Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान नबनेको त ‘खप्पर योग’ले पो रे

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन
_________________________________________________

जेठ १४ को मध्यरातमा संविधान सभा खरानी भइसकेपछि के कारणले र कसको कारणले अन्तिम समयमा आउला आउला भन्दाभन्दै संविधान आएन भनी विभिन्न कोणबाट व्याख्या विश्लेषण भइरहेका छन्। यस्तैमा राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष तिलकराज पौडेलले भन्दिए- अनिष्टकारी खप्पर योगका कारण संविधान नबनेको हो। ज्योतिषशास्त्रअनुसार यो वर्ष वैशाखदेखि असार महिनासम्म अनिष्टकारी खप्पर योग परेकाले नागरिकले बढी पीडा भोग्नुपर्ने योग परेको उनले बताए। योग त थाहा भएन तर संविधान नबन्नुको कारण नेताहरुको खप्पर नै हो भन्ने चाहिँ ओपन सेक्रेट नै हो। तैपनि यो खप्पर योगको कुरा के रैछ भनी खोज्न मन लाग्यो। गुगल दाइले के के देखायो त यो खप्पर योगबारे ? हेर्न भित्र आउनुस्।

के रैछ त खप्पर योग भनेको ?
७ अप्रिल (चैत २५) देखि ३ जुलाई (असार १९) सम्म क्रमश पाँच शनिबार, पाँच आइतबार र पाँच मंगलबार परेकोले अन्त्यन्त अनिष्टकारी खप्पर योग बनेको हो रे।

यसका कारण हिंसक उपद्रो, राजनीतिक विग्रह, सत्ता परिवर्तन, नेताहरुमा विद्वेष र तनाव हुन्छ रे। प्रतिष्ठित विभूति मर्न सक्छन् रे। अतिवृष्टि, भूकम्प जस्ता प्राकृतिक प्रकोप नि हुनसक्छन् रे। विश्वमै प्राकृतिक प्रकोप चरम सीमामा हुन्छ रे। यौन उच्छृङ्खलता बढ्छ रे। आकस्मिक दुर्घटना पनि बढ्छ रे। शासक वर्गप्रति भयंकर असन्तोष र विद्रोहको लक्षण देखिएको छ रे।

अहिले हामी यहाँ गर्मीले हायलकायल भइरहेको बेलामा अर्का एक ज्योतिषले भने यो वर्ष हिमपातमा नयाँ कीर्तिमान बन्ने बताएका रहेछन्। खप्पर योगकै अवधिमा अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने भविष्यवाणी पनि रहेछ। इरान, पाकिस्तान, चीन र मुस्लिम देश अमेरिका र भारतको विरोधमा हुने र युद्ध हुनसक्ने रे।

लौ, लौ पुग्यो यी ज्योतिषका कुरा। ज्योतिष शास्त्रप्रति मेरो अविश्वास हैन। तर पढ्दै नपढेका र नक्कली डिग्री लिएर ज्योतिष भइटोपल्नेहरु पनि धेरै देखेको छु मैले। त्यस्तै एउटा ज्योतिषका बारेमा माइस‍ंसारमा लेख्दा मलाई नै ‘खप्पर योग’ लागे जस्तै गरी के-के भएको थियो भन्ने कुरा साथीहरुलाई थाहा छ। ज्ञानै नभई ज्योतिष बन्दै हिँड्नेसँग मात्रै मेरो आपत्ति हो। ज्योतिष शास्त्रैसँग हैन।

यो वर्ष त्यति राम्रो छैन ज्योतिष शास्त्र अनुसार भनेर चाहिँ सबै ज्योतिषले भन्दै आएका छन्। भनेर के गर्नु त, आकाश खस्छ भनेर आत्तिएर कामै नगर्न भएन, भूकम्प आउँछ भनेर बाहिरै ननिस्कन भएन। आफ्नो काम गर्नै पर्‍यो, केही भइहाले नआत्तिएर सतर्क हुने न हो। फेरि सबै भविष्यवाणी मिल्छ भन्ने छैन। यी यहाँ हेर्नुस्, एक नेपाली ज्योतिषले जेठ १४ मा संविधान आउने तर संघीयताबिनाको भनेर लेखेका रहेछन्। आयो त संविधान ?

खप्पर योगका कारण नेता र विघटित संविधान सभाका सभासदहरुलाई बहाना नबनोस् फेरि- हाम्ले त गरेकै हौँ। सक्दो प्रयास गरेकै हौँ, खप्पर योगका कारण संविधान आएन भन्दै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme