Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले गरिरहेको छ जातीय राजनीति ?

Posted on May 31, 2012June 2, 2012 by परिवर्तन

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन
_________________________________________________

-परिवर्तन-
राजकुमार लेखी र पासाङ शेर्पाले एमाले छाड्ने जानकारी दिएका छन्। यी दुई जनाले पार्टी छाड्दैमा एमालेलाई त्यति साह्रो-गाह्रो पर्दैन किनभने प्रचण्डले ३-३ करोड दिएर जनजाति र मधेशी नेताहरूलाई किनेको हल्ला एमालेका जिल्लास्तरीय कार्यकर्ताले फैलाउन थालिसकेका छन्। यी हल्लाले पार्टीमा जनजाति वा मधेशी नेताहरूले किन पार्टी छाडे वा किन छाड्दैछन्? भन्ने कुराको बहसको अन्त्य गरिदिन्छ र नेतृत्वको गलत नीतिको ढाकछोप गरिदिन्छ। अर्थात्, एमालेको नीति, कार्यक्रम सबै ठीक थियो र छ बरू जनजाति वा मधेशी नेताहरू नै खराब हुन्, उनीहरू पैसाको लागि बिके भन्‍ने हल्लाका आधारमा एमाले अगाडि बढ्नेछ। समस्या एमालेको मात्र होइन, कांग्रेस, अखण्डका माग गर्नेहरू, अनि पढेलेखेका भनिएका बाहुन-क्षेत्रीहरूको पनि हो। उनीहरूले आफूहरू इमान्दार, आफूहरू जान्ने, आफूहरू बुझेको, आफूहरू देश चलाउन सक्ने, आफूहरूले देश टुक्रन नदिने, आफू पैसाको लागि नबिक्ने, आफूलाई मात्र देशको चिन्ता भएको र जनजाति, मधेशी, मुसलमान, दलित वा अन्य वर्ग र क्षेत्रका मान्छेहरू जान्दैनन्, बुझ्दैनन्, देशलाई विगार्न लागे, देश टुक्र्याउन लागे वा यस्तै अनगिन्ति मनगढन्ते तर्क गर्छन्। यदि बाहुन, क्षेत्री, एमाले, कांग्रेस वा हिजोका पञ्चहरूले भनेकै सबै सही हुने, उनीहरूले मात्र विश्लेषण गर्न सक्ने, उनीहरू मात्र जान्ने-बुझ्ने र उनीहरूले नै भविष्यको आँकलन गर्न सक्ने वा उनीहरूले नै देश विकास गर्न सक्ने भए यो देशको हालत यस्तो हुने थिएन। किनभने २०० वर्षदेखि यो देशमा उनीहरूको हालीमुहाली थियो र छ।

यहाँ पार्टीगत रूपमा वा व्यक्तिगत रूपमा कसैको कमजोरी देखाउन जरूरी छैन तर हाम्रो समग्र सांस्कृतिक चिन्तन नै यस्तो भएको छ कि बुढा-पाकाले नयाँ पुस्ताले जान्दैन, धान्दैन भनेर उनीहरूलाई अधिकार र हक दिंदैन वा दिन खोज्दैन। पुरूषहरूले महिलाले गर्न सक्दैनन्, जान्दैनन् भन्छन् र आफ्नो वर्चश्वमा रहेको कुरा गुमाउन चाहँदैनन्। सत्तामा हुने वा कुनै पनि पेशामा हुने आम मान्छे (वकिल, पत्रकार, व्यापारी, लेखक, कलाकार) राजनीतिक कार्यकर्ता, नागरिक समाज, पढे-लेखेका भनाउँदाहरूले सबै कुरा आफूले जानेको, बुझेको र अरूले वा नयाँले नजान्ने र नबुझ्ने तर्क मात्र गर्दैनन् बरू उनीहरूले ती काम गरेमा देश भाँडिने, सबै तहसनहस हुने तर्क गर्छन्। यस्तै तर्क हिजो राजाका वरिपरिकाले गर्थे, उनीहरूका विचारमा राजावादी शक्तिबाहेक अरूले देश चलाउन सक्दैन। राजा नरहे देश रहन्न। तर, त्यस्तो केही भएन। यदि हाल तर्क गरिएजस्तो मधेशी, जनजाति वा दलितहरू प्रधानमन्त्री हुँदा देश नरहने हो भने राजाको ठाउँमा आएका अहिलेका मठाधिशहरूले देश चलाउँदा पनि देश नरहनु पर्ने हो तर त्यसो भएन र हुन पनि सक्दैन।

देश कुनै एक व्यक्ति, क्षेत्र वा जातले बचाएर बच्ने कुरा होइन। यो सम्पूर्ण जनताहरूले बचाउने कुरा हो र त्यसका लागि समग्र जनता जागरूक हुन जरूरी छ। तर, जुन देशमा जनताले आफ्नो देश भन्ने गौरव प्राप्त गर्न सक्दैन, जुन देशमा अरू जनताले जस्तै समान अधिकार र अवसर पाउँदैन त्यो देशका जनताले देश बचाएर अर्को पक्षलाई सदैव पोस्ने काम गर्न सक्दैन। त्यो सम्भव छैन। अहिलेको समस्या पनि त्यस्तै हो। देशमा पहिले नै प्रभुत्व जमाएकाहरूले नयाँ आउन वा आउन सक्ने समुदायप्रति शंका गरिरहेको छ। यस्तो लाग्छ संसारमा उनीहरूले आफू बाहेक अरूलाई योग्य ठानेकै छैनन्।

पार्टीभित्र देखिने जातीयता

यसैको प्रतिविम्ब नेकपा एमालेमा देखा परेको छ। संविधान सभा चुनाव हारेका माधव नेपाल, केपी ओली लगायत संविधान बनाउन कस्सिए अर्थात् हिजो चुनावले केही हदसम्म खुस्काएको आफ्नो वर्चश्व अझ धेरै गुम्ने डरले उनीहरूले आफ्नै पार्टीभित्रको आवाजलाई दवाउने चेष्ठा गरे। फलस्वरूप उनीहरूले आफू नेतृत्वमा नभएमा समग्र देश भाँडिन्छ भन्ने मात्र सोचेनन् बरू रामचन्द्र झा हरूको आवाजलाई पनि मधेश टुक्य्राउने आवाजका रूपमा बुझ्न थाले। पासाङ शेर्पाहरूले मागेका अधिकारहरूलाई जातीय सद्‌भाव विथोल्ने मागका रूपमा बुझिन थाल्यो। यसैको फलस्वरूप भीम रावलको नेतृत्वमा अखण्ड सुदुरपश्चिमको आन्दोलन शुरू गरियो अनि जिल्लाका टुक्रे नेताहरूले “अखण्डता”का नाममा आन्दोलन गरे। जातीय सद्‌भाव विग्रेको भन्दै उचालिए र आफैसँग २० औं वर्षदेखि काम गरिरहेका आफ्नै साथीहरूलाई विश्वास गरेनन्। यो मामलामा कांग्रेस पनि केही कम छैन। यसको नेतृत्वले पनि यो देशमा बाहुन-क्षेत्रीले मात्र जातीय सद्‌भाव कायम गरेको, उनीहरूले मात्र देश जोगाएको र देश टुक्रन नदिनेमा विश्वास गर्छ। यसले पनि मधेशी, जनजाति र दलित जनताले लोकतन्त्रप्रति देखाएको आस्था र विश्वासमाथि शंका गर्छ। त्यसैले त कांग्रेसमा कोइराला (बीपी, मातृका, गिरिजा, शुशील, सुजाता, शेखर, शशाङ्क आदि) महत (रामशरण, प्रकाशशरण) र केसी (अर्जुन नरसिंह, बलबहादुर, खुमबहादुर, गगन थापा लगायतका)का सपरिवार, एमालेमा पाण्डे (सुरेन्द्र, राजेन्द्र), ज्ञवाली (प्रदिप, युवराज), पोखरेल (ईश्वर, शंकर) वा नेपाल र माओवादीमा दाहाल, भट्टराईहरूका सपरिवारले राजनीति गर्दा त्यहाँ जातीय राजनीति हुँदैन तर पूर्वको राई र पश्चिमको मगर वा हिमालको शेर्पा र तराईको थारू समुदाय मिलेर आफ्नो अधिकार माग्दा जातीय राजनीतिका रूपमा परिभाषित गरिन्छ। कतिसम्म भने नेपाली कांग्रेस भित्र चर्चित भनेर चिनिने र आफूलाई जात वा धर्म भन्दा माथि राख्‍न खोज्ने युवा नेता गगन थापाले महाधिवेशनमा पाएको भोटमा जातीय गन्ध मिसिएको थियो। घोषित रूपमै क्षेत्रीहरूलाई जिताउने योजना अनुरूप गगन थापा, अर्जुन नरसिंह केसी, खुमबहादुर खड्काले महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याएका थिए। यो कुरा थाहा पाएर शुशील कोइराला त्यतिवेला नै रिसाएका थिए। यसरी पार्टी भित्र नै जातीय गठबन्धन गर्नेहरूले जातीय राजनीति गरेको ठहर्दैन तर आफ्नो हक, अधिकार माग्ने जनजाति वा मधेशीले भने जातीय राजनीति गरेको आरोप लाग्ने गर्छ। अहिले संघीयता वा जातीय अधिकारको कुरामा सबैभन्दा धेरै विवाद र विरोध गर्नेमा हिजो जातीय राजनीति गर्नेहरू यिनै सबैभन्दा सक्रिय छन्। त्यसैले जातीय राजनीति गलत हो भने यस्तो खालको जातीय राजनीति पनि बन्द हुनुपर्छ होइन भने आफूले गरेको जातीय राजनीति सद्‌भावका लागि हुने र अरूले गरेको जातीय राजनीति वैरभावका लागि हुने दोहोरो मापदण्डले कसैको भलो गर्दैन। ठूला-ठूला आदर्शका कुरा गर्ने र अरूलाई अर्ति दिने थापाले भीमबहादुर तामाङको पक्षमा एक शब्द बोल्न चाहेनन् वा उनको नजिक हुन पनि चाहेनन् किन भने त्यसो गरेको भए उनी चुनाव हार्ने थिए। केन्द्रीय सदस्यमा जित्‍ने लोभमा उनले आदर्शको राजनीति छोडिसकेका थिए र जातीय राजनीतिमा सक्रिय थिए।

मिडिया र अन्य

यो सांस्कृतिक वर्चश्वको मानसिक समस्या भने मिडियामा अझ चर्को छ। माउन्टेन टेलिभिजनले बाहुन-क्षेत्रीहरूले गरेको आवेशपूर्ण भाषणलाई LIVE टेलिकास्ट गर्दा पनि त्यहाँ जातीय सद्‌भाव नै झल्कियो अनि NEWS24का पत्रकारले पत्रकार भन्दा पनि कार्यकर्ताका रूपमा मञ्चमै कराँदा पनि जातीय सद्‌भाव र पत्रकारको हक, अधिकारका रूपमा परिभाषित गरियो। स्वतन्त्र हुनुपर्ने पत्रकारहरूले नै “अखण्ड”का नारा लगाउँदै त्यसको पक्षमा आन्दोलन गर्दा होस् वा जनजाति, मधेशी र दलितहरूको आन्दोलन र व्यक्तिलाई होच्याउँदा पनि त्यहाँ जातीय सद्‌भाव नै देखियो तर जातीय पहिचानको पक्षमा आन्दोन गर्ने कार्यकर्ताले लगाएको नाराले भने जातीय सद्‌भाव विथोलेको आरोप लगाइयो। अहिलेको समस्या पत्रकार र जनजाति कार्यकर्ताका माझ भएको होइन वरू पत्रकारका नाममा “अखण्ड” चाहने वा पार्टीगत कार्यकर्ताका रूपमा संघीयताको विरोध गर्ने कार्यकर्ता र जनजाति आन्दोलनका कार्यकर्तामाझ भएको झडप हो। त्यसैले यसलाई पत्रकारहरू माथिको हस्तक्षेप भन्दा पनि एउटा पक्षको कार्यकर्ताले अर्को पक्षको कार्यकर्तामाथि गरेको हस्तक्षेप भनेर बुझ्न सजिलो हुन्छ। त्यसो त सबै ठाउँका घटनालाई त्यसै रूपमा बुझ्ने भुल भने गर्न सकिंदैन र केही हिंस्रक घटनाका लागि भने आन्दोलित पक्षको दोष देखिन्छ।

दरबार मार्गमा देखा परेका विशेषत: बाहुन, क्षेत्री, नेवार (व्यापारी) र NGO, INGO मा काम गर्ने केही जनजातिहरूको सद्‌भाव र्‍यालीले अर्को दिनका सबै मिडियामा ठाउँ पायो, फ्रन्ट पेजमा, मेन हेडलाइनमा तर बसन्तपुरमा भएको आमसभाले कतै चर्चा पाएन, त्यहाँ के कुरा बोलिएका थिए भन्ने कुरा कतै सुनिएन। यस्ता अनगिन्ति उदाहरणहरू देख्न सकिन्छ जसले एउटा समूहलाई जान्ने, बुझ्ने, विश्लेषक, चिन्तक र देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक वा पेशागत रूपले सु-सभ्य नागरिकका रूपमा परिभाषित गर्छ र आफू बाहेका सबैलाई बहिष्कार गर्न चाहन्छ वा आफ्नो नजिक नआउन् र आफूले ओगटेको ठाउँमा साझेदारी नगरून् भन्ने चाहन्छ।

समय थोरै छ। मिलेर बाँड्ने हो भने सबैले पाउने वातावरण बन्न सक्छ होइन भने कलम हुनेले कलमले लेखेर विरोध गर्छ कलम नहुनेले आफूसँग भएको हतियार (कोदालो, हँसिया)ले लेख्‍न शुरू गर्छ। हो आफूले पाएको हक, अधिकार र सुविधा दिन सबैलाई गाह्रो नै हुन्छ तर बृटिशहरूले भारत छोडेको कुरा वा अफ्रिकामा गोराहरूले गरेको सम्झौता भने सम्झनै पर्छ। अधिकार सबैले पाउनु पर्छ र आफ्नो अधिकार प्राप्त गर्नका लागि फेसबुक हुनेले फेसबुक, ब्लग हुनेले ब्लग र ट्वीटर हुनेले ट्वीटर तथा रेडियो, टेलिभिजन र पत्रिकाको प्रयोग गर्ला तर यस्ता साधन नहुनेले बोल्नै पाउन्न, लेख्नै जान्दैन, बुझ्दै बुझ्दैन र उनीहरू असक्षम छन् भन्ने पक्कै होइन। यो कुरा वर्चश्व कायम राख्‍न खोज्ने पार्टी वा पार्टीका नेताहरूले मात्र होइन आम नागरिक, पेशाकर्मी, बुद्धिजीवि र पार्टी कार्यकर्ता सबैले वेलैमा बुझ्न जरूरी छ।

(तत्कालिन आवेशपूर्ण घटनाक्रममा यो लेखले नकारात्मक प्रतिकृया जन्माउला भन्ने ठानेर पोष्ट नगरेपनि यो विषयको सान्दर्भिकता अझै छ र आगामी दिनमा अझै बढ्नेछ भन्ने लागेर केही ढिला पोष्ट गरेको छु।)

[email protected]

पुराना कमेन्ट हेर्न यहाँ क्लिक गर्नुस्

7 thoughts on “कसले गरिरहेको छ जातीय राजनीति ?”

  1. Komal says:
    June 11, 2012 at 12:24 pm

    प्रशङ्घ जातिवादीको जरो
    शीतयुध्दका टुहुरा – अमेरिका र तिब्बतीहरुको सङ्घर्ष
    – जोन केनेथ न्याँउस ( सिआईएका एक अधिकृत)
    सिआईएले हिमाली छेत्रमाथि आँखा गाडेको सन् १९५० ( वि स २००७) को शुरुमा हो । नेपाल तिब्बतसहित छेत्रमा युध्द, लोभ र व्यापारद्वारा कब्जा जमाउन सकिन्न । यसका लागि स्थानीय जातिलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौमा लेखेको प्रतिवेदन अहिले पनि सम्झन्छु । धन्न हाम्रा सिआईएका अधिकृतहरुले चलाखिपुर्ण तरिकाले राष्ट्र सङ्घमा आईएलओ १६९ धारा घुसाउन सफलता पाए । मैले अवकाश प्राप्त जीवनमा आफ्नो युवाकालको विश्लेषणले विश्वलाई करयाप्पै पार्न आँटेको देखेपछि धेरै रात हर्षका आँसुसँगै बिताँए । हुनपनि पूर्वी युरोपमा त्यही जातियताका सूत्र आधा दशकमै सफल भयो र सोभियत धूर्व ध्वस्त भयो । सन् १९९७ (विस २०५४) मा ७४ वर्षको उमेरमा म काठमाडौमा गएँ । तिब्बती सम्पर्क केन्द्र खुलेको रहेछ । मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको सूत्र नेपाल तिब्बत र भारतमा प्रयोग भईरहेको रहेछ । मैले के ठाने भने जब हाम्रा सिआईएका अधिकृतहरुले राष्ट्र सङ्घमा १६९ धारालाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई फेयर बैङ्क (सिआईएको मुख्यालय) ले तताउनेछ, म अब जीवनको उत्तरार्ध्दमा पुगिसकेको छु, तरपनि मलाई गर्व छ कि हाम्रो देश अमेरिकाका कट्टर विरोधी वामपन्थीहरू मेरो सिआईएको सूत्र घोकेर तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन् । मृत्युपछि पनि (येशु) प्रभुको माध्यमबाट म तिनीहरुलाई धन्यबाद दिईरहने छु । सिआईएक मेरा रणनीतिहरूमा गुरु मार्कटोनलाई म धन्यवाद नदिरहन सक्दिन, जसले महिला मुक्तिको नारा तेस्रो विश्वमा राष्ट्र सङ्घ मार्फत घुसाउन लगाए । यो नारा हेरेर नै मैले हिमालय पर्वतमालाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दावा गर्दछु कि नेपाल लगायत विश्वमा जातीय मुक्तिको नारा उठाउने पहिलो ब्यक्ति म हुँ । त्यसलाई ब्यवहारमा प्रयोग गर्ने सङ्स्था सिआईएलाई म सँधै धन्यवाद दिइरहनेछु ।
    हिमालय छेत्रका बासिन्दालाई विकास र आधूनिकताको लोभ देखाउने हो भने चीनमाथी सहजै नियन्त्रण गर्न सकिने बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो । मेरो जीवनमा हिमालय छेत्रमा जति प्रगति भयो सबैमा मेरो सूत्र लागू भएका कारण हो । नेपाल तिब्बत सीमानामा सात लाख पाउन्डका हतियार झार्यौ खम्पा बिद्रोहमा । तर लाभ शुन्य भयो । जातजातीलाई प्रयोग गर्ने हो भने चिसो हिमाली छेत्रमा तात्तातो सफलता पाउन सकिन्छ भन्ने मैले निचोड निकालेको थिँए, जुन म जीवित छँदा विश्वव्यापी हुँदै गईरहेको देखिरहेको छु ।
    साभार – नेपाल, २०६६ पेज १६२-१६४)

    Reply
  2. Sonam Sherpa says:
    June 3, 2012 at 7:40 pm

    देश बनाउने पाखामा देश बिगार्ने काखामा

    एक जना बाहुन मित्रले भन्दै थिए प्रगती गर्न कस्ले रोकेको छ र् ? हुन पनि हो जस्तै लाग्ला ? तर त्यसो हुँदै होईन ब्यक्तिगत तवरको कुरो नभएर यो राज्यको नीतिको कुरा हो जो संस्थागत रुपमै छ । आदिबासी र मदेशीको बच्चाले आमाको दुध खाए पीए माताले दुध पिलाएर सिकाएको मातृभाषा पश्चात स्कुलमा कथित खस् भाषा थोपरिन्छ अनि हाम्रो जिब्रो थुत्ने काम राज्यले गर्दछ । धर्मको नाममा कथित हिन्दुबाद बुद्ध जन्मेको देशमा थोपरिएकै हो । सस्कृतिको नाममा कथित आयातित दक्षिणी छाडा सस्कृति हामीले कर तिरेको मिडियामा प्रसारण गरिन्छ र देशमा मौलिकता झल्कने सस्कृति नामेट पारिन्छ / अनि एउटा मात्र उदाहरणको रुपमा हेर्ने हो भने लोक सेवामा कपी काट्ने उही जातिका प्रश्न निकाल्ने उही जातिका बिज्ञपन दिने उही जातिका अनि भाषा पनि उनीहरुका खस् भएपछि कसरी अरुको पहुच पुग्न सक्छ ? यदि सकिन्छ भने लिंङगा फ्रेंक …. को आधारमा अंग्रेजीमा परिक्षा गरौ न यो तिम्रो मातृ भाषा न मेरो नै, यो त अन्तराष्ट्रिय भाषा बाबै सक्छौ फेस गर्न ? यो भावना मा डुबेर लुटको संसार भत्केला भनेर होईन यो यथार्थ हो नि मित्रहरु । यदि सबैले राम्रो सोचे पो देश बिकाश हुन्छ नि होईन र ? देशको ८० प्रतिशत जनता बाहिर राखेर पनि देशको बिकास हुन्छ ? के देश बनाउने सगरमाथाको देश हिमालको देश वीर गोर्खालीको देश बुद्द जन्मेको देश भनेर चिनाउने आदिबासी जनजातिले मात्र ठेक्का लिएको छैन क्यारे । तराईमा अन्न फलाएर देशको सेवा गर्नु पर्छ भनेर थारु र मदेशीले मात्र ठेक्का लिएको छैन क्यार ? अनि देश बिगार्ने कुर्शीमा, देश बनाउने पाखामा यो प्रकृति न्याय को सिद्दान्तमा छ ?
    एकताका राममणि आचार्य दिक्षितले भनेका थिए पाखे, पर्वते, तिग्रे खर्पने, जंगली, स्वाठे ( आदिबासी जनजातिलाई इंगित गर्दै ) यिनीहरुलाई मंत्री मण्डलमा कबै नजोड्नु यिनीहरुलाई मन्त्रिमंडलमा जोडे मुलुक खत्तम हुन्छ भन्ने तरिकाले बिष बमन गरे भने राणाशासन कालमा राजनीतिमा आदिबासी दलित र मदेशिलाई बर्जित थियो किनकी बाहुन बाहेक सबैलाई सिधै फासीको तख्तामा चढ्नु पर्थ्यो . जंग बहादुरले राई लिम्बु गुरुङ मगरलाई हदै भए मेजर मात्र दिनु तामांगलाई पिपा गोश्वारा मात्र दिनु शेर्पालाई जागिर नै नदिनु भन्ने रणनीति थियो (पुर्ब मंत्री बल बहादुर राइ को अंतर्बार्ताबाट ) .
    यो देशमा ३२ सचिबमा को हो छन ? मुख्य सचिब को हुन ? झन्डै १०० सहसचिब को हुन ? १५० उपसचिव को ? ७५ सी. डि. यो .को ? ७५ सहायक सी डि यो को ? एल. डि. यो. ७५ को ? हरेक सस्थानका डाइरेक्टर र जी. एम को हुन् ? ९५ प्रतिशत राजदुत को छन् ? योजना आयोगमा को ? राष्ट्र बैकमा को ? प्रधान न्याधिस लगायत न्याधिस को ? प्रहरी र सेनामा को ? भन्सार र कर कार्यालयमा को ? न्याय पालिका ब्यस्थापिका कार्यपालिकामा को ? देशका १३ प्रतिशत जनसङ्ख्याले ८६ प्रतिसत राज्यको सयन्त्र ओगटेका छन भने ८७ को उपस्थिती १३ भन्दा कम छन । के यो सस्थागत विभेद होईनन ?हुदाहुदा अहिले राज्यका हरेक स्रोत साधनमा एक जातीय हालीमुहाली छन् . देश कसले बिगारे अनि कसको नामले चलिरहेको छ ? थाहा छ ? जो कुराको हिसाब किताब जनताले गर्नु पर्छ चाडै गर्नु पर्छ । होईन भने देश बिगार्ने छुट कसैलाई छैन ।

    Reply
    1. पुरु says:
      June 4, 2012 at 7:11 pm

      ल मैले तपाइको कुरो माने सोनाम जी.. त अब ती असि प्रतिसत लै माथि ल्याउने उपाय के त? छुट्टै राज्य बनाएर? मलाई लाग्छ कुरा पुराना इतिहासमा कसले के गरे अथवा नेपाली भाषामा जबर्जस्ति पढाइयो भन्ने कुरा भन्दा पनि चेतनाको विकास मुख्य कुरा हो, र त्यो चेतना बिस्तारै उघ्रदै छ! आदिवासी, जनजाती, मधेसी, दलितहरुले अहिलेकै संबिधानमा भएका अधिकारको प्रयोग गर्ने हो भने पनि यो असमानता हट्दै जानेछ! अब त्यो चेतना फैलाउने काम गर्नु पर्यो! कुनै जातको बेग्लै राज्य बनाएर त त्यहि जातका हुनेखाने टाठाबाठा हरुले नै मस्ती गर्ने हो, सिधासाधा शेर्पाहरु त फेरी पनि जस्ता को तस्तै!

      Reply
    2. govinda paudel says:
      June 6, 2012 at 11:35 am

      लौ गरौ न त अंग्रेजी मै कम्पिटिशन, येस्मानी छेत्री बाहुन लाइ कसैले जित्न सक्दैन, के फुर्ति लगाउछौ

      Reply
  3. द्रोण says:
    June 3, 2012 at 12:31 pm

    हुन् त् मावोबादी नेताहरुले फटाह बोल्ने मा किर्ति नै राखिसके तर पनि कांग्रेस मा चै गिरिजा मोरेपछी नेता नै सकिएको हो कि जस्तो लाग्यो |
    हाल को संबिधान सभा बिघटन लाइ मावोबादीको सत्ता कब्जा को कोसिस अरे भन्दै रामसरण ले लेख लेखेछ ,रामचन्द्र ,सुसिल तेही भन्दैछन सिटौला को अन्तर्वार्ता मा तेही पढियो ,समग्रमा पुरै पार्टीले तेही निर्णय गरेछ |

    मेरो सामान्य सोचाइमा यदि बाबुराम प्रचण्ड जंगल मै थिए भने चै सायद तेही ख्वाब देख्थे होला | दुबैजाना आएर देश को प्रधानमन्त्री भएर रास्ट्रिय ,अंतर्रास्त्रिया परिस्थिति बुझिसके पछी पनि ,सेना समायोजन भैसकेपछि पनि के सत्ता गर्न खोज्यो भन्ने सुहाउला ??

    उनीहरुले सत्ता कब्जा भनेको
    १) चुनावै हुन् नसकेर बाबुराम लामो समय पी यम भएर
    २) जातीय राजनीति बाट कांग्रेस ,एमाले खुम्चिएर मावोबादिले दुइ तिहाइ बहुमत लेराउला भनेर
    येसो भनौ भने पनि माउबादी आफै फुट को संघार मा छ |”यो किन सत्ता कब्जा भन्यो ??”
    बुझ्न सकिएन |

    Reply
  4. प्रयास says:
    June 3, 2012 at 1:50 am

    देश् पाकिस्तानिकरण, सोमालिकरण, र कङोकरण तीर जना सक्ने खतरा देखियो। मान्छेका २ जात (पुरुश र महिला) मात्र हुन्छन भनि दैनिक माहापुराण लगाउनेहरूले नै जातिय राज्य को खेती गरिरहेका छन्, कुरा बुझ्न नै गार्हो छ।

    Reply
  5. Satya says:
    June 2, 2012 at 9:53 pm

    यो देशमा अब यस्तो संबिधान सभाको चुनाब जति गरे पनि संबिधान बन्ने वाला छैन / किनभने सहमति, सहमति, सहमति भनेर चार वर्ष पछी सभाको देहवसान भयो / तर चुनाबमा नगईकन सुक्खै छैन / अबको चुनाब यस्तो हुनु पर्छ कि नेपालको संबिधान नेपाली जनताले प्रतछ्य भोट हालेर वनाउने /
    सकेसम्म दुइ वा तिन वटा संविधानको मस्यौदा तयार गरेर जनतालाई दिने जनताले भोट दिएर अनुमोदन गरेको नै नेपाल संबिधान हुनेछ /

    नेपालको संविधानको प्रतछ्य निर्वाचनको लागि:
    १) माओवादी र उनलाई समर्थन गर्ने दलहरु मिलेर एकवटा नेपालको संबिधान मस्यौदा तयार गर्ने /
    २) कांग्रेस, एमाले र उनलाई समर्थन गर्ने दलहरु मिलेर एकवटा नेपालको संबिधान मस्यौदा तयार गर्ने /

    यसो गरेमा ६०१ जना सभासदलाई पाल्नु पनि पर्दैन / अर्बौं रुपैयाँ पनि जोगिन्छ / दश ठाउँमा बैठक गरेर हिड्नु पनि परेन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme