माथिको फोटोमा तपाईँले दायाँ छेउको कुनामा जुन दृश्य देखिरहनुभएको छ, त्यो जेम्स क्यामरुन निर्देशित फिल्म अवतारको हो। अन्तरिक्षमा रहेको काल्पनिक पान्डोरा ग्रहको दृश्य। अनि माथिको ठूलो दृश्य चाहिँ हाम्रै नेपालको हो। धुन्चेबाट गोसाइँकुन्ड जाने बाटोमा देखिने दृश्य। यो त अझ क्यामेराले यति मात्रै खिच्न सकेको हो। खोलाको कलकल, चराको आवाज यो फोटोमा देखाउन सकिँदैन। साँच्चै, अर्कै लोकमा पुगेको अनुभूति गराउन सक्ने रहेछ यो ठाउँ।
गएको साता धुन्चेबाट उकालो लाग्दै लौरीबिनासम्म पुगेर त्यहाँबाट स्याफ्रुबेसी झरेका थियौँ। यसबारे यसअघि पनि दुई वटा ब्लग लेखिसकेको छु। हेर्नुस्-
धुन्चेलाई नजिकबाट हेर्दा
मेरो देश मलाई लाग्छ प्यारो…
आजबाट यात्राका केही फोटोसहितको विवरण शृङ्खला सुरु गर्दैछु।
शनिबार बिहान बालाजु बाइपासबाट बस चढी यात्रा गर्दा हाम्रो यात्रा एक हप्ताभन्दा बढी हुने अनुमान थियो। हाम्रो इच्छा लाङटाङ गाउँ हुँदै केञ्जिङसम्म पुग्ने र ३५ सय मिटरभन्दा माथिको उचाइमा पाइने एउटा जडिबुटी जटामासीको अध्ययन गर्ने थियो। अध्ययनका लागि टियुका लेक्चरर अच्युत पौडेलसँग मिसिएका थिए अमेरिकाबाट यार्सागुम्बाको पीएचडीका लागि हाल नेपाल आएका उत्तमबाबु श्रेष्ठको टोली। म चाहिँ देशदर्शनका लागि इच्छुक।
जटामासीको बारेमा खासै थाहा थिएन मलाई। डब्ल्युडब्ल्युएफको सहयोगमा बनेको लाङटाङ संरक्षण क्षेत्र सरोकार समाज (लाकोस)को एउटा कार्यालय रहेछ धुन्चेमा। त्यहाँबाट हामीले केही जानकारी पायौँ कहाँ कहाँ यो पाइन सक्छ भन्ने बारे। एउटा नमूना पनि प्लास्टिकको प्याकेटमा राखिएको रहेछ। सुँघ्दा तीखो गन्ध आउँथ्यो। गन्ध चीरपरिचित लाग्थ्यो। पछि पो थाहा पाएँ, हाइ ब्लडप्रेसर नियन्त्रण गर्न मैले १५ दिनका लागि खाएको नेपाली आयुर्वेद औषधी ‘टेन्सारिन’ मा पनि जटामासीको प्रयोग भएको रहेछ। र त औषधिको गन्ध पनि जटामासीको जस्तो भएको रहेछ!
धुन्चेमा एक रात बिताई एक जना स्थानीय पथप्रदर्शकसहित चार जनाको हाम्रो टोली बिहानै लम्कियो गोसाइँकुन्ड पदयात्रा मार्गतर्फ। धुन्चेबाट एउटा बाटो मोटरबाटो हुँदै स्याप्रुबेसीतिर लाग्छ भने अर्को पैदल यात्रा गरी गोसाइँकुन्डतर्फ। यो तलको फोटो स्याप्रुबेसीतर्फ जाने बाटोको हो।
यहाँबाट अलिकति हिँडेपछि एउटा मिनरल वाटरको फ्याक्ट्री आउँछ- हिमालयज स्प्रिङ वाटर। त्यसो त नेपालमा थुप्रै मिनरल वाटरका फ्याक्ट्री छन्। तर यो तीभन्दा फरक यसअर्थमा छ कि यसले हिमालयबाट बगेर आएको पानीलाई प्रशोधन गरी विदेश निर्यातसमेत गर्छ। नजिकमा जापान, हङकङ र युएईदेखि टाढामा अमेरिकादेखि इटालीसम्म यसका पानी निर्यात गरिन्छन्। सन् २००७ मा छ मिलियन अमेरिकी डलरको लगानीमा बनेको यो फ्याक्ट्रीमा ४ कोरियाली र २० नेपाली काम गर्छन्। सन् २०१० देखि मात्रै यसले संरक्षित क्षेत्रभित्रको पानी प्रयोग गर्ने अनुमति पाएको हो। हेर्नुस् कम्पनीले बनाएको प्रचार भिडियो।
सहरका दिक्कलाग्दा हर्न र कोलाहलको आवाजलाई बिर्सेर यहाँका पहाड हेर्दै, खोला सुसेलेको र चराको चिर्बिर सुन्दै हिँड्नु कम रमाइलो हुँदैन। आफैमा रमाउन मैले त मोबाइलसमेत अफ गरेको थिएँ।
कसैले यी पहाडलाई मार्लबोरोको विज्ञापनमा देखिने जस्तो पहाड देखे त कसैले अवतारको पान्डोरा ग्रहको जस्तो।
फोटो खिच्ने रहर त पूरा गर्नै पर्यो।
हामी आइपुग्यौँ घट्टेखोलामा। धुन्चेभन्दा हामी १० मिटरमाथिको उचाइमा मात्रै पुगेका छौँ अहिलेसम्म। तर अब चाहिँ ठाडो उकालो चढ्नुछ। ठाडो उकालोहरु धेरै भएकोले नै गोसाइँकुन्ड जान यो रुटभन्दा सुन्दरीजलबाट तीन दिन लामो यात्राको रुटलाई मन पराउनेहरु छन्। तर पनि जनै पूर्णिमाका दिन लाग्ने मेलामा धेरैजसो यहीँबाट चढ्ने गर्छन्। यहाँबाट दुई घण्टा उकालो चढेपछि देउराली पुगिन्छ। हामीले त्यहीँ खाना खाने योजना बनाएका छौँ। ट्रेकिङ रुट भएकोले ठाउँठाउँमा यस्ता सूचना पाटीहरु प्रशस्त राखिएका छन्।
२५ सय मिटरभन्दा माथि कहिल्यै पनि नहिँड्नुभएको भए तपाईँलाई लेक लाग्ने सम्भावना हुन्छ। लेक लाग्दा कस्तो हुन्छ त्यसको लक्षण र बच्ने उपाय लेखिएका यस्ता बोर्डहरु पनि यहाँ धेरै ठाउँमा छन्।
लामो भयो जस्तो छ। बाँकी अर्को ब्लगमा क्रमशः
सचिनै हाम्रो देश राम्रो छ मानिस हरु बिभिन्न बहाना मा जस्तै हनीमुन मनाउना विदेश जानी गर्छन के हाम्रै देश मा त सबै चिज natural छ नि किन यसको अबहेलना गर्नी त
आहा मेरो देश कति सुन्दर कति प्यारो/
प्रकृति हामीलाई मनोरम ठाउँहरु दिएका छन् तर खै त्यसको संरक्षण, सम्वद्धन गर्न सकेको हामीले । रसुवा आन्तरिक र वाहय दुवै पर्यटकहरुको गन्तव्य हो । गोर्साइकुण्ड क्षेत्रमा पुग्दा जति कष्ट, जति दुख भोग्नु पर्छ त्यहाँको मनोरम दृश्यले त्यो सबैलाई विर्साइदिन्छ ।
तरपनि म आफू त्यो स्थानमा पुग्दा जति सुन्दर दृश्य, मनमोहक झरनाहरु ले मेरो मनलाई लोभ्याई रहेका थिय त्यती नै स्थानीय मानिसहरुको व्यवहारले कुनैसमयपनि त्यस ठाउँमा आउन अनुरोध गरिरहेको थिएन ।
धन्य मेरो देश धन्य हामी नेपाली “आन्तरिक पर्यटनको विकास गर्न, स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका हुन्छ”
तपाई ले जति देख्नु भयो त्यो त आधा मात्रै हो, प्राकृतिक सुन्दरता त पार्वती कुण्ड, झुरुप्प बसेको गत्लंग र गोल्जुंग बस्ति, अनि चिलिमेको तातो पानि, सम्झदै मन ……..
मित्र एकदमै खुसि लाग्यो साछी
तेहको Kura जस्तो Ko तेस्तै राख्नु होला मा पनि येही कुरा Lai अधार बनायर घुम्न जान जान्छु थान्कyou
अति सुन्दर मनमोहक दृश्य, धन्य मेरी नेपाल आमा!!!
बास्तबमा देउरालीदेखि लौरीबिनासम्म को बाटो र देउरालीदेखि ठुलो श्याफ्रुसम्म को बाटो साह्रै सुन्दर र रमाइलो छ | रमणीय दृश्यका लागि चैत / बैशाखको समय वा अशोज कार्तिकको बेला राम्रो हुन्छ | करिब ५ वर्ष रसुवा बस्दा यी बाटाहरु धेरै पटक नपिएको थियो | उमेशजीले तिनको सम्झना गराई दिनु भयो |
स्याफ्रुबेंसी देखि लांगतांग जाने रुट पनि निकै राम्रो छ |
उमेशजीबाट अरु पनि फोटोहरुको आशा गर्दै ……………
तेसैले त नेपालाई सुन्दरको खानी भनिन्छ .
प्रकृतिले नेपाललाई यति धेरै सुन्दरता दियको छ कि त्यस्तो सुन्दरता विश्वको कुनै पनि देशले पायको छैन ! माथि फोटोमा देखिने जस्ता दृश्यहरु नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म जता ततै देख्न सकिन्छ ! यति सुन्दर देशमा जन्मेका नेताहरुको असुन्दर विचार, सोच र मानसिकता ले देशले कहिल्यै बैशांलु हाँशो हास्न सकिन ! कल्पनाको पान्डोरा ग्रह र स्वर्ग भन्दा पनि सुन्दर छ, हाम्रो देश “नेपाल”
नेपाल घुमिसकेका बिदेशीहरुले भन्ने गर्छन ” नेपाल जस्तो प्राकृतिक सुन्दर देश र नेपालीको जस्तो निश्चल मुस्कान संसारको कुनै पनि कुनामा पाईदैन ! कुरा सत्य हो नपताया माथिको चित्र आफै बोल्छ !
जती न्यूएज पल्टाएपनी राजनितिको गनौउनेकुरा र झगडा ,हतत्या र अपहरण पडदा पडदा दिक्क लागेको बेला नेपालिहु भन्नपनी लाज लागेको बेला एस्तो मिठो र
पढिराखु जस्तो लेख र चित्र बाट सार्है मन खुशी भयो एकपटक फेरी गर्ब महसुस भयो सालोक्य्यजी लाई मुरिमुरी धन्यबाद अरुपनी एस्तै एस्तै पढन पाउ ।
राम्रो लाग्यो मेरो घर नुवाकोट भएर पनि आज सम्म जान पाएको छैन . तर थोरै भने पनि रहर मेट्न पाइयो
हाम्रो नेपाललाई देशभक्तहरुले देवभूमि मात्र भन्ने गर्छन .यो मातृभूमि प्रेमको नमुना भो .तर बाहिर बात आउने पाहुना र पर्यटक हरुले पृथ्वीको स्वर्ग अथवा ‘ भू-स्वर्ग ‘ भनेर संज्ञा दिएको नेपालीहरुलाई खुसि पार्न भनेका होइनन . वास्तवमा थुप्रै नेपालीले आफ्नै मुलुकलाई देख्न सकेका छैनन् . तसर्थ हामीले छिट्टै ‘ देश-दर्शन ‘ लाइ अभियानको रूपमा अघि बढाउनु जरूरी भैसकेको छ .यसको थालनी नेताहरुले भन्दा अभिनेता , कलाकारहरुले गरे बढी प्रभावकारी सिद्ध हुनुमा शंका छैन.
मन नै सितल भयो एस्तो गर्मिमा…धेरै धेरै धन्यवाद तस्बिरका लागी |
त्यो हिमालयन स्प्रिंग वाटर नेपालमा चाही पाइन्छ कि पाइदैन? पाइने भए कति पर्छ होला?
म पनि पूर्वी पहाड खोटांग जिल्लामा बाल्यकाल बिताएको हुनाले यस्तै अपुर्ब सुन्दर प्रकिर्तिक
दृस्यहरु आँखामा आइरहन्छ,तपाइले तेस्लाई अझ ताजा बनाई दिनुभयो ,मुरी मुरी धन्यवाद
सालोक्य जी |
ठिक भन्नु भो बद्रीजी
मुडे-नुनथलाको डाडोवाट बिहानै उत्तर तिर हेर्दा जस्तो दृश्य देखिन्छ त्येत्तिको उत्तम दृश्य त् मैले अहिले सम्म कहिँ कतै नै देखेको छैन
२५ वर्ष पहिले गको थिए, धेरै कुरा को याद आयो, अर्को ब्लग को प्रतिक्षा मा………
धन्य बाद तपाई को यात्रा सफल रहोस
एस्तो दृश्य देख्न नपाएको पनी २४/२५ वर्ष बितिसकेछ, रैपानी सम्झना रिचार्ज गरिदिनुभएकोमा धन्यबाद | २०४४/४५ साल तिर हो ! धरान बाट बस चढेर धनकुटा हिले हुँदै सिंदुवामा उत्रिएर बशंतपुर सम्म भर्खर बन्दै गरेको बाटो र तामाफोक, मादी मुलखर्क हुँदै एक्लै र आफन्तहरुसंग गरेर ३/४ पल्ट मादी राम्बेनी ओहोर दोहोर गर्दा बाटो कहिल्येई नातुन्गीयोस जस्तो लाग्थ्यो | बाटोमा पर्ने माथिका जस्तै दृश्य, घट्टाहरु हेर्दै, कलकलाउदो मायाँ खोलाको पानि खेलाउदै, बाटोमा चरा चुरुन्गिको आवाज संगै ढुंगा हान्दै हिडेको त्यो सम्झिएर यो लेख पढदा यो मन तेसै रोएर आयो | अझ तामाफोक बाट तल्लो बाटो हुँदै मादी राम्बेनी लाग्दा बाटामा देखिने लामो झरना जिन्दगीमा कहिल्येई बिर्सिन्न होला | १६/१७ बर्से सानै उमेरको मधेसको त्यो ठिटोलाइ त मोहनी लाउने त्यो प्रकृतिले संसारको कोलाहालमा रुमल्लिएको एस्लाई र येस्तालाई के स्वर्गभन्दा कम आनन्द देला र ?
कुनै बेला गोसाइन्कुन्द घुम्न जाँदा को याद दिलाउनु भयो मुरी मुरी धन्यबाद
हिमालयज स्प्रिङ वाटरको contact नम्बर कस्तो weird छैन त ??
भने पछी हाम्रो नेपाल प्राकृतिक रुप ले एसिया को स्विजरल्याण्ड, आर्थिक सामाजिक र राजीनिक कारण ले एसिया को सोमालिया भएकै हो त?
,
‘मेरो नेपाल मेरो गौरब’ तर के गर्नु राजनीतिले गर्दा गौरब गर्न पनि कन्जुस्याई गर्नु पर्ने भएको छ ।
लेख्ने लाइ लामो भयो होला तर हामी पढ्ने लाइ आधा पेट खिर खाए जस्तो भो… नेपालको सुन्दरता जत्ति हेरेपनि आँखा भरिने होइन झन् अरु उत्सुकता जागेर आउछ । माल पाएर चाल नपाएका हाम्रा हुतिहारा नेता हरुको बारेमा लेखिएको लेख भन्दा यो प्रस्तुति लाखौ गुना सुन्दर छ । धन्यबाद सालोक्य ज्यु र उत्तमबाबु ज्यु यत्ति सुन्दर तस्बिरहरु शेयर गर्नु भएको मा…..।
अर्को ब्लग को प्रतिक्षा मा…………….
धन्यबाद प्रकृति संग साक्षात्कार गराइदिनु भएको मा
कति रमाइलो संग हेर्दा हेर्दै पढ्दा पढ्दै सकिगायो के लामो हुनु नि !! बरु एती भएपनि पढ्ने र हेर्ने मौका दिनु भएको मा धन्य बाद छ यहालाई !!