Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिका पुग्ने चोर बाटोको व्यथा

Posted on August 29, 2012August 29, 2012 by Salokya


पनामाबाट कोस्टारिका आउँदै गरेका सात जना नेपाली र उनीहरुलाई तस्करी गर्दै गरेका एक कोस्टारिकन नागरिक गत अगस्तको दोस्रो साता पक्राउ परे। त्यही समाचार कोस्टारिकाका मिडियामा आउँदा त्यहाँ यसरी विदेशी नागरिकलाई ओसार पसार गरिन्छ भन्ने देखाउन यो फोटोको प्रयोग गरिएको हो। फोटोमा मानिसहरुलाई सामान जसरी एउटा ट्रकमा कोच्चाइएको छ। भुक्तभोगीहरु भन्छन्, यो त अलि खुला, राम्रै ट्रक रहेछ। कतिपय अवस्थामा त श्वास समेत फेर्न गाह्रो हुने गरी सबैतिरबाट बन्द गाडीमा बसेर लामो यात्रा गर्नुपर्छ। तलको सानो फोटो काठमाडौँ ल्याइँदै गरेका राँगोहरुको हो। उनीहरु भन्छन्, राँगोलाई काठमाडौँ ल्याउँदाभन्दा बढी सास्ती मानिसहरुलाई दिएर कोच्चाएर यात्रा गरिन्छ। २०/२५ लाख रुपियाँ दलाललाई तिरेर चोर बाटोबाट अमेरिका पुग्ने सपना साँचेकाहरुले कस्तो यात्रा गर्नुपर्छ ? कहाँ-कहाँ पुग्नुपर्छ ?

सभासम्मेलनमा भाग लिन, कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमेरिका वैधानिक बाटोबाट पुग्ने र त्यहाँ पुगेपछि अवैधानिक रुपमा लुक्ने सजिलो बाटो हो। अमेरिकी दूतावासबाट निश्चित अवधिको अनुमति (भिसा) त्यसका लागि जरुरी हुन्छ। तर भिसा लगाउन गाह्रो छ। त्यसो भए अमेरिका पुग्ने अर्को बाटो के छ त ? चोर बाटो ! अमेरिकाको सीमा जोडिएको मेक्सिकोबाट चोरबाटोबाट त्यहाँ छिर्न पाइयो भने भिसा पनि लगाउनु परेन। अमेरिका छिर्नुमात्र पर्छ, काम फालाफाल। डलरै डलर। अनि टन्न कमाउनुस् न, अहिले अलि अलि पैसा खर्च गर्नुपरेकोमा लोभ नगर्नुस्- यस्तै भन्दै दलालहरु फकाउने गर्छन्।

तर दलालहरुले फकाए जस्तो चोरबाटोबाट अमेरिका पुग्न सजिलो भने छैन। महिनौँ समय लाग्छ। अनेक देशहरुमा लोकल दलालहरु एजेन्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने संभावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठीकै छ, भएन भने र दलालहरुले छाडेर भागे भने गुमनाम देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरु विकल्प हुन्न।

कस्तो छ बाटो ?
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।

चोर बाटोबाट अमेरिका पुग्न विमान, सडक र जल तीनैथरिका यात्रा गर्नुपर्छ। अमेरिका गएर डलर कमाउने भयो भनेर काठमाडौँ विमानस्थलमा फूलमाला पहिर्‍याएर विदा गरेकै दिनदेखि दुःखको एउटा लामो यात्रा सुरु हुन्छ। कम्तिमा १२ देश हुँदै यात्रा गर्नुपर्छ उसले।

सुरुमा काठमाडौँबाट दलालले उसलाई कतारको दोहा पुर्‍याउँछ। यो पहिलो गन्तव्य भयो। दोस्रो महत्त्वपूर्ण गन्तव्य हो ब्राजिल। दोहाबाट विमानमा १४ घण्टा उडेपछि आइपुग्छ नेपालीले विश्वकप फुटबलमा मात्र धेरै सुन्ने गरेको देश ब्राजिल। दक्षिण अमेरिकाको यो उदाउँदो अर्थतन्त्र भएको देशलाई ट्रान्जिटको रुपमा दलालहरुले उपयोग गर्ने हुन्। तर कतिपयको अमेरिकी सपना सेटिङ नमिलेर यहीँ टुङ्गिन्छ। अहिले पनि झण्डै १०० जना नेपाली त्यहाँ अलपत्र परेका छन्।

दलालहरुले यस्तरी सेटिङ मिलाएका हुन्छन् कि ब्राजिल वा अर्को गन्तव्य बोलिभियाको भिसा नहुँदासमेत उनीहरु त्रिभुवन विमानस्थल र कतारको विमानस्थलको अध्यागमनबाट समेत सहजै पार हुन्छन्। ब्राजिलमा त्यहीँको दलालले सेटिङ मिलाउँछ र त्यहाँबाट अर्को गन्तव्य बोलिभियाका लागि प्लेन चढाउँछ। बोलिभियामा अन अराइभल भिसा पाइन्छ।

बोलिभिया अर्को एउटा महत्त्वपूर्ण गन्तव्य हो। त्यहाँबाट अर्को कदम के हुने निश्चित गरिन्छ। बोलिभियाको लापाजमा मेक्सिको र ब्राजिलको भिसा लाग्यो भने फेरि बोलिभियाबाट ब्राजिलै पुग्नुपर्छ सडक बाटो। अनि साओ पाउलोबाट कोलम्बियासम्म फेरि प्लेन यात्रा। कोलम्बिया पुगेपछि पासपोर्ट लगायतका सबै कागजात च्यातेर फालेर मोटरबाटो, जंगल, समुद्र हुँदै लुकीछिपी मेक्सिको र त्यहाँबाट फेरि लुकेर अमेरिका प्रवेश गराइन्छ।

मेक्सिकोले भिसा दिएन भने अर्को रुट पनि छ- बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्ने। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ माथिको फोटोमा देखाइए जस्तै कोच्चिएर। बोलिभियाका लोकल दलाले पेरुको सीमासम्म पुर्‍याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्‍याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टारिका अनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्‍याइदिन्छ।

सबै देशको यात्रा बिना भिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकोले जोखिम उत्तिकै हुन्छ। कुनै पनि देशमा समातिन सक्छन् उनीहरु। मेक्सिको पुगेपछि भने अमेरिकाको संघार मै आइपुगियो। मेक्सिको र अमेरिकाको सीमामा ठूल्ठूला पर्खाल लगाइएका छन्। तर तस्करहरुले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि कसैगरी प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराइदिन्छ।

टिजुआनाको समुद्री किनारमा मेक्सिको-अमेरिका सीमामा लगाइएको पर्खाल। फोटोः विकिपेडिया

मेक्सिकोबाट पर्खाल चढेर अमेरिका जाँदै। फोटोः विकिपेडिया

यो चोर बाटोको रुटमा पर्ने विभिन्न देशमा हजारभन्दा बढी नेपाली अलपत्र परेर बसिरहेका छन्। सबैले लाखौँ खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरुको स्थिति के होला ? कल्पना गर्दा पनि डरलाग्दो!

कोही कोही फर्कन पाउँछन्। तर त्यतिञ्जेल दलालहरुलाई दिने र आफ्नो बाटो खर्च गरी लाखौँ खर्च भइसकेको हुन्छ। कोही भने बीच कै रुटमा शरणार्थी बन्दै सानोतिनो जीविका चलाइरहेका हुन्छन्। कोही भने आफै दलालका रुपमा परिणत भएर नेपालीलाई ठग्ने काममा लागेका हुन्छन्।

[साथीहरु, के तपाईँ वा तपाईँका कुनै परिचित पनि यस्तै चोर बाटोबाट अमेरिका पुग्नुभएको छ? तपाईँ पुग्नुभएको भए तपाईँ कसरी पुग्नुभयो, बाटोमा कस्तो दुःख भयो, त्यसको अनुभव वा तपाईँका कोही साथी, परिचित पुगेको भए उनीहरुले सुनाएको अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। आफ्नो नाम, इमेल सार्वजनिक नगरी सब कुरा सुनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो कुरा राख्‍न सक्नुहुन्छ। तपाईँको अनुभवले एक जना मात्र मान्छेको लाखौँ रुपियाँ र जीवनको अमूल्य समय बच्यो भने पनि त्यसको ठूलो पुण्य तपाईँले पाउनु हुनेछ।]

31 thoughts on “अमेरिका पुग्ने चोर बाटोको व्यथा”

  1. vijay says:
    March 17, 2013 at 4:55 pm

    अमेरिका न आउदा सम्म के के न होला भन्ने सोच्नु मात्र हो | गर्ने लै अवशर प्रशस्त नभएको होइन पैसा को अवसर मात्र नभएर नया नौलो कम गर्ने सिप र तारिका को अवशर पनि | तर नेपाल मा नि गर्ने ले जेरो देखि अरबपति सम्म नि बनेका छन् सहि अवशर छोप्न सकेको खण्ड मा | लाखौ लाख को जुवा र ज्यान को पर्वाह नगरी मरिञ्छ कि बचिंछा ठेगान नहुने गरि दलाल को फन्दा मा परेर चोर बाटो हुदै अमेरिका छिर्न पैइञ्छ कि भनेर जुवा मा होमिनु मुर्खता हो | २५-३० लाख ले त कुनैइ सानो भए पनि नेपाल मा नै व्यवसाय शुरु गर्नु नै राम्रो बुद्दि मानि हो |

    Reply
  2. chakra bahadur sunar says:
    September 3, 2012 at 6:56 pm

    बास्तव यो एकदम नराम्रो कुरा हो यसरि मान्छे लै तेसरी ठगि गरेर अमेरिका पुराउने लै कडा भन्दा कडा कारबाही हुनुपर्छ. र अमेरिका भनेपछि सबै थोक भन्ने ठान्ने पनि मान्छे गलत हो आफु संग जे छ तेही संग रमाउनु पर्छ .आफ्नै देशमा पनि केहि गरेर खान सकिन्छ . २५ ३० लाख खर्च गरेर अमेरिका जानुभन्दा तेसलाई नै सदुपयोग गरेमा राम्रो हुन्छ.

    Reply
  3. प्रविन राज गुरुङ says:
    September 2, 2012 at 7:14 am

    अर्का को ज्यान र धन को जुवा खेलेर मानव ओसार पसार गर्ने दलाल हरु को पहिचान गरि प्रहरी मा उजुर गरुन . लेख पढे पछी कस्तो कस्तो नमज्जा लाग्यो चोर बाटो हुदै अमेरिका छिराउने ति नेपाली दलाल हरु खोजि खोजि सामाजिक बहिस्कार पनि गरौ

    Reply
  4. Niraj says:
    September 1, 2012 at 10:43 am

    नेपाली हरु अमेरिका जान लै किन यस्तो गर्छन मा मौका पाउदा पनि अमेरिका गैना यदि अमेरिका नै जानु छ त धेरै सजिलो छ दुवै बाट ३० हझार दिराम खर्च गर्नुस business पार्टनर वा sales manager विसा लगायर आराम ले ६ मैना बस्नुस अनि युरोप वा अमेरिका कुनै पनि embassy मा विसा apply गर्नुस र आराम ले लिगल्ली भयर जानुस न कसैले ठगला भन्ने डर न दुख पैयाला भन्ने डर आफुलाई त अमेरिका भन्दा दुवै नै राम्रो छ तेसैले गैयाना जान चाहने नेपाली चै यो लगाल्ली उपाय सिकैदेको हो है

    Reply
  5. suman p says:
    August 31, 2012 at 9:59 am

    यो संसारमा लोभी हुन्जेल पापी कहिले भोको हुदैन , सर्ब प्रथम आफै लोबी हुन छोडौ अनि पापीको केहि लाग्दैन ………………

    Reply
  6. Tika says:
    August 30, 2012 at 8:00 pm

    अमेरिका कर्म भुमि हो स्वर्ग भुमि चाही होइन I बिकसित मुलुकमा प्रतिस्प्रधा पनि धरैनै हुन्छ I बल र बुद्धि हुनेलाई संसारको जुनसुकै कुनामा गए पनि अबसरको खाँचो नुहुन
    सक्छ I आज सिधा साधा मानिसहरू जसरि दलालले बुनेका सुनको जालीमा फसेर सुनौलो कल्पनाको महललाई संगाल्दै ३०औ लाख खर्च गरेर चोर बाटोबाट अमेरिका आइरहेका छन् अनि आउने प्रयास गरिरहेका छन् उनीहरूको व्यथा, कथा र कहानीहरू कम दर्दनाक र कहाली लाग्दो छैन I तर, बिडम्बना यस्तो कुकृत्यमा तिनै व्यक्तिहरु जो हिजो यहि जटिल परिस्थितिलाई पार गरेर अमेरिका प्रवेश गर्न सफल भएका थिए त्यसलाई दुरुत्साहित गर्नुको बदला एजेन्टको रुपमा रुपान्तरित भएका छन् I अनि यी सबै कुराको जानकारी हुँदा हुँदै पनि आफ्नो आफन्त र परिवारलाई अमेरिका ल्याउने प्रयाशमा अमेरिकामा रहेका आफन्तहरूले नै लाखौं पैसा खर्च गरेर यो जोखिमपूर्ण दुस्कार्यलाई प्रोत्साहित गरिरहेको कुरा सुन्नमा आएको छ I यसर्थ दलाल लाई गाली गर्नु भन्दा पनि कुरा हामीले आफै बुझ्नु जरुरि छ I एक सच्चा नागरिकको हैसियतले सिधा साधा जनताको लाखौं पैसा जोगाउन र उनीहरूको ज्यान जोखिमबाट बचाउनु तपाई हाम्रो सबैको कर्तब्य
    हो I यसको नियन्त्रणको लागि व्यापक प्रचार प्रसार हुनु जरुरि छ I मानव तस्करी एउटा अपराध भएकोले यो अपराध गर्नेलाई कडा भन्दा कडा कानुनको ब्यबस्था गरी कानुनी कठघरामा ल्याउनु पर्दछ I सर्ब साधारणको जानकारीको लागि सरकारी संचार माध्यमहरूबाट व्यापक रुपमा शिक्षामुलक कार्य क्रमहरू ल्याइनु आबश्यक छ I यसको नियन्त्रणको लागि नेपाल सरकारले उचित कार्यक्रम ल्याउनु पर्दछ I

    Reply
  7. Ale says:
    August 30, 2012 at 5:42 pm

    कुरो त ठिकै हो, नेपालमा नै केहि गर्ने | तर आफु त पहाडमा जन्मेको मान्छे, खोला को ढुङ्गो पल्टाएर पैसा न आउने , तरकारी खेति गरे कुहिएर जान्छा (बेच्ने ठाउ नभएर), कसै गरि पैसा कमाइयो भने छोरो को अपहरण हुने डर | अरु ब्यापार गरु भन्यो बन्दै बन्द ले गर्दा नोक्सान बेहोर्नु पर्ने, आफु सोझो मान्छे न कुनै राजनीतिक पार्टी को छात्र छाया छ न कुनै ग्यांग को आसिर्बाद | जागीर खोज्यो भने पहिले नजराना खोज्छन | के गरम के गरम, रन भूल्ला पो भएँ त भन्या |

    Reply
  8. Jitman rai 'sabin' says:
    August 30, 2012 at 11:34 am

    यस्तो अबैधानिक बाटोबाट पाइने अमेरिकन सुख भन्दा २/४ पैसे यो खाडीको जिन्दगी आनन्द छ । कम से कम हामी बैधानिक त छौ । फेरी शिप र सिर्जना हुनु भने खाडी, मलेसिया र अन्य साना मुलुकहरुमा पनि अवसर पाइन्छ । यहाँ पनि धेरै नेपालीहरुले मासिक लाखौ कमाउने हैसियत राख्छन् । त्यहि हो एकै चोटी धेरै र राम्रो खोज्ने प्रबित्तिले नेपाल अनि नेपाली बिग्रेको हो ।

    Reply
  9. nabin nepal says:
    August 30, 2012 at 9:17 am

    अमेरिका आउने सपना त सबै लै होला ..तर हामी जति सोच्छौ..तेती सजिलो छैन यो गोरे को ठाउँ …झन् illegal आउने लै त धेरै समस्या हुन्छ ….

    १-.अमेरिका छिर्न नै ३ ४ महिना लाग्ने र जंगल को बाटो …सेना को डर मार्न पनि सक्छ ..खान बस्न को टुंगो नहुने ..अनि खर्च पनि २२ /२५ लाख ….

    २-यदि छिरिहाल्नु भयो भने पनि …तपाई लै काम पाउन धेरै गारो हुन्छ ..किनभने तपाई संग अमेरिका मा काम गर्न दिने अनुमति पत्र (कागज ) हुदैन …

    ३-अब येदी काम पनि पाईहाल्नु भयो भने …भारती CHINESE आदि को स्टोर मा काम पाउन सक्नु हुन्छ (CHANCE धेरै कम्ति हुन्छ )..किन भने अमेरिका मा अनुमति नभाको मान्छे लै काम मा लगाउनु अपराध हो!!!

    ४- अब $ को कुरा गरम …यहाँ को राज्य पिच्छे सबै भन्दा कम्ति पैसा पौने भन्ने बारे फरक छ ..NEWYORK मा चै ७:२५ हो ..तर तपाई संग केइ कागज नभएको ले गर्दा जति मा नै काम मा दलौना सक्छन …

    ५-अनि खाने खर्च बस्ने बिजुली को बिल महँगो नै हुन्छ ….तेसैले २५ लाख खर्च गरेर नआको राम्रो हो …त्यो २५ लाख नेपाल मै केइ काम मा लाउनु भो भने झन् बेसी कमाई हुन्छ ..यहाँ illegal मान्छे लै धेरै गारो हुन्छ ….यहाँ पनि जोतिनु नै पर्छ..दिन मा नेपाल मै १६ घण्टा काम गरेर हेर्नुहोस ….तपाई संग इज्जत र पैसा दुवै हुन्छ …

    ६ — अनि छलेर खान्छु भनेर चै सपना मा पनि नसोच्नु होला ….

    Reply
  10. Basanta Thapa,Maryland,USA says:
    August 30, 2012 at 8:33 am

    म काम गर्ने mall मा एकदिन एउटा भर्खरका १९/२० बर्षका नेपाली भाई काम खोज्दै आइपुगेका थिए \कुरै कुरामा उनि चोर बाटो भएर एता छिरेका रहेछन \ छिरे पछी प्रहरीले बोर्डर मा समाएछन्\२ महिना जेल परेछन \जेलमै न्यूयोर्क मा बस्ने अर्का नेपाली संग चिनजान रहेछ उनि ग्यारेन्टी बसेर जेल मुक्त भएका रहेछन \ उनि भन्दै थिए \ भोक भोकै ,नसुती धेरै दिन जंगल ,जंगल खोला हिडेर आइपुगेका रे \ तिन चार जना नेपाली त बाटो मै मरे रे \ हे दैब मेरो छोरा ,परिबार अमेरिका जान हिडेको छ थाहा छैन आज सम्म केहि खबर नपाउदा ति आमा ,बा अनि जिबन संगीको के हालत भैरहेको होला !
    विभिन्न मुलुक मा दलाल हरुलाई पैसा खुवाउदै २५/३० लाख खर्च भएको कुरा गर्थे \
    मैले भने भाई ले नया जन्म पाउनु भएछ बधाई तर जुन जोखिम र खर्च गर्नु भो त्यो महा मुर्खाई हो \ उनि हो दाई भन्दै हिडे \ मैले लामो स्वास फेरे \ बारम्बार सुनिन्छ मेक्सिकोमा अपरिचित समुह समुह को लास भेटिएको समाचार \ सोच्छु ,यी नै चोर बाटो भएर आउने कुनै देशका मानिस त होलान ति ! कृपया कुनै पनि नेपाली ले यस्तो गल्ति नगर्नु होला \ देश बिगार्ने साशक लाइ तह लगाउनुहोस ,सुसाशनको लागि लागिपर्नुहोस ,आफ्नै देशमा गरि बसी खाने आधार निर्माणमा लागिपर्नुहोस तर चोर बाटो भएर परदेशमा हाम नफाल्नुहोस \ मरे बाचेको खबर नथाहापाउने जिबन नरोज्नुहोस \

    Reply
  11. shantdil says:
    August 30, 2012 at 6:30 am

    बुद्धि मा किरा परेका नेपाली हरुले मात्र येतिधेरै खर्च गरेर अमेरिका जान्छन, अमेरिका पुगेर पनि तेही पिजा बेच्ने र पेट्रोल पुम्प मा भारतीय साहुको मा कान्छा बनेर कामगर्ने हुन्. तेत्तिकै को लागि २०-२५ लाख नेपाली पैसा तिर्नु भन्दा बम्बैमा गएर तिनै धोतीको गुलामी गरेर बसे भैहलो नी. नेपाल का नेता र बाबुआमाको कमैमा मोज गर्न पल्केका हुतिहाराले यो भन्दा बढी दुख पाउनु पर्ने थियो.

    Reply
  12. Merin Nakarmi says:
    August 30, 2012 at 5:23 am

    मालाई सानो छँदा कराते सिकाउने गुरु पनि त्यही बाटो हुँदै अमेरिका आउनु भएको छ। उनी एकदम मिलनसार, सहयोगि, जो सँग पनि दोस्ती गरिहाल्ने र हसाइरहने बानि छ।
    उनले कत्ति दु:ख पाए उनैले जानुन तर उन्को यही प्रब्रित्ती ले गर्दा दलालहरूले उनलाई राम्ररीनै सहयोग गरेको जस्तो लाग्छ । त्यस्तो नराम्रो गुनासो त केही सुनेन मैले र
    टेक्सास मै राम्रो काम गर्दै हुनुहुन्छ। अनि मेरो रूममेट को एक्जना गाउँले भाई पनि त्यही बाटो हुँदै अमेरिका आउन खोजेको थियो। अस्ति सम्म अर्जेन्टिना बाट घरि घरि फोन
    गर्थ्यो। केही समय सम्म उस्को फोन आउन छोडेको थियो। मर्यो की जिउदो छ, शंका नै लागेको थियो। केही महिना पछि उस्को फोन आयो र टेक्सास आइपुगे भन्थ्यो । तर
    टेक्सासको जेलबाट पो फोन गरेको रहेछ। टेक्सास को Deportation अफिसर हरूले समाती रहेका छन्। पैँतालिस हजार डलर तिर्यो भने धरौतिमा रिहा हुन्छ रे र रिहा भएपछि
    उस्को सुनुवाई नभएसम्म Legally काम गर्न पाउछ रे नत्र भने फर्केर जानु पर्नेछ । त्यो भाई अझै पैतालिस हजार डलर जुटाउने तयारी गर्दैछ । आशा छ त्यो भाई चाँडै नै
    जेलबाट छुट्नेछ र उस्ले सोचेको जस्तो काम र पैसा पाउनेछ ।

    Reply
  13. बिक्रम नेपाली says:
    August 30, 2012 at 4:52 am

    खैरेनीका गोरा गाला, हरिया डलरको नोठको मोठले लोभ्याएर उखरमाउलो लगाएपछि ज्यान फ्यालेर भएनी – जम्लाहात भएर नि अम्रिका टेक्नै पर्ने मुढेबुद्दीहरुले आफैंले निम्ताको दशा आफैं पाउछन, विरानो अनकन्टार ठाममा नेपटीनछन् चेपटीनछन – धुकधुकी रहे निन्याउरो मुख लिइ फर्किन्छन!

    पढ्ने, शिप सिक्ने बेलामा कि नेपटीको पछि लागो कि वैंशको तुजुकमा मै हु पल्टिंदै दादागिरि गर्दै हीड़ो कि ठुटे नेताको पछि लागेर डुंगा मुड़ा गरो! के गर्ने त? भन्दा नहुने रछ दशा/हण्डर नपाए आफैं होसको विर्को नखुल्ने र छ!

    गरिखान नसक्ने यस्ता तिग्रे कति बिग्रे-बिग्रे, के को ट्याक ट्याक!!

    Reply
  14. शान्तिप्रेमी says:
    August 30, 2012 at 4:05 am

    यसरी मरिहत्ते गरेर अमेरिका प्रवेश गर्ने क्रम बढेको त्यहँ पुगेपछि वैधानीकता प्राप्त गर्ने उपायले पनि हुन सक्छ । अवैधानीक तरीकाले अमेरिका छिर्ने नेपालीहरूको लागि एउटा सहज उपाय छ असाइलम। धेरै नेपालीले असाइलम गरेर वैधानिक भएका छन्, १ बर्ष पछि ग्रिन कार्ड पाएका छन् अनि पाँच बर्ष पछि अमेरिकि नागरिक भएका छन् ।
    यहाँ केही नेपाली दलालहरू असाइल गराउने काममा लागिपरेका छन् अनि सायद हुनसक्छ उनीहरूको कनेक्शन ति नेपालबाट अमेरिका भित्राउने दलालसँग पनि गहिरो होला ।
    केही बर्ष अगाडिदेखि नेपालको द्वन्द्व को समस्या देखाए, खासगरी मावोवादी पीडित देखाएर यहाँ अवैधानिक तवरले आएका मानिसहरूले राजनीतिक शरण पोलिटिकल अश्य्लुम फायल गरेर वैधानिक हुने क्रम बढेको छ । तत्कालको परिवेशमा यो उचितै थियो होला ।
    तर हाल देशको नाम बेचेर, देशमा हुँदै नभएको समस्या देखाएर जुन एसाइलम गरिन्छ, वास्तवमा त्यो नैं समस्याको एउटा प्रमुख जड हो ।
    हुनत अमेरिकि सरकारलाइ पनि थाहा हुनु पर्ने हो अहिले नेपालमा मावोवादी पीडित कोहि छैन भनेर, तर विभिन्न नक्कली र फर्जि कागजमा आधारमा अमेरिकि सरकारले पनि असाइललाइ मान्यता दिइहरेको सन्दर्भ उसको नरमपना हो कि !
    उता यो कुराको नेपाल सरकार, र यहाँको दुतावासले पनि अन्ध समर्थन गरिरहेको छ । समग्रमा भन्नु पर्दा नेपाल सरकार, यहाँको दुतावासले अमेरिकी सरकारलाइ जोड दिएर, वास्तविकता जानकारी गराएर, असाइलम प्रकृयामा कडाइ गर्न अनुरोध गर्ने हो भने अवश्य पनि यो भयावह मानव तस्करीको क्रम केही हदसम्म कम हुने थियो ।

    Reply
  15. Prakash Tiwari, NYC says:
    August 29, 2012 at 11:17 pm

    एक जना मैले चिनेको लिम्बु ठेकदार जो पछि क्रिस्टियन भएले 12 वर्ष अगी अमेरिका जान उबेलाको ५ लाख दलाललाई बुजाएका थिय भन्थे / मुम्बईबाट पानी जहाज बाट कहाँ-कहाँ टापू भएर तीन चार महिनामा सिंगापुरको टापुमा अलपत्र भएछन र नेपालीले टिकेट किनेर नेपाल पुगेका कुरा मसंग पाच वर्ष अघि गरेका थिय / आजकल भन्छन रे उबेलामा नारनथानमाथि तेती पैसाले आउने एक रोपनी जग्गा कीनेको भए अहिले करोडपति हुन्थे / उनको लागि अमेरिका दशा भयो रे / Construction कम्पनिमा काम गरि करोड कमाउने चाहना बसी बसी नेपालमा पुरा हुन्थ्यो मेरो बुद्दी बिग्रेको ५/६ वर्षको कमाइको बचत माटोमा मिल्यो / येस्ता कुरा गर्थे पछि उनी /

    Reply
  16. शशांक लामा NY says:
    August 29, 2012 at 10:55 pm

    कि त असाधारण बौद्विक प्रतिभा हुनुपर्यो, कि त बेस्मारी पाखुरी बजाउने सक्ने हुनुपर्छ अमेरिका आउनलाई! यो दुवै नहुने बिचकाहरुले पैसो बनाउन सक्दैन है| नढाँटी भन्दा मानिसहरु पैसोको निमित अमेरिका भासिन्छन| यहींका रैथानेहरु पनि १० महिना खटेर काम गर्छन र १ महिना आराम गर्छन र १ महिना घर व्यवहार चाँजो पाँजो मिलाउन्छन्| अठोट, हिम्मत, लगनशील र जुझारु व्यक्तिको लागी अमेरिका स्वर्ग हो| बाबुसाहेब भैटोपल्ने, स्वांगे, अल्छे, चन्दे र परजिवीको लागि अमेरिका नरक हो| मा त भन्छु नेपालमा चन्दा मागेर गुजारा चलाउने परजिविहरुलाई एकचोटी अमेरिकाको श्रम चखाउनु पाए साह्रै आनन्द आउंथ्यो| अमेरिका नआउनुहोस मा भन्दिन, तर आउँदा कर्मवीर भएर आउनुहोला| धेरै तलब खाने डाक्टरहरु धरी अस्पतालभित्र दैनिक ५, ७ किलोमिटर हिंडेका हुन्छन भने दोकान, गोदाम र चमेनालयमा घन्टाको ९ १० डलर तलब थाप्नेहरू १० घण्टा उभ्भेर काम गर्छन| घन्टाको १० डलर भनेर दंग नपर्नुहोला| एउटा एक कोठे एपार्टमेन्टको भाडा महिनावारी १२०० डलर कम्तिमा पर्छ| अनि अन्य अगडम बगडम खर्चहरु त छंदैछ| तर हिम्मतिला हजारौं नेपालीले अमेरिकामा काम गरेर नेपालको घर खर्च चलाउँदै आएका छन्|

    Reply
    1. Shas says:
      August 30, 2012 at 7:29 am

      हाहाहा डाक्टरहरु ७ किलोमीटर हिड्ने रे ? म पनि ३ वर्ष देखि यहि छु 🙂 कुरो अलि मिलेन .

      Reply
  17. kalpana bhandari says:
    August 29, 2012 at 8:46 pm

    होइन यो अमेरिका भन्ने शब्दले हामी नेपालीहरुको दिमागमा कस्तो छाप पारेको होला/ अमेरिका भने पछि हामी खादै गरेको भात , मर्न लागेका बुबा -आमा,गर्भवती श्रीमती , नाबालक छोराछोरी सबै छोडेर जान तयार छौ/ साथीहरु तेती सजिलो छैन हौ यहाँको पनि जीवन / दिनरातको परिश्रम, दिमागमा जहिलेपनि के होला भन्ने तनाब, आफन्तहरुको सम्झना ले रातदिन पोल्छ / कति बहादुर हामी नेपाली तेत्रो पैसा दलाल लाइ दिएर जोखिम मोलेर भए पनि आउन तयार छौ / सहि तरिकाले आउन सक्नु हुन्छ भने आउनुहोस नत्र यी नहुने लफडामा नलागेकोनै बेश हुन्छ / आफ्नु देशमा नै धेरै विकल्प हरु खोजेर आफ्नु परिवारसंग हासी-खुसि रमाउनु नै तपाइँहरुको महानता हुन्छ /

    Reply
  18. jitu says:
    August 29, 2012 at 7:40 pm

    अबैध तरिकाले अमेरिका आउनेले बैध रुपमा काम पाउदैनन . यहाँ तेसरी आउनेहरुले legal कागतपत्र बनाउने भनेको कि त यहाँ को resident अथवा citizen संग बिहे गर्नु पर्यो वा अदालतमा asylum (नेपालमा राजनीतिक पिडित भनेर ) हाल्नु पर्यो, सबै प्रक्रिया पुग्यो भने पनि २-३ बर्ष लाग्छ ग्रीन कार्ड पाउन. नत्र भने साना business , gas station मा घण्टा को ७ डलरमा काम गर्ने हो त्यो पनि पाउन गारो छ अहिले recession (आर्थिक मन्दीको) प्रभावले गर्दा. परिवार, देशबाट बन्चित त भईन्छ नै, दलाललाई दियको पैसा उठाउन पनि धेरै बर्ष लाग्छ .
    तर DV परेर वा student visa मा आउने हरुको लागि भने धेरै कुरा सजिलो हुन्छ, तेती दुख खेप्नु पर्दैन, legal status हुन्छ. यहाँ बस्ने कोहि छन् भने सोधेर बुझेर मात्र बिदेसिने प्रयास गर्न अनुरोध छ .

    Reply
  19. Som nath says:
    August 29, 2012 at 5:32 pm

    बिचरा हामी बुद्दी नभएका नेपालीहरु कति सोझा है यसको फाइदा कति मज्जाले उठेका दलालहरुले , कहिले आउला हाम्रो बुद्दी

    Reply
  20. thapa rajbarsingha / canada says:
    August 29, 2012 at 4:47 pm

    तेत्रो पैसा हुने हरु त राम्रो तालिम लिनु , भाषा सिक्नु ,लिगल रुपमा आउनु या तेत्रो पैसा लगायर व्यपार गरे त् जुन देशको नि भिसा लागि हाल्छ नि मुला हरु…हामी केहि नहुने त
    बिना पैसा अरब गइयो २/४ वर्ष दुख गरियो तालिम लिएयो ,राम्रो काम गरेर प्रमोसन भैयो अनि फोकट मै यता तिर आउन सकियो ..गरे के नहुनी छ र ,

    Reply
  21. rabi says:
    August 29, 2012 at 4:42 pm

    हैन मैले नबुझेको एउटा कुरा के नेपाली हरुले आफै मेक्सिको, क्युबा को भिसा लगुना सक्दैनन्? ति देश हरु त तेती धनि हैनन् अनि त्यहाँ घुम्न गयो मज्जा ले ४/५ महिना सम्म घुम्यो अनि अलि बुझिन्छा अनि आफै छिर्यो किन तेत्रो दुख गर्नु पर्ने? एदी दलाल लागौनुनै पर्ने हो भने मेक्सिको को बोदर बाट अमेरिका सम्म मात्र लगाए हुदैन? २५ लाख ले त ३ वर्ष मेक्सिको मा मोज गर्दै बसेर अमेरिका छिन सकिन्छा होला

    Reply
    1. sherpa says:
      August 29, 2012 at 6:25 pm

      सबैका बुद्दी सर को जस्तो का हुन्छ र? बुद्दी बिग्रेकाले तिर्ने हुन् २०/२५ लाख.
      म तरकारी व्यापार गर्छु नेपालमा मेरो कमाई मासिक ३०’००० रुपिया नेट हुन्छ येहा, के को अमेरिका न समेरिका…….,

      Reply
    2. dor prasad says:
      August 29, 2012 at 7:23 pm

      यो कुरो मैले पनि बुझेन ! म एउटा सम्मेलन मा २ दिनको लागि जादा त १० बर्ष को भिसा पाय मेक्सिको को ! अलि सम्पति र कारण देखाउदा भिषा पाउन गारो न पर्नु पर्ने हो ! तर मेक्सिको को बाट अमेरिका छिर्न कम खतरा छैन नि साथी !!! साबधान …बरु नेपाल मै २० ओटा गाइ वा २०० खसी पल्न्सके …कहिँ दुख पाउनु पर्दैन ….

      Reply
    3. Bino, Italy says:
      August 29, 2012 at 9:04 pm

      सबै लाई हतार छ अनि कसरी घुम्दै बसेर रुट बुझ्न भ्याउछन् त हौ? हुन त के थाह फेरी दलाल संग जादा पनि लाग्ने महिना उत्तिकै भनेर…………त्यसरी बुझ्न थाले भने त कहाँ अमेरिका जान्छन् र ? उनीहरु नै अमेरिका पठाउने दलाल बनिहाल्छन् नि l अहो कति कहाली लाग्दो छ है अमेरिका जाने घुमाउरो बाटो ?

      Reply
  22. Sandeep Rimal says:
    August 29, 2012 at 3:47 pm

    सब मिलेर त्यो ३५ लाखले नेपाल मा केही गर्ने हो भने नेपाललाई नै अमेरिका बनाउन सकिन्थ्यो कि, कैले जागिर को नाममा, कहिले पढाईको नाममा कती बिदेशी भुमीमा नेपाली पैसा बगाइरहने ,
    जनताले त सोच्न नसक्लन यि कुराहरु तर सरकारले, सरोकारवाला हरुले त सोच्नु पर्ने हो,
    नेपाली नै नेपाली लाई ठगेर धनी हुन खोज्दै छन कस्तो अन्धकार हुँदैछ हाम्रो भविस्य???

    Reply
  23. Laxima Dhungana says:
    August 29, 2012 at 3:22 pm

    कुरा आज भन्दा ४ -५ बर्ष अगाडि को मेरो चिनजानको दाई पनि अमेरिका जान भनेर हिंड्नुव्एको थीयो तर उहालाई अमेरिका भिसा बिना नै १०- १४ लाख नेपाली तिरेर कतार को बाटो हुदै अमेरिका छीराउने गरी उहा हिंड्नु भएको थीयो तर ,६-७ महिना पछी उहाको फोन आएर उहाको घर परिवार ले पैसा पठाइदिय पछी उहा नेपाल फर्क्नु भयो ।नेपाल फर्किन्द उहाको शरीर पहिलाको तुलनामा आधा मात्र थीयो ,उहा हरु लाई कती दिन खानै नदिएर राखेको थीयो रे अनी उनिहरु ले उहाहरु लाई अमेरिका पुरयाउन नक्स्ने देखे पछी मार्ने योजना बनएका रहेन उहा कसो कसो एक्जना व्यक्तीको सहयोगमा शकुसल नेपाल फर्क्नु भयो र आज अफ्फ्नो पेसामा अफ्फ्नो घर परिवार सँग आनन्दको जीवन बितैरहनु भएको छ । तेत्रो पैसा खच गएर उहा मिर्थुको मुखबाटमा पर्नु भयो तेसैले हुँदा खादाको अफ्फ्नो जीवन लाई यस्तो दलालको फन्दामा फसाएर न्पएको दु:ख अफ्फैलाई नदिन आग्रह गद्छु .

    Reply
  24. gyanu says:
    August 29, 2012 at 2:36 pm

    सबै युवा ऋण काढेरै जाने हुन् …विदेश त्यो माथि पनि अमेरिका जाने भने पछी साहु हरु ले जति चाहे पनि ऋण सजिलै दिन्छन ,,नतिजा यस्तो निस्कन्छ /ति युवा ले त्यो पैसा लगानी गरेर यहि केहि गर्छु भन्दा न साहु न आफन्त कसैले नै एक कौडी दिन्छ
    के गर्नु दलका नेता फटाहा ..सरकार निकम्मा …उफ !! यो बेरोजगारी!!!!

    Reply
  25. मदन भट्टराई, इजरायल says:
    August 29, 2012 at 2:31 pm

    बिगत केहि बर्ष यतादेखि दलाल मार्फत अमेरिका जाने नेपालीहरुको लर्को निकै लामो छ. अन्य देश पुगेका नेपालीहरु पनि २०-२५ हजार डलर तिरेर अमेरिका पुग्न धेरै प्रयास गरिरहेका छन. ति मध्ये कहिले मात्र सफलता पाउछन भने बाकीले आफ्नो अमूल्य समय र पैसा डुबाएका छन. हामी नेपालीहरुको सोचाई कति दरिद्र छ भने अमेरिका पुग्ने बित्तिकै बोटबाट पैसा टिपेर घर पठाउन सकिन्छ भन्ने छ. त्यो त सपना मात्र हुन्छ जब त्यहाँ पुगेर कामको खोजीमा दिनरात नभनी कुद्नु पर्दा अनि काम भेटिहाले पनि कामको दुख देख्दा. कुरा
    कुरा गरौ त्यहाँ लाग्ने खर्चको:- नेपालबाट अमेरिका जानको लागि १ जनाले दलाललाई मात्र २० लाख माथि बुझाउनु पर्छ बाटो खर्चको त हिसाबै नगरौ. मानि लिउँ २०० जना नेपाली युवा जो माथि उल्लेखित खर्च अनुसार अमेरिका जान चाहन्छन र जसको लागि दलाललाई बुझाउनु पर्ने रकम हुन्छ ४० करोड. यति ठुलो रकम बुझाउदा पनि अमेरिका पुग्नको लागि अनेकन बाधा, व्यवधान अप्ठ्यारा र कष्टहरु झेल्नु पर्ने हुन्छ र महिनौ लाग्न सक्छ. कुरा गरौ नेपालमा त्यति ठुलो लगानी गर्ने ठाउँको. नेपालमा आजको मितिसम्म एउटा मात्र केबलकार छ जुन मनकामना केबलकारले चिनिन्छ. त्यस्ता धेरै ठाउँ छन जहाँ केबलकार संचालन गरे बर्षौसम्म धेरैभन्दा धेरै आम्दानी गर्न सकिन्छ. जस्तै:- काभ्रेपलान्चोकमा पलान्चोक भगवती मन्दिरमा त्यस्तै ताप्लेजुङको पाथीभरा मन्दिरमा, पूर्वको पशुपतिनाथका नामले चिनिने हलेसी महादेव खोटाङमा केबलकार निर्माण गर्न सकिन्छ जुन सरकारले पनि सम्भाव्यता अध्यायन गरी उपयुक्त स्थानहरु छनौट गरिसकेको छ साथै लाग्ने लागत खर्च, त्यो लागत उठ्ने समय र निर्माण अवधि पनि अध्यायनमा उल्लेख गरेको छ.
    अब एकछिन सोचौ त के हामी युवाहरु यस्तै बाधा, व्यवधान अप्ठ्यारा, कष्ट सहदै र जोखिम मोल्दै अमेरिका जानेकी माथिको योजना जस्तै केहि काम आफ्नै देशमा गर्ने. म यो कुनै भावनामा बहकिएर सल्लाह दिन खोजेको पक्कै हैन. एकता र सद्भाव कायम गरी दुई तिन सय युवाहरु मिले यस्ता काम गर्न सम्भब छ र भविस्य पनि छ. आजै बाट काम शुरु गर्ने की…………………….

    Reply
    1. dor prasad says:
      August 29, 2012 at 7:44 pm

      उदेस्य १: अमेरिका मै घरजम गर्ने र नागरिक हुने

      (क) अध्यन को लागि – अमेरिका मा राम्रा university भएको ले अध्यन गर्न जति कठिन भय पनि तेस पछी अमेरिका भित्रै अथवा नेपाल अथवा अन्ने देश हरुमा राम्रो अवसर मिलन सक्छ रोजगारीको ….
      (ख) तपाई सोस्थ र जगरिलो हुनु हुन्छ र केहि गरि immigration पपेर (dv वा अरुकुनै ) गर्नु सक्नु हुन्छ र अमेरिका मा अध्यन वा बुसिनेस गर्ने उदेस्य राख्नु हुन्छ भने

      उदेस्य २ : अमेरिका मा पैसा कमाउने र घर फर्कने

      (ग) कुनै विसा मा, यक्लो बेक्ती, सोस्थ र दिनको १८ घण्टा काम गर्न सक्ने,

      मेरो बेक्तिगत बिचारमा उदेस्य १ अवस्था मा अमेरिका आउनु ठिक छ | उदेस्य २ गैरकानुनी हो र सोचे जस्तो परिणाम न आउन सक्छा | २५ लाख तिरेर चोर बाटो बाट औउनु सर्वथा बेठिक …..

      Reply
  26. कृष्ण श्रेष्ठ says:
    August 29, 2012 at 1:47 pm

    ईमान्दारिका साथ मेहनत गरियो भने आफ्नो देशको माटोमा सुन फलाउन सकिन्छ।लाखैा खर्च गरेर यो किसिमको दुख भोग्नु आवश्यक पर्दैन । त्याहा जान गरिने खर्च नेपालमा लगानि गर्ने हो भने राम्रो ब्यबसाय गर्न सकिन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme