Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनाव नभई थोत्रा नेता फेर्न पाइएन

Posted on November 15, 2012November 15, 2012 by mysansar

गाइजात्रा शैलिकै व्यङ्ग्य हानेर सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गरेको केही वर्ष अघिदेखि हो। सिस्नुपानीको यो व्यङ्ग्यात्मक देउसी भैलोले माओवादी, कङ्ग्रेस, एमाले, मधेसवादी, राजावादी कसैलाई छाड्दैन, सबैलाई भित्तैमा पुग्ने गरी दनक दिन्छ। यो वर्ष पनि विभिन्न मिडियामा यसले देउसी भैलो गायो। उनीहरुले सत्तारुढ माओवादी, विपक्षी पार्टीलाई बढी व्यङ्ग्य गरेका छन्। भङ्ग भइसकेको संविधान सभाका सभासदहरुलाई पनि उनीहरुले छाडेका छैनन्। ‘सुत्थे, घुर्थे, बस्थे, उठ्थे, घुम्थे फर्की आउँथे, केको लेख्थे सम्विधान लुतो कनाउँथे।’

प्रधानमन्त्रीलाई त पुग्ने गरी दनकै छ-
हामी त्यसै आएनौ बाबुरामले खटाए
अर्को महिना बास् बस्ने घर खोज्न पठाए।
मुस्ताङ चढ्छन् बाबुराम हिसिलाचैं प्राडोमा
हिसिलाले बाबुरामलाई पारिन् स्याडोमा।

उपप्रधानमन्त्री नारायणकाजीलाई पनि यस्तो छ उपहार-
प्याज बोकी नारानकाजी बैठक बस्न गएछन्
विधानसभा मर्‍यो भन्दै क्वाँक्वाँ रोएछन् ।

कङ्ग्रेस र एमालेलाई यस्तो छ उनीहरुको व्यङ्ग्य-
म्याउँ म्याउँ गर्छन् देउवा-पौडेल यिनले खालो सार्दैनन्
तातातुतु गर्छन् सुशिल माखो मार्दैनन् ।
आन्दोलनको आँधिबेरी झलनाथले ल्याउने रे
यसपालिको तिहारमा गोरु व्याउने रे ।

वैद्य माओवादीलाई चाहिँ यस्तो-
ठिटाठिटी लिई वैद्य जङ्गलतिर जाने रे
वादल चाहिँ यतै प्रधानमन्त्री खाने रे
जङ्गल हो कि सिंहदरबार कतातिर जाने हो
जता गए नि यिनको नियत टन्न खाने हो।

राजावादीलाई यस्तो छ-
घुम घुम माल्दाजु मठ मन्दिर घुमिरऊ
ढोके छाते चम्चे ओरि परि झुमिरऊ।
खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
राम्रै था छ तिम्रो हिष्ट्री, तिम्रो जेण्डर ।

पूरा देउसी भैलो तलको लिङ्कमा क्लिक गरी सुन्नुस्-

पढ्‌ने भए-

आहै भन भन भाइ हो – सहमति
आहै भन भन बैनी हो – सहमति
आहै देउसिरे भन – भन्दैनौ
आहै भनेको मान – मान्दैनौ
आहै जोडले भन – के भन्ने ?
आहै जे मन लाग्छ -त्यै भन्ने
आहै बुँदाका बुँदा – सहमति
आहै हुँदा न हुँदा – सहमति
आहै सागभन्दा सस्तो – सहमति
आहै सुगाले जस्तो – सहमति
आहै भन भन गोपी – सहमति
आहै भन भन कृष्ण – सहमति ।

हामी त्यसै आएनौ बाबुरामले खटाए
अर्को महिना बास् बस्ने घर खोज्न पठाए ।

नयाँ नेपाल हेर्न मन थियो अझै हेर्न पाइएन
चुनाव नभई थोत्रा नेता फेर्न पाइएन ।

काठमाण्डूको खाल्डे सडक के सकिन्थ्यो भिडेर
मुस्ताङ गाडी थिएन, आयौँ हिँडेर ।

आउँदा आउँदै बाटोमा कत्ति साथी हराए
गच्छेदारका गुण्डासँग देउसे डराए ।

मुस्ताङ चढ्छन् बाबुराम हिसिलाचैं प्राडोमा
हिसिलाले बाबुरामलाई पारिन् स्याडोमा ।

अघि अघि बुल्डोजर पछि पछि बाबुराम
बाबुरामले आँसु झार्दा डोजर जिल्लाराम ।

सुकुम्वासी घर भत्काई पुर्‍याएर घाटमा
गरिबीको प्रमाण पत्र दिन्छन् हातमा ।

बानेश्वरको बाटो हिँड्न मान्छे अचेल डराउँछन्
राति राति सभासद्का भूत कराउँछन् ।

सुत्थे, घुर्थे, बस्थे, उठ्थे, घुम्थे फर्की आउँथे
केको लेख्थे सम्विधान लुतो कनाउँथे ।

सम्विधान नामको – पोकैमा
कुनै बेला बानेश्वर – चोकैमा
सम्मेलन केन्द्रको -ढोकैमा
सभासद् पाइन्थे -थोकैमा
बेलाबेलै सभासद् – हराउँथे
मसाजसेन्टर पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बारुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस् – गराउँथे
लुटेका गाडी -गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले ता भवन – रित्तो छ
सभासद् छैनन् – भित्तो छ
भनभन साथी हो – के भन्ने ?
तलवभत्ता फिर्ता – ले भन्ने ।

बूढो पार्टी काँग्रेस नेता सबै बालक
तीनटा बूढा बालक यसका चालक ।

म्याउँ म्याउँ गर्छन् देउवा-पौडेल यिनले खालो सार्दैनन्
तातातुतु गर्छन् सुशिल माखो मार्दैनन् ।

आन्दोलनको आँधिबेरी झलनाथले ल्याउने रे
यसपालिको तिहारमा गोरु व्याउने रे ।

एमाले र कङ्ग्रेसको देखेकै हो ह्याउ
राष्ट्रपति उचालेर खाने यिनको दाउ

पार्टी फोरी अध्यक्ष भै बढाउने रे पावर
वैद्यले नि बनाउने रे जुक्ति टावर ।

जनताको मुक्ति भन्ने उही ड्याङ्को नारा हो
अर्को झिल्के प्रचण्ड बन्ने पारा हो ।

ठिटाठिटी लिई वैद्य जङ्गलतिर जाने रे
वादल चाहिँ यतै प्रधानमन्त्री खाने रे Û

जङ्गल हो कि सिंहदरबार कतातिर जाने हो
जता गए नि यिनको नियत टन्न खाने हो ।

मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।

एमालेले पहिले जसलाई नेता मन्त्री बनायो
के सुँघेर आज तिनलाई पार्टी गनायो ।

प्याज बोकी नारानकाजी वैठक बस्न गएछन्
विधानसभा मर्‍यो भन्दै क्वाँक्वाँ रोएछन् ।

भन भन भाइ हो- सहमति
मन भन बैनी हो- सहमति
दक्षिणमा एउटा – सहमति
उत्तरमा अर्कै – सहमति
पहाड मधेशमा – सहमति
अनेक प्रदेशमा – सहमति
चोर डाकासँग -सहमति
डन गुण्डासँग – सहमति
काले र कालेको- सहमति
सिध्याउने भाले – सहमति
चिकेनमा चिसो – सहमति
मटनमा मिठो – सहमति
तिघ्रामा तीन बुँदे – सहमति
छोइलामा छ बुँदे – सहमति
साँप्रामा सातबुँदे – सहमति
आन्द्रामा आठ बुँदे – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

बढुवाको तक्मा भिर्छन दमनकारी नाइके
छातिभित्रै गोली बोकी रुन्छन् घाइते ।

लडाकुका पसिनाले नेता नुहाउँछन् दिनदिनै
क्रान्ति भन्छन् गाडी घर फेर्छन् छिनछिनै ।

घुम घुम माल्दाजु मठ मन्दिर घुमिरऊ
ढोके छाते चम्चे ओरि परि झुमिरऊ ।

नआए नि राजतन्त्र आउँछ आउँछ भनिदेऊ
नेताहरूलाई निको पार्ने झाँक्री बनिदेऊ ।

तिम्ले माग्ने टेण्डर् अचेल प्रचण्डले माग्दैछन्
प्रधानमन्त्री खान आओ भनी डाक्दैछन् ।

खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
राम्रै था छ तिम्रो हिष्ट्री, तिम्रो जेण्डर ।

प्रचण्डको सत्तामा रोजगारी खूब् पाइन्छ
जुँगै कोर्न पनि कर्मचारी चाहिन्छ ।

घुमाई फिराई देशको सत्ता प्रचण्डको फन्दामा
कठैबरा राष्ट्रपति बिलखबन्दमा ।

जेठी भन्छे घाम देऊ कान्छी भन्छे पानी
एक्ला बूढा राष्ट्रपति कतातिर जानी ।

आहै भन भन भाइ हो- सहमति
आहै भन भन बैनी हो- सहमति
आहै होटलमा एउटा- सहमति
आहै रिसोर्टमा अर्को- सहमति
आहै बनमा एउटा- सहमति
आहै मनमा अर्कै – सहमति
आहै नशामा जोड्यौं – सहमति
आहै होशमा तोड्यौं – सहमति
आहै माथिमा टाल्दा – सहमति
आहै तलमा ह्वाङ्गै- सहमति
आहै तलमा छोप्दा – सहमति
आहै माथिमा छ्याङ्गै – सहमति
आहै पान खाई पिच्च- सहमति
आहै टिभीमा ङिच्च – सहमति
आहै भन भन गोपि – सहमति
आहै भन भन कृष्ण – सहमति।

दुई दिन मात्रै किन सरकार पूरै हप्ता बिदा देऊ
बन्द गर प्राधिकरण हाम्लाई टुकी देऊ ।

टेलिकमले लाइन बाँड्छ ढाड भाँच्छ जन्ताको
ताप्लेजुङ्मा फोन गर्दा बोल्छ पाल्पाको ।

फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।

नेपालका एयरपोर्ट भारत चीनले बाँडेछन्
बाँड्न दिने हाम्रा नेता आलुपाँडे छन् ।

हाम्रो देशका थोत्रा पिलेन चराले नै खसाउँछन्
पाइलटलाई दोष देखाई बिमा पचाउँछन् ।

बूढो प्रश्न बनाउने, बूढीलाई उत्तर लेखाउने
लोकसेवा आयोगलाई धोती देखाउने ।

मन्त्री पुलिस नेताको हुलले जेल भरेको
सर्वोच्चले यस्तो गल्ती किन गरेको ?

सम्वैधानिक निकाय सबै खालि हुँदैछन्
बाबुरामले जङ्गेको उचाई छुँदैछन् ।

एसटिडि र लोकल सेवा सरकारले नै चलायो
हेल्लो सरकार भन्दा भन्दै नेटवर्क हरायो ।

मल गोदाममा मल छैन पसलमा पाइन्न
बाबुरामलाई खबर गर्नोस् पैसै चाइन्न ।

आसेपासे लिई आउँछन् मासुभात चराउँछन्
सबैलाई खेत बारीमै टट्टी गराउँछन् ।
खुवै वास्ना चलाएछन् चेपाङ् गाउँमा पुगेर
गाउँलेहरू फेन्ट भएछन् सेन्ट सुँघेर ।

सुपथ मूल्य पसलमा सस्तो किन्न पाइन्छ
काँ छ पसल भनी खोज्न गुगल चाहिन्छ ।

३० केजीको चामलमा ६० रुप्या छूट हुन्छ
घरसम्म पुर्‍याउँदा ५०० चट् हुन्छ ।

सत्ता पक्ष दाइँ गर्ने प्रतिपक्ष आइँ गर्ने
महंगीको तातो तेलमा जनता झवाईं गर्ने ।

आशिष
ए दिँदैछौं आषिश – गनेर
महंगी घटोस् – भनेर
शेयरको मूल्य – बढ्दो होस्
लोडशेडिङ सधैं – घट्दो होस्
थोत्रा पिलेन – नउडून्
भीरमा गाडी – नगुडून्
पानीमा पहेलो – तर नहोस्
सडकका छेउमा – घर नहोस्
डोजरले ढोकामा – नहानोस्
अख्तियारले फाइल – नतानोस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
धाराबाट भ्यागुत्तो – नझरोस्
डेँगुले निम्तो – नगरोस्
कालोमा छुँदा – कलर होस्
रुपियाँ छुँदा – डलर होस्
आमाभन्दा छोरी – जान्ने होस्
भ्रष्टलाई थाममा – बान्ने होस्
छोराले सगरमाथा – नचढोस्
चढे पनि त्याँबाट – नलढोस्
प्रधानमन्त्री पाहुना – नआउन्
आए पनि कुखुरा – नखाउन्
नेताका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
चड्काऊ गाला जस्ले चुँड्छ माला नेपाली

26 thoughts on “चुनाव नभई थोत्रा नेता फेर्न पाइएन”

  1. गणेस says:
    November 16, 2012 at 9:01 pm

    ओ हो कस्तो राम्रो हो ……

    Reply
  2. bhim koirala babu amardah says:
    November 16, 2012 at 8:51 pm

    भनेर भुत्ला झर्ने भय किन कपाल काट्न ठाकुर चाइयो

    Reply
  3. saroj Bogati says:
    November 16, 2012 at 7:23 pm

    साचिकै राम्रो लाग्यो भन्या यो देउसी गित. तर के गर्नु, काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्छन. बोलि ले कहिलै नहुने भो नेता हरुलाई . | कुन्नि के खोज्या हुन् यिन ले |

    Reply
  4. द्रोण says:
    November 16, 2012 at 3:13 pm

    Even after long awaited election if it happens ,there is no guarantee they will quit from power.Politics has become business for many in our country .
    As long as we don’t draw a red line between politics and business it is absurd to expect remarkable change.
    Nepalese society should develop a culture of punishing for immoral act like making a big voice against India in day light and having dinner together with Indian ambassador at night.
    Can we name single Nepalese politician who is not doing this?

    Reply
  5. Dhani Ram Dhakal says:
    November 16, 2012 at 1:00 pm

    होइन हो यो त तिहार पो हो त कताको गाइजात्रा जस्तो तिहार लाई पनि बिगारेको हौ !गाइजात्रा को दिनमा गरन एस्तो आनिपो मज्जा आउछ I आज तिहार मा येसो गरेउ भोलि दशैँ मा गर्लाऊ अनि पर्सि भोटोजात्रा मा गर्लाऊ अनि के सधै भरि गाइजात्रा नेपाल मा I

    Reply
  6. पुष्प says:
    November 16, 2012 at 11:42 am

    राष्ट्रपति कठैबरा ? अब यो सिस्नुपानिलाई पनि सिस्नुपानी लाउने बेला आएजस्तो छ ? होइन भने कांग्रेसीको भाउँतोमा लगेर कट्टुवाल काण्ड मच्चाएर देशलाई यो अवश्थामा ल्याउने तिनै रावण हुन् भनेर कसरी बुझ्पचाएका ?

    Reply
  7. Harke says:
    November 16, 2012 at 6:13 am

    राम्रो नियतमा गरिएको राम्रो काम…..यदि कु-समयमा पर्यो भने, लगानी अनुसारको प्रतिफल निस्कदैन….चेतना भया !

    Reply
  8. janak dangol says:
    November 16, 2012 at 4:48 am

    जति सिस्नुपानिले दन्काए पनि यिनीहरुलाई पोल्दैन क्यार ! नेपालमा जन्मेको पार्टी भए पो मुलुक र जनताको माया हुन्छ ! जुन ठाउँमा जन्मे जसको नुन खाए उसैको जय गर्दै नुनको किमत चुकौदै बसेका छन !

    Reply
  9. janak dangol says:
    November 16, 2012 at 4:43 am

    जति भने पनि, जति उफ्रे पनि चिच्याए पनि जति सिस्नु पानीले गानक दिए पनि कसैको केहि लाग्ने हैन क्यार ! यी सबै ठुला पार्टीहरु नेपालमा जन्मेको पार्टी भयेपो नेपालको माया हुनु ! जाहा जन्मे त्यहिको सेवा गर्दैछन !

    Reply
  10. रामचन्द्र शर्मा says:
    November 16, 2012 at 2:45 am

    गीत त मार्मिक लाग्यो । तर के गर्नु नेता भनेका नकटालाई केहि हुने होईन!

    Reply
  11. कुसुम ज्ञवाली says:
    November 16, 2012 at 2:31 am

    एउटा रमाइलो र सार्थक सार्वजनिक प्रस्तुती सिस्नोपानी नेपालको । कोर्राले हान्दा त थाहा नपाउने हाम्रो नेतृत्वको गैडे छालामा, यसरी सुमसुम्याएर ब्यङ्ग्यको काउकुति लगाएको के थाहा पाउनू बरै हाम्रो सर्बोच्च सर्वदलीय “सिन्डिकेट”ले …।

    Reply
  12. Luna says:
    November 15, 2012 at 11:47 pm

    ओहो ! तिहारमा पनि यस्तो ?!!!
    यो त सार्है भएन . यसरी व्यंग्य हान्नलाई गाई जात्रा हुदै बिभिन्न उपाय हास्य
    व्यंग्य कार्यक्रम आदि छँदै छ नि . तिहार जस्तो पवित्र पर्बमा राजनीतिको दुषित हिलो नछ्यापिदिए हुने .
    के भन्नि !
    नेताहरुको “नेतागिरी” ले जनता बौलाएसी ? ——————————

    Reply
    1. तेन्जिंग गाबा says:
      November 16, 2012 at 7:22 am

      लूनाजी,
      आज भन्दा ३-४ सय बर्ष पहिले प्रताप मल्लले “गाइजात्रा” को सुरुवात नगरेको भए आज “गाइजात्रा” कसैले पनि मनाउने थिएनन् / उतिबेला प्रताप मल्लले पनि तपाइले नै जस्तो सोच राखेको भए आज गाइजात्राको अस्तित्व नै हुने थिएन !!!!! त्यसै गरि हाम्रा सबै परम्परा-पर्ब-सस्कृतिहरु त्येसरी नै जन्मिएका हुन् / पर्ब-परम्परा-सस्कृति भन्ने कुरो आकाशबाट ten-commandants को tablet फुत्त खसेको जस्तो कहिले पनि खस्दैन/ त्येसैले सस्कृति – परम्परा भन्ने कुरो तपाइँ हामीले नै तपाइँ हाम्रो आवस्यकता अनुरुप नै जन्माउदै जाने (परिबर्तन गर्दै वा त्याग्दै पनि जाने) कुरो हो भन्ने मेरो बुझाई छ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जदौ

      Reply
      1. Luna says:
        November 16, 2012 at 4:33 pm

        तेन्जिंग जी
        त्यसो हो भने अब देखि तिहार पर्बमा देउसी भैलो खेल्दा नेताहरुलाई गाली
        गरेर तिहार मनाउ !
        हैन , यसो हुनु गलत हो तेन्जिंग जी . कम्तिमा तिहार – लोसार – छठ – ईद
        जस्ता मुख्य पर्बलाई तै पर्बकै रुप दिउ न कि गाईजात्रे हास्यव्यंग्यको रुप —
        छेडछाड गालि गलौज व्यंग्य लाई नराम्रो भन्न खोजेकी होईन मैले , यो समाजको
        ऐना हो जस्ताको तस्तै रुप देखाउने — तर सबै कुराको सिमा हुन्छ तेन्जिंग जी .
        खिरमा नुन हालेर पकाउनु हुन्छ तपाई ? पकाउनु हुन्न नि है ? खिरमा नुन
        हालेर पकाए दुध फाट्छ ———- फाटेको दुधमा पकाएको खिरको स्वाद खिर जस्तो हुदैन ———————————— नमिठो हुन्छ .
        धन्यबाद

        Reply
      2. Luna says:
        November 16, 2012 at 4:49 pm

        तेन्जिंग जी
        त्यसो हो भने अब देखि तिहार पर्बमा देउसी भैलो खेल्दा नेताहरुलाई गाली
        गरेर तिहार मनाउ !
        हैन , यसो हुनु गलत हो तेन्जिंग जी . कम्तिमा तिहार – लोसार – छठ – ईद
        जस्ता मुख्य पर्बलाई तै पर्बकै रुप दिउ न कि गाईजात्रे हास्यव्यंग्यको रुप —
        छेडछाड गालि गलौज व्यंग्य लाई नराम्रो भन्न खोजेकी होईन मैले , यो समाजको
        ऐना हो जस्ताको तस्तै रुप देखाउने — तर सबै कुराको सिमा हुन्छ तेन्जिंग जी .
        खिरमा नुन हालेर पकाउनु हुन्छ तपाई ? पकाउनु हुन्न नि है ? खिरमा नुन
        हालेर पकाए दुध फाट्छ ———- फाटेको दुधमा पकाएको खिरको स्वाद खिर जस्तो हुदैन ———————————— नमिठो हुन्छ .
        के भन्नि तेन्जिंग गाबा जी , फाटेको दुधमा पकाईएको नमिठो खिरलाई नै मिठो मानि खाने बानी पर्दै गई’रा छ हामीमा — यो हद सम्मको अराजकताको जिम्मेबार चै नेता नै हो .
        नेता गतिला हुँदा हुन् त आज यो दिन किन आउदो हो !

        Reply
        1. तेन्जिंग गाबा says:
          November 17, 2012 at 11:29 am

          खीरमा “नून” हाल्ने कुरो गर्या होइन “काजू-किसमिस” थप्ने कुरो गर्या हो /

          Reply
  13. पुरुषोत्तम says:
    November 15, 2012 at 11:43 pm

    “मुस्ताङ चढ्छन् बाबुराम हिसिलाचैं प्राडोमा
    हिसिलाले बाबुरामलाई पारिन् स्याडोमा ।”

    जे होस् तिहार बिदा मा मज्जा ले हासीयो देउसी सुनेर

    सत्य तथ्य यथार्थ परक स्वोस्थ प्रहसन, मनोरंजन देउसी र भै लो

    रमाइलो गरायको मा सिस्नु पानी नेपाल को जय होस्.!
    बाबुराम , प्रचण्ड , शुशील र झलनाथ को घैट मा घाम लागोस !!

    Reply
  14. शशांक लामा, न्युयोर्क says:
    November 15, 2012 at 10:22 pm

    सिस्नुपानीको देउसी पढेर दिलै खुश भै गयो! अथि ! बाह्रमज्जा भनेको यहि पो होला है! खित्का छोडेको छोड्यै छु, थामिन्दैन! कोसो पो गरुङ हाव!

    “खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
    राम्रै था छ तिम्रो हिष्ट्री, तिम्रो जेण्डर”

    Reply
  15. Gaurav Nepali "Oodaaseen" says:
    November 15, 2012 at 9:44 pm

    लातको भुत बातले मान्दैन, सिन्नुपानिज्यु!
    नपाउनेले के पायो बोक्रैसुत चपायो, सिस्नुपानिज्यु!
    कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर, सिस्नुपनिज्यु!
    ममा घोडी मेरी हि हि हि, सिस्नुपनिज्यु!

    Reply
  16. sivaram says:
    November 15, 2012 at 8:37 pm

    तिहारलाइ पनि गाइजात्रा बनाए यिनिहरूले, तिहारलाइ तिहारनै रहन दिउ न हो साथी हो ।

    Reply
  17. SHREE AUSTRALIA says:
    November 15, 2012 at 6:36 pm

    आन्दोलनको आँधिबेरी झलनाथले ल्याउने रे
    यसपालिको तिहारमा गोरु व्याउने रे ।

    Reply
  18. Mahesh says:
    November 15, 2012 at 4:50 pm

    धन्यवाद My Sansar परिवार! हाम्रो देशको वर्तमान अवस्था लाई सिस्नुपानी नेपालले देउसी भैलो रुपमा प्रस्तुत गरेको देउसी भैलो यस ब्लग मा राखु भएकोमा धेरै धरै धन्यवाद I सुन्दा सुनौ सुनौ लाग्ने तर नेपाली र नेपालको बास्तबि पीडालाई प्रस्तुत गर्ने सिस्नुपानी नेपाललाई पनि धन्यवाद I यो देउसी भैलो सुनेर नेपालका लाज नभएका गैरजिमेवार नेता भनाउदाहरुको घैटो मा कहिले घाम लाग्ने हो !

    Reply
  19. एन पी गिरी , Pennsylvania,USA says:
    November 15, 2012 at 4:27 pm

    सिस्नोपानि को देउसीले फटाहाहरु लाई पोले त राम्रो नै हुन्थियो तर पोल्नु पर्ने हरु नै गाउँन र नाच्न थालेका छन् ….

    Reply
  20. तेन्जिंग गाबा says:
    November 15, 2012 at 3:26 pm

    धरोधर्म यत्तिको चोटिलो देउशी त् आज सम्म सुनेको थियिन

    जय होस्

    Reply
  21. deepak says:
    November 15, 2012 at 2:47 pm

    बेन्गे त राजनीतिक दलाल भ्रस्टचारी देशद्रोही गदार बूढा हरु लाइ दाल र भात खाएर पचाउनु जस्तै भैसकेको छ ! अब त बेन्ग्य होइन यो चोर भ्रस्टचारी देशद्रोही हरु लाइ त ठोक्दै सिध्याउनु पर्छ र अनि इनिहरु को ठाउँ मा देशभक्त दुर्दर्सी नागरिक लाइ ल्याउनु पर्छ त्यो जोसुकै नेपाली होस् !

    Reply
  22. sandhyaa says:
    November 15, 2012 at 1:27 pm

    नया देउसी को शैली राम्रो छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme