Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन लाग्छ बारम्बार आगो यसरी?

Posted on October 15, 2012October 15, 2012 by Salokya


चौधरी ग्रुपको काठमाडौँ सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स कारखानामा हिजो राति ठूलो आगलागी भयो। बिहानसम्म पनि आगो पूरै निभिसकेको थिएन। एक अर्ब क्षति भएको प्रारम्भिक अनुमान मिडियामा आउन थालेका छन्। तर आगो कसरी लाग्यो, थाहा भएको छैन। ‘स्वच्छ’ छवि भएका व्यापारीहरुले यसअघि गरेका कामहरुले भने मान्छेहरुलाई यत्तिकै शंका गर्ने ठाउँ दिएको छ। अरिहन्ट मल्टिफाइबर्समा वर्षेनी आगो लाग्छ। दुई वर्षअघि मंसिरमा चौधरी ग्रुपकै वाईवाई बनाउने सैँबुको कारखानामा एकै दिन दुई पटक आगो लाग्यो। गत वर्ष असारमा खेतानको मायोज चाउचाउ कारखानामा लागेको आगो र त्यसपछि बिमाका लागि भएको कान्डले पनि व्यापारीको कारखानामा आगो लाग्दा मानिसका कान ठाडा हुने गरेका छन्। हिजोको आगलागीमा पनि यस्तै केही कुरा सुनिए।

नजिकैको अरुण चौधरी र स्थानीय बासिन्दाहरुबीच भएको विवादको संवाद आजको नयाँ पत्रिकाले छापेको हो। हिजो न्युज २४ टिभी हेर्नुभएको भए यो दृश्य प्रत्यक्ष पनि हेर्नुभयो होला।

लोडसेडिङ भइसकेको बेला आगो लागेकोले सर्ट सर्किट हुन नसक्ने ‘कोट’हरु पत्रिकामा छापिएका छन्। कर्मचारीहरु घर फर्किसकेको बेला आगो लागेको छ। अनि स्थानीय बासिन्दाले पहिलो पटक धुँवाको मुस्लो देखेपछि आगो लागेको थाहा भएको भनिएको छ। उनीहरुले आफ्नो घर पनि जल्न सक्ने डरले कम्पनीभित्र आगो निभाउन जान खोज्दा भित्र पस्न नदिएको आरोप पनि लगाएका छन्।

शंकाले लंका जलाउँछ भन्ने उखान छ। तर यहाँ लंका जलेपछि शंका गर्नुपर्ने भएको छ। यस्तो शंका किन गर्नुपर्ने बाध्यता पर्छ त ?

पृष्ठभूमिका लागि वर्ष दिनअघि तर्फ तपाईँलाई लैजान चाहन्छु। असार २७ गतेको दिन थियो। काभ्रेको उग्रतारा जनगालस्थित मायोज चाउचाउ कारखानामा भयङ्कर आगो लाग्यो। मायोज चाउचाउ हिमालयन स्न्याक्सले उत्पादन गर्छ। यो राजेन्द्र खेतानको कम्पनी हो। राजेन्द्र खेतान कै अर्को कम्पनी पनि छ एभरेस्ट इन्स्योरेन्स। यसको सञ्चालक समितिका अध्यक्ष खेतानै हुन्। आफ्नै कम्पनीमा लागेको आगोको बीमा स्वरुप आफ्नै कम्पनीले नियम र प्रावधान पूरा नगरी चार करोड भुक्तानी दियो। त्यसपछि बीमा समिति र खेतानबीच चर्काचर्की पर्‍यो। खेतानले बीमा कम्पनी नै बन्द गरिदिन्छु भनेर धम्क्याउन खोजे पनि। तर पब्लिक लिमिटेड कम्पनीलाई त्यसरी रत्नपार्कमा खोलेको पसलको सटर जसरी बन्द गर्न कहाँ सकिन्थ्यो र। आर्थिक ब्लगरहरुले यसलाई मुद्दाका रुपमा उठाएर निरन्तर प्रहार गरे।

पढ्नुस् सुदर्शन सापकोटाको ब्लग। पढ्नुस् विज्ञान अधिकारीको ब्लग

कसरी अनियमितता भएको थियो त ?

आगो लागेको थियो असार २७ मा। आगो कसरी लाग्यो, पत्तै लागेन। बिमा कम्पनी आफ्नै। अनि त के छ र, मायोजले दावी गरेकै दिन कम्पनीले टिसा इन्जिनियरिङलाई क्षतिको मूल्यांकन गर्न सर्वेयर नियुक्त गरेछ। फेरि कति छिटो हेर्नुस् न- सर्वेयर नियुक्त भएकै भोलिपल्ट १ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक प्रतिवेदन दिइयो।

नेपालका बिमा कम्पनीले आफ्नो खल्तीबाट सबै बिमा रकम तिर्ने हैन। उनीहरुले पनि विदेशका बिमा कम्पनीसित रिइन्स्योरेन्स गर्ने गर्छन्। नेपालका अधिकांश बिमा कम्पनीहरुले भारतीय कम्पनीसित यस्तो गर्ने गर्छन्। नेपालको सर्वेयरले प्रतिवेदन दिएकै दिन २०६८ असार २९ मा भारतीय कम्पनीलाई क्षति मूल्यांकनका लागि सर्वेयर खटाइ दिन चिट्ठी पनि पठाइसकेको थियो। भारतीय कम्पनीले पनि नयाँदिल्लीको आदर्श एसोसिएटलाई सर्वेयर बनाएर खटाएको थियो। भारतीय सर्वेयरले २०६८ साउन १४ मा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। तर, कम्पनीले भारतीय सर्वेयरले अन्तिम प्रतिवेदन बुझाउनु तीन दिनअघि हिमालयन स्न्याक्सलाई २ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

यहीँ भयो अनियमितता। पूर्ण प्रतिवेदन नआई त्यसरी बिमा रकम भुक्तान गर्नै मिल्दैन। अझ मायोजले त बिमा गरेवापत् तिर्नुपर्ने बिमा शुल्क समेत पूरै तिरिसकेको रहेनछ। भारतीय सर्वेयरले नेपालमा काम थाल्न यहाँको बिमा समितिको स्वीकृति अनिवार्य लिनुपर्छ। तर, आदर्श एसोसिएटले स्वीकृति नलिई काम थालिसकेको रहेछ। सर्वेयरले पूरा प्रतिवेदन नबुझाएसम्म एक पैसा दिन मिल्दैन। तर प्रारम्भिक प्रतिवेदनमात्रै बुझाएपछि नै कम्पनीले साउन २३ मा १ करोड र भदौ १ मा अर्को १ करोड रुपैयाँ हिमालयन स्न्याक्सलाई भुक्तानी दिएको बिमा समितिले गरेको निरीक्षणमा भेटिएको छ। त्यसैगरी त्यत्रो चार चार करोड रुपियाँ सिइओको तहबाट दिनै मिल्दैन थियो। कम्पनीको नियमावलीले सिइओलाई ४ लाख रुपैयाँसम्म मात्रै दिन मिल्ने भनिएको छ तर चार करोड रुपियाँ सुटुक्कै ! सिइओलाई कारबाही गर भन्दै जरिवाना समेत बिमा समितिले तिराएको थियो। समितिको निरीक्षणमा कम्पनीले विभिन्न १८ गल्ती गरेको भेटिएको थियो। विस्तृत यहाँ हेर्नुस्।

समितिले यस्तो निर्णय गरेपछि निहुँ खोज्न खेतानले एभरेस्ट इन्स्योरेन्स बन्द गरिदिने धम्की दिएका थिए।

मालिकहरुको आ-आफ्नै बिमा कम्पनी
खेतान मात्रै हैन, नेपालका अधिकांश बिजनेस हाउसहरुले आफ्नै बिमा कम्पनी खोलेका छन्। प्राइम इन्स्योरेन्समा राजेन्द्र खेतानमात्रै हैन, उनका भाइ पीपी खेतान पनि संलग्न छन्। त्यसैगरी प्राइम र एभरेस्टमा रतनलाल संघाइ र मधुसुदन अग्रवाल दुवै सञ्चालक छन्। रतनलाल संघाइ ग्रुपका मालिक हुन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अध्यक्ष र सञ्चालकमा पनि दाजु पुरुषोत्तमलाल संघाइ अध्यक्ष छन् भने भाइ गोविन्दलाल संघाइ सञ्चालक छन्। बोर्डमा नभए पनि बीमा कम्पनीमा लगानी गर्ने मालिकहरु प्रशस्त छन्। उनीहरुले आफ्नै लागि के कति अनियमितता गर्छन्, त्यो खोजीको विषय हुनसक्छ। बिमा समितिले पनि यो समस्या महसूस गरिसकेको छ र अब नयाँ नियममा आफ्नै कम्पनीका मान्छेहरु संलग्न कम्पनीको बिमा गर्न नपाउने बनाइएको छ। त्यो नियम लागू हुन भने बाँकी छ। गोल्छाको नियोटेरिक कम्पनीको शोरुमबाट बेचिने डेल ल्यापटप २०-३० वटा शंकास्पद रुपमा किन वर्षेनी चोरिन्छन् ? प्रहरीका एक जनाले यसमा शंका गर्नुपर्ने ठाउँ रहेको बताएका थिए। ल्यापटपहरुमा पनि बिमा हुने रहेछ भन्ने पछि मात्रै थाहा भयो। चोरीको बारेमा त प्रहरीले अनुसन्धान गर्ला। तर चोरी हुँदा पनि कम्पनीलाई घाटा भने रहेनछ बिमा रकम पाउने भएकोले।

चौधरी ग्रुपको पनि बिमा कम्पनी छ त ? युनाइटेड इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिवेदनमा सञ्चालकहरुको फोटै छापिएको छ। हेर्नुस्-

यो कम्पनीमा कसको शेयर कति छ त ? सोही प्रतिवेदनमा हेर्नुस् शेयर संरचना-

अहिले आगो लागेको यो कम्पनीले ५२ करोड रुपियाँ दावी गर्न मिल्ने गरी बिमा गरेको बुझिएको छ।

यो आगोको वास्तविकता के हो, अहिले कसैलाई थाहा छैन। तर त्यो एउटा कथा थियो नि एउटा गोठालोले सँधै बाघ आयो बाघ आयो भनी यत्तिकै चिच्याएर झुक्याउने। एक दिन साँच्चिकै बाघ आएर कराउँदा पनि कसैले विश्वासै नगरेको! व्यापारीहरुको यसअघिका व्यवहारहरुले अहिले पनि यस्तै शंका गर्न बाध्य बनाएको छ।

आगलागीबारे एभिन्युज टिभीको भिडियो हेर्नुस्

37 thoughts on “किन लाग्छ बारम्बार आगो यसरी?”

  1. JEEVAN says:
    October 18, 2012 at 10:05 pm

    it was well planned fire at the CG,factory. friends pls dont think too much of spreading fire to the public place, they organized the fire only surrounding their compound and the certain material destroy,, so dont worry,, the new game begin ,,
    lets see, what will be the next step of Mr. chaudhari , and his so-called group.

    jay nepal, helpless nepali.

    Reply
  2. Binay says:
    October 18, 2012 at 7:15 pm

    आगलागी को पछाडी TAX काण्ड पनि हुन सक्छ … सायद अब चौधरी ले आगालीमा परेर सबै प्रमाण नस्ट्र भएको भनेर झुटो व्यहोराको कारोबार गर्न सक्छ राज्यसंग!

    Reply
  3. Binay says:
    October 18, 2012 at 7:10 pm

    कारखानामा अबदेखि cctv राख्नु पर्छ र !

    Reply
  4. purna says:
    October 17, 2012 at 11:51 am

    जनताको पैसा सवै ब्यापारी राजनीतिज्ञ कर्मचारीहरुले वाडीचुंडी खाने हो । जय नेपाल ।

    Reply
  5. bijay says:
    October 17, 2012 at 4:19 am

    यो घटनालाई त्यतिकै सेलाउन दिनु हुँदैन/ यो आगोलागी नजिकैको बस्तीमा फैलिएको भए त्यसको जिम्मेवारी कसले लिने ? र त्यसबाट कसैको ज्यान गएको भए त्यसको दोषी को हुने? यदि यो आगोलागी जानजान गरिएको भए चौधरी ग्रुपका मालिकमाथि मुद्दा चलायिनु पर्छ, अनि मात्र भबिस्यमा आफ्नो स्वार्थ पूर्ति गर्न यी इज्जतदार भनौदा ब्यापारीहरु सय चोटी सोच्न बाध्य हुनेछन

    Reply
  6. Ishwar says:
    October 16, 2012 at 9:30 pm

    यो सब आफै बोक्सी आफै झाक्री बन्ने दाउ हो / चौधरीको आफ्नै इन्सुरेन्स कम्पनि रहेछा क्यारे/ अब हेर्नुपर्छा कति क्लेम गर्दो रहेछा छेतिपुर्ती /

    Reply
  7. शशांक लामा NY says:
    October 16, 2012 at 6:04 pm

    एउटा आराम गृहमा आराम गरिरहेका एकजना अग्निपीडित र अर्को बाढीपिडितको भलाकुसारी चलिरहेको थियो| कुरैकुरामा अग्निपीडितले यस्तो जिज्ञासा राखे:
    -आगो कसरी लाग्छ र कसरी लगाइन्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो| तर यो बाढी कसरी लगाइन्छ? यसबारे यसो जानकारी पाउँ न !

    Reply
  8. sujan nz says:
    October 16, 2012 at 5:50 pm

    आफै बोक्सी अनि आफै झाक्री भनेको येही हो// नेपालमा एस्तो खेल खेलिन थालेको धेरै भैसक्यो//

    Reply
  9. harkaman shahi says:
    October 16, 2012 at 4:01 pm

    चक्रब्युह हो ! बुझ्दै गरेको जनता हरुलाई धन्यबाद छ..!

    Reply
  10. Mahesh says:
    October 16, 2012 at 3:26 pm

    नेपालमा यस्तो आफ्नो कारखाना मा आफै वा आफ्नो विस्वासिलो मान्छेले आगो लगाउने भनेको कुनै नौलो कुरा होइन/ यो त १० – २० वर्ष पहेली देखि ब्यापारीहरुले चलाएको चलन हो/ यस्तो गर्दा एकलाख नोक्सान भय इन्सुरेन्स कम्तिमा दस लाख दाबी गर्छ/ इन्सुरंस दाबी गर्न को लागिनै बास्तबिकता भन्दा गर् कयौं गुना बढी नोक्सान भएको पत्रिकामा समाचार छपाउछ/ जबसम्म यस्ता भ्रस्ट विचार भएका ब्यापारी नेपालमा हुन्छ तब सम्म नेपाली जनताले उपभोक्ता हक हित का कुरा नगर्दानी हुन्छ/

    Reply
  11. रबिन्द्र राज गिरी says:
    October 16, 2012 at 11:48 am

    Education without character,
    Science without humanity (i.e., knowledge without compassion) &
    Business without morality,
    Are not only useless, but very dangerous to mankind.

    Reply
  12. rohan vicram singh says:
    October 16, 2012 at 11:28 am

    भ्रस्टाचार सरकारी कार्यालयमा मात्र होइन बैंक, बिमा जस्ता पब्लिक लिमिटेड कम्पनिहरुमा पनि व्यापक छ! ब्यापारी, बिमा कम्पनीका दाबी शाखाका कर्मचारी र सर्वेयरहरुको मिलोमतोमा वास्तविक सम्पतिको नोक्सान भन्दापनि बढी नोक्सानको कागजात तयारपारी सामुहिक भ्रस्टचार गर्ने गरिन्छ र जनताको पनि लगानी भएको पब्लिक कम्पनीलाई घाटामा लगिन्छ!

    बिमा समिती कडा रुपमा प्रस्तुत भएन भने चौधरी, खेतान, गोल्छा जस्ता ठुला ब्यापारीहरुका गोदाममा बेला बेलामा आगो लागिरहन्छ किनभने यी माडेहरुले बजारमा बिक्रि हुन नसक्ने समानहरुबाट राम्रो आम्दानी गर्ने उपाय भनेको येही हो!

    Reply
  13. Navin says:
    October 16, 2012 at 7:20 am

    यो त driver ले ब्याक गरि घाइतेलै सिधौने किसिमको काण्ड जस्तो हुन लायो | उता जीवन भर खर्च पानी नदिनको लागि यता डुब्न लाएको बेपारलै double रकम बिमाबाट कुम्लौना धमाधम आगलागी गरे झै लाग्यो | अब अरुले एसको सिको गर्यो भनी बिमा कम्पनीहरु डुब्ने भो | आगो निभौना जान्छु भन्नेहरुलाई रोक्ने भनेसी के भन्ने ?

    Reply
  14. raj ,USA says:
    October 16, 2012 at 6:56 am

    लुटेरहरुकै छ जिन्दगि ! आफै बोक्शी आफै झाक्री !

    Reply
  15. योगेश आदी, न्यूयोर्क says:
    October 16, 2012 at 6:15 am

    बास्तबिक आगलागी नभै स्वाचालित आगलागी भएको ठहरियो भने चौधरीलाई दमकलको खर्च, प्रहरीलाई भत्ता, सर्बसाधारणलाइ दिएको त्रास र तनाबको क्षतिपूर्ति सबै असूल- उपर गराई सजाय समेत गराउनुपर्छ !!

    Reply
  16. tirtha says:
    October 16, 2012 at 5:18 am

    लंका भने पछी लंकामा आधिपत्य भएका बिनोद चौधरी रावण भयो नी | लंका त हनुमानले पो जलाएका थिए, तर यहाँ त रावण आफैले पो लंका जलाउन थाले | शायद यो नयाँ नेपाल भित्र परेको लंका भएर हुनु पर्छ | यो रावणहरुले अस्ति भर्खरै मात्रै VAT मारेर खाएको हैन कत्ति खान नपुगेको यिनीहरुलाई | एमालेको सांसद तप्काएको छ, भरत मोहन अधिकारीलाई अर्थमन्त्रि बनाई VAT खाएको छ, दुनियामा कहिँ नभएको मिसावट, छल, कृतिम अभाव सिर्जना गरी जनता लुटेकै छ, FNCCI लाई सौता हालेर CNI को आजीवन अध्यक्ष भएर पैसा लुतेकै छ, अझ नपुगेर जनताको शेयर लगानी भएको बिमा कम्पनिलाई डुबाई भुडी बढाउनु परेकोछ, गजब छ प्रचण्ड हत्याराले बनाएको नयाँ नेपाल

    Reply
  17. द्रोण says:
    October 16, 2012 at 5:08 am

    नेपाल को ठग व्यापारीले खेल्न जानेको रास्ट्रीय खेल हो यो |
    आफ्नो कारखाना लाइ आफै आगो लगाउ —-बिमा असुल
    आफ्नो पुरानो गाडी लाइ भिर बाट खासाल –बिमा असुल
    तै आफ्नो घर आफै जलाउ –बिमा असुल को दिन आएको छैन |

    Reply
  18. Jyoti Bhatta, Australia says:
    October 16, 2012 at 3:24 am

    यो सरासर थोत्रा र नबिकेका सामानका लागि बिमा रकम असुल्ने कर्तुत हो चौधरी ग्रुपको | हैन, धनीहरुका लागि जे गरे पनि हुने, कस्तो कानुन हो नेपालको ? हामी बाबुराम सरकारसंग न्यायिक छानबिनका लागि जोडदार माग गर्छौं र दोषी पाइएमा चौधरी होस् या जोसुकै, सख्त कारबाही होस् | सचेत नेपाली नागरिहरुले सशक्त आवाज उठाएर यस्ता कुकृत्यहरुलाई निरुत्साहित पार्नुपर्यो भन्ने अनुरोध गर्दछु |

    Reply
    1. pratik says:
      October 16, 2012 at 2:14 pm

      बाबुराम सरकार संग माग गरेर के गर्नु तात्तो न भुत्लो …माग्ने संग माग्ने र भन्या????

      Reply
  19. aditi says:
    October 16, 2012 at 12:57 am

    बरिस्ट इन्जिनियर अनन्त बहादुर गुरुङले ७ बर्ष अघि भन्नु भएको थियो, बुजिस नेपाल गरिब हुनुको एक कारण – अरु देशका ब्यबसायीहरुको अनुसन्धान कसरि नया समान, सस्तो मूल्यमा बजारमा पठाएर बजारमा प्रतिष्पर्धा गर्ने भन्ने हुन्छ तर हाम्रो देशका ब्यबसायीहरुको सबै जसो अनुसन्धान (रिसर्च) कसरि भ्याट छल्ने, कसरि बिमा ठग्ने, कसरि उपभोक्ता ठग्ने भन्ने बारेमा हुन्छ त्यसैले हामी गरिब छम, र भाका हुम…………..

    Reply
  20. Rabin Lama says:
    October 15, 2012 at 11:36 pm

    म पुष्पजीसँग सहमत छु । आगो चौधरी आफैंले लगाएको हुनुपर्छ किनकी यी भारतबाट नेपाल पसेका मारवाडी ब्यापारीहरू नै हुन देशको अर्थतन्त्र धारासायी बनाउने । अब अहिले यीनिहरूले भ्याट छल्न नी पाएका छैनन् । पहिले छलेका पनि रामेश्वर खनालले बाहिर निकाल्दिहाले । अनि पुराना मोडलका टीभी, रेफ्रीरेजेटरहरू लगायतका समानहरू नबिकेर थन्केका होलान गोदाममा । अब यीनको घाटा चौधरीले किन सहन्थ्यो? उनीहरू त जहिलेनी कमाउन पर्ने नाफाखोरहरू हुन् । भ्याट छलेर कमाउनी रकम र गोदाममा थन्केका ट्रयासहरूको मूल्यसबै जोडेर उठाउन योजनाबद्ध ढंगले आगो लगायो नी । विगतमा विनोद चौधरीको वाइवाइ गोदाममा र हालसालै खेतानको कारखानामा किन आगो लाग्यो? यसबाटै प्रष्ट हुन्छनी यीनिहरूको नियत ।

    Reply
  21. ram says:
    October 15, 2012 at 11:33 pm

    यस्ती छ धनि हरुले जे गरेपनि हुन्छ मेडिया उनीहरुकै ठुला ठुला कारखाना उनीहरुकै अनि नेपाल मा चाकडी गर्ने सबै उनीहरुकै . को बोल्ने? गरिब जनता? मझ्दुर? अनि उनीहरुको जागिर अनि उनीहरुको परिवार कसले बोल्ने
    सबै चोर हरु हुन् |

    Reply
  22. श्याम,झापा says:
    October 15, 2012 at 10:47 pm

    यिनी हरुले आफनै घरमा आगो लगाहेरा,आगलागि भयो भनेर समाचार पेश गरे रामो हिने थियो,यी सब नेपाली जनता ठग्ने बाहेक कोहि बहेनन कसम कहले काही त यो नेट दिस्कनेट गरि दिउ झैँ लाग्छ बरु केहि पनि नहेरौं,नप्ढों जस्तो लाग्छ तर मन मान्दैन कहिले पनि राम्रो खबर नेपालको बारेमा आउदैन

    Reply
  23. M. L. Rana Magar says:
    October 15, 2012 at 10:41 pm

    हो शालोक्य जी,
    हजुरले भनेजस्तै शँका गर्ने ठाउँ प्रशस्त छ। यो कुनै नौला घटना होईन। सँसारमा यस्ता घटनाहरु भैरहन्छन्। समाचार आउने वित्तिकै मेरो दिमागमा प्रश्नवाचक चिन्हहरु घुम्न थालेका थिए। पहिले त लाग्यो “पाप धुरीबाट करायो” भ्याट छलेको पैसा सबै खरानी। पछि, बीमाको रकम कुम्ल्याउनको लागो यसो गरिएको हुनसक्छ भन्ने लाग्यो। “आफ्नै हात जगन्नाथ” भनेझै आफै मालिक भैसकेपछि आफ्नै कम्पनीबाट जति बीमा असुले पनि भो।

    १. कवाडी भैसकेका सामानहरु जलाएर बिमाको रकम असुल्न यसो गरिएको हुनसक्छ।
    २. भ्रष्टाचारको मुद्दा खेपिरहेको सँस्थानले, सरकारी विभागहरुलाई रेकर्डहरु दिईरहनु पर्दैन, छुट पाईने भो।
    ३. अझ कति कुरामा त सरकारी राहत-सुविधा पारे भने अचम्म नमाने हुन्छ।

    यस्तै गरी आफ्नै बिमा कम्पनीलाई नोक्सान देखाएपछि सरकारलाई कर पनि तिर्नु परेन, साना शेयरधनीलाई लाभांश पनि बाड्नुपरेन। गाउँहरुलाई अँध्यारोमा राखेर यी उद्योगहरुलाई विद्युत् उपलब्ध गराउने सरकार र साना शेयरधनीलाई लोप्पा । चेतना भया !

    Reply
  24. kedar says:
    October 15, 2012 at 10:06 pm

    यो खुरापाती दिमाग कै उपज हो | जतीपनी ……. मुलका व्यापारीहरु संग मेरो संगत भयो तिनमा कृत्रिम दुर्घटना गराएर बिमा असुल्ने आम धारणा छ |

    Reply
  25. Lalit Narayan says:
    October 15, 2012 at 9:53 pm

    उद्योग, कलकारखानामा अनिबार्य स्वचालित अग्नि नियन्त्रण संयन्त्र जडान गर्नुपर्ने पर्ने नियम गराउनु पर्दछ ! सरकारले पर्याप्त मात्रामा बरुण यन्त्र, तालिम प्राप्त अग्नि नियन्त्रक, आवस्यक उपकरण र पूर्वाधारको ब्यबेस्था गर्नु पर्दछ!

    यदि नियत बस आगजनी गरे, गराए, वा बिमा रकम अनियमित तरिकाले भुक्तानी गरे गराए त्यस्ता लाइ हदै सम्मको कानुनी कारबाही गर्नु पर्दछ !

    Reply
  26. pitambr says:
    October 15, 2012 at 9:05 pm

    दिमाख लगाएछन चोरहरुले ….आफ्नै घर जलाएर पैसा असुल्ने ….

    Reply
  27. बिनोद तिमिल्सिना says:
    October 15, 2012 at 7:23 pm

    यो पनि खुरापाती दिमागले मोटाउने उपाय भन्दा अरु केहि हैन भन्दा अत्युक्ति नहोला/

    Reply
  28. naba says:
    October 15, 2012 at 6:30 pm

    ए सहानुभूति बक्त गरको त, थुक्क पो भानु पर्ने र छ

    Reply
  29. prakash gurung says:
    October 15, 2012 at 6:10 pm

    आगो लाग्छ तर सबै सखाप भए पछी मात्र नियेंत्रण हुन्छ ( घटना त अचानक घट्छ तर नियेंत्रण हुनु पर्र्यो नि )

    Reply
  30. rabin says:
    October 15, 2012 at 5:46 pm

    यो येस्ता आगलागीहरु(?) पनि धेरै जसो चाडबाड, दशैंको अगाडी मात्र भएको हुन्छ किनकि, आज आफै आगलागी गर्यो – भोलि नेपाली जनताहरु चाडबाड-दशैंमा रमाउंदै बिर्सिन्छ र केरकार-हल्ला पनि हुँदैन भन्ने सोचेको छ ; भैरहेको पनि छ | यथार्थ कुरा |

    Reply
  31. वसन्त बलामी says:
    October 15, 2012 at 5:23 pm

    ठूला कम्पनीमा आगो किन लाग्छ भन्ने कुरा बल्ल पो बुझिँदैछ । वर्ष भरिमा आशातित व्यापारीक फाइदा नभएमा इन्स्योरेन्स् जिन्दावाद । लगानी भन्दा बढी फाइदा , आगलागीको कायदा आहा ।

    Reply
  32. anup_gorkhe says:
    October 15, 2012 at 5:21 pm

    आफ्नो हात जगन्नाथ यसैलाई भन्नु पर्ला होइन त?

    Reply
  33. achut says:
    October 15, 2012 at 5:16 pm

    १०१०% बिमा दाबी गर्न नबिक्ने समान र कार्टुन राखेर आगो लगाको हो भन्ने कुरा बिदितै छ नि/ई खाते ब्यापारी हरु व्यापार गरेर कमाएर तेहा पुगेको हो र,भन्सार मा पारदर्शिता आयकर मा पारदर्शिता र भ्याट मा कडाई गर्ने हो भने हामी हरु ले नै बाटो मा लेइदिन्छौ,अझ CA ,र वकिल पो कुत्ता जस्ता हुन्छन त कहाँ बाट भ्याट छल्ने,कसरि आयकर छल्ने कसरि बिमा रकम पच्कौउने….जस्ता कुरा मात्र सिकाउछन हाम्रो अडिट गर्न चै मरेजस्तै हुन्छन…नेपाल आमा को कसम बिधि को सासन मात्र हुने हो भने हामी नेपाली युवा उद्धमी यी ठग हरु भन्दा १० गुना राम्रो काम गरेर देखाउन सक्छौ/

    Reply
  34. prakash says:
    October 15, 2012 at 4:54 pm

    दामी छ game यो business man हरु को !!!!!!!!

    Reply
  35. Sisir says:
    October 15, 2012 at 4:45 pm

    सिमरा इस्थित सुर्य टोबाको कम्पनीले wastage सुर्तीको गोदाममा आगो लगाएर करोडौ बिमा रकम पचाको घटना पनि धेरै पुरानो होइन …
    चौधरीको यो गोदाममा पनि पुराना मोडेलका बजारमा धेरै नबिक्ने समानहरुमा आगो लगायिएको भन्ने खबर पनि छ , नया समान भएको अरु गोदाम मा भने आगो लागेको छैन रे ..
    अनि हिजो कान्तिपुर लगाएतका टिभीले ५ घण्टा सम्म फ्लाश news दिएर चौधरीको राम्रै चाकरी गर्न भयाये …तराईमा पुरै बस्ति आगो लाग्दा २ मिनेटको फ्लाश news दिदैनन ..

    Reply
  36. पुष्प says:
    October 15, 2012 at 4:44 pm

    शंकै छैन । यो महाठग चौधरी आफैले लगाएको आगो हो । २०४६ पछि खेतान, चौधरी, गोल्छा आदिका उद्योगमा लागेका आगोको लेखाजोखा गर्ने हो भने यिनीहरूले रावणको लंका किन्ने पैसा कर छूट अनि बीमा आदिका माध्यमबाट नेपाली जनताबाट लुटेका छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme