Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : तातो पानी

Posted on October 6, 2012October 6, 2012 by mysansar

-उत्तम पौडेल-

” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो। ” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ, टि.भी खोल्यो भने की क्रीकेट की फूटबल अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?” यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो उहाँको। मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो। बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले कक्षामा पाठ नगर्नेलाई लस्करै पिट्दै गर्दा , अचानक आफ्नो पालो अगाडी नै पियुन दाइले समय सकिएको घन्टी बजाउँदा ” लौ बचियो आज ” भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जादा , चाहे १० इन्चीको भित्तापारीको भान्छा नै किन नहोस।

कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाखा हुँ, अनि उनि मेरी आमा। तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो। त्यति नगरी चिया पाइँदैन। भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान। यसरी नै दिन बढ्दै थिए, दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि।

मेरो मनमा एक पैसाको पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी मात्र पिएर घ्यम्पो घट्छ भन्ने कुरामा। यदि यो साँचो हो त भैंसी किन मोटा हुन्थे ? डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो, तातो पानी नपिउने घोडा-गधाहरु चैं गैँडा जत्रो हुनुपर्थ्यो। सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो नी।

ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें। हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै मास्टरी पेसामा थिए। यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टुपुल्कियिन।

मैले बिनम्रतापुर्बक भने – ” बुडी, अब देखि म तातो पानी पीउँदिन है ! खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ।”
उनि एकासी मलिन हुदै , मसिनो बोलीले भनिन – ” हो बुढा, तिम्रो कुरा ठिक हो। ”
मेरो मन खुशी ले गदगद भयो, बिना विभागीय मन्त्रीले अकस्मात प्रधानमन्त्री पाएजस्तो|

यतिकैमा उनको बाक्य तन्कियो – ” एक गिलास तातोपानी ले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर, अबदेखि चिया खायौ भने फेरी …..” भन्दै मुड्की मेरो चुच्चो नाक तिर तेर्साइ।

मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरी एक गिलास तातोपानी मेरो भकुन्डे भुडीभित्र खोत्याएं।

लघुकथाः प्याजे पैसा

-उत्तम पौडेल-

हिजोसम्म दिनभरी दाएको गोरुजस्तो देखिने श्यामे आज बेग्लै छ। मनमा शान्ती, मुहरमा कान्ति, शरीरमा फुर्ति -सबै छ। नहोस् पनि कसरी ? अमेरिका आएको ४ महिनामा आज पहिलो तलब बुझेको दिन, त्यो पनि पूरै महिनाको। पहिलो तीन महिनामा उस्ले खानु हण्डर खायो,सबै भोग्यो- अचानोको चोट, खुकुरीको मार, कुकुरले नपाएको दु:ख, धोबी कुकुर्याइं, गेडी नहुँदाको आफन्तको टेड्याइं…. सबै।

उ मित्ररास्ट्रबाट आएको तर अलि कम मित्रबत मालिकको रेस्टुरेन्टको भान्छामा काम गर्छ, एकदमै रुन्चे काम। दिनमा सैयौं प्याज काट्नुपर्दा भीमकाय, बिसआँखे लंकापति रावण त बाल्टीभरी आँशु झारेर रुन्थे होलान, श्यामे त नाथे दुई आँखे, ज्यान हेर्दा पनि मकैबारिको सुकेको ढोंड जस्तो।गुच्चाजस्तो आँखा गोलभेँडा जस्तो भएपछी एकपटक अगाडि सिसा भएको हेल्मेट लगाएर पनि प्याज काटेको थियो, ठ्याकै मौलो लगाएको गोरु जस्तै देखिएको थियो तेतिबेला।

श्यामे कोठामा आइपुग्यो। धेरै पसिना र आँशु सोसेको दुई हजार डलर खल्तिबाट निकाल्यो, खाटको पल्लोपट्टीको फुच्चे टेबलमा फ्यात फाल्यो अनी आफु चाँहीं खाटमा पल्टेर अनेक कुरा कल्पिन थाल्यो। कोठाभाडा, बिजुली-पानी, फोन, नुन-तेल-राशनमा हजार डलर खर्च हुने देखियो। अर्को हजार चाहीं नेपाल पठाउन पर्ला, करिब नेपाली नब्बे हजार, यस्तै योजना बनायो उसले।

सबैभन्दा खुशी चैं आमा हुन्छिन होली, छोरोको पहीलो कमाइ पाएर।सधैंभरी त्यै थोत्रो निलो साडी लगाउंछिन आमा, उनलाई एउटा नयाँ साडी किन्न भन्छु। बाले चैं घडी किन्छन होला, पुरानोमा पानी पस्न पनि कहिल्यै छोड्दैन। भाईले नयाँ मोबाइल भनेर ट्यौँउ-ट्यौँउ कराउँदै थियो अस्ती फोन मा, बैनी एउटा लेडिज साइकल किन्दे भन्दै थिइ| उसले भाइबैनीको ईच्छा पुरा गरिदिने सोच्यो| मुखैमा आएको दसैं छ, एउटा खसी किनिदिने अनी घरमा पनि नयाँ रङ लगाउने योजना बनाउदैं के थियो, भुसुक्कै निदायो श्यामे। आखिर थकाइले लम्पट भाको शरीर न पर्‍यो।

उ ब्युँझ्यो, पैसा तिर हेर्यो। ओहो !! पैसा त अलि थोरै देख्छ उ। एकैसासमा खाटबाट हामफालेर पैसा गन्यो, तर मात्र एक हजार मात्रा छ,अर्को हजार कता गयो ? श्यामेको ओठ-तालु सुक्यो। खाटमुनी, सिरानीमुनी, यताउती-जताततै खोज्यो तर कतै पैसा भेटिएन।

अचानक उसको आँखा एउटा नयाँ झोलामा पर्‍यो। उ भुइंमा टुसुक्क बस्यो अनी निकै उत्सुकतापुर्बक झोला खोल्यो, खोतल्यो। उसका उत्सुक अनुहार एकैछिनमा मलिन र निरस भयो, आँखा रसाय। झोलाभित्र निकै महंगा ब्र्यान्डका सृंगारका सामाग्रीहरु थिए। लिपिस्टिक, क्रिम, पाउडर, फाउन्डेसन,के हो के के ……

बिक्षिप्त अनि टुक्रिएको मन सम्हाल्दै, जोड्दै श्यामे बिस्तारै उठ्यो। अनी मनमनै सोच्यो ” धन्य छ्यौ मेरी श्रीमती ”

11 thoughts on “लघुकथा : तातो पानी”

  1. Sangram says:
    October 8, 2012 at 5:54 am

    धेरै पछि दिल खोलेर हस्सना मनलाग्यो . जय होस् लेखक महोदय

    Reply
  2. devendra karki says:
    October 7, 2012 at 2:17 pm

    कथा निकै रोचक लाग्यो| लेख्ने काम जारी रख्नु होला पढ्ने हामि छदै छौनी….

    Reply
  3. Nava says:
    October 7, 2012 at 9:46 am

    राम्रो लाग्यो मलाई पनि ! छोटो मिठो रैछ!

    Reply
  4. krishak, sydney says:
    October 7, 2012 at 6:36 am

    कथाहरु सटिक र पढ़निय छन् / शैली रोचक छन्/

    Reply
  5. nabaraj kale says:
    October 7, 2012 at 4:53 am

    के लेखेको एस्तो भन्दिन म
    के पढ्नु परेको एस्तो भन्छु म

    Reply
  6. Dil thapa says:
    October 7, 2012 at 2:06 am

    कथा पढ्न लाई त्यति चाख लागेन. लेखक ले अलिक मेहेनत गरेर लेखे राम्रो होला.

    Reply
  7. आशा says:
    October 6, 2012 at 10:12 pm

    सारै नै रमाइलो कथा पढ्न पाइयो धेरै पछि/ तातो पनि ले त् सारै नै हँसायो/ प्याजे पैसा ले भने मनै दुखायो/ उत्तम जी फेरी पनि यस्तै उत्कृस्ट सरल रचनाहरु पढ्न पाइयोस/ लेख्दै जानुहोस, पढ्न हामी तयार छौ नि /

    Reply
  8. jitu says:
    October 6, 2012 at 9:05 pm

    अर्थ न बर्थ का कथा, अलि प्रयास गर्नु पर्यो

    Reply
    1. Suren says:
      October 8, 2012 at 1:56 pm

      साथी को बिहे भाको छैन होला तेही भएर हो अर्थ न बर्थ को लागेको…… बिहे भएपछि पढ्नु होला यो कथा सारै मन छुन्छ हो ………….

      Reply
  9. Ashok says:
    October 6, 2012 at 7:51 pm

    ओह हो सारै मान पर्यो दुवै कथाहरु !!!!! धेरै धन्यवाद!!!!!

    Reply
  10. Mina says:
    October 6, 2012 at 6:02 pm

    Worst story ever read. Uncountable grammatical mistakes. Please do proofread before publish it.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme