Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः आसन्न मृत्यु

Posted on August 11, 2012August 11, 2012 by mysansar

–राजेश नतांश-

मर्नु
एक कला हो, हरेक किसिमका कलाझैँ
अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ ।

—सिल्भिया प्लाथ

सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।”
मेरा हात काँपिरहेका छन् । मानौ, म केही लेख्न सकिरहेको छैन । जीवनको यो अन्तिम खण्डमा कहिल्यै उर्तीण नहुने परीक्षा दिइरहेछु ।
०००

“छ्या ! दाह्री त काट्नू ! अलिकति सफाचट भएर बस्न कहिल्यै सिक्नुभएन है ? कस्तो आदिम भीक्षुजस्तो !” सुशीला हत्प्रभ मेरो प्रेमालिङ्गनबाट छुटेर आफ्ना फुस्किएका लुगा बटुल्दै भान्छातिर लागिन् ।


म विगत केही सप्ताहदेखि निकै व्यस्त भैरहेको छु । पत्रिकाले सुनसरी विशेषाङ्कका लागि मलाई खटाएको थियो । समाचार, अन्तरवार्ता र विज्ञापनका लागि दौडाहमा थिएँ । त्यसकारण आफ्नो सरसफाईमा तन्मयताका साथ लागिरहेको थिइनँ । कहाँ सजिलो छ र ? एउटा जिल्ला समातेर बसेपछि चौतर्फी कुरामा अद्यावधिक रहनुपर्छ । फुर्सद त विरानो भैसकेको थियो ।
“बाबा फोन आयो !” छोरी सुप्रियाले तथाकथित शून्यतालाई भङ्ग गरिदिइन् ।
–”हेल्लो पे्रम जी ! गुड मर्निङ ! तपाईंका लागि समाचार छ है ?”
“गुड मर्निङ इन्सपेक्टर सा’ब ! के भयो सर ?”
–”एउटा नरेले आत्महत्या गरेछ । उसका लुगाफाटा, चप्पल र `सुसाइट नोट’ मसितै छन् । तपाईं झट्टै याँ आउनुपर्यो । सप्तकोशीमा गोताखोरहरुले उसका शरीर खोज्दैछन् ।”
फेरि अर्को आत्महत्या ? एक साता यता जिल्लामा एकाएक आत्महत्याका श्रृंखला मौरीका गोलोझैँ फैलिरहेका छन् । मानौं, आत्महत्या एउटा संस्कृति बनिरहेको छ । कति सजिलो भएको आफूलाई मार्न ?
०००

“रा*को छोरा ! मलाई हिस्टेरिया रोग लाग्या छ रे डाक्टरले भनेको ! छोरीमान्छेमा लाग्ने असाध्यै नराम्रो रोग हो रे ! छिटो पैसा पठा ! त्यहाँ र*हरु मस्ती गरेर नबस् ?”
म परदेशमा रहँदा ऊ यस्तै निम्नस्तरको कुरा गर्थी । उसको अपाच्य दोषारोपण सुनेर बोझिल हुन्थेँ ।
तीन छोराछोरी, असल सासु–ससुरा र खानपुग्ने जमिन हुँदा पनि ऊ अझै सन्तुष्ट हुन सकिरहेकी छैन । उसले म र विद्यमान समस्त परिस्थितिलाई बुझ्न सकिरहेकी छैन । मानौं, म परचक्री हुँ । मैले नै उसको जीवन यतिविघ्न जटिल बनाईदिएँ ।
देशमा व्याप्त बेरोजगारीमा पिल्सिएर परिवार र छोराछोरीको भविष्य विनिर्माण गर्नका लागि म विदेशिएको थिएँ । खाडी मुलुकको फलाम पग्लने प्रचण्ड घाममा डढेर उसलाई पैसा पठाइरहेको थिएँ । तर खै के पुगेन ऊ यतिविघ्न कठोर बन्दैछे ? म दिनरात कल्पिएर बस्तथेँ ।
परदेशबाट परिवारको याद आएर म उसलाई र छोराछोरीलाई फोन गर्थेँ तर उताबाट जहिल्यै कचकच सुन्नपथ्र्यो । मैले समस्याको जडविन्दू किञ्चित् फेला पार्न सकिनँ । के चाहन्थी ऊ सो खुट्याउन असमर्थ थिएँ । मभित्रको जमोठ अभिव्यक्ति उनीसँग राख्दा बेवास्ता गरिदिन्थी । जस्तो कि म पशु हुँ । बाँधेर घाँस हालिदिए पुग्छ । उसले कहिल्यै मेरा अभिव्यजनाहरुको सम्मान गरिन ।
यता, ममा असामयिक देखिएको हर्साले म दिनानुदिन खिइँदै थिएँ । शरीरमा रगतको कमी हुँदै गएको थियो । मलाई भीमकाय अनाकोण्डाले निलेजस्तो भान हुन्थ्यो । म दिनहुँ ध्वस्त हुँदै थिएँ ।
अन्ततः म जल्दै गरेको गृहस्थीलाई निभाउन नेपाल फर्किएँ ।
स्वेदश फर्किएपछि कमाएको पैसाले दुई तल्ला घर बनाएँ । मुनिको एकतल्ला भाँडामा लगाएँ । छोराछोरीलाई सरकारी स्कुलबाट निकालेर राम्रो बोर्डिङ स्कूलमा हालेँ । तर पनि उसको ताडना कम भएन । अझ तीखो सुँइरो बनेर मुटुमा घोचिरह्यो । म दुलैदुलो भएँ ।
मैले उसको कामुकतालाई सम्हाल्न सकिनँ । ऊ मलाई यौनका लागि आग्रह गर्थी तर म विकलाङ्गजस्तो थकित हुन्थेँ । शरीरका सम्पूर्ण अवयवहरुबाट शक्ति हराउँथे । पूर्णतः परास्त हुन्थेँ । बुख्याँचाजस्तो मूर्तिवत् हुन्थेँ । ऊ मलाई सघन पीडा दिन्थी । डरले मेरा समस्त शरीर कम्पायमान भैरहन्थे ।
ऊ ममाथि गालीगलौजको पहिरो खन्याउँथी । आफ्नो गुप्ताङ्ग देखाउँदै मुखमा जे आयो त्यहीँ बोल्ने गर्थी । नानीहरुलाई पनि नानाभाँतिको छाडा बोल्न सिकाउँथी । गाउँकी दिदीबहिनीहरुसँग म बोलेँ भने चिच्याउँथी, “त्यो र*सँग लागिस् है ?” मान्छेको मुखेन्जी भन्थी, “त्यो झिँगेसँग आजै भाग् ! पर्दैन यो घरमा बस्न !” स्वास्नीको यसप्रकारको क्रियाकलापले मलाई छरछिमेकमा कतै हिँड्न मुस्किल पर्ने गथ्र्यो ।
उसले मेरा सम्पूर्ण पैसा र मोबाइल दराजमा राखेर चाबी आफूसँग बोक्थी । खैनि खाने पाँच रुपैयाँ माग्दा ऊ भन्थी, “भाग् ! तेँरो बाउको कमाई छ मसँग ? साले गधा तँ त मरे पनि हुन्थ्यो !”
कसैले उसलाई सम्झाउन सकेनन् । केही महिनापछि ऊ झन् उग्र भई । मलाई प्रातडना दिन झन् उद्धत भई । कोठाभित्र थुनेर मलाई चाबी लगाएर हिँड्न थाली । दिसापिसाब गर्न पनि रात पर्खनुपथ्र्यो ।
आज दिउँसो ! केटाकेटी सबै स्कूल भएका थिएँ । उसले मलाई सुत्ने कोठामा लगेर आफू सर्वाङ्ग नाङ्गो भई र यौनका लागि जबरजस्ती गरी । मैले आफूले सक्नेजति गरेँ तर अन्ततः म फेरि हारेँ । उसको चरम प्यासलाई मेटाउन सकिनँ । त्यसपछि उसले मलाई भुत्लाई, लात्तैलात्ताले हानेर गाली गरि, “तँ र* ! यत्ति गर्न सक्दिनस् ? मरि’जा तँ” उसले आफैँले गरेको पिसाबको भाँडो मेरो जिउँमा खन्याईदिई । म उसको पिसाबले पूर्णतः भिजेँ ।
म कमजोर थिएँ केही गर्न सकिनँ । उसले मलाई कोठाभित्र चाबी लगाएर कतै गई । संयोगले मेरो मोबाइल भित्रै रहेछ । भाडामा बस्नेलाई चाबी फुटाउन लगाएँ र त्यहाँबाट आफूलाई बचाउँदै भागेँ ।
पुरुषत्व अब ममा रहेन । एउटी स्वास्नीलाई कज्याएर राख्न सक्ने हुर्मत मसित छैन । म हरुवा हुँ । म कायर हुँ । मैले कहीँ पनि निकास देखिनँ । कसलाई गएर भनूँ यस्तो पीडा ? के विश्वासले मेरा कुरा सुन्लान् ? के गर्न सक्लान् ? म प्रश्नैप्रश्नबीच रुमलिएको छु । आफ्नो नपुंसकता कसैलाई पनि भन्न सक्दिनँ । अन्ततः म यस संसार छोड्दैछु । अब बाँच्नू छैन मलाई । छेऊको तथाकथित शिवजीले मेरो जीवनको कालो बादल हटाइदिएन । जीवन रहुञ्जेल मात्र पूजीरहेँ । अब आफ्नो आसन्न मृत्यू नै प्यारो छ, “यो पत्र मेरा परिवार र समाजको हात लागोस् र मेरी श्रीमतिजस्ती आईमाई कसैको नहोस् !”
०००

“कस्ती बाइफाला श्रीमति रै’छे ! आफ्नै लोग्नेको ज्यानै लिई ?” सुसाइट नोट पढिसकेपछि श्रीमतिसँग भलाकुसारीमा लागेँ । मैले सतही अभिव्यक्ति दिएको थिएँ । छोरी सुप्रिया अघि नै सुतिसकेकी थिइन् ।
–”कसरी भन्न सक्नुभएको ? यसमा स्वास्नीको के दोष र ?” तपाईंको पुरुषोचित धारणाले मात्र यो मुद्दालाई नहेर्नुहोस् ।” उनले कथोपकथनलाई अघि बढाउँदै मलाई अँगालोमा बाँधिन् ।
“होइन आफ्नो लोग्नेलाई पनि त्यस्तो ताड्ना दिन मिल्छ ?” मैले तीव्र प्रश्न फ्याकेँ ।
–”मैले मिल्छ भनेको छु र ?” उनी अचम्मित भइन् ।
“त्यसो भए दोष कसको भयो ?”
“कुरा दोषको होइन प्रेम ! उनीहरुले समयको गाम्भीर्य उपस्थितिलाई चिन्न सकेनन् । ती दम्पति नियतिको शिकार भएँ ।” उनले मेरो केश सुमसुमाउँदै यन्त्रवत् परिवेशको विश्लेषण गर्न थालिन्, “स्वास्नी आत्मरतिमा रमाई र समयलाई बुझ्न सकिनँ । त्यो भन्दाबढी आफूलाई सम्हाल्न सकिन जसरी स्वास्नीमान्छेहरु आफू शताब्दीऔं देखि सम्हालिदै आएका छन् । यता लोग्नेले आफ्ना अगाडि उपस्थित दारुण अवस्थाको आत्मभत्र्सना मात्र गरीरह्यो ।”
“यो घटनालाई सतही हेरेर हुँदैन । हाम्रो समाजको प्रतिनिधि घटना हो जो धेरै अघिदेखि लुकाइँदै थियो !” मैले सहमतिको विन्दू खोजेँ ।
–”मेरो आशय त्यहीँ हो ! स्वास्नी मानिस भनेका अरक्षिता हुन्छन् । उनीहरुलाई लोग्नेको साथ चाहिन्छ । लोग्नेले आफूलाई संरक्षण दिओस् भन्ने चाहन्छन् । सायद् आफू जन्मिएको वातावरण, परिवेश र विश्वासले हुनसक्छ हामी स्वास्नीहरु लोग्नेबाट असीम प्रेमको आश राख्छौँ । यो घटनामा त्यो स्वास्नीले सबै गुमाई जतिखेर उसको लोग्ने विदेशियो । अनि आफू दारुण भई ।”
“के देख्यौ तिमीले समस्याको जरो ?” मैले उनको प्रष्ट अभिव्यक्ति सुन्न चाहेँ ।
–”समस्याको जरो छर्लङ्ग छ । परस्पर साथ विना दाम्पत्य जीवन किञ्चित् सफल हुन सक्दैन । नत्र ढिँकीमा धान कुटेझैँ दाम्पत्य जीवन भुस र चामल एकै ठाउँमा हुन्छ । यसकारण हावाले जता लग्यो त्यतै उडेको बेलुन होइन दाम्पत्य जीवन । दाम्पत्यलाई समान्तर गति चाहिन्छ जसरी हामी अभ्यासरत छौं परस्परमा । अनि मात्र दाम्पत्यमा प्रेमको पारलौकिक आनन्द प्राप्त हुन्छ ।”
समाजशास्त्र पढाउने सुशीलाको पावन अभिव्यक्ति सुनेर म विगतको गर्तमा फेरि डुब्न थाल्छु तब आफ्नो जीवनप्रति असाध्यै प्रेम जागृत हुन्छ । कहिलेकाँही डरको कालो बादलले मलाई छोप्ने गर्छन् । मेरो शेषपछि मेरा परिवारको भविष्य कस्तो होला ? यात्रामा परिवारको तस्बीर बोकेर हिँडीरहन्छु, दूर्घटनामा मरेँ भने के हुन्छ ? राति सुतेको म बिहान मरेको भेँट्टाइए भने के हुन्छ ? यस्तै अदृश्य डरले मेरो शरीर कम्पायमान हुने गर्छ । जीवनमा एउटै इच्छा छ– जीवनको यो भयावह सप्तकोशीबाट आफ्ना परिवारलाई सुरक्षित तारेर मर्न पाऊँ । ताज्जुब लाग्छ, आत्महत्यालाई कला मान्नेहरुले एक थोँपो बाँच्न सिकेको भए हुन्थ्यो । बुझे हुन्छ ती सिल्भियाहरुले —यात्रामा खाल्टाखुल्टी हुन्छ र लडे पनि उठेर हिँड्न सक्नुपर्छ ।

5 thoughts on “कथाः आसन्न मृत्यु”

  1. neelam walema says:
    August 13, 2012 at 9:15 am

    to a literature: typical story, great work, very optimistic thought
    to a message: do u think the mentally paralyzed person can think about the better life????

    Reply
  2. Bhamir Thapa, Swiss says:
    August 13, 2012 at 2:55 am

    अलिकति सिमा नाघे जस्तो लग्यो, एदाकदा यो कथा तितो सत्य हुन सक्छ, जे जस्तो भएनी यसको पराकाष्ठ बिस्वासली श्रीमती माथि त्यो सिधा साधा साउदीमा उटको गोठालो होस् या सुइटजरल्याण्डको कम्पनीमा एडमिन असिस्टेन्ट होस् श्रीमानबाट हुनसक्ने मायाबाट नहुनसक्ने प्रतिघात जाग्ने छ | कृपया अर्को कथामा यो कथाको पूर्णबिराम पनि ल्याउनु हुने छ भन्ने आशा गर्दछु, धन्यवाद |

    Reply
  3. suman says:
    August 12, 2012 at 3:48 pm

    जस्तै भएपनि त्यो कथामा स्वास्नीले लोग्ने लाइ गरेको व्यवहार चै धेरै नै अनुचित हो / यसलाई कुनै पनि कोण बाट रत्तिभारी राम्रो मान्न सकिन्दैन/

    Reply
  4. Ramesh Bhandari says:
    August 12, 2012 at 5:26 am

    आहा ! कथा त सार्है राम्रो हो हामी हरु बाचेको परिवेशको नै हो / तर पनि कथामा एमिको अति कामुकता अलि सुहाएन / किन भने आइमाई भनेको पृथ्वी हुन् उनि हरुमा सहन सक्ने शक्ति धेरै हुन्छ जो लोग्ने मान्छे संग हुदैन /मेरो मतलव भावना को कुरा अनि यौनिक कुरामा हो अन्यथा नलिनु होला /जस्तै कुनै आइमाइको लोग्ने विदेश गएको छ भने त्यो आइमाई मा यौनकुण्ठ भरिई हाल्छ त ? त्यसो त करिब बाइस लाख नेपाली हरु बाहिरिएका छन् रे अनुमान अनुसार त्यसमा मानौ दस लाख मानिस बिबाहित होलान अनि ति सबैका श्रीमती यौनकुण्ठ मा नै जेलिएर बसेका होलान त? चार वर्षा पछी परिवार भेट्ने आशामा परदेशिएको लोग्ने घरमा फिर्दा त्यस्तै अनपेक्षित स्वागत होला त? तर कथा आफु आफुले बुझ्ने हो मैले यहि तरिकाले बुझे सोहि अनुसार कमेन्ट गरेको छु /

    Reply
  5. Bino, Italy says:
    August 11, 2012 at 10:29 pm

    उल्का………अल्लि बढी उल्कै भएन र? जे पायो त्यहि…………..पचेन हौ यो त l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme