Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होर्डिङ बोर्डमा लाखौँको चलखेल

Posted on October 10, 2012 by Salokya


गएको वर्ष प्रधानमन्त्री बाबुराम भट्टराईले सडक छेउका होर्डिङ बोर्डले सहरी सौन्दर्य बिगारेको, दुर्घटना बढाएको भन्दै हटाउन निर्देशन दिएको समाचार सबैजसो पत्रपत्रिकामा छापियो। लोकप्रियताको ग्राफमा उकालो चढ्दै गरेका थिए प्रधानमन्त्री। त्यसैले वाहवाही भयो यो निर्देशनको पनि।

त्यही निर्देशन अनुसार गत पुस महिनामा काठमाडौँ महानगरपालिकाको १८ औँ नगरपरिषद्को बैठकले सार्वजनिक स्थलका सबै होर्डिङ बोर्ड हटाउने निर्णय पनि गर्‍यो। केही होर्डिङ बोर्डहरु हटाइए पनि। स्थानीय निकायको चुनाव नभएको १५ वर्ष भइसकेकोले महानगरपालिकाको मेयरको काम कर्मचारीले सम्हाल्छन्। अहिले सहसचिव केदारबहादुर अधिकारी महानगरपालिकाका सिइओ छन्। उनी पनि साँच्चिकै यो होर्डिङ बोर्ड हटाउने मामिलामा इमान्दारीका साथ नै लागेका थिए भनेर महानगरपालिकाकै कर्मचारी बताउँछन्।

तर अचानक होर्डिङ बोर्ड हटाउने काम अलपत्र पर्‍यो। होर्डिङ बोर्ड हटाउने म्याद एक वर्ष थप्न सिइओ अधिकारीले महानगरपालिका बोर्डमा प्रस्ताव लगे। तर पास हुन सकेन। त्यसपछि नगरपरिषद्को निर्णय उल्ट्याउने अधिकारै नभएका सिइओले एक वर्ष म्याद थप्ने निर्णय गरिदिए। आखिर किन ? यसपछाडि लाखौँ रुपियाँको चलखेल थियो। के कस्तो थियो चलखेल ? क-कसको दबाबले भयो यस्तो ? विस्तृत पढ्न भित्र आउनुस्।

काठमाडौँका भिआइपी लाइन भनेर चिनिने एयरपोर्टदेखि सोल्टी होटलसम्म, प्रधानमन्त्री कार्यालय, शितल निवास आदिका सार्वजनिक स्थलमा राखिएका होर्डिङ बोर्डहरुले सहरलाई कुरुप देखाएको हुनाले फागुनदेखि हटाउने निर्णय गरिएको थियो। नगरपरिषद्को बैठकले पनि असोज मसान्तभित्र सबै हटाइसक्ने निर्णय लिखित रुपमा नै पारित गरेको थियो।

ती अधिकांश होर्डिङ बोर्डका संरचना पनि कमजोर थिए। केही अघि रिङरोडमा र त्रिपुरेश्वरमा त्यस्तै ठूला होर्डिङ बोर्ड हुरीले ढल्दा घण्टौँ बाटो रोकिएको थियो। धन्न, जनधनको क्षति भने भएन। जोखिमका हिसाबले पनि त्यस्ता होर्डिङ बोर्ड हटाउनु उपयुक्त नै हुने थियो। भत्किएर क्षति भए त्यसको जिम्मेवार बोर्ड राख्‍ने विज्ञापन एजेन्सी हुने कि कर उठाउने भएकोले महानगरपालिका हुने कि, जसको विज्ञापन गरिएको हो त्यो कम्पनीको हुने कि, कुनै मापदण्ड छैन। प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्य सचिवकै निर्देशन पनि थियो हटाउन। इमान्दार छवि बनाएका र सचिव हुने लाइनमा रहेका सिइओ केदारबहादुर अधिकारी पनि होर्डिङ बोर्ड हटाउने पक्षमै थिए।

तर अचानक कुरा कहाँबाट बिग्रियो त?

होर्डिङ बोर्डको व्यापार ‘मिलाएर’ भइरहेको व्यापार हो। यसको व्यापारमा महानगरपालिकालाई कर तिर्नुपर्ने भए पनि एक चौथाइ रकममात्रै राजस्वका रुपमा जम्मा भएर बाँकी कर्मचारी, विज्ञापन एजेन्सीले मिलाएर खाने गरिरहेका छन्। विज्ञापनदाताहरुलाई पनि तुलनात्मक रुपमा सस्तो र प्रभावकारी माध्यम यही हुन आउँछ।

जब होर्डिङ बोर्ड हटाउने भन्ने निर्णय भयो, तब होर्डिङ बोर्ड व्यवसायीहरु आत्तिए। उनीहरुले स्थानीय विकास मन्त्री तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पत्‍नी हिसिला यमिलाई भेटेर लाइन मिलाउने प्रयास गरे। त्यसपछि सुरु भयो पैसाको चलखेल।

महानगरपालिकाका सिइओ अधिकारीलाई राजनीतिक दबाब आउन थाल्यो होर्डिङ बोर्ड नराख्‍ने निर्णय उल्ट्याउन। अब हेर्नुस् आपत् यिनलाई। नटेरौँ कसरी नटेरौँ- सचिव हुने लाइनका मान्छे। भरे सहयोग नगरेको भनी वक्रदृष्टि राख्‍लान् भन्ने डर। टेरौँ, अधिकारै नभएको निर्णय गर्नुपर्छ। उनका सामु दुई विकल्प थिए- आफ्नो पूर्व निर्णयमा अडिग भएर नैतिक रुपमा आफूलाई सही राख्दै आइपर्ने भविष्यको जोखिमको सामना गर्ने वा सुनौलो भविष्यलाई दाउमा नराखी राजनीतिक दबाबका अगाडि झुकेर निर्णय फेर्ने। उनले दोस्रो विकल्प रोजे।

नगरपरिषद्ले गरेको निर्णयविरुद्ध सिइओ जान सक्दैनन्, त्यस्तो निर्णय उल्ट्याउने अधिकार उनीसँग हुँदैन। तर उनले आफ्नो एक्लो निर्णयबाट होर्डिङ बोर्ड राख्‍ने अवधि एक वर्ष थपिदिए। राजनीतिक दबाब पर्दाअगाडि नदेखिने भएकाले यो निर्णयको सम्पूर्ण जिम्मेवारी उनी एक्लैले लिनुपर्ने निश्चित छ।

पुसको नगरपरिषद्को बैठकले गरेको निर्णय अनुसार फागुनदेखि होर्डिङ बोर्ड हटाउने निर्णय भएपछि होर्डिङ बोर्ड व्यवसायीहरुले कर तिरेका थिएनन्। भदौ २० गते सिइओले यस्तो निर्णय गरेपछि बीचको ५/६ महिनाको राजस्व सबै झ्वाम् भएको छ।

लाइन कसरी मिल्यो ?

सुनिए अनुसार होर्डिङ बोर्ड व्यवसायीहरुले यो निर्णय गराउनका लागि माथिदेखि तलसम्म लाइन मिलाउन ६० लाख रुपियाँको चलखेल गरेका थिए। यसमा सबभन्दा सक्रिय प्रधानमन्त्री पत्‍नी हिसिला यमि भएको र उनी दुई पटक महानगरपालिका कार्यालयमै आएर सिइओलाई भेटेको देखेको बताउँछन् महानगरपालिकाका कर्मचारीहरु।

स्रोतका अनुसार यो लाइन मिलाउन स्थानीय विकास मन्त्रालयको च्यानलले १८ लाख लिएको छ। यो च्यानलमा मन्त्री नै छन् कि उनका पीए छन् कि, उनको मन्त्रालयका अरु कर्मचारी छन् कि त्यो भन्न सकिने कुरा हैन। किनभने यस्ता लाइन मिलाउने काम लिखित रुपमा हुँदैनन् र त्यसको बिल, रसिद पनि कसैसँग हुँदैन। कुनै दिन अख्तियार जाग्यो भने र सम्पतिका स्रोतहरु खोजिन थाल्यो भने बल्ल यस्तो कुरा आउन सक्ला। त्यसैगरी महानगरपालिकाको च्यानलमा २६ लाख बाँडिएको छ। यसमा सिइओ पर्न सक्छन्, महानगरपालिकामा यो विषयमा लाइन मिलाउने अरु ‘चम्चाहरु’ पर्न सक्छन्। महानगरपालिकाको सर्वदलीय संयन्त्रमा प्रतिनिधित्व गर्ने एकीकृत माओवादीका प्रतिनिधिले पार्टीलाई चन्दा भन्दै ५ लाख रुपियाँ लगेको स्रोत बताउँछ। बाँकी रकम यही लाइन मिलाउन सक्रिय अरुले खाएको बताउँछ स्रोत।

प्रधानमन्त्रीले आफ्नै निर्देशन पालना गराउलान्?

यदि प्रधानमन्त्री बाबुराम भट्टराई यी सब चलखेलबाट अनभिज्ञ छन् भने के उनले आफ्नै निर्देशन अनुसार सहरका सार्वजनिक स्थानमा रहेका होर्डिङ बोर्डहरु हटाउने निर्णय कार्यान्वयन गराउन दबाब दिन्छन् ? के उनले नगरपरिषद्को निर्णयविरुद्ध महानगरपालिकाका सिइओले आफ्नो हातमा नरहेको अधिकार प्रयोग गरी गरिएको निर्णय खारेज गराउन निर्देशन दिन्छन् ? हेर्न बाँकी छ। यदि उनले त्यस्तो निर्देशन नदिए…..तैँ चुप मै चुप ??

18 thoughts on “होर्डिङ बोर्डमा लाखौँको चलखेल”

  1. डिल्लीरमण न्यौपाने says:
    October 11, 2012 at 10:55 pm

    सालोक्य जी,
    फोटोमा लेखेको क्याप्सन मिलेन – देशमा हुने सबै ठुला देखि झिना मसिना काम मा भ्रस्टाचार हुने भए’सी समाचार हरुको सिर्शक अब यस्ता हुनु पर्ने हो : “घुष नखाने सरकारी कर्मचारी अझै जीवित …..” “सडक बिभागको टेन्डरमा कमिशन नदिइएको आशंकामा ठेकेदारहरु पक्राउ” “ब्रिफकेसमा पैसो नल्याएकोमा मन्त्रि द्वारा जीएम निलम्बित” “सबै कार्यालय हरुको नाम को पछाडी ‘नगर’ अथवा ‘बिगार’ राख्न मंत्रिपरिसद को निर्देशन” (क्यै काम नगर्ने लाइ “नगर” कामै बिगार्ने लाइ “बिगार”, जस्तै जिल्ला बिकाश ‘नगर’ समिति, भुमि (भुडी) सुधार ‘नगर’ मन्त्रालय, बातावरण “बिगार” मन्त्रालय, बिद्युत “बिगार” प्राधिकरण, “नगर” प्रहरी (यो नाम त परिवर्तन गर्नै परेन), महिला “बिगार” शाखा, कृषि “बिगार” (बिभाग), सडक “बिगार”, आदि इत्यादि ……….

    Reply
  2. योगेश आदी, न्यूयोर्क says:
    October 11, 2012 at 8:55 am

    त्यतिमात्र हो र ! कम्पनीहरुले हरेक बर्ष कम्पनीको साइन बोर्ड / नियोन साइन आदि राखे बापत तिर्ने राजस्वमा त घोटाला हुन्छ !!
    – जननिर्वाचित मेयर बिनाको शहरमा कस्तो लूट होला…

    Reply
  3. Sagar BC says:
    October 10, 2012 at 8:53 pm

    बाबुराम ले इमान्दार को नाटक गर्छ, हिशिला भन्ने आइमाइले पैसा कुम्ल्याउछ, यहि नेपाल को बिडम्बना हो…..जय होस्….

    Reply
  4. bhim koirala babu amardah says:
    October 10, 2012 at 8:45 pm

    म त कमेन्ट गर्न वाक्क लाग्न थालिसको
    जनता को कमेन्ट झलनाथ खनाल ले भने जस्तो
    हात्ती को रौ जरेर केहि हुन्न भन्थे भ्रस्टचारी नेता लाई झापड नै हानेको होनी खोइ सुन्छन त हाम्रो कुरा हाम्रो कमेन्ट ले भुत्ला झर्ने त होइन भुत्ला नि हलिदैन
    धन्यवाद

    Reply
  5. Puja says:
    October 10, 2012 at 6:35 pm

    विचरा भट्टराईजी सहस भए पो केहि गर्नु दिनदिनै मेरो हातखुट्टा बाधिएको छ भन्दै बिलौना गर्नु हुन्छः कसले होला बाँधेको जस्तो लाग्थ्यो , हिसिला एमीले पो रहेछ , जसले आफुलाई त मुक्त गर्न सकेका छैनन् देशलाई कहाँबाट निकास दिनु , मलाई त दया लग्न थाल्यो बाबुरामको , भट्टराई पत्नी एमी को के कुरा गर्नु डाडु पन्यु सबै उहाकै हातमा छ जति मन लग्यो तेती , जे मन लग्यो तेही , उहालाई छुने आट कसको , त्यो भन्दा फरक बाटोमा गयो भने त नेपालको राजनीतिज्ञ भनेर कसरि चिनिनु ,,,,,,तेसैले कसैले पनि अस्चार्य मान्नु पर्दैन , निर्देशान पालनाको कुरा त एउटा कान ले सुन्ने अर्कोले उडाए हुन्छ !!!!!1

    Reply
  6. Purushotam Pyakurel says:
    October 10, 2012 at 2:21 pm

    यो सब आफै धामी आफै झाक्री उखान जस्तै हो ! बाबुरामले केहि गर्दैनन् आखिर आफ्नै भकारी त भरेकी हुन् उनकी धर्मपत्नीले ! बाबुरामले पैसा आउने बाटो बनाउने श्रीमतीले गएर उठाउने, अरु केहि हैन हामी नेपलिजनाताहरु भ्रममा नपरे हुन्छ !

    Reply
  7. SURENDRA SUBEDI says:
    October 10, 2012 at 1:14 pm

    राजस्व का धेरै स्रोत नेपाल मा हुदा हुदै पनि देस र जनता किन गरिब?सबै यो मिलोमतो को खेल ले नै देस डुबाएको प्रस्ट छ/यहाँ निर्णय एउटा हुन्छ अनि त्यहि निर्णय लाई अर्को पक्क्ष बाट लतारिने गरिन्छ /नेपाल का नेता अनि आउरे ,भौरे प्रशाशन का कर्मचारी हरु ले देस र जनता लाई दिनौउ बलात्कार गरि रहदा पनि सबै तै चुप मै चुप किन?किन कि नेता ले लिएको घुस ति न बोल्ने कार्यकर्ता सम्म पगेरै नै हो र आम गरिब र निमुखा जनता ले कसारी बोल्न सकुन र?खाओ नेता र कर्मचारी हो खाओ/

    Reply
  8. तेन्जिंग गाबा 'हिमाली' says:
    October 10, 2012 at 10:02 am

    कुरो २०-२५ बर्ष अगाडी तिर को हो ,

    उसबेला हाम्लाई पढाउने एक जना शिक्षिका थियिन, सधै पोलिस्टरको पेन्ट र खासाको हरियो ज्याकेट लगाएर पढाउनु आउथिन, खाजा पनि आफै झोलामा हालेर ल्याउथिन र प्रायश: पोलेको मकै / उसलाई देखेर हामी सधै श्रदा सहित नतमस्तक हुन्थ्येउ अनि हामी बिद्द्यार्थिहरु आपसमा कुरा गर्थेउ “वाह: बाह: कस्तो त्यागी महिला !!! उनलाई नपुग्ने के छ र ? धनि परिवारमा जन्मेको, गतिलो शीप भएको इन्जिनीएर् जस्तो मान्छे, तर पनि यस्तो सरल जिबन शैली ?? ”
    तर
    त्येही “शिक्षिका” हिसिला यमीको आज यस्तो चर्चा सुन्दा हलीवुड तिर भन्दा हाम्रो देशमा ठुल ठुला कलाकार जन्मेको रहेछन भनेर मन बुझाउने गर्छु /

    Reply
  9. Basanta Thapa,Maryland,USA says:
    October 10, 2012 at 8:57 am

    होर्डिंग बोर्ड ले शहर कुरूप बनाउने होइन आकर्षक र सुन्दर बनाउछ मात्र यसको तरिका र ठाउ मा भर पर्छ \ माकुराको जालो जस्तो अनगिन्ती होर्डिंग बोर्ड एकै ठाउमा होइन विभिन्न ठाउमा राख्ने हो भने ,ठुलो ठुलो बोर्ड होइन सानो र सुन्दर अनि प्राकितिक आपात्ति आउदा पनि बाटो र बटुवा लाइ समस्या नपुराउने खालका होर्डिंग बोर्ड राखीए सुन मा सुगन्द बन्न जान्छ \ कर्मचारीलाई नेता र व्यापारीका कुरा र चाहना मान्दा पनि नमान्दा पनि सधै अप्ठेरो पर्ने गरेका छन् \ नेपाल कुरूप राजनीतिले बिग्रेको हो \राजनीतिले हर क्षेत्र प्रताडित बनेको छ \ हर साशन र राज्य प्रणालीमा व्यापारीको भूमिका माथि पर्ने गरेको हुन्छ \ आजको नेपालमा नेता र ब्यापारी लाइ सन्तुलन मा राखेर जुन कर्मचारीले कार्य गर्छ उ सफल र योग्य मानिन्छ \

    Reply
  10. Raj says:
    October 10, 2012 at 7:39 am

    Corruption will keep happening as long as Kathmandu is run by an appointed bureaucrat who is not directly answerable to the city’s residents. The city needs to elect a mayor along with a 35-member ward council as soon as possible. Kathmandu’s citizens should get as pissed off as some of Pokhara’s citizens and start protesting for local elections. How long are we going to let these corrupt unelected do-nothings like Yami and Adhikari control (ruin) our city?

    Reply
  11. Rajesh Tripathi says:
    October 10, 2012 at 7:15 am

    १०-२० हजार मानशिक तलब खाने कर्मचारीहरु दैनिक सेकुवा beer खान, राजधानी मा घर बनाउन पैसा कहाँ बाट आउदो रहे छ ? बल ठ पाए मैले पनि.
    हिजो आज news sunda पनि दिक्क लाग्छ .!

    Reply
  12. Raj Bista, Bhairahawa says:
    October 10, 2012 at 6:12 am

    देश कै प्रधानमन्त्री भएनी के भो र , आफ्नै घर को प्रधानमन्त्री संलग्न भए को रैछ, अब बाबुराम ले के नै गर्लान र ..घरेलु प्रधानमन्त्री (हिसिला यमी) लाइ सलाम ठोक्दै जता जता भन्यो उतै हस्ताक्षर मारीहाल्छन नि ..भन्ने हामिलाइ लाइराछ…

    Reply
  13. aasish,switzerland says:
    October 10, 2012 at 4:21 am

    कुरा एती सम्म बिग्रिसकेको रहेछ,यी कुरा लाइ मुलाधारे मिडिया मा पनि ल्याउनु पर्यो,किन हो मुलाधारे मिडिया पनि तैचुप मै चुप भएका त??एउटा भिडियो क्यामेरा बोकेर सनसनीपूर्ण खोज खबर भन्दै २ मिनेट को घटना लाइ आधि घण्टा दोहोरियाई दोहोरियाई देखाउने टिभी जोर्नालिस्ट ले किन एसको बारेमा रिपोर्ट बनाउन नसकेका होलान??अब माइ संसार लाइ आधार बनाएर कसैले प्रसारण गर्छ कि त्यै,अनि यो कुरा सरकार सम्म खास गरि प्रम भटराई सम्म पुग्छ कि_?अनि केहि थाहा हुन्थ्यो कि,
    आशिस
    स्विस

    Reply
  14. Raj says:
    October 10, 2012 at 3:20 am

    जसले जे गरे पानि भैसक्यो नेपालमा /
    ” कसको बाबुको के जान्छ र जे भयपनी देशकै सम्पति सकिने हो, देश नै कंगाल हुने हो, देश नै कुरूप हुने हो, आफुले त टन्न पैसा कामैयेकै छ क्यार, सरर गाडी छाडेर हिड्न कसैले रोक्दैन, छोरा छोरि बिदेशमै छँदै छन्, के को डर भयो र? जसरि जाति छिटो कुम्लौना सक्यो त्यो नै आजको मूल मन्त्र हो/ के थाहा भोलि पाइने हो कि होइन, फेरी जनताको भूत जाग्यो भने बसी टिक्नु हुदैन, लखेटी हाल्छन, तसर्थ अहिले नै चलखेल गर्न पाएको बेलामा नगरेर कहिले गर्नु बाबै? बुज्नुस कुरा येही हो, हामी जस्ता दुइ कौडीका नेताहरुले यौ देशमा नौलो परिवर्तन केहि लेरौना सक्दैनौ तेसैले जाति सक्दो छिटो नयाँ educated नेताहरुको पहिचान गरेर, नया संबिधान ल्याएर, हाम्रो सबै पार्टी लै खारेज गरि देश जोगाउनुहोस, हामी सबैलाई लाखेट्नुहोस, होइन भने काठमाडौँ को होर्डिंग board निकालेकै जस्तै हाम्रो नेपाल को होर्डिंग board पानि यो बिश्वको नक्सा बाट झिकिन धरै समय लाग्दैन/ नेपाल को अस्तितोअ जोगौना यो बाहेक आर्को उपाए केहि पानि छैन!

    Reply
    1. Sisir says:
      October 10, 2012 at 10:20 am

      हिसिला यमी educated नै हो मित्र , Engineering का प्राद्यापक सम्म भएकी हुन् , नियत नै खराब भएपछि केहि लाग्दो रहेन छ … हिसिला त यो देशको लागि भाइरस नै हुन्… खाओबादीको अरु के कुरा गर्नु …
      यसअघि हिसिलाकै दबाबमा उनकी दिदी तथा तथा प्रधानमन्त्रीकी जेठी सासू कयोंदेवी यमिलाई सरकारले लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो। प्रधानमन्त्रीका अरु सासूहरु तिमिला यमिलाई इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डिन, न्युच्छेशोभा तुलाधर यमि इन्जिनियर अध्ययन संस्थानको परीक्षाबोर्डको अध्यक्ष र चिरिकशोभा ताम्राकारलाई त्रिवि विज्ञान संकायको डिनमा नियुक्त गरिएको थियो। हिसिलाकै दबाबमा तिमिलालाई केयुकेयलको अध्यक्ष बनाउन खोज्दा केयुकेयल झन्डै छ महिना प्रमुखविहीन बनेको थियो।
      http://www.nagariknews.com/politics/party-politics/45684-2012-09-03-03-04-21.html

      Reply
  15. biwas ghimire says:
    October 10, 2012 at 2:51 am

    क्रान्तिकारी पत्नी हिसिला यमी एण्ड बाबुराम कम्पनि घाटामा चै गको रैन र छ ड्यास मायोबादी लाइ लोप्पा खुवाउदै क्यास मायोबादी ले राम्रै ब्यापार गरेको होला तेसो भय राम्रो कान्तिकारी छबी भयको छबी राज ले पनि मेनेजमेन्ट राम्रो गरे जस्तो छ अब यो क्यास मायोबादी भन्दा अर्को ड्यास मायोबादी उग्र हुदैछ हेर्दै जौ ड्यास र क्यास को क्रान्तिकारिता //

    Reply
  16. sujan nz says:
    October 10, 2012 at 2:47 am

    सब भन्दा पहिले यो मोटो रकमको चलखेल गर्ने हरु लाइ हटाउनुपर्छ अनि बल्ल होर्डिंग बोर्ड हटाउनुपर्छ अनि काठमाडौँ सफा हुन्छ …….

    Reply
  17. Suraj says:
    October 10, 2012 at 2:47 am

    अब स्वयम् आफ्नै धर्मपत्नी सामेल भाको काण्डमा भट्टराईजीले केहि गर्नु होला त्यो हामीलाई लाग्दैन … यो मुद्दा पनि अरु मुद्दा जस्तै सेलाएर जाने कुरा हो …. यो समाचार हामी सामु पुर्याउनु भएकोमा सालोक्यज्यु लै धेरै धेरै धन्यबाद!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme