीको कानूनी सल्लाहकारको जिम्मा सर्वोच्च अदालतको न्यायाधिशबाट भर्खरै राजीनामा गरेका भरतराज उप्रेतीका छोरा अनुप उप्रेतीले लिएका छन्।

13 thoughts on “सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा”

  1. sandesh says:
    December 5, 2012 at 8:30 am

    केहि केहि भित्रि कुरोको गन्ध आएअनुसार ‘प्याकेज सहमति’ कांग्रेसलाई प्रधानमन्त्री दिने अनि संबैधानिक निकायहरुमा बाडफाड गर्दा अख्तियारको प्रमुख आयुक्त माओबादीको सिफारिसको मान्छेलाई दिने कुरा हुदैछ रे | अनि त लडाकु शिबिरको अनियमितता, येस्तई एन सेल , अनि अरु काण्डहरु तथा भबिस्यमा पनि हुनसक्ने मुद्दा मामिला बाट बच्न सकिन्छ | हुनत अख्तियारमा आयुक्त बिचमा निर्यण गर्दा केहि कुरामा विवाद भएमा बहुमत बाट गर्ने गरिन्छ , तर प्रमुख आयुक्तले नचाएको कुरा सामान्यता agenda मा नै प्रवेश गर्दैन | सबैलाई थाहा भएकै कुरोहो सम्भैधानिक परिसदका एस अघिका धेरै बैठकमा अखितियारको प्रमुख आयुक्तमा कुरा नमिलेर रोकिएको हो , कांग्रेस र माओबादी दुबैलाई आफ्नो मान्छे प्रमुख आयुक्तमा राख्नु पर्ने | येस्पली चै माओबादीले बाजी मार्ला जस्तो छ |

    Reply
  2. rosi says:
    December 4, 2012 at 3:24 pm

    प्रचण्ड, महरा , सुमार्गी , उपेन्द्र महतो and officials of tele -Senora must be prosecuted and brought to justice.

    when I become a prime minister this is the first thing I will do.I will prosecute tele-senora first and then rest of the Nepalese involved.

    I will also investigate the delay of (20 aarba) royalty by ncell which could have been brought 40 अर्ब royalty for Nepal( telecom refused to pay because NCELL is not paying) These Nepali neta have taken few aarba (yes now they talk in arba not karod) and made NCELL not pay single ruppee in royalty which was a condition when they took the license.
    This is the reason they bought Hello Nepal so that they can dump NCELL brand if government forced them to pay the 20 aarba royalty.
    हाम्रो आभागी पुर्पुरो नेता हरु ले दुइ ओटा मै पैसा खाएर २ ओटा ब्रान्ड नै राख्न दिए.

    Lets go against NCELL and bring them to Nepali Court.

    Reply
    1. Sisir says:
      December 4, 2012 at 5:14 pm

      रोसी जी को भावना संग सहमत हुदा हुदै एउटा कुरा थप्न मन लग्यो .
      NCELL एउटा फटाहाहरुको कम्पनी हो कुनै संखा छैन तर तेस्ले २० अरब रोयल्टी तिरेन भन्ने कुरा चाही सत्य होइन ..उसले तिर्दैनाकी भन्ने संखा चाही भने उठेको छ .. उसको license provision मा भएको सर्त अनुसार उसले सेवा सुरु गरेको १० वर्ष पछि २०१४-१५ मा नबिकरण गर्दा २० अरब रुपिया तिर्नु पर्ने हुन्छ र त्यो समय अझै डेड दुइ वर्ष जति अझै बाकि छ जस्तो लाग्छ … नेपाल टेलिकमले २० अरब तिर्न नखोज्नु पनि खेद जनक हो किनकि उसले अरुले तिर्छ कि तिर्दैना भन्ने सर्तमा अनुमति लिएको होइन , नतिरे राज्यले कारबाही गर्ने हो , उसले रोयल्टी तिर्नु पर्ने समय गुज्रेको पनि धेरै भै सक्यो , राज्यलाई बर्सिक ब्याज मात्र पनि अरब भन्दा बादी औथियो होला त्यो २० अरब समयमा तिरेको भए ..UTL को केसमा पनि तेस्तै हो भारतीय लगानी थियो ,राज्यलाई अरबौ नतिरी अटेर गरेर बसेको थियो , राज्यको नियम नमान्ने भारतीय UTL लाई कारबाही गर्न अग्रसर भएका दुरसंचार प्राधिकरणका तत्कालिन अदक्ष्यलाई जबर्जस्ति राजिनामा गर्न लगायो भारतीय puppet बाबुराम सरकारले , र त्यो कम्पनीलाई ८ बर्से किस्ताबन्दीमा पैसा तिरे हुन्छ भन्ने हुकुम फरमान हाम्रो लेन्डुप दोर्जेले दिए आफ्ना मालिक प्रति बफादार हुदै , राज्यले अरबौ गुमायो, देस हक्नेको खल्ती केहि करोडले भारी पक्कै भो होला … नेपालमा दुरसंचार को इस्थिती भयाभह छ .. कुराहरु बिस्तारै बाहिर आउदै छन् .. यो सब राजनीतिक अकर्मन्यताले गर्दा हो .. अन्त्यमा तपैकै सब्द हरु
      Lets go against NCELL and bring them to Nepali Court.

      Reply
      1. Nabin Sharma says:
        December 4, 2012 at 10:11 pm

        बाबुराम होइन तिमि हो लेन्डुप दोर्जे || जे पायो तेही त भन्न मिलेन नि || आफुलाई रिस उठ्यो भन्दैमा || तेत्रो कुरा थाहा रहेछ त खुरुक्क लाएर अदालत मा जना पर्यो नि || कता यता तिर आएर कमेन्ट गरेको || तेस्तो जानकार मान्छे भएर पनि किन हो त यता आउने रिस जति mysansar मा पोख्ने गरेको ||

        Reply
        1. Sisir says:
          December 5, 2012 at 10:29 am

          सत्य तितो हुन्छ मित्र … UTL को केस अदालत सम्म गएको हो र फैसला UTL को बिपक्ष्यामा सुनायो र पैसा तिर्न पर्ने भयो नत्र license खारेज हुने सम्मको इस्थिती थियो … UTL को license खारेज हुने अन्तिम दिन (इस्मरण रहोश ठिक अन्तिम दिन ) मन्त्रि परिसदले हतार हतार निर्णय गरेर आफ्नो मालिकको राम्रो सेवा गरेका थिए .. तिर्नु पर्ने राजस्व पनि किस्ताबन्दीमा त्यो पनि कुनै जरिबाना बिना … वाह लेन्डुप दोर्जे, आफ्नो प्रभुको राम्रो सेवा गरेउ .. यो केवल २-३ महिना जति अघिको कुराहो .. एक चोटी पत्र पत्रिका पल्टाउने कि ..तपाइलाई एउटा जानकारी
          “यूटिएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) को २६.६८, टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल) को २६.६६, टाटा कम्युनिकेसन्स लिमिटेड (टीसीएल) २६.६६ र नेपाल भेन्चर्स प्राइभेट लिमिटेड (एनभीपीएल) को २० प्रतिशत सेयर छ।” यो २०% भनेको चाही रघुजी महासेठ आदिको हो ..
          मित्र सत्य हजम गर्न सिक्नु पर्यो ..

          Reply
  3. Purushotam Pyakurel says:
    December 4, 2012 at 2:20 pm

    जहाँ जेपरेपनि यही चोर राजनीतिकदललाइ गुहार्ने हाम्रो पद्दतिलेगर्दा यीनेताहरु भ्रस्ट भएका हुन् ! अनि अर्कोकुरा जुनसुकै सस्थानमा युनियन बनाएर राजनीति गर्नु पनि राम्रो हैन !

    Reply
  4. Mantra says:
    December 4, 2012 at 1:16 pm

    सुमार्गीले भनेको ‘‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’’ ठिकै हो, सत्य बोलेछन/ नेपालका सबै पार्टी र नेताहरु सुमार्गी जस्ता नाफाखोर व्यापारीका लगौंटी हुन्/ तिनीहरुमा नेपाली जनताको भलाइगर्ने कुनै काम गर्ने हैसियत छैन जस्तो लाग्छ मलाई त/ ब्यापारीले तिनीहरु सबैलाई किनेका छन/

    अर्को कुरो हेलो नेपाल सुमार्गीको हो कि प्रचण्डको हो? सुमार्गीको नामबाट प्रचण्डले बिस्नेस गरेका होलान नि कथित ‘जनयुद्दका’ बेलामा उठाएको चन्दा रकम लगानी गरेर/ त्यसैले अहिलेको राजनीतिलाई घुमाइरहेका प्रचण्डको बिरुद्दमा बैद्य बा ले ति कर्मचारी लाइ के सहयोग गर्न सक्लान र..?????????

    Reply
  5. naresh sharma says:
    December 4, 2012 at 12:33 pm

    चक्र बास्तोलाको ज्वाई पहिलेको सीइओ हो, त्यहि भएर सबै पार्टीका नेताले उद्घाटन गरेको थिए. नेताहरु आफ्नो स्वार्थको लागि मिलिहाल्छान के.

    Reply
  6. Sisir says:
    December 4, 2012 at 11:21 am

    पार्टीगत नीतिगत भ्रस्टाचार धेरै घातक हुन्छ .. तेस्कै परिणाम हो यो सब .
    चुन ढुंगाको ब्यापारमा टाट पल्टेका सुमार्गी संग न तेत्रो लगानी गर्न सक्ने हैसियेत थियो न छ ..यो सब लागनी प्रचण्ड एंड कम्पनी को हो र ति कर्मचारी लाई जबर्जस्ति निस्काशन गर्ने खेल पनि तिनीहरुकै हो .. एदी कसैलाई होइन जस्तो लाग्छ भने सुमार्गीले बनाएका २ बिशाल complex किन प्रचण्डको बाउको नाममा(मुक्ति राम दाहाल ) राखे “मुक्ति टावोर” भनेर … हेल्लो नेपालमा इस्पस्त रुपमा माओबादी पार्टीको लगानी छ नत्र किन सबै नियम कानूनलाई धोति लगाएर तत्कालिन संचार मन्त्रि कृष्ण महराले सजिलै लाइसेन्स दिए र आवसेकता भन्दा झन्डै ५ गुना ज्यादा frequency (१३ MHz )दिए त.. होइन भने किन हेल्लो नेपालको हरेक निर्णयमा महराको संलग्नता हुन्छ ? किन महरासंग मीतिंग भएको १० मिनेट पछि त्यहाँबाट कर्मचारीहरुलाई जबर्जस्ति राजिनामा गर्न लगायियो ? एदी माओबादी पार्टीको प्रतक्ष्य संलग्नता नहुदो हो त किन आर्थिक सुशाशनका कुरा गरेर नथाक्ने हाम्रा PM लेन्डुप दोर्जे, सुमार्गीको सम्पतिको स्रोतको छानबिन गर्ने हिम्मत गर्दैनन् ? नेपालमा तेस्तो के व्यापार व्यबसाये छ र सुमार्गी ५-७ बर्समै रोडपतिबाट अरबपति भए ? कुरा त इस्पस्तई छ … एदी त्यो कम्पनिमा पार्टीगत संलग्नता नभएको भए किन त्यहाँ खाओबादीको कर्मचारी union छैन त ? सानो सानो निउमा कम्पनि बन्द गर्ने/ तोडफोड गर्ने / गुन्डागर्दी गर्ने ति तोरी लाउरेहरु(मजदुर नेता भनौदा ) किन येत्रो समय देखि चुप छन् त ?
    रह्यो सालोक्य जी को यो वाक्य “सुमार्गीलाई हेलो नेपाल खोल्न लगानी भने उपेन्द्र महतोले गरेका थिए।” यो चाही आम्सिक सत्य मात्र हो .. उपेन्द्र महतोको नेपाल satellite को हेल्लो नेपाल र NCELL मा केहि लगानी मात्र हो सबै होइन ..
    जे भए पनि यी जबर्जस्ति निस्कासित कर्मचारीको पुनाबहाली हुन पर्छ , कुरा तेत्ति हो .. एस्तो जागिर पाउन गार्हो समएमा ५०-५० जना कर्मचारीले एकै चोटी स्वघोषित स्वैच्छिक अवकाशको पत्रमा हस्ताक्षर गर्छन.. पत्याउने कुरा हो यो !
    तपाईहरुको जानकारीको लागि नेपालमा अरु २ नया mobile operator आउन खुट्टा उचालेर बसेका छन् तर येस्तई येस्तई राजनीतिक लगानी भएको कम्पनिहरुको कारण अहिले तिनीहरु पर्ख र हेर को इस्थितिमा छन् .. यी २ नया operator आएका भए direct /indirect १० हजार भन्दा बदिले रोजगारी पौने थिए ,competition ले गर्दा मोबाइलको कल tariff रेट अझै सस्तो हुने थियो, सेवामा गुदस्तर हुने थियो , छनोटको धेरै अवसर हुने थियो .. घाटा त देशलाई र आम जनतालाई भैरहेको छ नि … भ्रस्टाचारले नै देश डुब्ने भो .. लुट पालै पालो लुट .. तिमीहरुकै दिन छ अहिले ..

    Reply
  7. bikash adhikari says:
    December 4, 2012 at 10:11 am

    राजनीतिमा बिदेसी चलखेल त चलेकै थियो र छ ।अब नेपालको संचार जगतमा पनि चल्न थाल्यो त्यो पनि telecommunication मार्फत ।आशा गरौ अख्तियारले यसको स्वतन्त्र छानबिन गरी नेपालको संचार जगतमा भएको माफियातन्त्रको अन्त्य गर्नेछ ।अर्बौ रुपयाँको चलखेलमा राष्टिय दूरसंचारमा कुनै बिदेसी कम्पनीको हालीमुहाली हुनु हुदैन ।हामीले बोल्यौ अब कानूनले बोल्ने पालो ।

    Reply
  8. raju thapa says:
    December 4, 2012 at 5:07 am

    यो कम्पनी को पहिला को CEO नेपाली काँग्रेस का नेता चक्र बास्तोला को जुवाई होनी हैन?यी नेता हरु देश लाई भलो हुने कुरा मा मात्रै झगडा गर्छन, चोर हरु पैसा लुट्ने मा त एकजुट हुँदा रैछन त! अब वैद्य बा को कमाउने पालो ! तिनी हरु सब जना लाई किरा परि जाओस !

    Reply
  9. Desh Bandhu Sharma says:
    December 4, 2012 at 4:18 am

    हेलो नेपालको ब्यबस्थापनका कमि कमजोरी होलान, तर नेपालका निजि कम्पनीका कर्मचारी तथा कामदारहरु पनि पक्कै चोखा छैनन् . आफ्नो ब्यबसाहिक हित भन्दा राजनीति लाइ बढी मान्यता दिने, कम्पनीको आम्दानि होस् नहोस तलब वृद्धिको माग गर्ने, राजनीतिक दलका नेताहरुले भने भने बिना अरु कुनै कारण बन्द हड्ताल गर्ने, मालिकलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने, YCL लगाएर कुट पिट गर्ने जस्ता अभद्र ब्यबहार गर्ने कामदारलाई अन्य कुनै पनि देशमा छुट हुदैन . यदि नेपाले बिदेशी लगानीलाई प्रोत्सहान गर्ने हो यस्ता कामको तुरुन्त अन्त्य हुनु पर्दछ. निजि कम्पनीमा राजनीतिक दलका ट्रेड युनियन खोल्न दिनु हुदैन , नत्र यति धेरै कानुनि राज्य भएका लगानी मैत्री देश हरु हुँदा हुँदै कुन दिदेशी लगानीकर्ता Risk लिएर नेपालमा लगानी गर्न आउला ?

    Reply
  10. Suraj Shrestha says:
    December 4, 2012 at 4:08 am

    कर्मचारीको हक हितको पुरा पुरा सुरक्षा हुनु पर्द छ
    तर मेरो बिचारमा नेपालमा कर्मचारीहरुले नियम भन्दा बाहिर गई निकायलाई दुख दिने प्रवृतिको अन्त्य हुनु पर्द छ . यो प्रवृतिले गर्दा नेपालमा औधोगिक बिकासमा लगानी गर्न उधोगपति र बिदेशी लगानीकर्ता पलायन छन् .
    कानूनमा सबै नेपालीहरु समान हुन्

    सुरज श्रेष्ठ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme