Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रसङ्ग : लिटरेरी मेला

Posted on September 13, 2012September 13, 2012 by परिवर्तन

परिवर्तन

अघिल्लो वर्ष आयोजित ‘नेपाल लिटरेरी फेस्टिवल’ र ‘काठमाडौं लिटरेरी जात्रा’ले साहित्य, लेखन तथा प्रकाशन क्षेत्रसँग चासो राख्नेहरूका लागि नयाँ माहोलको सृजना गरिदिएको थियो। त्यसो त वर्षेनी आयोजना हुँदै आइरहेका अन्य पुस्तक प्रदर्शनी मेलाहरूले पनि साहित्यकार तथा पाठकहरूलाई एकै ठाउँ ल्याउने काम नगरेको होइन तर यी दुई फेस्टिवल वा जात्रा भने अलि वेग्लै प्रकृतिका छन्। यसले विदेशी तथा नेपाली लेखक, पत्रकार र विश्लेषकहरूलाई बोल्न लगाउँछ, आफूले मन पराएका लेखकहरूसँग प्रत्यक्ष कुराकानी गर्न र मनमा लागेका प्रश्नहरू सोध्न र बहस गर्ने ठाउँ दिन्छ। संसारभर यस्ता परम्परा रहेको सन्दर्भमा नेपालमा पनि यसको शुरूवात भएको छ र यसले सकारात्मक प्रभाव पनि पारेको छ। अब केही दिनमा यी दुवै कार्यक्रमहरूको औपचारिक जानकारी बाहिर आउनेछ र सँगसँगै केही प्रशंसा तथा केही आलोचना पनि बटुल्नेछ। जस्तो कि अघिल्लो वर्ष बटुलेको थियो।

नेपाली साहित्यतर्फ बढी केन्द्रित वा नेपाली भाषामै बढी बहस चल्ने कार्यक्रमको नाम पूर्णत अंग्रेजी “नेपाल लिटरेरी फेस्टिवल” र विदेशी साहित्यकार मात्र होइन अंग्रेजीमा विशेष दख्खल राख्नेहरूको समूह मूल आयोजक रहेको र धेरै ‘सेसन’हरू अंग्रेजी भाषामा हुने कार्यक्रमको नामका पछाडि “जात्रा” झुण्डिनुले खासै कुनै अर्थ नराख्ला तर यसभित्र अटाउने साहित्यकार, बहसकर्ता र पाठकहरूको रूचि, उपस्थिति तथा बहस भने फरक हुनेछन्। र, यी दुई फरक फेस्टिवलले फरक-फरक समूहको प्रतिनिधित्व गर्नेछ। 

आ-आफ्नै समूह

ट्रक-बस व्यवसायमा देखिने सिन्डिकेट साहित्य क्षेत्रमा पनि छ त्यसैले त्यहाँ पनि “आफ्नो समूह वा ग्रुप” र “अर्को समूह वा ग्रुप”को प्रष्ट विभाजन देखापर्छ। यस्तै विभाजन पत्रपत्रिका भित्र पनि छिरेको छ र सोही अनुसार पुस्तक, कार्यक्रमका चर्चा-परिचर्चा हुने गर्छन्। यसरी देखा पर्ने समूह वा समूहभित्रका क्रियाकलाप बुझ्नका लागि यस्ता फेस्टिवलहरूले निकै सघाउँछन्। त्यसो त साहित्य, कलाक्षेत्रमा पनि पार्टी अन्तरगत चल्ने युनियनहरू नभएका होइनन् तर यी दुई फेस्टिवलमा यस्ता युनियनको प्रत्यक्ष संलग्नता रहँदैन। वा त्यसलाई महत्त्व दिइन्न। बरू, जानेर वा नजानेर यी दुई फेस्टिवलमा प्रत्यक्ष सहभागी हुने वक्ता, लेखक, बहसकर्ता वा पाठकका रूपमा आउनेहरूका माझ भने केही प्रष्ट विभाजनका रेखाहरू देख्न सकिन्छ। र, यो मान्छे यो समूहमा बोल्न सक्दैन वा यो मान्छेलाई यो फेस्टिवलमा आमन्त्रित गरिंदैन वा आमन्त्रित नै भए पनि जाँदैन भन्ने अनुमान गर्न त्यति गाह्रो छैन। यसरी हेर्ने हो भने जुनसुकै क्षेत्रमा देखा पर्ने ग्रुप वा समूह साहित्य लेखन, प्रकाशनभित्र नहुने कुरै भएन र त्यो अघिल्लो वर्षको फेस्टिवलमा नै देखिएको थियो। यसपटक त्यसको पुनरावृत्तिमात्र हुनेछ।

त्यसो त फरक-फरक समूहमा विभक्त लेखक, पत्रकार, साहित्यकार वा पाठकहरू भन्दा बाहिर अरू दुई बलिया समूहहरू पनि रहेका छन् जसमध्ये एउटा समूह यी दुवै फेस्टिवलमा जान्छन्, सुन्छन्, लेख्छन् तर दुवैसँग प्रत्यक्ष चासो राख्दैनन्। अर्को समूह भने यी दुवै समूहभन्दा टाढा छ र साहित्य वा प्रकाशनका आफ्नै कामहरूसँग व्यस्त छन्। उनीहरूलाई यस्ता फेस्टिवलहरू व्यापार गर्ने वा प्रचार-प्रसार गर्ने बहाना मात्र लाग्छन् र उनीहरू यसमा सहभागी पनि हुँदैनन्। उनीहरू विशेषत: परम्परागत साहित्य लेखन तथा उत्पादनमा विश्वास गर्छन्।

सम्भावित बहसहरू

यी दुई जात्रामा भएका अघिल्ला वर्षहरूका बहसहरूले केही सङ्केत गर्छ र त्यो पुन: दोहरिन सक्छ। विशेषत: १० वटा पुस्तकहरू प्रकाशित गरेका प्रकाशकहरूले नेपालमा गुणस्तरीय पुस्तकहरू निकाल्न वा प्रकाशित गर्न आफूहरूले शुरू गरेको दावी गर्दै मञ्चमा बोल्दै गर्दा रत्न पुस्तकका गोविन्द श्रेष्ठ, साझा प्रकाशनका पूर्व तथा वर्तमान पदाधिकारी वा अन्य कतिपय पुराना पुस्ताका पुस्तक प्रकाशक, लेखकहरू भने पछाडि बसेर उनीहरूका कुरा सुन्दै हाँसेको रमाइलो दृश्य यसपटक पनि पक्कै देख्‍न पाइनेछ।  मुनामदन, शिरिषको फूल, घुम्ने मेचमाथि अन्धो मान्छे वा लाखौं प्रति बिक्ने युधीर थापाका पुस्तकहरू छाप्ने प्रकाशकहरूका अगाडि ‘पहिले गुणस्तरीय पुस्तक प्रकाशित हुँदैनथे र हामीहरूले गुणस्तरीय पुस्तक निकाल्न शुरू गर्यौं’ भनेर टोपलिनेहरूले कस्ता किताबलाई गुणस्तरीय मानेका छन्? बुझ्न कठिन छ। बिक्रीलाई आधार मान्ने हो भने पनि युधीर थापाका पुस्तक हालसम्म बिक्दैछन् भने गुणस्तरीयताको कुरा गर्ने हो भने बजारमा ५ वर्षभन्दा बढी नटिक्ने पुस्तकहरूका अगाडि मुनामदन, शिरिषको फूल वा घुम्ने मेचमाथि अन्धो मान्छेको तुलना कसरी गर्ने? उता  रामचन्द्र तिमोटी लगायत नेपालका मुख्य पुस्तक विक्रेताहरूका लागि साहित्यको उत्पादनका बहस भन्दा व्यापार प्रवर्धनका बहस पक्कै आकर्षित हुनेछन्। अझ कतिपय पुस्तक विक्रेता वा वितरकहरूका लागि त उनीहरूले पुस्तक बेच्दा पाउने कमिशनको रकममा बाहेक अन्यत्र रूचि नहुन पनि सक्छ र उपस्थिति न्युन नै हुन सक्छ।

केही सदाबहार टिप्पणीकारहरूले गएको १० वर्षदेखि बोलिरहेकै कुरा यो वर्ष पनि बोल्नेछन् र पाठकले त्यो सुन्नु नै पर्नेछ। केही पुरस्कारले मात्र चर्चित भएका वा पछिल्लो समयमा मिडिया/प्रकाशकसँग राम्रो सम्बन्ध बनाएका साहित्यकारहरूले १५ वर्ष अगाडि आफूले गरेको संघर्ष बिर्सेर वा आफ्नै श्रीमती प्रकाशक भएर प्रकाशित गरेको पुस्तकको कुरा बिर्सेर नयाँ लेखकहरूसँग क्षमता नभएको, खत्तम किताब निकालेको, किताबमा संपादन हुनुपर्ने, गुणस्तर कायम गर्नुपर्ने तर्क गर्दै आफूमात्र सक्षम भएको वा आफ्नो किताब मात्र गुणस्तरीय भएको तर्क गर्नेछन् र त्यो पाठकले सुन्नु नै पर्नेछ।

अझै कतिपयले त संपादन नभएका र आफै प्रकाशक भएका किताब छाप्न नहुने, नेपाली साहित्य विगारेको, जे पायो त्यहीं लेखेको, कसैले अनुगमन गर्नुपर्ने र अनुमति लिएर मात्र छाप्नुपर्ने सम्म तर्क गर्न भ्याउँछन्। तर, संपादन कसले गर्ने, कसले छाप्ने, कोसँग अनुमति लिएर छाप्ने? आदि प्रश्नहरूको उत्तर खोज्यो भने उनीहरूले आफू मात्र सक्षम भएको तर्क गर्नेछन्। उनीहरूले उनीहरूका किताबबाट भन्दा फुटपाथमा बिक्री हुने हजारौं किताबहरूबाट पढ्ने बानीको वृद्धि भएको र पाठकहरू बढ्ने क्रम जारी रहेको छ भन्ने कुरा बिर्सिन्छन्। २०० वर्ष लामो प्रकाशनको इतिहासमा जाबो ३५,००० पुस्तक प्रकाशित भएको देशमा गुणस्तरीयता कायम गर्नुपर्ने वेला भएको छ कि छैन? प्रशस्त किताब उत्पादन हुन नसकेको मात्र होइन प्रशस्त किताबहरू पढ्न नपाएको सन्दर्भमा गुणस्तरीयका नाममा आफ्नो सिन्डिकेट कायम राख्‍ने चाहना केही पुराना लेखक सम्पादकमा रहेको देखिन्छ तर फुटपाथमै बिक्री गर्ने उद्देश्यका लागि छाप्ने लेखकहरूले पनि कथित गुणस्तरीय लेख्ने लेखकहरूको मूल्याङ्कन गर्न पाउने कि नपाउने?

हिजोसम्म देश र जनताका लागि पुस्तक लेख्‍नुपर्ने तर्क गर्ने वा लेखेको भनेर गुड्डी हाँक्ने खगेन्द्र संग्रौला लगायतका लेखकहरूको उपस्थितिले पनि पाठकहरूलाई मेलामा तान्नेछ। तर, देश र जनताका लागि लेखिएका पुस्तकबाट पारिश्रमिक नपाएको वा प्रकाशकले ठगेको गुनासो भने पक्कै सुन्न पाइनेछ। त्यसबाहेक “मिस नेपाल”लाई पूँजीवादी संस्कृतिको विकृत रूप मान्ने संग्रौला लगायतका वामपन्थी लेखकहरूले आफूमा आएको परिवर्तन वा आफ्नै पुस्तक भित्रको विषयवस्तुमा भन्दा बाहिरको कभरमा आएको परिवर्तन र लेखकहरूले गरेको मोडलिङलाई पनि ज्ञान उत्पादन क्षेत्रमा ‘पूँजीवादी संस्कृति” छिरेको व्याख्या गर्ने छैनन् वरू यसलाई पुस्तक प्रकाशन क्षेत्रमा भएको विकास तथा विस्तारकै रूपमा व्याख्या गर्नेछन्।

पत्रकार लेखक हुनै पर्ने र पत्रकारको किताब राम्रो हुनै पर्ने (नेपाली प्रेसमा पत्रकारले लेखेको पुस्तकको क्रिटिकल समीक्षा आएको खासै नदेखेकोले) समस्याले गाँजेको देशमा त्यसका बारेमा मेलाभित्र कतैबाट कुनै आवाज उठ्ला? कि नउठ्ला?

जे भए पनि यस्ता जात्रा वा फेस्टिवलले पुस्तक संपादन, प्रकाशन तथा पठन-पाठन मा रूचि राख्नेहरूका लागि धेरै कुरा सिक्ने अवसर दिनेछ। मेलामा केही पुराना कुराहरू दोहोरिनेछन्, केही नयाँ जानकारीहरू आउनेछन्। आफ्ना लेखकहरूसँग भेट्न, प्रश्नहरू सोध्न र खुला बहसमा भाग लिने मौका दिनेछ। पठन-पाठनको संस्कृति बढाउनका लागि मद्दत गर्नेछ र केही नयाँ बहसका लागि नयाँ विषयवस्तुहरू प्रदान गर्नेछ। साहित्यिक मेलाका लगि विदेश जानु पर्ने वा विदेशी लेखकहरू भेट्न नेपाल बाहिर नै जानु पर्ने वाध्यताको अन्त्य पनि यसले गर्नेछ भने नेपाली साहित्यकारका विचार र अनुभहरू सुन्न पनि यसले सघाउनेछ। यस्ता कार्यक्रमको निरन्तरता र फराकिलो दायरा बनाउन भने अझ केही वर्ष लाग्नेछ तर जे कामको शुरू भएको छ त्यो पक्कै पनि राम्रो भएको छ।

[email protected]

5 thoughts on “प्रसङ्ग : लिटरेरी मेला”

  1. शशांक लामा, न्युयोर्क says:
    September 14, 2012 at 8:41 am

    आम जनताले नबुझ्ने जटिल भाषामा लेखिएको लेख रचनाहरु साहित्यिक दर्जामा परेपनि तिनको उपादेयता के ? केहि सिमित समुहका लागि मथिंगल बजाउने र बहसमा उतार्ने सिवाय त्यस्ता लेखले जनजीवनमा केहि असर ल्याउन्दैन्| साहित्य मिठो भाषामा सन्देशमुलक भएर पाठकहरुका मन मष्तिष्कमा छारिनुपर्छ, त्यसबाट रस टप्किनु पर्छ| नेपाली साहित्यमा मिठो र रसिलो भाषामा लेख्ने तीन जनाका नाम बेधड़कसंग म लिन सक्छु : ति हुन् – भूपी शेरचन, डा ताना शर्मा र तेस्रो चाहिं खगेन्द्र संग्रौला!
    भूपीको किताब पढेर पटक पटक आफु बाँचेको समाजप्रति बित्रिष्णा जगाएको छ, ताना शर्माको नियात्रामा चढेर मैले बेलायत र अमेरिकाको सयर गरेको छु र खगेन्द्र संग्रौलाको जनजिब्रे मिठो भाषाहरु रिठ्ठो नबिराई पढेको छु र पढदा पढ्दै कतिपय ठाउँमा पाखुरी सुर्केको छु | यी तीन व्यक्तिका किताब खोजी खोजी पढन नेपाली पाठकहरुलाई म सल्लाह दिन चहान्छु| मेला सफल होस् !

    Reply
  2. डिल्लीरमण न्यौपाने says:
    September 13, 2012 at 7:05 pm

    पुस्तकको गुणस्तर भन्नाले सजावट होइन पुस्तकभित्र भएको लेखाइको गुदी हो भन्ने कुरा यी नयाँ, मैं हुँ भन्ने प्रकाशकहरुको मगजभित्र छिर्ला त?

    Reply
  3. Kamal Rai, Kirtipur says:
    September 13, 2012 at 6:23 pm

    अहिले बजारमा सबैजसो चर्चा पाएका वा चर्चा गरिएका किताबका लेखकहरु नब्बे प्रतिशत पत्रकार नै हुन् । अहिले सबै पत्रकारलाई एउटा न एउटा किताब लेख्ने धोको छ । तर मलाई लाग्छ यी चर्चामा आइरहने किताबहरु त्यति गुणस्तरीय चाहिँ होइनन् । पत्रकारबीचको प्रशंसा लेनदेनले पत्रपत्रिकामा समीक्षा र प्रशंसाको बाढी आएपछि पाठकहरु झुक्किनु स्वभाविक नै हो । अहिले हल्ला गरेर पिठो बिकाउने काम भइरहेको छ जस्तो मलाई लाग्छ । अधिकांशले पत्रिकामा आएको समीक्षा पढेर किताब किन्ने गरेको बताउने गरेका छन् । हल्लाकै आधारमा किनेको पुस्तकले पाठकहरुको साँच्चै मन छोएको छ भन्ने मलाई लाग्दैन । के समेत सुन्नमा आएको छ भने प्रशंसा गरेर लेखिदिए वापत समीक्षकलाई पनि पुस्तकको केही नाफा बाँड्न थालिएको छ रे । कुनै कुनै समीक्षक किन कुनै पुस्तकमाथि यतिधेरै सती जान्छन् भन्ने शंकालाई यो हल्लाले टेवा दिन थालेझैँ लाग्छ । अहिले प्रकाशकहरुको उपस्थिती राम्रो भए पनि एकाध मात्र पुस्तक राम्रा छन् ।
    एकताका प्रकाश कोविद र सुवासका उपन्यासहरु पूर्वी पहाडका प्रत्येक युवायुवतीसँग हुन्थे । अहिले पनि छन् । ती उपन्यासहरु लाखौँको संख्यामा बिकि्र भएका थिए भनेर नागरिकको अक्षरमा नै छापिएको पनि थियो । युधीर थापालाई पाठकले खोजिरहनु उनले पारेको छापले नै हो । तर तिनीहरु कसैको चर्चा छैन । मलाई लाग्छ अलि पाका लेखकहरुको कुनै चर्चा नै छैन बजारमा । किनभने ती पत्रकार होइनन र समीक्षा छाप्न दौडिन सक्दैनन् । पोहोरको लिटेरेरी जात्रामा नारायण ढकालको पल्पसा क्याफे १० हजार बिकि्र भएको भनेर गफ दिइएको थियो । मलाई लाग्छ त्यो हल्ला मात्र थियो । किनभने लडाइँमा जनता फोटो प्रदर्शनीमा देशभर त्यो पुस्तक पत्रकारहरुलाई हजारौँको संख्यामा नेपालयले सित्तैमा बाँडेको थियो । म धनकुटामा हुँदा पनि मलाई सित्तैमा त्यो पुस्तक प्राप्त भएको थियो । त्यसमा साहित्य नपढ्ने अर्का साथीले पनि मलाई त्यो किताप थपिदिएका थिए । अहिले बजारमा पुस्तकको व्यापार बढेकोले कितापको गुणस्तरमा प्रतिस्पर्धा नभएर हल्लामा प्रतिस्पर्धा सुरु भएको छ । हामी पाठक भने भ्रममा छौँ ।
    यद्यपि नेपालमा पठन संस्कृति बृद्धि भएको छ यो खुशीको कुरा हो । पुस्तक पनि निस्कनै पर्छ तर हल्ला जत्तिको गुणस्तरीयता छैन । अस्ति प्रधानमन्त्रीले पनि मेलामा पुस्तक किन्दा प्रत्येकलाई कम्तीमा पाँच मिनेट पढे भनेर कान्तिपुरमा समाचार थियो । असल पाठक बन्न हामीले पनि राम्रा किताप मात्र छानेर पढ्न सके समय र पैसा खेर जाँदैनथ्यो भन्ने लाग्छ ।

    Reply
    1. loknath says:
      September 14, 2012 at 11:13 am

      “अरु लाई कुल्चिएर आँफु अघि बढ्छु भन्दा
      आँफु लाइ सुर्य सम्झी अरु लाई उल्का ठान्दा
      घमण्डको पर्खाल तेसै जर्जर गरि ढल्न सक्छ
      पापी मन, रुन्चे बानी तेसै पनि गल्न सक्छ “

      Reply
  4. kusan sharma says:
    September 13, 2012 at 3:57 pm

    “उनीहरूलाई यस्ता फेस्टिवलहरू व्यापार गर्ने वा प्रचार-प्रसार गर्ने बहाना मात्र लाग्छन् र उनीहरू यसमा सहभागी पनि हुँदैनन्। ”
    सहि कुरो चाही येहीनै हो l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme