Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !

Posted on November 15, 2012November 16, 2012 by Salokya


भाइटीका एउटा रमाइलो चाड हो। तर जसको दिदीबहिनी छैन वा दाजुभाइ छैन, उनीहरु यो चाडमा खिन्न हुन्छन्। दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विकल्प अनेक छन्। त्यही मध्येको एक विकल्प हो रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरमा आउनु र त्यहाँ रहेका अपरिचित दिदीबहिनीहरुको हातबाट टीका लगाउनु र उनीहरुलाई पनि लगाइदिनु। वर्षको एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा जाने मौका हत्तपत्त म छुटाउँदिन, त्यही भएर आज पनि गएँ। यस पटक मन्दिरमा चार जना दिदीबहिनी बसेका रहेछन् अपरिचित दाजुभाइलाई टीका लगाइदिन। माथिको फोटो तिनै मध्ये एकलाई अपरिचितले टीका लगाइदिँदै गर्दाको हो।

दाजुभाइले त यसरी आफ्नो आवश्यकता पूरा गर्छन् तर दिदीबहिनीमात्र हुने घरमा चाहिँ के हुने ? यो वर्ष राजधानीमा दिदीबहिनीहरुले भाइटीका जस्तै गरी बहिनीटीका मनाए पहिलो पटक।

रानीपोखरीमा अपचरिचित दाजुहरुलाई टीका लगाइदिन बसेकी बहिनी।

रानीपोखरीमा टीका लगाइदिनेहरु र लगाउन चाहनेहरुबीच आवश्यकताको साइनो गाँसिएको थियो। उनीहरु टीका लगाइदिन्थे र साथमा अपरिचित दाजुभाइहरुले दक्षिणा दिन्थे।


एक छिन त्यहाँ बसी हेर्दा बालकदेखि वृद्धसम्म धेरैले त्यहाँ टीका लगाएर निधार खाली रहन दिएनन्। दिदीबहिनी नहुनेहरुको निधार खाली हुने समस्या यसरी मेटिने भए पनि दाजुभाइ नहुने दिदीबहिनीहरुले एउटा अर्कै उपाय यो वर्ष अपनाए। उनीहरुले कहिले नसुनेको, कसैले नगरेको काम गरे यो वर्ष।

के गरे त उनीहरुले ? भाइटीकालाई बहिनी टीका बनाइदिए। दाजुभाइ नभएका दिदीबहिनीमात्र भएका केही युवती मिलेर यसपालि तिहारको भाइटिकालाई ‘बहिनीटिका’का रूपमा मनाए। सात महिनाअघि मात्र अनौपचारिक रूपमा स्थापित डेस्ट सञ्जाल (डटर्स एफोर्ट टु सोसल ट्रान्सफर्मेसन)का उत्साही महिलाले भाइटिकालाई ‘बहिनीटिका’को स्वरुप दिएका हुन्।

उनीहरूले भाइटिकाको दिन जयबागेश्वरीस्थित चेतना अभिवृद्धि केन्द्र नेपालको कार्यालयमा बिहान आठ बजे बहिनीटिका लगाए।

दाजुभाइ नभएका दिदीबहिनीले बहिनीटिकाबारे विज्ञप्तिसमेत जारी गरेका छन्। विज्ञप्तिमा उनीहरूले भोलि आफू आमा बनेपछि समाजले यस्तै सांस्कृतिक कारण देखाउँदै छोरा जन्माउन बाध्य पार्नसक्ने सम्भावना व्यक्त गरेका छन्। उनीहरूले त्यसअघि नै छोराछोरीलाई समान व्यवहार गर्न र छोरीलाई गर्भैदेखि स्वागत गर्ने संस्कृति विकासका प्रयास गर्ने उल्लेख गरेका छन्।

उनीहरूले यो सांस्कृतिक चाडपर्वमा महिलामाथि हुने लैंगिक विभेदविरुद्ध अभियान भएको भन्दै बहिनीटिकालाई सकारात्मक रूपमा लिन अनुरोध गरेका छन्। तपाईँलाई यो बहिनी टीकाको प्रयास कस्तो लाग्यो ? तल कमेन्टमा लेख्नुहोला। कमेन्ट लेख्न समय नभए तल मत दिनुहोला। अनि, रानीपोखरीका बाँकी फोटो हेर्नुहोला।



पोहोर त रानीपोखरीको पुल कमजोर छ भन्दै पुलिसले पुलमा एकछिन अडिन समेत दिएका थिएनन्। भित्र पस्न बाहिरैदेखि लामै लाइन समेत बस्नुपर्थ्यो। तर यसपालि भने कुनै रोकटोक थिएन। अचम्मै लाग्यो।


अझ यसपालि त रानीपोखरीको पानी नै छुन पाउने गरी पोखरी छेउछेउसम्मै मान्छेहरुलाई जान दिइएको थियो।


29 thoughts on “भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !”

  1. Santosh says:
    November 20, 2012 at 10:44 am

    मलाई त यो सब बेकार जस्तो लाग्छा ! केटा केटि खेलेको याद आउदै छ.

    Reply
  2. sabita paudel says:
    November 18, 2012 at 8:34 pm

    मेरा दुइ छोरा हरु छन्.. ६ र ११ वर्ष का..उनि हरु का दिदि-बहिनि छैनन्.. केहि वर्ष देखि उनि हरु एक अर्का लाई दाजु-भाई टिका गर्दै आएकाछौ ..चाड पर्ब भनेको खुसियाली, रमाइलो, सधभाव बडाउन को लागि हो..कमि खड्काउन होइन..चाडपर्ब मनिष ले नै भनाएको हो..आवस्यकता अनुसार परिवर्तन स्वीकार्य र आपरिहर्य नै छ..मेरो विचार मा.

    Reply
  3. kishor timlsina says:
    November 18, 2012 at 12:38 pm

    के भनेको हो यस्तो पनि हुन्छ र भाइ टिका को ठाउँ मा बैनी टिका

    Reply
  4. Anup says:
    November 17, 2012 at 11:31 am

    धर्म, संस्कृति, परम्पराको उपहास हो | हाम्रो देश संस्कृतिको धनि देश हो महिला पुरुष दुवैको आ आफ्नै विशेषता बोकेको चाड पर्बहरु छन् | आफ्नो धर्म, संस्कृति, परम्पराको इज्जत गरौ |

    Reply
  5. asmita says:
    November 17, 2012 at 8:57 am

    समलिंगी टिका को सुरुवात हो यो .

    Reply
  6. शरद श्रेष्ठ says:
    November 17, 2012 at 12:51 am

    “नयाँ प्रयोग “, “नयाँ पन” आदि नाम दिएर कसैले सांस्कृतिक मौलिकपनलाई कृतिम रंग पोत्ने कोसिस नगरेको बेस ! कसको लैलैमा लागेर यो सब गरेका हुन् खै ? गएर “क्रिसमस”लाई नयाँ रुप दिन गए हुन्छ जसलाई प्रयोगवादी बन्ने सनक छ !

    Reply
  7. Pramesh says:
    November 16, 2012 at 9:34 pm

    अनावस्यक| आफ्नो पनि दिदि बहिनि छैनन् तर तिहारमा कहिले निधार खाली भएन| कहिले फुपुसंग टिका लाइयो, कहिले बुढी फुपुसंग लाइयो, कहिले काकाकी छोरीसँग, कहिले मामाकी छोरीसँग, कहिले छिमेकी दिदि संग| तिहारमा टिका लाउन आफ्नै घरमा दिदि बहिनि, दाजुभाई चाहिन्छ र? जे कुरा नि समान बनाएर राम्रो हुदैन| कुतर्क नै गर्ने हो भने किन कुकुर लाइ मात्र पुजा गर्ने, बिरालोलाई किन नगर्ने? किन गाईलाई मात्रै गर्ने, भैसीलाई किन नगर्ने? नेपालमा जेमा पनि परिबर्तन, जे मा पनि समानता, जे मा पनि “नया” को भुत चढेको छ आजकाल| कतिपय सस्कारहरु परिबर्तन नगर्दा नै राम्रो हुन्छ|

    Reply
    1. Uma Gurung says:
      November 19, 2012 at 5:28 am

      ठिक भन्नु भो प्रमेश जी,

      आजकल को हाम्रो नया नेपाल मा जे मा पनि परिबर्तन भन्या छ अर्थपूर्ण कुरा लै पनि परिबर्तन गर्न खोजेर त्यसको अर्थ र मौलिकता लाइ नै भंग गरिदियको छ | के गर्न खोज्या हुन् आखिर कुन्नि?

      भाइ टिका किन भन्ने गरियको हो भनेर यसको शुरुवात को अर्थ बुझ्ने कोशिश नै नगरिकन अब यहाँ पनि परिवर्तन रे | भयन कि अब | परिवर्तन गर्न पनि अरु केहि ठुलो बिषय पयानन कि कुन्नि अब गयर भाइ टिका को नाम मा परिवर्तन अनि झन्डामा परिवर्तन अनि राष्ट्रिय गान मा परिवर्तन | हन नेपालक बुज्रुग हरुले देशमा परिवर्तन ल्याउनु पर्ने अरु केहि गहकिला क्षेत्रहरु देखेनन् कि क्या हो |

      Reply
  8. Lax says:
    November 16, 2012 at 3:27 pm

    यो पहिलो चोटी हैन, विगत सात वर्ष देखि मेरी सानी छोरी लाई उसको दिदि को हातबाट बहिनि पूजा गराउदै आएको छु /

    Reply
    1. परिबर्तन says:
      November 18, 2012 at 11:30 am

      अनी दिदीलाई कस्ले पुजा गर्दिने?? तपाँईको उद्देश्य राम्रो तर् प्रस्तुती मिलेन ॥ जय होस् ॥

      Reply
  9. शरद श्रेष्ठ says:
    November 16, 2012 at 3:18 pm

    सब चिज सुरुवात गरेपछि चलनमा आउने हो,तर यसो भनि रहंदा संस्कृतिको रुपरेखा र यसको मौलिकतामा प्रहार हुनु पनि ठिक भने मान्न सकिन्न ! धार्मिक बिबेध तथा यसमा बिध्यमान कुरीठी-कुप्रथाको निर्मुल हुनै पर्छ ! हाम्रा परम्परा अनि संस्कृतिमा नयाँपनको नाममा कुनै प्रयोगवादीले ल्याएको प्रयोग सांस्कृतिक मौलिकपनालाई खल्बल्याउने खालेको छ भने त्यस्ता प्रयोग उनकै लागी होला हामीलाई स्वीकार्य छैन !आधुनिकताका नाममा कसैले धार्मिक स्वरुपलाई खल्बल्याउने कोसिस नगरोस ! आफ्नो धर्म-संस्कृतिलाई सम्मान गर्न नसक्ने के को आधुनिक?

    Reply
  10. Prem says:
    November 16, 2012 at 1:02 pm

    भाइटिका र बहिनीटिकाका नाममा राजनीतीरुपी वहस बनाउनुभन्दा सदीऔं देखी चल्दै आएको यो सस्कृतीलाई अलीकती परिमार्जीत गरेर “भाइबहिनीटिका” भनौ । दिदिबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदिबहिनीलाई टिका लगाइदिउ । हामी हाम्रो देशका नेताका जनता भएरभन्दा हाम्रो देश नेपाल का नेपाली भएर एकआपसमा हातेमालो गरौं । आजको आवश्यकता यहि हो हाम्रो देश नेपाललाई ।

    Reply
  11. वेद्नाथ पुलामी says:
    November 16, 2012 at 12:33 pm

    पर्वहरुको नाम थप्दैमा र नाम फेर्दैमा हुने वाला केहि पनि छैन तर … विचारमा/ हाम्रा ब्यबहारमा समृद्धी आउनु पर्यो बस ! नत्र कुनै पनि पर्व / सस्कार पुरुषको या नारी को मात्र भन्ने हुदैन …

    Reply
  12. एन पी गिरी , Pennsylvania,USA says:
    November 16, 2012 at 11:43 am

    एउटा नया परम्पराको सुरुवात सुरु सुरुमा अलि अनौठो नै लाग्छ तर समयको प्रवाह संगै सस्कृति को रुपमा बिस्तारै परिचित हुन थाल्छ …….बहिनि टिका यदी सुरुवात हो भने यो स्वागत योग्य छ ..

    Reply
    1. शरद श्रेष्ठ says:
      November 16, 2012 at 5:57 pm

      परम्परा कुनै हुलमुलले हाम्रो समाजमा हुल्याउने कुरो होइन अनि अनौठो लाग्ने परम्परा तपाईंहरुलाई नै !पहिले बचे-खुचेका परम्परा सम्हाल्ने हिम्मत राख्नुस ! हाम्रो बिचार,मूल्य र मान्यता अनुकुल परम्परा हाम्रो हो अनौठो खालेको ताते-पाटे परम्परा हामीलाई मान्य छैन !

      Reply
  13. dhan says:
    November 16, 2012 at 11:37 am

    दिदि भाई को सम्बन्ध जस्तै दिदि बहिनि को सम्बन्ध प्रगाढ बनाउने यो कार्यको सुरुवात मलाई त राम्रै लग्यो है. किनकि मानिसले आफ्नो आवस्यकता, परिस्थिति र समय अनुसार संस्कृतिलाई परिमार्जित गर्दै लान्छन. हिजो र आजको देउसी खेल्ने तरिका फरक, गाइजात्रा मनाउने तरिका फरक हुन सक्छ भने बहिनिटिका गर्नुमा के नै अचम्म भो र? हैन र !!

    Reply
  14. bal bahadur says:
    November 16, 2012 at 10:18 am

    अब प्रचारमा आउनको लागि जे पनि गर्ने भए . यहि भाइटीकाको लागि छोरा जन्माउने दबाब पर्ला भनेर रे , तर्क पनि कस्तो कस्तो . यहा मान्छे हरु एक सन्तान तर्फा लागि सके , यस्तो बेतुकको कुरा गर्ने लाइ मिडिया ले किन ध्यान दिने . पत्रिकाले समाचार नपाएर यस्तो नौटंकी बढेको हो . भोलि फेरी कुकुर पुजाकै लागि घर घर मा कुकुर पाल्लान , गाइ पाल्लान , त्यो चाहि गरे कि गरेनन यिनीहरु ले ?

    Reply
  15. पुष्प says:
    November 16, 2012 at 9:52 am

    वाहियात ! डलर कमाउने अर्को जुक्ति । जसरी दिदीबहिनी नहुने दाजुभाईले गरिरहेका छन् त्यसैगरी दाजुभाई नहुने दिदीबहिनीहरूले गरिरहेका छन् । अर्थात एकअर्काको पूरकको रूपमा ‘भाइटीका’ मनाइरहेकै छन् ।

    छोरीहरू भाई चाहिएजस्तै कुरै गर्ने हो भने छोराहरूलाई पनि त बहिनी चाहिन्छ नि ? अनि कसरी भेदभाव हुन्छ ? कस्तो वाहियात तर्क !

    Reply
  16. बिश्वाश says:
    November 16, 2012 at 9:29 am

    एकदमै राम्रो सुरुवात |

    Reply
  17. Durga Lamichhane says:
    November 16, 2012 at 9:03 am

    राम्रो सुरुवात . संस्कार र संस्कृति भन्ने कुरा मान्छेले आफ्नो अनुकुल बनाउने हो, समय परिस्थिति अनुकुल परिमार्जन हुनु नै यसको मुख्य विशेषता हो. यसलाई अनर्थ मान्नु हुन्न. संस्थाका आगामी कदमका लागि शुभकामना.

    Reply
  18. Khadka bal says:
    November 16, 2012 at 8:30 am

    नाटकी बडी

    Reply
  19. सन्तोष says:
    November 16, 2012 at 7:51 am

    आहा सांस्कृतिक र सामाजिक रुपान्तरणको कस्तो राम्रो उदाहरण !
    साथै रानीपोखरीको दिदी-भाई, दाजु-बहिनी को पवित्र बन्धन झल्काउने सांस्कृतिक परम्परा युगौं-युग बाँची रहोस!! | शुभकामना !!!
    जीवन्त फोटो हरुको लागि धन्यबाद

    Reply
  20. Rosana says:
    November 16, 2012 at 7:46 am

    एनजीओ र आईएन्जिओ हरु हाम्रो देश को सस्किर्ति लाई मासेर हामी नेपाली को पहिचान लाई नै खत्तम पार्न लागेका छन् त्यसैले हामी नेपाली हरु सतर्क भएर येस्ता बिकिर्ती को खुलेर बिरोध गरौ/ कृपया १-२ डलर कसै ले दिदैमा आफ्नो पहिचान मेटेर समाजलाइ भाड्ने काम नगरौ/

    Reply
    1. शरद श्रेष्ठ says:
      November 18, 2012 at 2:24 am

      NGO र INGO लाई दोष दिनु बेकार हो रोसना जी! उनीहरु आफ्नो धर्म फैलाउने सवालमा इमान्दार त छन ! धिक्कार छ तिनलाई जो आफ्नो र बिरानो पनि बुझ्दैनन् ! यहाँ अवस्था जटिल छ रोसना जी,तपाईं यो नयाँ प्रथा लाई गलत भन्ने सवालमा ती चंखेहरुले तपाईंलाई “पुरानै ढर्रामा हिड्न खोज्ने” “प्रतिगामी” भन्ने लाल्छना लगाउने छन ! अनि आवाज उठाउनु पर्छ भन्नु हुन्छ भने “कट्टरबादी ” बनाईने छ ! अमेरिकीहरु कहिले नि दिपावली अनि दशैं मनाएको थाहा छ? तर हाम्रा यहाँका “अमेरिकी”हरुलाई गर्ब छ “क्रिसमस” अनि “valentine day “मनाउन !

      Reply
  21. Hari says:
    November 16, 2012 at 7:18 am

    हैन यो नाम परिवर्तन ले केहि हुँदैन गाठी कुरो त एउटी भयो नि भाइटिका
    होओस कि बैनितिका. परम्परा देखि चल्दै आएको नाम ले कर नै बिग्रेको
    छ जसले गर्दा नाम change गर्ने??

    Reply
  22. vivek says:
    November 16, 2012 at 5:42 am

    जसको आफ्नो दाजु या भाई छैन उसले चिन्नु नजान्नु ढिस्कानालाइ टिकालाइ दिनु भन्दा त यो उत्तम उपाय हो आखिर दिदीबहिनीबीचको सम्बन्धको नि त उतिकै महत्तो छ more than just a sisterhood they are best friends, they have got same feelings and same ways of thinking.
    बाहिर जस्तो बोलेनी सबैलाई सुरुमा सुन्दा कस्तो कस्तो लाग्छ सोभाबिक नै हो तर राम्रो कुराको परिवर्तन हुनैपर्छ यदि आफुलाई परे ठिक नपरे बेठिक भन्नुहुन्न म यो ठाउमा परेको भए म नि सायद यस्तै गर्थे

    Reply
    1. शरद चन्द्र श्रेष्ठ says:
      November 20, 2012 at 3:52 pm

      यति हल्का ढंगले किन कमेन्ट गर्नु हुन्छ जब तपाईंलाई यसको बारे कम ज्ञान छ भने?चिन्नु न जान्नुलाई भाई या दाई मानि टिका लगाई दिनु यो एउटा तिहारको महान बिशेषता हो र यसले हाम्रो मानवीय समबेदनालाई भावनाको पूल बनेर जोड्दछ !तपाईं या तपाईंका समुहले राम्रा भन्ने कुरा समाजलाई राम्रो लाग्नु पर्यो! कुन प्रसंगमा भाई टिका मनाईने हो,गाँठी कुरो नै नबुझी बच्चाले नयाँ नाना देख्दैमा त्यहि राम्रो भन्नु तर्कसंगत होला? हाम्रो संस्कृतिलाई तपाईं एक पटक अध्ययन त गर्नुस प्रत्यक चाडको यौटा तर्क संगत आधार छ ! संस्कृतिको उपहास गरेर “परिवर्तन”को नाम दिएर तपाईं के सिद्ध गर्न चाहनु हुन्छ? आज समयको माग हो कि प्रत्यक नेपालीले यो परिवर्तनको नाम बोकेर आएकाहरुबाट सचेत रहनु पर्छ !परिवर्तनको नारा दिन सक्ने तपाइंले यति पनि बुझ्न नसक्नु बिडम्बना हो!

      Reply
  23. ram says:
    November 16, 2012 at 3:36 am

    कलि युगमा येस्तई धेरै अनौठो कुरा सुन्न र देख्न पाहिन्छ .

    Reply
    1. तेन्जिंग गाबा says:
      November 16, 2012 at 7:24 am

      हे प्रभू
      आज भन्दा ३-४ सय बर्ष पहिले प्रताप मल्लले “गाइजात्रा” को सुरुवात नगरेको भए आज “गाइजात्रा” कसैले पनि मनाउने थिएनन् / उतिबेला प्रताप मल्लले पनि तपाइले नै जस्तो सोच राखेको भए आज गाइजात्राको अस्तित्व नै हुने थिएन !!!!! त्यसै गरि हाम्रा सबै परम्परा-पर्ब-सस्कृतिहरु त्येसरी नै जन्मिएका हुन् / पर्ब-परम्परा-सस्कृति भन्ने कुरो आकाशबाट ten-commandants को tablet फुत्त खसेको जस्तो कहिले पनि खस्दैन/ त्येसैले सस्कृति – परम्परा भन्ने कुरो तपाइँ हामीले नै तपाइँ हाम्रो आवस्यकता अनुरुप नै जन्माउदै जाने (परिबर्तन गर्दै वा त्याग्दै पनि जाने) कुरो हो भन्ने मेरो बुझाई छ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जदौ

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme