Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विकास थापाले पाए सफाइ

Posted on August 28, 2012August 29, 2012 by Salokya

सँधै अरुका खबर लेख्ने इकान्तिपुरले २०६७, भदौ १६ मा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको थियो। कान्तिपुरभित्रबाट भएको ठहरका कारण नै १८ वर्ष कान्तिपुरमा सेवा गरेका थापाले जेलको चीसो छिँडीको विशिष्ट उपहार पाए। पुर्पक्षका लागि जेलै बस्नुपर्ने काठमाडौँ जिल्ला अदालतको फैसलालाई पुनरावेदनले सदर गरेपछि उनले साढे तीन महिना जेल बस्नुपर्‍यो।

दुई वर्षपछि आज सुरु अदालत काठमाडौँ जिल्ला अदालतको न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले ‘शंका र अनुमानको आधारमा आरोप प्रमाणित नभएको’ भन्दै सबै आरोपबाट सफाइ दिने फैसला सुनाएको छ। फैसलापछि माइसंसारसँग कुरा गर्दै थापाले भने, ‘दुई वर्षदेखिको संघर्षमा विजय हात परेको छ। यो न्यायको जित हो।’

‘मलाई माफी माग भनिएको थियो, तर आफूले नगरेको गल्तीमा माफी नमाग्ने अडान राखेकोले यो बीचमा निकै दुःख कष्ट भोग्नुपर्‍यो’, उनले भने।

कान्तिपुरमा स्थायी जागिरे हुनुहुन्थ्यो, जुन आरोप लगाएर तपाईँलाई सुरुमा निलम्बन र पछि बर्खास्त गरियो, त्यो त पुष्टि भएन। अब के गर्ने सोच्नुभएको छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘मलाई अन्यायपूर्ण रुपमा बर्खास्त गरिएको विरोधमा श्रम अदालतमा मुद्दा हालेको छु। त्यसको फैसला भएपछि मात्रै अब के गर्ने भन्ने निर्णय गर्नेछु।

कान्तिपुरमा प्रकाशित समाचारमा ‘थापाले पब्लिकेसन्समै कार्यरत महिला सहकर्मीलाई इमेलमार्फत गाली-गलौज र अश्लील शब्द प्रयोग गरी लामो समयदेखि मानसिक यातना दिँदै चरित्रहत्या गर्न खोजेको आन्तरिक छानबिनबाट प्रमाणित भएपछि व्यवस्थापन बर्खास्त गर्ने निर्णयमा पुगेको’ बताइएको थियो। समाचारमा भनिएको थियो- ‘पब्लिकेसन्स व्यवस्थापनले पत्रकारिताजस्तो जिम्मेवार पेसामा आबद्ध व्यक्तिले गैरजिम्मेवारपूर्ण क्रियाकलाप गर्नुलाई गम्भीर अपराध ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ।’

यसअघि पत्रकार महासंघको डेलिगेसनलाई अदालतको आदेशबाट निर्दोष भएको प्रमाणित भए उनलाई पुनर्बहाली गर्ने व्यवस्थापनले बताएको समाचार त्यतिबेला प्रकाशित भएको थियो। जिल्ला अदालतको फैसलापछि व्यवस्थापनको प्रतिक्रिया आएको छैन। वादीले फैसलाको विरोधमा पुनरावेदन गर्छिन् कि गर्दिनन् पनि प्रष्ट भइसकेको छैन।

थापाको पक्षमा माधव बस्नेत, शेरबहादुर केसी, बाबुराम अर्याल, बल्लभ बस्नेत लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।

थापाविरुद्ध गाली बेइज्जती ऐन र विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो। दुवैमा उनले सफाइ पाएका छन्। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर प्रमाणित भएको भए उनले १ लाखसम्म जरिवाना र पाँच वर्षसम्मको जेल सजाय पाउन सक्थे। साइबर क्राइमसम्बन्धी मुद्दा हेर्ने कानुन व्यवसायी बाबुराम अर्यालका अनुसार अहिलेसम्म विद्युतीय कारोबार ऐन अन्तर्गतको कुनै पनि मुद्दामा सर्वोच्चले अन्तिम फैसला गरिसकेको छैन।

इमेल गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत पुर्पक्षका लागि साढे तीन महिना जेलमा समेत बस्नुपरेकोले यो मुद्दालाई यो ऐन अन्तर्गतको विशेष मुद्दाका रुपमा हेरिएको थियो। जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलले सम्पादक सुधीर शर्माको चिठ्ठी हेर्दा थापा बेकसुर नदेखिएकाले पछि ठहरेबमोजिम हुने गरी हाललाई थुनामै रहेर सुनुवाई हुनुपर्ने निर्णय दिएका थिए। इमेलको वैज्ञानिक अनुसन्धान नगरी फगत कान्तिपुर सम्पादकको चिठ्ठीलाई आधार मानेर फैसला सुनाउने जिल्ला न्यायाधीश पौडेलको निर्णयलाई २१ असोजमा पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिवंश त्रिपाठी र विश्वम्भरप्रसाद श्रेष्ठले सदर गरेका थिए। सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारी र प्रकाश वस्तीको संयुक्त इजलासले फैसला नउल्ट्याएसम्म उनी सुन्धाराको कारागारमै बस्न बाध्य भएका थिए।

के थियो कान्ड?
विकास थापामाथि अश्लील इमेल गरेको आरोप लगाइए पनि उनको इमेलबाट ती इमेल पठाइएका थिएनन्। यो सब काण्ड मच्चाउने इमेल ठेगाना थियो [email protected] आफ्नो जीमेल आइडीमा अपरिचित इमेलबाट पटकपटक अश्लील चित्र र शब्द आउन थालेपछि डेढ महिनाअघि मैनाले कान्तिपुरको आईटी विभागमा जीमेल बन्द गरिदिन खबर गरेको बताएकी थिइन्। मैनाको जीमेल हेर्दै आईटी विभागले त्यस्ता इमेल अफिसकै कम्प्युटरबाट आउने गरेको ठहर गरेको थियो। यस बारेमा मैनाले सम्पादक सुधिर शर्मासँग परामर्श गरेको उल्लेख गरेकी थिइन्। आइटी विभागको भनाइ सदर गर्दै सम्पादकले विकासलाई मैनासँग माफी माग्न भनेका थिए। विकासले आफू निर्दोष भएको बताउँदै माफी नमागेपछि त्यही आइटी विभागको भनाईलाई आधार मान्दै उनीमाथि कारवाही अघि बढाइएको थियो।

त्यतिबेला हामीले यस्ता केही प्रश्न उठाएका थियौँ-

सयौं कम्प्युटरको विन्डोज लगइन पासवर्ड हातमा लिएर बस्ने कर्पोरेट हाउसका आइटी विभागहरु स्वतन्त्र न्यायिक निकाय हुन् अथवा मालिकको इसारामा नाच्ने कसुले मात्रै?

इमेलमा आउने अश्लील सन्देश, फोटो र भिडियो व्यवस्थापनको जिम्मा कसको हुने? जीमेल, याहू जस्ता निःशुल्क इमेल सेवा दिनेहरुले त्यस्ता इमेल आएमा तपाइँ स्वयंलाई स्पाममा रिपोर्ट गर्न वा इमेल आइडी नै ब्लक गरिदिने सुविधा दिएका छन्। तर मैनाले जस्तै स्पाम रिपोर्ट वा आइडी ब्लक गर्नुको सट्टा अनुसन्धान कारवाही अघि बढाउन चाहने सर्वसाधारणलाई ६ महिनासम्म अनुसन्धान गर्न अदालत कहाँ सम्पर्क राख्न आदेश दिन्छ? किनभने मैना जस्तै सबै इमेल प्रयोगकर्ता सर्वसाधारण शक्तिशाली आइटी विभागको पहुँचमा छैनन्। र, प्रहरी यी सब कुरामा सक्षम देखिएको छैन। फलानो ठाउँमा बम पड्काएको भन्ने स्वीकारोक्तिसहितका वक्तव्यहरु इमेलमा आउँदासमेत त्यस्ता इमेल पठाउनेमाथि कारबाही भएको अहिलेसम्म देखिएको छैन।

कर्पोरेट हाउसका आइटी विभागको रिपोर्टलाई आधार मान्दै मालिक र विभागीय प्रमुखले ‘अपराधी ठहर’ गर्नासाथ जो कोही अपराधी प्रमाणित हुने अवस्था बनेको हो भने कम्प्युटर सम्बन्धित विषय निरुपणमा अदालतको औचित्य कहाँनेर हुने?

न्यायमूर्तिले फैसला गर्दा बहसमा उठेका तर्क, उपलब्ध तथ्य, इन्टेन्सन, इमेल प्रयोग भएको कम्प्युटर र इमेल पठाएको समय, कम्प्युटर आइपी एड्रेस र त्यसको प्रयोगबाट खुल्न सक्ने तथ्यलाई आधिकारिक मान्ने कि कर्पोरेट हाउसका मालिक र विभागीय प्रमुखको पत्रलाई अकाट्य प्रमाण ठान्ने ?

त्यसैगरी प्रविधिका जानकार अनिश भट्टराईले पनि यस्ता प्राविधिक प्रश्न उठाएका थिए।

यस्ता प्रश्नसहितको ब्लग निरन्तर फलोअप गरेपछि माइसंसारलाई “होश गर्नुस् है, विद्युतीय कारोबार ऐन छ, तपाईँलाई पनि लगाइदिउँला’ भन्ने समेत धम्की दिइएको थियो।

अदालतको पूर्ण फैसला आइनसकेकोले यस्ता प्रश्नहरुमा अदालतले के निर्णय गर्‍यो, हेर्न बाँकी छ। पूर्ण फैसला पाएपछि हामी त्यसलाई पनि सार्वजनिक गर्नेछौँ।

पुराना ब्लगहरु हेर्नुस्
(सर्भर सार्ने क्रममा प्राविधिक समस्याले पुराना ब्लगका फोटोहरु नखुल्ने भएकोमा क्षमा चाहन्छौँ)
कान्तिपुर काण्ड अदालतमा, थापा थुनामा
विकास-मैना इमेल काण्ड सर्वोच्चमा, भक्तपुरबासीले घेरे कान्तिपुर
पत्रकार थुन्दा चुप बसेकोमा महासंघ कार्यालय घेराउ
यस्तो छ थापालाई थुनाउने पत्र
इमेल गरेको अभियोगमा थापा थुनामै
विकास थापा थुनाउने जीमेलको सेरोफेरो
विकास थापा रिहा गर्न सर्वोच्चको आदेश

17 thoughts on “विकास थापाले पाए सफाइ”

  1. cRIS says:
    August 31, 2012 at 5:32 am

    माइ संसारको यो follow up को लागि धन्यबाद, reporting यसरि पूर्ण रुपले गरिनु पर्दछ.

    Reply
  2. madan bajracharya says:
    August 29, 2012 at 1:49 pm

    अदालतले बिकाश ज्युलाई निरपराध मात्रै भनेर पुग्दैन बिकाशलाई झूठो मुद्दा लगायर जेल पठाउने जागीर बात निकालने कान्तिपुर लाई पनि सजाय हुनु पर्ने थियो त्यों त भयन किन? नेपालमा तर्साउन सक्नेको राज चालेको प्रमुख कारण नै अनाहकमा दुःख पायाकाले दुःख दिने बात गतिलो छ्यती पुर्ति पाउने कानून नभयकोले हो/

    Reply
  3. Haribol Kuikel says:
    August 29, 2012 at 11:04 am

    जब अदालतले नै निर्दाेष भनेर सफाइ नै दिइसक्यो भने ऊ बेकसुर छैन भन्ने काल तामाङको नाममा फेक आइडी बनाएर प्रतिक्रिया दिने यो मान्छे दलाल हो । माइ संसारमा सारा जनता, जसले आप्mनो सच्चा नाम र इमेल आइडीसमेत राखेर प्रतिक्रिया दिएका छन् तिनलाई फेक भन्ने ? सम्पादकज्यू यो काल तामाङ भन्नेको आइपी एड्रेस सार्वजनिक गरिदिनु होस् त यो कसको दलाल भन्ने छर्लंग हुन्छ ?

    Reply
  4. कुसुम ज्ञवाली says:
    August 29, 2012 at 9:48 am

    अदालतले नियम र प्रमाण हेर्छ, मान्छेको मुख र पूर्वाग्रह हेर्दैन । कान्तिपुर भित्रका हाकिमहरूले महिला पत्रकारहरू माथी गर्ने गरेका ज्यादतिको खवर पनि अायो, विकास थापाले सफाइ पनि पाए, स्याल गाउँमा चिल अायो भनेर चिच्याउने अनि गाउलेहरू चिल हेर्न पट्टी लाग्दा, उसले गाउँलेका कुखुरा चोर्ने गरेको कथा अहिले कान्तिपुरमा पनि चरितार्थ हुने रहेछ की क्या हो ?

    Reply
  5. मणि says:
    August 29, 2012 at 8:41 am

    पत्रकारिताको ढोंग रचेर त्यहा भित्र अनेक खेल हुन्छन हामि सब्बैलाइ थाहा छ| एउटा उदाहरण – के कुनै पनि मेडिया हाउसले आफ्नो ऋण अनि ब्याज को कहिल्यै कुरो गर्छ? के तिनका मालिक हरु अर्बौ सम्पत्ति का मालिक हुन् र तुरुन्त भन्नासाथ् लगानी गर्न सक्छन? सबै भन्दा धेरै भ्रस्टाचार गर्ने ठाउ हो मेडिया हाउस अनि ब्लाकमेल पनि!
    एउटा कुनै पुजीपतिको आर्थिक समाचार लेख्ने पत्रकारलाई तुरुन्तै खामबन्दी ‘रोकड़ा’ आउछ किनकि त्यहा अर्को पल्ट त्यो पत्रकारले अरुको खबर नलेखोस भनेर!
    जहासम्म जल सरोकार को बिसयमा बिकाश थापाले लेख्नु हुन्थ्यो, त्यो समाचार प्रकाश सरन लाइ मन पर्दैन थियो किनकि जहिले पनि थापा जीले बिधुत अनि उर्जा, जल-माफिया लाइ उदांगो गर्न खोजेका हुन्थ्ये अनि प्रकाश सरण ति मद्धेका एउटा, नत्र अहिले सबै कांग्रेसी कसरी भ्रस्टचारी खोर मा छन् त?
    निडर लाई दुख हुन्छ तर फैसला सहिनै भएर रहन्छ! सलाम छ बिकाश जी!

    Reply
  6. Kaai Taamang says:
    August 29, 2012 at 8:18 am

    बिकासले अदालतबाट जित प्राप्त गरेपनि मलाई लाग्छ उनी बेकसुर छैनन् किनकी म उनलाई राम्ररी चिन्ने मान्छे हुँ । यो लेख पडेकै भरमा पाठकले उनलाई चिन्दैनन् लेखको आधारमा पर्तिकिर्या आएको जस्तो छ । उनले गलत ID बनाएर एस्ता हर्कत सजिलै गर्न सक्ने मान्छे हुन् । आफुले(उनले) भनेको मान्छेलाई हाइड्रोपावरको लाइसेन्स दिएन भनेर मेलम्चिमा जे पायो तेही लेख्ने चरित्र हत्या गर्ने कान्तिपुर पत्रिकालाइ गलत काममा प्रयोग गर्ने मैना बाहेकका धेरै महिलाको समेत सार्वजनिक ठाउमा बेइजत गरेर बोल्दा बसन्तपुरमा उनले कुर्चिको पिटाइ खानु परेको होइन ? एस्ता सन्कहालाई यो काम कुनै ठुलो कुरो होइन।

    Reply
    1. Ramesh Bhandari says:
      August 29, 2012 at 11:54 am

      व्यक्तिगत रिस न देखाउनु होला साथी किन भने विकास थापा जल सरोकारमा ज्ञाता पत्रकार हुन् भन्ने मेरो ठहर छ / र उनले लेखेका समाचार हरु १००% नै त न भनौ ८५% चाही सत्यता हुने गर्थ्यो / तपाइलाई थाहै होला नेपालमा साचो कुरा गर्यो भने कि त जेल जानु पर्छ कि त गोलि खानु पर्छ तर जे होस् सत्यको जित भएको छ अनि र अनाहकमा जेल बसेर मानसिक यांत्रना बेहोर्नुभएका विकास थापा ज्यु लाई बधाई दिदै यहाको पूर्ववत जल सम्बन्धि लेखहरु पढ्न पाइएला भन्ने आशा गरेको छु / र अर्को कुरा विकास थापाले जल सम्बन्धि लाइसेन्स बाड्ने काम गरेको पनि थाहा छैन अनि राम्रो काम लाई राम्रो नै लेखेका पनि छन् /

      Reply
    2. Suman says:
      August 29, 2012 at 9:12 pm

      थुक्क वाहियाते काम नभएकाहरु!
      आफै आपसमा लड्न र भिड्न सक्छौ भने|
      किन बिचरा काले तामांगको मकुँदो ओडेर त्यसै पनि नेपालमा सीमान्तकृत र उत्पीडित
      तामांग जनजातिलाई बदनामी गर्न खोज्छौ?

      Reply
  7. Drona Rana says:
    August 29, 2012 at 7:12 am

    बिकाश थापा निर्दोष हुन् ! कान्तिपुर पब्लिकेसनबाट ज्यादती भएकै हो ! जनता माझ कान्तिपुरको विश्वासनियता गुम्दै गयको छ ! संचार माध्यम जस्तो निकाय वाट आफ्नै कर्मचारी माथि गरियको व्यवहार प्रति हामि सर्बसाधारण जनता हरु धेरै संबेदनशिल भएका छौ

    Reply
  8. Prajin Thapa says:
    August 29, 2012 at 7:05 am

    बास्तवमा कान्तिपुरकर्मी बिकाश थापा माथि अन्याय भएकै हो ! निर्लज्ज ढंगबाट कान्तिपुर पब्लिकेसनले वहा माथि षडयन्त्र गर्यो . प्रेस स्वोतन्त्रताको ओकालत गर्दै हिड्ने कान्तिपुर पब्लिकेसन ले आफ्नै सहकर्मी माथि अन्याय गरेको छ ! मैना धिताल भन्ने स्वोयम ले नियोजित रूपमा बिकाश थापाले प्रयोग गर्ने कम्पुटर बाट [email protected] आइ डि बाट मेल गर्ने गरेको र वहालाइ फसाएको बुझिन आएको छ ! कान्तिपुर ले आफ्नै सस्थामाथि झापड हान्ने काम गरेको छ ! बैज्ञानिक अनुसन्धान नगरी थापा माथि भएको कारबाही धेरै हास्यासपद छ !

    Reply
  9. prabesh yonjan says:
    August 29, 2012 at 6:26 am

    निर्दोस लाई दोषी दिने कस्तो आयो समय

    नेपाल बसी छोरा छोरी लाई पालनू पर्छ कमाई

    विकास थापा निर्दोष थियो किन गयो जेल्मा

    कांतिपुर पस्यो हेर्नुस अब राजनीतिकों खेलमा !!!

    प्रबेश योंजन

    Reply
  10. Uma Gurung says:
    August 29, 2012 at 1:47 am

    कहिलेकाँही मलाई अचम्म लाग्छ ! संसारमा कहीँ नभएको घटना, अदालतीय आदेश, प्रेस स्वतन्त्रता, पक्षपातपूर्ण न्याय, ठूलो अपराधमा नगन्य सजाय अनि सानो आरोपमा ठूलो सजाय किन नेपालमै हुन्छ ?
    आरोपको वैज्ञानि क निष्पक्ष छानविन नै नगरी किन आरोपीलाई विभिन्न नाममा दुःख दिइन्छ ?
    एउटी सहकर्मीको गलत आशय (अदालतले सफाइसँगै प्रमाणित हुन नसकेको)को आरोपलाई कान्तिपुरजस्तो ठूलो मिडिया हाउसको व्यवस्थापनले हचुवाको भरमा प्रमाणित भन्दै कर्मचारीमाथि कारवाही गर्नुले कान्तिपुर कति लोकतान्त्रिक छ भन्ने कुरा उदाङ्गो भएको छ । सम्भवतः कान्तिपुर विकासको पत्रकारिताको करिअर नै समाप्त पार्ने खेलमा लागेको हुनुपर्छ । के नेपालको कानुनी क्षेत्रको सबैभन्दा कडा कानुनी ‘विद्युतीय कारोबार ऐन’ हो ? ताकि अधिकांस घटनाहरुमा आरोपी धरौटीमा रिहा हुन सक्छन् । तर विकास थापालाई तीन/तीन महिना खोरमा राखियो ।
    मलाई लाग्छ अव विकास थापाले कान्तिपुरका सम्पादक र व्यवस्थापनको विरुद्धमा मानहानी र क्षतिपूर्तीको मुद्धा हाल्छुपर्छ ।

    Reply
    1. Ramesh Bhandari says:
      August 29, 2012 at 12:03 pm

      किन भने यो नेपाल हो उमा जी!!! तपाइले त्यत्रो नेपाल प्रशिद्ध उखान सुन्नुनै भएको रहेनछ छनि ” कही नभएको जात्रा हाडिगाउमा” त्यस्तै हो अरु मुलुक ले कानुन ल्याउने सुरसार गर्दा हाम्रो मुलुकमा त कानुन लागुभई सक्छ /अनि कस्ता कस्ता नामुद अपराधी हरु चाही साधारण धरौटी मा छुट ने हुन्छन अनि गाली बेईजत्तिको मुद्धामा चाही धरौटी मा पनि छुट्न पाइदैन किनकी यो पनि नेपाल हो !!!

      Reply
  11. thapa rajbarsingha / canada says:
    August 29, 2012 at 1:30 am

    यो सब जल माफियाको करामत हो….जलमाफियाको बिरुध्ह्मा कलम ससक्त रुपमा उठाउने
    विकास लाई तिनी हरुले नै फसायका हुन् , मैना त्यो पापले तलाई यक्दीन पोल्ने छ हेर्दै जा……

    Reply
  12. jitu says:
    August 29, 2012 at 12:12 am

    कान्तिपुर जस्तो पत्रिकाले प्रबिधिको जमानामा आफैले अनुसन्धान गर्ने सकिने केसमा नगरेर हल्ला फिजौदा निर्दोषले दोष खेप्नु पर्यो, अब के गर्दा रहेछन कान्तिपुर वालाहरुले, हामी पनि हेरौं न .

    Reply
  13. पुष्प says:
    August 28, 2012 at 7:18 pm

    विकास थापामाथि जाबो आईपी अनि अज्ञात इमेललाई आधार बनाउँदै शंका अनि अनुमानकै भरमा कारबाही गरेर कान्तिपुर व्यवस्थापनले ‘हाँडीगाउँ’को जात्रालाई फेल ख्वाएकै हो । विकास थापाले पाएको दु:ख अनि उनको आर्थिक-सामाजिक क्षतिको भरपाइमात्र होइन सम्बन्धित सबैले माफी पनि माग्नुपर्छ, विशेषगरी मैनाल धितालले ।

    Reply
    1. कुसुम ज्ञवाली says:
      August 30, 2012 at 7:42 am

      पुष्प जी, लाए अराएको गर्नेलाइ मात्र कार्यवाहि गर्ने होइन, त्यसका पछाडीका मास्टर माइन्डलाइ पनि कार्यवाहीको दायरामा ल्याउनुपर्छ, डाइरेक्टर सावले अनिमितता गर्ने अनि खरदारलाइ मात्र किन सजाएँ, डाइरेक्टर साव सजाएका भागी हुनुपर्दैन ? कानुनले यसो गर्न सकेन भने मेडियाका साथीहरूले सहयोग गर्न सक्नुहुन्छ ।

      Reply

Leave a Reply to Prajin Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme