Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन

Posted on August 3, 2012August 3, 2012 by Salokya

आज गाईजात्रा हो। गएको वर्ष मरेका आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि यो पर्व मनाइन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ आज।

सँगैको फोटोमा देखिने अरु कोही नभएर म आफै हुँ। सन् १९८९ मा हो क्यारे म यसरी सहर डुलेको। माइला बुबाको मृत्युपछि परम्पराअनुसार गाई पठाउन म, भाइ र फुपूको छोरा तीन जनालाई छानिएको थियो। ठूलावडाहरुको आदेश, नाइँनास्ती किन गर्नु ! मिठाइ र पैसा पाइन्छ भन्नेमा पनि लोभिएको थिएँ म। सानोमा त्यही त हो। अरु बेला गोरु भनेर गाली गर्थे, त्यो दिन गाई बनाउने भए। लिङ्गै परिवर्तन गाँठे!


मलाई साः (गाई), भाइलाई जोगी र फुपूको छोरालाई वेँय् (बौलाहा) बनाउन लागिएको रहेछ। मुख्य चाहिँ मै हुन्थेँ अर्थात् गाई। सुरुमा रहर गरे नि नाकको मुनि र ओठको माथि यत्रो मुठा जुङ्गाका रेखी तान्दा अप्ठेरो लाग्यो। लौ, मलाई त जोकरै बनाएर सहर डुलाउने भए जस्तो लाग्यो। बेकारमा रहर गरेछु जस्तो लाग्यो।

कहिल्यै नलगाएको लुगा लगाउन दिइयो। कहिल्यै नलगाएको गहना लाउन दिइयो। मेरो अनुहार त दिदीहरुको लागि फूलस्केप कापी जस्तो भएको थियो- मनलाग्दी कोर्न पाइने।


कालिमाटीको पुरानो घरको मूलढोकाबाहिर पूजा गरेर मेरो टाउकोमा गाईको चित्र भएको टोपी लगाउन दिइयो। त्यसलाई घाँटीमा बाँध्नु पर्ने रे। ए दैव, के आपत आइलाग्यो। अब हिँड्नु पर्ने रे। हिँड्न त हिँडने तर लौ कहीँ नभएको जात्रा, जुत्ता लगाउन पाइन्न रे। नाङ्गै खुट्टा हिँड्नु पर्ने रे। आजभोलि त मान्छेहरु जुत्ता लगाएर मात्र हैन, मोटरसाइकल मै समेत घुमेको देखिन्छ। तर हामीलाई त्यस्तो गर्न दिइएन।

लौ त भनेर हिँडियो। साथमा थिए परिवारका अरु सदस्यहरु पनि। परोपकार स्कूल हुँदै भीमसेन स्थान पुगेपछि बल्ल मुख्य जात्रासँग मिसिन पुगिने रहेछ। वर्ष भरी जुन जुन घरमा मान्छे मरेका थिए, उनीहरुको घरबाट म जस्तै बच्चाहरुलाई गाई बनाएर निकालिने रहेछ। बल्ल ढुक्क भइयो, नाङ्गाको देशमा गएपछि नाङ्गो हुँदा केको लाज। चारैतिर मैजस्ता मान्छे भएपछि मलाई यत्राको लाज, मनले यस्तै सोच्थेँ। तर जात्रा हेर्न सडक छेउछाउमा भेला भएका सबै मान्छेको आँखा मैमाथि हुँदा भने अप्ठेरो लाग्थ्यो। अझ बच्चाहरुले ऊ गाई गाई भन्दै चिच्याउँदै कराएको देख्दा झनक्क रिस उठ्थ्यो- ‘अरु पनि छन् नि, मैलाई हेर्नुपर्छ मोराहरु’

भीमसेनस्थानबाट मरु गणेशस्थान, ढोकाटोल, न्ह्योखा, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै हनुमानढोका, चिकंमुगल, लगन, ब्रम्हटोल, ह्युमत हुँदै जहाँबाट आएको हो त्यहीँ फर्केपछि नगर परिक्रमा पूरा हुन्थ्यो। बाटोबाटोमा दूध, जुस खुवाउनेहरु हुन्थे। खान्नँ खान्नँ भन्दा नि मुखैमा कोच्चाउन आउनेहरु देखेर रिसै उठ्थ्यो। मरेको परिवारका सदस्यहरुले स्वारी, मालपुवा, फलफूल दिन्थे हामीलाई। लिँदालिँदा दिक्क। पछि त लिन पनि झ्याउ लाग्ने। नलिँदा, लिनुपर्छ पाप लाग्छ भनेर तर्साउँथे।

आजभोलि चकलेट, बिस्कुट आदिसमेत बाँड्ने गरिए पनि त्यतिबेला भने त्यस्तो थिएन। सालको पातको टपरीमा राखेर स्वारी, मालपूवा दिन्थे। हामीसँगै आएका परिवारका सदस्यहरुले त्यसलाई बोक्थे। हाम्रो परिवारका सदस्यहरु पनि त्यसरी बाँड्न बस्थे।

खाली खु्ट्टा त्यत्रो सहर डुल्नु गाह्रो त थियो नै। थाकेर लखतरानसमेत भइएको थियो घर पुग्दा त। त्यतिबेला अहिलेको जस्तो डिजिटल क्यामेरा कहाँ हुनु, रिल हालेर फोटो खिच्नुपर्थ्यो र न्युरोडको रेन्बो कलर ल्याबमा धुलाउन लानु पर्थ्यो। यी सब फोटो त्यही कलर ल्याबमा धुलाइएका थिए र अस्ति भर्खर त्यही फोटोलाई डिजिटल क्यामेरा यो रुपमा खिचेको हुँ।

आफै त्यसरी गाई बनेर सहर डुलेको बाहेक अरु धेरै पटक म गाईजात्रामा सहर डुलेको छु। फुपाजुको मृत्युपछि, बज्यैको मृत्युपछि, आमापट्टीका बाजे र बज्यैको मृत्युपछि र केही वर्षअघि बुबाको मृत्युपछि। फरक के थियो भने ती सबको मृत्युपछि गाई पठाउन गाह्रो भएको थियो। अर्थात् हामी जसरी सजिलै कोही गाई बनेर जान तयार भएनन्। जसोतसो अरु नै कसैलाई गाई बनाएर पठाउन राजी बनाइएको थियो। आजभोलिका केटाहरुलाई परम्पराप्रति किन त्यस्तो वितृष्णा हो ?

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा त्यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ। उतिबेला राजाको पालामा अहिले जस्तो प्रेस स्वतन्त्रता थिएन। पार्टीहरु प्रतिबन्धित थिए। अनि पत्रिकाहरुले यही दिन मनलाग्दी लेख्थे। रातोनीलोहरियोपहेँलो अक्षरमा समाचार छापिएको गाईजात्रे अङ्क पढ्न निकै रमाइलो हुन्थ्यो। भाँडभैलो र कामनाको गाइजात्रे विशेषाङ्क विशेष हुन्थ्यो। पछि त व्यङ्ग्य भन्दा पनि अश्लील हुन थाले विशेषाङ्कहरु। अनि तेस्रो लिङ्गीहरु पनि गाइजात्राको परम्परा बिगार्दै गेजात्रा मनाउन थाले।

[यो गएको वर्ष लेखेको अनुभव। तपाईँसित पनि गाइजात्राका यस्तै अनुभव छन् भने बाँड्नुस् है तलको कमेन्टमा]


10 thoughts on “‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन”

  1. योगेश आदी, न्यूयोर्क says:
    August 4, 2012 at 8:45 am

    उमेशजीको त सानैमा जुँगा आको रहेछ गाँठे !! गाइ जात्रामा गोरु ?? ठिकै छ, म पनि बनेको थिए, याद ताजा गराइदिनु भयो, धन्यबाद !

    Reply
  2. nigam nh usa says:
    August 4, 2012 at 6:32 am

    उमेश जी १९८९ मा कस्तो कलिलो देखिएको हो गाँठे, यति सानो उमेर मा एस्तो प्रगति, ए रात्तै, श्री पशुपति नाथ ले तपाई लाई अझ यस्तै लेख हरु पस्किने प्रेरणा दियुन.

    Reply
  3. सुभाष सिद्धि says:
    August 4, 2012 at 4:46 am

    यो चाड मूलतः नेवाः समुदायले मनाई आएकोहो
    ‘सायाः’ अर्थात् सायात्रालाई पछी ‘गाई जात्रा’ भनि अनुवाद गरिएको हुन्
    तर ‘सापारू’ को अनुवाद भने हुन सकेको छैन (यो प्रतिपदाको नेवार नाम )
    आजभोली ठूल-ठूलो हलहरुमा यस्ता कार्यक्रमहरु मन्चन हुनु सामयिक जरुरत हुन्

    Reply
  4. Nabin says:
    August 4, 2012 at 3:36 am

    हाम्रा धेरै जस्तो परम्पराहरु बिज्ञानसंग जोडिएका छन् / गाइजात्रा पनि एक हो / आफ्ना बितेका अग्रज लाई सम्झने र तिनमा श्रदासुमन अर्पण गर्ने मध्यम हो यो पनि/

    Reply
  5. शशांक लामा, न्युयोर्क says:
    August 3, 2012 at 10:45 pm

    संयुक्त राज्य अमेरिकामा पनि हाम्रो गाइजात्रासंग मिल्दोजुल्दो पर्व हलुविन मनाइन्छ| किसिम किसिमका डरलाग्दा मुकुण्डो र किचकन्या वस्त्र धारण गरेर र अन्य उपद्रो भेषभुषामा बच्चाहरु घर घर डुली मिठाइ बटुल्छन| घरपट्टीहरुले पनि त्यसदिन ठुलो भाँडोमा मिठाइ राखेर बच्चाहरुलाई बाँडछन| गएको बर्ष बँदेल-टाउके मुकुण्डो खर्लप्प टाउकोमा हालेर म पनि हाम्रो टोलमा छोरीसित एकछिन घुमेको थिएँ| एकथरी नेपालीहरु यो हाम्रो पर्व होइन भनेर अमेरिकिहरुसंग भावानात्मक साथ् नदिई गजक्क परेर बस्छन! किन अह्रर्हो भएर बसेका होलान ती ? जुन देशमा बसेका छन्, त्यहि देशका मानिससँग हांसिखुशी गर्न किन कन्जुस्यांइ गरेका होलान? छक्कै लाग्छ !!

    Reply
  6. Bino, Italy says:
    August 3, 2012 at 9:41 pm

    तपाईको गाईजात्राको पुरानो फोटोहरु हेर्दा मैले हामी बच्चा हुँदा गाईजात्रामा लाखे नाचेको याद आयो l आज हाम्रोमा पनि अजा र अजीको सम्झनामा गाई जात्रा निकालियो रे l अजा अजी हजुरहरुको आत्माको चिर शान्तिको कामना गर्दछु l

    Reply
  7. Durga Adhikari says:
    August 3, 2012 at 5:46 pm

    हाम्रो परम्परा/ धेरै कुराहरु दुख बिर्सौनकोलागि गरियको हुन्/ राम्रो परम्परा/ हामी येस्तई परम्परा र संस्कृतिले धनि छौ/ हे भगवान यो परम्परा र संस्कृतिको कहिलै बिखन्डन हुन नपरोस/ काठमाडौँमा साथीहरुसंग म्ह पुजा गरेको धुलिखेलमा साथिहरुसंग गाईजात्रामा भाग लियको मैले कहिलै बिर्सेको छैन र बिर्सने पनि छैन/ म संग हुर्के बढेका अनन्य जाति र थरका साथीहरुको म संग अविस्मरणीय स्रधा र बिस्स्वास छ/ उनीहरु मेरा आफ्नै दाजुभाई हुन्/ उनीहरुको साथले नै अहिले मलाई नेपाली हुनमा गर्ब छ/

    Reply
  8. kedar says:
    August 3, 2012 at 4:30 pm

    अनुभब सबै कुराको गरेकै राम्रो |

    Reply
  9. Chandra Karki , London says:
    August 3, 2012 at 11:31 am

    परम्परा पट्यारलाग्दो दैनिकी बाट एउटा रमाइलो Break हो /
    एस्लाई कायम राख्दा जीवन रसिलो अनि स्वादिलो भएको महसुस हुन्छ /
    परम्परा अब्येबहरिक अथवा Nonsense लागेपनि त्येसको रमाइलो पक्ष महत्वोपुर्ण हुन्छ / त्येसैले एस्लाई पुरानै रुप मा कायम राख्नु धेरै राम्रो हो तर हानिकारक नै भए चाही काट छाट गर्नु पर्छ /
    जीवन मा सबै कुरा rational मात्रै हुनु पर्छ भन्ने chhaina/

    Reply
    1. jeevan verma says:
      August 4, 2012 at 5:28 am

      जीवन आफै पनि कहाँ rational छ त ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme