मुस्ताङ यात्रा अनुभव–१
“भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…”
विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, गएको हैन र भन्दै साथीहरुले जिस्काएर हैरान। त्यही झोँकमा पनि मुस्ताङ जाने हाम्रो योजना बनेको थियो। ५ बजे जाने भने पनि केही तयारी थिएन। धेरै दिनको यात्राको योजना पनि थिएन। त्यसैले खासै केही सामान लानुपर्ने देखिनँ। यात्रा भनेपछि मैले फेरि दोहोरो काम गर्नुपर्ने हुन्छ। सकेसम्म म नहुने दिनका लागि ब्लगहरु अग्रिम तयार पार्नुपर्ने ! केही ब्लग लेखेँ, केही इमेलमा आएकालाई राख्ने गरी मिलाएर सुतेँ।
बिहान साढे चार बजेको अर्लाम राख्न ऋषिले सुझाएका थिए। तर सवा ४ मा नै उनैले रिङ हाने। राति निद्रा खासै लागेको थिएन। केही बेर अल्छी गरेँ। त्यसपछि हत्तपत्त उठी लुगा, क्यामेरा, चार्जर ब्यागमा कोचेँ। अनि निस्किएँ सडकमा। बिहान सबेरै नउठेको धेरै भइसकेको थियो। बिहान सबेरै मान्छेको दैनिकी चलिसक्दो रहेछ। दशैँमा खाली हुने काठमाडौँमा समेत यति सबेरै गाडीको चहलपहल भइसकेको थियो।
…तर फर्किनु पर्यो
पाँच बजेकै हाराहारीमा ऋषिले ड्राइभ गरेको स्यान्ट्रो आइपुग्यो। साथमा थिए मुस्ताङसम्मका हाम्रा अर्का सहयात्री प्रकाश केसी। अब हुइँकियौँ हामी कलंकी हुँदै नागढुङ्गातिर।
थानकोट नपुग्दै ऋषिले पेट्रोलले बीचैमा अलपत्र पार्न खतरा औँल्याए। भएको पेट्रोलले कहाँसम्म पुर्याउला भन्ने निश्चित भएन। फर्केर पेट्रोल भर्ने कि अगाडि बढ्नेमा मतैक्य हुन सकेन। ‘फर्कने कुराको त म विरोधी हुँ’, प्रकाशले आफ्नो सिद्धान्त स्पष्ट पार्यो। लौ त नि भन्दै अगाडि कुनै पेट्रोल पम्प पाइने आशाले अघि बढ्यौँ। तर अगाडि कि डिजेल मात्र भएको पम्प थियो, कि पम्प खुलेकै थिएन। एउटा पम्पमा सुतिराखेको मान्छेलाई उठाउँदा पनि पेट्रोल त छैन भन्ने जवाफ पाइयो। त्यसपछि फर्कनु नै जाति ठान्यौँ। बीचमा अलपत्र पर्न सक्ने अनिश्चित यात्रा गर्नुभन्दा त फर्केकै राम्रो ! यात्राको सुरुवातमै ‘लोदर’ लाग्यो। कलंकीमा पेट्रोल भरेर फेरि अघिकै बाटो फर्कँदै गर्दा एभरेस्ट बैँकको डिजिटल घडीले पाँच बजेर ४५ मिनेट गइसकेको संकेत देखाइरहेको थियो। आकाश उज्यालो भइसकेको थियो।
बिग्रेको बाटो
नागढुङ्गामा उपत्यकाबाट बाहिरिने सवारी साधनको नम्बर इन्ट्री गराएपछि हामी झर्न थाल्यौँ ओरालो। यहाँदेखिको बाटो ओहो, खत्तमै थियो। बाटोमा खाल्डाखुल्डी मात्रै हैन, एक लेन त पूरै भत्किएको अवस्थामा छ। अनि त्यहाँ धूलो यतिविघ्न उड्छ कि मोटरसाइकल यात्रुहरुको हालत खराब ! धन्न हामी गाडीभित्र शिशा लगाएर बसेका थियौँ र हामीपट्टीको लेन उताबाट आउँदाको लेन जस्तो भत्किएको थिएन। दशैँमा त्यत्रा गाडी बाहिरिन्छन्, यो बाटो बनाउनु पर्नेमा कसैले किन चासो नलिएको होला। सडक उपभोग दस्तुर लिने ठाउँमा हामीले ‘पैसा मात्रै लिने हो र. बाटो बनाउन पनि भन्नुपर्यो नि’ भन्यौँ। तर हामीजस्ताको कुराको के सुनुवाई हुन्थ्यो होला र!
दिसायुक्त र मुक्त क्षेत्र !
मिडियामा खुबै चासो देखाइने मुग्लिङको पुलमा अहिले ‘एकदमै बिस्तारै चलाउनुस्’ लेखिएको रहेछ। पुल पार गरेपछि हामी काठमाडौँ, धादिङ, चितवन हुँदै तनहुँ अर्थात् चौथो जिल्लामा प्रवेश गर्यौँ। आजभोलि जिल्लाहरुमा एउटा नयाँ नाराको फेसन चलेको रहेछ- खुला दिसामुक्त क्षेत्र। यस्ता क्षेत्रहरु टन्नै भएपछि अहिले पहिलो, दोस्रो भन्दै साइनबोर्ड राख्न थालिएको रहेछ। तनहुँ पहिलो रे ! खुला दिसामुक्त मात्रै हो कि पिसाब पनि हो भन्ने लागेर साइनबोर्डमा हेर्दा पिसाबको चैँ लेखिएको रहेनछ। भनेपछि बस कुनै ठाउँमा ध्याच्च रोकेर तुर्काउनमा कुनै रोक रैन रैछ भन्ने बुझ्न पर्यो।
हुनत साइनबोर्ड मात्रै राखेर के असर पर्ला र भन्ने लाग्न सक्छ। तर हैन, असर त परिहाल्छ। एउटा उदाहरण प्रकाशले सुनाइहाल्यो- ‘कसैले तुर्क्याइरहेको ठाउँमा गएर ‘ओए..’भनेर कराउने मात्रै हो भने पनि मान्छेले गलत काम गरेको महसूस गरिहाल्छ!
मच्चियौँ पिङमा
मुग्लिङ कटिसकेपछि चिया खान एक ठाउँमा हामी रोकियौँ पहिलो पटक। रोडसाइड रेस्टुरेन्ट रहेछ तर खाली। हुनत बाटै खाली थियो, रेस्टुरेन्ट के भरिन्थ्यो र ! त्यहीँ नजिकै एउटा पिङ रहेछ। यसपटक दशैँमा पिङ खेलिएको थिएन। त्यसैले एक पटक मज्जाले पिङमा मच्चियौँ।
मासुका कारण आत्महत्या
केही समयमै हामी फेरि अर्को जिल्ला आइपुग्यौँ- कास्की। यो हाम्रो यात्राको क्रममा पाँचौँ जिल्ला। ‘अब ७० वटा बाँकी छ पुग्न’, हामी जिस्कँदै थियौँ। एकै दिन ७५ जिल्ला त के टेक्न सकिन्थ्यो र। कास्कीमा पनि साइनबोर्ड झुण्ड्याइएका रहेछन्- यो चाहिँ नेपालको दोस्रो खुला दिसामुक्त जिल्ला रहेछ।
१० नबज्दै पोखरा पुगियो। पोखराको लभ्ली डाँडामुन्तिर पर्स्याङमा रहेको घरमा एकछिन टीका लगाउन जाने योजना थियो मेरो। तर, अल्मलिनुभन्दा एकै पटक फर्किएपछि मात्रै पस्ने गरी मन परिवर्तन गरेँ। सट्टा हामी लाग्यौँ विन्दबासिनी मन्दिरतर्फ।
लामो लाइन थियो त्यहाँ। एकछिन बाहिरैबाट परिक्रमा गरी हामी फेरि लाग्यौँ माथितिर। हाम्रो गन्तव्य थियो बेनी।
पोखरा-बाग्लुङ राजमार्गको सबैभन्दा सीधा बाटो फेदीमा गाडी स्पिङले कुदाउँदै थियो ऋषि। अलिअलि निद्राले पनि छोप्दै थियो। पोखरामा खाना खाने विचार परिवर्तन भई लुम्लेतिर सरेको थियो। पछि नयाँ पुलको प्रस्ताव आयो।
नयाँ पुलमा खासै खाना खाने ठाउँ छैन। हाइवे नजिकैको पसलहरुसहितको एउटा सानो ठाउँ हो नयाँ पुल। खासमा घान्द्रुक जान ट्रेकिङ सुरु हुने ठाउँ भएकोले यसको महत्त्व भएको हो। खाना त हैन, चियासिया खाने विचार गरियो।
कालो चिया र सेल खाइयो। साथीहरुले अण्डा पनि खाए। मैले भने आफू शाकाहारी भनेर चिनाएँ। कस्तो खालको शाकाहारी भन्ने प्रश्न आएपछि मैले पनि गफ दिन पाएको बेलामा किन छाड्नु भनेर भन्दिएँ- दूधसमेत नखाने शाकाहारी।
मासुकै कुरा आउँदा भर्खरै त्यहाँ भएको एउटा घटना पसले दाइहरुबीच हुँदै रहेछ। दशैँको बेला एक जना राई थरका व्यक्तिले पुलबाट हाम्फालेछन्। न लाश फेला पर्यो न सास। जातले राई भए पनि उनी ठूलो खसीको मासु नखाँदा रहेछन्। नखाने मात्र हैन, घरमा नचल्ने पनि। तर उनकी श्रीमतिले भने घरमा मासु भित्र्याइदिइछिन्। झगडा भएछ बब्बाल। त्यही रिसमा नदीमा झ्वाम्मै हाम्फालेछन्। लाश त्यो दिनसम्म नभेटिएको रहेछ। ‘बगाएर कता पुर्याइसक्यो होला…’ उनीहरु कुरा गर्दै थिए। (यात्रा अनुभव क्रमशः)
सानो संसोधन गर्नु पर्ला मित्र ; खुला दिसा मुक्त क्षेत्र मा – कास्की पहिलो , चितवन दोस्रो , तनहू तेस्रो र म्याग्दी चौथो हो .
Dear Salokya,
I like ur journey to Mustang, i wanna know continiously and i wanna b ur good friend.
एक चोटि धादिङबेशीबाट माथितिर गणेशहिमाल हुँदै रसुवाको धून्चे निक्लौ न । अन्लाईनबाटै टिम मिलाएर, म पनि सहभागी हुन्छु।
i admire your sense of humor ,the way you present small story with big casting.it is not funny to announce ”disa mukt chhetra” in Mugling..
look how many people especially Bihari passes through there.
I don’t believe only noticeboard would work ,someone might be hanging around with a big bamboo stick.
तपाईं पनि के हिन्दि सिरियल जस्तो धाराबाहिक तरिकाले लेख राख्नु भएको भन्या !!! बरु अलि ढिला भए पनि सबै पूरा राख्नुस न | कस्तो रमाइलो मानि पढ्छु त एकै चोटी सिद्धिएको….झ्याउ भयो नी दाई !!! अनि अर्को कुरा, पैसाको पनि कुरा राख्नुस है – कहाँ कहाँ कति खर्च हुन्छ; ताकी अन्य साथीहरु जाँदा खल्तीमा हुनु पर्छ भन्ने ज्ञान हुन्छ | फेरी अर्को कुरा, कसरी जाने ? कुन सवारी साधन उत्तम हुन्छ ? बाईकमा ठिक छ की ? हिंडेर जानु ठिक छ की ? आफ्नो गाडी त्यहाँ सम्म जान्छ की जान्दैन ? कति दिन लाग्छ ?
मेरो अनुभबमा भन्ने हो भने, बाईकमा जानु एकदमै रमाइलो ! हामी ३ वर्ष अगाडी, भाइटीकाको भोलिपल्ट काठमाडौँ बाट गएको थिँए | त्यो बेला हाम्रो पेट्रोल समेत गरेर प्रतिव्यक्ति ७ हजार खर्च भएको थियो ५ दिनको | त्यहाँ (मुक्तिनाथ) सम्म हाम्रो चार पांग्रे गाडी नलगे राम्रो हुन्छ, किनकी बाटो एकदम नराम्रो छ | जिन्दगीमा एकचोटी मोटरसाइकल चढेर जानु पर्ने ठाउँ हो |
म पनि यात्रा को भोगी भएको ले यात्रा को बारेमा सालोक्य सर को शुरुवात रहर लाग्दो लग्यो पस्कदै रहनुहोला धन्यबाद
यात्रा सस्मरण र कुनै सफल या दुखि बेक्तिको जिबनी पढ्न असाध्य रहर लाग्ने मलाई मायाप्रेममा भोक र निन्द्रा हराए जत्तिको ! तस्बिर सहित सुलुलु बग्दा बग्दै घ्याच्च ब्रेक लागि हाल्यो झसङ्ग बनायो !! तर पहिलाको कुनै दशैमा पनि यतै मुस्तांगको यात्रा थियो, होइन र ? यात्रा दोहोरी जस्तो लागे पनि लेखाइले मस्त बगाएको छ, यस्ता अरु नया गन्तब्यका यात्राको पनि अपेक्छ्य ……………
यात्रा संस्मरण राम्रो लागेको छ .
तपाई मुस्तांग तिर गएको थाहा पाएको थिए, कैले लेख्नुहोला जस्तो लागेको थियो, निकै रमाइलो तरिका ले सुरुवात भएछ, खुसि लग्यो …अरु अंश को आशा राख्दै –
बेनी तिरको अनुभव कैले राख्ने हो?