-शुषमा मानन्धर-
मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि ट्याक्सी ड्राइभरहरुले हड्ताल गरेका रे। यस्तो बेला, एक त ट्याक्सी पाउनै गाह्रो, अर्को पाइएको ट्याक्सीले पनि चर्कै भाडा उठाउन खोज्छन्। त्यही भएर, जीवन दाइलाई एकपल्ट फोन गर्ने निधो गरेँ। चार घण्टीपछि जीवन दाइले फोन उठाउनु भयो। “जीवन दाइ, म एयरपोर्टमा छु। पिकअप गर्न भ्याउनुहुन्छ?” उहाँको स्वीकारोक्तिपछि बल्ल ढुक्क भएँ। ब्यागेज कलेक्ट गर्दैमा आधा घण्टाभन्दा बढी समय लाग्यो। काठमाण्डौ एयरपोर्टबाट बाहिरिने बित्तिकै आफन्तहरुलाई पर्खँदै बसेका भीडमा आँखाहरुले पनि जीवन दाइलाई खोजे। उहाँ आइपुग्नु भएको थिएन।
घडी हेरेँ, साँढे पाँच बजिसक्यो। जाडो शुरु हुन थालिसकेकोले साँझ झमक्कै फैलिसकेथ्यो। लाएको एकसरो टिसर्टमा जीउ काम्न थालेपछि मैले ह्याण्डब्यागबाट स्कार्फ निकालेँ र घाँटीमा बेरेँ। आउटर, सुटकेशमै पर्यो। दिल्लीबाट निस्कँदा यति चिसो होला भन्ने अनुमान गरेकी थिइनँ, नत्र त आउटर ह्याण्डब्यागमै राख्थेँ। त्यति धेरै घुम्न नपाए पनि सेमिनारको अन्तिम दिन अलिकति शपिङ्ग भने भ्याइहालेँ। किनमेल नगरी पनि नहुने। बाहिरबाट आएको भनेपछि सबैले केही न केही अपेक्षा गरेकै हुन्छन्। दिल्ली एयरपोर्टमा पनि गर्मी नै थियो, आउटर निकाल्नु पर्ने आवश्यकता थिएन।
आउनेजानेहरुको रेलपेलमा दायाँबायाँ हेर्ने र पर्खने फुर्सद त्यहाँ कसैलाई थिएन। गेटनिर साह्रै भिड हुन थालेपछि म त्यहाँबाट हटेँ र एकछेउमा सुटकेश अडाएर जीवन दाइलाई कुर्न थालेँ। उहाँले आउन नसक्ने कुरा बताउनु भएको भए सायद म हिँडि पनि सक्थेँ, आउँछु भन्नुभएकोले कुर्न करै लाग्यो।
गहुँगोरो, अग्लो र हृष्टपुष्ट जीवन दाइ मभन्दा केही वर्ष जेठो हुनुहुन्छ। कपालमा देखापर्न थालेका उमेरका हल्का हस्ताक्षरलाई उहाँले बेलाबेला लुकाइ पनि रहने हुँदा उहाँमा प्रौढताको उपस्थिति भने खासै महसुस हुँदैन। साथीको माध्यमबाट परिचित हुनुभएको जीवन दाइलाई मैले पनि जीवन दाइ नै भनेँ। आफूजस्तै भावुक र सम्बेदनशील अनि सायद समान वैचारिक धरातलको कारणले होला हामीबीच अपनत्व बढेको। आफूभन्दा सानाहरुको बढी ख्याल गर्ने, स्नेह गर्ने उहाँको अभिभावकको जस्तो व्यवहारले गर्दा म उहाँलाई आदर गर्छु। कुनै एउटा समस्या राख्यो, उहाँसँग दशवटा सुझाव हुन्छन्, त्यो गर्नुपर्छ, यो गर्नु हुँदैन। जब उहाँ साथमा हुनुहुन्छ, संसारका कुनै पनि समस्यादेखि डर नै लाग्दैन। मानौं कुनै ठूलो छातामुनि ओत लागे जस्तै म उहाँको सामिप्यमा बिल्कुलै निश्चिन्त हुन्छु। कतै कुनै काम गलत भैहाले पनि, जीवन दाइ हुनुहुन्छ भन्ने बोधले मलाई कमजोर बनाउँदैन।
दाइ भनेपनि उहाँसँग मेरो व्यवहार भने मित्रवत् छ। त्यस्तो कुनै पनि ठाउँ, विषय र समय थिएन, जसको लागि उहाँले नाईँनास्ती गर्नु भएको होस्। अरु साथीलाई फोन गर्यो, हरेकका आआफ्नै ब्यस्तता र बहानाहरु। तर जीवन दाइलाई एककल मात्र गर्नु पर्छ, जस्तै व्यस्ततावीच पनि उहाँ समय निकाल्नु हुन्छ, आएर सुन्नुहुन्छ। मित्रताको यो गहन अर्थबोध मैले अरु कसैसँग देखिनँ। आज त्यो विशेषताको बावजुद उहाँ अहिलेसम्म आइपुग्नु भएको थिएन। उहाँलाई फेरि मोबाइल गरेँ। पुरै कल गयो, र पनि उठेन।
सुटकेश उठाएँ, जत्तिनै भाडा लिए पनि ट्याक्सीबाट घर जाने मनसाय बनाइ सकेकी थिएँ, जीवन दाइ आइपुग्नु भयो। “सरी अनु, धेरैबेर कुर्नु पर्यो हगि तिमीले?” कारको अगाडिको ढोका खोल्दै उहाँले सोध्नु भयो। भित्र बसेँ, बोलिनँ। किन बोल्नु, रीस उठेको थियो। उहाँ मतिर फर्कनु भयो। “नरिसाउन। आजै अर्जेन्ट मिटिङ्ग पर्यो। अझ, तिम्रो फोन आउने बित्तिकै बिचैमा उठेको हुँ।” उहाँले निधारमा झरेका कपाल मास्तिर फर्काउँदै भन्नुभयो। श्रीमान्ले लिन नआएको झोँक, अझ त्योभन्दा बढी सन्चो नभैरहेको बेला चिसोमा कुर्नुपरेको पीडा। “यस्तो चिसोमा कतिबेर कुर्नुपर्यो, तपाईलाई थाहा छ?” “सरी।” उहाँले आफ्नो एउटा कान समाउनु भयो। सीटअगाडि विन्डस्क्रिननिर ताजमहलको सानो प्रतिरुप थियो। त्यसको छेउमै सुनौलो माने घुमिरहेको हेरिरहेँ।
जीवन दाइले कारको गति कम गरेर भीडभाड कम भएको ठाउँतिर साइड लाउनु भयो। छक्क परेँ, यतिबेला गाडी रोक्नु पर्ने कुनै आवश्यकता थिएन। एकाएक गाडीमा कस्तो खराबी आयो, बुझ्न सकिनँ। उहाँलाई हेरेँ। उहाँले पनि मतिर हेर्नुभयो, मेरो पातलो टिसर्ट, काँडा उम्रँदै गरेका हात र जाडोले निलो भएका मेरा ओठ। अनि आफूले लगाएको ज्याकेट फुकाल्नु भयो र मेरो काँधमाथि ओढाउनु भयो। “अनु, एकैछिन भए पनि न्यानो होला तिमीलाई।” उहाँले ओढाउनु भएको ज्याकेटभरि वात्सल्यता थियो। स्नेह र अधिकारले भरिएको आदरणीयको अंगालो जस्तो। यो उष्णताले बाहिर शरिर मात्र हैन, मुटुभित्रसम्मै न्यानो भएँ। उहाँको आफूप्रतिको स्नेह र ममत्व देखेर आँखामा केही उर्लन खोज्यो। ज्याकेटलाई आफूसँग अझ च्यापेँ र लुकाउन खाजेँ आँसुको भुल्कोलाई। गाडी सडकमा चिप्लिरहेको थियो। मौनतालाई एकछिनपछि उहाँले तोड्नु भयो, “श्रीमान्लाई फोन गरिनौ त?”
“तपाइँलाईभन्दा पहिला उनैलाई फोन गरेकी हुँ, फुर्सद मिलेन रे। ट्याक्सी लिएर आउनु भनेका छन्। अनि आजै ट्याक्सीका हड्ताल।”
“ए।” बढी बोल्नुभएन उहाँले।
“स्वास्नी कति दिनपछि बिदेशबाट फकेर्की छ। साँझ लिन आउन पनि नसक्ने, कस्तो ब्यस्तता हो?” मभित्रबाट दुःख नचाहँदा नचाहँदै पनि निस्कियो।
“त्यसरी सोच्नु हुँदैन। लोग्नेमान्छेका कतिधेरै काम हुन्छन्। बिजी भएपछि के गर्नु त?”
“तपाईँले पनि उनैको वकालत?” म ठुस्स परेँ।
“वकालत हैन, मान्छेलाई यस्तो समस्या पर्न सक्छ पो भनेको। अलिकति व्यवहारिक भएर हेर न।”
मैले झ्याल बाहिर हेरिरहेँ। बाहिर देखिने सडकछेउका दृष्य गाडीको गतिसँग पछाडि छुटिरहेका थिए। मेरो मनस्थिति बुझेर उहाँले सुस्तरी भन्नुभयो, “यस्तो सानोसानो कुरामा अल्भिन थाल्यौ भने घरसंसार कसरी चल्छ? बुढी हुन थालिसक्यौ, बुध्दि कहिले पलाउने हो?” यद्यपि उहाँ मलाई भनिरहनु भएको थियो, तर उहाँका दृष्टि वीन्डस्कि्रनबाहिर स्थीर थिए, मानौँ अरुलाई सुनाइरहनु भएको थियो। हाँसो उठ्यो। मेरो हाँसोको आड समाएर उहाँले सोध्नु भयो, “दिल्लीबाट के ल्यायौ त मलाई?”
“क्यैनक्यै। केही ल्याइनँ। एक त तपाईले भन्नुभएन, अर्को कुरा, तपाईलाई सबै पुगेकै छ, के ल्याउनु पर्यो? किन केही चाहिन्थ्यो र जीवन दाइ?”
मेरो प्रश्नमा उहाँ हाँस्नुभयो। एकछिन अघिको अत्यासलाग्दो भारीपन खुकुलो भयो। घर आइपुग्न लाग्दा उहाँले सोध्नुभयो, “कहाँ छोडुँ तिमीलाई?”
“ऊ त्यो पसलअगाडि।” मैले औँल्याएँ। “तपाईको ज्याकेटले निकै जोगायो आज। नत्र त अघि बिरामी नै परुँला जस्तो भैसकेकी थिएँ।” नाक पनि सुईँसुईँ गर्न थालेको थियो। ज्याकेट फुकालेर उहाँतिर बढाएँ। उहाँले लगाउनु भयो। “घर गएर झगडा गर्ने हैन है! भोलि फोन गर्छु तिमीलाई।” उहाँले गाडी मोड्नु भयो।
घर पुग्दा खाना खाने तयारी भैरहेको थियो। श्रीमान् फोन गर्दै थिए। उनलाई देखेर म एकैछिन उनको अगाडि अडिएँ। व्यस्त भएर होलान्, उनले खासै प्रतिक्रिया जनाएनन्। केटाकेटी भने खुशी भए। खाना खानुअगाडि नै उपहार हेर्ने र लिने होड चलिहाल्यो। यताउता गर्दैमा दश त मजाले बज्यो। “सुत्ने हैन, अब के काम बाँकी छ?” खानापछि श्रीमान्ले मलाई सुत्न आमन्त्रण गरेका हुन् कि सधैँझैँ ल्यापटपमा झुण्डिन्छे भनेर व्यङ्ग्य गरेका, छुट्टयाउन सकिनँ। “तपाईँलाई एकदुईवटा टिसर्टहरु ल्याएकी छु, हेर्नुहुन्छ कि?” मैले फर्कने दिन दौडादौड गरेर एयरपोर्ट आउनुअघि किनेका टिसर्टहरु फैलाएँ। टिसर्ट देख्ने बित्तिक्कै उनले नाक बिगारे। हरेक कुरामा परफेक्शन चाहने उनलाई चित्त बुझाउन गाह्रो छ। “कस्तो पो ल्याएकी होलिऊ तिमीले?” अनि एउटा टिसर्ट टिपेर भएभरका कमजोरी खोतल्न थालिहाले। “कलर पनि छान्न आएन तिमीलाई? योभन्दा राम्रो लुगा त न्युरोडको कुनै पनि पसलमा जति पनि भेटिन्छ।” कति सहज रुपमा व्यक्त गरे उनले आफ्ना प्रतिक्रिया। कत्रो रहर गरेर भ्याइनभ्याई किनेकी। उनको यो अभिव्यक्तिले मलाई दुखाउन सक्छ, त्यसको कुनै ख्यालै गरेनन् उनले। मैले टिसर्टहरु समेटेर सुटकेशैमा कोचेँ। उनी मलाई कोठामा छिटै आउने उर्दी जारी गरी बेडरुममा लागिसकेका थिए। ल्यापटप खोल्न पनि मन लागेन। सुतिहाल्न निद्रा पनि आएको थिएन। दोमन गर्दै, अन्यौलको बीचमा मैले मेरी साथी मुनालाई डायल गरेँ। उसैले फोन उठाई, “कतिबेला आइपुगिस्?”
“एकैछिन भो, तँ सुतिसकिस् कि भन्ने लागेको थियो।”
“कहाँ सुत्नु यार? यति छिट्टै सुत्ने भाग्य छ र हामी आइमाईका? धोएका लुगा पट्याउँदै छु। अनि तँ चैँ आजै बाहिरबाट फर्केकी, बुढासँग खुरुक्क बेडरुममा नबसी, किन नि?” ऊ हाँसी।
उसले भन्न खोजेकी कुरातिर लागिनँ। “अनि सुना, कसरी बिते तेरा दिन? तैँले त एउटा ईमेलसम्म पनि गरिनस्?”
“हो गरिनँ। तँलाई एउटा सरप्राइज दिनु थियो, त्यही भएर।”
मैले निकै कर गरेँ मुनालाई त्यो सरप्राइज बताउन, उसले एक अक्षर चुहाइन। ऊ कुरामा निकै पक्का छे, विस्वासिली। त्यही भएर अरु केटीसाथीहरुसँगभन्दा ऊसँग मेरो मित्रता गाढा भएको। एघार बजेपछि म बेडरुममा लागेँ, श्रीमान् टिभि हेर्दै थिए। “ रातरातभर पनि कुरा गर्नु पर्ने? कोसँग कुरा गर्दै थियौ, ‘भोलि’ नै नआउला जस्तो!” उनको स्वरमा प्रश्न थिएन, मैले अनुभव गरेँ, मात्र एउटा व्यङ्ग्यपूर्ण हप्काइ थियो। आजै बाहिरबाट फर्केकी भनेर कुनै सहुलियत पनि थिएन। म सानी बच्ची थिइनँ, ठीक बेठीक छुट्याउन नसक्ने। सानोभन्दा सानो कुराको पनि स्पष्टिकरण दिइरहनु पर्ने हो र मैले? मेरो छुट्टै अस्तित्व नै नभएको जस्तो मप्रतिको व्यवहार, तर मैले बोलिनँ, बत्ती निभाएँ। उनले पनि टिभि बन्द गरे। कोठा मौन रह्यो एकछिन। मबाट कुनै प्रत्युत्तर, प्रतिक्रिया नदेखेपछि अँध्यारोमा उनका हातहरु मलाई उघार्न थाले। मैले प्रतिवाद गरिनँ। प्रतिवाद गर्नुको अर्थ पनि थिएन। उनले लोग्ने हुनुको अधिकार निर्वाह गरे। कोशौँसम्मको दौड एक्लै दौडे, एक्लै जिते र त्यो विजयोत्सवमा सन्तुष्ट उनी निदाए। म चैँ, युध्दमा पराजित सिपाही जस्तो बेडको एक कुनामा सिरानी अडेस लगाएर बसिरहेँ।
निस्तब्ध रात। कोठाभित्र भित्ते घडीको एकनासे चर्को टिकटिकको आवाज। मनभित्र पनि कोलाहल कम्ती थिएन। एकपछि अर्को पालो मिच्दै आउन थालेका सबै प्रश्नका जवाफ मसँग थिएनन्। निँद मैले बोलाउँदैमा आइहाल्नेवाला थिएन, कुरेँ। कम्तीमा झ्यालबाहिरको गाढापन पातलिउन्जेल मैले कुर्र्नैपर्थ्यो। बिहानीपख आँखा लागेथ्यो। उठिहाल्नु पर्यो।
एकतमाशको बाँधिएको जस्तो जिन्दगी। हेर्दा साना साना कामहरु, तर भ्याउनै नसकिने। हतारहतार अफिस दौडेँ। दिनभर फाइल, मिटिङ्ग, ईमेल, अफिसको आफ्नै दुनियाँ। छुट्टि हुन लाग्दा मुना आइपुगी, “तँ हिँडिसकिस् कि भन्ने कत्रो पीर लागेथ्यो। ”
उसले मिठाईको बट्टा मतिर बढाई। “कुन उपलक्ष्यमा?” मैले एक टुक्रा काजुबर्फि निकालेँ।
“खान न खा, पहिला।” ऊ निकै खुशी देखिन्थी। ऊ पहिला पनि हँसिली नदेखिने हैन, अहिलेको उसको खुशी थामेर थामिएको थिएन। मलाई पनि खुशी लाग्यो, कारण जेसुकै होस्, त्यसले उसमा ल्याएको थप खुशीले मलाई पनि हर्षित पार्यो। “अब भन्, यो खुशीको कारण के हो?” मलाई भित्र निकै उकुशमुकुश भैसकेको थियो।
“हिजो चेकअपमा गएकी थिएँ।”
हेर्दा ऊ बिरामी देख्दिनँ। म छक्क परेँ। मेरो आश्चर्य देखेर उसैले खोली, “तीन महिना भएको छ।”
पहिले नै तीनवटी छोरी छन् उसका, यो उमेरमा फेरि के रहर लागेछ दोजिया बन्ने? “कुनै रात एक्सिडेन्ट भा’को त थिएन?” मेरो शंकामा ऊ धक फुकाएर हाँसी। अनि तुरुन्तै सम्हालिएर साउती गरी, “हैन क्या, इन्टेन्शनल्ली नै गरेको। भिडियो एक्सरे गरिसक्यौँ। यसपालि त छोरा छ।”
“यसपालि त छोरा छ।” उसको यो भनाइ ऊ गैसकेपछि पनि धेरैबेरसम्म कानमा गुन्जिरह्यो। खै त हाम्रो समाज परिवर्तन भएको? एक्काइसौँ शताब्दीमा आएर आज पनि त्यही सडेको पुरातन सोचाइको हैकममाथि हामी निरिह। उफ्, म दिक्क मान्दै थिएँ, जीवन दाइको फोन आयो।
“जीवन दाइ, तपाईसँग भेट्नु थियो।” छुट्टि हुन लागेकोले म ब्याग बोकेर अफिसबाहिर निस्किएँ। “अहिले त्रिपुरेश्वरमा छु। आउन सक्छ्यौ भने ‘आँगन’मै आउ न।”
मैले ‘आँगन’अघि स्कुटर साइड लाउँदै गर्दा उहाँ कारबाट ओर्लँदै हुनुहुन्थ्यो। “अफिसमा काम स्पीडअप भैसक्यो त तिम्रो?”
“अलिअलि।” मैले दुईकप कफी अर्डर गरेँ। आफूलाई केही समस्या पर्यो भने मैले सम्झने जीवन दाइलाइ नै हो। तात्तातो कफीसँग हल्काफुल्का कुरा गरेँ। ठूलो कुरा त गर्नै बाँकी थियो, “जीवन दाइ…।” कुरा शुरु गर्न खै किन हो अप्ठ्यारो लाग्यो मलाई।
“सुन्दैछु।” उहाँले कपको अन्तिम घुँट्को कफी सुर्क्याउनु भयो।
धक लाग्यो। टेबुलमाथिको मेनु लिएँ र निरुद्देश्य ओल्टाइपल्टाइ हेर्न थालेँ। जीवन दाइले न्यापकिनले मुख पुछ्नु भयो। कुनै प्रश्न गर्नु भएन, तर उहाँका दृष्टिमै प्रश्न थिए। “अरु केही खाने हो कि?” “हैन नखाऊँ जीवन दाइ।” मैले अझै पनि कुराको शुरुवात गर्ने आँट निकाल्न सकिरहेकी थिईनँ। “मलाई एकजना मन पर्छ।” मैले कुरा चपाएँ, र मेनुमा आँखा गाडेर सुनाएँ। उहाँ आश्चर्यमा उफि्रनु होला भन्ने सोचेकी थिएँ। त्यस्तो केही भएन। “अस्वाभाविक हैन। जिन्दगीमा हामीलाई धेरैजना, धेरै पटक, धेरै कारणले मन पर्छन्।” मेरो भनाइमा उहाँको दार्शनिक उत्तर। “जीवन दाइ, म साँच्चीकै उनलाई मनमनै माया गर्छु।” मैले भन्न सकिनँ, यसो भन्दै गर्दा मैले आफूलाई नै अवमूल्यन गरेँ कि गरिनँ? उहाँले एकछिनसम्म मेरो भनाइ र भावनाको वजन गर्नखोज्नु भयो। “ए। कहाँ बस्छन्?” उहाँको फेरि धीरगम्भिर प्रश्न।
“काठमाण्डुबाहिरका हुन्।”
“अनि उनलाई थाहा छ त तिम्रो प्रेम? के उनी पनि तिमीलाई माया गर्छन्। कति भयो तिमीहरुवीच सम्बन्ध बढेको?” उहाँले अविभावकलेझैँ केरकार गर्न थाल्नुभयो मलाई।
“सम्बन्ध बढेको केही समय भयो, तर मेरो भावना उनलाई थाहा छैन। मैले बताउनु पर्छ कि पर्दैन, जीवन दाइ, तपाईँ के सल्लाह दिनुहुन्छ?”
उहाँले नियाल्नु भयो मलाइर्, खूब गहिरोसँग। मैले श्रध्दा गर्ने जीवन दाइको दृष्टिसामु, शिक्षकको अगाडि होमवर्क ल्याउन बिर्सेको विद्यार्थी जत्तिकै डराएँ म। तै उहाँले मेरो तालु सुकेको देख्नु भएन। “ठीक छ, यसबारेमा पछि कुरा गरौँला। घरको लागि अलि शपिङ्ग गर्नुछ। श्रीमतीले बिहानै भनिसकेकी छ। आज्ञा पालनाको नियम कडा छ, मेरो घरमा।” उहाँ हाँस्दै उठ्नु भयो।
“हस्।” म पनि उठेँ। सोधेको प्रश्न अनुत्तरित नै रह्यो।
श्रीमान् अफिसबाट फर्किसकेका थिए। उनले घडी हेरे, “किन ढिलो? कहाँ मात्र गएकी थियौ?” केटाकेटीलाई हकारेझैँ तीखो हेराइसँगको प्रश्न। हरेक कुरामा नियन्त्रण गर्न खोज्ने उनको यस्तै रवैयाले आफूलाई मन नलागेको प्रश्नमा जवाफ नफर्काउने मेरो बानी बसिसकेको थियो, अहँ, केही बोलिनँ। विवादबाट बच्ने मसँग यही उपाय थियो। लुगा फेरेँ, चिया बनाइ दिएँ। त्यसपछि उही भान्छा, उही ऐजन ऐजन काम।
खाना सबैले सँगै खायौँ। खानापछि मानौँ, सबैको छुट्टाछुट्टै अर्जेन्ट मिशन जस्तै, आ–आफ्नो कोठातिर लागे। छोराले रिमोट समातिहाल्यो, उसको प्रोग्राम नसकी अब कसैले टिभि हेर्ने आशै गर्नु पर्दैन। छोरीको कोठाबाट पनि मोबाइलमा कुरा गरिएको आवाज आउँदै थियो। श्रीमान्लाई इन्टरनेट भएपछि अरु केही नचाहिने।
काम सकेर सोफामा सुस्ताएकी मात्र थिएँ, मुनाले फोन गरी। हामीले धेरैबेरसम्म कुरा गर्यौँ। चाडवाडमा भेटिने आफन्तहरुको र घरपरिवारले गर्ने व्यङ्गयले असह्य भएर छोरो पाउन उसले गरेकी जुगाड र जुक्तिको लेखै रहेनछ। त्यसपछि एकजना डाक्टरको सल्लाह अनुसार आयुर्वेदिक विधिबाट उसले छोरा पाउने शर्तिया इलाज नै गरेकी रहिछ।
“एक्काइस दिनसम्मको पूर्ण ब्रह्मचर्य, खानपिनमा पथपरहेज र अमुक अमुक दिनमा मात्र सहवास, कम्ती गाहारो भएन।” मुना बताउँदै थिई। “तँलाई थाहा छ, अहिले त मेरा बुढा खुट्टै भुईँमा पर्न दिँदैनन्।” मैले सुनिरहेँ। म बुझ्नसक्छु उसको व्यथालाई। अलि अगाडिसम्म पनि ऊ भन्थी, उसको बुढा, छोरो पाउनैका लागि भए नि एउटी कान्छी ल्याउनु पर्यो भनी घरिघरि सुनाइरहन्थे रे। पात्तेका बुढा! बिचरी त्योबेला, मनभित्र कति पिल्सँदी होली। मसँग खुशी बाँडेर हलुङ्गो भएपछि फोन राखी उसले।
ऊसँग कुरा गरिसकेर पनि मचैँ शान्त हुन सकिनँ। रातको मीठो ओछ्यानमा छोराछोरी, श्रीमान् सपना देख्दै होलान्। अहिले यो उमेरमा अनायसै अनुरागका सुस्तसुस्त थपेडीहरु! मनभित्र नैतिकता/अनैतिकता, संस्कार/समयको हावाहुण्डरी चलिरहेकै थियो। व्यग्रताको आँधी, एक कुनाबाट अर्को कुना हुत्याइरहेको थियो मलाई। झ्यालबाहिर कसैको कौसीमा लाटोकोसेरो करायो। मलाई बच्चैदेखि लाटोकोसेरो भन्यो कि डर लाग्छ। डरले मैले श्रीमान्को छातिमा मुख गाडेँ। “आ˜˜, डिस्टर्व नगर।” उनी अर्कोतिर फर्किए। आहत् मैले सिरकले मुख छोपेँ र त्यो बन्दसिरकभित्र लाटोकोसेरोको आवाजबाट आफूलाई टाढा राख्न खोजेँ। त्यो भयावह आवाज कम भएपछि बल्ल निँद्राले छोप्यो।
भोलिपल्ट मोबाइलमा जीवन दाइका दुई मिसकल देखेँ। उहाँले फोन गर्नु भएको मलाई होशै भएन। अफिस पुग्ने बित्तिकै फोन गरेँ। “साँझ मोबाइल गरेको थिएँ, तिमीले फोनै उठाइनौ। राती राम्रो त निदायौ?” सधैँको झैँ उहाँको चासोपूर्ण सोधाइ। त्यो स्वाभाविक स्नेह, अनि त्यो अभिभावकत्वपन। निको लाग्यो।
“निदाएँ।” आधीरात भए पनि निदाउन त निदाएकै हो।
“आज म सानेपातिर आउँदै छु। रोडसाइड क्याफेमा लन्च लिने, अनि त्यहीँ गफ गरौँला, हुन्न?”
दिउँसो म क्याफेमा पुग्दा उहाँ आइसक्नु भएको थियो। “जीवन दाइ, म ढिला त भइनँ? टाइममा निस्कन खोज्दाखोज्दै पनि ढिला भैहालेँ।”
“हैन, केही छैन। खाना चैँ मैले अर्डर गरिसकेको छु है?” म सीटमा बसेपछि उहाँले सोध्नुभयो, “अनि के छ उनको हालखबर? कुराकानी भएको छ कि छैन?”
उहाँले लक्ष्यित गर्न खोज्नु भएको उनी अर्थात्, मैले माया गर्न थालेको व्यक्ति। मैले त्यही बुझेँ, “अहँ, छैन।”
“अनि भेटघाट?”
“छैन।” मैले सुस्तरी जवाफ फर्काएँ। संकोच लाग्यो। प्रेमपत्र लेख्दालेख्दै अभिभावकबाट रंगेहात पक्रिएको ठिटोको पनि यस्तै हालत हुँदो हो, रातोपिरो, हड्बडाएको।
“ल अलिअगाडि आऊ।” उहाँले आफ्नो पनि कुर्सी अगाडि तान्नु भयो, सायद गहकिलै कुरा हुनुपर्छ। “कत्तिको सिरियस छौ तिमी?”
केही बोलिनँ। नङले नङ कोट्याइरहेँ।
“जहाँसम्म तिमीलाई बुझेको छु अनु, त्यसैको आधारमा तिमीलाई केही सुझाव दिन चाहन्छु।” उहाँ गम्भिर हुनुभयो।
मैले आफ्नो आँखा झुकाएँ र कानहरु टाठा पारेँ उहाँतिर।
“तिमी निकै भावुक छ्यौ अनु। भावुकतामा कैलेकाहीँ अरुलाई पढ्नमा गल्ती हुन्छ। यहाँ सोझामान्छेबाट फाइदा लिनखोज्नेहरुको कमी छैन। फेरि बिवाहिता र छोराछोरीकी आमा पनि भैसकेकी तिमी, तिम्रा अगाडि थुप्रै जिम्मेवारीहरु छन्। छोराछोरीका अगाडि सही बाटो देखाउनु पर्ने तिमी, तिमी नै यो उमेरमा यसरी बरालिने? के तिमीलाई सुहाउँछ, भन त? सबैका घरका भित्ताहरु उत्तिकै बलिया नहुन सक्छन्। त्यसलाई टेक दिने कि, अझै कमजोर बनाउने?” उहाँ एकैछिन चुप लाग्नु भयो।
“अनु, देखेको र लेखेको संसार उस्तै हुँदैन नि। आसक्ति र प्रेम फरक हुन्छ। तिम्रो भावुकता, जुन मैले अहिलेसम्म देखेको छु तिमीभित्र, त्यो र यथार्थ मिल्लान भन्नेमा मलाई शँका लाग्छ।” जीवन दाइ मलाई यसरी बुझाइ रहनु भएको थियो, मानौँ म सानी अबुझ केटी हुँ।
शब्दहरु जमेका थिए, निस्केनन्। परेला भारी थिए, संकोच र अपराधबोधमा उठाउन सकिनँ। अर्डर गरिएका सूप आइपुगे। जीवन दाइले एउटा सूप मतिर बढाएर अर्को, आफ्नो सामु राख्नु भयो। “कसैलाई मनमनै चाहनु, मान्छेका व्यक्तिगत स्वतन्त्रता हुनसक्छन्। तर आफ्नो चाहना उसको अगाडि व्यक्त गर्नु भनेको कसैका व्यक्तिगत स्वतन्त्रतालाई आफूले डोर्याउनु हो। त्यसैले यदि तिमीले आजसम्म मनको कुरा उनलाई बताइ सकेकी छैनौ भने, कहिल्यै नबताउनू पनि। यो नै तिमीहरु दुवैको लागि उचित होला। बुझ्यौ?” मलाई उहाँ कठोर शिक्षकझैँ लाग्यो, आफ्नो असुलप्रति अडीग। आज्ञाकारी बालकलेझैँ टाउको हल्लाएँ मैले। कुरा टुङ्गयाएर जीवन दाइ सूप खान थाल्नुभयो।
हामी दुवैले मौनतावीच सूप खायौँ। कताकता भित्र उहाँसँग रीस पनि उठ्यो। भावना बुझ्ने आदरणीयको नाताले मैले उहाँलाई ईमान्दारीपूर्वक लागेको कुरा बताएकी मात्र न थिएँ! उहाँले सुझावसँगसँगै मलाई नैतिकताको लामो पाठ पनि पढाउनुभयो। अर्डर गरिएका अरु खानेकुरा खान मन लागेन, जीवन दाइलाई क्यान्सिल गर्न अनुरोध गरेँ। उहाँले पनि खान कर गर्नु भएन। खै, आजको यो बसाइ, कस्तोकस्तो। हामीवीच केही नमिलेझैँ, निस्केर हिँडिहाल्न पाए हुन्थ्यो भन्ने लाग्यो।
म उठेँ र रेष्टरुमतिर लागेँ। भक्कानो छाडेर रुन मन लाग्यो। एकछिन बिनसित्ति बसिरहेँ। बहकिन खोजेका मेरा पाइलाहरुलाई उहाँले बेलैमा सचेत गनृभयो, र मलाई आफ्नो धरातल देखाउनु भयो। राम्रो मित्रताको योभन्दा अर्को उदाहरण के होला र?
जीवन दाइले दिनुभएका थुप्रै नसिहत र सुझाववीच मैले माया गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो भनेर बताउने आँट गर्न सकिनँ। यो मौनताले दुईघर जोगिन्छ भने, जिन्दगीभरि यो कुरा उहाँलाई बताउँदिनँ पनि। रुन मन लागेर पनि नसक्नुको विवशता बोकेर फेरि टेबुलमै फर्किएँ। उहाँले मतिर हेर्नुभयो, तर मैले दृष्टि उठाउन सकिनँ।
“जीवन दाइ, आज म तिर्छु।” मैले निहुरिँदै पर्स खोलेँ, र भनेँ। “ए हो र? ल, त्यसोभए म चैँ लाग्दै गरुँ है ?” उहाँले हिँड्दाहिँड्दै खल्तीबाट कारको साँचो निकाल्नु भयो। साँचोसँगै केही कुरा झर्यो भुईँमा। रोडसाइड क्याफेकै गुट्मुट्याइएको न्यापकिन, प्रयोगपछि बिर्सेर राख्नुभएको होला। मैले थपक्क टिपेँ, ट्रयासबक्समा फाल्नलाई। फाल्नुअघि डल्लो फुकाए। न्यापकिन्मा, बडेमान्को मेरो नाम लेखेर पनि केरिएको थियो। चसक्क गर्यो छाती।
आँखाभित्र हल्का कालो बादल छायो, र रुझायो छेऊको कुना। मैले न्यापकिन् टिपेको कसैले देखेका थिएनन्। न्यापकिन्लाई फेरि डल्लो पारेँ, र ट्रयासबक्समा फालेँ। दौडेर बाहिर निस्कँदा जीवन दाइको कारले मोड काट्दै थियो।
सुष्माजी लेख राम्रो लाग्यो / मार्मिक र हृदय-स्पर्शी छ , उत्तरोत्तर प्रगतिको कामना /
तपाईंका कथाहरु प्रायः पढ़छु तर आज किन हो किन केहि नभनी छोड्न सकीन ! पहिलो – धेरै राम्रो लाग्यो, पात्रहरुको मानसिक दव्न्द र विवशता सरल शब्दहरु मार्फत पस्किनु भएकोमा ! कथानै हो त्यैपनि अनुको आफ्नो श्रीमान प्रतिको नकारात्मक सोच चाहिं जीवनदाई प्रतिको आकर्षण (आशक्ति???) ले गर्दा त होइन कि जस्तो लाग्यो !
जीवनदाई को पात्र मार्फत सबै पुरुषहरु एकैनास हुदैनन् है भन्ने संदेश पनि सराहनीय लाग्यो ! कता कता जीवनदाई ले भनेको येही कथा कस्तो हुन्थ्यो होला? सुरुवात येसरी हुन्थ्योकि ?
“हुन्छ, तिमि पर्ख, म आउंछु”, अनु संग को फोन राख्न नपाउंदै श्रीमतीको SMS आयो “u must be in mtng, plz dont forget दिन्नेर @dada’s”.
“ali late hola jasto chha, u go, I will join u there. let me know if i need to bring something” भन्ने उत्तर दिंदै कम्प्युटर बन्द गर्दै थिएँ, राघव मेरो अफिस कोठा मा छिर्यो, ठुलो विजयी मुश्कान सहित!
“जीवन – हाम्रो अस्तिको proposal पास भयो, भोलि बिहानै detailed presentation पठाउन भनेकोछ, एकछिन बसौं न” – राघव ले भन्यो| हामीहरु एकै उमेर र साथीजस्तो भएपनि, उ मेरो टिमलिडर हो, उसले भनेको कसरी नाईंभन्नु, तेही माथि यो प्रोजेक्टमा कंपनीको शाख दाउमा छ र साथै आफ्नो ईज्जत पनि!………..क्रमशः
I really like your way of writing. What a frankness on your writing. Still so called educated women can not express what they feel and want to write due to shy nature but you dared and expressed the reality what you thought and what most of the women in our context still victimized by their so called right activist husband. You showed the mentality of women towards to son.I interpret myself that though human being can be emotional sometimes but if there is wise person to knock him or her about the real situation of ours that awaken us from our deep sleep.
one of the best story by Sushma Manandhar. I really love and adore your stories. If you have written any book let me know. I would love to read you creativity.
कथामा के नमिलेको के नमिलेको जस्तो लग्यो. नेपकिन मा नाम लेखेर फलेको तेती सन्दर्विक भएन, सबैकुरा समेतेकोछ कथाले.. पडन लायक छ कथा .
superb
जिन्दगीमा हामीलाई धेरैजना, धेरै पटक, धेरै कारणले मन पर्छन्।……सुष्म जीको पस्कने सैली मलाई राम्रो लाग्छ. मुना को कुरा ले कथा लाई सुन मा सुगन्ध दिएको छ
.
Dear Sushma Mam,
Excellent Story ! Thanks for presenting feelings of almost married ladies, who are suffering from not understanding the sentiment of life partner on solitary period. Once again Superb
Subject !
Pratisara Sayami
खै मैले पहिला हजुरको लेख पढे कि नै त्यो त याद छैन तर आज बाट हजुर को नाम सेभ भयो मेरो मस्तिस्क मा आशा गर्छु आजै यस्तै लेख हरु पद्न पाउ ….
प्रमोद अधिकारी
चितवन-12
Superb Literature. Feels like reading again and again !
u have very good command in literature shushma ji
very nice story…
love it…
साथि हो खोइ मैले त केहि बुझिन कथा को अन्त्य | न्यापकिन मा अनुको नाम लेखेर केरियाको रहेछ भनेको के हो ? अनि माथि केहि साथि हरु ले अनु र जीवन दाइ बीच को माया पनि भन्नु भयको छ | तिनी हरुबीच को माया भय जीवन दाइ ले फेरी किन अनु लाइ यसो नगर भनेर अर्ति दियो त? अनि अनुले भनेको मान्छे के उही जीवन दाइ नै हो त? खोइ के के हो? मैले त खासै केहि बुझ्न है साथि हो |
कृपया कसैले बुझाइ दिनु भय मा आभारी हुने थिया |
सुन्दरतम कथा शुषमाजी ।
बबाल प्रतिभा, नेपाली साहित्यको. लेख्दै गर्नुस् प्लिज.
शुष्माजी, यो कथा कति सुन्दर लाग्यो भनेर मैले तपाइँलाई भेटमै पनि भनिसकेको छु । तपाइँका थोरै कथामात्र मैले पढ्ने अवसर पाएको छु र पढेकामध्ये म यसैलाई सुन्दरतम भन्छु ।
यहाँ जीवन दाइ नामको जुन पात्रको सृष्टि गरेर तपाइँले आफ्नो मनोग्रन्थि फुकाउनु भएको छ नि त्यो ठूलो कुरा हो भन्ने लाग्छ मलाई । थाछ एउटा कुरा ? मैले त त्यो जीवन दाइ आफैँजस्तो पो देखेँ । आफैँ भएको कल्पना गरेँ । पति पत्नीका बीचको सम्बन्ध कसरी पनि रुग्ण हुन्छ र पत्नी जीवन दाइहरूप्रति आसक्त हुन्छे भन्ने कुराको एउटा उपसंकेत पनि यस कथामा भेट्छु म ।
हो नि, श्रीमान्बाहेक अरू कुनै पुरुष वा श्रीमतीबाहेक अरु कुनै स्त्री जीवनमा विश्वासिलो, भरलाग्दो मित्र हुनै नहुने हो त ? नेपाली समाज तीब्र गतिमा रूपान्तरण भइरहेको यथार्थमा यसको उत्तर समयले नै दिन्छ भन्ने म ठान्दछु । मुनाको यस कथामा सृष्ट नगरेकै भएपनि हुन्थ्यो, फेरि भन्छु । जीवन दाइको उपदेश अलि सोझो भयो कि भन्ने लाग्छ मलाई ।
कथाको सूत्र मज्जाले बहेको छ र त्यसले पाठकलाई उत्सुकतापूर्वक अन्त्यसम्म लैजान्छ । नफूल्दै झरेको फूल जस्तै कथामा नायिका अनु र जीवन दाइको प्रेम ओइलिएको छ र त्यो सामाजिक सांस्कृतिक पृष्ठभूमिमा जायज भएपनि पाठकका लागि दुखान्त हुनसक्छ । अरू पनि यस्तै कथाहरू अपेक्षा गर्दछु ।
………………………………………………मबाट कुनै प्रत्युत्तर, प्रतिक्रिया नदेखेपछि अँध्यारोमा उनका हातहरु मलाई उघार्न थाले। मैले प्रतिवाद गरिनँ। प्रतिवाद गर्नुको अर्थ पनि थिएन। उनले लोग्ने हुनुको अधिकार निर्वाह गरे। कोशौँसम्मको दौड एक्लै दौडे, एक्लै जिते र त्यो विजयोत्सवमा सन्तुष्ट उनी निदाए…………………………………………..// कस्तो राम्रो शब्द हरु र बाक्य !!! शुष्मा जी तपाईं को लेखन शैली लाई मान्नै पर्छा / तर कथा को अन्त सारै निराश र खल्लो लग्यो ///
A highly remarkable writing!!! Truly good command in literature. I was really mesmerized by the story. Keep going !!
रमाइलो कथा मन छुने खाल को छ !
love is caring and respect. The LOVE was cherished between Anu and Jeevan because they both respected and cared each other. On the other hand, Anu’s husband didn’t respect her. Good writing! The writer also tells Nepal’s political and social background ( बन्द, हड्ताल, छोरा-छोरी भेदभाव, नारि अस्वतन्त्रता, नारि-पुरुष असमानता)..
धेरै राम्रो कथा ! नारीको भावनात्मक संवेग / राम्रो प्रस्तुति अनि एउटी नारीले आफ्नो श्रीमान संग बाट अपेक्षा गर्ने कुरा हरु सबैको राम्रो संयोग /
Sushma ji! A nice one…
you have passion , skill and you always write to convey important message through story.
very good.i like it.
शुष्मा जी,
माइ संसारमा प्रकाशित हुने तपाईका कथाहरु प्राय सबै जसो नै पढेको छु I तपाइका अरु कथाहरु जस्तै यो कथा पनि राम्रो लाग्यो I तुलनात्मक रुपमा अहिलेका कथाहरुको भाषिक स्तर अझै उच्च छ, यसैगरी यहाका अझै धेरै कृतिहरु पढ्न पाइयोस, शुभकामना !
पुरुष प्रधान सोचाइले आहत एउटी पढे लेखेकी पत्नीले कुनै जीवनदाइ जस्तो साथि पाई भने उ त्यस्तै साथ पाई राख्न चाहन्छे जीवनभरी! त्यसैले पत्नी प्रति सम्मानजनक व्यबहार गर्नु पर्छ भनेर संदेश दिन सफल छ यो कथा! नत्र जीवन दाइ को ठाउमा मृत्युदाइ पर्यो भने अनु पोइल जान्छे है, होशियार!!!
कोशौँसम्मको दौड एक्लै दौडे, एक्लै जिते र त्यो विजयोत्सवमा सन्तुष्ट उनी निदाए। म चैँ, युध्दमा पराजित सिपाही जस्तो बेडको एक कुनामा सिरानी अडेस लगाएर बसिरहेँ,,,,,, नारी समबेदना को अनुपम उदबेग भलै सम्बन्ध का doriharu लै कसिलो पार्न पहल गर्नुपरनी मा अर्को सपना को राजकुमार को बारेमा सोच्नु भन्दा दुवै बिजयी हुने kasari भन्नि बारेमा पो सोचनी हो कि नकी jeevan दाई का भाउजु हरु पनि निसंकोच आफ्ना श्रीमान हरु संग रम्न पाउन …… समग्र मा समबेदना मा सलल बगेको एउटा सहज katha बुढा बुढी संगै बसेर पढियो रमाइलो लाग्यो
True story, ppl says “god makes jodi” den absolutely wrong, otherwise no bademan ko naam…
कथा धेरै राम्रो लाग्यो…यो जिबनको भोगाई पनि हो..फेरी पनि लेखनु होला..
मैले तपाई को लख कहिले पढेको थिईन। साह्रै राम्रो लाग्यो।
कृपा गरेर मान्छे बिगार्ने तथा अर्काको खुसियालीले भरिएको घर बिगार्न कथा नलेखोउ त.
मिठो छ !
आखिर सामाजिक बाधा बन्धन नै हुन् जो एकातिर हामीलाई कुबाटो मा लाग्न बाट जोगाउछ्न त अर्कातिर आफ्नै भावना को तिलान्जली दिन पनि बाध्य गराउछन .