Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२५९ वर्षपछि इन्द्रजात्रामा नयाँ चलन

Posted on October 3, 2012September 11, 2017 by Salokya


काठमाडौँमा इन्द्रजात्रा कहिलेदेखि मनाइयो भन्नेबारे यकिन बताउन कसैले सक्दैनन्। लिच्छवि कालदेखि नै मनाइएको हुनसक्ने विज्ञहरु बताउँछन्। तर इन्द्रजात्राका क्रममा हुने कुमारीको रथयात्रा कहिलेदेखि सुरु भयो चाहिँ ठ्याक्कै बताउन सकिन्छ। यो चलन काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन्। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार कुमारीको रथयात्राको चलन सन् १७५३ देखि चलाएका थिए। उनी आफै कुमारीको रथमा चढी भैरव र गणेशको रथलाई अघि लगाई यात्रा चलाउँथे। उनीपछिका शाह वंशका राजा रथ मै नबसे पनि रथयात्राका क्रममा उपस्थित हुने गर्थे। शाहवंशको पतनपछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिको उपस्थिति रथयात्रा थाल्नुअघि हुने गर्छ।

आज २५९ वर्षपछि एउटा नयाँ परम्पराको थालनी हुन गइरहेको छ। पहिलो पटक इन्द्रजात्रामा कुमारीको रथ महिलामात्रले तान्दैछन्। यसअघि काठमाडौँका कुनै पनि जात्रामा महिलामात्रले रथ तानेको इतिहास छैन। पाटनमा भने रातो मच्छिन्द्रनाथको रथ एक दिन महिलाले तान्ने चलन छ। इतिहासको साक्षी छ बन्न मन छ भने आज अपराह्न वसन्तपुर पुग्नुहोला। रथ वसन्तपुरबाट प्याफल, यट्खा, न्यतः, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर ल्याई टुङ्गिन्छ। पहिलो पटक भएकोले पूरै रुट महिलामात्रले तान्ने संभावना छैन।

आजै इन्द्रजात्राको अन्तिम दिन पनि हो। यात्रापछि रथलाई वसन्तपुर पुर्‍याएपछि गणेश, भैरवका प्रतीकका रुपमा रहेका दुई बालक र कुमारीलाई कुमारी घरभित्र लगिन्छ। कुमारीलाई बोकेर घरभित्र लगेपछि पृथ्वीनारायण शाहको सेनाको प्रतीकका रुपमा रहेका गुर्जुको पल्टनले तोप (बन्दूकबाट हवाई फायर) गर्छन्। त्यसको केही समयपछि राष्ट्रपति कुमारी घरभित्र जान्छन् र कुमारीको हातबाट टीका लगाउँछन्। राष्ट्रपतिले टीका लगाइसकेपछि कुमारीको हातबाट सर्वसाधारणले पनि टीका लगाउन पाउँछन्। पूर्वराजा पनि टीका लगाउन त्यहाँ पहिलेका वर्षमा जान्थे, यस वर्ष पनि जान सक्छन्। कुमारी घरबाहिर लामै लाइन लाग्छ सर्वसाधारणको टीका लगाउन। टीका लगाइदिने क्रम दशैँको टीकासम्म जारी रहन्छ।

‘पराले युद्ध’

आजै एउटा रमाइलो खालको परालले एक अर्कालाई हानाहान गरेर रमाइलो गर्ने दृश्य पनि तपाईँ देख्‍न सक्नुहुन्छ। आठ दिनअघि गाडिएको सालको काठको अग्लो यःसिं (लिङ्गो) पौने १० बजेको साइतमा ढालिन्छ। ढाल्नका लागि त्यहाँ प्रशस्त पराल राखिएको हुन्छ। ढालिसक्ने बित्तिकै सुरु हुन्छ एकापसमा परालले हानाहान गर्ने खेल। पूरै क्षेत्रमा परालै पराल देखिन्छ।

नेपालकै ठूलो अनुहारको देउताको मूर्ति हेर्ने अन्तिम दिन


झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। यसलाई श्वेत भैरव पनि भन्ने गरिन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। विक्रम संवत् १७१७ मा राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन हाथु हायेके गरिन्छ (जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ)

आकाश भैरव- किराति राजा यलम्बर?


इन्द्रजात्राकै अवसरमा वंघः (इन्द्रचोक) मा रहेको आकाश भैरवको मूर्तिलाई मन्दिरबाहिर प्रदर्शन गरिन्छ। खासमा इन्द्रजात्रा कुमारी जात्रा, इन्द्रजात्रा र भैरव जात्राको संयुक्त रुप हो। त्यसै कारण श्वेत भैरवसँगै आकाश भैरव मात्र हैन टोलटोलमा अन्य भैरवहरु पनि प्रदर्शन गरिन्छन्। इन्द्रको मूर्तिलाई त बाँधेर नै राखिन्छ। डा. साफल्य अमात्यको ‘श्री आकाश भैरवनाथ’पुस्तकमा उल्लेख भएको किंवदन्ती (पहिलेदेखि भन्दै/सुन्दै आएको तर प्रमाण नभेटिएको कुरा) अनुसार यलम्बर भन्ने – किराँती राजाले इन्द्रचोक अर्थात् वंघःमा आफ्नो राजघर बनाएर बसेका थिए। नेवारहरुले आकाश भैरवलाई आजु द्यःको रुपमा पूजा गर्छन् र यलम्बरकै प्रतीकका रूपमा नेवारले मान्ने गर्दछन्। अर्को किंवदन्ती अनुसार महाभारतको युद्धमा जाँदा भगवान् कृष्णले छल गरी काटेको यलम्बरको शिर प्राचीन टेकुदोभान (हालको इन्द्रचोक)मा नदीछेउमा बसी काम गरिरहेको एकजना ज्यापूले देखेछ सो ज्यापूलाई सपनामा यलम्बर भगवानले भैरवको रूपमा दर्शन दिई मलाई यहीं नै एउटा छाप्रो बनाई राख र तिमीहरूले नै हेरविचार गर भनी भनेछन् ज्यापूले बिहान सबेरै सो शिर भएको ठाउँमा एउटा सानो छाप्रो बनाई यलम्बर भैरवलाई विराजमान गराई पूजाआजा गर्न थाले। यो आकाश भैरवको पूजा पनि इन्द्रजात्रामा विशेष रुपमा हुन्छ।

12 thoughts on “२५९ वर्षपछि इन्द्रजात्रामा नयाँ चलन”

  1. bhim koirala babu amardah says:
    October 4, 2012 at 11:08 pm

    महिला हरुले नि रथ तान्नु हाम्रो सस्कृतिको विकास झन् बलियो हुन्छ
    तर महिला हरुले हामी महिला हरुले जे गर्छुम त्यो छोरा मान्छेले पनि गर्नु पर्छ
    अनि छोरा मान्छेले जे गर्छन त्यो महिलाले नि गर्नु पर्छ भनेर यो साना साना कुरामा अल्जियर नया कुराको विकास कहिले ल्याउने हुन् महिला हरुले धन्यवाद

    Reply
  2. ram ghaju says:
    October 3, 2012 at 8:39 pm

    महिलाले मात्रै रथ तान्नु राम्रो सुरुवात हो.
    हामीले पढेको इतिहासमा पृथ्वी नारायण शाहले १८२५ बि. सं.मा काठमाडौँ एकीकरण गरेका थिए. तर तपाइको ब्लगमा उनका नाती रणबहादुर शाहले उक्त मुर्ति विक्रम सम्बत १७१७ मा सुन ले मोड्न लगाएका हुन भनेर लेख्नु भाको छ. यो मिति बेठिक हैन र? कृपया गल्ति सच्याएर सहि जानकारी दिनु हुन्छ कि? तपाइको ब्लगबाट जस्ताको तस्तै.

    “झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। यसलाई श्वेत भैरव पनि भन्ने गरिन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। विक्रम संवत् १७१७ मा राजा रणबहादुर शाहले मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।”

    Reply
  3. Sajita says:
    October 3, 2012 at 7:43 pm

    यो एउटा राम्रो सुरुवात हो , हामी महिला र पुरुषलै समान अधिकार दिनु पर्दछ भनेर दिनहु भन्छौ र एसको साथै आफुलाई समाजले दिएको अधिकार को उपयोग गर्न सिक्नु पर्दछ र समाजमा महिला हरु पुरुष भन्दा तल्लो तहका हुन भन्ने रोगि मानसिकता लाई झुटो साबित गर्नु पर्दछ ! हो हरेक मान्छे को शारीरिक बनावट फरक हुन्छ सोहि अनुरुप उनीहरुको सक्ति प्रदशनमा त़ल माथि हुन सक्छ यो सर्वसत्य कुरा हो तर असंव केहि हुदैन , तेसैले प्रयास जारी राखौ सफलता अवस्य पनि हात लाग्छ !

    Reply
  4. Bala Ram Thapa says:
    October 3, 2012 at 5:02 pm

    नया नेपाल निर्माण गर्ने जिम्मा लिएका नेताहरुले ,नया नेपाल निर्माणमा टेवा नापुर्याइ ढिला सुस्ती ,र आफुहरुलाई मस्तीमा लागेपछि ,२५९ बर्ष पछी भएपनि नया परम्परा नया संस्कृति को रुपमा कुमारीको रथ पुरुष हरुले मात्र तान्ने परम्पराको अलावा महिला हरुले पनि तान्ने सुरुवात गर्नुभई नया आयाम को सुरुवात गर्नुभएकोमा धन्नेवाद ! यो परम्परा पनि चिरकाल सम्म अटल रहोश |

    Reply
  5. naba says:
    October 3, 2012 at 4:57 pm

    संकृति र परम्परा लाई यसरि नै सकारात्मक परिवर्तन गरदै जानु पर्छ, अनि मात्र चाडपर्ब र जात्र हरु कुनै जात को मात्र होइन हामी सबै को हो भाबना को बिकाश हुन्छ

    Reply
  6. तुयू भाजु उदास says:
    October 3, 2012 at 2:51 pm

    पाटनको बुन्गद्यो यात्रामा पहिलेनै चलनमा रहेको ‘मिसा-या:’ हो. हाम्रो प्राचीन समाज समावेशी मात्र होइन मातृ सत्तात्मक पनि थियो भन्ने कुरोको प्रमाण हो यो . अब बीचमा हराएको चलन लाई महसूस गरेर पुन:स्थापित गर्नु एक प्रशंसनीय कार्य नभनी सुखै छैन नि !
    कुमारीलाई यसै पनि नारी समुदायले बढी श्रद्धा गर्दै आएकोमा रथ पनि तान्नु शोभनीय हुनेछ /

    Reply
  7. anuj says:
    October 3, 2012 at 1:23 pm

    नया नेपालको नया नया आबस्यकता, ठिकै हो
    महिलाले मात्र तान्ने भए पनि भिड त पुरुसकै बडी हुने हो, महिलाहरुलाई हेर्नेहरु को.
    अनि हानाहान चाही परालले मात्र भए ठिक हो, अस्ति जस्ती खुकुरी हानाहान भो भने तेस्को नैतिक जिम्मेवारी कसले लिने? आजकल सबै हिरो हुन चाहन्छन, सबै दादा, फुच्चे होस् कि बुदो…..

    Reply
  8. Niraj says:
    October 3, 2012 at 10:56 am

    २५९ वर्षा पछि को परिबतन खुसियाली संग मानौ.

    Reply
  9. Mandip from Nepal says:
    October 3, 2012 at 10:39 am

    महिला लाई समाज को हरेक छेत्रमा सहभागी गराउदै लानु निकै राम्रो खबर हो. नेपालमा गणतन्त्र आएको छ र यो सुरुवात मात्र हो, हेर्दै जानुस अझ धेरै हुने बाकी छ.

    Reply
  10. Sisir says:
    October 3, 2012 at 10:34 am

    हाम्रो चेलीहरुको जय होश.. तर त्यो रथ तान्ने काम भने तेती सजिलो चाही छैन है अलि फूर्तिका साथ् सजिलो लुगा लगाएर आउनु … सुभकामना ..

    Reply
  11. KR Mainali says:
    October 3, 2012 at 7:57 am

    राम्रो कुरा / राम्रो समाचार ! समाजमा क्रमिक रुपमा परिवर्तन हुदै छ भन्ने आभाष प्राप्त भएको छ |

    Reply
  12. dipendra sapkota says:
    October 3, 2012 at 6:20 am

    लाग्छ हाम्रो जस्तो बिशाल संस्कृति विश्व मा कसैको पनि छैन होला ///

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme