Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिभी बन्दै हुने भो त ? अहिल्यै हैन !

Posted on December 3, 2012December 4, 2012 by Salokya

डिभी नेपालमा खुबै लोकप्रिय छ। ‘डिभीपीडित’ नामको त संस्थै छ, बेला-बेलामा दूतावासबाहिरै धर्ना बसेर आन्दोलन गरिरहन्छन्। अचानक शनिबार खबर आयो- अब डिभी बन्द हुने भो रे। डिभीको नाममा धन्दा गर्ने माछा झुण्ड्याएको र नझुण्ड्याएको घरका धनीहरुलाई पनि साह्रै चित्त दुख्यो होला- बिचराहरुको गरी खाने बाटो पो बन्द हुने भो त। कति सोध्दै थिए- त्यत्रो पैसा तिरेर डिभी भरेको, अब खारेजै हुने भो त डिभी ? पैसा खेरै जाने भो त ? अर्काथरी भने दङ परे, हाम्रा देशका राम्रा मान्छे जति विदेशतिर लैजाने त्यो डिभी बन्द भएकै राम्रो।

तर के डिभी बन्दै हुन लागेको हो त ? अर्को वर्षदेखि डिभी आवेदन अमेरिकाले नलिने नै भएको हो त ? हैन।


अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले अहिलेको डिभी चिट्ठा खारेज गरी त्यो संख्याको ग्रिनकार्ड अमेरिकी विश्वविद्यालयहरुमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा एडभान्स्ड डिग्री हासिल गर्नेहरुलाई दिने स्टेम जब्स एक्ट पास गरेको हो। अमेरिकामा दुई सदनात्मक व्यवस्था छ। पहिले हाम्रो संसदीय व्यवस्थामा पनि ठ्याक्कै यस्तै थियो- प्रतिनिधि सभा र राष्ट्रिय सभा। दुवै सदनबाट पास भएको विधेयक राष्ट्रप्रमुखले प्रमाणिकरण गरेपछि बल्ल कानुन बन्थ्यो। अमेरिकामा पनि त्यस्तै हो। त्यहाँको माथिल्लो सदन (हाम्रोमा राष्ट्रिय सभा भनेको जस्तै) सिनेट हो। यो विधेयक कानुन बनी लागू हुनका लागि सिनेटबाट पनि पास हुनुपर्‍यो र त्यसलाई राष्ट्रपति ओबामाले पनि साइन गर्नुपर्‍यो।

अमेरिकाको तल्लो सदनमा विपक्षी रिपब्लिकनहरुको बहुमत छ। माथिल्लो सदन सिनेटमा भने सत्तारुढ डेमोक्रेटहरुको बहुमत छ।

यो विधेयक रिपब्लिकनहरुको चासोको विषय हो। रिपब्लिकनहरु डिभी भिसाबाट फ्रड गर्नेहरु र आतंकवादीहरु अमेरिका पसेको ठान्छन्। गत सेप्टेम्बरमा नै यो विधेयक रिपब्लिकनहरुले ल्याउन खोजेका थिए। तर त्यतिबेला फास्ट ट्रयाकमा ल्याएको भएर पास हुन दुई तिहाई बहुमत चाहिन्थ्यो। भोट हुँदा १५८ का विरुद्ध २५७ मात्र मत आएकोले दुई तिहाई बहुमत जुट्न सकेन।

अहिले भने अधिकांश रिपब्लिकन सांसद र २७ जना डेमोक्रेटहरुको पनि समर्थन पाएर १३९ का विरुद्ध २४५ को सामान्य बहुमतले यो कानुन तल्लो सदनबाट पास भएको हो।

ओबामा असन्तुष्ट
राष्ट्रपति ओबामा भने विपक्षी रिपब्लिकनहरुको पहलमा ल्याइएको यो विधेयकबाट असन्तुष्ट छन्। बुधबारै एक विज्ञप्ति जारी गरी ओबामा प्रशासनले यो विधेयकको विरोध गर्ने बताएको थियो। तर स्मरणीय के छ भने ओबामाले भिटो लगाउने चेतावनी भने दिएका छैनन्। दुवै सदनबाट पास भएको विधेयकलाई पनि राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्ने पाउने अधिकार छ। भिटो प्रयोग गरेर रोकिएको विधेयकलाई दुवै सदनले दुई तिहाई बहुमतले फेरि पास गरे भने चाहिँ त्यो कानुन लागू हुन्छ। भिटो लगाउने चेतावनी नदिइए पनि आफ्नो बहुमत रहेको सिनेटमा मतदान हुँदा यो विधेयक असफल हुने विश्वास डेमोक्रेटहरुले गरेका छन्। १०० सिटको सिनेटमा डेमोक्रेटको ५१, रिपब्लिकनको ४७ र २ स्वतन्त्र सिट छ। ओबामा आफैले पनि यो विधेयकको विरोध गरेको हुनाले यो विधेयक पास नहुने संभावना बढी छ।

राजनीतिक कदम
यसपालिको चुनावमा नन ह्वाइटहरु सबै ओबामाको पक्षमा लागे भनेर रिपब्लिकनहरुले यो राजनीतिक रणनीतिक कदम चालेको भन्दा रहेछन् डेमोक्रेटहरु। तर रिपब्लिकनहरु भने यो देशका लागि आवश्यक कदम भएको तर्क गर्दा रहेछन्। विश्वका राम्रा मान्छेहरु अमेरिकामा पढ्न आउँछन्। पढिसकेपछि ती उत्कृष्ट मान्छेहरुलाई देशै फर्कन बाध्य नपारी भिसा दिएर अमेरिकामै बस्न लगाए देशलाई फाइदा हुने तर्क रहेछ उनीहरुको। उनीहरु स्वदेश फर्किए हामीसँगै प्रतिस्पर्धा गर्न आउँछन् भन्दा रहेछन् उनीहरु। डेमोक्रेटहरुले यो कानुनलाई रेसिस्टको आरोप लगाएका छन्। उनीहरुले स्टेम भिसा दिनलाई डिभी बन्द गर्नुनपर्ने पनि तर्क दिँदा रहेछन्।

हाम्रा लागि त दुवै घाटाको काम
नेपालको लागि भने डिभी र यो नयाँ ल्याउन लागिएको कानुन दुवैले घाटा नै पार्नेछ। डिभीले देशका केही योग्य र संभावना भएका व्यक्तिहरुलाई अमेरिकातिर लैजान्छ भने नयाँ कानुनले त झन् अमेरिकामा बसेर पढिरहेका राम्रा मान्छेहरु हाम्रा नभएर उतैका बनाउने संभावना हुन्छ। चिट्ठा परेर अमेरिका जान पाइएला भनेर आशा गर्ने भाग्यवादी नेपालीहरुलाई चाहिँ यो कानुन पास भए निराशा हात लाग्नेछ। अनि माथि भने जस्तै डिभीको नाममा धन्दा गरेर लाखौँ कमाउनेहरु पनि गरी खाने बाटो बन्द हुने भएपछि निराश बन्ने छन्।

तर अहिले नै डिभी बन्द हुने भइसकेको भने हैन। पहिला सिनेटमा यसबारे भोट हुनुपर्‍यो। त्यसपछि ओबामाको भिटो पावर प्रयोग हुने कि नहुने हेर्नुपर्‍यो, अनि मात्रै यसको टुंगो लाग्छ।

26 thoughts on “डिभी बन्दै हुने भो त ? अहिल्यै हैन !”

  1. SHANKAR RAJ OLI says:
    December 5, 2012 at 6:58 am

    डिवी बन्द नै भयको राम्रो होला जस्तो लाग्छ मलाई त .
    डिवी को कारण कति मान्छे थागीयाका पनि छन् .

    Reply
  2. nabaraj kale PA says:
    December 5, 2012 at 1:17 am

    मान्छे गुना हुन्छ होला भन्ने हाम्लाई लाइराको छ ! बुढी मारिन भन्दा पनि काल पल्क्यो भन्ने उखानको याद आयो ! जय मातृभूमि !

    Reply
  3. padam regmi says:
    December 4, 2012 at 7:50 pm

    विश्वराज जी
    तपाईको मानासिकनाता नै दास रहेछ?? अमेरिका मा बस्ने मान्छे कसरि दास ??कुल्ली ???????? ५ लाख मान्छे मा १/२ जना मान्छे मरे भन्दै मा अमेरिका मा मान्छे दासी हुन्छ ??? येहा बाट धेरै कुरा सिक्नु पर्छ हामी नेपाली र नेपाल ले / गरेर खान लाई केहि रोक टूक छैन येहा / मलाई त मा अमेरिका को पहिला श्रेणी को नागरिक हो / र मलाई नेपाली मूल को अमेरिकन हुनु मा गर्व छ /

    Reply
  4. TIKENDRA says:
    December 4, 2012 at 11:40 am

    बिस्तृत जानकारी दिनुभएकोमा धन्यवाद … edv परेर विदेश पलायन भएपनि नपरेर भएपनि अन्तिममा आखिर आफ्नो ठाउमा फर्किन नचाहने सायद कमै मात्र नहोला उमेर हुदा सम्म रमाइलो लाग्ला उमेर गएपछि बल्ल आफ्नो गाउठाउको सम्झना आउला २ छाक खाएर बसेपनि आफ्नै ठाउँ रमाइलो लाग्ला आफ्नो छोराछोरी उतैको संस्कृतिमा हुर्कियपछी उतैको चालढाल हुन्छ अनि आफ्नो संस्कृति जस्तो सम्झेर तह लगाउन खोज्दा त्यो बाटो हिड्न छोराछोरीलाई मुस्किल पर्छ उस्तै परे छुट्टै बस्ने सम्भावना धेरै हुन्छ त्यो बेला बल्ल सम्झना आउछ….आफ्नो देश आफ्नो संस्कृति आफन्त नातागोता छरछिमेक ……..

    Reply
  5. बिश्वाश says:
    December 4, 2012 at 6:05 am

    DV भरेर बिदेसिनु भन्दा त तोरी लाउरे बेरोजगार भएर सडक गल्लि र चोकमा टायर बाल्दै जय नेपालको नारा घन्काउनुमा शान देख्नेहरुको बुद्धिको सराहना नगरी बस्न सकिन्न !!

    Reply
  6. Mahesh S says:
    December 3, 2012 at 10:48 pm

    दोश्रो दर्जा को नागरिक भनेको के हो? हामी स्वो-देश मै बसेर पहिलो दर्जा को नागरिक को अनुभूति कति को गर्न पाएका छौ त? आफु लै समस्या परेर प्रहरी , मालपोत , अदालत कहिँ जानुस कहिँ अनुभूति गर्नु सक्नु हुन्छ आफु पहिलो दर्जा को नागरिक भनेर? बरु होटेल, बिमान स्थल , trekking route मा जानुस तपाई ले आफु लै गैर- नेपालि साबित गर्न सक्नु भो भने पहिलो दर्जा को नागरकि को बेबहार पाउनु सक्नु हुन्छा. हाम्रै संस्कृति र संस्कार छ, पुर्बो को बाहुन ले ले पचिमको बाहुन लाई अनि पचिम को बाहुन ले पूर्व को बाहुन लाई दोश्रो दर्जा सम्झिने. अनि तेस्तै काठमाडौँ भित्र को नेवार आफु लै ठुलो ठान्ने अनि बाहिर का ले आफुलाई. नाम दाम कमौना सक्यो भने विदेश मा नि पहिलो दर्जा को नागरिक हुन्छा , सकेन बहने आफ्नै देश को दोश्रो दर्जा को नागरिक हुन्छा. नेपाल मा भौगोलिक र जातिय ता को आधार मा खुला रुप मा एक अर्का प्रति जति discrimination हुन्छा , त्यो भन्दा धेरै कम अमेरिका मा हुन्छ. कम से कम कसैले तपाई लै तपाई को अगाडी आएर औ*ला तेर्साएर तपाई लै अपमान गर्न सक्दैन, एदी कसैले गरि हाल्यो भने एउटा अमेरिकन नागरिक ले पाउने सुबिधा को उपायोग गरि तपाइले सम्बन्धि ठाउँ मा उजूर दिन सक्नु हुन्छा.
    अर्को कुरा,
    नेपाल बाट अमेरिका मा प्रतिभा पलाएन भो भनेर चिन्ता मानु पर्ने अबस्था छ जस्तो लाग्दैन. नेपाल बाट १-२ छोडेर तेस्तो ठुलो बैज्ञानिक, engineer , डाक्टर अमेरिका मा पलाएन भएका छैनन्. अमेरिका मा तेस्ता नेपाली हरु छन् भने उनीहरु येही आएर त्यो स्थान बनाएका हुन्. साएद उनीहरु नेपाल मै बशेको भए तेही हेल्मेट झुन्दयाउदै +२ तिर चहारी रहेका हुन्थे होलान. अलि चल्ता पुर्जा ले येसो सेवा आयोग मा नाम निकाली university सम्म पढाउन जान्थे होलान. तर ति manpower हरु को कमि त अहिले पनि नेपाल मा छैनन्. +२ र university हरु त चलेका नै छन्. बरु सरकार ले बि – भिन्न देश बाट श्रम कोटा ल्याएर सस्तो मा नेपाली युबा हरु लै तेता supply गर्नु भन्दा नेपाल मै उनीहरु लै vocational training अथवा खेति / कृषि तिर लाग्न दिएको भए चाही देश लाई धेरै राम्रो हुन्थ्यो र अहिले नेपाली समाज मा फैली रहेको सामाजिक तथा पारिवारिक विसंगति धेरै हद सम्म कन्ट्रोल हुन्थ्यो होला.

    Reply
  7. Basantina says:
    December 3, 2012 at 9:49 pm

    Looking for surviving opportunity is a human necessity. If some one is loosing hope to be employed in his own native place, we should be indifference on them and let them go. Although I have not filled EDV but I would go shocked if it is closed.

    Reply
  8. shyam says:
    December 3, 2012 at 9:35 pm

    @ शैलेद्र जी मा तपाई संग सहमत छु अरब मा नेपाली हरु चाही सबै कुल्ली नै गर्छन भन्ने छाप छ अनि यूरोप र अमेरिका जाने हरु राम्रा छन भनेर तर त्यो हाम्रो गलत धारणा हो यहाँ अरब मा पनि एकदम राम्रो छ यदि तपाई संग केहीमात्र धक्छ्य्ता छ भने मा यहाँ मैले काम गर्ने देशमा पनि देरै नेपाली दाजु भाइ ले लाख तथा दिदीबहिनी हरु लेपनि ७०/८० हजार सम्म कमाहेको देखेको छु मैले मेरो भन्नु पर्दा मासिक ८० हजार कमाइ गर्छु साथमा गाडी, फोन खर्च अनि यो चलाहेको कम्पुटर पनि कम्पनि ले दिहेको हो / मा जस्तो एक गाउँमा बसेर धुलोमा हुर्केर केहि कलेज gyaan लिहेको मान्छे लाइ काफी नै जस्तो लाग्छ /

    Reply
  9. Sisir says:
    December 3, 2012 at 4:44 pm

    सरल र सिधा भाषा प्रयोग गर्ने हो भने “डी भी लट्री = +२ उतिर्ण स्क्षित कुल्ली ”
    अमेरिकीहरु तेती परोपकारी र लाटो त पक्कै छैनन् तेत्तिकै बिदेसीलाई आफ्नो नागरिक बनाउन .. आफुलाई त बेल पाक्यो हर्स न बिस्मात . नकाहिले डिभी भरियो न कहिले भरिनेछ .. जय मातृभूमि ..

    Reply
    1. Dinesh Shrestha says:
      December 4, 2012 at 12:12 am

      बाहुनले च्याउ खावोस न स्वाद पावोस भनेको यै हो

      Reply
    2. बिश्वाश says:
      December 4, 2012 at 2:47 pm

      परोपकारी नभएरै होला आफ्नै कूल खान्दानका हरुले लात हानेका झन्डै ५० हजार नेपालि मूलका भुटानी सरनार्थिहरुलाई अमेरिकन बनाएका ! बुद्धिमा बिर्को लागे पछी कसको के लाग्छ ?? पोजिटिव सोचौ न के सारो लाटो ??

      Reply
  10. Dinesh says:
    December 3, 2012 at 1:48 pm

    वास्तब मा भन्ने हो भने america वा Australia वा अन्त कतै पनि gayera Nepali हरुआफ्नो बुद्धि र दक्षता ले गएका हुन् वने त राम्रो होला…नत्र त जुन सुकै विकसित देश गएका नेपाली हरु ले पाखुरा कै काम गरेका छन्… युरोप वा अमेरिकागएका धनि मानि बुद्धिमान र अरब कतार गएका जति मजदुर भन्ने भ्रम नपाले हुन्छ… सबलाई चेतना भय …..

    Reply
  11. पुष्प says:
    December 3, 2012 at 1:33 pm

    अहिलेका लागि ज्यामी पुगेजस्तो छ । तालीम पाएर निखारिएका ती ज्यामीहरूको उच्चतम उपयोग कसरी कसले गर्ने ? इन्जिनियरले ! अनि ती नम्बरी अमेरिकीहरू चाहिँ खुट्टा हल्लाएर खाने ! ओबामाले नाटक गरेका होइनन भने अब डीभी बन्द हुने सम्भावना बढी छ । बन्द भए पनि चाहिए फेरि खोलिहाल्छन ।

    Reply
  12. bikash adhikari says:
    December 3, 2012 at 12:19 pm

    डि भि परेर अमेरिका जानेहरु गईसके,नपर्नेहरु कुनै वर्ष त पर्छ भनेर भरिरहेका छन् ।अमेरिका एउटा सपना हो जुन पुरा हुन्छ नै भन्ने छैन ।त्यस्तो सपना नदेख्नेलाई यो बन्द भएपनि नभएपनि केहि फरक पर्दैन ।चिठ्ठा भनेकै भाग्य हो,सबैलाई पर्दैन ।तर एउटा कुरा यसमा यत्रो बहस जरुरी छैन,आजको अमेरिका साउदी र कतार भन्दा खासै फरक छैन ।आखिर जहाँ गएपनि दु:खै गर्ने त हो ।

    Reply
  13. shreesh thapa says:
    December 3, 2012 at 11:48 am

    बिस्तृत जानकारी दिनुभएकोमा धन्यवाद … edv परेर विदेश पलायन भएपनि नपरेर भएपनि अन्तिममा आखिर आफ्नो ठाउमा फर्किन नचाहने सायद कमै मात्र नहोला उमेर हुदा सम्म रमाइलो लाग्ला उमेर गएपछि बल्ल आफ्नो गाउठाउको सम्झना आउला २ छाक खाएर बसेपनि आफ्नै ठाउँ रमाइलो लाग्ला आफ्नो छोराछोरी उतैको संस्कृतिमा हुर्कियपछी उतैको चालढाल हुन्छ अनि आफ्नो संस्कृति जस्तो सम्झेर तह लगाउन खोज्दा त्यो बाटो हिड्न छोराछोरीलाई मुस्किल पर्छ उस्तै परे छुट्टै बस्ने सम्भावना धेरै हुन्छ त्यो बेला बल्ल सम्झना आउछ….आफ्नो देश आफ्नो संस्कृति आफन्त नातागोता छरछिमेक ……..

    Reply
  14. sanu says:
    December 3, 2012 at 11:24 am

    Dv बन्द भयो भने त हाम्रो अमेरिका जाने सपना पुरा नहुने भयो नि त / अब अरु उपाय नै छैन त्यहाँ जानलाई भाग्य भए dv पर्ला र जाउला भन्ने सोचेको थ्यो अब त्यो पनि न होला जस्तो पो रहेछा /

    Reply
  15. dor prasad says:
    December 3, 2012 at 6:45 am

    बिल अनुसार डिवी बन्द भएमा ग्रीनकार्ड बढी प उ ने पढे लेखेका भनेका नेपाली होइनन इन्डियन र chinese हुन्. EB visa कोटा को नेपाली हरुलाई कमि छैन . यी देश का नागरिक ले ग्रीन कार्ड को लागि १० बर्स कुर्नु पर्छा भने नेपाली लै तुरुन्तै पैन्छा अरु process पुरा गरेमा .

    Reply
  16. Keshav says:
    December 3, 2012 at 5:57 am

    Very thoughtful article. As a journalist you have done some research. Other people have done hawadari news. Solute to you Umesh ji.

    Reply
  17. Shailendra sharma says:
    December 3, 2012 at 4:31 am

    मैले आज सम्म डीभी भरिन, तर भरेको भए पार्थियो होला जस्तो चाही लाग्थ्यो. विदेश गएर टन्न पैसा कमाउने धोको त पहिले देखिनै हो तर देश सदाका लागि छोडेर अमेरिकामा दोस्रो दर्जाको नागरिकको जीबन जीउने सपना कहिले देखिन.साउदी अरबमा छु.९०,००० महिनामा कमाई छ.२/४ बर्समा सदैको लागि आफ्नै देशमा फर्कन्छु.
    एउटा खुब चलेको फेसबुकको स्टाटस याद आयो ” श्रम बेच्ने हरु अरब तिर ,बुद्दी बेच्ने हरु अमेरिका तिर, जनता बेच्ने हरु सदन तिर…….” येस्तई खालको थियो, तेस्मा मलाई चित्त नबुझेको लाइन चाही “बुद्दी बेच्नेहरु अमेरिका तिर” भन्ने हो. मेरो भनाइ के भने बुद्दी बेच्ने हो भने तपाइको बुद्दी अरबमै सजिलै राम्रो भाउमा बिक्छ.इंगलैंड तिरका हजारौ मानिस यहाँ काम खोज्दै आउछन ,अलि पढेको अनि सिप भाको हुनुहुन्छ भने सजिलै यहाँ लाख कमाउन सक्नु हुन्छ.यहाँ धेरै नेपाली दाइहरु हुनुहुन्छ जसको तलब लाख भन्दा माथि छ.यहाँ अफिसमा घुम्ने कुर्सिमा बसेर टाई लगाएर गर्ने कामहरु जतिपनि पाइन्छ,सबै अरबी लाहुरेहरु भारी बोक्छन भनेर अमेरिकामा बस्नेहरुले सोच्छन.
    इन्डियन बंगाली अनि श्रीलंकनहरुलाई भन्दा यहाँ नेपालीहरुलाई इमान्दार,बाठा अनि पढेलेखेको ठानिन्छ यहाँ.यहाका नागरिकहरु पनि बडो इज्जतका साथ प्रस्तुत हुन्छन.प्रत्यक भेटमा नमस्कार गर्न बिर्सिदैनन.जब म फरर अंग्रेजीमा बोल्छु तब मलाई “तिमि इन्डियन हौ?” भनेर सोध्छन मैले “म नेपाली हु” भनेर गर्बका साथ भन्छु.अनि उनीहरु भन्छन “नेवाल मिया मिया” (नेपाल धेरै राम्रो)

    Reply
    1. Aakar Bhushan Nepali says:
      December 3, 2012 at 7:16 am

      सार्है हर्ष लाग्यो तपाईको लेख्नु भएको कुराले | संसार भरि नेपालीप्रतिको छाप यस्तै होओस भन्ने शुभकामना! र तेस्तो बनाउने जिम्मा चाहीं तपाई हाम्रै हो है !

      Reply
    2. तेन्जिंग गाबा says:
      December 3, 2012 at 9:13 am

      शैलेन्द्र जी,
      यहाको प्रतिक्रिया पढेर मेरो पनि छाती गर्बले फुल्यो, ,
      अरबमा बसेर राम्रो कमाइको साथमा नेपालीको शीर उचो बनाउनु भएकोमा यहालाई धन्यबाद
      तर
      “सबै अरबी लाहुरेहरु भारी बोक्छन भनेर अमेरिकामा बस्नेहरुले सोच्छन” भनेर भनि हाल्नु अलिक मिल्दैन कि ?
      केहि अमेरिकामा बस्ने नेपालीहरुले अरब भोगेर-देखेर-बुझेर अमेरिका गएका पनि छन् अनि धेरैलाई अमेरिकामा नै बसे पनि अरब कस्तो छ भन्ने थाहा छ होला/

      जदौ

      Reply
  18. Milan Lama says:
    December 3, 2012 at 4:06 am

    सालोक्य जी,
    तपाईले कती जना योग्य र सक्छम ब्येक्ति हरु डिभी बाट अमेरिका गएको देख्नु भयो? डिभी बाट अमेरिका जाने भनेका त १२ कक्षा पास गरेका ९५% छन् र उचा योग्यता भएका हरु त
    एकदम थोरै मात्र गएका छन्/
    तेसैले डिभी बाट राम्रा मान्छे अमेरिका गए भनेर नभन्नुस, राम्रा मान्छे त स्तुदेंत विसा मा मात्र गएका छन्/

    Reply
    1. samrat~ says:
      December 3, 2012 at 11:09 am

      हो डी भी परेर US आउने हरु मा बढी १२ क्लास पास गरेको हरु नै हुन्छ. उनीहरु लाइ ज्यामी काम मा खटाउन ल्याएको भए पनि 2nd generation लाइ चाइ फाइदा हुन्छ. धेरै डी भी परेर आउने हरु याहा दक्च्येत नभएको हरु याहा आउदा धेरै ले दुख पाएको देखिन्छ. धेरै कम ले राम्रो पनि गरेको छ.

      अब पढे लेखेको लाइ बोलाए भने ta american हरु संग compete गर्ने राम्रो काम खोजि हाल्छ तेसैले १२ क्लास पास गरेको हरु तल्लो स्तर को नै काम खोज्ने गरेको paincha जुन चीप labor यिनीहरु लाइ कमि भएको ले नै तेसो गरेको अनुमान लगाउन सकिन्छ फेरी उनीहरु ले tax पनि तिर्छ. इल्लिगल हरु लुकेर काम गर्ने गरेको छ अनि tax छलाउने गरेको छ . याहा को सरकार लाइ tax पनि तिर्ने अनि low labor को काम गराउने नियेत ले नै तेसो गरेको जस्तो लाग्छ.

      बरु यहा को foreign students हरु को हालत चाहि एकदमै पत्ला छ. बिचरा हरु पढी सकाएर काम पाउन एकदम मुस्किल छ अहिले को economy मा. अनि status मा बस्न को लागि double masters triple masters गर्दै पापड बेलेर बसेको छ. बरु उनि हरु लाइ ५ बर्स को विसा दिए राम्रो हुने थियो काम को experience लिएर आ आफ्नो देश फर्के देश को लागि पनि राम्रो. पढाइ भन्दा काम को experience राम्रो हुन्छ..हाम्रो देश मा चाइ डिग्री लाइ मन्येता दिने चलन छ यहा चाइ काम को experience धेरै खोज्छ जुन ठिक हो. डिग्री भने को खालि जग बसाल्नु मात्र हो. घर बसाल्न लाइ experience नै चाइंच.

      Reply
    2. AMRIT THAPA says:
      December 3, 2012 at 1:17 pm

      माफ गर्नु होला मित्र हरु ,

      DV परेर अमेरिका जाने नेपाली … ९५ % मान्छे हरु भारतीय अथवा पाकिस्तानी अथवा बंगलादेसी अथवा अर्को नेपाली का दास हुने हरु हुन् …
      घण्टा को ७ को हाराहारी मा १८ घण्टा काम गरेर कमाउने हरु हुन् … यथार्तता येही हो …

      फेरी पढाई पनि खासै हुदैन (१२ कच्या त सकेका हुन्छन अथवा त्यो पनि नगरी काम को अनुवाब ले पनि बराबरी मान्यता पाएका त हुन्छन बिचरा हरु ) अनि तेसैले भने जस्तो काम पनि पाउने होइनन …
      तेही भएर धेरै जसो मान्छे हरु ले DV परेर आउने हरु लै “घन्टे” पनि भन्छन |

      Reply
  19. द्रोण says:
    December 3, 2012 at 2:34 am

    take it as a good opportunity to our people.I have many of my friends also who have rejected to come to USA even after they were nominated.
    so it is personal belief and choice ( in some cases it may be compulsory)
    to pass our 66 yrs (on the average) where ever we like.
    In some way ,it is the fault of our culture also,it guides us to foreign countries saying”as a man one must go out the country at least once in his life time”.

    Reply
  20. Bishwaraj says:
    December 3, 2012 at 2:10 am

    बन्दै होस्- यो प्रथा- अमेरीकाले ज्यामी बिदेशबाट लैजाने चलन – जहाँ गए पनी नेपाली अन्तत – दाशी नै हो- अमेरीकामा नेपालीले के सम्म भोगेका छैनन् – पेट्रोल पोइन्ट मा गोली खाएर मर्नु र क्याश पोइन्ट मा छुरी खाएर मर्नु – नेपाली त्येहा पुगे पछी अली उरन्ठेउलो भएर पनी बीग्रेका हुन्-

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme