Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो रह्यो नाइट बसको पहिलो यात्रा

Posted on August 17, 2012August 18, 2012 by Salokya

६ महिना लामो प्रयासपछि आज रातिदेखि सुरु भयो काठमाडौँमा नाइट बस। यो बसमा पहिलो रातै यात्रा गर्ने इच्छा आज पूरा गरेँ।

काठमाडौँको भित्री सहरको यात्रा गर्ने बसहरु वीर अस्पतालअगाडिबाट छुट्ने भए पनि आज पहिलो दिन उद्‌घाटन गर्नुपर्ने भएकोले रत्‍नपार्क, शान्ति बाटिकाअगाडिबाट बस छुट्दै थियो। त्योभन्दा अघि एउटा औपचारिक कार्यक्रम थियो-भाषणबाजीको। उपप्रम तथा स्थानीय विकास मन्त्रालयको पनि कार्यभार सम्हालेका नारायणकाजी श्रेष्ठ आएका थिए रिबन काट्न। उनले रिबन काटेपछि एकछिन बसको यात्रा पनि गरे। त्यो बस बाहेक अरु पाँच वटा बस यहाँबाट छुटेका थिए। कुन बस कहाँ जाने भनी लेखिएको भने नहुने रहेछ। त्यसैले यात्रुहरु अन्यौलमा परेको देखिन्थे।

बसका चालक र कण्डक्टरले नाइट बस क्र्यु लेखिएको चम्किलो ज्याकेट लगाएका थिए। दिउँसो जस्तै नै गंगालाल-गंगालाल, चाबहिल-चाबहिल भनेर कण्डक्टरले भनेपछि मात्रै कुन बस कहाँ जान लाग्या हो थाहा पाइने ! चाबहिल जाने बस त अफिस टाइममा जस्तै नै कोचाकोच नै भयो।

छुट्टै रङ्ग र वीरगञ्जतिर जाने नाइट बसहरुमा जस्तो झिलिमिली डिस्प्ले भएकोले यस्तो नाइट बस चाहिँ टाढैबाट चिनिने रहेछ। मान्छेहरुलाई निकै चासो पनि रहेछ यो बसप्रति। रत्‍नपार्कमा यत्तिकै उभिरहँदा पनि मान्छेहरु यसकै कुरा गरिरहेका हुन्थे। यो एउटा चाहिँ राम्रो काम भा’को है भन्थे।

राति ८ बजे गुड्नु पर्ने भए पनि उद्‌घाटन र भाषणबाजीका कारण अलि ढिला भयो बस छुट्न।

म कलंकी जाने बसमा चढेँ। ढोकाबाट छिरेपछि पारिपट्टीको अगाडिको दुई सिटमा हतियारधारी प्रहरी बसेका हुने रहेछन्। एक जनासित दोस्रो विश्वयुद्धकालीन बन्दूक र एक जनासित चाहिँ सञ्चार सेट रहेछ। ड्राइभर बस्ने सिटको माथिल्तिर सिसिटिभी राखिएको रहेछ। यो सिसिटिभीको लिङ्क भने कतै जोडिएको रहेनछ अहिलेसम्म। अर्थात् त्यसैभित्र मात्र दृश्यहरु रेकर्ड हुने रहेछ। छिट्टै नै महानगरीय प्रहरी आयुक्तको कार्यालयबाटै सबै बसका सिसिटिभीहरु निगरानी गर्न मिल्ने बनाइने उद्‌घाटन कार्यक्रममा बताइयो।

बसका झण्डै सबै सिट भरिएका थिए। तर आज पहिलो दिन भएकोले मोटरसाइकल पार्क गरेर चढिहेरेको भन्नेहरु पनि थिए। यात्रुहरु यो कतिञ्जेल चल्ला भनेर अनुमान गर्दै थिए।

काठमाडौँका केही रुटमा नौ बजेसम्म केही माइक्रो चल्ने गर्छन्। तर यो नाइट बसमा चढ्नुको भने मजा नै बेग्लै! अझ आज पहिलो रात भएकोले बटुवाहरु पनि उत्सुकतापूर्वक यसैलाई हेरिरहेका!

महानगरपालिकाको ४५ लाख अनुदान पाएको बस हुनाले स्टपहरुमा खासै रोकिएन। रत्नपार्कदेखि कलंकीसम्म जाँदा बाटोमा एक जना मात्रै चढे। नाइट बसको झ्यालबाट झिलिमिली बत्ती बलिरहेको सहर नियाल्नुको आनन्द गजब थियो। राति ट्राफिक चाप उति नहुने हुनाले छिट्टै गन्तव्यमा पुगिने रहेछ।

सात बजेतिरको सार्वजनिक यातायातमा कोचाकोच सहनुभन्दा यो नाइट बस धेरै सुविधाजनक हुने रहेछ। आखिर तीन महिनाको लागि त भाडा दर पनि दिउँसोको जति नै हो क्यारे। नाइट लाइफ चल्ने हो भने यो बसको उपयोगिता धेरै नै हुनेछ। तर उद्‌घाटन कार्यक्रममा प्रहरी अधिकारीले सुनाएको कुरा गम्भीर छ। उनले भनेका थिए- काठमाडौँमा चलायमान समेत गरी जनसंख्या ४० लाख जति पुग्न सक्छ। प्रहरीको संख्या भने ९ हजार मात्रै छ। यति सीमित जनशक्ति र स्रोतसाधनले काठमाडौँको नाइट लाइफलाई सुरक्षा दिनु परेको छ।

हेरौँ, तीन महिनाको परीक्षणपछि यो नाइट बसले कस्तो परिणाम ल्याउने हो ? मलाई भने यही मौकामा एक पटक राति रिङरोड परिक्रमा गर्ने इच्छा छ। गरेँ भने त्यसको पनि अनुभव यहाँ बाँडौँला नि है!

राति ८ बजेदेखि ११ बजेसम्म चल्ने नाइट बसको रुटबारे बुझ्न यहाँ क्लिक गर्नुस्

17 thoughts on “यस्तो रह्यो नाइट बसको पहिलो यात्रा”

  1. mohan pun says:
    August 19, 2012 at 12:55 am

    बस २४ घण्टा नै चलाउनु दिनुस तर भट्टा खायर बस्ने ट्राफिकलाइचाहि काममा लगाउनु पर्यो, हरेक २० देखि ३० किलोमिटरको दुरीमा चालकलाइ ट्राफिकले चेक गरुन( ठाउँ ठाउमा प्रहरी खताउनुस), चालककै कारणले दुर्घटना ज्यादा भैरछ नत्र हरेक बर्स हजारौ नागरिक सधै झैँ अकालमा ज्यान गुमाउने छन् / भट्वा सरकारलाइ यसमा कुनै चासो छैन हामी जनताले नै अवाज उठाउनु पर्छ … जय मेरो सुन्दर नेपाल..

    Reply
  2. Max Thapa says:
    August 18, 2012 at 7:23 pm

    यो समय ११ बाट बढाउनु पर्छ कि , कम्तिमपानी एअरपोर्टको लागि बेबस्था हुनु पर्छ कि, किनकि बाहिरबाट आउने समय भनेको रात भर हुने गर्छ अनि ट्याक्सी ले जथाभाबी असुल्न पाउने थिएनन् , नत्र त अहिले राति ५००/१००० त मामुली लिने गर्छन |

    Reply
  3. Madhav says:
    August 18, 2012 at 6:16 pm

    नेपालमा बन्दको धेरै नराम्रो प्रबिर्ती बसेको छ/ रात्री बसले रातिमा टयाक्सी चलाउनेहरु लै मार त परी हाल्छा/ अब तिनीहरुले बन्द गर्ने होलान सुन्दै अचम्म लाग्ने माग राखेर/ खै कसरी उत्साहित हुनु र!

    Reply
  4. pravin yonzan says:
    August 18, 2012 at 4:11 pm

    सार्है खुशीको खबर पड़ना पायो / तर ३ महिना पछि पनि यो खुशी कयेमै रहे अझ राम्रो हुन्थ्यो / शुभकामना छ नगर बसिहरुलाई /

    Reply
  5. krishna chhetri says:
    August 18, 2012 at 2:18 pm

    राम्रो काम गरे जसले पनि समर्थन गर्छ. यस्ता खाले कामहरु अझै हुनु पर्छ…………

    Reply
  6. Sargam thapa says:
    August 18, 2012 at 11:28 am

    मा त भन्छु आज सकिन्छा भने २४ घन्टे सेवा हुनु पर्छा ताकी काठमाडौँ हाम्रो जिउँदो सहर मा परिवर्तन होस् जस्तो कि सिंगापुर , बैंकक जस्तो

    Reply
  7. Sargam thapa says:
    August 18, 2012 at 11:24 am

    यो काम जसले गरेको भए पनि सारै राम्रो युग को माग अनुसारको र आमुल परिवर्तन करी छ.राम्रो काम को सराहना र गलत कामको बिरोध गर्न सिक्ने हो कि न न कि आफ्नो पार्टी ले भ्रस्टाचार गर्दा पनि न बोल्ने र बिपक्ष्य ले असल काम गर्दा पनि बिरोध गर्ने राक्षसी प्रवृति को उन्मुलन गरि असल नागरिक बन्न सिकौ कि …सबैको सद्बुद्धि पलावोस …

    Reply
  8. योगेश आदी, न्यूयोर्क says:
    August 18, 2012 at 9:17 am

    सर्वसाधारणको हितलाई मध्यनजर राखेर गरिएको राम्रो शुरुवात ! आशा गरौँ , समय संगै सुधार र आवश्यक परिमार्जन हुदै जाने नै छ / – महानगरपालिकालाई सलाम !!

    Reply
  9. Deepa says:
    August 18, 2012 at 8:26 am

    मन्त्री साब जस्तै सुरक्षा कर्मीसँग सरर यात्रा गर्न पाए त रात का यात्राु हरु लाई अलिकती राहत मिल्ने थियो कि? तर जे जस्तो भए नि काम सरहनिय छ।सबै को यात्रा शुभ रहोस्।

    Reply
  10. बासु says:
    August 18, 2012 at 8:05 am

    असाध्य सकारात्मक पाइला हो यो | तर बस व्यवशायीहरुले नगरपालिकाबाट ४५ लाख नलिई बस चलाएको भए झन् राम्रो र भर पर्दो हुने थियो | त्यसैले अहिले तीन महिनापछि के हुन्छ टुंगो छैन | पन्ध्र बसले तीन महिनाको ४५ लाख अर्थात एक बसको भागमा तीनलाख अर्थात् एक बसको भागमा एक महिनामा एक लाख पर्यो | यो जनताको कर हो | व्यापारीलाई यसरी संरक्षण गर्नु कत्तिको उचित हो ? त्यसमाथिपनि बेटुंगोको संचालन |
    तर यसलाई अन्यथा नलिई व्यवसायीले सेवा र मेवाको भावनामा डुबे राम्रो | यो बस सेवाले अझ रातको समायवधि लम्ब्याउने र वर्षैभरि संचालन गर्ने मौका पाओस भन्ने शुभकामना |

    Reply
  11. सुजन बिक्रम says:
    August 18, 2012 at 4:42 am

    साझा र ट्रली लाई पुनर्जीवन दिनसके राजधानीबसी जीवन झन् सहज हुने थियो , तर यिनलाई पनि प्रतिगमन र मण्डले भन्न बेर छैन नया नेपालबासीहरुले |

    Reply
  12. aasish,switzerland says:
    August 18, 2012 at 4:07 am

    हतियार चै हात्ती को देखाउने दात जस्तै होला,केहि दिन पैले येस्तई अनलाइन समाचार मा पढेको थिए “प्रहरी मा नपड्कने हतियार” भनेर,तेस्तै होला,दोस्रो बिश्वो युद्द ताका का हतियार बोकेर प्रहरी खटाएको,अनि कमसेकम रात्रि बस मा सुरक्षा कर्मी राखिसकेपछि अलि अत्याधुनिक हातहतियार र आबस्यक सुरक्षा सामग्री दिएर पठाउनु नि,जस्तै बिशेस तालिम प्राप्त प्रहरी जो दुइ चार जान ट्यापे हरु संग हातैले भिड्न सकोस,हत्कडी,टर्च-लाइट,छोटो छरितो पेटी मा भिर्न मिल्ने खाल को लौरो,(नाम त अर्कै होला मलाई आएन)दुवै जना संग संचार सेट,अनि अत्याबस्यक भए प्रयोग गर्न को लागि रिभल्भर/पेस्तोल(दुवै जाना लाइ)दिएर दुइ प्रहरी खटाउदा ठिक हुने थियो,यहाँ त एक जाना लाइ थोत्रो बन्दुक र अर्को लाइ वाकी टकी दिएर बुढा र लुखुरे प्रहरी खटाउदा त त्यै बर्दी देखेर कोहि कोहि तर्सेलान नत्र ति प्रहरी ले गर्न सक्ने चै केहि होइन जस्तो छ,
    आसिश
    स्विस

    Reply
    1. तेन्जिंग गाबा "हिमाली" says:
      August 18, 2012 at 10:26 am

      यहाको जानकारीको लागी हाम्रो प्रहरीले बोक्ने गरेको अधिकांस बन्दुक .303 हो र त्यो दोश्रो बिस्वयुद्द ताकाको होइनन / तिनीहरु प्रथम बिस्वयुद्द ताकाको वा त्यो भन्दा पहिले को हुन् / ति बन्दुकहरु कहिले बनेका हुन्, त्यो कुरो प्रत्येक बन्दुकमा स्पस्टसंग लेखिएको हुन्छ, यसो प्रहरी दाजु-भाईलाइ बन्दुक मागेर हेर्दा भो नि /

      त्येस्तै बन्दुक बोकेर नै भए नि जनतालाई “सुरक्क्षा दिने प्रयत्न गर्ने” नेपाल प्रहरी लाई मेरो धन्यबाद सहित ……………”जय नेपाल”

      तेन्जिंग गाबा “हिमाली”

      Reply
  13. Prem Balali Rai says:
    August 18, 2012 at 3:46 am

    ढिलाई भए पनि भएर छर्यो यो एउटा नव्लो बिसय हो महानगर पालिका तथा सम्भंदित निकाय हरु सबै नेपाल सरकार लाई ठुलो धन्यबाद दिनु पर्दछा /हामी जनताले पनि एसको राम्रो सित प्रयोग गर्नु सक्नु पर्दछा जसमा ट्रली बस जस्तो नाजुक अवस्ता नहोस भन्दै सम्पूर्ण दाजु भाई दिदि बहिनि लाई मेरो बिनम्र अनुरोध गर्दा छु /

    Reply
  14. bishambhar mainali says:
    August 18, 2012 at 1:32 am

    ल राम्रो कुरा हो.पछी एसले दिने सुबिदाको दायेरा फराकिलो हुदै जाओस र अहिले हामीले use गरेको लण्डन बस जस्तै रुपमा विकास होस्

    Reply
  15. lhakpa Sherpa says:
    August 18, 2012 at 12:43 am

    तपाई को अनुभब एक पटक पढ़े पछि म आफुले रात्रि बस चढ़े जस्तै सबै प्रस्ट बुझे ! रिंग रोड को अनुभब पनि चाडै पढना पाऊ !

    Reply
  16. kalpana Bhandari says:
    August 18, 2012 at 12:26 am

    अब केहि मात्रामा भए पनि रात्री टयाक्सीले असुल्ने जथाभाबी भाडा बाट राहत हुने भएछ . राम्रो काम को लागि नेपाल सरकारलाई धन्यवाद .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme