Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा

Posted on August 19, 2012August 20, 2012 by Salokya


भएको मोटरसाइकल कलंकीको एउटा छेउमा अड्याएर हेल्मेट बोकी कसैले २५ रुप्पे तिरेर बसमा रिङरोड घुम्छ?

अस्ति-अस्ति भए मान्छेले ‘पागल’सम्म त स्योर भन्थे होला।

अहिले भने अचम्म मान्नुपर्दैन, ‘रहर’ हो यो। काठमाडौँमा शुक्रबारदेखि राति ३ घण्टा नाइट बस चल्न थालेपछि बस चढ्नै छाडिसकेका मान्छेहरु नि यस्तो रहर गरिरहेका छन्। हिजो हामी केही साथीहरु राति यस्तो बसमा घुम्न निस्केका थियौँ। एकछिनपछि नै थाहा भयो, हामी जस्तै रहर गर्नेहरु त्यहाँ अरु पनि पो रहेछन्। एक जनाले त हातमा हेल्मेटै बोकेका थिए। कुरा बुझ्दा थाहा भयो, बाइक कलंकीमै राखेर बस चढेका रैछन् रहर पूरा गर्न। ‘भरे कलंकी पुग्दासम्म बाइक चैँ गायब भइराख्ला नि’ कसैले यस्तो के भन्याथ्यो, त्यो मान्छे रिसाइहाल्यो- ‘शुभ-शुभ बोल्नुस् न!’

शनिबार राति गरिएको नाइट बस यात्राको थप विवरण भिडियोसहित-


यो फोटो हेर्दा नाइट बस यात्रा खुबै रमाइलो हुन्छ जस्तो लाग्न सक्छ। चिल्ला, सफा बाटो अनि उज्यालो सडक! तर यो फोटोले २८ किलोमिटर लामो रिङरोड यात्राको पूर्ण वास्तविकता भने दर्शाउँदैन।

रिङरोड परिक्रमाको कार्यक्रम फेवाताल, बेगनास तालमा हैन, हावातालमा बनेको थियो। यसो घुमौँ न, कोही जान इच्छुक छ भनेर ट्विटरमा सोधेको भरमा रहर गर्नेहरु धेरै भए। ठाउँठाउँमा चढ्ने र झर्नेहरु गरी एक समय त १५ जना साथी एकै ठाउँ भयौँ।

रिङरोडमा तीन घण्टा चार बस कुद्छन्। दुई वटा बस कलंकीबाट आठ बजे एउटा स्वयम्भूतिर र एउटा बल्खुतिर जान्छ। त्यति नै बेला अर्को दुई बस कोटेश्वरबाट एउटा सातदोबाटोतिर र अर्को चाबहिलतिर लाग्छ। हामीले आठ बजे सातदोबाटो हुँदै चक्रपथ घुम्ने बसलाई आफ्नो लक्ष्य बनाएका थियौँ। म कलंकी पुग्दा एउटा नाइट बस स्वयम्भूतिर गुड्न आँटेको थियो। अर्को नाइट बस रत्‍नपार्कतिर जाँदै थियो। तर म कोटेश्वरबाट आउने बसको प्रतीक्षामा थिएँ, जसमा सानो बेला हेर्ने टेलिफिल्मका हिरो ब्रजेश खनालदेखि कर्नाली ब्लुजका लेखक बुद्धिसागर, कान्तिपुर टेलिभिजनका न्युज एङ्कर रुपेश श्रेष्ठ, पत्रकार गिरीश गिरी, बीबीसीका कमलकुमार, मुकुन्द नेपाल, उज्यालोका कृष्ण गुरागाइँ लगायतका साथीहरु चढेका हुन्थे।

कलंकीमा एउटा बस छुटेपछि अर्को नाइट बस आउन कति समय लाग्छ भन्ने अनुमान गर्न पनि आठ बजेदेखि नै त्यहाँ कुरेर बसेको थिएँ। धेरै वटा माइक्रो बस र ठूलै बसहरु पनि आए। खाली नै थिए ती बसहरु। तर ती बसहरु ग्यारेजसम्म मात्र जान्थे, कुनै बसपार्कसम्म, कुनै बालाजुसम्म। पूरै रिङरोड घुम्ने बस भने अब नाइट बसमात्रै बाँकी थियो।

कलंकीको आकाशे पुलमुनि चिया-अण्डा बेच्नेहरुको बेग्लै संसार थियो। एक हुल ट्याक्सी पनि छेउमा रोकिएको थियो।

ठ्याक्कै ८ बजेर ३७ मिनेटमा आइपुग्यो नाइट बस। रात्रि सेवा लेखिएको यो बस टाढैबाट चिनिन्थ्यो। भनेपछि कलंकीमा कसैले आठ बजेको बस छुटायो भने अर्को चढ्न ३७ मिनेट कुर्नुपर्ने रहेछ। बसमा चढेँ, साथीहरु पछाडिको सिटमा लहरै बसेका रहेछन्। बस गुड्यो, सँगै हाम्रो रमाइलो पनि सुरु भयो।

यस्तो अँध्यारोमा सीसीटीभीले के खिच्ला?

बस पुरानै रहेछ। बत्ती पनि त्यति उज्यालो रहेनछ। त्यसैले सीसीटीभीले कालो बाहेक केही खिचिरहेको थिएन, सीसीटीभीको डिस्प्ले पनि ‘अन’ नै राखिएकोले के खिचिँदैछ, राम्रैसँग देखिन्थ्यो।

‘१६ घण्टा उभिएर यात्रा !’
कलंकीदेखि स्वयम्भू-बालाजुसम्मको यात्रामा यात्रुहरु राम्रै चढेका थिए। कतिले त उभिएर पनि यात्रा गर्नुपरेको थियो। हामी रमाइलोको लागि यात्रा गरिरहेकाहरु, उनीहरु बाध्यताले यात्रा गरिरहेकाहरु। हामी मध्ये धेरैले आफू उभिएर बाध्यताले यात्रा गर्नुपरिरहेकाहरुलाई सिट छाडिदियौँ। उभिनु पर्दा पनि दुःख थिएन। बरु बुद्धिसागरले यस्तो गफ दिए- ‘एक पटक मैले सुर्खेतसम्म १६ घण्टा उभिएर यात्रा गरेको छु। कहिले यसो हुने, कहिले यसो हुने’ उनी जीउ मर्काइ मर्काइ पोज देखाएर सबैलाई हसाउँदै थिए। नचिन्नेहरुले बुद्धिसागरलाई रमाइलो शैलिमा लेख्ने लेखकका रुपमा मात्रै चिनेका होलान्। तर बुद्धिसागर आफैमा निकै रमाइलो मान्छे हो। सामान्य कुरालाई पनि उसले यस्तो रमाइलो शैलिले सुनाउँछ कि मान्छे हाँसेको हाँस्यै हुन्छ। कसैले उसलाई स्टायन्ड अप कमेडीमा निमन्त्रणा गरे पनि हुने हो।

उसले राजेश दाइका धेरै जोक्स सुनाएर हँसायो। ब्रजेश खनाल पनि के कम, उनले पनि रमाइला जोक सुनाएर हँसाए। राजेश हमालदेखि दीपक रौनियारसम्म र पत्रकार नारायण अमृतदेखि सँगै यात्रा गरिरहेका गिरिश गिरीलाई समेत छाडेनन् उनीहरुले। यही बसमा रहेकालाई चाहिँ पात्र नबनाउँ न भनेर गिरिशले भनेपछि भने जोकको क्रम अन्तैतिर मोडियो।

‘सुर्खेत जाने नाइट बस र रिङरोड घुम्ने नाइट बस उस्तै हुने रहेछ’ बुद्धिसागरको टिप्पणी थियो। नभन्दै त्यस्तै थियो स्थिति। बाहिर झ्यालबाट हेर्दा अँध्यारो बाहेक केही देखिन्न। एक त लोडसेडिङ, लोडसेडिङ नभए पनि कहाँ झिलिमिली बत्ती बल्छ र रिङरोडमा। ‘कि हस्पिटल, कि रेस्टुरेन्टमात्र उज्यालो हुने रैछ’, गिरीश गिरीको टिप्पणी।

‘एक्कासी झर्ने प्रस्ताव’
साथीहरुलाई अत्यास लागेछ। बसपार्कमा झरौँ, चिया-सेकुवा खाऔँ अनि फेरि अर्को बसमा चढेर घुमौँला नि, बल्ल त नौ बज्यो भन्न थाले। बुद्धिसागर र ब्रजेशको यो प्रस्तावलाई हुन्न भनेर कसैले भनेनन्। बसुन्धाराबाट दीपक भट्टराईसहित चार जना अरु साथीहरु चढ्दै थिए। उनीहरुको पनि उद्देश्य हामीसँगै मिसिएर हामी जस्तै रिङरोड घुम्ने नै थियो। त्यसैले बसपार्कमा हैन त्यहाँ झर्ने निर्णय भयो।

दीपकसहितका साथीहरु नाइट बस देखेर जोस्सिँदै थिए, हामीहरु झरेपछि अचम्ममा पो परे। हुन पनि कोटेश्वरदेखि यात्रा गरेकाहरुलाई लामै यात्रा भइसकेको थियो, यता भर्खर चढ्न खोजेकाहरुलाई भने चढ्ने रहरै मात्र। बसुन्धारा चौकीबाट हिँडेर महाराजगञ्जसम्म जाने र अर्को नाइट बस चढ्ने कुरा भयो। चिया-सेकुवा खान खोजेकाहरु, बिचरा!, कतै पाएनन्। कतै पसल खुल्या भए पो! अब त साढे नौ बजिसकेको थियो।

भूतै रिसाउने अँध्यारो बाटो
बाटो फेरि कस्तो अँध्यारो! भूतै रिसाउने खालको!

बुद्धिसागर भन्थ्यो- भूतलाई नि रिस उठ्छ होला ओभरटाइम गर्नुपरेकोले। मध्यरात १२ बजेमात्र निस्कनुपर्ने, १० नबज्दै यस्तो अँध्यारो छ। ओभरटाइम गर्नुपर्‍यो भनेर काठमाडौँका भूतहरु कम्ता रिसाउँदैनन् होला!


रिङरोडको सुनसान अँध्यारो बाटोमा हामी १५ जना लखरलखर हिँड्दै थियौँ। सुइँसुइँ हुइँकिन्थे गाडी र मोटरसाइकल। ट्राफिकहरु मापसे चेक गर्दै हुन्थे। एक ठाउँमा त स्टार्ट गरिराखेको मोटरसाइकल परै छाडेर ट्राफिकसँग विवाद गर्दै थिए। अचम्मको दृश्य। साथीहरु अलिकति झिलिमिली भएको कुनै गाडी देख्यो कि ‘नाइट बस! नाइट बस!!’ भन्दै चिच्याउँथे। तर कहाँ आउनु नाइट बस। विपरीत दिशाबाट भने आयो। तर त्यसमा चढ्ने कुरा भएन क्यारे।

अलपत्र
हिँड्दै हामी नारायणगोपाल चोक पुग्यौँ। त्यहाँको सडकमा अलपत्रसित बस्यौँ। १० बज्न लागिसक्यो, नाइट बस आउने छेकछन्दै छैन त! लौ अब चाहिँ नाइट बसको स्वादै नचाखेका दीपक लगायतका साथीहरु आत्तिन थाले- अब कति बेला आउने हो, बाटैमा ११ बज्ला र लौ झर ११ बजेपछि जाँदैन भन्यो भने के गर्ने? कुरो सही हो। कोटेश्वरतिरै अलपत्र परिएला जस्तो लाग्यो मलाई पनि।

१५-१५ जनाको हुल चोकमा देखेर पुलिस पनि सोध्न आयो- के हो भाइहरु?
‘नाइट बस कुरिरहेको, कहिले आउला?’
उनीहरुलाई पनि बिचरा के थाहा र! आउँदै होला रे।

नारायणगोपाल चोकमा नाइट बस कुर्दै अलपत्र-कार

ट्याक्सीका दिन गए
हिजो भर्खर अफिसले तलब हाल्देको छ, ट्याक्सी चढेर जान्छु भन्दै सुरियो बुद्धिसागर। दुई तीन जनालाई समेत पुर्‍याइदिन्छु रे। उसको कुरा सुनेको त के होला र, तर एउटा ट्याक्सी मुख मिठ्याउँदै आयो- जाने हो दाइहरु भन्दै। हामीमध्येका एक जना साथीले ‘हामी त नाइट बस कुरेको बाबै नाइट बस, अब ट्याक्सीका दिन गए’ भनिदिए। ट्याक्सी चालक दाइले नि तितो सत्य ओकले, ‘चढ्नुस्-चढ्नुस्, सरकारको ढुकुटी नरित्युन्जेल त हो!’ यति भनेर ट्याक्सी बाटो लाग्यो। तर बस नआएपछि अब त ट्याक्सीले लाख रुप्पे दिन्छु भने नि लाँदैन होला, त्यस्तो भनियो भनेर साथीहरु थकथक मान्दै थिए। हुन पनि एउटा बस छुटेपछि अर्को बस कहिले आउँछ भनेर ठ्याक्कै समय थाहा नहुँदा साह्रै अप्ठेरो हुने अनुभव आज गरियो।

धापासीको गगनचुम्बी अपार्टमेन्ट।

बल्ल आयो बस
१० बजिसकेपछि झिलिमिली बत्ती बाल्दै नाइट बस आयो। मंगल ग्रहमा रोभर उत्रिँदा नासाका वैज्ञानिक के खुसी भएका होलान् र, साथीहरु त्यति खुसी भए। कहाँसम्म जान्छ पहिले सोधौँ- दीपक आत्तियो। सोध्दा बालाजु बसपार्कसम्म जान्छ भनियो। यो अन्तिम बस रहेछ। खासमा कलंकी पुग्दा ११ बज्ने रहेछ, ग्यारेजसम्म लाने भएकोले बसपार्कसम्म आउने रहेछ।

सबै साथीहरु चढ्यौँ। यो चाहिँ अघिको बसभन्दा उज्यालो रहेछ। हामी ड्राइभर नजिकैको सिटमा बस्यौँ। केही साथीहरु पछाडि सिटमा गएर बसे। नाइट बस क्रिउ लेखिएको चम्किलो ज्याकेट लगाएका चालक र कन्डक्टर थिए। यही बसमा थिए हामी जस्तै रहरवाला यात्रुहरु, अघि भनेको हेल्मेटवाला यात्रु यसैमा थियो।

अब साथीहरु फेरि रमाइलो गर्ने मूडमा थिए। ‘बसबाट झरेर ट्याक्सीको अगाडि गएर यी खाऊ भनेर लोप्पा खुवाउने शैलिमा हात देखाइदिउँ कि क्या हो’ ट्याक्सीको बारेमा आजैको नागरिकमा लेख लेखेका बुद्धिसागरले हसाउँदै थिए। यो बसबाट झरेर खसे वा लडे भने पनि यी ट्याक्सीवालाहरु छुन पनि आउँदैनन् होला यार- अर्को साथी।

तीन घण्टा नाइट बस चलाउँदा नि यहाँका मान्छेलाई के के न भाको जस्तो भा छ। मान्छेहरु त्यसै खुसी छन्। साँच्चिकै देशमा विकासको लहरै चल्यो भने के होला- दीपकले प्रश्न सोधे। ‘हो त नि, मनकामनामा केबलकार चल्यो भनेपछि मान्छेहरु केबल कार चढ्न ओइरिएजस्तो’, हेल्मेट बोकेर बस चढ्नेलाई लक्षित थियो यो वाक्य सायद। तर आफूहरु पनि त्यस्तै त हो नि। काठमाडौँमा मेट्रो, रेलै चढ्यो भने त मान्छेहरु एक हप्तासम्म भोजै गरेर बस्थे होला, स्टेसन स्टेसनको रेस्टुरेन्टले फ्रीमा खुवाउँथ्यो होला- बुद्धिसागरको अनुमान। नेपालीहरुलाई खुसी हुन ठूलो कुरै चाहिँदैन, नाइट बसै उदाहरण छ- ब्रजेश खनाल।

राति ठ्याक्क भूतले बस रोकिरा रे के- लौ फेरि कुन चाहिँ हरर मूभि फ्यान बोल्यो। लास्टमा त बसमा भूत र पुलिस मात्रै रे के- अब चाहिँ पुलिस दाइहरु समेत नहाँसी धर पाएनन्।

नाइट बसमा पुलिसहरु बस्ने ठाउँ भने अलि भएन। महिला आरक्षित सिटमा बस्नुभन्दा ढोका नजिकैको सिटमा बसे हुने। एक जना अगाडि, एक जना पछाडि बसे पनि हुने। अनि फर्स्ट एड बक्समा हेर्नुस् त- टुथपेस्ट र ब्रस पो।

अब त साथीहरु बिस्तारै झर्ने बेला पनि भइसकेको थियो। ठाउँठाउँमा साथीहरु झर्दै गएपछि हाम्रो समूह छोट्टिँदै गयो। बस कहिले खाली भएन, कहिले त यात्रुहरु उभिनै पर्ने पनि हुन्थ्यो। कोटेश्वरतिर केही महिला पनि चढे। नत्र यात्रामा महिला खासै देखिएन।

मैले फोटो खिच्दै गरेको यो फोटो चाहिँ कमलकुमारले खिचेको।


बस बल्खुबाट रिङरोड नलागी कुलेश्वर पो छिर्‍यो। किन भन्दा त ड्युटी सकिएकोले पुलिस दाजुहरुलाई कालिमाटी चौकीमा झार्नुपर्ने रहेछ। अब हाम्रो सुरक्षा कसले गर्छ त? दीपकले सोध्दा उनीहरुले भने- २४ सै घण्टा तैनाथ हुने सीआरभी छ नि!

कालिमाटीमा दुई जना मापसे गरेकाहरु चढे। नत्र यात्रामा खासै मापसे गर्नेको गन्ध सुँघ्नु परेको थिएन।

म कलंकीमा झरेँ। ११ बजिसकेको थियो। दीपकसहितका साथीहरुलाई बसले बसपार्कनिर छोडिदिएछ। त्यसपछि केही साधन नपाएर उनीहरु पैदलै बसुन्धारा घर पुग्न बाध्य भएछन्।

झण्डै ३ घण्टाको नाइट बस यात्रा यसरी टुङ्गियो।

यो त रहर पूरा गर्नलाई त हो नि, अब त काम परे मात्रै यसमा चढिन्छ- मैले सोझो तालले भनेँ। पछाडिबाट प्वाक्क कसैले भन्यो- ‘हैन, बूढीसित घरमा झगडा पर्दा नि यसो घुम्नु हुन्छ। दुई घण्टा सहर डुलेर आएसि माइन्ड कूल हुन्छ। अझ जाडोमा त्यसरी हिँड्नुपर्छ। घर फर्केसि झगडा आफै सल्टिन्छ’ 🙂

यो यात्राको एउटा छोटो भिडियो हेर्नुस्

नाइट बसबारे थप ब्लग
काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…
यस्तो रह्यो नाइट बसको पहिलो यात्रा

20 thoughts on “हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा”

  1. ShantiRam Basnett says:
    February 24, 2013 at 1:33 pm

    रात्री बसको यात्रा गर्दाको भिडियो हेर्दा मलाई राजेश हमालको चुट्किला नै मन प¥यो ।

    Reply
  2. krishna chhetri says:
    August 25, 2012 at 1:32 am

    परदेशमा बसेर नेपालमा भयको सानो प्रगती सुन्न पाउदापनि खुसि लाग्छ ,,,,जय नेपाल !!!!!

    Reply
  3. dev kunwar says:
    August 24, 2012 at 4:17 pm

    ढीलै भय पनी राजधानीमा रात्री बस चल्यो यस लाई राम्रो भन्नु पर्छ,आशाबादी हुन् पर्छ भोलीका दिन मेट्रो पनी गुड्न सक्छ तेती बेला येहाँ साथी हरुले के भनेर गिल्ली गर्नु हुन्छ कुन्नी,,,,,,,,,,,,,,,,,,,,,,

    Reply
  4. Manoj Shrestha says:
    August 21, 2012 at 9:35 am

    बस्ताब मा बिस्तारै बिस्तारै सुरुवात हुन्छ बिकासको अन्डा पकाएर खाको जस्तो हुदैन. क गर्ने रोजी रोटि नै गुमे पछि भिएतनाम आइ पुगियो नत्र भने . म पनि एक दिन मज्जाले घुम्ने थिय रात्री बस मा . केहि छैन नेपाल फर्के पछि चढ़ौला. अहिले चै लेख पढेर नै चित्त भुझाउनु पर्ला. येहा हरुलाई धन्नाया बाद छ है .

    Reply
  5. madhab bhatta says:
    August 20, 2012 at 9:17 pm

    Kunai पनि देस को अर्थ व्यवस्था मा यातायात ले महत्वपुर्ण भूमिका खुलेको हुन्छ. जहाँ २४ सै घण्टा सूलव यातायात को सुबिधा हुन्छ त्यहाँ मानिस हरुले आफ्नो अनुकुल मिलाएर होटेल कलकारखाना हरु संचालन गर्न पाउछन, जसले रोजगारीको अबसर प्रदान गरि देस को अर्थ व्यवस्था मा टेवा पुर्येको हुन्छ. तसर्थ सुरुवाती क्रम कै भए paनि यो काम सर्हानिय लाग्यो. एकजना साथी ले लेखेको कमेन्ट जस्तै taxi माफिया हरुले एस्लाई नाबिगरुन बरु ११ बजे सम्म मात्र होइन सम्पूर्ण रात भरि यो सुबिधा laguhunuparcha .

    Reply
  6. kusum says:
    August 20, 2012 at 8:34 pm

    राति ठ्याक्क भूतले बस रोकिरा रे के- लौ फेरि कुन चाहिँ हरर मूभि फ्यान बोल्यो….lol

    Reply
  7. Bala Ram Thapa says:
    August 20, 2012 at 9:57 am

    रात्री मेट्रो बस बेलुका ८ बजे देखि ११ बजे सम्ममात्र चल्दा त सबै क्षेत्र र वर्ग का कलाकार ,हास्य ब्यन्गकार ,साहित्यकार हरु यौटा पिकनिक सपोर्ट तर्फ रमाइलो गर्न जान लागे जस्ती एक समुहनै जुटेर हाँस्दै , रमाउदै ,ठटा गर्दै ,फोटो खिच्दै २८ किलो मिटर चक्र पथको यात्रा मा संगै जुटेको देख्दा ज्यादै रमाइलो लाग्यो मलाइ पनि | कलंकीको झुण्डीएको पुल ओरिपरी र चक्र पथका दायाबाया यदि झल्ला मल्ल बत्ति भैदिएको भए रातभरी र दिन भरी निएमित रुपमा मेट्रो बस चल्ने व्यवस्था भए निउ योर्क को टायम स्क्यार भन्दा के फरक हुन्थियो होला र ? त्यस्तो अवस्था मा कामकै सिलसिलामा बा बिदा मनाउने बा माइंड रेफ्रेस गर्ने निहुमा २८ कि मि को सफर कति रमाइलो हुदो हो ?

    Reply
  8. बुद्ध ( कोरिया ) says:
    August 20, 2012 at 8:03 am

    रात्री बस चल्दा एस्तो छ अझ मेट्रो चले कस्तो होला
    कठै मेरो देश …..

    Reply
    1. Sharad says:
      August 20, 2012 at 10:02 am

      बुद्ध साथि कुन देशको नागरिक पर्नु भयो कुन्नि? कि उतै कोरिया को भोटेले पालेर हुर्काएको हो?? आफ्नो देशलाई सम्झनुस अनि सोच्नुस केहि त भयो अब रति taxi चड्नु परेन भनेर. कुनै दिन मेट्रो चल्ने समय पनि आउछ तपैजस्ता मान्छेले बिदेशमा गएर आफ्नो देश लै जिस्क्यायेनन भने, देश मै बसेर काम गरे भने / सक्नुहुन्छ भने नेपाल आएर केहि गरेर देखौनुस, होइन भने भोटको खुट्टा मोलेर आफ्नो आमालाई नाजिस्क्यौनुस.

      Reply
  9. prem sharma says:
    August 20, 2012 at 3:59 am

    Thanks for sharing your experience, you have had in our newly introduced night bus, with us. I thoroughly enjoyed going through it.

    Reply
  10. सुनिल खड्का (Bangkok, Thailand) says:
    August 19, 2012 at 9:09 pm

    सारै राम्रो ! दुनिया लाई बढ्नु भयो यो रमाइलो यात्रा म आभारी छु / धन्यवाद !! सालोक्य जी

    Reply
  11. robei says:
    August 19, 2012 at 8:47 pm

    बुद्दी सागरको कर्नाली ब्लुज त पढ्दा नै भेट्न मन लाग्या हो अब त झन नभेटी भएन | लौन ठेगाना बताउनु पर्यो |

    Reply
  12. Basant says:
    August 19, 2012 at 8:37 pm

    ‘हामी त नाइट बस कुरेको बाबै नाइट बस, अब ट्याक्सीका दिन गए’ भनिदिए। ट्याक्सी चालक दाइले नि तितो सत्य ओकले, ‘चढ्नुस्-चढ्नुस्, सरकारको ढुकुटी नरित्युन्जेल त हो!’ यति भनेर ट्याक्सी लाग्यो…….पत्रकार साथीहरुले मुख भरि पायेछंन जवाफ

    Reply
  13. rajan says:
    August 19, 2012 at 7:55 pm

    काठमाडौँ सहर घुम्न लाग्यो रहर l

    Reply
  14. janak dangol says:
    August 19, 2012 at 7:26 pm

    राम्रो कामको सुरुवात हो तर ट्याक्सी माफियाले केहि दिन पछी आन्दोलन गरेर बन्द चैँ नगराओस ! किनभने जे मा पनि झुक्ने बानी छ नि बाउराम सरकारको !

    Reply
  15. dipak shrestha says:
    August 19, 2012 at 6:03 pm

    यो रात्री सेवा लाई चारैतिर बाट प्रोत्सहन मीलोस ता कि एसले आम निम्नाबर्गाका मानिसहरु को लागि अत्त्याबसक यातायात सुविधाले निरन्तरता प्राप्त गरोस |फेरी पनि सुभकामना | मोफसलका हामी राजधानी पुग्दा यातायात असुविधा भोग्दै आयका जनताहरु |

    Reply
  16. राज says:
    August 19, 2012 at 5:34 pm

    म झापालीलाई घर बसीबसी काठमाण्डौको नाइट बसमा घुमाइदिएकोमा धन्यवाद उमेशलाई …..

    Reply
  17. उपासक उदास says:
    August 19, 2012 at 4:45 pm

    यो भनेको पनि उही ‘ बदामको बोक्राको भारि बोकेको देखाएर बदामै बेच्ने अभिनय /
    अर्को शब्दमा , टाला तुले = बाटुले , यसो भन्दा फरक नहोला //

    Reply
  18. रविन्द्र रिजाल says:
    August 19, 2012 at 4:21 pm

    गजब अनुभव !

    Reply
  19. Narendra (Qatar) says:
    August 19, 2012 at 4:12 pm

    यो लेख पढेर तुरुन्त नेपाल पुगिहाल्नु जस्तो पो भयो त गाँठे !!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme