Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः बाउको इज्जत

Posted on November 10, 2012November 10, 2012 by mysansar

-लेखनाथ काफ्ले-

पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी कायम नै छ।

सदरमुकाम जाने बाटो, त्यो पनि कालोपत्रे। गाढा निलो रंगका पहाडमा कालोपत्रे तरेली परेको बाटो, डाँडाकाहरुका टुप्पै-टुप्पामाहरुमा लम्पसार परेको बाटोले अरु टोल-बस्तीहरुलाई जस्तै त्यो टोललाई पनि ठिक दुई भागमा चिरा पारेको छ। त्यसैले डाँडामा दुवै डिलमा तलैबाट जग थापेर वा पिल्लर उठाएर घरका तल्ला उठाइएका छन्।

बास्तबमा ति घर होइनन, पसल हुन। प्रत्येक घरमा पसल छन। खुद्रा पसल, थोक पसल, नाम कमाएका पसल, दाम कमाएका पसल, नुन बेच्ने पसल, सुन बेच्ने पसल, बैध्यको पसल, डाक्टरको पसल, जोगी बनाउने पसल, भोगी बनाउने पसल। घरै पिच्छे पसल भएकोले होला, त्यो टोलको नाम नै पसले टोल राखिएको छ।

पसले टोलमा बासिन्दाहरुको बनोट पनि पसल जत्तिकै बिबिध र समाबेशी छ। त्यो टोलमा दिनभरी धोक्ने पनि, रातभरी खोक्ने पनि, फलाम ठोक्ने पनि, सुन जोख्ने पनि, कपडा नाप्ने पनि, चीना-टिप्पणी छाप्ने पनि, खंडे पार्टीका कार्यकर्ता पनि, अखंडे पार्टीका कार्यकर्ता पनि, भजनमा रम्ने पनि, दोहोरीमा जम्ने पनि सबै छन।

तिनीहरु मध्ये चौपारे पोखरेल बाजे पनि त्यही टोल र अन्य वरपरका गाउँलेहरुलाई जजमान थापेर दशकौं देखी जीविका चलाउदै आएका त्यही टोलमा बस्ने एक हुन। चौपारे बाजे शुद्दतामा विश्वास गर्छन। शुद्दता नै उनको धर्म र इमान हो। त्यही शुद्दताका कारणले नै हो अर्का पुरोहित डाँडाघरे बाजेको भन्दा उनका धेरै जजमान भएका। उता कता हो डाँडाघर भन्ने तिरबाट यता बसाइँ सरेर डाँडाघरे भएका अर्का पण्डितको घर चाहिँ पोखरेल बाजेकै साम्मुने छ। एक किसिमले दुवै प्रतिष्पर्धीहरु आमनेसामने नै बस्छन।

त्यो टोलमा अर्को एउटा पसल छ, मिलन कम्प्युटर तालिम केन्द्र। नाम कम्प्युटर तालिम केन्द्र भए पनि काम चाहिँ साइबरको हो यसको। त्यो त्यही ठाउँ हो जहाबाट परदेशिएका आफ्नै हमसफरलाई घरवालीले इमेल पठउछन, अनलाई कुरा गरेर मनको दुख, पीरमर्का र प्यास साटासाट गर्छन। कहिले सत्य कहिले झुठो कथा सुनाउछन। तरुना तरुनीहरु कम्प्युटरको शिसामा देखेकै भरमा मायाको संसारमा कावा खान्छन र कसैले विदेश जाने बिबिध उपाय खोज्दा खोज्दै हावा खान्छन। तर त्यो केन्द्र मजाले चलेको छ। आजकल झन विभिन्न इन्टरनेट सामाजिक संजाल साइटहरुले त यो केन्द्रलाई निकै गुण लगाएको छ। कहिले काही खुसुक्क बाहिर तिर हेर्न नमिल्ने खाले फिलिम हेर्ने ठाम पनि त्यही हो। त्यसैले टोलका आफुलाई बुज्रुक भन्नेहरु त्यो केन्द्रले छोराछोरी बिगार्‍यो भनेर बेलाबेलामा चिया पसलमा हल्ला गर्छन, तर आफुहरुले पनि यसो ऐन-मौका मिलाएर खुसुक्क त्यतै पसेको चाहिँ लुकाऊछन।

त्यही पसले टोलबाट उ अस्ट्रेलिया छिरेको थियो ३ बर्ष पहिले। एउटा लहर थियो त्यता तिर हानिनेको, त्यही लहरमा उ पनि सामेल भएको थियो र त अहिले उ अस्ट्रेलियामा छ। उ पनि अरु जस्तै पढ्ने बाहनामै पसेको हो त्यता तिर। तर ८ लाख खर्च गरेर छिरेको मान्छेले पढ्यो भने त अचम्मै भै हाल्ने थियो तर त्यो अचम्म भएन। त्यसैले पढाई कम र काम ज्यादाको फर्मुला उसले पनि अरुले जस्तै बचाइराखेको छ।

मिसकल, उसको फोनमा, रातो संकेत।

रातको ११ बजे उही इण्डियन रेस्टुरेन्टको काम सकेर फर्किदै सिड्नी मेट्रोमा।

“बा ले मिस कल गरेछन, के परेछ कुन्नि?”

“यो मिसकलको नेपाली रोग चाँही बुझिनसक्नु छ बा। आखिर मैले कल गरे पनि, बाउले गरे पनि खर्च हुने मेरै पैसा हो, किन कल नगरेर मिसकल गर्दाहुन कुन्नि।” त्यस्तै उस्तै सोच्दासोच्दै उसले झर्नु पर्ने स्टेशन पनि आइपुग्यो।

उसले उहिल्लै सुनेको थियो, नेपालमा एकजना महापुरुषले आफ्नो घरमा आगो लाग्दा दमकल अफिसमा मिसकल गरेछन, उता दमकल अफिसले पनि अर्को मिस कल नै ब्याक गरेछ र त्यही मिस कलको सिलसिलामा ति महापुरुषको घर खरानी भएछ। हुन त नेपाल हुँदा उसले पनि कल भन्दा मिसकल नै धेरै गर्दथ्यो। यता झरे पछि थाहा भयो, मिसकल गर्नु राम्रो बानी होइन रैछ भन्ने।

“बाले फोन गर्नु भा रैछ। केहि काम विशेष थियो र हो कि? आइतबार मै गरिहाल्थे नी।“ उसले कोठामा पुग्न साथ फोन गर्‍यो।

आइतबार उसको नेपाल तिर फोन गर्ने बार हो।

“यताहुँदी नानाथरीका कुरा सुन्छु। उतैकी गोरेनी संग तेरो हिमचिम छ रे भन्ने यता गाममा हल्ला छ। त्यो गाइखाने जातलाई बे गरिस भने हाम्लाई बा आमा भन्न नी पर्देन, घर तिर आउन नि पर्देन। त्यत्रो दुख गरेर हुर्काएको, पढाएको यस्तो दिन देख्नलाई रैच। बुढेसकालमा सुखदेला भनेको त कुल-खलकको नाक नै काट्ने भईस” बाउ एक सुरमा कड्के।

“होइन बा त्यस्तो केहि होइन। कल्ले भन्यो तपाँईलाई?” उसले आफ्नो बचाउ गर्ने सुरमा भन्यो।

“बे गर्ने भए एक से एक केटीको लाईन लगाइदिन्चु, त्यो खैरेनी संगको उठबस तुरुन्त बन्द गर। जे कामको लागि गाको हो त्यही गर। घरको जेठो बाठो मान्छे, नाता कुटुम्बले के भन्लान, छरछिमेकीले के भन्लान, रितिरिवाज, परम्परालाई थाम्नु पर्दैन? मेरा जजमानले के भन्लान?” बाउले लामै पुराण सुनाए। एक किसिमको धम्कि, आफ्नो मनको पीडा र आफु भित्रको डर समेत ओकले।

“बा नेपाल जस्तो होइन क्या यता तिर। पढाई चलेकै छ, मरेर काम गरेकै छु। मैनावारी पैसा पठाएकै छु। मेरो पनि त आफ्नो खुशी हुन्छ नी बा।“ उसले अलि बल गरेर आफ्नो मनको अलिकती कुरो सुनायो। साम्मुने बाउको आखामा समेत न हेर्ने धर्मले फोनमा समेत बल गरेर हिम्मत जुटाएर आफ्नो कुरा राख्यो।

“लौ छोरा तँ ठुलो भैचस। बाउ संग दोहोरो कुरा गर्ने भैचस। हामी कुरा नबुझ्ने गामले परेम। आफ्नो लागि आफै बुझ्ने भैचस। खुशी लागो। तैले त्यो गोरेनी ल्याइस भने यो टोलमा त के यो जिल्लामै कुन नाक देखाएर बस्न सक्मला र म। यो घरबारी सबै बेचेर मदेशको एउटा कुना तिर लाग्चु म त। तैले हाम्रो र कुल खलककै नाक काटीस। अब बा, आमा भन्न नी पर्दैन” बाउले दरै धम्की दिए।

“लौ हेर बा पनि कहाँको कुरो कहाँ लैजानु भयो“ उ फत्फतायो। उसलाई त्यो भन्दा बढी भन्न पनि आएन, आमा भएको भए सायद मनको कुरो राख्दो हो बाउ संग त्यो हिम्मत पनि भएन।

“आजको उमेर सम्म सारा जजमानको मन जितेर, चित्त बुझाएर बस्न सकियो, तर आज आफ्नै छोराको कुरा पनि न बुझ्ने भइम।“ बाउले फोन ड्यांग राखिदिए।

उसले बिस्तरामा लडेर यसो विचार गर्न थाल्यो। होइन बाउले यताको कुरो उता कसरी थाहा पाए? फेरी यो गोरेनी संगको सम्बन्धले बाउको नाक कसरी काटियो? छर-छिमेकीको अगाडी इज्जत कसरी गयो? आदि, इत्यादि, उ बडो सोचमा पर्‍यो।

उसले इन्टरनेटको एउटा साइटमा आफ्नो पौरख साथीहरुलाई देखाउन समुद्रका किनारमा गोरेनी संग खिचेका फोटाहरु पोस्ट गरेको थियो। ति फोटाहरू उही साइबरबाट दुई कान हुदै पंडित धरम प्रसाद पोखरेलका कानमा पनि पुगी छाडे।

त्यसपछी त पोखरेल बाजेलाई छट्पटी भयो अनि दगुर्दै आए त्यही साइबरमा र हेरे छोराको चर्तिकला। फोटा हेर्छन त गोरेनीका ज्यानमा दुई बित्ताका कपडा मात्रै र धर्मेको ज्यानमा जनैको धागो समेत छैन, दुवै जना चपक्क टाँसिएका छन। “राम, राम, राम” बाजेलाई भाउन्न भयो। त्यसपछी पंडितका कानका रौ समेत ठाडा भए र घरतिर हान्निए, धर्मेलाई मिसकल गर्न।

“म जजमानको छोरो, मैले नेपालमै त लब पारेर, भगाएर त बिहे गर्न गार्‍हो छ, अब यो जात न धर्म, भात र पानी केहि न चल्ने संग संबन्ध राख्दा हाम्रा जस्ता शुद्ध ब्राह्मण बाउको मन दुख्नु सही पनि हो” एक मनले भन्यो।

“तर जहाँ सम्म इज्जतको कुरो छ, त्यो कसका अगाडी कसरी जान सक्ला मेरा बाउको इज्जत?” उसको अर्को मनले भन्यो, उ यसो गम्न थाल्यो। उता गाउँमै पुग्यो।

पल्लाघरका डाँडाघरे पंडित। हाम्रा बाका हरेक कदमका प्रतिष्पर्धी। नजानेको र नगरेको केहि छैन उनले। झारफुक पनि गर्छन, चिना टिप्पणी त मूल पेसा नै भयो, उस्तै परे हात पनि हेरी दिन्छन, पुजापाठमा भजन गाउने र भजन किर्तनमा आएका स्त्रीलिंग संग सके सम्म फन्केर नाँच्नु उनको विशेषता हो। उहिलै बहुदलको पालामा कमीनिस्टले धर्म मान्दैन भन्दै धर्म मान्ने पाटीमा लागेका थे। तै बेलामा बाजेले घरमा जस्ताको छाना हाले। पछि थाहा भयो, त्यो टोलको बाटो सुधारको लागि आएको जिल्लातिरको बजेट उनले नै लाईन मिलाएर झ्वाम पारेका रैछन। त्यसपछि पनि तिनको राजनीति चलेकै छ। त्यो टोलमा केहि सामाजिक काम गर्नु पर्‍यो भने उनलाई सोध्ने गर्छन टोलबासीहरु। उनी त्यो टोलका गन्यमान्य नै हुन।

भट्भटे दाई, एउटा सरकारी अपिसमा स्टोर किपर छन। गाउँमा पहिलो पल्ट मोटरसाइकल किनेर टोलमै भट्भटे दाईका नामले चर्चित छन्। धेरै जाती कमीनिस्टहरु मध्ये एउटाको चुलो फुकेर आगो ताप्ने नेता, भट्भटे दाई। उनलाई सामेल नगराई गरेको कुनै पनि काम, उनले हरेक उपाय लगाएर सम्पन्न हुनै दिन्नन। उनलाई सामेल गराउने भनेको पैसाको भाग दिनु हो। उनका बाउले कुखुरा समेत छोएनन, उनलाई हरेक रात एक घुट्को तीनपाने नभइ निद्रा नै लाग्दैन। विदेश तिर कमाउन गएका उनैका साथीहरुका स्वास्नीहरुलाई पनि खुशी बनाएर राखेको पोल पटक पटक खुले पनि छाती खोलेर भट्भटेमा घुइकिन्छन। उनको जिल्ला तिर पनि राम्रै नाम छ रे। पार्टिका जिल्ला नेता र कर्मचारी संघका अध्यक्ष समेत हुन् उनी। घरमा हरेक शनिबार तास खेलाउछन। तै उनि टोलका चल्तीका गन्यमान्य नेता हुन।

पल्ला घरे कुल बहादुर, उनको एउटा थोक किराना पसल छ। उमेरमा पढ्न जाँगर गरेनन, किनकी संपत्ति पुग्दो थियो। एकचोटी घाँसदाउरा गर्न जंगलतिर गएका छिमेकीकै छोरीचेलीलाई आँखा लागाउँदा एउटीले हँसियाले ताकेर हान्दा धन्न बिडले लागेछ निधारमा नत्र उहिल्लै स्वर्गबास भैसक्थ्यो तिनको। त्यसपछिको टोलको मिटिंगले कान समातेर उठबस गराएको भोलिपल्ट साउदी तिर हानिएका उतैबाट कुन्नि के जाति नयाँ पार्टीका घघडान नेता बनेर टोलमा आएका छन। उनी अहिलेका चल्तापुर्जा पाटीका टोले नेता “कामरेड शिखर” ले चिनिन्छन। उनको सल्लाह बिना टोलमा केहि गरे उनका युबा दस्ताले लौरो लिएर सडकमा आउछन र चक्काजाम नै गरिदिन्छन्। टोलमा राम्रै चुरफुरी गर्ने र गन्नेमान्नेमा पर्ने उनि पनि एक हुन।

अर्का छन हल्लार माइला दाई। उमेर जे जस्तो भए पनि उनलाई माइलादाई भन्नै पर्छ। क्रस खुकुरीमाथी ५ लेखेको टोपी लाउने उनी ५ गोर्खा राइफलमा २१ बर्ष काटेर फर्केका हुन। बोलीमा कडापन छ, हिडाइमा दम। रिटाएर्ड भएर आए पछी खोइ कसको लहलहैमा लागेर हो, कुन्नि के जाति पार्टीमा लागेछन। अनि त दशैँ तिहार नमान्ने भन्दै १०-१२ जनाको जुलुश नै गरे त्यो टोलमा। “मेरा बाबै दशैँ नमान्ने?” टोलमा हल्लाखोर भयो। उता काठमाडौंमा उनका नेताले लम्पसार परेर राजाको हातको टिका र मन्त्री पदको आशीस पाए, यता माइला दाईले जिल खाए। त्यस पछी त पसले टोल मास्तिरको दुर्गा मन्दिरमा दशैको दुर्गा पुजामा बोको मार हान्ने उनै भएका छन। जे होस उनको पनि त्यो टोलमा राम्रै जगजगी छ।

अझै अर्का महापुरुष छन त्यो टोलमा। तिनको चर्चा न गर्ने हो भने त टोलको बयान नै अधुरो हुन जान्छ। बाउ आमाले जग्गा जिमिनको बेचेर र दिदी, बैनी र भाइले घरको काम सम्हालेर उनलाई काठमांडौ पढ्न पठाए, उनले पनि राम्रै पढे। पछि त झन विदेश तिर पनि गएर पढे। नेपाल फर्केर के कसो मिलाएर हो मालपोत कै हाकिम नै बने। हाकिम बनेको २ बर्ष मै यामानको घर पनि ठड्याए उतै, काठमांडौ मै। तेत्रो पढेको र जागिर भाकोले उनको एक चल्तीका नेताकी छोरी संग बिहे भयो। जिल्लाका हरेक पार्टीलाई राम्रै आर्थिक सहयोग गर्न थाले, त्यसपछि त उनीलाई सबै पार्टीले आफ्नै मान्छे मान्न थाले। टोलका क्लबलाई क्रिकेट र भलिबलका समान किनिदिने उनको सामाजिक काम हो। टोलका मान्छेहरु काठमाडौं जादा उनको घरमा बास नबसेका कमै होलान। त्यसैले टोलमा उनको राम्रो इज्जत छ। तर कुरा यहि सकिदैन। उनका बाउ आमा, दिदी, बैनी र भाइ भने काठमाडौं उनको घरमा नगएको पनि बर्षौ भैसकेको छ। उतै त्यहि पसले टोलको एउटा छेउमा छ उनको सानो घरमा बस्छन उनीहरु। साला, साली सासु र ससुरा र ससुरालीका मान्छेहरु महिनौ त्यहाँ बस्न सक्छन, रमाउन सक्छन तर उसकै बाउ आमा, दिदी, बैनी र भाई भने त्यहाँ हप्ता दिन पनि टिक्न सक्दैनन। बाउ, आमा वा भाइ कसैले पनि उनलाई केही भन्ने आँट समेत गर्दैनन, किनकि सारा टोल उनै महापुरुषको पक्षमा छ। कसैले पनि मुख नफोरेको सत्य के हो भने, उक्त महापुरुषकी घरानिया स्वास्नी सारै ठाठी र बाठी परिछन। कसै-कसैले चाही, महापुरुषकी स्वास्नीको खानपिन र दैनिक बोलि ब्यबहारमा सारै कर्कस हुन्छिन रे घरपट्टिका संग भन्छन। महापुरुषका छोरा छोरीले १० औं हजार मैनामा शुल्क तिर्ने स्कुलमा पढ्छन तर घरमा बुढा बाउ आमालाई ५-७ हजार कहिलेकाही पठाईदिईहाले भने टोल, छरछिमेक र काठमाडौं उसको घरमा बस्न जाने सम्पूर्ण टोलबासीलाई त्यो ठुलो गफ गर्ने बिषय बन्छ। यस्तो की मानौ उसले बाउ आमालाई होइन कुनै मन्दिरलाई चन्दा दिएको होस। आजकल त झन महापुरुषलाई पैसाको यति जरुरत छ रे की, अब बाउ आमा, भाइले खनी खोरसी गर्ने गरेको जग्गा र अन्य सम्पतीको अंश बन्डा गर्न उही घरानिया बुहारीले टोलबासी मार्फत पटक पटक दवाब समेत ती बुढा बुढीलाई पठाई रहेकी छन रे। यस्ता छन ती महापुरुष दम्पती।

यसरी टोलका हरेको बिगत वा बर्तमान त्यस्तै कुनै न कुनै रंगले छ्यापिएर रंगीन बनेकै छ।

कोही चोखो छैन।

कोही भारत तिर चौकीदारको काम गर्दा गर्दै उतै कि मेमसाहेब संग पल्केका छन, कोही आफ्नै गाडी ड्राइवर संग सल्केका छन। कसैका हजुरबाउलाई आफ्नै बुहारीको बात लागेको छ। कसैका दाईले यसो गरेका छन, कसैका भाईले उसो गरेका छन, कसैका बाउलाई के आरोप लागेको छ, कसैका भाउजुलाई। अरु केहि नभए पनि दाईजो नल्याएको भनेर बुहारी कुट्ने, छोरी पाएको भनेर स्वास्नी भकुर्ने, छोरो बिगारी भनेर बुहारी संग झगडा गर्ने, अंशमा भाग पुगेन भनेर आफ्नै दाजुभाई र बा आमालाई मुद्दा हाल्ने, छोरीलाई माया गरेन भनेर ज्वाईलाई गाली गर्ने, आफ्नो बेपार राम्रो भएन भनेर अर्को पसलको बिरुद्ध कर कार्यालयमा छुस्की लगाइदिने, आफ्नी छोरीलाई फकाएर बिगार्‍यो भनेर छिमेकीको छोरोलाई मान्छे लगाएर कुटाउने, जाँड खाएर टोल हल्लाउने, देह बेचेर गहनाले देह सजाउने, बाख्रा चराउन जादा काम बिगार्ने, घास काट्न जादा कुरा बिराउने जस्ता कुनै न कुनै क्रान्तिकारी तथा रचनात्मक कार्यमा संलग्न भैं सके अड्डा अदालतबाट सजायको पुरस्कार समेत पाएका नसके नाम मात्र भए पनि समेत लेखाएका बाहेक कुनै बहादुरी नगरेका मान्छे त टोलमा खोजेर पनि पाइदैन।

“भने पछि अब मैले कसको लागि बाउको इज्जत बचाइदिनु पर्ने होला?” उ बिखलंदमा छ।

“उता कुरा गरे देखिन पोखरेलबाजे घरबाट पनि त्यती बाहिर निस्केका छैनन, सारै दुखी भाका छन रे” चिया पसलमा यस्तै गफको लर्को छ आजकल।

“दुख चाहिँ, छोराले उता मस्ती गर्‍यो भनेर हो कि? उमेरमा मैले किन त्यसो गर्न सकिन भनेर हो, अझै पत्ता लागेको छैन रे” चिया पसलमा त्यस्तो भन्दै सबै गलल्ल हाँस्दा डाँडाघरे बाजे भने चिया घाटीमा सर्केर केहि क्षण त इन्तु न चिन्तु परे।

10 thoughts on “कथाः बाउको इज्जत”

  1. chhabi says:
    November 12, 2012 at 10:47 am

    मदध्य भाग बाट कथा अर्को तिर बगे को जस्तो लाग्छ मलाई त! सग्मग्रमा कथा राम्रो नै छ!

    Reply
  2. bimal says:
    November 12, 2012 at 6:11 am

    राम्रो सामाजिक व्यंग.बिदेसमा गएको बाग्लुंग को रामे ले काठमाडौँ मा बंगला बनायो तैले के कति कमाएर कति बचायिस भन्ने पहिलो प्रश्न नेपाली समाज ले गर्छ ? म तीसौ बर्स देखि बेलायत मा काम र व्यापार गर्ने व्यक्ति संग कहिले (व्यापार राम्रो भएको बेला) पकेटमा कहिले हजारौ पौण्ड पनि हुन्थियो , व्यापार नभएको बेला खाली ऋण मात्रै हुन्थियो ,त्यसको मतलब म संग पैसा भए वा नभए पनि म सदा मानब हु दानब होइन.

    Reply
  3. raja says:
    November 11, 2012 at 6:16 pm

    खासै मजा आएन यो कथा पढेर ,,,लेख्न त राम्रै लेख्न खोजिएको हो तर अलि के के नपुग्या जस्तो लाग्यो मलाई त ,,,,, साथी हरु लाई कस्तो लाग्यो कुन्नि
    ?

    Reply
  4. Navaraj says:
    November 11, 2012 at 4:30 pm

    एकदम राम्ररि बुनिएको कथा, कथा को तात्पर्य “हामि ति मान्छे हरुको अगाडी आफ्नो इज्जत जोगाउने कुरा गर्छौ जसको आफ्नै इज्जत भनाउदो कुरो डगमगाइरहेको हुन्छ ” | आफ्नो नजिकको को हो र टाढा को को हो बेलैमा छुट्टाउना सके राम्रो |

    Reply
  5. ritu chhantyal says:
    November 11, 2012 at 8:59 am

    कथा बर्तमान समाजको साँचो सत्य चित्रण हो l तर कुनै पनि लेख रचनाहरु सकारात्मक शंदेश मुलक हुनुपर्छ भन्ने म मान्येता राख्छु l यदि यस्तै कथाहरुको अनुशरण आजको युवा जमातले गर्ने हो भने हामी कसैको पनि बाउको इज्जत पक्कै रहने छैन l कथाको अन्त्य समाजमा छ्याप्छ्याप्ती भेटिने यस्ता महापुरुषहरुको महान कामको नतिजा नराम्रो हुदोरहेछ भनि धरम प्रसादको छोराले सहि निर्णय लिएर बाउको इज्जत राख्ने संकल्प गर्न सकेको भए कथा अति उत्तम हुने थियो l

    Reply
  6. चन्द्र मादेन "आन्छन्" says:
    November 11, 2012 at 8:29 am

    गाँउले जनजीवनलाई आधार बनाएर लेख्न प्रयन्गरिए पनि पट्यार लाग्दो छ ।कथामा कौतुहलता,शिल्प,सज्जा र निक्खरताको कमि छ।प्रयास जारी राख्नोस,निरन्तर वधाई छ ।

    Reply
  7. shiva bhattarai says:
    November 11, 2012 at 8:20 am

    यी महापुरुस को बर्णन , ससुराली का सन्तान महिना दिन बस्दा जति आफ्ना भै बैनी हप्ता दिन बस्न नसक्ने साथै बाबु आमालाई २-४ हजार दिदा समाज सेवा को लागि चन्दा दिए जति हल्ली खल्ली , आहा कति राम्रो बर्णन
    मेरा ति आफन्त ले यो कथा पडून कहिँ कतै चसक्क हुन्छ कि कथा मन् सारै मन् पर्यो.

    Reply
  8. Bidur gorkhali says:
    November 11, 2012 at 4:11 am

    राम्रो लाग्यो कथा …

    Reply
  9. shailendra dk says:
    November 11, 2012 at 12:49 am

    कथा त राम्रो हो तर पूर्ण रुपमा “महापुरुसको संगत ” कथाको लेखनशैलीबाट प्रभावित भएकोले लेखकको मौलिक सिर्जनशीलता ओझेलमा परेको जस्तो लाग्यो. कथाको अन्त अन्ततिर अलि पट्यार लाग्दो छ.लेखकको प्रयास केहि हद सम्म सफल भएको छ.

    Reply
  10. murari says:
    November 10, 2012 at 11:08 pm

    एवोटा राम्रो कथा, पढेर रमाइलो लाग्यो/ समाजको राम्रो चीत्रण/ हाम्रो समाज कता गैरहेको छ भन्ने ज्वोलान्त उदाहरण / राम्रो नराम्रो भन्ने कुरा मान्छेको सोचाईमा भर पर्ने कुरा हो /तर १ प्रश्न के हो भने हाम्रो समाज कता गैरहेछा?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme