Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

MySansar Exclusive: खोज (भाग १)

Posted on August 26, 2012August 26, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर त्यो तयारीले मूर्त रुप लिन सकेन र ढिलै भए पनि पुस्तकको अंश यो सातादेखि हरेक आइतबार प्रकाशित गर्ने जमर्को गरेको छु।

बस्, म एउटा असल मान्छे बन्न चाहन्छु
-कर्ण शाक्य-
‘सोच’ ले मलाई नयाँ पहिचान दियो — एउटा लेखकको। यो कुरा मैले यसअघि नै भनिसकेको छु। र ‘कान्तिपुर’मा समय–समयमा छापिने मेरा लेखहरूले पनि मलाई केही पहिचान दिएका छन्। तर त्यस्तो पहिचान मैले पचाउन सकिरहेको छैन। किन हो कुन्नि, आफूलाई लेखकका रूपमा स्वीकार्न नै मैले सकिरहेको छैन। कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा मलाई निम्तो गरियो भने पनि म अनेक बहाना गरी त्यहाँ नजाने प्रयास गर्छु। थुप्रै साथीहरूले मलाई एउटा चिन्तकका रूपमा हेर्न थाल्नुभएको छ। त्यो पनि मलाई स्वीकार्य भइरहेको छैन। चिन्तक हुन त महान् आदर्शवान् व्यक्ति हुनुपर्छ, नैतिकवान् हुनुपर्छ। म न त ठूलो नैतिकवान् व्यक्ति हुँ, न आदर्शवान् नै।

मैले जिन्दगीमा थुप्रै भूलहरू गरेको हूँला। कतिपयलाई सायद चित्त पनि दुखाएको हूँला। यो प्रतिस्पर्द्धात्मक जिन्दगीमा आफू अगाडि बढ्दा अरूलाई मैले पछाडि धकेलेको पनि हुन सक्छु। जानेर वा नजानेर मैले केही शत्रु पनि बनाएको हूँला। विद्यार्थीकालमा कहिलेकाहीँ चोरेर पनि जाँचमा पास गरेँ हूँला। जवानीमा लफङ्गो भएर प्रेमका अनेक खेलहरू त खोलेकै हुँ र घरपरिवारलाई दुःख पनि दिएँ नै हूँला। उद्योग र व्यापार गर्ने क्रममा मैले कहिलेकाहीँ नैतिक सिद्धान्तलाई शतप्रतिशत पालना नगरेको पनि हुन सक्छ। तर एउटा कुरा छातीमा हात राखेर अहिले पनि म गर्वका साथ भन्न सक्छु — जिन्दगीमा म कसैको टाउकोमा टेकेर माथि उक्लेको छैन र कसैलाई बिगारेर आफू बनेको छैन। बस्, म एउटा सभ्य र असल मान्छे बन्न खोज्छु, असल काम गर्न खोज्छु। सकभर अरूको चित्त दुखाउने र अरूलाई बिगार्ने काम म गर्न चाहन्नँ। अन्जानमै पनि कसैको चित्त दुखेको हुन सक्छ, त्यसमा म के गर्न सक्छु र?

म एउटा साधारण मान्छे हुँ। म आफ्ना साथीभाइसित रमाइलो गरेर बस्ने इच्छा राख्छु। साथीभाइसित गफ गर्दा असनमा गुच्चा खेलेको सम्झना गर्ने, जवानीकालमा आफ्ना केटीसाथीहरूका रोमाञ्चकारी घटनाक्रमलाई याद गर्न रुचाउने र आफ्नो परिवारका सदस्यहरूलाई औधी मन पराउने एउटा आम नागरिक हुँ म।

कुनै–कुनै पाठकले मलाई एउटा ठूलो राष्ट्रवादीका रूपमा हेर्न खोजेका छन्। म आम राष्ट्रवादी नागरिकजस्तै हुँ र राष्ट्रलाई माया गर्छु। तर राष्ट्रका नाममा सारा कुरा त्याग गरेर राष्ट्रवादी भावनाको पोखरीमा चुर्लुम्म डुबी ‘त्वम् शरणम्’ गर्न सकूँलाजस्तो मलाई लाग्दैन। यद्यपि जब मैले अमेरिकामा बस्ने एउटी नेपाली महिलासित दोस्रो विवाह गरेँ, त्यो बेला आफ्नो राष्ट्रियताप्रति म बढी नै भावुक भएर मैले आफ्नी श्रीमतीको अमेरिकाको राहदानी र ग्रीनकार्ड फर्काउने कोसिस गरेको थिएँ। मेरी श्रीमतीले पनि मेरो आग्रहलाई स्वीकारेर आफ्नो अमेरिकी ग्रीनकार्ड नेपालकै राजदूतावासमा फर्काइदिएकी थिइन्। थुप्रै साथीहरूले भनेका थिए, ‘अमेरिकाको ग्रीन कार्ड प्राप्त गर्न कति गाह्रो हुन्छ, किन फर्काउने!” तर मैले मानिनँ र फर्काउन लगाएँ। मेरो आग्रहलाई उनले पनि विनाप्रतिवाद सहज रूपमा स्वीकारिन्। त्यो बेला मलाई राष्ट्रवादको स्वादले आत्मसन्तुष्टि भयो र गर्व पनि लाग्यो। तर राष्ट्रवादको स्वादकै लागि मैले त्यसो गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न अचेल कहिलेकाहीँ मेरो मनमा उठ्ने गर्छ।

मेरा कान्छा छोराले अमेरिकामा अध्ययन गरी फर्किंदा अमेरिकामै होटल चलाउने योजना बनाएका थिए। मैले त्यो योजनामा अस्वीकृति जनाएँ र विषम परिस्थितिका बाबजुद पनि सम्पूर्ण लगानी नेपालकै पर्यटन–उद्योगमा लगाएँ। त्यो बेलामा मैले रमाइलो स्वाभिमानको अनुभूति गरेको थिएँ। तैपनि कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्छु, ‘आफ्नो इच्छाका लागि मैले आफ्ना छोराको सपनालाई लत्याउनु ठीक थियो कि थिएन?”

वि. सं. २०५४ मा मेरी कान्छी छोरी त्रिशाग्नी भारतका शाही परिवारका बच्चाहरू प्ाढ्ने अजमेरको एउटा स्कुलमा पढ्दै गर्दा मैले त्यस स्कुलबाट निकालेर उनलाई नेपालकै स्कुलमा भर्ना गराएको थिएँ। त्यो बेला पनि मलाई आत्मसन्तुष्टि मिलेको थियो। मेरी कान्छी छोरी अमेरिकामा जन्मिएकी हुँदा उनी अमेरिकी पासपोर्ट सजिलै पाउन सक्थिन्। तर छोरी जन्मेको १६ वर्षसम्म मैले उनका लागि अमेरिकी पासपोर्ट लिइनँ। पछि नेपालको शिक्षण अवस्था गोलमाल भएपछि मात्र मैले छोरीलाई अमेरिकामा पढाउन पठाउने विचार गरेँ। अमेरिकामा पढ्न जाँदा त्यहाँकै नागरिक भइयो भने थुप्रै सहुलियत प्राप्त गर्न सकिन्छ भन्ने लोभले मैले मेरी छोरीको अमेरिकी पासपोर्ट लिएँ। पहिले त मेरो विचार थियो म मेरी छोरीलाई नेपालकै स्कुलमा पढाउँछु र नेपालकै कलेजबाट डिग्री हासिल गराउँछु। तर जतिसुकै सकारात्मक सोच राखे पनि नेपालको तत्कालीन राजनीतिक गतिविधि र स्थितिलाई मैले सामान्य रूपमा लिन सकिनँ।

म केही समयअघिको कुरो गर्न चाहन्छु। त्यस बेला दिनप्रतिदिन नेपालको स्थिति बिग्रँदै गइरहेको थियो। संसारको सबैभन्दा सुरक्षित सहर मानिने काठमाडौँैमा दिउँसै बैङ्क लुटियो, मानिसलाई अपहरण गरियो, फिरौती मागियो। तैपनि तत्कालीन गृहमन्त्री, राजनीतिक नेता र मानव–अधिकारवादीहरूले दुई शब्द पनि बोलेनन्। राजनीतिक सङ्क्रमणकालको बहाना बनाएर यस्ता छिटपुट घटना हुन्छन् भन्दै ठूला–ठूला आपराधिक क्रियाकलापहरू नदेखेजस्तो गरे। मलाई त्यस बेला लाग्यो, ‘कसरी बाँच्न सकिन्छ यस्तो सामाजिक अवस्थामा? दिउँसै खुला सडकमा लाखौँलाख रुपियाँ डकैती हुन्छ, बच्चाहरूलाई अपहरण गरेर लास नदीमा फ्याँकिन्छ, काम गरिखाने परिश्रमी मान्छेलाई अनाहकमा दुःख दिइन्छ, यस्तो अन्योल परिस्थितिमा कुन आशा र विश्वास लिएर बाँच्ने?” अनि अहिलेकै कुरो गर्ने हो भने पनि जुन स्थितिमा हामी बाँचिरहेका छौँ, हामीले पहिले यस्तो स्थितिको कल्पनै गरेका थिएनौँ। लामो समयसम्म लोडसेडिङ हुन्छ, पानी छैन, मट्टितेल छैन, खाना पकाउने ग्याँस छैन, पेट्रोल छैन, डिजेल छैन। सहरका हरेक सडक र गल्ली कति अस्तव्यस्त छन् भने दस मिनेटको बाटो काट्न दुई घन्टा समय लाग्छ।

भावना मात्र भएर कहाँ हुन्छ! मानिस आफ्नो व्यक्तिगत जिन्दगीको स्वार्थका लागि मात्र बाँच्तैन। उसको आफ्नो परिवार हुन्छ र परिवारको भविष्यका लागि पनि उसले बाँच्नुपर्छ। सबैजना भगवान् बुद्ध, महात्मा गान्धी र विनोवा भावेजस्ता बन्न सक्तैनन्। त्यसैले अन्तमा मैले मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिएँ।

त्रिशाग्नी मैले बुढेसकालमा पाएको सबैभन्दा कान्छी छोरी भएकी हुँदा म उनीप्रति अलि बढी नै नजिक छु। दस–बाह्र वर्षसम्म म उनलाई सधैँ स्कुल पुर्‍याउने र लिन जाने गर्थेँ। मेरो औँला समातेर उनले हिँड्न जानिन्, काँधमाथि बसेर स्विट्जर्ल्यान्डको आल्प्सदेखि पोखराको अन्नपूर्ण हिमालसम्मको देशदर्शन गरिन्। यसपालि सौभाग्यवश अमेरिकाको म्यासाचुसेटस्थित एउटा अत्यन्त राम्रो र प्रसिद्ध स्मिथ कलेजमा उनको दाखिला भयो। छोरीको पढाइ राम्रो भएको हुँदा सो कलेजमा उनलाई ६० प्रतिशत आर्थिक सहयोग पनि दिइयो। नान्सी रेगन, लाउरा बुस र प्रसिद्ध महिलाहरूले अध्ययन गरेको ‘स्मिथ’ जस्तो प्रसिद्ध कलेजमा आफ्नी छोरीको दाखिला हुँदा मलाई धेरै गर्व लागे तापनि बच्चैदेखि आफ्नो

मुटुसँगै हुर्काएकी छोरीलाई विदेशमा पढ्न पठाउँदा मन एकदमै गह्रौँ हुनु स्वाभाविकै थियो।

सन् २००८ साल अगस्टको १७ तारिखमा छोरीलाई पुर्‍याउन म म्यासाचुसेटस्थित नर्थ≈याम्प्टन सहरमा पुगेँ। कलेजका भव्य ऐतिहासिक भवनहरू देखेर मन सन्तुष्टिले गदगद भयो। तैपनि छोरीलाई भर्ना गराइसकेपछि आफू नेपाल फर्केर जानुपर्ने सोचले म डराइरहेको थिएँ। छोरी पनि बाबुलाई छोड्न सक्ने मानसिक स्थितिमा थिइनन्। अगस्ट २३ तारिखमा म नेपाल फर्कनुभन्दा एक दिन अगाडि छोरीसित एउटा राम्रो रेस्टुरेन्टमा गएर सँगै डिनर खाने विचार गरेको थिएँ। डिनर खान जानुभन्दा पहिले छोरीलाई स्मिथ कलेजमा पढ्न आउने अरू नयाँ विद्यार्थीहरूसित चिनजान गराउन कलेजको डाइनिङ हलमा लगेँ।

‘छोरी, दस–पन्ध्र मिनेटजति नयाँ साथीहरूसित चिनजान गर्नू, अनि हामी दुवैजना रेस्टुरेन्टमा खान जाउँला।” — मैले भनेँ।

छोरीले भनिन्, ‘पर्दैन ड्याडी, उनीहरूसित त म भोलिपर्सि भेटिहाल्छु नि! आजको साँझ ड्याडीसितै बिताउँछु।”

तैपनि मैले फेरि भनेँ, ‘होइन, नयाँ साथीहरूलाई भेट्नुपर्छ। बरू चाँडै भेटेर आऊ।”

त्रिशा डाइनिङ हलमा पसिन् र नयाँ विद्यार्थीहरूसित चिनापर्ची गर्न थालिन्। दस मिनेट बित्यो, छोरी बाहिर निस्किनन्। बीस मिनेट भयो, आधा घन्टा भयो, छोरी हलबाट बाहिर निस्किनन्। पछि मैले आफ्नो मोबाइलबाट छोरीलाई सम्पर्क गर्दै भनेँ, ‘जाऊँ छोरी डिनर खान, अबेर भइसक्यो, मलाई पनि भोक लागिसक्यो। डिनर खाएर भोलि नेपाल फर्कनलाई प्याकिङ गर्नुपर्छ।”

त्रिशाले टेलिफोनबाट भनिन्, ‘ड्याडी! आज मैले यहाँ साथीहरूसित नै डिनर खाए कसो होला? तपाईं रेस्टुरेन्टमा डिनर खान जानुस् न!”

छोरीको कुरा सुनेर मलाई अनायास एउटा अनौठो सुख र दुःखको अनुभूति भयो। त्यो बेला मैले रुडियार किप्लिङ्को जङ्गलबुकको कथा सम्भि्कएँ। एउटा जङ्गलमा लावारिस फ्याँकिएको मुङ्ली नामक एउटा मान्छेको बच्चालाई एउटा भालुले पाल्छ, माया गर्छ र हुर्काउँछ। मुङ्ली ठूलो भएपछि जब उसले अरू मानिसलाई भेट्छ, ऊ भालुलाई छोडेर गाउँतिर पस्न थाल्छ। त्यो बेला सायद भालुलाई पनि मलाई जस्तै दुःख र सुखको अनुभूति भयो होला। दुःख कुन कुरामा भने अब आफूले पालेको मुङ्ली आफ्नो रहेन, र सुख कुन कुरामा भने आफूले हुर्काएको बच्चा अब आफ्नै संसारमा रमाउँदैछ।

अगस्टको २४ तारिखमा म नर्थ≈याम्प्टननजिकैको एयरपोर्टबाट न्युयोर्क हँुदै नेपाल फर्कनु थियो। रातभरि बाबुछोरी दुवैलाई निद्रा लागेन। मलाई आफ्नी छोरीलाई कसरी छाडेर जाने भन्ने विचार आइरहेको थियो भने छोरीलाई पनि त्यही चिन्ताले सताइरहेको थियो। रातभरि हामी दुवैजना खाटमा यताउता पल्टिरहेका थियौँ र निदाउन सकिरहेका थिएनाँै। बिहान साढे सात बज्यो। छोरीलाई उठाएँ। दुवैजना चुपचाप नुहाई–धुवाई गरेर डाइनिङ हलमा ब्रेकफास्ट खान गयौँ। हामीले अन्नको एक दाना पनि घाँटीबाट निल्न सकिरहेका थिएनौँ। मलाई बोल्न मुस्किल भइरहेको थियो पुत्रीमोहको मायाको भकानो फुट्ला भनेर।

स्मिथ कलेज हामी बसेको होटलबाट तीन सय मिटर मात्र टाढा थियो। मैले त्रिशालाई भनेँ, ‘छोरी! अब तिमी कलेज जाऊ। म यहीँबाट एयरपोर्ट जान्छु।” त्यो बेला बाबु–छोरी दुवैका आँखाबाट अनियन्त्रित रूपले बरर आँसु झरिरहेका थिए। छोरीका सामानहरू पहिले नै होस्टलमा पुर्‍याइसकिएको हुँदा उनले आफ्नो सानो झोला बोकेर मलाई अँगालो मार्दै रुन्चे स्वरले ‘गुड बाइ ड्याडी, आइ लभ यू, डोन्ट वरी एबाउट मी, मेरो चिन्ता नलिनू’ भनिन् र कलेजको होस्टलतिर लागिन्।

त्यो बेला नर्थ≈याम्प्टनको एलोम सडक हुस्सुको मलमली पातलो पछ्यौरीले ढाकिरहेेजस्तो थियो। सडकका दायाँ–बायाँ ठूलाठूला म्यापल रूखमा टम्म ढाकेका आकर्षक पाँचकुने राता र पहेँला पातहरूले शरद ऋतुको आगमनको सङ्केत गरिरहेका थिए। रङ्गीन पातले वातावरणलाई अलौकिक बनाइरहेको थियो एउटा सुन्दर तस्बिरको एष्अतगचभ उभचाभअत दृश्यजस्तै। फुटपाथमा झरेका रङ्गीन पातहरूमा कुल्चँदै त्रिशा विस्तारै कलेजतिर गइरहँदा मलाई उनी सानी बच्ची हुँदा टुकुटुकु हिँडेर स्कुल गइरहेजस्तो लागिरहेको थियो। सायद आँखाबाट निरन्तर बगिरहेको आँसु लुकाउन नसकेकीले होला, त्रिशाले मलाई फर्केर हेरिनन्।

मेरी सानी छोरी, बाबुका लागि कहिल्यै नहुर्केकी छोरी त्यो क्षणमा अन्जान बाटोमा खुरुखुरु हिँडिरहँदा बुढेसकालको मेरो खेलौना एउटा नौलो संसारमा लम्किरहेको जस्तो आभास भयो। १७ वर्षसम्म छातीमा हुर्किएकी छोरीको त्यो बिछोडको अनुभव एक किसिमले मीठो र पिरो थियो। त्रिशा बिस्तारै नर्थ≈याम्प्टनको हुस्सुमा हराउन थालिन्। त्यो बेला मलाई लाग्यो, मेरो जीवनको धनुषबाट निस्किएको छोरीरूपी वाण अब स्मिथ कलेजको विद्यासागरको गर्भमा लक्ष्यभेदन गर्न गइरहेको छ। मेरो जीवनको धनुषबाट निस्किएको मेरो त्यो बाण अब मेरो नियन्त्रणमा रहने छैन। त्यो आफ्नो संसारमा लम्किरहेको छ। त्यो क्षणमा मलाई लाग्यो, मेरी सानी छोरी अब ठूूली भइछे।

मलाई थाहा छ, राम्रो भविष्यले मेरी छोरीलाई पर्खेर बसिरहेको छ। तर छोरीको बिछोडको पीडालाई मैले सजिलै सहन सकिरहेको छैन। मूलतः मैले आफ्नी छोरीलाई देशको असुरक्षित परिस्थितिका कारणले नै विदेशमा पठाउने निर्णय गरेको हुँ। कस्तो दुःखद विडम्बना, संसारको विश्वस्तरीय वैभव र सम्ाृद्धिलाई चटक्कै त्यागेर आफ्नै मातृभूमि नेपालमा कटिबद्ध र प्रतिबद्ध भई काम गरिराखेका हाम्रा डाक्टरहरूका छोराछोरीलाई समेत अपहरण गरी अमानवीय दुःख र पीडा दिँदा पनि राज्यले ती सपूत नागरिकहरूको सुरक्षा गर्न सकेन। यस्तो विषम परिस्थितिमा कुन छाती लिएर हामी शान्तिपूर्वक जीविकोपार्जन गर्न सक्छौँ? साँच्चै, देशको परिस्थिति राम्रो भएको भए सायद म कुनै पनि हालतमा आफ्नो सन्तानलाई बाहिर पठाउने थिइँन हुँला।

पाठकहरूले मलाई राष्ट्रवादी चिन्तकका रूपमा लिने गरेका हुँदा छोरीका लागि अमेरिकी पासपोर्ट लिने बेलामा र विदेशमा पढ्न पठाउदा मैले आफैँसँग एउटा अप्ठ्यारो प्रश्न गरेको थिएँ, ँके मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिनु जरुरी थियो? के उनलाई विदेशमै पठाउनुपर्ने आवश्यकता थियो?” तर त्यसो गरेकोमा मलाई लघुताभास भएन। यो मैले ठीक गरेँ वा गरिनँ, मलाई थाहा छैन। तर धरातलीय व्यवहारमा कहिलेकाहीँ यी सैद्धान्तिक कुराहरूको कुनै माने हुँदो रहेनछ।

एकचोटि एकजना वरिष्ठ राजनीतिक क्रान्तिकारी नेताको अन्तर्वार्ता टेलिभिजनमा हेरेको थिएँ। उहाँले आफ्नो क्रान्तिकारी जीवन बिताउँदा–बिताउँदै पनि आफ्नी छोरीलाई विदेशमा पढ्न पठाउनुभएको थियो। त्यो बेला अन्तर्वार्तामा ‘तपाईंकी छोरी कहाँ हुनुहुन्छ?’ भनेर प्रश्न गर्दा ‘विदेशमा छिन् तर सुरक्षाका कारणले म ठीक ठेगाना भन्न चाहन्नँ’ भनी उनीबाट जवाफ दिइएको थियो।

जनक्रान्तिका निमित्त आफ्नो सम्पूर्ण जिन्दगी दाउमा राख्ने उहाँहरूजस्ता ठूलाठूला राष्ट्रवादीहरू त आफ्ना बालबच्चाको भविष्यप्रति त्यति चिन्तित हुनुहुन्छ भने, मैले भन्ठानेँ – के म उहाँहरूभन्दा माथिको राष्ट्रवादी हुँ र? मैले विचार गरेँ, किन अप्ठेरो मान्ने मजस्तो एउटा साधारण व्यवसायी र उद्यमीले? आफ्नी छोरीले पाएको अधिकारलाई किन लत्याउने? अमेरिकी नागरिकताको प्रमाणपत्र उनले पाउन सक्छिन् र अमेरिकामा सजिलै पढेर उनले आफ्नो भविष्य सुरक्षित बनाउन सक्छिन् भने मैले आफ्नो भावनात्मक स्वार्थका निमित्त आफ्नो छोरीको भविष्यको बलिदान किन दिने? हो, आफ्नो सैद्धान्तिक भावनाका लागि आफ्नी छोरीको उज्ज्वल भविष्यलाई भोग दिने अधिकार मसँग थिएन र छैन। आमाबाबुको कर्तव्य हो आफूले जन्माएका सन्तानको भविष्य सुनिश्चित गर्नु। बस्, मैले त्यही गरेँ।

‘सोच’ किताबमा मैले प्रस्तुत गरेका मेरा केही भावनात्मक घटनाक्रमहरू पढेपछि केही पाठकवर्गले मलाई सन्त–महन्तका रूपमा पनि लिन थाले, कसैले ‘आर्ट अफ लिभिङ’ अभियान सञ्चालन गर्ने एउटा व्यक्तित्वका रूपमा पनि हेर्न थाले र कसैकसैले त मलाई दीपक चोपडा र शिव खेराजस्तै ‘म्यानेज्ामेन्ट गुरु’ का रूपमा पनि लिन थाले। एक दिन एकजना व्यक्तिले मलाई टेलिफोन गरे र भने, ँसोच किताब पढिसकेपछि मेरो जिन्दगीमा एउटा स्प्ा्कूर्ति जागरण भयो, म आशावादी भएँ। म तपाई‘लाई भेट्न चाहन्छु।”

आफ्नो पाठकको कुरो सुनेर म दङ्ग परेँ र मैले उनलाई तुरुन्तै आफ्नो घरमा बोलाएँ। उनले सरकारी कार्यालयमा अधिकृत पदमा काम गरेका रहेछन् र देशका विभिन्न जिल्लाहरूमा काम गरिसकेका रहेछन्। तर उनको पारिवारिक जिन्दगीचाहिँ अलि अप्ठ्यारो रहेछ। श्रीमती र छोरी साइबाबाका भक्त भएका हुँदा बिहानदेखि साँझसम्म साइबाबाको भक्तिमा लीन हुने गर्दा रहेछन्। उनीचाहिँ एक्लै घरमा बसेर दिन कटाउँदा रहेछन्। पछि उनले जागिर छाडेछन् र पाँच–छ वर्षसम्म त्यस्तो जिन्दगी बिताएपछि दिक्क भएर घरै छाडी नैराश्यपूर्ण जिन्दगी बिताउन थालेछन्। उनले भने, ँतपाईंको किताब पढेपछि अब फेरि बाँच्ने रहर आयो। अब तपाईँ मलाई कहीँ काममा लगाइदिनुस्। म काम गरेर नयाँ जिन्दगी बिताउन चाहन्छु।”

अब मलाई पर्‍यो आपत! कहाँ काममा लगाउने! सरकारी कर्मचारी भएर काम गरेको मान्छेलाई होटलको कुन काममा लगाउने? तैपनि मेरो
शरणमा आएको मान्छेलाई मैले कसरी निराश बनाई फर्काउने! अप्ठ्यारो मानी–मानी मैले आफ्ना छोराहरूलाई उनका लागि होटलमा निरीक्षण गर्ने काम दिन अनुरोध गरेँ। बाबुको कुरा नाइँ भन्न नसकेर होटलमा काम गर्ने मानिसहरू धेरै हुँदाहुँदै पनि उनलाई मेरा छोराहरूले काममा लगाइदिए। त्यसपछि त उनले आफ्ना झिटीगुन्टा सबै बोकी होटलकै एउटा सानो कोठामा बसेर काम गर्ने योजना बनाए। बाबुले पठाएको मान्छेसँग जस्तो पायो त्यस्तो व्यवहार गर्न मिलेन भन्ने ठाने छोराले। होटलकै कोठामा बसेर उनले काम गर्न खोजेको कुरो मलाई छोराले सुनाए। मैले उनलाई सम्झाई–बुझाई स्टाफक्वार्टरमा बसेर काम

गर्न अह्राएँ। वास्तवमा उनी मान्छे नराम्रा रहेनछन्, तर सरकारी अधिकृत भएर काम गरेका हुँदा उनमा त्यस्तो भावना जागृत भएको हुन सक्छ।

उनी इम्ाँनदार र मिहिनेती त रहेछन्, तर मैले थाहा पाएँ उनको एउटा कमजोर पक्ष पनि रहेछ। कहिलेकाहीँ उनी कसैसित नबोलीकन चुपचाप बसिरहँदा रहेछन्। केही समयपछि फेरि उनलाई एकैचोटि रिस उठ्तो रहेछ र जोसित पनि झगडा गर्न खोज्दा रहेछन्। सायद उनमा द्वैध मनस्थिति (बाइपोलार सिन्ड्रम) भएको हुन सक्छ। वास्तवमा यो समस्या विकसित समाजका थुप्रै मानिसलाई हुने गर्छ। तर थाहा नपाएर यो मानसिक रोगलाई व्यक्तिविशेषको आचरणसँग गाँसेर हेर्ने गरिन्छ। यस्ता मानिसहरू कहिलेकाहीँ धेरै निस्त्रि्कय हुन्छन्, कहिलेकाहीँ चाहिनेभन्दा बढी सक्रिय हुन्छन्। धेरैजसोलाई यो थाहा नै हँुदैन। तर जुन घरमा बाइपोलारका व्यक्ति हुन्छन्, उनीहरूले मात्र बुझेका हुन्छन् यस्ता मनोरोगीहरूलाई सम्हाल्न कति गाह्रो हुन्छ! सायद उनको यही जटिल व्यक्तित्वका कारणले हुन सक्छ उनकी श्रीमती र छोरी साइबाबाको शरणमा गएका।

होटलमा दुई–तीन महिना काम गरेपछि उनले सबै कर्मचारीहरूसित झगडा गरे। पछि उनलाई होटलबाट बाहिर पठाउन मलाई धेरै गाह्रो पर्‍यो। त्यो बेला मलाई धेरै दुःख पनि लाग्यो विना कुनै दोष उनलाई मैले काम गराउन सकिनँ भन्ने कुरामा। तर मैले गर्ने के? अरूलाई माया गरेर मैले आफ्नो होटलको व्यवस्थापन बिगार्न पनि त भएन! कहिलेकाहीँ यस्तो अप्ठ्यारो परिस्थितिले मलाई उकुसमुकुस बनाउँछ। अहिलेसम्म पनि मैले उनलाई केही सहयोग गर्न नसकेकोमा दुःख लाग्छ।

कहिलेकाहीँ कतिपय पाठकले मलाई ‘दानवीर कर्ण’ पनि भन्ठान्दा रहेछन्। हो, मलाई कसैसित लिनभन्दा कसैलाई दिन मन लाग्छ। तर दिन पनि कतिसम्म दिने? घरमा कहिलेकाहीँ रोगीहरू आउँछन्, अनेक बिरामीहरू आउँछन्, सामाजिक कार्यकर्ताहरू चन्दा लिन आउँछन्। आउने जति सबैलाई अलिअलि मात्र दियो भने पनि हजारौँहजार पुग्छ। त्यत्रो धनसम्पत्ति दिन सक्ने धनाढ्य पनि त होइन नि म! थुप्रै पाठक मलाई एउटा दाता भन्ठानेर अनेक सहयोगको अपेक्षा गर्न घरमा आउँछन्। कोही जागिर खान, कोही आफ्नो रोगको उपचार

गर्नका लागि मकहाँ आर्थिक सहयोग लिन आउँछन्। नाइँ भन्न गाह्रो हुन्छ, तर सबैलाई दिन पनि सकिन्नँ।

वर्ष दिनपहिलेको कुरो हो। एउटा अधबैँसे मान्छे मलाई भेट्न आयो। ं एक दिन ऊ बिहान सबेरै मेरो घरमा आइपुग्यो। म चाँडै नउठ्ने मानिस भएको हुँदा ऊ दुई घन्टासम्म ढोकाबाहिरै पर्खिरहेको रहेछ। नुहाइ–धुवाइ गरिसकेपछि म अखबार पढिरहेको बेला ढोकाबाट पालेले मलाई फोन गरेर ऊ मलाई दुई घन्टादेखि पर्खिरहेको कुरो सुनायो।

बिहान सबेरै समय नमिलाईकन आएको अपरिचित मान्छेलाई भेट्न म असाध्यै हिच्किचाउँछु। काम हुने मानिस त पहिले नै फोनबाट समय मिलाएर आउँछ। समय नलिई आउनेहरूमध्ये धेरैजसोचाहिँ जबर्जस्ती चन्दा उठाउनका लागि आउँदा रहेछन्। कोही मन्दिर, धर्मशाला र गुम्बा बनाउनका लागि, कोही इन्डिया, श्रीलङ्का र बङ्गलादेशमा शैक्षिक भ्रमण गर्नका लागि र कोही उपचार गर्नका लागि। कहिलेकाहीँ राजनीतिक कार्यकर्ताहरू बिहानैदेखि किचकिच गर्न आउँछन्। अनि त दिनभरि नै खल्लो लाग्छ।

राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रमा लागेका समाजसेवीहरूको भावना मैले नबुझेको होइन। म आफैँ पनि विगत बीस–तीस वर्षदेखि समाजसेवामा लाग्दै आएको हुँदा चन्दाविना नेपालमा कुनै पनि काम हुँदैन भन्ने कुरा मलाई थाहा छ। सामाजिक, राजनीतिक र धार्मिक कामहरूका निमित्त सरकारले पैसा दिँदैन र दिन पनि सक्तैन। तसर्थ उनीहरूले चन्दा उठाउनु बाध्यता पनि हो। कि त समाजसेवा नै गर्न भएन, गर्ने नै हो भने चाहे पनि नचाहे पनि चन्दा उठाउनका निमित्त जोरजुलुम त गर्नैपर्‍यो।

चन्दा उठाउन सजिलो छैन र अहिलेको माहोलमा जबर्जस्ती गरेर चन्दा उठाउनुपर्ने स्थिति पनि छ। तर विडम्बना के छ भने समाजसेवीहरूले चन्दादाताहरूको सम्ास्या बु‰न सक्तैनन्। समाजसेवीहरू धेरैजस्ाो आफूलाई अत्यन्त स्वाभिमानी र अरूहरूका लागि हामी काम गर्दैछाँै, त्यसैले अरूले हामीलाई आदर–सम्मान दिनुपर्छ भन्ठान्छन्। हुन पनि हो, समाजसेवीहरूको आदर–सम्मान समाजमा हुनैपर्छ। तर समस्या कहिलेकाहीँ के हुँदो रहेछ भने समाजसेवीहरू जहाँ अर्थसङ्कलन गर्न जान्छन्, त्यहाँ उनीहरूजस्ता धेरै समाजसेवीहरू चन्दा उठाउन पुगेका हुन्छन्। सबै चन्दादाताहरूले सबै

समाजसेवीहरूको भावनालाई बुझेर कदर गर्नैपर्छ भन्ने छैन। किनभने चन्दादाताका निमित्त त सबै समाजसेवी। क्यान्सरका क्षेत्रमा काम गर्ने पनि समाजसेवी, एड्सका क्षेत्रमा काम गर्ने पनि समाजसेवी र मठमन्दिरको निर्माणदेखि लाखबत्ती बाली होम गर्नेहरूसम्म समाजसेवी। चन्दादाताहरूले ती सबै समाजसेवीहरूलाई चन्दा दिएर पनि साध्य हुँदैन। जब चन्दादाताहरू समाजसेवीहरूलाई चन्दा दिँदैनन् र उनीहरूको भावनालाई कदर गर्दैनन्, तब समाजसेवीहरूलाई रिस उठ्छ र चन्दा नदिनेहरूलाई अगाडि वा पछाडि अनेक प्रकारका गाली गर्छन्।

वास्तवमा चन्दा स्वेच्छाले दिने कुरा हो। जसलाई इच्छा छ, उसले दिन्छ। दबाब सिर्जना गरेर चन्दा लिनु हुँदैन। समाजसेवीहरूले चन्दादाताहरूको बाध्यतालाई पनि बु‰नुपर्छ। नेपाल धनाढ्य देश होइन। जतिसुकै धनी भनेर फुर्ति गरे पनि विदेशीहरूको दाँजोमा यहाँका धनाढ्यहरू केही होइनन्। त्यसमा पनि नेपालमा धनाढ्य भनेकै कति नै छन् र? सीमित धनाढ्यहरूका घर–आँगनमा सधैँ चन्दा उठाउनेहरूको ओइरो लाग्छ। एक–दुईजनालाई मात्र चन्दा दिने हो भने चन्दादाताले विनाझन्झट चन्दा दिन सक्छ। तर अनगन्ती समाजसेवीहरू आउन थाले भने उसले क–कसलाई चन्दा दिइरहने? यो बाध्यतालाई धेरै कम समाजसेवीहरूले बुझेका छन्।

अर्कातिर कतिपय चन्दादाताहरूले समाजसेवीहरूको भावनालाई पनि बुझेका हँुदैनन्। नेपालका धेरैजसो धनाढ्यहरू राजनीतिक कार्यका लागि पार्टीहरूलाई चन्दा दिन हिच्किचाउँदैनन्। अझ एक कदम अगाडि नै बढेर आर्थिक अनुदान दिन कम्मर कस्छन्। नेपालमा यस्ता धनाढ्यहरूको कमी छैन जो आफ्नो विलासपूर्ण जिन्दगी बिताउन र निहित पारिवारिक स्वार्थका लागि लाखौँलाख रुपियाँ खर्च गर्न हिच्किचाउँदैनन्, तर सामाजिक कार्यका लागि सय रुपियाँ चन्दा दिनुपरे दाँतबाट पसिना चुहाउँछन्। कहिलेकाहीँ ती व्यक्तिहरूको मनस्थिति देेखेर मलाई साँच्चै घृणा लाग्छ। वास्तवमा त्यस्ता धनाढ्यहरूको पैसा कहीँ न कहीँबाट फजुल रूपमा खर्च भइरहेको हुन्छ। या त उनीहरूको पैसा नेता र कार्यकर्ताहरूले उडाइदिएका हुन्छन्, या त उनीहरूको अनियमित व्यापारिक बदमासी ढाकछोप गर्न सरकारी कर्मचारीले खाइदिएका हुन्छन्।

मेरो घरमा पनि चन्दा लिन आउनेहरूको ताँती कम हुँदैन। सच्चा समाजसेवी हो रहेछ भने आफ्नो औकातले भ्याएसम्म मद्दत गर्छु। सकिनँ भने अलिअलि दिएर पठाउँछु, कसैलाई सम्झाएर पठाउँछु र सम्झाउँदा पनि मानेनन्

भने त्यस्तालाई बाध्यतावश गाली पनि गर्छु। मकहाँ कुनै गरिब क्यान्सरपीडित वा उसका परिवार आर्थिक वा कुनै किसिमको सहयोग लिन आए भने सहयोग गर्न म कोसिस गर्छु। जोसुकैलाई चन्दा दिन सकिँदैन र जसलाई पायो त्यसलाई चन्दा दिएर सम्भव पनि छैन। क्यान्सररोगसम्बन्धी समस्याबाट भुक्तभोगी भएको हुँदा म अलि बढी सहयोग क्यान्सरका क्षेत्रमा पुर्‍याउने गर्छु। तर धार्मिक र राजनीतिक कामका निमित्त म चन्दा दिन हिच्किचाउँछु। कहिलेकाहीँ राजनीतिक कार्यकर्ता र नेताहरूको दबाबमा आफ्नो सिद्धान्तलाई कायम राख्न सकिँदैन। उनीहरूसित रिसाउन पनि भएन र सम्झाएर सम्झने खालका मानिस पनि होइनन् उनीहरू। वर्तमान राजनीतिक परिवेशमा यो समाजको पोखरीमा बस्ने हो भने गोहीहरूसित वैरभाव गरी बस्न पनि सकिन्न। त्यसैले राजनीतिक क्रियाकलापका निमित्त नचाहँदा–नचाहँदै पनि कहिलेकाहीँ चन्दा दिनैपर्ने हुन्छ।

प्रसङ्ग थियो मलाई बिहानै भेट्न आउने मान्छेको। ढोकामा दुई घन्टासम्म बसेर मलाई को पर्खिरहेको छ, त्यसमा मलाई कौतूहल थियो। पहिले ‘छैन भन’ भन्न खोजेको थिएँ, तर पछि मन फेरेँ। को आएको हो भन्ने थाहा पाउन फोनबाटै ‘कस्तो खालको मान्छे हो? राजनीतिक कार्यकर्ता हो कि मलाई चिन्ने कुनै आगन्तुक हो?’ भनेर सोधेँ। पालेले ‘कमिज–सुरुवाल लगाएको छ, अलि दुःखीजस्तो देखिन्छ, एक्लै आएको छ’ भनी मलाई फोनबाटै खबर दियो। धेरैजसो चन्दा लिन आउने मान्छे एक्लै आउँदैनन्, समूह भएर आउने गर्छन्। त्यसैले चन्दा लिन त अवश्य आएको होइन होला भन्ने ठानेर मैले त्यस मानिसलाई भित्र पठाउन लगाएँ। पैँतीस–चालीस वर्षको अधबैँसे मानिस थियो त्यो। झट्ट हर्दा इमानदारजस्तै देखिन्थ्यो। निधार अलि अँध्यारो थियो। नमस्ते गर्दै ऊ मेरो अगाडिको मेचमा बस्यो। मेचमा बस्नासाथ विनाहिच्किचाहट उसले आफ्नो समस्या मलाई पोख्यो।

उसकी श्रीमतीलाई पाठेघरको अपरेसन गर्नुपरेको रहेछ। अलि लामै समयसम्म वीर अस्पतालमा बस्नुपर्ने देखेको हुँदा मसित अपरेसनको खर्च र औषधिका लागि आर्थिक सहयोग माग्न आएको रहेछ। उसका लागि झन्डै पचास–साठी हजार रुपियाँको आवश्यकता थियो। उसले मसित सिधै पैसा माग्ोन। पहिले त उसले अस्पतालका डाक्टरहरूलाई खर्च कम गराउन केही भनसुन गर्न सकिन्छ कि भनेर मलाई सोध्यो। पछि स्वास्थ्यकोषबाट केही आर्थिक सहयोेग प्राप्त गराउन सकिन्छ कि भन्ने प्रश्न गर्‍यो। म एकदमै अलमल्ल परेँ त्यसले साँचो बोलिरहेको छ कि झूटो भनेर। किनभने हिजोआज

स्वास्थ्य–उपचारको बहाना गरी सहयोग लिन आउनेहरू यस्तै खालका चलाखीपूर्ण कुराहरू गर्ने गर्छन् र डाक्टरको कागज लिएर आर्थिक सहयोग माग्नका निमित्त घरदैलोमा डुलिहिँड्ने फटाहाहरू पनि धेरै छन्।

तैपनि उसको कथा सुनेर म किंकर्तव्यविमूढ भएँ। केही दिनअघि मात्र दुईजना क्यान्सरपीडितहरूलाई सहयोग दिई पठाएको थिएँ। अब यस मानिसलाई कति पैसा दिने मैले? उसको व्यथा साँचो त होला, तर कतिजनालाई दिने र दिइरहने? अब त यस्ता मानिसहरूका आपतविपत्का कुराहरू सुन्दासुन्दा ममा अहिले सम्वेदनशीलता नै कम भइसकेको छ। अब पहिले–पहिलेजस्तो दुःखीहरूको दुःखको धारमा बग्ने बानी पनि अलि कम भइसकेको छ। मैले उसलाई सिधै भनेँ, ‘हेर्नुस्, तपाईँलाई अलिअलि पैसाले पुग्ने कुरा भएन। म तपाईँलाई हजार रुपियाँ त दिउँला, तर यसले तपाईँलाई पुग्दैन। तपाईँकी श्रीमतीलाई क्यान्सर भएको रहेछ भने म संस्थालाई भनेर अर्काे हजार–पन्ध्र सय मिलाइदिन्थेँ होला। तर तपाईँलाई यतिका दाम म एकैचोटि दिन सक्तिनँ, के गर्ने?”

केही पनि नबोलीकन उसले जमिनमा टोलाएर हेरिर≈यो। एकछिनपछि उसले भन्यो, ँहुन्छ हजुर! हजुरले दिन सक्नेजति दिइबक्सियोस्, अरू नपुग हजुरका साथीहरूलाई एकचोटि भन्दिबक्सियोस्। म उहाँहरूकहाँ सहयोग माग्न जाउँ्कला। आखिर आफ्नी बिरामी श्रीमतीलाई त बचाउनैपर्‍यो।” त्यो कुरा सुनेर किन–किन मेरो मनमा शङ्का लाग्यो यो मानिस मसँग साँचो कुरा गरिरहेको छैन कि भनेर। मैले उसलाई मेरा साथीहरूको नाम बताउन चाहिनँ। किनभने पहिले–पहिले पनि मैले मेरा धेरै साथीहरूलाई अरूलाई सहयोग गर्न अनुरोध गरेको थिएँ र उनीहरूले खुसीसाथ सहयोग गरेका थिए, तर अचेल झर्काे मानेर गर्छन्। अब त उनीहरूलाई आग्रह गर्न पनि अप्ठ्यारो लागिसक्यो। जे होस्, त्यो मानिस बडो चलाखजस्तो भान भयो मलाई, अरूभन्दा फरक। उसका बारेमा थप जानकारी लिन मलाई उत्सुकता भयो। मैले उसलाई सोधेँ, ँतपाईँले मेरा बारेमा कसरी थाहा पाउनुभयो?”

पहिले त उसले मेरो नाममै गल्ती गर्‍यो ‘कर्णमान शाक्य’ भनेर। जब कसैले मेरो नाम सही तरिकाले सम्बोधन गर्दैन, मलाई रिस उठ्छ। वास्तवमा ऊ मकहाँ आउनुभन्दा पहिले अन्त कहीँ आर्थिक सहयोग माग्न गएको रहेछ। त्यहाँबाट क्यान्सरका क्षेत्रमा मैले काम गरिरहेको थाहा पाएर त्यस मानिसले मकहाँ पठाएको रहेछ। मकहाँ पठाउने मान्छेको नाम पनि उसले भनेको थियो,

तर मैले उसलाई चिनेको थिइनँ। त्यो मान्छे पढेलेखेको देखिन्थ्यो र मर्म र भावनासँग खेल्न जानेको मान्छे पनि थियो। उसका सम्पूर्ण हाउभाउ र मनोदशा देखेर मैले यकिन गर्न सकिनँ त्यसले झूटो बोलिरहेको थियो वा साँचो। कहिले भुइँमा हेर्थ्यो, कहिले मेरा आँखामा। घरीघरी मलाई लाग्थ्यो उसका दुःखी आँखाले अनेक उपायहरू खोजिरहेका छन्। कहिले मैले उसका आँखामा अस्पतालमा बसिरहेकी उसकी श्रीमतीको व्यथा देखिरहेको थिएँ। उसको मायालाग्दो मुहार देख्ता मलाई केही पैसा दिएर पठाऊँ जस्तो पनि लागेको थियो। तर म बेइमान मानिसहरूबाट ठगिन पनि चाहन्नँ र मैले उसलाई खुलस्त नकार्न सकिरहेको पनि थिइनँ।

आर्थिक सहयोग गर्नुभन्दा अर्कै किसिमले मदत गर्ने तरिका सोचेर खल्तीबाट निकाल्न लागेको एक हजार रुपियाँ खल्तीमा राख्तै मैले उसलाई भनेँ, ँहेर्नुस्, म तपाईँलाई पैसा त दिन सक्तिनँ, तर एउटा सल्लाह दिन्छु।” अनि मैले उसलाई एउटा उपाय दिएँ, ँम तपाईँलाई एउटा स्टोभ किनिदिन्छु, चिया पकाउने भाँडो किनिदिन्छु र गिलास राख्नका लागि फलामे तारले बनाएको किस्ती किनिदिन्छु। तपाईँकी श्रीमतीको अपरेसन गरिसकेपछि पनि अस्पतालमा राख्नुपरिहाल्छ। तपाईँ कुरुवा भएर तपाईँकी श्रीमतीको खाटमुनि बस्नुपर्ने नै हुन्छ। त्यो बेला तपाईँले अस्पतालको कुनै कुनामा चिया पकाएर जनरल वार्डमा बस्ने बिरामी र बिरामीकुरुवाहरूका निमित्त चिया बेच्ने र कहिलेकाहीँ बिस्कुट र दुनोटसमेत बिक्री गर्न सक्नुभयो भने केही आम्दानी हुन्छ। स्टोभ र चिया पकाउने भाँडो भएपछि त्यसैमा तपाईँलाई र तपाईँकी बिरामी श्रीमतीलाई खाना पकाउन पनि सक्नुहुन्छ। यसले गर्दा बाहिर होटलमा खर्च हुने पैसा बच्छ। यसै गर्नुस्। तपाईँ दिउँसो आउनुस्, स्टोभ र भाँडाकुँडा म किनिदिन्छु।” मैले आश्वासन दिँदै फेरि भनेँ, ँचिया बेचेर कमाएको पैसाले पुगेन भने म अरू थप आर्थिक सहयोग पनि गरौँला र अर्बुद रोग निवारण सङ्घलाई अनुरोध गरेर त्यहाँबाट पनि केही पैसा मिलाइदिउँला।”

ऊ मलाई ट्वाल्ल परेर हेरिरहेको थियो। मेरो बोलीबाटै उसले अड्कल गरिसकेको थियो होला ‘यस्तो काम पनि गर्न सकिन्छ र?’ भनेर, अनि नाइँ भन्यो भने म उसलाई हकार्नेछु भनेर। मनमनमा म दङ्ग परेँ। अब अन्योलमा
पर्नुपर्ने आवश्यकता भएन। उसकी श्रीमती साँच्चै बिरामी परेकी हो, ऊ आफ्नी श्रीमतीलाई माया गर्छ र बचाउन चाहन्छ भने लोग्ने भएको नाताले ऊ जेसुकै पनि गर्न सक्छ। त्यसको स्थितिमा म भएको भए म त्यसै गर्थें भन्ने विश्वास

ममा थियो। त्यसैले मैले उसलाई निर्धक्क आफ्नो सल्लाह दिएँ। उसले नाइँनास्ती केही गरेन, बरू विचार गरेर मलाई दिउँसो भेट्न आउने कुरा गर्‍यो। तर त्यो मान्छे आएन। अनि मलाई खुसी लाग्यो म एकजना ठगबाट ठगिन पाइनँ भनेर।

त्यो रात मैले बिहान त्यो मान्छेलाई दिएको सल्लाह सम्झँदै केही सोचिरहेँ। कस्तो अर्थपूर्ण खोज यो! अरूसित भीख पनि माग्नुपरेन, श्रीमती बचाउन खर्च पनि जोडियो र अलिअलि आम्दानी बचाएर आफ्नो गाउँमा समेत लान सकियो। मेरो परिभाषामा खोज यही हो। त्यो मानिसले चिया बेचेर आफ्नी श्रीमतीलाई बचाउन सकेको भए थुप्रै पैसा खर्च गरी विदेशमा लगेर औषधि–उपचार गर्नुभन्दा कम हुँदैनथ्यो त्यसको सेवाको भावना, मूल्य र मान्यता। त्यसो गरेको भए ऊ असल मान्छे हुँदैनथ्यो र? असल मात्र होइन, अरूका लागि उदाहरणीय पनि हुन्थ्यो। हुन त यो सानो घटनाक्रम हो। तर यसमा हामीले गहिरिएर सोच्यौ‘ भने हामीलाई प्रभावकारी एवं व्यावहारिक शिक्षा प्राप्त हुन्छ। चन्दाका लागि घर–घर धाउने समय बिरामीको सेवामा समर्पण गर्न सकिन्छ। बिरामीले अपनत्व प्राप्त गरी उसको रोग चाडै बिसेक हुन सहयोग पुग्छ। विदेशिने पैसा बच्न सक्छ। त्योभन्दा पनि ठूलो कुरा, बिरामी र उसका आफन्तको स्वाभिमान शिखरजस्तै अग्लिन्छ।

मनमा आशा लिएर मेरो घरमा चन्दा लिन आउनेहरूलाई चन्दा दिन सकिनँ भने कहिलेकाहीँ असाध्यै अप्ठ्यारो लाग्छ। म सोच्छु, चन्दा लिन खालि मकहाँ मात्र आउँछन् कि अरूकहाँ पनि जान्छन्? सायद मेरो पुस्तक ‘सोच’मा ‘लिनुभन्दा दिनु रमाइलो हुन्छ’ भनेर लेखिएको हँुदा मप्रति आशा जागेको हो कि? एकचोटि वनस्थली विद्याश्रममा दस जोड दुईका विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने क्रममा भाषण गर्न जाँदा स्कुलका संस्थापक लक्ष्मण राजवंशीले उपस्थित विद्यार्थी र शिक्षकसामु ‘कर्ण शाक्य दानवीर कर्ण हो’ भनी परिचय दिँदा मलाई असाध्यै असजिलो लागेको थियो। हुन त ‘सोच’ पुस्तकले मलाई धेरै इज्जत दियो, तर कहिलेकाहीँ अनपेक्षित सम्मानले मलाई धेरै अप्ठ्यारो पनि पार्छ। यो किताबले मलाई सहरदेखि दुर्गम क्षेत्र र अस्टे्रलिया, अरब र अमेरिकाजस्ता थुप्रै मुलुकहरूमा पनि पहिचान दियो। पहिले–पहिले त प्रशंसाबाट मन फुरुङ्ग भएको थियो, तर पछि पाठकवर्गका भावुक प्रतिक्रियाहरूबाट असजिलो अनुभव हुन थाल्यो।

युवा पाठकहरूले आफ्नो कल्पनाको संसारमा मलाई एउटा आदर्श पुरुष (रोल मोडल) का रूपमा राख्न लाग्ोको अनुभव भयो। यो उचाइ मेरा लागि धेरै माथिको जस्तो लागेको छ र त्यहाँ बस्ने आँट मैले गर्न सकिरहेको छैन। यस स्थितिले गर्दा आफूले आफैँसँग डराउनुपर्ने अवस्था सिर्जना हुन गयो। सच्चाइको जिन्दगीभन्दा ठूलो आकार Larger than life मा बाँच्न गाह्रो हुँदो रहेछ। म जो हुँ, त्यसैमा बाँच्न सजिलो छ। क्रमशः

अर्को हप्ता क्यान्सर रोगसँगको उनको स‌ंघर्ष दोस्रो भाग ‘सञ्जीवनी’मा

34 thoughts on “MySansar Exclusive: खोज (भाग १)”

  1. Pingback: Mysansar
  2. Pingback: पुस्तक अंशः खोज (भाग ७) « Mysansar
  3. Pingback: पुस्तक अंशः खोज (भाग ५) « Mysansar
  4. Pingback: पुस्तक अंशः खोज (भाग ५) « Mysansar
  5. Pingback: पुस्तक अंशः खोज (भाग ४) « Mysansar
  6. Pingback: MySansar Exclusive: खोज (भाग ३) « Mysansar
  7. Pingback: MySansar Exclusive: खोज (भाग २) « Mysansar
  8. Karna Sakya says:
    August 31, 2012 at 8:37 am

    Yogesh jee, What a beautiful expression of emotion and sentiment ! “खुशी लाग्छ कि; म फर्केर जानुपर्ने मेरो देशमा कर्ण दाइ जस्ता व्यक्तिहरुपनि त छन् नि भनेर मनन गर्दा….!!”
    Raman jee.
    My wife had returned Green Card not passport in American Embassy in Nepal. Thanks.

    Reply
  9. योगेश आदी, न्यूयोर्क says:
    August 29, 2012 at 5:07 am

    कर्ण शाक्यको ‘सोच’ सोच्नेहरुको लागि हो, सोचाईबाट सिक्नेहरुको लागि हो / ‘सोच’ किताब आफैमा एउटा सम्बाहक हो; सकारात्मक सोचको !!
    – कर्णदाइको कुरा नलुकाई आत्म-समिक्षा गरेर आफ्नो अनुभवबाट समाजलाई केहि प्रदान गर्ने सोच नै उहाँको खोज हो, भनेर भन्दा.. म सहि लेखिरहेछु भन्नेमा म पूर्ण बिश्वस्त छु/
    “खुशी लाग्छ कि; म फर्केर जानुपर्ने मेरो देशमा कर्ण दाइ जस्ता व्यक्तिहरुपनि त छन् नि भनेर मनन गर्दा….!!”

    Reply
  10. Jibraj says:
    August 28, 2012 at 8:54 am

    मलाई यो पल्पसा क्याफे को चर्चा जस्तो लग्यो | जति ले जे भनेपनि पल्पसा क्याफे तेती सार्है वाह वाह गर्ने उपन्यास थिएन | सब कान्तिपुर को बिज्ञापन को कमल थियो पल्पसा क्याफे लै त्यो उचाई मा पुर्याउन | तेस्तै हो यो खोज भन्ने रचना पनि | यी कुरा हरु त आजसम्म मैले ठुला बडा बाट अर्ति उपदेश लिदा कति सुने सुने | तेही पनि कर्ण जी ले लेख्नु भयो छापा मा ल्याउनु भयो एकछिन तपाइलाई पनि मन सन्त भयो खुसि हुनु भयो | हामी पाठक ले हल्ला गर्ने मौका पायेउ, तेही हो | तर यो पढेर सिक्ने कुरा भन्दा धेरै सिकी सक्येउ नैतिक शिक्षा पढेर | माइन्ड नगर्नु होला है कर्ण जी |

    Reply
  11. Raman says:
    August 27, 2012 at 11:24 pm

    कर्ण शाक्यजीको समाजप्रतिको सकारात्मक देनको कदर गर्दछु|

    आफ्नो लेखमा उंहाले व्यक्त गर्नुभएका यी तलका वाक्यहरु अलि नमिलेको जस्तो लाग्यो|

    “….. मैले आफ्नी श्रीमतीको अमेरिकाको राहदानी र ग्रीनकार्ड फर्काउने कोसिस गरेको थिएँ। मेरी श्रीमतीले पनि मेरो आग्रहलाई स्वीकारेर आफ्नो अमेरिकी ग्रीनकार्ड नेपालकै राजदूतावासमा फर्काइदिएकी थिइन्।….”

    अमेरिकी राहदानी भएपछी ग्रीनकार्ड आवश्यकता हुँदैन| यसैले कि ग्रीनकार्ड वा राहदानी हुन्छ, दुइटै हुँदैन| ग्रीनकार्ड फिर्ता दिने उपयुक्त ठाउँ राजदुतावास कदापि होइन भन्ने अन्तराष्टिय अनुभव भएका बिज्ञ लेखकलाई थाहा भएकै हुनपर्छ| सांकेतिक रुपमा भए यसको पनि उल्लेख गर्नपर्छ| अर्को प्रश्न आउँन सक्छ राजदुतावासले आफ्नो दायित्व कानुनत पालन गर्ने प्रक्रियामा यसरी फिर्ता आएको ग्रीनकार्ड वा राहदानी के गरे?

    नेपालको कानुनले द्वैध नागरिकता स्वीकार गर्दैन| कानुन अनुसार अमेरिकी राहदानी वाहक भएपछी नेपालमा विद्यमान कानुनले दिएको बाहेक सम्पतिको हकदार हुँन पाइन्न| अमेरिकी राहदानी वाहकले नेपालमा आफ्नो नाउँमा र हकमा कुनै चल अचल सम्पति आय आर्जन पर्न आए सोको जानकारी आई.आर. एस. (कर संकलन विभाग) लाई अनिवार्य रुपमा बर्षेनी आयकर कर दाखिला गर्दा खुलेको हुनपर्छ|

    खोटो देखाउने नियतले यो लेखेको होइन तर कुरा बाझेको जस्तो लागेकोले औंल्याउने प्रयास मात्र गरेको हुँ| भुल भए माफी|

    Reply
    1. yam pun says:
      August 28, 2012 at 5:38 pm

      रमण जी , तपाइले राम्रै कुरा औउलाउनु भो! हेरौ , कर्ण जी बाट कस्तो मुख फर्काई हुन्छ???? मुख फर्काउनु भएन भने गफै त हो नि नानी भन्नु पर्ला! कि कसो , साथीहरु ???????????????????????????????????????????

      Reply
  12. Karna Sakya says:
    August 27, 2012 at 9:56 pm

    उमेश जी

    आजै मात्र म अमेरिकाबाट नेपाल फर्के। एअरपोर्टमा इमिग्रसन अफिसरले माइ संसार डट कममा खोजको किताब प्रकाशन हुँदैछ भन्ने खबर सुनाए पछि म अलि छक्क र खुशी भएँ । माइ संसार डट कमले सोच लाई धेरै माथि पुर्‍याइदिएको थियो । म तपाईं प्रति सधै आभरी छु ।

    मैले केही कमेन्ट्हरु पढ्ने मौका पाएँ । कुनै कुनै पाठकहरु म उद्यमि र ब्यापारी भएकोमा सका र चिन्ता बेक्त गरेको पाए । ऊधेमी र ब्यापारी हुनु खराब हैन । देश को लागि धान ऊमार्ने किशान को जती आवशेक हुन्छ, धन ऊमार्ने ऊधेमी पनि तेती नै महत्तोपूर्ण हुन्छ । बिकास को लागि धान र धन दुबै चाहिन्छ । मेरो परिभाषामा धन ऊमार्ने र धान ऊमार्ने दुबै किशान हुन् ।

    Karna Sakya

    Reply
    1. aakash says:
      August 28, 2012 at 5:17 am

      Karna Sir,

      Namaste

      It’s a good book. ‘Soch’ was good too. As you mentioned in this book many started idolizing you and what you did.
      I have encountered many youths (the age group I belong to) trying to walk your ‘path’ or try to have an example like yours. ‘
      I just have a simple question: what do you think if all citizens start to do ‘samaj sewa’. You were fortunate to have build a business ’empire’ and have a secure financial status.Hence, could afford to do that.
      From my perspective I think youths especially who are especially abroad like US (first world) should earn education and money. Then, only once their own financial status is secure should start helping others. Otherwise, what good is it going to do with 1 time help???
      I found many picking up small pet projects and focusing too much time in it. Aafnai future ko tungo chaina —aaru lai eek barsa padayara k huncha? pahila aafu bana—ramro education hos–degree hos —job hos —afno pariwar ko thik hos—-tapaiko jasto ‘athaha’ ta nahola but at least sufficient ani gara na.
      That is more sustainable.

      Reply
    2. yam pun says:
      August 28, 2012 at 5:28 pm

      कर्ण जी! धान उमार्ने किसान झुपडीमा बस्छन् र धन उमार्ने किसान महलमा बस्छन् भनेर पनि लेखिदिनु भएको भए अलि यथार्थ परक हुन्थ्यो की ??? आफ्नो गुनगान आफैले गाएको भन्दा पनि अरुले नै गाएको राम्रो हुन्छ होला है , कर्ण जी!

      Reply
    3. Man says:
      August 28, 2012 at 10:04 pm

      दिनहु सोझा सोझा नेपाली यात्रुहरुको विवशता, लाचारीपन र अनभिज्ञताको फायदा उठाएर घुस, शोषण, अकर्मन्यता, ज्यादती र दुर्व्यवहारको खानी एयरपोर्टको अध्यागमन हो| त्यस्ताले पनि माईसंसार पढ्दा रहेछन, खुशीको कुरो हो|तर दुख र दुर्भाग्यको कुरो के भने अध्यागमनले अघि सरेर सुकिला मुकिला र टाठाबाठाहरुलाई मात्र स्वागत गर्छन| ९० प्रतिशत भन्दा बढी नेपाली यात्रुहरुलाई नचाईने दुख दिने हाम्रो अध्यागमन हो| पिण्ड खाएर सबैले नर्कमा ठाउँ सुरक्षित राखेका छन्| एयरपोर्टको घुसखोरी, नेपाली यात्रुहरुलाई बारम्बार दिने दुख र फोहोरीपन बारे नेपालको प्राकृतिक सौन्दर्य्यले मुग्ध बनाएर पर्यटक भित्राई आफ्नो व्यवसाय सुसंचालन गरी धन उमार्ने कर्ण शाक्यजीले सुधार ल्याउन जोडले एकदुई शब्द खर्च्याउन किन कन्जुस्याई गर्नुभएको होला बुझेर बुझी नसक्नु छ| शाक्यजीलाई सादर र सौजन्यता पुर्बक सेवा दिंदा अरु नेपालीलाई पनि त्यस्तै गर्छ भन्ने सोच राख्नु भएन| खोज गरेर अर्को पुस्तक बुझ वा बोझ शीर्षकमा लेख्नुहोला| त्यस्तो विधि भन्दा पनि नटेरे पछी “ठोक” राखे पनि हुन्छ|

      Reply
  13. yam pun says:
    August 27, 2012 at 4:26 pm

    कर्ण शाक्य को “सोच” मैले पनि पढेको हुँ! समग्रमा कर्ण शाक्यको बिचारलाई नराम्रो त भन्न मिल्दैन तर उहाँमा पैसाको घमण्ड चाही पक्कै पनि छ!

    Reply
  14. SURENDRA SUBEDI hongkong says:
    August 27, 2012 at 3:13 pm

    चन्दा दिनु भनेको मान्छे को बानी बिगार्नु हो उस लाई थप अल्छि बनाउनु हो सकिन्छ भने चन्दा कसै लाई नदिने र गर्ने पर्ने काम के भने सोसिअल वेलफेर स्थापना गर्ने र जस-जस लाई अफ्ठेरो परेकोछ उस लाई समय मा सहयोग गरेर जिबन दान गर्नु महानता हो/ यसो गर्न सकेमा वास्तविक सहयोग जस लाई चाहिएको हो उस ले भरपुर सहयोग पाएर जिबन मा असल कर्म गर्न सक्छ/ कर्ण शाक्य ले जुन चिया बनाउने सल्लाह दिनु भो बस्ताब मा उस लाई सहयोग बिरामी को लागि नभई उ ठग्न लाई आएको प्रस्ट देखिन्छ /

    Reply
  15. Basanta Shakya says:
    August 27, 2012 at 2:29 pm

    कर्ण शाक्य को सोच पढने मौका मैले पनि पाएको थिए अत्त्यंत उत्तम विचार को प्रस्तुति हो यो सोच माईसंसारको यो कदम सराहनीय सोच हो धन्यबाद .

    Reply
  16. K.NATH, Belgium says:
    August 27, 2012 at 2:15 pm

    खोज पुरा नै नपढी बकवास टिप्पणी गर्नु बेकार हो/ मैले पनि खोजको चर्चा धेरै सुनेको छु/ बल्ल अब माईसंसार मार्फत पढ्न पाइयो/ माईसंसारलाई यसको लागि धन्यवाद/
    कर्ण शाक्य अपरिचित नाम होइन / सबै परिस्थितिबाट लक्ष्मी बैभव प्राप्त भए पनि समजकोलागी केहि गरौ भन्नेहरु धेरै कम छन्/ तर साहित्यकार शाक्यजीको सेवाभाब प्रसंसनिय छ/

    Reply
  17. jagan karki says:
    August 27, 2012 at 1:55 pm

    ‘वर्तमान राजनीतिक परिवेशमा यो समाजको पोखरीमा बस्ने हो भने गोहीहरूसित वैरभाव गरी बस्न पनि सकिन्न।’
    धन्यबाद माइसंसार,धन्यबाद कर्ण शाक्य दाइ यो पुस्तक पढ्ने इच्छा पुरा गरिदिनु भएकोमा !

    Reply
  18. sant says:
    August 27, 2012 at 12:38 pm

    i tried to download the complete book “Soch” from your old page (http://www.mysansar.com/archives/2007/08/id/1789) but was unable.
    so, requesting you to provide the book or audio version of the book for download again in mysansar. Thanks.

    Reply
  19. Mahesh Pathak says:
    August 27, 2012 at 10:24 am

    “सोच” भन्ने पुस्तका एक जिबनको प्रायस्चित्त मात्र हो। यस्तो त बुडेसकालमा धेरैले लेख्चन बायोग्रफिको रुपमा। कर्ण शाक्यले “पजिटिभ” हुनु पर्छ भन्ने नाममा आफ्नो कुरा लेखेको हो। खै किन हो हल्ला चै धेरै भयो। राजधानिमा हुर्केको, बिदेश सम्म पहुच भएको, उधोगमा लागेको मान्छेले यति गर्नु ठूलो हैन। काठमाण्डुमा नै बसेर , त्याहाका सँस्थाहरुमा काम गर्नु भन्दा नेपालका कुनामा गएर काम गरेर देखाउनुस शाक्य जि। छोरिलाई नेपालमा पढाउदा र छोराको अमेरिकामा ब्याबसाय गर्नु कुरालाई समर्थन गरिन भन्दा तपाई लाफ साहानुभुति धेर नआउन सक्छ जति राउटेको धाउमा मलम लगाउनु हुन्छ वा दिलशोभा र पुस्पा बस्नेत जस्तो उधाहरण बन्न सक्नुहुन्छ।

    Reply
  20. rishi says:
    August 27, 2012 at 7:26 am

    कर्ण जी को कुरा एकदम ठिक हो| किनभने चन्दा शबैलाई दियर सद्दे पनि हुददैन नि| अनुकुल परिस्थिति हेरेर चन्दा दिने हो | तर मा के भन्छु भने चन्दा भन्दा पनि अन्य कुरा जस्तै ,कम गर्न सक्ने शिप हरु दिनु ,सीक्छा दिनु नै राम्रो कुरा हो | अब कसैले धम्कि गाली आदि गर्क्षन् र चन्दा नै माग्छन भने त के गर्ने र |

    Reply
  21. Bhim says:
    August 27, 2012 at 5:22 am

    I highly appreciate the way of presentation in this Khoj.I really feel jealousy about the writer in the sense that my story(may be all Nepalese who still struggles for food only where Karnadas like family may not have faced that)would be 100 times heart breaking than this.
    Happy to read this book the way the matters are presented.

    Reply
  22. ram thapa says:
    August 27, 2012 at 4:46 am

    तिर्थ फुस्ते !! तिमि जस्तो १० जेब्रे देसद्रोही प्रचण्डको पिछा लग्गुले कर्ण साक्य जसो रस्तबादी चिन्तक र लेखकलाइ पोज दियर कमेन्ट लेखेको सुहायन कदापि !! कदापि !!! तिमि ….जी, कर्ण सक्या को अगाडी केहि होईनौ, तिम्रो असली पुरा नाम नाम के हो ?? ठेगाना कहाँ हो हिमत भय लेख सोल्टा !!

    Reply
  23. Ramesh Thapa says:
    August 26, 2012 at 10:00 pm

    हैन कर्ण शाक्य ज्यु हरु जस्ता हुनेखाने मान्छेले त दिदा भैहाल्यो नि चन्दा, सहयोग, सरसल्लाह आदि इत्यादी यो कुन ठुलो कुरा हो र?नेपालका कुना काप्चामा अझै पनि मान्छे हरु स्कुल जान सकेका छैनन् , गरिबीको कारण बाट हातमुख जोड्ने पनि अवस्था छैन एकातिर भने अर्कोतिर शाक्यका परिबारका सबै मान्छेहरु अमेरिकामा पढेका र अरु चै केहि नै गर्न नसक्ने र मागीखानेका सन्तान जस्तो व्यवहार यो पुस्तकमा देखिन्छ र अर्को कुरा यो किताब ‘सोच’ को चर्चा मात्रै बढी हो खासै केहि छैन/

    Reply
    1. arun says:
      August 26, 2012 at 10:40 pm

      एकदम ठिक भन्नु भयो / यो सोच किताब चर्चा बढी मात्र होइन अति नै बढी र गुदी खासै तेती भएको जस्तो लागेन मलाइ पनि / सायद मैले नबुझेर पनि होला ? एस किताब ले अहिले को याने बर्तमान समाज र पुस्ता ले भोगी रहेका समस्या हरु कर्ण जी ले भोगेको को भन्दा अलग ढंग र परिस्थिति भएर पनि हो कि ?

      Reply
      1. tek raj timalsina says:
        August 27, 2012 at 6:11 am

        ” यो सोच किताब चर्चा बढी मात्र होइन अति नै बढी र गुदी खासै तेती भएको जस्तो लागेन मलाइ पनि” !!

        के तपाइंले त्यो किताब पढ्नु भएको छ ? छैन भने हचुवा को भरमा कमेन्ट नगर्दा राम्रो | अनि चन्दा त उनि दिंदै एक छन्, तर प्रश्न कति दिने र कसकसलाई दिने को हो | चन्दाक नाम मा ठग्दै आएका राजनीतिक कार्यकर्ता हरु लै किन दिनु चन्दा ?

        Reply
    2. tirtha says:
      August 26, 2012 at 11:51 pm

      चन्दा कसलाई तिनै लुटेरा माओबादीहरुलाई दिने भन्नु भाको हो? तपाइको कमेन्ट इर्स्या र नकारात्मक सोचको परिणाम नै हो की भन्ने हाम्लाई लाईराछ | कि भन्नुस तपाईको आफ्नो के सोच छ? नकारात्मक टिप्पणी गर्न धेरै सजिलो छ |

      Reply
    3. jeevan says:
      August 27, 2012 at 7:40 am

      He found the solution (Khoj) for the aid that the person is seeking for. I don’t think you got the point or you are just pretending you did not understand. This is indirectly pointing towards the people seeking for the aid which I think is not appropriate. I give aid to people it is my decision not by any social or political pressure.What do you mean by “HUNE KHNAE” or “BUDDHI JIBI”. He is sending his children to US, what is wrong? do you mean instead he should help the guy with money ? Karna ji give the best solution to the guy he will help invest in his work. In fact foreign countries aiding stragedy towards Nepal should also be changed, infact they should invest in project if Nepalese give the good ouput. Then only aid (invest) should continue, what is use of aid which more than 90%sum goes to political pocket.

      Reply
  24. Mally says:
    August 26, 2012 at 7:05 pm

    Karna Dai,
    As I Am,Where I am,Like your pen, Khuswoant singh rememberd.
    Mally

    Reply
  25. Hom Nath Adhikari says:
    August 26, 2012 at 6:44 pm

    धेरै पहिलेदेखि नै यो पुस्तक पढ्ने इच्छ्या थियो अब चाही पुरा हुने भयो त्यसैले माइसंसार युनिट लाइ धेरै धेरै धन्यबाद

    Reply
  26. बासु says:
    August 26, 2012 at 6:33 pm

    उमेशजी,
    ढिलै भए पनि ‘खोज’ यहाँ राख्नु भएर राम्रो गर्नु भएको छ | पुस्तक नपाउनेले यहाँ सजिलै पढ्न पाउने छन् | तर यो पुस्तक निस्केको त केहि वर्ष भै सकेको नै हो | यहाँ प्रकाशित माथिको कभर चाहिं मसंग भएको कभर भन्दा फरक रहेछ | मसंग पहिलो संस्करण हो |

    यसको सीडी मैले कर्ण शाक्यबाटै हालसालै यहाँ अमेरिकामा पाएँ र सुनी पनि सकें | बीबीसीका सुमन खरेलको मीठो र प्रभावकारी स्वरमा भरिएको त्यस सीडीको कभरको पछाडीको भागमा ‘खोज’ बारे गरिएको टिप्पणीहरुमध्य माइ संसारबाटपनि उद्धृत गरीएका छन् | माइ संसारका पाठक काँचो कर्कलो र लुना-बेल्जियमले माइ संसारमा ‘खोज’ सम्बन्धि गरिएको टिप्पणी साभार गरिएको छ |
    खसखस डट कमले सन् २००९ अगस्तमा कर्ण शाक्यसँग गरेको कुराकानीको लिंक उपयोगी हुने छ भन्ने ठानेर यहाँ प्रस्तुत गरेको छुँ जसमा पटक पटक माइ संसारकोपनि उल्लेख भएको छ | http://khasskhass.com/audio/karnashakya.mp3

    धन्यवाद |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme