Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः पुरस्कार

Posted on June 16, 2012June 15, 2012 by mysansar

-लेखनाथ काफ्ले-

कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ भन्ने थाहा थियो किनकी पढेर ठुलो मान्छे बनिन्छ भनेर हजारौ पटक सुनिएको थियो। तर एमए गरेका लेक्चरहरुको हरिबिजोक देख्दा र विद्यार्थी नेताहरुको चुरीफुरी देख्दा लाग्थ्यो, के को पढेर ठुलो हुनु, ठुलो त हुल जम्मा पारे पो होइदोरैछ त।

ज्यानमा जोश थियो, गोजीमा बाउले पठाइदिएको रुप्पे। छिटै ठुलो मान्छे बन्ने धुन। त्यसरी राजनीतिमा लाग्ने लहड चल्यो। त्यत्तिखेर म मा एउटा उर्जा थियो, उम्लिरहेको। गतिलो गरी पोख्ने, प्रयोग गर्ने वा ठेगान लगाउँने उपायको खोजी गरिरहदा राजनीति फ्याट्ट आइपुगेको थियो। खोजे जस्तै गरी, भने जस्तै गरी।

राजनीति ठिक पनि लाग्दथ्यो। किन लाग्दथ्यो, त्यसको त्यती हेक्का हुदैनथ्यो तर जब जुलुश, बन्द हुन्थ्यो, घोक्रो सुकुन्जेल नारा लगाउँदा सन्तुष्टी हुन्थ्यो। भिडभाडमा धक फुकाएर हात उचाल्यो, बल लगाएर हान्यो ढुंगा, त्यसमा मजा लाग्दथ्यो। दिलमा आनन्द हुन्थ्यो। १ दिने बन्दमा सामेल हुन पाउदा १५ दिन सम्म मन चंगा हुन्थ्यो, विचार शान्त हुन्थ्यो। दिनहरु सन्तोषजनक हुन्थे। ओहो, मेरो जीन्दगीको लाइन राजनीति नै हो भन्ने लाग्थ्यो।

राजनीति न बाउले गरेको कुरो, न बराजुले जानेको बिषय। न आमाले सिकाइन न मामाले बुझाए। तै पनि दुईचार मैना यताउता लखर लखर हिडियो। तर जीन्दगी यसले पनि पार लाग्दैन भन्ने कुरो क्याम्पसको चुनाउ ताका देखियो, नराम्रो गरी भोगियो। न पढ्नमा खरो, न गोजी दरो। गाउँले किसानको छोरो, दुध बेचेर मरमसला किन्नु पर्ने हालत, न ज्यान छाँटको न पाखुरा काँटका। चुनाउमा योग्यता पुगेन। खातामा रुप्पे र हातमा चुप्पी हुनेले पद लुड्याए, आफुले र्‍याल समेत काड्न पाइएन। हात लाग्यो शुन्य, पद खानेले लड्डु खाए, आफुले जिल खाइयो।

त्यसपछी, त्यो राजनीतिलाई त्रिशुलीको पानीमा हात चोबेर कसमै खाएर छाडियो। आफुले त राजनीति छोडियो तर राजनीतिले आफुलाई छोडेन। पुरानो हावाले बेलाबेलामा छोई नै रह्यो। हातको पानी न सुक्दै दिमागमा राजनीतिका मुश्ला मडारिन थाले, राजनीतिको ज्वालामुखी कहिले फुटने र लाभा छताछुल्ल हुने हो भन्ने जोखिमपूर्ण अवस्था रहिरह्यो।

त्यसपछिका दिनहरु त झन बिजोग बने। न राम्रा लुगाले ज्यान छोप्न पाइयो, न मिठो मसीनो पेटमा पार्न। ज्यान फुक्न सकेन, सुकेको ज्यान, जति गरे नि सबैको सामु लुक्न सकेन। भैयो, जवानी मै सुकेनास। न केटीहरुले गन्छन, न केटाहरुले मान्छन। औडाहा भयो। छटपटी, चिडचिडाहट, केको हो केको हुटहुटी भयो। के गरौ, कसो गरौ हुन थाल्यो, झ्याल फोडेर हाम फालौ की, चौबाटोमा नांगै भएर चिच्याउ की भयो।

त्यो मानसिक भद्रगोल, अस्तव्यस्तता एउटा भयंकर ज्वरोमा पुगेर अडियो। नराम्रो गरी थला परियो। गाउँले साथीले पुर्‍याए घर र बसियो त्यतै २ मैना। गाउँको बसाइ, गोरस पानी, हेरचाहले ज्यान तन्ग्रियो। क्याम्पस फेरी फर्कनु त पर्‍यो, लोकलाजले पनि।

क्याम्पसमा टिक्न गारो पर्‍यो। संगत उही, दिनचर्या उही। बजारका केटीहरुको भाउ चर्को, गाउँका केटीहरुले सहरका केटा ताक्ने। बकुल्लाहरूको भिडमा पानी हाँस भैयो। राजनीतिले हावा पनि नराम्रो गरी खाइहाल्यो, पढाइमा कावा खाने हुती भएन। एउटा संतोष चाहिँ के भयो भने, म मात्रै हो की भनेको म जस्ताको लामै लर्को नै रैछ।

त्यो लर्को मै मिसिएर सर्को तान्न थालियो बुटीको। महगोंमा आँट नभएर हो, प्रसादी तिर लागेको। होइन भने जात भनेको जातै हो भन्ने हेक्का त थियो। त्यो “नाम न खुलेको कालो पदार्थ” हेर्न चाँही पाइयो छुन चाँही पाइएन। डाइटको नाममा पातलो गनाउने मसुरोको दाल र मोटा चामलको भात। १ बर्ष पछि घर जादा पो थाहा भयो, मेरो रुपको हबिगत। आमाले हकारे पछि राम्ररी ऐना हेरे। ऐनामा म जस्तै देखिने बाँदरको रुपरंगको आकृति सहितको चूच्चे नाक, खबल्टे आँखा, झुसे गाला, ओहो! बल्ल थाहा पाए, मेरो पाइन्ट किन कम्मर भन्दा एक बित्ता तल झर्छ भन्ने। लाउन पाको छैन, फस्ल्यांग झर्छ बा घुडाँ तिर। एक दुई दिन त वास्ता नि गरेकै हो, पछि बिन्दास भैयो। कम्मरमा न अडिए पछी भने छालाको पेटीमा मैनै पिच्छे प्वाल छेडियो। बल्ल थाहा भयो, ति प्वालका रहस्यहरु।

आमाले अक्षेता र चिना लगिछन पानी पाखे बाजेकोमा। पुरोहितले लागाइदिए अर्को लण्ठा, ग्रहशान्ति। बाजे पनि भुत, प्रेत, मशान मै धन्नै अल्झिएछन, बुटीको कुरोको छेउ मै पुग्न सकेनन बाजे, अक्षेताताको जोड घटाऊमा।

ग्रहशान्तिको प्रसाद खादा नै कसम खाए, ज्यान जाला, बुटी नखाला।

ग्रहशान्तिको सु-समाचार, ब्रेकिंग न्युज बनेर फैलिएछ क्याम्पसमा। अनि त के चाहियो र, भैयो नि जोकर, मजाकको उदाहरण, हाँसोको पात्र, उनीहरुको भाषामा नामर्दिको नमुना।

त्यसपछि त क्याम्पस जाने क्रम पनि भंग भयो, सारै पातलियो, त्यो बाटो हिड्ने काम।

यस्तैमा एकजना दरा हात भा’का, आँखा चम्किला भा’का एउटा मान्छे फेला पारे चिया पसलमा। ठयाम्मै मैले बुटी खाँदाका अनुहार परेका। उनको कुरो चित्त बुझ्यो, मलाई लाग्यो, म बषौंदेखि जे कुराको प्रतिक्षामा थिए, आज पाए। मेरो दमित राजनीतिको चाहना एक्कासी उम्लेर आयो। मलाई लाग्यो, मेरो जीवनको यो पल गुमाउनु हुदैन। उनीलाई पनि मान्छेहरुको खाचो रैछ, कुरा मिल्यो, झोला कसियो। त्यसैले, एसएलसीको साटिपिकेट एकातिर थन्क्याएर लागियो, देश बनाउन। यसरी छोरो दम्पच भयो।

पढन पनि नपर्ने, खान सित्तैमा पाइने, बस्ने कुराको चिन्तै लिनु पर्ने, गजबको गोलोमा पसिएछ, खालि एउटै चिन्ता हुदो रैछ, ज्यान जोगाउँने र उनीहरुको भाषामा शत्रुको सकेको सफाया गर्ने त्यो पनि कहिलेकाहीँ।

गठिला, चिम्से काम्रेडले परेड सिकाए, बन्दुक समाउन, सफा गर्न, चलाउन सिकाए। मलाई ल्याउने खोबिल्टे कमरेडले बिहान साँझको तालिम पछि भाषण गर्थे।

हात मिलाउन, गोडा चलाउन, कुइनोले टेकेर घसारिदै हिड्न, सब सिकियो। बडो रमाइलोसँग बित्यो ६ मैना। मेरो नाम बदलियो, कमरेड भैयो, पहिचान बदलियो, क्रान्तिकारी भैयो, हुँदाहुँदा, लक्ष बदलियो। बाउ, आमा, घर परिवार भन्दा पार्टी, पार्टी भन्दा सिद्दान्त, सिद्दान्त भन्दा जनता, आदि आदि सिकियो, सबै भाषा र शब्द त कहाँको सम्झनु र।

समूह मै बस्ने समूह मै सुत्ने। बडो रोमान्चक थिए दिनहरु। सबैलाई मलाई जस्तो लागेको त पक्कै थिएन, किनकी सबै म जस्तै बरालिदै यता पसेका थिएनन। कतिका त बाउ आमा नै लडाईमा मारिएका थिए, कसैका दाजु भाइ, दिदी बैनी, कोही भने दबाबमा। सबैको कुरो बुझ्दा लाग्थ्यो, म फेरी पनि गलत ठाउँमा पो आइपुगे की? तर त्यो शब्द निकाल्ने हिम्मत गइसकेको थियो। अरुका धेरै सुन्ने सुनाउने कुरा थिए, घटना थिए, दुख र मार्मिक बेदना थिए, मेरा भने केहि थिएनन। लहडमा लागेको। अर्को कुनै नयाँ कुरा प्रयोग गर्न नयाँ दुनियाँमा आएको थिए। तर पनि मनमनै भने “म पनि बिद्रोही त हु नि, पुरानो त्यो समाज संग नाता तोडेर हिडेको”।

समयक्रम सँगै एउटी काम्रेडनी संग हिमचिम बढ्यो। उनि पनि घरमा सौतेनी आमालाई देखाउनका लागी हिडेकी रैछन, यो बाटोमा। कतै न कतै हाम्रो कथा मिल्यो। सबभन्दा ठुलो, दुबैको दमित इच्छा, चाहना मिले। उनी र म दुबै भौतारिरहेका रहेछौ केहि पाउन। पाए जति र मिले जति साट्यौ। दुबै भौतारिरहेकाहरुको यो बिद्रोहको चौतारीमा भेट भयो।

अब फेरी अर्को रन्कोले सताउन थाल्यो। अब पार्टी, बन्दुक, सिद्दान्त, देश हैन, ज्यानलाई त्यो गोलाबाट मुक्त कसरी गर्ने भन्ने चिन्ता हुन थाल्यो। मेरी काम्रेडनी र मैले संयूक्त योजना बुन्न थाल्यौं।

आजकल बन्दुक, भाषण, पार्टी भन्ने कुरा संग रिस उठ्न थालेको थियो। कसरी यो जन्जालबाट मुक्ति पाउने भन्ने मै हामी सोची रहन्थ्यौ। तर सोचे जस्तो कहाँ थियो र। यताबाट जोगीए उताबाट मार पर्ने, उताबाट जोगीए यताबाट मार पर्ने डर थियो। अझै त्यसमा गद्दारीको कलंक लाग्यो भने त, यो पिपलपाते जुनिका पातहरु पतकर बनेर सकिने पक्का थियो।

जीन्दगी अब पहिले जस्तो रोमान्चक रहेन, पट्यारलाग्दो, दिक्कलाग्दो भै सकेको थियो। मन स्थिर थिएन, चलायमान थियो, एकदम घुमिरहेको थियो। अब चिन्ता अरु केहिको थिएन, खालि कसरी यहाँबाट दम्पच हुने भन्ने थियो। यसो कुरो बुझ्दै जाँदा हाम्रो ४५ जनाको गोलोमा (त्यो गोलोलाई प्लाटुन भन्दा रैछन) अर्को १ जोडी पनि हाम्रो जस्तै चक्करबाट गुज्रीरहेको रैछ। मान्छे चिनियो, कुरो बुझियो। मनमा आश पलायो। अब काम्रेड चन्द्र र काम्रेडनी ज्योति संग हाम्रो मित्रता गाँसियो।

यस बिचमा तीन ठाउँमा हमला गरिए, एउटा पुलिसको अस्थाई पोस्ट, अर्को हुलाक कार्यालय र तेश्रो बाणिज्य बैंक शाखा। पुलिस चौकीबाट ७-८ वटा थ्री नट थ्री राइफल र केहि गोलि, हुलाकबाट खाली हात र बैंकबाट २५ लाख नगद। त्यो पैसाको पोको अहिले अड्डा बसेकै गोठको उत्तर तिरको कुनामा गोप्य तरिकाले गाडेर सुरक्षितसाथ राखिएको थियो। त्यो ठाउँ मेरी काम्रेडनीलाई र अरु सिमित केहीलाई मात्रै थाहा थियो। मलाई थाहा नहुने त कुरो भएन।

प्रत्येक हमला पछी अड्डा सार हुन्थ्यो। बैंक हमला भएको ११ दिन भएको थियो र हाम्रो गोलो यो नयाँ ठाँउमा आइपुगेको ९ दिन। दुई दिन त बाटैमा बिताइयो। बाटोमा मैले मेरो नयाँ योजना खुसुक्क मेरी काम्रेडनी भने, उस्ले त बिना आनाकानी फ्याट्टै हुन्छ भनी। चन्द्र र ज्योतिलाई पनि यसमा सामेल गराउन कुरा गरेको चन्द्रले पनि मानी हाल्यो। कुरो मिल्यो। दिन, समय र ठाउँ तोकेर योजना बन्यो, कार्यान्वयन गर्ने। हामी दुई (म र मेरी काम्रेडनी) जनाको बेग्लै सल्लाह पनि भयो चरण चरणमा। मेरो खास गुप्त योजना भने पछी भने उ अलि डराएको जस्तो गरेकी थिइ, पछि कुरोको चुरो बुझे पछि हिम्मत गरी।

तोकिए बमोजिम हामी जम्मा भयौ, मेरी काम्रेडनीले यता उता हेर्ने, मैले खाल्टोको पोको निकाल्ने, चन्द्र र ज्योतिले मलाई सघाउने। खनेको ३ मिनेटमै पोको भेट्टियो। मैले पोको भेट्टिएको इसारा गरे, मेरी काम्रेडनीलाई। त्यतिकैमा ड्यांग ड्यांग दुई गोली चल्यो। गोलि चल्ना साथ गोलामा हल्लाखोर भयो, अचानक सेनाको नाइट भिजन हेलिकप्टर गोला माथी नै आइपुग्यो। गोलामा भागदौड शुरु भयो। हामी दुई आफ्नो बाटो लाग्यौ। दुई दिनको हिडाइले सीमाना काटियो।

परदेश तिर भुमिगत भएको ५ बर्ष हुदाँनहुदै देशमा ठुलो जनआन्दोलन शुरु भयो। गणतन्त्र संगै हामी पनि देश फिर्ता भयौं। शान्ति बार्ता पनि संपन्न भयो अनि हाम्रो काठमांडौ आगमन फाप्यो। मैले गणतान्त्रिक देशभक्त मोर्चा गठन गरे। मेरी उनी पनि म संगै राजनीति र जग्गा बेपारमा व्यस्त बनिन।

जग्गा बेपार त्यही बैंकको पैसाको कमाल थियो। जंगलको पैसो, उता तिर त्यो पैसो जोगाउन कम्तिको दुख भएन। त्यस मध्य २० लाख त जोगाएकै हो। त्यो २० लाखले अहिले ५ वर्षमा ५ करोड कमाएछ। धन्य हो त्यो बैंक जसले हाम्रो भाग्य चम्काइदियो। यसरी जिन्दगीको आज सम्मको बाटो हिडियो।

जे होस जग्गा र मोर्चा दुबैको ब्यापार फापेको छ। ग्राहकहरुको दुबै तिर कमी छैन।

अहिले हाम्रो मोर्चा क्रान्तिकारी, महान पार्टी संग एकीकरण हुने चरणमा छ। केन्द्रमा उपाध्यक्ष र हाम्रो मोर्चाका केहि मित्रहरुलाई केन्द्रीय सदस्य अनि २-४ जना पढी लेखेका छौ भन्नेहरुलाई जीए-सिएम, कुनै आयोग, नियोग र मनोनित संसद तिर मिलाउने कुरामा बार्गेनिङ चलिरहेकै छ। नभए कुनै एन्जियो फेंजियो खोलेर अर्थ मन्त्रालय तिरबाट यसो २-३ करोड अनुदान दिए सी ती आफुलाई बुद्धिजीवी भन्नेहरु पनि थन्किहाल्छन।

यो एकीकरण प्रयास पनि कम्ताको दु:खले आर्ज्याको होइन। पार्टीको अफिस, नेताहरुका डेरा सबै आफ्नै घरमा राखेर, तिनीहरुलाई अभिनन्दन गरेर पा’को हो। कम्तिको लागानी लागेको छैन, त्यसमा।

आज बिहानै एकजना, उही ठुलो पार्टीका कार्यकर्ता, लडाइँको क्रममा खुट्टमा गोली अड्केको तर पैसाको अभावमा उपचार हुन न पाई खुट्टा नै काट्नु पर्ने भन्दै आर्थिक सहयोग माग्न आएछन। मेरो निजी सचिवले ५० हजार दिएछ। हामी हरेक कुराको प्रमाण राख्नु पर्ने मान्छे, तिनको पनि पैसा संगै फोटो खिचेर, राखेको रैछ सचिबले। त्यो प्रमाणले पनि ५० हजारको १० गुणा कमाउछ समयमा परिस्थिति मिलेमा।

अहिले म त्यही फोटो हेर्दैछु र गम्दै छु। मलाई लाग्दै छ, त्यो कार्यकर्ता उही कमाण्डर “टाइगर” थियो, जुन उहिल्लै मलाई गोली चलाउन सिकाउथ्यो। उसका ती उहिलेका चिम्सा आँखा अझै पनि फोटामा उस्तै थिए।

मेरो मोर्चा र ठुलो पार्टीको एकता भयो। म उपाध्यक्ष भए पुरै पार्टीको। एकता भएको उपलक्ष्यमा मैले एउटा भब्य रात्रि भोजको आयोजना गरे। राति अबेर सम्म “मुन्नी बदनाम हुइ”मा पुरै पार्टी, नेता, कार्यकर्ताहरुको भिड मस्त रह्यो।

भोलिपल्ट पार्टीमा खबर आयो “कमाण्डर टाइगरको अस्पताल न पुग्दै मृत्यु भयो, मलामी जाने भने कोही भएनन रे”।

अझै अर्को कुरा खुसुक्क भन्दिउ, त्यो दुई गोली मेरी काम्रेडनीले चलाएकी थिइन हाम्रै गुप्त योजना अन्तर्गत। चन्द्र र ज्योतीको पत्तो अझै सम्म पनि कसैले पाएकै छैनन्।

27 thoughts on “कथाः पुरस्कार”

  1. Hari Ranabhat says:
    June 23, 2012 at 3:21 pm

    नेपाली जनता को मन र आवाज सग सबन्धित छ,छ छोरा बारा नाती नेपाली नेता को सपना भारत माथि.दुख पछि सुख अउचा भने पनि नेपाली को थौगो भयो थोगो मा नेइ सिमित भयो

    Reply
  2. rajani acharya says:
    June 22, 2012 at 11:14 am

    एकदम राम्रो कथा, लेखक ज्यु येस्तई कथा लेख आगामी दिन मा पनि लेख्नु हुने छ भन्ने आशा छ . धन्यबाद

    Reply
  3. Mamata says:
    June 18, 2012 at 1:20 am

    पासाले दरो बुद्धि लगायेछा..:D
    सारै राम्रो लग्यो कथा…लेखकलाई धन्यबाद अनि सुभकामना पनि येस्तई कथा लेख्दै जानुस अनि mysansar का पाठकलाई पस्कदै जानुस, परेको हामी बेहरौला नि है त..:)

    Reply
  4. raj kumar rayamajhi,bahrain says:
    June 18, 2012 at 12:37 am

    एकदम सटिक एबम वास्तविक घटना हो यो / कथा को रुप दियर क्या मजा ले लेखियको रहेछ , वाह…….,मन पर्यो अति अति नै /

    Reply
  5. kisne says:
    June 17, 2012 at 7:32 pm

    अहिले म त्यही फोटो हेर्दैछु र गम्दै छु। मलाई लाग्दै छ, त्यो कार्यकर्ता उही कमाण्डर “टाइगर” थियो, जुन उहिल्लै मलाई गोली चलाउन सिकाउथ्यो। उसका ती उहिलेका चिम्सा आँखा अझै पनि फोटामा उस्तै थिए।

    Reply
  6. लोकेश says:
    June 17, 2012 at 6:32 pm

    बिषय बस्तु र संदर्भलाई बडो संयमित र सुत्रबद्ध गरी मिहिनतका साथ कथा बुनिएको छ. कथा पढदा लाग्छ कथा होइन बास्तविकतामा आधारित कुनै चलचित्र हेरी रहेछु.

    बधाई छ लेखकलाई र धन्यवाद बडो राम्रो कथा हामी माझ ल्याउनु भएकोमा. फेरी फेरी पनि यस्तै कथाहरु आउन.

    Reply
  7. rajesh says:
    June 17, 2012 at 12:06 pm

    कथा वास्तविक कहानी जस्तै छ , प्रस्तुति झन् राम्रो छ

    Reply
  8. Deepak Luintel, Shanghai says:
    June 17, 2012 at 8:53 am

    डाक्टर लेखजी,
    १. सुरुमा लेखको बग्ने गति राम्रो छ तर अन्त्य तिर साच्चिनै बर्सेभेलमा आउने खोला जस्तो लाग्यो |
    २. तपाइको म पात्र अलि धेरै जनाको प्रतिनिधि पात्र जस्तो देखिन्छ | जस्तो सुरुमा क्याम्पस पढ्ने नेपाली युवा युवती , अनि बिद्रोहमा लागेका कुनै व्यक्ति जो बुर्जुवा शिक्षा भन्दै जंगल पसेको हुन्छ , अनि जनबिद्रोहको क्रममा लुटिएको सम्पति हत्याउने कमरेड र त्यसपछिको जग्गादलाली र अन्त्यमा पार्टीकै उपाध्यक्ष बन्ने नारायन काजी |
    ३ . यहाँ छबिलाल नारायणकाजी हिसिलाको रवाफ चलिरको छ तपाइको कथाले भने जस्तै ! तपाई जस्ता बुद्धिमान व्यक्ति कथा लेखेर बस्नु परेको छ बिदेशमा |

    Reply
  9. Rajib Prasain says:
    June 17, 2012 at 7:39 am

    कथा समय सान्दर्विक छ, ऐले को माओबादी पार्टी को असली लडाकु जसले देस अनि समाज को रुपान्तरण को आशा को लागि आफ्नो जिबन को अर्पण गरे र अवसरबादी व्यक्ति जो आफ्नो स्वार्थ को लागि जे पनि गर्छ, बीच को सम्बन्ध लाई देखौना खोजिएको छ | त्यसै गरि द्वन्द काल मा लुटेको अकुत सम्पति लाई कसरि सेतो बनाए भन्ने यथार्थ लाई कथा ले पस्कन खोजेको छ| साथै स्वार्थ को लागि कसरि राजनति मा पार्टी एकीकरण को हत्कण्डा प्रयोग गर्छन भन्ने कुरा खुलैएको छ, समय संदर्विक कथा को लागि कथाकार लाई साधुबाद…साथै आगामी लेखन को लागि पनि शुभकामना……

    Reply
  10. Jitman Rai 'Sabin' says:
    June 17, 2012 at 7:17 am

    लेख उत्कृष्ट छ, मन छोयो यसलाई कथा भन्नु भन्दा पनि निबन्ध सैलिको लग्यो मलाई त खैर लेखकको कला छताछुल्ल भएर पोखिएको यो सिर्जना बस्ताबिक्ताको धेरै नजिक छ ।

    Reply
  11. shailendra dhakal says:
    June 17, 2012 at 6:29 am

    कथाको लेखनशैली एकदम मन पर्यो.कथा जस्तो भए पनि पढुन्जेल कत्ति बोर लागेन.लेखकको अन्य बिषयमा पनि कलम चलोस्.सुभकामना छ लेखक ज्यु लाई

    Reply
  12. बिश्वास खत्री says:
    June 17, 2012 at 12:55 am

    प्रस्तुति निकै स्टाईलिस छ,, र कथा निकै समय सान्दर्भिक पनि छ र साँची नै कुनै स्तरीय चलचित्र को स्क्रिप्ट पढिरहेको आभाष भो,, लेखक लाइ धन्यबाद र बधाई!!

    Reply
  13. keshav says:
    June 16, 2012 at 11:11 pm

    स्टोरी अब्बल दर्जा को छ १ एस्तो कथा बेलाबेला मा अरु पनि जाओस1 धन्यवाद१
    तर येसबाट के पाठ सिक्ने त ?

    Reply
  14. नवराज says:
    June 16, 2012 at 9:19 pm

    उत्कृस्ट कथा , उत्कृस्ट लेखन शैली | यो बाक्य चाहिँ सारै मन पर्यो , “कम्मरमा न अडिए पछी भने छालाको पेटीमा मैनै पिच्छे प्वाल छेडियो। बल्ल थाहा भयो, ति प्वालका रहस्यहरु।”

    Reply
  15. Padam US says:
    June 16, 2012 at 8:26 pm

    मलाई कथा पढ्न जाँगर चल्दैन थियो, तर यो कथा पुरै पढे, समसामयिक र एथार्थ परक रहेछ

    Reply
  16. RabinRai says:
    June 16, 2012 at 7:10 pm

    लेखनाथ मित्र, धेरै राम्रो छ . परिपक्व लेखाइ ! नाम अनुसार को काम.

    Reply
  17. krishna says:
    June 16, 2012 at 6:51 pm

    गाउँमा कहिलेकहिँ येस्त वास्तविक घटनाहरू सुन्नमा आउथ्यो, लेखाइ सैली दामी छ,पढ्दा कहिँ पनि नरमाइलो महसुस भएन,रोचक र बास्तबिकता संग पनि नजिक छ कथा,लेखक लाइ धन्यबाद अनि सुभकामना, आगामी दिन मा पनि येस्तै उत्कृस्ट रचना हरु पढ्न पाइयोस,

    कृष्ण महर्जन
    दोहा

    Reply
  18. bhandari kanchho Germany says:
    June 16, 2012 at 5:52 pm

    काजी नारनले पठाउलान गोलि भरेर पुरस्कार !!!! लेख नाथे तै हैनस भनेर ?! जे होस् यो लेख्ने मान्छे को तरिका र सैली औधि मन पर्छ यो कान्छा लाई !!! पूर्ण बिराम नलागोस है…………

    Reply
  19. Devendra Basnet says:
    June 16, 2012 at 5:44 pm

    रमाइलो छ कथा.
    खातामा रुप्पे र हातमा चुप्पी हुनेले पद लुड्याए.

    यो चै हाम्रो देशको बास्तबिकता नै हो.

    Reply
  20. safal says:
    June 16, 2012 at 5:23 pm

    जग्गा किन तेसरी महँगो भाको वनेको त लुटेको धन ले पो रहेछ ऐले लुटेको धन सबै थान्को लगेचन अनि जग्गा पनि ओरालो लागेछ सारै राम्रो लग्यो तपाई को सस्मरण

    Reply
  21. aasish,switzerland says:
    June 16, 2012 at 4:42 pm

    लेखाइ सैली दामी छ,पढ्दा कहिँ पनि बोर फिल हुन पाएँन,रोचक र बास्तबिकता संग पनि नजिक छ कथा,लेखक लाइ धन्यबाद,आगामी दिन मा पनि येस्तै उत्कृस्ट रचना हरु पढ्न पाइयोस,
    आशिस
    स्विस,

    Reply
    1. mahesh says:
      June 16, 2012 at 6:10 pm

      कथा रमाइलो लाग्यो.

      Reply
  22. Sanjay says:
    June 16, 2012 at 3:00 pm

    कथा धेरै राम्रो लाग्यो, धेरै हद सम्म बास्तविकता संग मेल खाँदो रहेछ , लेखक लाई बधाई अनि शुभकामना छ|

    Reply
  23. Anandap yakurel says:
    June 16, 2012 at 2:53 pm

    अति नै राम्रो कथा छ . यसको लागि धेरै धेरै बधाई छ हजुर लाई / नेपाली साहित्य मा हजुरको कलम अति नै जबर्जस्त छ साथै हजुर संग को पुरानो बशाई को सम्झना तेही य़क सेर गजल को साथमा
    आनी मिठो बानि मिठो , त्यो आखाको नानी मिठो
    मोहनी ले हो कि क्याहो , यो ठाउं को पनि मिठो

    धेरै धेरै सम्झना अनि मुटु भरि को माया

    उही ……………
    आनन्द प्याकुरेल

    Reply
  24. Amrit says:
    June 16, 2012 at 2:15 pm

    लेखनाथजी, धेरै गहकिलो लेख छ यो/ कथाको कति राम्रो प्रवाह छ/ एस्तो लाग्छ कुनै हलीउड फिलिमको स्क्रिप्ट हो/ एस्लाई एउटा चलचित्र बनायो भने पक्कै दिग्गज वर्गका दर्सक हरुलाइ सहि रुची रहनेछ/ भविस्यमा पनि येस्तई रोचक अनि मार्मिक कथा लेख्दै गर्नुहोला/

    Reply
  25. HARKANAMAN SHAHI says:
    June 16, 2012 at 2:12 pm

    कुरा त स्पस्ट छ, अब यो सुने पछी पनि नेपाली जनताले माथि लेखियको बहुरुपी हरुलाई समर्थन गर्नु भनेको त, मर्नु नै हो नि !

    टूथ पेस्ट त प्रयोग गर्नु नै पर्ने हो, आउने ठुला ठुला रोग हरु बाट बच्न, नत्र यो रोग सबै माथि लाग्छ र सबैलाई असर पर्छ.

    अब पनि सोच्न थालियो भने दुख पाउनु बाहेक अर्को उपाय छैन..

    Reply
  26. Rajendra says:
    June 16, 2012 at 2:00 pm

    The story is realistic in the begining, but later goes towards satirical exaggeration.
    Overall, its 8/10. 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme